बाइबलको दृष्टिकोण
के येशूलाई बेतलेहेममा तीन जना राजाहरूले भेट्न आए?
येशूको जन्मपछि, पूर्वीय देशका प्रख्यात मानिसहरू, यहूदीहरूको राजा जन्मियो भन्दै बेतलेहेममा उहाँको दर्शन गर्न आए। आजसम्म पनि क्रिसमस मनाउने संसारभरिका थुप्रै मानिसहरू त्यो दर्शनभेटको स्मरणार्थ उत्सव मनाउने गर्छन्।
कुनै कुनै ठाउँमा मानिसहरूले येशूको जन्मबारे बनाएको दृश्यमा पूर्वीय मुलुकका तीन जना राजाहरूले नवजात येशूलाई उपहार चढाइरहेको देखाउँछन्। अरू मुलुकहरूमा भने केटाकेटीहरू “पवित्र राजाहरू[को]” जस्तो पोशाक लगाएर टोलछिमेक डुल्छन्। अहिले २० औं शताब्दी बितिसक्दा पनि मानिसहरूले ती असाधारण दर्शनार्थीहरूको अझै सम्झना गर्छन्। तिनीहरू वास्तवमा को थिए?
के तिनीहरू राजा थिए?
यसको ऐतिहासिक विवरण बाइबल पुस्तक, मत्तीमा पाइन्छ। त्यहाँ हामी यसो लेखिएको पाउँछौं: “येशू जन्मिनुभएपछि . . . पूर्वबाट ज्योतिषीहरू यरूशलेममा आए, र भने, ‘यहूदीहरूका राजा भएर जन्मेका, उहाँ कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वतिर देख्यौं, र दर्शन गर्नआएका छौं?’ ” (मत्ती २:१, २) यहाँ यी दर्शनार्थीहरूलाई राजाहरू नभनी किन पूर्वका ज्योतिषीहरू भनिएको?
शास्त्रपदले यहाँ युनानी शब्द मागोस-को बहुवचन रूप चलाएको छ। अरू बाइबल अनुवादहरूले “ज्ञानी पुरुषहरू,” “ज्योतिषीहरू” वा “नक्षत्रशास्त्री” भनेका छन् वा “मेजाई” भनेरै शब्द रूपान्तर गरेका छन्। यो शब्दले तारा वा ग्रहहरूको स्थान हेरेर सल्लाह दिने वा भविष्य बताउने मानिसलाई बुझाउँछ। यसकारण बाइबलले बेतलेहेममा आएका ती व्यक्तिहरू, भावी बताउनेहरू थिए भनेर बताउँछ र परमेश्वरले त्यस्तो कार्यको निन्दा गर्नुहुन्छ।—व्यवस्था १८:१०-१२.
के तिनीहरू राजा पनि थिए? भएका भए, बाइबलले तिनीहरूलाई राजा भनेर चिनाउनुपर्ने थियो। मत्ती २:१-१२ मा “राजा” भन्ने शब्द चार चोटि प्रयोग गरिएको छ। त्यसमध्ये एक चोटि येशूलाई बुझाउन र बाँकी तीन चोटि हेरोदलाई बुझाउन प्रयोग गरिएको छ। तर एक चोटि पनि मेजाई राजाहरू भनिएको छैन। यसबारे क्याथोलिक विश्वकोश यसो भन्छ: “कुनै पनि चर्च प्रमुखले मेजाईहरू राजा थिए भनेका छैनन्।” नता बाइबलले नै भन्छ।
के तिनीहरू तीन जना थिए?
मेजाईहरूको संख्या बाइबलमा बताइएको छैन। तैपनि, येशूको जन्मका दृश्य र क्रिसमस गीतहरूले तिनीहरू तीन जना थिए भन्ने धारणा राखेको पाइन्छ। ती दर्शनार्थीहरूले तीन प्रकारको उपहार ल्याएको हुँदा तिनीहरू कति जना थिए भन्ने कुरा उठेको हो। यस सन्दर्भमा बाइबल यसो भन्छ: “आफ्ना कन्तुर खोलेर [येशूलाई] सुन, धूप, मूर्रका भेटी चढाए।”—मत्ती २:११.
मेजाईहरूले तीन प्रकारका उपहार चढाएका हुनाले मेजाईहरू पनि तीन जनै थिए भन्ने तर्क मिल्छ र? आउनुहोस्, इस्राएलमा आएका अर्का एक जना उल्लेखनीय व्यक्तिको विवरणलाई ध्यान देऔं। शबाकी रानीले राजा सुलेमानलाई भेट्न आउँदा “मसाला ऊँट, धेरै सुन र बहुमूल्य रत्नहरू” ल्याएकी थिइन्। (१ राजा १०:२) यहाँ तीन प्रकारका उपहारबारे बताइएको भए तापनि एउटै व्यक्ति अर्थात् शबाकी रानीबारे मात्र उल्लेख गरिएको पाइन्छ। तिनीहरूले ल्याएको उपहारको आधारमा त्यतिबेला सुलेमानलाई भेट्न पनि तीन जनै आएका थिए भन्न मिल्दैन। त्यसरी नै, येशूलाई चढाइएको तीन वटा उपहारसित कति जनाले त्यो उपहार ल्यायो भन्ने कुनै सरोकार छैन।
क्याथोलिक विश्वकोश यस्तो टिप्पणी गर्छ: “सुसमाचारको विवरणमा मेजाईहरू कति जना थिए भनेर बताइएको छैन र त्यो बताउने खासै चलन पनि पाइँदैन। कोही कोही चर्च प्रमुखहरू तीन जना मेजाईबारे बताउँछन्; हुनसक्छ, तिनीहरूले उपहारको संख्याको आधारमा त्यसो भनेका हुन्।” साथै, कतिपय चित्रहरूमा दुई, तीन, चार वा आठ जना व्यक्तिहरू समेत येशूलाई भेट्न आएका कोरिएको छ भनेर बताइएको पाइन्छ। कुनै कुनैले त १२ जना सम्म आएका थिए भन्छन्। मेजाईहरूको संख्या यति नै थियो भनेर किटान गर्ने कुनै आधार छैन।
लोकप्रिय तर गलत कथा
येशूको जन्मपछि मेजाईहरू सर्वप्रथम बेतलेहेम होइन यरूशलेम आए तर लोकप्रिय विश्वास भने अर्कै छ। येशूको जन्म हुँदा तिनीहरू त्यहाँ थिएनन्। पछि, बेतलेहेम जाँदा “घरभित्र पसेर तिनीहरूले साना बालकलाई” देखे भनी बाइबल बताउँछ। (मत्ती २:१, ११) अतः मेजाईहरू येशूलाई भेट्न त्यहाँ पुगुञ्जेल उहाँको परिवार आफ्नै घरमा सरिसकेका थिए भनी स्पष्ट हुन्छ। ती मेजाईहरूले येशूलाई देख्दा उहाँ डूँडमा हुनुहुन्नथ्यो।
येशूको जन्म हुँदा तीन जना राजाले उहाँको सम्मान गरे भन्ने लोकप्रिय कथा धर्मशास्त्रअनुसार सही होइन। माथि उल्लेख गरिएअनुसार येशूलाई भेट्न गएका मेजाईहरू राजाहरू होइनन् तर भावी हेर्ने ज्योतिषीहरू थिए भनी बाइबलले बताउँछ। तिनीहरू कति जना थिए भनेर धर्मशास्त्रमा बताइएको छैन। साथै, येशू जन्मिएर डूँडमा छँदा तिनीहरूले उहाँलाई भेटेका होइनन् तर अलि पछि घरमै भेटेका हुन्।
तीन राजाहरू र अरू परम्परागत क्रिसमस कथाहरूको लोकप्रिय विवरण धर्मशास्त्रीय दृष्टिकोणले गलत भए तापनि अहानिकारक लोककथाको रूपमा लिइन्छ। तथापि, मसीहीहरू झूटसित छ्यासमिस नभएको उपासनाको उच्च सम्मान गर्छन्। येशूले पनि यस्तै महसुस गर्नुहुन्थ्यो। आफ्नो पितालाई प्रार्थना गर्नुहुँदा उहाँले एक चोटि यसो भन्नुभयो: “तपाईंको वचन सत्य हो।” (यूहन्ना १७:१७) उहाँले भन्नुभयो, “साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्। किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ।”—यूहन्ना ४:२३.
[पृष्ठ १५-मा भएको चित्र]
“मेजाईको भक्ति,” इटाली