के तपाईंलाई सम्झना छ?
के तपाईंले हालैका प्रहरीधरहरा-का अंकहरूलाई गहिरिएर ध्यान दिनुभयो? त्यसो हो भने निम्न बुँदाहरू पुनः स्मरण गर्न तपाईंलाई रोचक लाग्नेछ:
◻ दुई मसीहीहरूले मगनीबारे सोच्न थाल्नुअघि आफूलाई कस्ता प्रश्नहरू सोध्नसक्छन्?
‘के मलाई उसको आध्यात्मिकता र परमेश्वरप्रतिको भक्तिबारे साँच्चै थाह छ? के म ऊसँग आजीवन परमेश्वरको सेवा गरिरहेको कल्पना गर्नसक्छु? के हामीले एकअर्काको व्यक्तिगत गुणहरूबारे धेरथोर थाह पाइसकेका छौं? के हामी आजीवन मिलेर बस्नसक्छौं भनी म विश्वस्त छु? के हामीलाई एकअर्काको विगतका कामकुरा अनि वर्तमान परिस्थितिहरू राम्ररी थाह छ?’—८/१५, पृष्ठ ३१.
◻ येशूले आफ्ना अनुयायीहरूलाई: “तिमीहरू पृथ्वीका नून हौ” भन्नुको अर्थ के थियो? (मत्ती ५:१३)
चेलाहरूले परमेश्वरको राज्यबारे गर्ने प्रचारकार्य सुन्नेहरू जति सुरक्षित हुन्थे अथवा उनीहरूको ज्यान जोगिन्थ्यो भनेर येशूले संकेत गर्दै हुनुहुन्थ्यो। वास्तवमा, येशूका शब्दहरूलाई व्यवहारमा उतार्नेहरू संसारको नैतिक तथा आध्यात्मिक कुहावटबाट जोगिन्छन्।—८/१५, पृष्ठ ३२.
◻ विवाह गर्ने उद्देश्यले भेटघाट गर्ने जोडीहरू कसरी अनैतिकताको पासोबाट जोगिनसक्छन्?
तपाईं डेटिङ गर्दै हुनुहुन्छ भने, आफ्नो सम्भाव्य जीवन साथीसँग अप्ठ्यारो परिस्थितिहरूमा एक्लै भेटघाट नगर्नु बुद्धिमानी हुन्छ। समूहमा वा सार्वजनिक स्थानहरूमा एकअर्काको संगतिको आनन्द उठाउनु उचित हुन्छ। भावनाहरू र अन्तस्करणलाई कदर गर्दै ठीक मात्रामा स्नेह प्रदर्शित गर्नुहोस्।—९/१, पृष्ठ १७, १८.
◻ समझ भनेको के हो?
समझ भनेको परिस्थितिलाई राम्ररी नियालेर यसको भाग भाग तथा सम्पूर्ण परिस्थिति बीचको सम्बन्धलाई बुझ्नु हो। (हितोपदेश ४:१)—९/१५, पृष्ठ १३.
◻ यहोवाले आज हामीबाट के चाहनुहुन्छ?
वास्तवमा यहोवाले हामीबाट चाहनुभएको कुरा उहाँको पुत्रको कुरा सुन्नु र उहाँको नमुना तथा शिक्षाहरू पछ्याउनु हो। (मत्ती १६:२४; १ पत्रुस २:२१)—९/१५, पृष्ठ २२.
◻ कसले मात्र शान्ति पाउनसक्छन्?
परमेश्वर “शान्तिका परमेश्वर” हुनुहुन्छ। तसर्थ, परमेश्वरलाई प्रेम गर्ने र उहाँका धार्मिक सिद्धान्तहरूलाई गहिरो आदर गर्ने मानिसहरूले मात्र शान्ति पाउनसक्छन्। (रोमी १५:३३)—१०/१, पृष्ठ ११.
◻ यूसुफले पोतीफरकी पत्नीलाई दिनहुँ नाइँ भन्ने नैतिक शक्ति कसरी पाए?
यूसुफले क्षणिक आनन्दभन्दा यहोवासितको आफ्नो सम्बन्धलाई निकै अनमोल ठान्थे। यसबाहेक, तिनी ईश्वरीय व्यवस्थाको अधीनमा नभए तापनि नैतिक सिद्धान्तहरू राम्ररी बुझेका थिए। (उत्पत्ति ३९:९)—१०/१, पृष्ठ २९.
◻ आफ्ना भाइहरूलाई क्षमा गर्ने हाम्रो इच्छुकता कत्तिको महत्त्वपूर्ण छ?
हामी आफ्ना भाइहरूलाई क्षमा गर्न इच्छुक भयौं भने मात्र परमेश्वरबाट लगातार क्षमा पाइरहन्छौं। (मत्ती ६:१२, १४; लूका ११:४)—१०/१५, पृष्ठ १७.
◻ मत्ती १८:१५-१७ ले कस्ता पापहरूलाई औंल्याइरहेको थियो र त्यसले के संकेत गर्छ?
येशूले उल्लेख गर्नुभएको पाप यति गम्भीर पाप थियो कि, त्यसले गल्ती गर्ने व्यक्तिलाई “अन्यजाति र महसूल उठाउने सरह” बनाउनसक्थ्यो। यहूदीहरू अन्यजातिकाहरूसित बसउठ गर्दैन थिए र तिनीहरू महसुल उठाउनेहरूदेखि टाढै बस्थे। यसकारण, मत्ती १८:१५-१७ ले सजिलै क्षमा दिन वा बिर्सन सकिने व्यक्तिगत गल्तीहरू वा चित्त दुखाइलाई होइन तर गम्भीर पापलाई जनाउँथ्यो। (मत्ती १८:२१, २२)—१०/१५, पृष्ठ १९.
◻ परमेश्वरको वचनलाई साँचो प्रेम गर्नुमा के के समावेश छ?
परमेश्वरको वचनप्रतिको प्रेमले गर्दा यसका आवश्यकताहरू अनुरूप आफ्नो जीवन बिताउन लगाउँछ। (भजन ११९:९७, १०१, १०५) यसको लागि आफ्नो सोचाइ तथा जीवनशैलीलाई निरन्तर छाँटकाँट गरिरहनुपर्छ।—११/१, पृष्ठ १४.
◻ यहोवाबाट त्यति धेरै पाएपछि हामीले महान् राजा र दातालाई के दिन सक्छौं?
बाइबलले बताएअनुसार हामीले यहोवालाई दिनसक्ने सबैभन्दा उत्तम उपहार “स्तुतिको बलिदान” हो। (हिब्रू १३:१५) किन? किनभने यो बलिदान जीवन बचाउने कार्यसित प्रत्यक्षतः सम्बन्धित छ र यो, यस आखिरी दिनमा यहोवाको मुख्य चिन्ताको विषय हो। (इजकिएल १८:२३)—११/१, पृष्ठ २१.
◻ सुलेमानले “बुद्धिमान् वचनहरू गोठालाको लाठोझैं छन्” भनेर लेख्दा के भन्न खोजेका हुन्? (उपदेशक १२:११)
ईश्वरीय बुद्धि भएका मानिसहरूका वचनहरूले पाठक वा स्रोताहरूलाई आफूले पढेका वा सुनेका बुद्धिमानी शब्दहरूअनुसार उन्नति गर्न उत्प्रेरित गर्छ।—११/१५, पृष्ठ २१.
◻ ईश्वरीय समझशक्ति भनेको के हो?
ईश्वरीय समझशक्ति भनेको सही र गलत छुट्ट्याएर सही मार्गमा चल्ने योग्यता हो। परमेश्वरको वचन अध्ययन गर्नुका साथै व्यवहारमा उतार्नाले सम्झशक्ति पाइन्छ।—११/१५, पृष्ठ २५.
◻ जिम्मेवारीहरू स्वीकार्ने इच्छालाई केसित सन्तुलित राख्नुपर्छ? (२ तिमोथी ३:१)
यसलाई सही निर्णयसित सन्तुलित राख्नुपर्छ। यहोवाको सेवामा आनन्द गुमाउने गरी तीन थुप्रो असाइनमेन्ट पनि लिनु हुँदैन। इच्छुक मनोभाव सराहनीय कुरा हो तर यस्तो इच्छुकतामा विनम्रता र “आत्मसंयम” पनि झल्किनुपर्छ। (तीतस २:१२; प्रकाश ३:१५, १६)—१२/१, पृष्ठ २८.
◻ छोराछोरी हुर्काउने चुनौतीको सामना कसरी गर्नसकिन्छ?
परमेश्वरले आमाबाबुहरूलाई उदाहरण, मित्र, कुराकानी गर्ने साथी अनि शिक्षक बन्ने सल्लाह दिनुहुन्छ। (व्यवस्था ६:६, ७)—१२/१, पृष्ठ ३२.