अध्याय ११२
दस कन्याको उदाहरण—चनाखो रहनेबारे पाठ
येसु दस कन्याको उदाहरण बताउनुहुन्छ
येसु उहाँको उपस्थिति र यस युगको आखिरी समयको चिन्हबारे चेलाहरूको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ। यही कुरालाई मनमा राख्दै अब उहाँ उनीहरूलाई अर्को एउटा उदाहरणमार्फत बुद्धिमानी सल्लाह दिनुहुन्छ। ख्रिष्टको उपस्थितिको दौडान बाँचिरहेका मानिसहरूले यस उदाहरणमा बताइएका कुराहरू पूरा भएको देख्नेछन्।
उहाँ यो उदाहरण यसरी सुरु गर्नुहुन्छ: “स्वर्गको राज्यलाई दस कन्यासित तुलना गर्न सकिन्छ, जो आ-आफ्नो दियो लिएर दुलहालाई भेट्न निस्के। तिनीहरूमध्ये पाँच जना निर्बुद्धि अनि पाँच जना बुद्धिमती थिए।”—मत्ति २५:१, २.
येसुले स्वर्गको राज्यमा उहाँसँगै शासन गर्ने चेलाहरूमध्ये आधा मूर्ख छन् र आधाचाहिँ बुद्धिमान् छन् भन्न खोज्नुभएको होइन। बरु उहाँ यो कुरा बुझाउन खोज्दै हुनुहुन्छ: परमेश्वरको राज्यको सन्दर्भमा चनाखो रहने वा अलमलिएर बस्ने, प्रत्येक चेलाले छनौट गर्न सक्छन्। तर आफ्ना प्रत्येक चेला वफादार रहिरहन सक्नेछन् र उनीहरूले उहाँको बुबाबाट आशिष् पाउनेछन् भन्ने कुरामा येसुलाई कुनै शङ्का छैन।
यस उदाहरणमा दसै जना कन्या दुलहालाई स्वागत गर्न र जन्तीमा सामेल हुन बाहिर निस्कन्छन्। दुलहा आइपुग्दा ती कन्याहरूले दियो बालेर तिनी हिँड्ने बाटो उज्यालो पार्नेछन्। यसरी दुलहीलाई उनको निम्ति तयार पारिएको घरमा ल्याइँदा ती कन्याहरूले दुलहाको सम्मान गर्नेछन्। तर उदाहरणमा यसपछि के हुन्छ?
येसु भन्नुहुन्छ: “निर्बुद्धिहरूले आ-आफ्नो दियो लगे तर तेल भने लगेनन्। तर बुद्धिमतीहरूले चाहिँ दियोसँगसँगै आ-आफ्नो भाँडोमा तेल पनि लगे। दुलहाले आउन ढिलो गर्दा तिनीहरू सबै निद्राले झुल्न थाले र भुसुक्कै निदाए।” (मत्ति २५:३-५) दुलहा आस गरिएको समयमा आइपुग्दैनन्। दुलहा आउन धेरै ढिला भयो जस्तो देखिन्छ र त्यस दौडान ती कन्याहरू भुसुक्कै निदाउँछन्। ती प्रेषितहरूले ‘अन्तमा राज्याधिकार हासिल गरेर फर्केका’ कुलीन घरानाको मानिसबारे येसुले बताउनुभएको उदाहरण सम्झेका हुन सक्छन्।—लुका १९:११-१५.
दस कन्याको उदाहरणमा आखिरमा दुलहा आइपुग्दा के हुन्छ भन्नेबारे पनि येसु बताउनुहुन्छ: “मध्यरातमा यस्तो स्वर सुनियो: ‘दुलहा आइपुग्नै लागे! तिनलाई भेट्न बाहिर निस्क।’” (मत्ति २५:६) के ती कन्याहरू चनाखो र तयार अवस्थामा छन्?
येसु अझै भन्नुहुन्छ: “तब ती सबै कन्या उठे र आ-आफ्नो दियो ठीक पारे। निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने: ‘हामीलाई तिमीहरूको तेल अलिकता देओ न! हाम्रो दियो निभ्नै लाग्यो।’ बुद्धिमतीहरूले यस्तो जवाफ दिए: ‘तिमीहरूलाई दियौँ भने हामी आफैलाई नपुग्ला। बरु तिमीहरू आफै पसलेकहाँ गएर आफ्नो लागि तेल किन।’”—मत्ति २५:७-९.
पाँच जना निर्बुद्धि कन्या चनाखो छैनन् र दुलहा आउने समयको लागि तयार अवस्थामा पनि छैनन्। तिनीहरूसित दियोको लागि पर्याप्त तेल छैन; तिनीहरूलाई तेलको खाँचो परेको छ। येसु भन्नुहुन्छ: “तिनीहरू पसल जाँदै गर्दा दुलहा आइपुगे र तयार भएर बसेका कन्याहरू विवाह-भोजमा सहभागी हुन तिनीसँगै भित्र पसे अनि ढोका बन्द गरियो। पछि बाँकी पाँच कन्या पनि आइपुगे र यसो भन्न थाले: ‘दुलहाराजा, दुलहाराजा, हामीलाई ढोका खोलिदिनुहोस् न!’ तर तिनले यस्तो जवाफ दिए: ‘म तिमीहरूलाई साँच्चै भन्छु, मैले तिमीहरूलाई चिनेकै छैनँ।’” (मत्ति २५:१०-१२) तयार र चनाखो नरहँदा यी कन्याहरूले कत्ति दुःखदायी नतिजा भोग्नुपऱ्यो!
उदाहरणको दुलहाले येसुलाई चित्रण गर्छ भनेर ती प्रेषितहरूले बुझेका छन्। पहिला पनि येसुले आफूलाई दुलहासित तुलना गर्नुभएको थियो। (लुका ५:३४, ३५) बुद्धिमती कन्याहरूले चाहिँ कसलाई चित्रण गर्छ? परमेश्वरको राज्य दिइने “सानो बगाल”-बारे बताउनुहुँदा येसुले यसो भन्नुभएको थियो: “तिमीहरू कम्मर कसेर बस अनि तिमीहरूको दियो बलिरहोस्।” (लुका १२:३२, ३५) त्यसैले दस कन्याको उदाहरणमा येसुले उनीहरू र सानो बगालको भाग हुने अरू चेलाहरूबारे कुरा गर्दै हुनुहुन्छ भन्ने कुरा ती प्रेषितहरूले बुझेका हुन सक्छन्। त्यसोभए येसु यस उदाहरणमार्फत कस्तो सन्देश दिँदै हुनुहुन्छ?
येसु यो कुरा पनि प्रस्ट पार्नुहुन्छ। उदाहरणको अन्तमा उहाँ यसो भन्नुहुन्छ: “त्यसकारण जागा रहो किनकि त्यो दिन र समय तिमीहरूलाई थाह छैन।”—मत्ति २५:१३.
स्पष्ट छ, येसु आफ्ना वफादार अनुयायीहरूलाई उहाँको उपस्थितिको बेला ‘जागा रहन’ सल्लाह दिँदै हुनुहुन्छ। उहाँ पक्कै आउनुहुनेछ र उनीहरू ती पाँच जना बुद्धिमती कन्याजस्तै चनाखो र तयार रहनुपर्छ। यसो गरेमा उनीहरूले आफूले पाएको अनमोल आशालाई सधैँ आफ्नो आँखाअगाडि राख्न सक्नेछन् र आफूले पाउने इनामलाई पक्रिराख्न सक्नेछन्।