इच्छुक मनोवृत्तिसहित परमेश्वरको सेवा गर्नुहोस्
प्रेरित पावलले लेखे, “म तिमीहरूका प्राणको निम्ति ज्यादै खुशीसित खर्च गर्नेछु।” (२ कोरिन्थी १२:१५) यहोवाका सेवकहरूले खेती गर्नुपर्ने दृष्टिकोण तथा मनोवृत्तिबारे यी शब्दहरूले के बताउँछ? एक बाइबलविद्अनुसार पावलले कोरिन्थका मसीहीहरूलाई यी शब्दहरू लेख्दा तिनले यसो भन्दै थिए: “एउटा बुबा, छोराछोरीको निम्ति खर्च गर्न इच्छुक भएझैं म तिमीहरूको हितका लागि आफ्नो शक्ति, समय, जीवन र अन्य सब थोक खर्च गर्न इच्छुक छु।” आफ्नो मसीही सेवकाई पूरा गर्न पावल, आवश्यक परेको खण्डमा “ज्यादै खुशीसित खर्च” भइदिन वा “रित्तिनु र निख्रिन” समेत तयार थिए।
त्यति मात्र होइन, पावलले यी सब “खुशीसित” गरे। तिनी त्यसो गर्न “पूर्णतया इच्छुक थिए” भनी द जेरूशलेम बाइबल बताउँछ। तपाईं नि? के तपाईं यहोवा परमेश्वरको सेवा गर्दा र अरूको ख्याल गर्दा आफू “रित्तिनु र निख्रिनु” परे तापनि आफ्नो समय, शक्ति, योग्यता अनि स्रोत तथा साधन खर्च गर्न इच्छुक हुनुहुन्छ? अनि के तपाईं त्यो “खुशीसित” गर्नुहुन्छ?
तिनीहरू सेवा गर्नै चाहँदैनन्
प्रायजसो व्यक्तिहरू परमेश्वरको सेवा गर्न हिचकिचाउने मात्र होइनन्, तिनीहरू परमेश्वरको सेवा गर्नै चाहँदैनन्। तिनीहरू कृतघ्न, आफ्नै स्वार्थको लागि स्वतन्त्रता र विद्रोह गर्ने मनोवृत्तिसमेत देखाउँछन्। शैतानले आदम र हव्वालाई यस्तै सोचाइ राख्न फुस्लाएको थियो। तिनीहरू “असल र खराबको ज्ञान पाएर” ‘परमेश्वरजस्तै हुनेछन्’ अर्थात् के असल, के खराब, त्यो आफै निर्णय गर्न सक्षम छन् भनेर शैतानले झूटो बोल्यो। (उत्पत्ति ३:१-५) आज यस्तै मनोवृत्ति प्रकट गर्नेहरूले परमेश्वरप्रति पटक्कै उत्तरदायी नभई वा परमेश्वरको हस्तक्षेपबिना मनखुसी गर्न स्वतन्त्र छन् भन्ठान्छन्। (भजन ८१:११, १२) तिनीहरू आफूसित जे जति छ, त्यो सबै आफ्नै व्यक्तिगत इच्छा पूरा गर्न प्रयोग गर्न चाहन्छन्।—हितोपदेश १८:१.
तपाईं त यस्तो उग्र धारणा राख्नुहुन्न होला। तपाईं जीवनको वरदान अनि पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने अद्भुत आशाको साँच्चै मूल्यांकन गर्नुहुन्छ होला। (भजन ३७:१०, ११; प्रकाश २१:१-४) यहोवाले तपाईंको लागि देखाउनुभएको भलाइप्रति पनि तपाईं निकै आभारी हुनुहुन्छ होला। तर हाम्रो सेवा परमेश्वरलाई अस्वीकार्य नहोस् भनेर यस्तो खतराबाट हामी सबै सतर्क हुनु आवश्यक छ किनभने शैतानले हाम्रो सोचाइ भ्रष्ट बनाउनसक्छ। (२ कोरिन्थी ११:३) यस्तो कसरी हुनसक्छ?
इच्छुक सेवा आवश्यक छ
यहोवा इच्छुक अनि पूर्ण हृदयबाटको सेवा चाहनुहुन्छ। उहाँ हामीलाई आफ्नो सेवा गर्न कहिल्यै जबरजस्ती गर्नुहुन्न। मानिसहरूलाई आफ्नो इच्छा गर्न दबाउ दिन वा फुस्लाउन कुनै कसर बाँकी नराख्ने त शैतान पो हो। परमेश्वरको सेवा गर्ने सम्बन्धमा बाइबलले दायित्व, आज्ञा, आवश्यकता र त्यस्तै अन्य कुराहरूबारे बताउँछ। (उपदेशक १२:१३; लूका १:६) यद्यपि, परमेश्वरको सेवा गर्ने हाम्रो प्रमुख कारण उहाँप्रतिको प्रेम हुनुपर्छ।—प्रस्थान ३५:२१; व्यवस्था ११:१.
परमेश्वरको सेवामा जतिसुकै समय बिताए तापनि ‘आफूमा प्रेमचाहिं छैन भने’ त्यो सेवाको कुनै अर्थ हुनेछैन भनेर पावललाई थाह थियो। (१ कोरिन्थी १३:१-३) बाइबल लेखकहरूले मसीहीहरू परमेश्वरको सेवक हुन् भनेर उल्लेख गर्दा तिनीहरू शोषित वा करमा परेका दास हुन् भनेर संकेत गरिरहेका थिएनन्। (रोमी १२:११; कलस्सी ३:२४) यसको अर्थ, परमेश्वर र उहाँको पुत्र येशू ख्रीष्टमा आधारित गहिरो तथा हार्दिक प्रेमले भरिएर इच्छुकतासाथ अधीनमा बस्नु हो।—मत्ती २२:३७; २ कोरिन्थी ५:१४; १ यूहन्ना ४:१०, ११.
परमेश्वरप्रति हाम्रो सेवाले मानिसहरूप्रतिको हाम्रो गहिरो प्रेम पनि प्रकट गर्नुपर्छ। पावलले थिस्सलोनिकाको मण्डलीलाई यसरी लेखे “जसरी धाई-आमाले आफ्ना बालकहरूलाई पोषण गर्दछे, त्यसरी तिमीहरूका बीचमा हामी नम्र भएर बस्यौं।” (१ थिस्सलोनिकी २:७) आज थुप्रै मुलुकमा आमाहरूले आफ्ना बच्चाहरूको स्याहारसम्भार गर्नैपर्ने कानुन छ। तर अधिकांश आमाहरू यो व्यवस्था पालन गर्नैपर्छ भनेर आफ्ना छोराछोरीको हेरचार गरिरहेका हुँदैनन् नि, हैन र? हो। तिनीहरू आफ्ना छोराछोरीप्रतिको मायाले तिनीहरूको हेरचाह गर्छन्। त्यसैले, सुत्केरी आमाले खुसीसित आफ्नो बच्चाको लागि ठूलठूला त्याग गर्छिन्! आफूले सेवा गरेकाहरूप्रति यस्तै “स्नेहपूर्वक चाह” गरेकाले तिनीहरूलाई मदत गर्ने आफ्नो जीवन प्रयोग गर्न पावल “बढ्तै खुशी” थिए। (१ थिस्सलोनिकी २:८) प्रेमले हामीलाई पावलको उदाहरण अनुकरण गर्न उत्प्रेरित गर्छ।—मत्ती २२:३९.
अनिच्छुक सेवाबारे के भन्न सकिन्छ?
हो, हामीले परमेश्वर र मानिसहरूलाई भन्दा आफूलाई बढ्तै माया गर्नु हुँदैन। अन्यथा, आधा मनले अनिच्छुक हुँदै सेवा गर्ने खतरा हुन्छ। आफ्नो इच्छाअनुरूप जीवन बिताउन पनि पाइएन भनेर खिन्न हुँदै हामी रुष्ठसमेत हुनसक्छौं। परमेश्वरलाई माया गर्न छोडेका तर कर्तव्यबोधको कारण उहाँको सेवा गरिरहेका केही इस्राएलीहरूलाई त्यस्तै भयो। अनि यसको परिणाम के भयो? परमेश्वरको सेवा गर्न तिनीहरूलाई “दिक्क लाग्न” थाल्यो।—मलाकी १:१३.
परमेश्वरलाई चढाइने भेटी “निष्खोट” र आफूसित भएकामध्ये “सबैभन्दा असल” हुनुपर्थ्यो। (लेवी २२:१७-२०; प्रस्थान २३:१९) यहोवालाई आफ्ना सबैभन्दा असल जनावरहरू दिनुको साटो मलाकीको समयका मानिसहरूले आफूलाई काम नलाग्ने जनावरहरू चढाउन थाले। यहोवाले कस्तो प्रतिक्रिया व्यक्त गर्नुभयो? उहाँले पूजाहारीहरूलाई भन्नुभयो: “जब तिमीहरूले अन्धा पशु बलिदानमा चढाउँदछौ, [तिमीहरू भन्छौ]: ‘तब के त्यो दुष्ट कुरो होइन र?’ जब तिमीहरूले लंगडा र बेथा लागेको पशु बलिदानमा चढादछौ, ‘तब के त्यो दुष्ट कुरो होइन र?’ त्यो तिमीहरूका बडा-हाकिमलाई अब चढाऊ, के तिनी तिमीहरूदेखि खुशी हुनेछन् र? अथवा तिनले तिमीहरूमाथि निगाह गर्नेछन्? . . . तिमीहरूले जबरजस्तीसित खोसेर ल्याएका थोकहरू औ लंगडा र बेथा लागेका पशुको भेटी ल्याएका छौ। तिमीहरूले यस्तै भेटी ता ल्याउँदछौ के तिमीहरूका हातबाट यस्ता भेटीहरू मैले ग्रहण गर्ने?”—मलाकी १:८, १३.
हामीमध्ये कसै कसैलाई पनि कसरी यस्तै हुनसक्छ? हामीमा साँच्चै इच्छुक हृदय अनि मनोवृत्ति छैन भने हाम्रा बलिदानहरू ‘दिक्कलाग्दो’ हुनसक्छन्। (प्रस्थान ३५:५, २१, २२; लेवी १:३; भजन ५४:६; हिब्रू १३:१५, १६) उदाहरणका लागि, के हामी आफ्नो बचेखुचेको समय मात्र यहोवालाई दिन्छौं कि?
राम्रै मनसायसहित परिवारका कुनै सदस्य वा जोसिला लेवीले कसै गरी अनिच्छुक इस्राएलीलाई जबरजस्ती सबैभन्दा असल जनावर बलिदान चढाउन करमा पाऱ्यो भने के त्यो बलिदान परमेश्वरलाई ग्रहणयोग्य होला जस्तो तपाईंलाई लाग्छ? (यशैया २९:१३; मत्ती १५:७, ८) यहोवाले यस्ता बलिदानहरू अनि अन्ततः त्यस्तो बलिदान चढाउने व्यक्तिहरूलाई पनि तिरस्कार गर्नुभयो।—होशे ४:६; मत्ती २१:४३.
परमेश्वरको इच्छा गर्न प्रसन्न
परमेश्वरलाई ग्रहणयोग्य सेवा चढाउन हामीले येशू ख्रीष्टको उदाहरण पछ्याउनैपर्छ। उहाँले यस्तो भन्नुभयो, “म आफ्नो इच्छा होइन, तर मलाई पठाउनेको इच्छा खोज्दछु।” (यूहन्ना ५:३०) राजीखुसीले परमेश्वरको सेवा गर्दा येशूले आफू एकदमै आनन्दित भएको महसुस गर्नुभयो। येशूले दाऊदका यी भविष्यसूचक शब्दहरू पूरा गर्नुभयो: “हे मेरा परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्न छु।”—भजन ४०:८.
येशू यहोवाको इच्छा गर्न प्रसन्न हुनुभए तापनि त्यसो गर्न सधैं सजिलो भएन। उहाँको गिरफ्तारी, पुर्पक्ष अनि मृत्युअघि के भयो, विचार गर्नुहोस्। गेतसमनीको बगैंचामा येशू “अति शोकित” र “अत्यन्त संकष्टमा” हुनुहुन्थ्यो। उहाँमाथि अत्यन्तै भावनात्मक दबाउ परेकोले “उहाँको पसीना रगतका ठूला ठूला थोप्लाजस्तै भूइँमा खसिरहेका थिए।”—मत्ती २६:३८; लूका २२:४४.
येशूले किन यस्तो पीडा महसुस गर्नुभयो? आफ्नै इच्छा पूरा गर्न वा परमेश्वरको इच्छा पूरा गर्न अनिच्छुक भएर त पक्कै होइन। उहाँ मर्न तयार हुनुहुन्थ्यो र पत्रुसले “परमेश्वरको कृपा रहोस्, प्रभु, यस्तो कुरा तपाईंमाथि कदापि परिआउने छैन” भन्दा त्यसप्रति आपत्ति जनाउनुभयो। (मत्ती १६:२१-२३) तुच्छ अपराधीको रूपमा मर्नुपर्दा त्यसले यहोवा र उहाँको पवित्र नाउँमा कस्तो प्रभाव पार्ला भनेर येशू चिन्तित हुनुहुन्थ्यो। आफ्नो प्रिय पुत्रको यस्तो पाशविक ढंगमा मृत्यु भएको देख्दा यहोवा साह्रै दुःखी हुनुहुनेछ भनेर पनि येशूलाई थाह थियो।
आफू यहोवाको उद्देश्य पूरा हुने निर्णायक समयको नजिकै पुग्नुभएको कुरा पनि येशूले राम्ररी बुझ्नुभएको थियो। उहाँले परमेश्वरको व्यवस्था विश्वासी भई पालन गर्नुभएमा आदमले पनि पक्कै त्यसै गर्नसक्थ्यो भन्ने तथ्य प्रमाणित हुन्थ्यो। परीक्षामा पर्दा मानिसहरूले इच्छुक तथा विश्वासी भई परमेश्वरको सेवा गर्दैनन् भन्ने शैतानको दाबी येशू विश्वासी हुनुभएमा पूर्णतया झूटो साबित हुने थियो। येशूद्वारा यहोवाले अन्तमा शैतानलाई कुच्याउनु हुने थियो र त्यसको विद्रोहका असरहरूलाई पूर्णतया हटाउनु हुने थियो।—उत्पत्ति ३:१५.
येशूको काँधमा कत्ति ठूलो जिम्मेवारी थियो! उहाँको पिताको नाउँ, विश्वव्यापी शान्ति अनि मानव परिवारको मुक्ति सबै येशूको वफादारीमा निर्भर थियो। यही कुरालाई बुझेर उहाँले यस्तो प्रार्थना गर्नुभयो: “हे मेरा पिता, हुनसक्छ भने, यो कचौरा मबाट हटिजाओस्। तरैपनि मेरो इच्छाबमोजिम होइन, तर तपाईंको इच्छा बमोजिम होस्।” (मत्ती २६:३९) अत्यन्तै कठिन अवस्थामा पर्दासमेत आफ्नो पिताको इच्छाबमोजिम गर्नदेखि येशू कहिल्यै ढलपल हुनुभएन।
‘आत्मा ता तयार छ, तर शरीर दुर्बल छ’
यहोवाको सेवा गर्दा येशूले भावनात्मक तवरमा अचाक्ली दबाउ महसुस गर्नुपरेजस्तै शैतानले परमेश्वरका सेवकहरू अर्थात् हामीमाथि पनि दबाउ नल्याउला भन्न सकिन्न। (यूहन्ना १५:२०; १ पत्रुस ५:८) यसबाहेक, हामी असिद्ध छौं। त्यसकारण, इच्छुक भएर परमेश्वरको सेवा गर्दा हामीलाई पनि सजिलो हुनेछैन। येशूले चेलाहरूलाई अह्राउनुभएको काम पूरा गर्न पनि तिनीहरूलाई कस्तो गाह्रो भइरहेको थियो भनेर उहाँलाई थाह थियो। त्यसकारण, उहाँले यसो भन्नुभयो: “आत्मा ता साँच्चै तयार छ, तर शरीर दुर्बल छ।” (मत्ती २६:४१) उहाँको सिद्ध मानव शरीरमा वंशाणुगत असिद्धता केही थिएन। तथापि, चेलाहरूले वंशाणुगत तवरमा असिद्ध आदमबाट पाएको असिद्धता अनि तिनीहरूको शारीरिक कमजोरी उहाँलाई थाह थियो। वंशाणुगत तवरमा पाएको असिद्धता र मानव सीमितताको कारण तिनीहरूले चाहेजस्तो गरी यहोवाको सेवा गर्न संघर्ष गर्नुपर्नेछ भनेर पनि येशूलाई थाह थियो।
त्यसैकारण, परमेश्वरको सेवा गर्ने आफ्नो क्षमतामा असिद्धताको कारण अवरोध खडा हुँदा विचलित भएका प्रेरित पावलले जस्तै हामी पनि महसुस गर्नसक्छौं। “इच्छा गर्ने चाहिं मसित हाजिरै छ, तर असल काम गर्ने भने छैन” भनेर पावलले लेखे। (रोमी ७:१८) हामीलाई पनि चाहेजस्तै सबै असल कामकुराहरू पूर्णतया गर्न नसकेको अनुभव हुनसक्छ। (रोमी ७:१९) हामीले गर्न नचाहेकोले यसो भएको होइन। तर राम्रो गर्ने प्रयास गर्दागर्दै पनि हाम्रो शरीरको कमजोरीले गर्दा त्यसो भएको हो।
त्यसकारण, निराश नहोऔं। सक्दो गर्न हामी भित्री हृदयदेखि तयार छौं भने परमेश्वरले पक्कै पनि हाम्रो सेवा स्वीकार्नुहुनेछ। (२ कोरिन्थी ८:१२) हामी पूर्णतया परमेश्वरको इच्छाको अधीनमा रहने ख्रीष्टको मनोवृत्ति अनुकरण गर्ने ‘अथक प्रयत्न’ गर्नसकौं। (२ तिमोथी २:१५; फिलिप्पी २:५-७; १ पत्रुस ४:१, २) यहोवाले यस्तो इच्छुक मनोवृत्तिलाई इनाम दिनुका साथै समर्थन गर्नुहुनेछ। हाम्रा कमजोरीहरू छन्, त्यसकारण उहाँले हामीलाई “असामान्य शक्ति” दिनुहुनेछ। (२ कोरिन्थी ४:७-१०, NW) यहोवाको मदत पाएर हामीले उहाँको अनमोल सेवामा पावलले जस्तै ‘ज्यादै खुशीसित खर्च गर्नेछौं।’
[पृष्ठ २१-मा भएको चित्र]
पावलले आफ्नो क्षमताले भ्याएसम्म इच्छुक हुँदै परमेश्वरको सेवा गरे
[पृष्ठ २३-मा भएको चित्र]
अचाक्ली दबाउ महसुस गर्दा पनि येशूले आफ्नो पिताको इच्छा पूरा गर्नुभयो