“चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय”
तपाईंले कति चोटि “हत्तेरी मैले त्यस्तो नभनेको भए हुन्थ्यो” भनेर खेद प्रकट गर्नुभएको छ? तर फेरि अन्य अवसरहरूमा चाहिं निर्भयतासाथ बोल्न नसकेको पनि तपाईं सम्झनुहुन्छ होला। बितेका कुरा सम्झँदै तपाईंले सोच्नुभएको होला: ‘मैले केही त भनेको भए हुन्थ्यो नि।’
“चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय” छ भनी बाइबलले बताउँछ। (उपदेशक ३:७) समस्या त के हो भने, कहिले बोल्ने र चुप लाग्ने भनेर निर्णय गर्ने। हाम्रो असिद्ध मानव स्वभावले हामीलाई बारम्बार गलत समयमा बोल्न र काम गर्न झकझकाउँछ। (रोमी ७:१९) हाम्रो अनियन्त्रित जिब्रोलाई कसरी नियन्त्रण गर्नसक्छौं?—याकूब ३:२.
जिब्रोलाई तालिम दिने तरिकाहरू
कहिले बोल्ने र कहिले चुप लाग्ने भनेर निर्णय गर्न हामीलाई सबै सम्भाव्य परिस्थितिहरू समाविष्ट भएको लामो सूची चाहिंदैन। बरु हामी मसीही व्यक्तित्वको अविच्छिन्न गुनहरूअनुरूप चल्नुपर्छ। यी गुनहरू के हुन्?
आफ्ना चेलाहरूलाई उत्प्रेरित गर्ने प्रमुख गुन प्रेम हो भनी येशू ख्रीष्टले बुझाउनुभयो। “तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।” (यूहन्ना १३:३५) हामीले जति धेरै भ्रातृ प्रेम प्रदर्शित गर्छौं त्यति नै आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्नसक्नेछौं।
दुइ सम्बन्धित गुनले निकै हदसम्म मदत गर्नेछ। त्यसमध्ये एउटा नम्रता हो। यसले ‘अरूलाई आफूभन्दा श्रेष्ठ ठान्न’ मदत गर्छ। (फिलिप्पी २:३) अर्को चाहिं कोमलता हो जसले हामीलाई “सहनशील” हुन मदत दिन्छ। (२ तिमोथी २:२४, २५) यी गुनहरू कसरी अभ्यास गर्नुपर्छ भनेर हामीले येशू ख्रीष्टको सिद्ध नमुनालाई हेर्नसक्छौं।
दबाब आइपर्दा हाम्रो जिब्रोलाई नियन्त्रणमा पार्नु असाध्यै कठिन हुन्छ। त्यसकारण येशू मर्नुअघिको रातलाई विचार गरौं जब उहाँ “अति खिन्न” हुनुहुन्थ्यो। (मत्ती २६:३७, ३८) येशूले यस्तो महसुस गर्नु कुनै छक्कलाग्दो कुरा होइन किनभने उहाँ परमेश्वरप्रति विश्वासी रहनुमा सम्पूर्ण मानिसजातिको अनन्त भविष्य निर्भर थियो।—रोमी ५:१९-२१.
निस्सन्देह, येशूले स्वर्गमा हुनुहुने आफ्नो पितासित कुरा गर्ने समय यो थियो। त्यसकारण आफ्नो तीन चेलाहरूलाई जागा रहन आग्रह गर्दै उहाँ प्रार्थना गर्न जानुभयो। केही समयपछि उहाँ फर्कनुहुँदा तिनीहरू निदाइरहेको भेटाउनुभयो। तब उहाँले पत्रुसलाई भन्नुभयो: “के तिमीहरू मसँग एक घड़ी पनि जागा रहनसकेनौ?” मायालु ताडना दिनु भएपछि भन्नुभएका शब्दहरूले के प्रमाणित गर्छ भने, उहाँले तिनीहरूको कमजोरीहरू पनि बुझ्नुहुन्थ्यो। उहाँले भन्नुभयो: “आत्मा ता साँच्चै तयार छ, तर शरीर दुर्बल छ।” तर उहाँले पछि पनि चेलाहरू निदाइरहेको भेटाउनुभयो। उहाँले तिनीहरूसित मायालु ढंगमा बोल्नुभयो र “फेरि उही कुराहरू भनेर तेस्रोपल्ट प्रार्थना” गर्नुभयो।—मत्ती २६:३६-४४.
तेस्रो पटक पनि चेलाहरू निदाइरहेको भेटाउनुहुँदा येशू कठोर हुनुभएन तर यसो भन्नुभयो: “अब सुत, र थकाइ मार। हेर, समय नजीक आइपुगिहाल्यो। मानिसको पुत्र पापीहरूका हातमा पक्राउपरेको छ।” (मत्ती २६:४५) प्रेमले पूर्ण भएका र साँच्चै विनयी तथा नम्र व्यक्तिले मात्र त्यस्तो कठिन क्षणमा आफ्नो जिब्रोलाई त्यसप्रकार चलाउनसक्थ्यो।—मत्ती ११:२९; यूहन्ना १३:१.
तत्पश्चात् येशूलाई पक्रेर पुर्पक्ष गरियो। हाम्रो मसीही सेवकाईमा समेत कहिलेकाहीं चुप लाग्नु बेस हुन्छ भन्ने कुरा यसबाट हामी सिक्छौं। येशूलाई फसाएर दोषी ठहराउन तल्लीन मुख्य पूजाहारीहरूलाई सच्चाइ सिक्ने इच्छा पटक्कै थिएन। अतः यस्तो नाजुक अवस्थामा येशू चुप लाग्नुभयो।—तुलना गर्नुहोस् मत्ती ७:६.
तथापि, प्रधान पूजाहारीले यस्तो माग गर्दा उहाँ चुप लाग्नुभएन: “म जीवित परमेश्वरको नाउँमा तँलाई भन्दछु, हामीलाई भन्, तँ परमेश्वरको पुत्र ख्रीष्ट होस् कि होइनस्!’” (मत्ती २६:६३) येशूलाई परमेश्वरको नाउँमा किरिया खुवाएको हुँदा उहाँ बोल्नै पर्थ्यो। त्यसकारण उहाँले यस्तो उत्तर दिनुभयो: “तपाईंलेनै भनिहाल्नुभयो। तापनि म तपाईंहरूलाई भन्दछु, अब उप्रान्त तपाईंहरूले मानिसको पुत्रलाई शक्तिको दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्नुहुनेछ।”—मत्ती २६:६४.
त्यस महत्त्वपूर्ण दिनमा येशूले आफ्नो जिब्रोलाई पूर्ण नियन्त्रणमा राख्नुभयो। उहाँको सन्दर्भमा प्रेम, कोमलता र नम्रता उहाँको व्यक्तित्वको अन्तरनिहित भाग थियो। दबाब आइपर्दा आफ्नो जिब्रोलाई नियन्त्रणमा राख्न यी गुनहरू कसरी प्रयोग गर्नसक्छौं?
रीस उठ्दा जिब्रोलाई नियन्त्रणमा राख्ने
हामीलाई रीस उठ्दा साधारणतया जिब्रोलाई नियन्त्रणमा राख्न सक्दैनौं। उदाहरणका लागि, पावल र बर्णाबासबीच एक चोटि मतभेद भएको थियो। “बर्णाबासले मर्कूस भन्ने यूहन्नालाई पनि तिनीहरूका साथमा लैजाने मन गरे। तर पावलले उनलाई साथमा लैजान ठीक मानेनन्, किनभने उनी प्याम्फिलियाबाट तिनीहरूसँग छुट्टिएर गएका थिए, औ तिनीहरूका साथ काममा गएका थिएनन्। औ तिनीहरूका बीचमा यति चर्को मतभेद भयो, कि तिनीहरू एक अर्काबाट छुट्टिए, र बर्णाबासले मर्कूसलाई साथमा लिएर साइप्रसतिर समुद्र-यात्रा गरे।”—प्रेरित १५:३७-३९.
निर्माण योजनामा केही वर्षदेखि कार्यरत माइकलa यसो भन्छन्: “निर्माणस्थलमा मैले एक जना व्यक्तिलाई राम्ररी चिन्थें र तिनलाई आदर गर्थें। तर तिनले सधैंजसो मेरो कामको आलोचना गरिरहन्थे। मलाई चित्त दुख्थ्यो र झिंझो लागे तापनि म चुप लागेर बस्थें। तर एक दिन मैले भर्खरै सिद्धाएको कामको तिनले आलोचना गर्दा मलाई असहनीय भयो।
“मैले अहिलेसम्म मनमा गुमसाइराखेको रीस सबै पोखाएँ। रीसको झोंकमा जे भनें त्यसले म वरपरका मानिसहरूमाथि कस्तो प्रभाव पऱ्यो होला भनेर सोच्दै सोचिनँ। त्यस दिनभरि मलाई तिनीसित कुरा गर्न मात्र होइन तिनको अनुहारसमेत हेर्न मन लागेन। तर अहिले त्यतिखेर मैले त्यस समस्यालाई सही ढंगमा सामना नगरेको बुझेको छु। त्यति बेला चुप लागेर मेरो रीस मरिसकेपछि कुरा गरेको भए बेस हुनेथियो।”
तर खुशीको कुरा, यी दुइ व्यक्तिविशेषलाई मसीही प्रेमले आफ्ना मतभेदहरू समाधान गर्न उत्प्रेरित गऱ्यो। माइकल यसो भन्छन्: “आफ्ना भावनाहरूबारे स्पष्टसित कुरा गरेपछि हामीले एकअर्कालाई अझ राम्ररी बुझ्यौं र अहिले हाम्रो मित्रता प्रगाढ भएको छ।”
माइकलले सिकेजस्तै आफूलाई रीस उठ्दा कहिलेकाहीं चुप लाग्नु नै बुद्धिमानी हुन्छ। हितोपदेश १७:२७ ले यसो भन्छ: “समझ-शक्ति भएकोले ठण्डा मिजास राख्छ।” समझ-शक्ति र भ्रातृ प्रेमले चित्त दुखाउने कुराहरू झट्टै भनी हाल्ने हाम्रो उत्तेजनालाई नियन्त्रणमा राख्न मदत गर्नेछ। कसैले हाम्रो चित्त दुखाएको छ भने पुनः शान्ति कायम राख्ने उद्देश्यले त्यस व्यक्तिसित एक्लै कोमल र नम्र मनोभावमा कुरा गरौं। रीसमा झोंकाझोंक भइसकेको छ भने नि? तब अभिमानी नभई नम्रतासाथ सम्बन्ध सुधार्न प्रेमले उत्प्रेरित गर्नेछ। यो निष्कपट वार्तालाप गरेर बोल्ने, माफी माग्ने र खेद व्यक्त गर्ने समय हो।—मत्ती ५:२३, २४.
जब चुप लाग्नु समाधान होइन
हामी रीसले चूर हुँदा आफूलाई दिक्क लाग्ने व्यक्तिसित कुरै नगर्ने पनि हुनसक्छौं। यो एकदमै हानिकारक हुनसक्छ। मारियाb भन्छिन्: “हाम्रो विवाहको पहिलो वर्षमा म पतिसित कहिलेकाहीं निकै दिनसम्म एक शब्द पनि बोल्दै नबोली बस्थें। साधारणतया यो कुनै ठूला समस्याहरूले गर्दा नभई स-साना चित्त नबुझेका कुराहरू थोपरेकोले गर्दा हुन्थ्यो। यी चित्त नबुझेका कुराहरू बढेर पहाडरूपी अवरोध नभएसम्म म सोचिरहन्थे। अनि असहनीय हुन्थ्यो र रीस नसेलाएसम्म पतिसित बोल्दै बोल्दिन थिएँ।”
मारिया अझै यसो भन्छिन्: “विशेषगरि बाइबलमा ‘घाम अस्ताउनु अघिनै रीस मरोस्’ भन्ने शास्त्रपदले मेरो सोचाइमा छाँटकाँट गर्न मदत गऱ्यो। समस्याहरू थुप्रिन नदिन हाम्रो कुराकानी गर्ने बानीमा उन्नति गर्न मेरो पति र मैले धेरै मेहनत गऱ्यौं। यसो गर्नु सजिलो त पक्कै पनि भएन तर विवाह गरेको दश वर्षपछि बोल्दै नबोली चुपचाप बस्ने परिस्थितिहरू विरलै हुन्छन् भन्न पाउँदा म खुशी छु। तथापि, यो झुकाउलाई नियन्त्रणमा राख्न अझै पनि मेहनत गर्नुपर्छ भनेर स्वीकार्नैपर्छ।”—एफिसी ४:२६.
मारियाले पत्ता लगाएझैं दुइ व्यक्तिबीच मनमुटाउ हुँदा एकअर्कोसित नबोल्नु समस्याको समाधान होइन। यस्ता परिस्थितिहरूमा वैमनस्यता बढ्ने सम्भावना हुन्छ र सम्बन्ध भताभुंग हुनसक्छ। येशूले हामीलाई “झट्टै मिलाप गरिहाल” भन्नुभयो। (मत्ती ५:२५) “ठीक बेलामा भनेको ठीक कुरा[ले]” ‘शान्ति खोज्न’ मदत गर्नसक्छ।—हितोपदेश २५:११; १ पत्रुस ३:११.
आफूलाई मदत चाहिएको बेला पनि बोल्नुपर्छ। केही आध्यात्मिक समस्याहरूले पीडित हुँदा अरूलाई बोझ होला भन्ठानेर हिचकिचाउन सक्छौं। तर हामी चुप लाग्यौं भने समस्या झन् बिग्रनसक्छ। नियुक्त मसीही प्राचीनहरूले हाम्रो चासो लिन्छन् र आफ्नो समस्या बतायौं भने तिनीहरू हामीलाई मदत गर्न निस्सन्देह इच्छुक हुन्छन्। यो बोल्नुपर्ने समय हो।—याकूब ५:१३-१६.
सबैभन्दा महत्त्वपूर्ण कुरा त येशूले जस्तै निरन्तर प्रार्थनामा हृदयदेखि यहोवासित कुरा गर्नुपर्छ। भनौं भने, स्वर्गमा हुनुहुने हाम्रो पितासित ‘हृदयको दुःख पोखाउनुपर्छ।’—भजन ६२:८; तुलना गर्नुहोस् हिब्रू ५:७.
परमेश्वरको राज्यबारे “बोल्ने एउटा समय”
अन्त आउनुअघि पूरा गर्नुपर्ने ईश्वरीय कार्यभार मसीही सेवकाई हो। तसर्थ, यहोवाका सेवकहरूले परमेश्वरको राज्यको सुसमाचार अपूर्व ढंगमा घोषणा गर्नु अत्यावश्यक छ। (मर्कूस १३:१०) प्रेरितहरूजस्तै साँचो मसीहीहरूले ‘देखेका र सुनेका कुराहरू नबोली बस्न सक्तैसक्तैनन्।’—प्रेरित ४:२०.
निस्सन्देह, सबैले सुसमाचार सुन्न चाहँदैनन्। वास्तवमा, येशूले आफ्ना चेलाहरूलाई प्रचार कार्यमा पठाउनुहुँदा ‘योग्य व्यक्तिलाई खोज्ने’ सल्लाह दिनुभयो। यहोवाले आफ्नो उपासना गराउन कहिल्यै कसैलाई करमा नपार्नुहुने भएकोले परमेश्वरको राज्यको समाचारलाई सीधै इन्कार गर्ने व्यक्तिसित हामी ढीपी कसेर कुरा गरिरहँदैनौं। (मत्ती १०:११-१४) तर “अनन्त जीवनका लागि नियुक्त भएकाहरू[सित]” यहोवाको राजत्वबारे कुरा गर्न आनन्दित हुन्छौं।—प्रेरित १३:४८; भजन १४५:१०-१३.
रूखो वा एक शब्द नबोल्ने हाम्रो असिद्ध झुकाउलाई नियन्त्रणमा राख्न प्रेम, कोमलता र नम्रताजस्ता गुनहरूले मदत गर्नसक्छन्। यी गुनहरूमा उन्नति गर्दै जाँदा कहिले बोल्नुपर्ने वा चुप लाग्नुपर्ने हो त्यो समय छुट्याउन अझ राम्ररी सुसज्जित हुनेछौं।
[फुटनोटहरू]
a तिनको वास्तविक नाउँ होइन।
b तिनको वास्तविक नाउँ होइन।
[पृष्ठ २३-मा भएको चित्र]
राम्रो वार्तालापद्वारा समस्याहरूको समाधान गर्न सकिन्छ