हामी किन ‘जागा रहनै पर्छ?’
“प्रभु कुन दिन आउँदै हुनुहुन्छ, तिमीहरूलाई थाह छैन।”—मत्ती २४:४२.
१. समयबारे र आफू वरपर भइरहेको कुराबारे हामी किन सजग रहनुपर्छ, उदाहरण दिनुहोस्। (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)
“पाँच, चार, तीन, दुई, एक!” गर्दै समय घटिरहेको छ। अधिवेशन जाँदा सायद तपाईंले त्यहाँ देखाइने भिडियो स्क्रिनमा यसरी नै समय घट्दै-घट्दै गएको याद गर्नुभएको होला। त्यतिबेला सुरुको धुनको आनन्द उठाउन आ-आफ्नो सिटमा बसिसकेको हुनुपर्छ भनेर हामीलाई थाह छ। यो समय शान्तपूर्वक बसेर वाचटावर वाद्यवादन टोलीले तयार पारेको सुमधुर सङ्गीतको आनन्द उठाउने अनि अझ महत्त्वपूर्ण कुरा कार्यक्रमको लागि मन तयार पार्ने बेला हो। तर कोही-कोही ओहोरदोहोर गरिरहन्छ, साथीभाइसित गफ गरिरहन्छ भने नि? कुरा स्पष्ट छ, तिनीहरू जागा छैनन्; तिनीहरूलाई समय अनि आफू वरपर भइरहेको कुराको ख्यालै छैन; चेयरम्यान मञ्चमा बसिसकेको, धुन बजिरहेको, सबै श्रोताहरू बसिसकेको तिनीहरूलाई वास्तै छैन। यो दृश्यले हामीलाई पछि हुने अझै महत्त्वपूर्ण घटनाको लागि तोकिएको समय दिनप्रतिदिन घट्दै छ र हामी पहिलाभन्दा अझ जागा रहनुपर्छ भनेर बुझ्न मदत गर्छ। त्यसोभए त्यो घटना के हो?
२. येशूले चेलाहरूलाई किन “जागा रहो” भन्नुभयो?
२ “यस युगको आखिरी समय”-बारे बताउनुहुँदा येशूले आफ्ना चेलाहरूलाई यस्तो आग्रह गर्नुभयो: “सचेत रहो अनि जागा बस, किनकि परमेश्वरले तोक्नुभएको समय कुन हो, तिमीहरू जान्दैनौ।” त्यसपछि येशूले फेरि भन्नुभयो: “जागा रहो।” (मत्ती २४:३; मर्कूस १३:३२-३७ पढ्नुहोस्) येशूले आफ्ना चेलाहरूलाई जागा रहन चेतावनी दिनुभएको विवरण मत्तीको किताबमा पनि पाउँछौं, जहाँ यस्तो लेखिएको छ: “जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउँदै हुनुहुन्छ, तिमीहरूलाई थाह छैन . . . आफू तयार रहेको प्रमाण देओ, किनकि तिमीहरूले नचिताएको समयमा मानिसको छोरा आउँदैछ।” उहाँले फेरि यसो भन्नुभयो: “त्यसकारण जागा रहो, किनकि त्यो दिन र समय तिमीहरूलाई थाह छैन।”—मत्ती २४:४२-४४; २५:१३.
३. येशूको चेतावनीमा हामीले किन ध्यान दिनुपर्छ?
३ हामी यहोवाका साक्षीहरू येशूले दिनुभएको चेतावनीलाई गम्भिरतापूर्वक लिन्छौं। हामी “अन्तको” पनि अन्तिम घडीमा बाँचिरहेका छौं र “महासङ्कष्ट” सुरु हुन अब धेरै समय बाँकी छैन भनेर हामीलाई थाह छ। (दानि. १२:४; मत्ती २४:२१) घातक युद्ध, नैतिकताको पतन, कुकर्म, धार्मिक गन्जागोल, अनिकाल, नानाथरीका रोगबिमार, भूकम्पजस्ता कुराहरू हामी सारा संसारमा व्याप्त भइरहेको देख्छौं। अनि यहोवाका सेवकहरूले अहिले परमेश्वरको राज्यको प्रचार पहिलाभन्दा अझ व्यापक रूपमा गरिरहेका छन् भन्ने कुरा पनि हामीलाई थाह छ। (मत्ती २४:७, ११, १२, १४; लूका २१:११) मानिसको छोरा अर्थात् येशू आउने कुराले हाम्रो लागि कस्तो अर्थ राख्छ र त्यसले परमेश्वरको उद्देश्य कसरी पूरा गर्नेछ भनी हेर्न हामी उत्सुक छौं।—मर्कू. १३:२६, २७.
समय घट्दै छ
४. (क) आरमागेडोन सुरु हुने समय अहिले येशूलाई थाह छ भनी हामी किन भन्न सक्छौं? (ख) हामीलाई महासङ्कष्ट सुरु हुने समय थाह नभए पनि कुन कुरामा पक्का हुन सक्छौं?
४ अधिवेशनको कार्यक्रम सुरु हुने समय हामीलाई थाह हुन्छ। तर जति नै कोसिस गरे पनि महासङ्कष्ट ठ्याक्कै कुन साल आउँछ, त्यो भने हामी थाह पाउन सक्दैनौं, अझ त्यस दिन र घडीको त कुरै नगरौं। पृथ्वीमा छँदा येशूले यसो भन्नुभएको थियो: “त्यस दिन र समयको विषयमा कसैले जान्दैन, न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र।” (मत्ती २४:३६) तर अहिलेको कुरा गर्ने हो भने यहोवाले सैतानको संसार विरुद्ध लड्न येशूलाई अख्तियार दिइसक्नुभएको छ। (प्रका. १९:११-१६) त्यसकारण अहिले येशूलाई आरमागेडोन सुरु हुने समय थाह छ भनी विश्वास गर्नु तर्कसङ्गत छ। तर हामीलाई भने त्यो समयबारे थाह छैन। त्यसकारण त्यतिन्जेल हामी जागा रहनै पर्छ। तर यहोवालाई भने त्यो दिन कहिले सुरु हुन्छ, राम्ररी थाह छ। किनभने उहाँले त्यो समय तोकिसक्नुभएको छ। यहोवाले महासङ्कष्ट आउने समयको ‘उल्टो गन्ती’ थालिसक्नुभएको छ अनि “त्यसले ढीलो गर्नेछैन!” (हबकूक २:१-३ पढ्नुहोस्) हामी किन यो कुरामा पक्का हुन सक्छौं?
५. यहोवाले गर्नुभएको भविष्यवाणी सधैं ठीक समयमा पूरा हुन्छ भनेर किन भन्न सक्छौं? उदाहरण दिनुहोस्।
५ यहोवाले गर्नुभएका भविष्यवाणीहरू सधैं ठीक समयमा पूरा भएका छन्। इस्राएलीहरूलाई मिश्र देशबाट छुटकारा दिनको लागि कसरी उहाँले समय तोक्नुभएको थियो, त्यस विषयमा विचार गर्नुहोस्। ईसापूर्व १५१३, नीसान १४ को दिनलाई सङ्केत गर्दै मोशाले यसो भने: “चार सय तीस वर्ष बितेकै दिन परमप्रभुका सम्पूर्ण दल मिश्रबाट बाहिर निस्के।” (प्रस्थ. १२:४०-४२) ईसापूर्व १९४३ मा यहोवाले अब्राहामसित करार गर्नुभएपछि “चार सय तीस वर्ष” सुरु हुन्छ। (गला. ३:१७, १८) केही समयपछि यहोवाले अब्राहामलाई यसो भन्नुभयो: “यो निश्चय जानिराख् कि तेरा सन्तानहरू त्यस देशमा प्रवासी भएर बस्नेछन्, जुन देश तिनीहरूको होइन र त्यस देशका मानिसहरूका कमारा-कमारी हुनेछन्, औ चार सय वर्षसम्म तिनीहरू थिचोमिचोमा पर्नेछन्।” (उत्प. १५:१३; प्रेषि. ७:६) ती “चार सय वर्ष” इश्माएलले इसहाकसँग ठट्टा गरेको समय अर्थात् ईसापूर्व १९१३ बाट सुरु भयो अनि ईसापूर्व १५१३ मा इस्राएलीहरू मिश्र देशबाट निस्कँदा पूरा भयो। (उत्प. २१:८-१०; गला. ४:२२-२९) हो, यहोवाले आफ्नो जनहरूलाई उद्धार गर्ने समय चार सय वर्षअघि नै तोकिसक्नुभएको थियो!
६. यहोवाले आफ्ना सेवकहरूलाई जोगाउनुहुनेछ भनी हामी किन विश्वस्त हुन सक्छौं?
६ मिश्र देशको दासत्वबाट छुटकारा पाएकाहरूमध्ये एक जना यहोशू हुन्। तिनले सारा इस्राएलीहरूलाई यो कुरा सम्झना गराए: “परमप्रभु परमेश्वरले तिमीहरूका बारेमा भन्नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ र एउटा पनि त्यसबाट फरक परेको छैन भनी तिमीहरूको आफ्नो पूरा हृदयले र पूरा प्राणले थाह पाएकै छौ।” (यहो. २३:२, १४) अब आउँदै गरेको महासङ्कष्टबाट छुटकारा दिने यहोवाको प्रतिज्ञा पनि फरक पर्नेछैन भनी हामी विश्वस्त हुन सक्छौं। तर सैतानको संसार विनाश हुने बेला जोगिन चाहन्छौं भने हामी जागा रहनै पर्छ।
उद्धार पाउन हामी जागा रहनै पर्छ
७, ८. (क) पुरातन समयमा पहरादारहरूको कस्तो भूमिका हुन्थ्यो र त्यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (ख) पहरादारहरू कामको दौडान निदाएमा नतिजा कस्तो हुन्थ्यो; उदाहरण दिनुहोस्।
७ पुरातन समयमा सहरहरूलाई कसरी सुरक्षित राखिन्थ्यो भन्ने कुरालाई विचार गर्दा जागा रहने सन्दर्भमा हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। त्यतिबेला यरूशलेम लगायत अरू ठूलठूला सहरहरू अग्ला-अग्ला पर्खालले घेरिएका हुन्थे। पर्खालले गर्दा सहरको सुरक्षा हुन्थ्यो र पर्खालमाथिका बुर्जाहरूबाट सहर वरपरका दृश्यहरू पनि देखिन्थ्यो। सहरको पर्खाल अनि ढोकामा दिनरात पहरादारहरू तैनाथ रहन्थे। कुनै खतरा देख्ने बित्तिकै तिनीहरूले सहरवासीहरूलाई सजग गराउनुपर्थ्यो। (यशै. ६२:६) यसकारण ती पहरादारहरू जागा रहनु र नरहनु वास्तवमा जीवन-मृत्युकै सवाल थियो।—इज. ३३:६.
८ इस्वी संवत् ७० मा रोमी सेनाहरूले यरूशलेमको पर्खालसँगै जोडेको आन्टोनियाको किल्ला कब्जा गर्न सक्नुको कारण पहरादारहरू निदाएको कारण हो भनी यहूदी इतिहासकार जोसेफस बताउँछन्। त्यहाँबाट रोमी सेनाहरू मन्दिरभित्र प्रवेश गरे र आगो लगाइदिए। यसले गर्दा यरूशलेम र यहूदीहरूले पहिला कहिल्यै अनुभव नगरेको महासङ्कष्ट भोग्नुपऱ्यो।
९. धेरैजसो मानिसलाई कुन कुरा थाह छैन?
९ अहिले, प्रायजसो देशका सीमानाहरूमा गस्तीद्वारा वा अत्याधुनिक प्रविधिको सहायताले ‘पहरा’ अर्थात् निगरानी गरिन्छ। तिनीहरू आफ्नो इलाकाभित्र अनुमतिविना कसैलाई प्रवेश गर्न नदिन वा देशलाई खतरा पुऱ्याउने कुनै शत्रु प्रवेश नगरोस् भनेर निगरानी गर्छन्। यस्ता “पहरादारहरू” अर्थात् निगरानी प्रणालीले कुनै व्यक्ति वा मानव सरकारमार्फत आउने खतरा मात्र पत्ता लगाउन सक्छ। तर अहिले परमेश्वरको राज्यको राजाको हैसियतमा येशूले शासन गर्दै हुनुहुन्छ र त्यो राज्यले के-कस्तो काम गर्दै छ, त्यो चाहिं तिनीहरूलाई अत्तोपत्तो छैन। साथै यस राज्यले भविष्यमा सारा मानवजातिमाथि न्याय गर्नेछ भनेर पनि तिनीहरूलाई थाह छैन। (यशै. ९:६, ७; ५६:१०; दानि. २:४४) अर्कोतिर, आध्यात्मिक तवरमा जागा रह्यौं भने न्यायको त्यो दिन जुनसुकै बेला आए पनि हामी तयार रहन सक्छौं।—भज. १३०:६.
कस्ता कुराहरूले हामीलाई जागा रहन गाह्रो बनाउँछ?
१०, ११. (क) हामी कुन कुराबारे सजग हुनुपर्छ र किन? (ख) भविष्यवाणीहरूमा ध्यान नदेओस् भनेर सैतानले मानिसहरूलाई बहकाइसकेको छ भनेर किन भन्न सकिन्छ?
१० कल्पना गर्नुहोस्, एक जना पहरादार रातभरि जागा बसेका छन्। बिहानीपख उज्यालो हुनै लाग्दा उनी एकदमै थकित हुन्छन् र निदाउँछन्। त्यसैगरि यस युगको अन्त नजिकिंदै जाँदा हामीलाई पनि जागा रहन झनै चुनौतीपूर्ण हुन सक्छ। यस्तो बेला जागा रहन नसक्नु कत्ति दुःखदायी कुरा! आउनुहोस्, जागा रहन गाह्रो बनाउने तीनवटा कुरा विचार गरौं।
११ पहिलो कुरा: सैतान। आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशूले चेलाहरूलाई “यस संसारको शासक”-बारे तीन पटक चेतावनी दिनुभयो। (यूह. १२:३१; १४:३०; १६:११) यस संसारको अन्त नजिकै छ भनी स्पष्ट पार्ने भविष्यवाणीमा ध्यान नदेओस् भनेर सैतानले मानिसहरूलाई मानसिक तवरमा अन्धो तुल्याउनेछ भनी येशूलाई थाह थियो। (सप. १:१४) यस संसारको झूटो धर्मको विश्व साम्राज्यलाई चलाएर सैतानले मानिसहरूको दिमाग अन्धो बनाएको छ। अरूसित कुराकानी गर्दा तिनीहरूले कस्तो प्रतिक्रिया देखाउँछन्, तपाईंले याद गर्नुभएको छ? परमेश्वरको राज्यले अहिले शासन गरिरहेको छ र चाँडै सैतानको संसारको अन्त हुनेछ भन्ने कुरा बुझ्न नसकोस् भनेर सैतानले ‘विश्वास नगर्नेहरूको दिमागलाई अन्धो बनाइसकेको’ छैन र? (२ कोरि. ४:३-६) त्यसैले त तिनीहरू यसबारे कुरा गर्दा “मलाई चासो छैन” भन्छन्। यस संसारको भविष्य कस्तो हुनेछ भनी बताउँदा धेरै जसो मानिस कानमा तेल हालेर बस्छन्।
१२. सैतानको बहकाउमा नपर्न हामीले के गर्नुपर्छ?
१२ अरूले चासो नदिए पनि निराश नहुनुहोस्; तिनीहरूको यस्तो मनोवृत्तिले आध्यात्मिक तवरमा जागा रहनदेखि तपाईंलाई नरोकोस्। किनभने जागा रहनुको महत्त्व तपाईंलाई राम्ररी थाह छ। पावलले थिस्सलोनिकाका ख्रीष्टियनहरूलाई यस्तो कुरा लेखे: “यहोवाको दिन . . . आउँदैछ भनेर तिमीहरू आफैलाई राम्ररी थाह छ।” तिनले अझै यसो भने: ‘त्यो दिन राती चोर आएजस्तै’ आउनेछ। (१ थिस्सलोनिकी ५:१-६ पढ्नुहोस्) येशूले हामीलाई यस्तो चेतावनी दिनुभयो: “तयार रहो, किनकि तिमीहरूले नचिताएको बेला मानिसको छोरा आउँदैछ।” (लूका १२:३९, ४०) अब चाँडै, संसारमा “शान्ति र सुरक्षा” छायो भन्ने भान पारेर सैतानले धेरै मानिसहरूलाई बहकाउनेछ। विश्व परिस्थिति अब सुध्रियो, सब कुरा राम्रै हुनेछ भन्ने सोच्न लगाएर सैतानले धेरैलाई झुक्याउनेछ। हामी नि? ‘चालै नपाई उज्यालो हुँदा चोर छक्क परेजस्तै त्यो दिन आउँदा छक्क नपर्न’ हामी आध्यात्मिक तवरमा ‘जागा र सचेत रहनुपर्छ।’ त्यसैले दिनहुँ परमेश्वरको वचन पढौं अनि उहाँले हामीलाई भन्न खोज्नुभएको कुराहरूमा मनन गरौं।
१३. मानिसहरूलाई संसारको मनोभावले कस्तो असर गरिरहेको छ? यस खतरनाक प्रभावबाट हामी कसरी जोगिन सक्छौं?
१३ दोस्रो कुरा: संसारको मनोवृत्ति। धेरै जसो मानिसहरू आफ्नो दैनिक कामकुरामा यत्ति चुर्लुम्म डुबेका छन् कि तिनीहरूले “परमेश्वरको मार्गनिर्देशनको खाँचो महसुस” नै गर्दैनन्। (मत्ती ५:३) तिनीहरू “शरीरको अभिलाषा” अनि “आँखाको अभिलाषा”-लाई बढावा दिने भौतिक कुराहरू प्राप्त गर्नमै एकोहोरो लागेका छन्। (१ यूह. २:१६) अनि मनोरञ्जन जगत्ले ‘सुखविलासलाई प्रेम’ गर्न मानिसहरूलाई लट्ठ पारेको छ र यो प्रलोभन ‘दिन दुगुना रात चौगुना’ बढ्दै छ। (२ तिमो. ३:४) त्यसैकारण पावलले हामीलाई आध्यात्मिक निद्रामा पार्ने “शरीरका अभिलाषाहरू पूरा गर्न पहिल्यै योजना नबनाओ” भनी बताए।—रोमी १३:११-१४.
१४. लूका २१:३४, ३५ मा हामी कस्तो चेतावनी पाउँछौं?
१४ यहोवाले उहाँको पवित्र शक्तिमार्फत हामीलाई पछि हुने कुराहरू राम्ररी बुझ्न मदत गर्नुभएको छ। त्यसैले हामी संसारको मनोभावको प्रभावमा नपरी परमेश्वरको पवित्र शक्तिद्वारा डोरिन चाहन्छौं।[१] (१ कोरि. २:१२) तर हामीलाई थाह छ, आध्यात्मिक निद्रामा पर्न कुनै ठूलो कुरो चाहिंदैन, दैनिक कामकुरामा अलमलिएर आध्यात्मिक गतिविधिमा भाग लिएनौं भने पनि हामी निदाउन सक्छौं। (लूका २१:३४, ३५ पढ्नुहोस्) हामी आध्यात्मिक तवरमा जागा रहेको कारण अरूले गिल्ला गर्न सक्छन् तर त्यसले गर्दा पछि हट्नु हुँदैन। (२ पत्रु. ३:३-७) बरु दाजुभाइ दिदीबहिनीसँग सङ्गत गर्न नियमित तवरमा सभा जानुपर्छ किनभने त्यहाँ पवित्र शक्तिको डोऱ्याइ हुन्छ।
१५. पत्रुस, याकूब र यूहन्नालाई के भयो? हामीलाई पनि के हुन सक्छ?
१५ तेस्रो कुरा: त्रुटिपूर्ण शरीर। त्रुटिपूर्ण मानिसहरूसित आफ्नो शारीरिक कमजोरीको वशमा पर्ने झुकाव हुन्छ भनी येशूलाई थाह थियो। उहाँ मारिनुअघिको रात के भयो, विचार गर्नुहोस्। निष्ठावान् रहन उहाँले यहोवासित बल माग्नुपऱ्यो। आफूले प्रार्थना गरिरहेको बेला उहाँले पत्रुस, याकूब र यूहन्नालाई “जागा” रहनू भन्नुभएको थियो। तर अब चाँडै नै कस्तो महत्त्वपूर्ण घटना घट्न लागेको छ भनेर तिनीहरूले बुझ्न सकेनन्। त्यस घडी आफ्नो मालिकझैं जागा रहनुको सट्टा तिनीहरू त्रुटिपूर्ण शरीरको वशमा परे र निदाउन पुगे। हुन त त्यतिबेला येशू पनि शारीरिक रूपमा थाक्नुभएको थियो तर आफ्नो बुबालाई बारम्बार व्यग्र प्रार्थना गर्दै उहाँ जागा बस्नुभयो। चेलाहरूले पनि ठीक त्यसै गर्नुपर्थ्यो। —मर्कू. १४:३२-४१.
१६. लूका २१:३६ अनुसार हामी कसरी जागा रहन सक्छौं?
१६ आध्यात्मिक तवरमा ‘जागा रहन’ इच्छा भएर मात्र पुग्दैन। गेत्समनीको बगैंचामा भएको घटनाको केही दिनअघि येशूले आफ्ना चेलाहरूलाई उत्कट बिन्ती चढाओ भन्नुभयो। (लूका २१:३६ पढ्नुहोस्) त्यसैले आध्यात्मिक तवरमा जागा रहन हामीले पनि निरन्तर प्रार्थना गर्नुपर्छ।—१ पत्रु. ४:७.
पहिलाभन्दा अझै सजग हुनुहोस्
१७. चाँडै आउन लागेका कुराहरूको निम्ति तयार छौं भनी हामी कसरी देखाउन सक्छौं?
१७ यस संसारको अन्त “नचिताएको समयमा” आउनेछ भनी येशूले भन्नुभयो। त्यसैले अहिलेको समय भनेको आध्यात्मिक तवरमा झुल्ने समय होइन। साथै सैतान र त्यसको संसारले देखाउने रहरलाग्दो कुराहरूको पछि लाग्ने अनि आफ्नै शारीरिक इच्छाहरू पूरा गर्ने समय पनि होइन। (मत्ती २४:४४) निकट भविष्यमा हामीले कस्ता आशिष्हरू पाउनेछौं अनि त्यसको लागि अहिलेदेखि नै कसरी जागा रहन सक्छौं, त्यसबारे यहोवा र येशूले हामीलाई बाइबलमार्फत बताउनुभएको छ। हामीले आफ्नो आध्यात्मिकता, यहोवासितको हाम्रो सम्बन्ध अनि राज्य गतिविधिलाई जीवनमा पहिलो स्थान दिइरहेका छौं कि छैनौं भनेर ध्यान दिनुपर्छ। आउन लागेका कुराहरूको निम्ति तयार रहन अहिलेको समय र घटनाहरूबारे सजग भइरहनुपर्छ। (प्रका. २२:२०) किनभने यसैमा हाम्रो जीवन निर्भर छ।