आशाको लंगरले थामेको, प्रेमले उत्प्रेरित भएको
“विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, र यिनमा सर्वोत्तम चाहिं प्रेम हो।”—१ कोरिन्थी १३:१३.
१. प्रेरित पावल हामीलाई कस्तो चेताउनी दिन्छन्?
हाम्रो विश्वास पनि जहाजझैं डुब्नसक्छ भनी प्रेरित पावल हामीलाई चेताउनी दिन्छन्। तिनले भने, “विश्वास र सुविवेक थामिराख जसलाई कसै कसैले आफूबाट पर सारेकोले विश्वासको जहाज डुबाइहाले।” (१ तिमोथी १:१९) सा.यु. प्रथम शताब्दीमा जहाजहरू काठद्वारा बनाइन्थ्यो। ती जहाजहरू भरपर्दो हुनु नहुनु काठको गुणस्तर र निर्माण कौशलतामा निर्भर हुन्थ्यो।
२. हाम्रो विश्वासको जहाज किन राम्ररी निर्माण गरिएको हुनुपर्छ अनि त्यसको लागि हामीले के गर्नु आवश्यक छ?
२ हाम्रो विश्वासलाई जहाज भन्न सकिन्छ अनि यो जहाज मानिसजातिको उर्लंदो समुद्रमा तैरिनुपर्छ। (यशैया ५७:२०; प्रकाश १७:१५) तसर्थ, हाम्रो विश्वासको जहाज राम्ररी निर्माण गरिएको हुनुपर्छ र त्यो हामीमा नै निर्भर छ। यहूदी र रोमी संसारको “समुद्र” प्रारम्भिक मसीहीहरूमाथि उर्लंदा यहूदाले यसरी लेखे: “हे प्रिय हो, तिमीहरूचाहिं तिमीहरूको अति पवित्र विश्वासमा आफ्नो उन्नति गर्दै, पवित्र आत्मामा प्रार्थना गरी, अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको आशा राखी, तिमीहरू आफैलाई परमेश्वरको प्रेममा राखिछोड़।” (यहूदा २०, २१) ‘पवित्र जनहरूलाई दिएको विश्वासको निम्ति’ कम्मर कस्नुपर्छ भनेर पनि यहूदाले बताए। तसर्थ, “अति पवित्र विश्वास” भन्ने अभिव्यक्तिले छुटकाराको सुसमाचारलगायत सम्पूर्ण मसीही शिक्षाहरूलाई संकेत गर्नसक्छ। (यहूदा ३) यो विश्वासको जग ख्रीष्ट हुनुहुन्छ। हामी साँचो मसीही विश्वास पक्रिराख्न चाहन्छौं भने, हामासँग बलियो विश्वास हुनुपर्छ।
“गुटप्रतिको डरले” उत्पन्न विरोधको सामना
३. ‘गुटहरूको डरलाई’ कसै कसैले कसरी प्रयोग गरिरहेका छन्?
३ हालैका वर्षहरूमा सामूहिक आत्महत्या, हत्या अनि स-साना गुटहरूसित सम्बद्ध आतंककारीहरूद्वारा गरिएका हमलाका भयावह घटनाहरू भएका छन्। त्यसकारण निष्कपट राजनैतिक नेताहरूलगायत अन्य थुप्रै व्यक्तिहरूले निर्दोष मानिसहरू र विशेष गरी जवानहरूलाई यस्ता खतरनाक गुटहरूबाट जोगाउने चासो देखाउनुको कारण बुझ्न सक्छौं। निस्सन्देह, यस्ता जघन्य अपराध गर्न लगाउने “यस संसारको देव[ले]” नै गुटहरूको डर सृजना गरेर यहोवाका जनहरूको विरोध गर्छन्। (२ कोरिन्थी ४:४; प्रकाश १२:१२) कसै कसैले यो अवस्थाको नाजायज फाइदा उठाएर हाम्रो कामको विरोध गर्छन्। केही देशहरूमा तिनीहरू मानिसहरूलाई “खतरनाक गुटबाट” जोगाउने उद्देश्यले ठूलठूलो अभियान चलाउँछन्। तर त्यसमा यहोवाका साक्षीहरूलाई मुछेर हाम्रो गलत अर्थ लगाउँछन्। फलस्वरूप, केही युरोपेली देशहरूमा घर घरमा साक्षी दिन गाह्रो भएको छ अनि हामीसित बाइबल अध्ययन गर्ने केही व्यक्तिहरूले अध्ययन गर्न छाडेका छन्। यसले गर्दा हाम्रा केही भाइबहिनीहरू निरुत्साहित भएका छन्।
४. विरोध आइपर्दा हामी किन निरुत्साहित नहुनु पर्ने हो?
४ तथापि, विरोधले हामीलाई निरुत्साहित बनाउनुको सट्टा साँचो मसीही धर्म मानिरहेका छौं भन्ने हाम्रो दृढ विश्वासलाई बलियो बनाउनुपर्छ। (मत्ती ५:११, १२) प्रारम्भिक मसीहीहरूलाई खतरनाक तत्त्व भन्ने आरोप लगाइयो अनि मानिसहरू जताततै ‘तिनीहरूको विरुद्धमा बोल्थे।’ (प्रेरित २४:५; २८:२२) तर प्रेरित पत्रुसले सँगी विश्वासीहरूलाई यसरी आश्वासन दिए: “हे प्रिय हो, तिमीहरूलाई परीक्षा गर्न तिमीहरूमाथि परि आउने आगोसरहको परीक्षालाई केही अचम्मको कुरा भए जस्तैगरी तिमीहरू ताजुब नहोओ। तर ख्रीष्टको शासनाहरूको सहयोगी भएर रमाओ, र उहाँको महिमा प्रकट हुँदाखेरि तिमीहरू पनि हर्षित र आनन्दित होओ।” (१ पत्रुस ४:१२, १३) त्यसै गरी, प्रथम शताब्दीको परिचालक निकायको सदस्यले यसरी लेखे: “हे मेरा भाइ हो, तिमीहरू अनेक किसिमका परीक्षाहरूमा पर्दा पूरा आनन्द सम्झ। यो जानेर कि, तिमीहरूको विश्वासको जाँचले धीरज उत्पन्न गराउँछ। तर धीरजलाई त्यसको पूरा काम गर्न देओ। औ तिमीहरूमा कुनै कुराको अभाव नभएर सिद्ध र पूर्ण होओ।” (याकूब १:२-४) जहाज भरपर्दो छ कि छैन भनेर तुफानी बतास चल्दा थाह हुन्छ। त्यसै गरी विरोधको तुफानले हाम्रो विश्वासको जहाजको कमी कमजोरी प्रकट गर्छ।
संकष्टले धीरज उत्पन्न गराउँछ
५. संकष्टमा हाम्रो विश्वास स्थिर रहन्छ भनेर हामी कसरी निश्चित हुनसक्छौं?
५ संकष्टको तुफान सामना गरेपछि मात्र मसीहीहरूले आफूसँग धीरज र स्थिर विश्वास भए नभएको थाह पाउनसक्छन्। हामी बलियो विश्वासलगायत “कुनै कुराको अभाव नभएर सिद्ध र पूर्ण” छौं भने मात्र तुफान चल्दा हाम्रो ‘धीरजले त्यसको पूरा काम’ गर्छ। पावलले यसरी लेखे: “हरेक कुरामा हामी आफैलाई परमेश्वरका सेवकजस्तो देखाउँछौं, ज्यादै धीरजमा, सङ्कटमा, दरिद्रतामा, दुःखमा।”—२ कोरिन्थी ६:४.
६. किन “हामी संकष्टहरूमा पनि आनन्दित” हुनुपर्छ अनि आनन्दित हुँदा हाम्रो विश्वास कसरी बलियो हुन्छ?
६ हामीले कहिलेकाहीं सामना गर्ने संकष्टको तुफानी बतासलाई हाम्रो विश्वासको जहाज राम्रो अनि बलियो छ भनेर प्रमाणित गर्ने अवसर ठान्नुपर्छ। पावलले रोमका मसीहीहरूलाई यसरी लेखे: “संकष्टले धीरज उत्पन्न गराउँछ भनी जानेर, हामी संकष्टहरूमा पनि आनन्दित होऔं, औ धीरजले सदाचार, र सदाचारले आशा, औ आशाले निराश गराउँदैन।” (रोमी ५:३-५) परीक्षामा स्थिर रह्यौं भने यहोवाको अनुमोदन पाउनेछौं। फलतः हाम्रो आशा बलियो हुन्छ।
किन कसै कसैको विश्वसको जहाज डुब्छ
७. (क) पावलका शब्दहरूअनुसार कसै कसैको आध्यात्मिक जहाज कसरी डुबेको थियो? (ख) आज केही व्यक्तिहरू कसरी सत्यबाट तर्केका छन्?
७ पावलले ‘विश्वासको जहाज डुब्ने’ सन्दर्भमा चेताउनी दिंदा आफ्नो सुविवेक ‘पर सारेर’ विश्वास गुमाउने केही व्यक्तिहरूलाई सम्झिरहेका थिए। (१ तिमोथी १:१९) तिनीहरूमध्ये हाइमिनियस र अलेकज्याण्डर पनि थिए। तिनीहरू सत्यबाट तर्किनुका साथै सत्यको निन्दा गरेर धर्मत्यागी भए। (१ तिमोथी १:२०; २ तिमोथी २:१७, १८) आज सत्यबाट तर्केका धर्मत्यागीहरूले “विश्वासी र बुद्धिमान दास[को]” विरुद्धमा जथाभावी कुरा गर्छन्। भनौं भने, आफूले जुन थालमा आध्यात्मिक खाना खाएका थिए, त्यही थालमा थुक्छन्। कोही कोही चाहिं ‘दुष्ट नोकरजस्तै’ हुन्छन् जसले “मालिक बियाँलो गर्छन्” भन्छन्। (मत्ती २४:४४-४९; २ तिमोथी ४:१४, १५) तिनीहरू यस दुष्ट रीतिरिवाजको अन्त सन्निकट छ भनेर मानिलिंदैनन् अनि यहोवाका जनहरूबीच आध्यात्मिक रूपमा सचेत रहेर अविलम्बी भाव कायम राख्ने दास वर्गको हाँसो उडाउँछन्। (यशैया १:३) यी धर्मत्यागीहरू ‘कुनै कुनैका विश्वासलाई उल्टाइदिएर’ तिनीहरूको आध्यात्मिक जहाज डुबाउन सफल भएका छन्।—२ तिमोथी २:१८.
८. कसै कसैको विश्वासको जहाज डुब्नु वा क्षति हुनुको कारण के हो?
८ अन्य समर्पित मसीहीहरूले सुविवेकलाई पर सारेर यस संसारको अति विलासी जीवनमा चुर्लुम्म डुब्नुका साथै यौन अनैतिकतामा फसेर आफ्नो विश्वासको जहाज डुबाएका छन्। (२ पत्रुस २:२०-२२) अरूले चाहिं नयाँ रीतिरिवाजको शरणस्थान आइपुग्न अझै धेरै टाढा छ भन्ठानेर आफ्नो विश्वासको जहाज डुबाएका छन्। तिनीहरूले कुनै कुनै भविष्यवाणीहरू पूरा हुने समय थाह पाउन नसकेर अनि “प्रभुको दिन[लाई]” आफ्नो मनमस्तिष्कमा नराखेर साँचो उपासना त्यागेका छन्। (२ पत्रुस ३:१०-१३; १ पत्रुस १:९) फलतः तिनीहरू वर्तमान रीतिरिवाजको धमिलो तथा उर्लंदो पानीमा डुब्छन्। (यशैया १७:१२, १३; ५७:२०) मसीही मण्डलीसँग संगत गर्न छाड्ने कोही कोहीलाई आफूले छाडेको धर्म साँचो हो भन्ने कुरामा कुनै शंका थिएन। तथापि, तिनीहरूसँग यहोवा परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसार पर्खने धीरज र सहनशीलताको कमी थियो। तिनीहरूको विचारमा प्रमोदवन आउन असाध्यै ढिलो भयो।
९. केही समर्पित मसीहीहरूले के गरिरहेका छन् अनि ती तथ्यहरूले गर्दा हामीले के विचार गर्नुपर्ने हो?
९ विश्वका केही भागहरूमा कुनै कुनै समर्पित मसीहीहरूले आफ्नो विश्वासको जहाजको पाल सानो बनाएको जस्तो देखिन्छ। विश्वासको जहाज अझै पनि तैरिरहेको छ। तर पूर्ण विश्वासमा अघि बढ्नुको सट्टा तिनीहरूले बिस्तारै आरामसँग यात्रा गर्न थालेका छन्। कोही कोही चाहिं “चाँडै प्रमोदवन” आउने आशाले गर्दा कडा मेहनत गर्थे—जोसका साथ प्रचारकार्यमा भाग लिन्थे अनि नियमित तवरमा सम्पूर्ण सभा, सम्मेलन र अधिवेशनहरू धाउँथे। तर आफ्नो आशा वास्तविकतामा परिणत हुन अझ धेरै समय बाँकी छ भन्ठानेर तिनीहरू पहिला जतिको मेहनत गर्न चाहँदैनन्। तिनीहरूले प्रचारकार्यमा कम भाग लिएका, सभाहरूमा अनियमित भएको अनि जानाजानी सम्मेलन र अधिवेशनका केही कार्यक्रम छुटाएको तथ्यबाट उक्त कुरा स्पष्ट हुन्छ। अरूले चाहिं मनोरञ्जन गर्न र भौतिक सुविधाहरू प्राप्त गर्नमा बढी समय बिताइरहेका छन्। यी तथ्यहरूले गर्दा यहोवाप्रतिको आफ्नो समर्पणअनुसार चल्न हाम्रो जीवनमा कुन कुरा प्रमुख हुनुपर्ने हो भनेर हामीले विचार गर्नु आवश्यक छ। के उहाँको सेवा गर्ने हाम्रो जोस “चाँडै प्रमोदवन” आउने कुरामा निर्भर हुनुपर्ने हो?
आशा र लंगरबीचको समानता
१०, ११. पावलले हाम्रो विश्वासलाई केसित तुलना गरे अनि त्यो तुलना किन उपयुक्त थियो?
१० अब्राहामद्वारा आशिष्हरू आउनेछन् भनी यहोवाले प्रतिज्ञा गर्नुभएको कुरा पावलले बताए। त्यसपछि प्रेरितले यसो भने: “परमेश्वरले . . . शपथबाटनै पुष्टि गर्नुभयो। यसरी यी दुइ कहिल्यै बदलिन नसक्ने कुराबाट [उहाँको वचन र शपथ], जसमा परमेश्वरलाई झूट बोल्न असम्भव छ, हामी शरणार्थीहरूलाई हाम्रो सामनेमा राखिदिएको आशा ग्रहण गर्नालाई उत्कट उत्साह होस्, जो हामीलाई प्राणको लंगर जस्तो छ, अर्थात् एउटा आशा, जो स्थिर र दृढ़ [छ]।” (हिब्रू ६:१७-१९; उत्पत्ति २२:१६-१८) अभिषिक्त मसीहीहरूका लागि स्वर्गमा अमर जीवनको आशा छ। आज यहोवाका अधिकांश सेवकहरूसँग पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने उज्ज्वल आशा छ। (लूका २३:४३) यस्तो आशा नहुने हो भने, विश्वास पनि हुनसक्दैन।
११ लंगर भनेको जहाजलाई किनारामा अड्काउन र पानीको धारले बग्न नदिनका लागि नभई नहुने बलियो सुरक्षा साधन हो। कुनै पनि नाविकले लंगरबिना सामुद्रिक यात्रा गर्दैन। पावल चढेको जहाज थुप्रैपल्ट डुब्यो। तसर्थ, तिनले समुद्रयात्रीहरूको जीवन प्रायः जहाजका लंगरहरूमा निर्भर हुन्छ भनेर व्यक्तिगत अनुभवद्वारा थाह पाएका थिए। (प्रेरित २७:२९, ३९, ४०; २ कोरिन्थी ११:२५) प्रथम शताब्दीको जहाजको इन्जिन हुँदैनथ्यो र कप्तानले जहाजलाई आफूले चाहेको दिशामा मोड्न सक्दैनथ्यो। पतवारले ख्याउनु पर्ने शैन्य जहाजहरूबाहेक अन्य जहाजहरू मुख्यतः हावाको भरमा चल्थे। जहाज चट्टानमा ठोक्किन लागेको छ भने कप्तानले एउटै मात्र काम गर्नसक्थ्यो। त्यो थियो, जहाजको लंगर समुद्रतलमा राम्ररी अल्झाएर तुफानबाट बच्नु। त्यसैकारण, पावलले मसीही आशालाई “स्थिर र दृढ़” रहने “प्राणको लंगर[सित]” तुलना गरे। (हिब्रू ६:१९) हामीले विरोधीहरूको तुफान वा अन्य परीक्षाहरू सामना गर्दा हाम्रो अद्भुत आशा लंगरझैं हुनेछ र हाम्रो प्राणलाई बलियो बनाउनेछ। फलतः हाम्रो विश्वासको जहाज पानी कम भएको खतरनाक ठाउँहरू अर्थात् शंकातिर वा धर्मत्यागको खतरनाक चट्टानतिर लाग्ने छैन।—हिब्रू २:१; यहूदा ८-१३.
१२. हामी यहोवाबाट अलग्गिनदेखि कसरी बच्नसक्छौं?
१२ पावलले हिब्रू मसीहीहरूलाई यस्तो चेताउनी दिए: “हे भाइ हो, होशियार बस, नत्रता जीवित परमेश्वरबाट पतित हुनालाई तिमीहरूमा कसैको अविश्वासको दुष्ट हृदय हुनेछ।” (हिब्रू ३:१२) हिब्रूमा “पतित हुनु” भन्ने वाक्यांशको शाब्दिक अर्थ “अलग्गिनु” हो र यसले धर्मत्याग गर्नुलाई बुझाउँछ। तर हामी आफ्नो विश्वासको जहाज चुर्लुम्म डुब्नबाट बचाउनसक्छौं। परीक्षाको कठिनभन्दा कठिन तुफान आउँदासमेत विश्वास र आशाले हामीलाई यहोवासँग नजिक हुन सम्भव बनाउँछ। (व्यवस्था ४:४; ३०:१९, २०) हाम्रो विश्वास धर्मत्यागी शिक्षाहरूको बतासले यताउति हुर्रिने जहाज जस्तो हुनेछैन। (एफिसी ४:१३, १४) अनि लंगरजस्तो हाम्रो आशाद्वारा हामी यहोवाका सेवकहरूको हैसियतमा जीवनका तुफानहरू सामना गर्नसक्नेछौं।
प्रेम र पवित्र आत्माद्वारा प्रेरित
१३, १४. (क) हामीसँग आफ्नो विश्वासको लंगर भएर मात्र किन पुग्दैन? (ख) यहोवालाई पवित्र सेवा चढाउन प्रेरित गर्ने शक्ति के हुनुपर्छ र किन?
१३ कुनै मसीहीले पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने आशाले मात्र यहोवाको सेवा गर्छ भने, तिनी नयाँ रीतिरिवाजतर्फ अघि लम्कनसक्दैनन्। उसले आफ्नो आशाको लंगरलाई जीवनमा स्थिर राख्दै त्यो आशा र विश्वासमा आफूलाई प्रेरित गर्ने प्रेम थप्नुपर्छ। पावलले यस कुरालाई जोड दिंदै यसरी लेखे: “विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, र यिनमा सर्वोत्तम चाहिं प्रेम हो।”—१ कोरिन्थी १३:१३.
१४ हामीलाई पवित्र सेवा चढाउन उत्प्रेरित गर्ने शक्ति, यहोवाले हामीलाई गर्नुभएको असीमित प्रेमको बदलामा उहाँप्रतिको हृदयस्पर्शी प्रेम हुनुपर्छ। प्रेरित यूहन्नाले यसरी लेखे: “प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। यसैमा परमेश्वरको प्रेम हामीमा प्रकट भएको छ, कि हामी उहाँद्वारा जिऔं भन्ने हेतुले परमेश्वरले आफ्ना एकलो पुत्रलाई यस संसारमा पठाउनुभयो। हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।” (१ यूहन्ना ४:८, ९, १९) यहोवाप्रतिको कृतज्ञताले गर्दा हाम्रो प्रमुख चासो आफूले छुटकारा पाउनु होइन तर उहाँको पवित्र नाउँको पवित्रिकरण अनि उहाँको धार्मिक सार्वभौमिकताको उच्चताबारे अरूलाई साक्षी दिनु हो।
१५. यहोवाप्रतिको हाम्रो प्रेम र उहाँको सार्वभौमिकता कसरी सम्बन्धित छ?
१५ हामीले प्रमोदवनको कारण नभई उहाँप्रतिको प्रेमले गर्दा उहाँलाई सेवा गरेको यहोवा चाहनुहुन्छ। बाइबलका शब्दकोश धर्मशास्त्रमाथि अन्तरदृष्टिa यसो भन्छ: “यहोवाले सृष्टि गर्नुभएका प्राणीहरूले प्रेमद्वारा प्रेरित भएर उहाँको सार्वभौमिकलाई समर्थन गर्दा उहाँको महिमा हुन्छ। असल गुणहरू अनि धार्मिकताद्वारा उहाँको सार्वभौमिकतालाई प्रेम गर्ने तथा उहाँको सार्वभौमिकता रुचाउने व्यक्तिलाई मात्र उहाँ मन पराउनुहुन्छ। (१ कोरि २:९) तिनीहरू आफूखुसी गर्नुको सट्टा उहाँको सार्वभौमिकताको अधीनमा रहेर उहाँको सेवा गर्छन्। उहाँबारे ज्ञान अनि आफ्नोभन्दा अति उच्च कोटीको उहाँको प्रेम, न्याय र बुद्धिबारे ज्ञान हासिल गरेका हुनाले तिनीहरू यसो गर्छन्। (भज ८४:१०, ११)”—खण्ड २, पृष्ठ २७५.
१६. कसरी येशूप्रतिको प्रेम हाम्रो जीवनलाई प्रेरित गर्ने शक्ति हो?
१६ येशूले हामीप्रति देखाउनुभएको प्रेमको खातिर हामी मसीहीको हैसियतमा उहाँलाई पनि प्रेम गर्छौं। पावलले यस्तो तर्क गरे: “ख्रीष्टको प्रेमले हामीलाई करमा पार्दछ, किनभने हामी यसरी विचार गर्छौं, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै मरे, औ उहाँ सबैका निम्ति मर्नुभयो, र अब बाँच्नेहरूले आफू आफू बाँच्ने होइन, तर उहाँको निम्ति बाँच्नुपर्छ जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि बिउँतनु पनि भयो।” (२ कोरिन्थी ५:१४, १५) हाम्रो आध्यात्मिक जीवन, विश्वास र आशाको जग ख्रीष्ट नै हुनुहुन्छ। तुफानी परीक्षाहरू आइपर्दा ख्रीष्टप्रतिको प्रेमले हाम्रो आशालाई बलियो अनि विश्वासलाई स्थिर बनाउँछ।—१ कोरिन्थी ३:११; कलस्सी १:२३; २:६, ७.
१७. यहोवाले हामीलाई कस्तो गतिशील शक्ति दिनुहुन्छ अनि कसरी यसको महत्त्वलाई प्रेरित १:८ र एफिसी ३:१६ मा औंल्याइएको छ?
१७ परमेश्वर र उहाँको पुत्रप्रतिको प्रेम हाम्रो मसीही जीवनको प्रमुख उत्प्रेरक शक्ति हो। यद्यपि, यहोवाले हामीलाई अर्को कुरा पनि दिनुहुन्छ। त्यसले हामीलाई प्रेरित गर्छ, शक्ति दिन्छ अनि उहाँको सेवामा अघि लम्किने बल प्रदान गर्छ। त्यो हो, उहाँको सक्रिय शक्ति वा पवित्र आत्मा। हिब्रू र युनानीमा “आत्मा” भनेर अनुवाद गरिएको शब्दले बतास चलेको जस्तो हावाको गतिशील चाललाई बुझाउँछ। पावलले यात्रा गरेका जस्ता यात्रुवाहक जहाजहरू गन्तव्यस्थानमा पुग्न बतासको अदृश्य प्रभावमा निर्भर हुन्थ्यो। त्यसैगरी, हाम्रो विश्वासको जहाजले हामीलाई यहोवाको सेवामा अघि बढाउने हो भने, हामीसँग परमेश्वरको अदृश्य शक्ति हुनुपर्छ अनि त्यो हामीमा क्रियाशील वा सक्रिय हुनुपर्छ।—प्रेरित १:८; एफिसी ३:१६.
हाम्रो गन्तव्यस्थानतर्फ
१८. भविष्यमा हाम्रो विश्वासमाथि परीक्षाहरू आइपर्दा सहन हामीलाई केले सक्षम बनाउनेछ?
१८ नयाँ रीतिरिवाजमा प्रवेश गर्नुअघि हाम्रो विश्वास र प्रेमको कडा परीक्षा हुनसक्छ। तर यहोवाले हामीलाई लंगर अर्थात् अद्भुत आशा दिनुभएको छ “जो स्थिर र दृढ़” छ। (हिब्रू ६:१९; रोमी १५:४, १३) हाम्रो विश्वासको लंगरद्वारा हामी सुरक्षित छौं भने विरोध वा अन्य परीक्षाहरू आइपर्दा हामी सहनसक्छौं। आउनुहोस्, एउटा तुफान शान्त भएर अर्को मच्चिनअघि आफ्नो आशा र विश्वास बलियो बनाउने दृढ रहने संकल्प गरौं।
१९. हामी आफ्नो विश्वासको जहाजलाई यताउती नअल्मलाई परमेश्वरले ल्याउनुहुने नयाँ संसारको सुरक्षित स्थलमा कसरी पुग्नसक्छौं?
१९ “प्राणको लंगर[बारे]” बताउनुअघि पावलले यसो भने: “तिमीहरू हरेकले पूरा आशाको निम्ति अन्तसम्मै त्यही किसिमको प्रयत्न देखाउनेछौ भन्ने हामी इच्छा गर्दछौं, कि तिमीहरू अल्छी मानिस होइन, तर विश्वास र धीरजद्वारा प्रतिज्ञाका हकदार हुनेहरूका देखा-सिकिगर्ने होओ।” (हिब्रू ६:११, १२) आउनुहोस्, यहोवा र उहाँको पुत्रप्रतिको प्रेमद्वारा प्रेरित भएर अनि पवित्र आत्माद्वारा बल पाएर परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारको सुरक्षित स्थलसम्म नपुगुञ्जेल हाम्रो विश्वासको जहाजलाई अघि बढाइरहौं।
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
पुनरावलोकन गर्दा
◻ हाम्रो विश्वासबारे पावलले हामीलाई कस्तो चेताउनी दिएका छन्?
◻ कसै कसैको विश्वासको जहाज कसरी डुबेको छ अनि अरू चाहिं कसरी सुस्त भएका छन्?
◻ हाम्रो विश्वासको साथमा कुन ईश्वरीय गुण पनि हुनुपर्छ?
◻ परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारको सुरक्षित स्थलसम्म पुग्न हामीलाई केले सक्षम बनाउँछ?
[पृष्ठ १६-मा भएको चित्र]
जीवनका तुफानहरू सामना गर्न हाम्रो विश्वासको जहाज राम्ररी निर्माण गरिएको हुनुपर्छ
[पृष्ठ १७-मा भएको चित्र]
हाम्रो विश्वासको जहाज डुब्नसक्छ
[पृष्ठ १८-मा भएको चित्र]
आशा, हाम्रो मसीही जीवनको लंगर हो