परमेश्वरले गर्नुभएको वैवाहिक प्रबन्धको आदर गर्नुहोस्
“जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”—मर्कु. १०:९.
१, २. हिब्रू १३:४ ले हामीलाई के गर्न उत्प्रेरित गर्नुपर्छ?
के तपाईँ यहोवालाई आदर गर्नुहुन्छ? पक्कै गर्नुहुन्छ! उहाँ तपाईँको आदर पाउन योग्य हुनुहुन्छ अनि उहाँले पनि तपाईँलाई आदर गर्ने प्रतिज्ञा गर्नुभएको छ। (१ समु. २:३०; हितो. ३:९; प्रका. ४:११) हामीले मानिसहरूलाई पनि आदर गरेको उहाँ चाहनुहुन्छ, जस्तै, सरकारी हाकिमहरू। (रोमी १२:१०; १३:७) तर तपाईँले खासगरि आदर देखाउनुपर्ने एउटा क्षेत्र छ। त्यो हो, वैवाहिक प्रबन्ध।
२ प्रेषित पावलले यस्तो लेखे: “विवाहलाई सबैले आदरणीय ठानून्, वैवाहिक सम्बन्ध नबिटुलिओस्।” (हिब्रू १३:४) पावलले यहाँ विवाहबारे एउटा सामान्य कुरा मात्र बताइरहेका थिएनन्। बरु तिनले ख्रिष्टियनहरूलाई वैवाहिक प्रबन्धको आदर गर्न, त्यसलाई मूल्यवान् ठान्न आग्रह गरिरहेका थिए। के तपाईँ वैवाहिक प्रबन्धप्रति यस्तै दृष्टिकोण राख्नुहुन्छ? अनि यदि तपाईँ विवाहित हुनुहुन्छ भने आफ्नो विवाहप्रति पनि यस्तै दृष्टिकोण राख्नुहुन्छ?
३. येसुले विवाहबारे कस्तो महत्त्वपूर्ण सल्लाह दिनुभयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)
३ यदि तपाईँ विवाहलाई आदर गर्नुहुन्छ भने तपाईँले एकदम राम्रो उदाहरण अनुकरण गर्दै हुनुहुन्छ। येसुले वैवाहिक प्रबन्धको आदर गर्नुभयो। फरिसीहरूले सम्बन्धविच्छेदबारे प्रश्न गर्दा उहाँले मानवजातिको पहिलो विवाहबारे परमेश्वरले भन्नुभएको कुरा बताउनुभयो। उहाँले यसो भन्नुभयो: “यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्छ र ती दुई एउटै शरीर हुन्छन्।” उहाँले यसो पनि भन्नुभयो: “जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”—मर्कुस १०:२-१२ पढ्नुहोस्; उत्प. २:२४.
४. यहोवाले विवाहको लागि कस्तो स्तर तोक्नुभयो?
४ परमेश्वरले नै वैवाहिक प्रबन्धको सुरुवात गर्नुभयो र त्यो स्थायी बन्धन हो भन्ने कुरामा येसु सहमत हुनुहुन्थ्यो। परमेश्वरले आदम र हव्वालाई पछि सम्बन्धविच्छेद गर्न सकिन्छ भन्नुभएन। परमेश्वरले अदनमा पहिलो विवाह गराइदिनुहुँदा एक जना पुरुषको एक जना पत्नी हुने स्तर तोकिदिनुभयो अनि “ती दुई”-बीचको विवाह सधैँभरि रहिरहनुपर्थ्यो।
वैवाहिक सम्बन्धमा आएका अस्थायी परिवर्तनहरू
५. मृत्युले वैवाहिक सम्बन्धमा कस्तो असर पार्छ?
५ तर आदमले पाप गरेपछि वैवाहिक सम्बन्धमा केही परिवर्तनहरू आए भन्ने कुरा तपाईँलाई थाहै छ। वैवाहिक सम्बन्धलाई असर गर्ने एउटा कुरा हो, मृत्यु। ख्रिष्टियनहरू मोसाको व्यवस्थाको अधीनमा छैनन् भनेर बताउने सिलसिलामा मृत्युले वैवाहिक सम्बन्धमा पार्ने असरबारे प्रेषित पावलले उल्लेख गरे। तिनले बताएअनुसार मृत्युले वैवाहिक बन्धनको अन्त्य गर्छ अनि जीवित पति वा पत्नीले फेरि विवाह गर्न सक्छ।—रोमी ७:१-३.
६. मोसाको व्यवस्थामा विवाहप्रति परमेश्वरको दृष्टिकोण कसरी झल्किन्छ?
६ परमेश्वरले इस्राएल राष्ट्रलाई दिनुभएको व्यवस्थामा विवाहबारे विस्तृत विवरण पाउँछौँ। व्यवस्थाले इस्राएलीहरूलाई बहुविवाह गर्न अनुमति दियो, जुन प्रचलन परमेश्वरले व्यवस्था दिनुभन्दा अघि नै सुरु भइसकेको थियो। तर आफ्नो मनखुसी बहुविवाह गर्न पाइँदैनथ्यो। यो नियमले गर्दा स्त्री र केटाकेटीहरूको सुरक्षा हुन्थ्यो। उदाहरणको लागि, यदि कुनै इस्राएलीले एउटी दासीसित विवाह गरेको थियो तर उसले पछि दोस्रो विवाह गऱ्यो भने जेठी पत्नीलाई भोजन, लुगाफाटा र पत्नीलाई दिनुपर्ने हकबाट वञ्चित गर्न पाउँदैन थियो। उसले आफ्नी जेठी पत्नीको सुरक्षा र हेरचाह गरेको परमेश्वर चाहनुहुन्थ्यो। (प्रस्थ. २१:९, १०) हुनत हामी अहिले मोसाको व्यवस्थाको अधीनमा छैनौँ तर यसबाट यहोवा वैवाहिक प्रबन्धको निकै मोल गर्नुहुन्छ भनेर बुझ्न सक्छौँ। यो कुरा विचार गर्दा के तपाईँको मनमा पनि वैवाहिक प्रबन्धप्रति आदर जाग्दैन र?
७, ८. (क) व्यवस्था २४:१ मा सम्बन्धविच्छेदबारे के भनिएको छ? (ख) सम्बन्धविच्छेदप्रति यहोवा कस्तो दृष्टिकोण राख्नुहुन्छ?
७ सम्बन्धविच्छेदबारे व्यवस्थामा के भनिएको थियो? परमेश्वर वैवाहिक प्रबन्धको असाध्यै कदर गर्नुहुन्छ तैपनि उहाँले सम्बन्धविच्छेद गर्ने छुट दिनुभयो। (व्यवस्था २४:१ पढ्नुहोस्) कुनै इस्राएली पुरुषले “आफ्नी पत्नीमा केही खराबी भेट्यो” भने सम्बन्धविच्छेद गर्न सक्थ्यो। यहाँ उल्लेख गरिएको “खराबी” के हो भनेर व्यवस्थामा बताइएको थिएन। यो कुनै सानोतिनो गल्ती नभई घिनलाग्दो वा अशुद्ध कुरा हुनुपर्थ्यो। (व्यव. २३:१४) तर दुःखको कुरा, येसुको समयका थुप्रै यहुदीले “जुनसुकै कारण देखाएर” सम्बन्धविच्छेद गर्थे। (मत्ति १९:३) हामी तिनीहरूको जस्तो मनोवृत्ति कदापि राख्न चाहँदैनौँ।
८ भविष्यवक्ता मलाकीले सम्बन्धविच्छेदप्रति परमेश्वरको दृष्टिकोण प्रकट गरे। मलाकीको समयमा पुरुषहरूले “बैँसमा बिहे गरेको पत्नीलाई धोका” दिएर सम्बन्धविच्छेद गर्नु सामान्य कुरा भइसकेको थियो। सायद गैर-इस्राएली तरुनी केटीसित विवाह गर्न तिनीहरू त्यसो गर्थे। तर यो कुराप्रति परमेश्वरको दृष्टिकोणबारे मलाकीले यस्तो लेखे: “म सम्बन्धविच्छेदलाई घृणा गर्छु।” (मला. २:१४-१६) यो दृष्टिकोण परमेश्वरको वचनमा पहिलो विवाहबारे बताइएको कुरासित मेल खान्छ: “पुरुष . . . आफ्नी पत्नीसित बस्छ र तिनीहरू एउटै शरीर हुन्छन्।” (उत्प. २:२४) येसुले वैवाहिक प्रबन्धप्रति आफ्नो बुबाको दृष्टिकोणलाई समर्थन गर्दै यसो भन्नुभयो: “जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”—मत्ति १९:६.
सम्बन्धविच्छेद गर्ने एक मात्र आधार
९. मर्कुस १०:११, १२ मा येसुले के भन्न खोज्दै हुनुहुन्थ्यो?
९ कसैले यस्तो प्रश्न गर्लान्, ‘के कुनै ख्रिष्टियनले सम्बन्धविच्छेद गरेर फेरि विवाह गर्न सक्ने कुनै आधार छ?’ सम्बन्धविच्छेदबारे येसुले के भन्नुभयो, याद गर्नुहोस्: “जसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार गरेर आफ्नी पत्नीको हक खोसेको ठहरिन्छ। अनि यदि कुनै स्त्रीले आफ्नो पतिसित सम्बन्धविच्छेद गरेर अर्कोसित विवाह गर्छे भने उसले व्यभिचार गरेको ठहरिन्छ।” (मर्कु. १०:११, १२; लुका १६:१८) यसबाट येसुले वैवाहिक प्रबन्धको आदर गर्नुहुन्थ्यो र अरूले पनि त्यसै गरेको चाहनुहुन्थ्यो भनेर स्पष्ट हुन्छ। कुनै निहुँ बनाएर आफ्नो वफादार पत्नीसित सम्बन्धविच्छेद गर्ने र अर्को स्त्रीसित विवाह गर्ने पुरुषले (अथवा आफ्नो वफादार पतिसित सम्बन्धविच्छेद गर्ने स्त्रीले) व्यभिचार गरिरहेको हुन्छ। किनभने आफ्नो पति वा पत्नीसित सम्बन्धविच्छेद गर्दैमा वैवाहिक सम्बन्ध अन्त्य हुँदैन। परमेश्वरको नजरमा तिनीहरू दुई जना अझै पनि “एउटै शरीर” हुन्। आफ्नी निर्दोष पत्नीसित सम्बन्धविच्छेद गर्ने पुरुषले पत्नीलाई व्यभिचार गर्ने खतरामा पारिरहेको हुन्छ भनेर पनि येसुले बताउनुभयो। कसरी? येसुको समयमा, सम्बन्धविच्छेद भएकी स्त्रीले आर्थिक बोझको कारण फेरि विवाह गर्न बाध्य महसुस गर्ने सम्भावना हुन्थ्यो। त्यसरी विवाह गर्दा व्यभिचार गरेसरह हुन्थ्यो।
१०. एक जना ख्रिष्टियनले सम्बन्धविच्छेद गरेर फेरि विवाह गर्न सक्ने एक मात्र आधार के हो?
१० येसुले सम्बन्धविच्छेद गर्न सकिने आधारबारे स्पष्टसित बताउनुभयो। उहाँले भन्नुभयो: “म तिमीहरूलाई भन्छु, जसले अवैध यौनसम्बन्धबाहेक अन्य कारणले [ग्रीक भाषामा पोर्निया] आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार गरेको ठहरिन्छ।” (मत्ति १९:९) डाँडाको उपदेशमा पनि येसुले यही कुरा प्रस्ट पार्नुभयो। (मत्ति ५:३१, ३२) दुवै चोटि येसुले “अवैध यौनसम्बन्ध”-बारे बताउनुभयो। “अवैध यौनसम्बन्ध”-मा विवाहित जोडीबाहेक अरूसित राखिने विभिन्न किसिमका यौनसम्बन्धहरू पर्छन्: व्यभिचार, वेश्यावृत्ति, अविवाहित व्यक्तिहरूबीचको यौनसम्बन्ध, समलैङ्गिकता र पशुसम्भोग। उदाहरणको लागि, यदि कुनै विवाहित पुरुषले अवैध यौनसम्बन्ध राखेमा तिनकी पत्नीले सम्बन्धविच्छेद गर्ने या नगर्ने निर्णय गर्न सक्छिन्। तिनले आफ्नो पतिसित सम्बन्धविच्छेद गरिन् भने परमेश्वरको नजरमा तिनीहरूबीचको वैवाहिक सम्बन्ध अन्त्य हुन्छ।
११. सम्बन्धविच्छेद गर्ने धर्मशास्त्रीय आधार भए पनि कुनै ख्रिष्टियनले किन त्यसो नगर्ने निर्णय गर्न सक्छन्?
११ तर याद गर्नुहोस्, आफ्नो पति वा पत्नीले अवैध यौनसम्बन्ध (पोर्निया) राखेमा निर्दोष जोडीले सम्बन्धविच्छेद गर्नै पर्छ भनेर येसुले भन्नुभएन। उदाहरणको लागि, आफ्नो पतिले अवैध यौनसम्बन्ध राखे तापनि पत्नीले पतिसितै बस्ने निर्णय गर्न सक्छिन्। उनी अझै आफ्नो पतिलाई माया गर्छिन् होला; उनी पतिलाई क्षमा दिन र आफ्नो वैवाहिक सम्बन्धलाई सुधार्न पतिसँगै मिलेर प्रयास गर्न चाहन्छिन् होला। हुन पनि उनले पतिसित सम्बन्धविच्छेद गरिन् तर फेरि विवाह गरिनन् भने बेग्लै प्रकारका चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ। उनको भौतिक आवश्यकता कसरी पूरा हुनेछ? अनि उनको यौन इच्छा नि? उनले एक्लोपनको सामना कसरी गर्नेछिन्? अनि छोराछोरी छन् भने नि? सम्बन्धविच्छेद गरेपछि छोराछोरीलाई सत्यको मार्गमा हिँडाउन झन् गाह्रो हुने हो कि? (१ कोरि. ७:१४) कुरा स्पष्ट छ, सम्बन्धविच्छेद भएको निर्दोष जोडीले गम्भीर समस्याहरू सामना गर्नुपर्ने हुन्छ।
१२, १३. (क) होसेको वैवाहिक जीवनमा कस्तो उतारचढाव आयो? (ख) होसेले गोमेरलाई किन फेरि स्विकारे अनि यसबाट अहिले वैवाहिक सम्बन्धबारे के सिक्न सक्छौँ?
१२ भविष्यवक्ता होसेको अनुभवबाट विवाहप्रति परमेश्वरको दृष्टिकोण स्पष्टसित बुझ्न सक्छौँ। परमेश्वरले होसेलाई एउटी स्त्रीसित (गोमेर) विवाह गर भन्नुभयो, ‘जसले पछि वेश्यावृत्ति गर्ने थिइन् र वेश्यावृत्ति गरेरै सन्तान पनि जन्माउने थिइन्।’ गोमेर “गर्भवती भइन् अनि [होसेबाट] एउटा छोरा जन्माइन्।” (होसे १:२, ३) पछि गोमेरले एउटी छोरी र एउटा छोरा जन्माइन्; सम्भवतः तिनले ती दुवै सन्तान वेश्यावृत्ति गरेर जन्माएकी थिइन्। गोमेरले पटक-पटक व्यभिचार गरे तापनि होसेले तिनलाई त्यागेनन्। अन्तमा गोमेरले होसेलाई छोडिन् र दासी बनिन्। तैपनि होसेले तिनलाई किनेर फिर्ता ल्याए। (होसे ३:१, २) इस्राएल राष्ट्र अवफादार हुँदा यहोवाले तिनीहरूलाई पटक-पटक क्षमा दिनुभएको कुरालाई बुझाउन उहाँले होसेको उदाहरण चलाउनुभयो। यसबाट हामी के सिक्न सक्छौँ?
१३ कुनै ख्रिष्टियनको पति वा पत्नीले व्यभिचार गरेमा निर्दोष ख्रिष्टियनले एउटा निर्णय गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा निर्दोष जोडीले सम्बन्धविच्छेद गर्न सक्ने आधार हुन्छ र तिनी फेरि विवाह गर्न स्वतन्त्र हुन्छन् भनेर येसुले बताउनुभयो। अर्कोतर्फ, निर्दोष जोडीले क्षमा पनि दिन सक्छन् र त्यसो गर्नु गलत हुनेछैन। होसेले गोमेरलाई फेरि स्विकारे अनि होसेकहाँ फर्किएपछि गोमेरले अर्को पुरुषसित यौनसम्बन्ध राख्न पाउँदैनथिइन्। होसेले केही समयसम्म गोमेरसित ‘यौनसम्बन्ध राखेनन्।’ (होसे ३:३, फुटनोट) तर पछि गएर होसेले गोमेरसित यौनसम्बन्ध राखेको हुनुपर्छ। अनि यो घटनाले परमेश्वर आफ्ना जनहरूलाई फेरि स्विकार्न र तिनीहरूसित पहिलेजस्तै व्यवहार गर्न इच्छुक हुनुहुन्छ भन्ने कुराको चित्रण गर्थ्यो। (होसे १:११; ३:३-५) यसबाट अहिले हाम्रो समयमा वैवाहिक सम्बन्धबारे के सिक्न सक्छौँ? निर्दोष जोडीले आफ्नो वैवाहिक सम्बन्धलाई निरन्तरता दिने निर्णय गरेर आफ्नो पति वा पत्नीसित यौनसम्बन्ध राख्न थाल्छन् भने तिनले क्षमा दिएको कुरा देखिन्छ। (१ कोरि. ७:३, ५) त्यसपछि भने सम्बन्धविच्छेद गर्ने आधार रहँदैन। त्यसउप्रान्त पति-पत्नी दुवै मिलेर विवाहप्रति परमेश्वरको जस्तै दृष्टिकोण राख्न प्रयास गर्नुपर्छ।
गम्भीर समस्या आउँदासमेत वैवाहिक प्रबन्धको आदर गर्नुहोस्
१४. पहिलो कोरिन्थी ७:१०, ११ अनुसार वैवाहिक जीवनमा कस्तो अवस्था आउन सक्छ?
१४ येसु र यहोवाले वैवाहिक प्रबन्धको आदर गर्नुभएजस्तै सबै ख्रिष्टियनले पनि वैवाहिक प्रबन्धको आदर गर्न प्रयास गर्नुपर्छ। तर कोही-कोही त्यसो गर्न चुक्न सक्छन् किनकि मानिसहरू त्रुटिपूर्ण छन्। (रोमी ७:१८-२३) त्यसैले प्रथम शताब्दीका केही ख्रिष्टियनहरूको वैवाहिक सम्बन्धमा गम्भीर समस्याहरू थिए भनेर थाह पाउँदा हामी ज्यादै छक्क पर्नु पर्दैन। पावलले “पत्नी आफ्नो पतिबाट छुट्टिएर नबसोस्” भन्ने सल्लाह दिए। तर कोही-कोही भने छुट्टिएर बसेका थिए।—१ कोरिन्थी ७:१०, ११ पढ्नुहोस।
१५, १६. (क) वैवाहिक सम्बन्धमा गम्भीर समस्याहरू आउँदा पनि पति-पत्नीको लक्ष्य के हुनुपर्छ र किन? (ख) पति वा पत्नी यहोवाको उपासक होइनन् भने यो सल्लाह कसरी लागू हुन्छ?
१५ पावलले कोही-कोही त्यसरी छुट्टिएर बस्नुको कारण खुलाएका छैनन्। तर तिनीहरू सम्बन्धविच्छेद गर्ने र फेरि विवाह गर्ने आधार भएकोले त्यसरी छुट्टिएर बसेका चाहिँ थिएनन्। उदाहरणको लागि, पतिले अवैध यौनसम्बन्ध राखेको कारणले पत्नी तिनीसित छुट्टिएर बसेकी थिइनन्। पावलले पतिसित छुट्टिएर बसेकी पत्नी कि त “अविवाहित बसोस् कि पतिसित फेरि मिलाप गरोस्” भनेर लेखे। त्यसैले तिनीहरू दुई अझै पनि परमेश्वरको नजरमा विवाहित जोडी नै थिए। पति वा पत्नीले अवैध यौनसम्बन्ध राखेको छैन भने अरू जस्तोसुकै कारण भए पनि तिनीहरूले मिलाप गर्ने लक्ष्य राख्नुपर्छ भनेर पावलले सल्लाह दिए। तिनीहरू दुवैले मण्डलीका एल्डरहरूसित बाइबलको सल्लाह माग्न सक्छन्। एल्डरहरूले पति वा पत्नीको पक्ष लिँदैनन् बरु बाइबलमा आधारित सल्लाह दिन्छन्।
१६ पति-पत्नीमध्ये एक जना मात्र यहोवाको उपासक हुन् भने समस्या अझ जटिल हुन सक्छ। यस्ता विवाहित जोडीबीच गम्भीर समस्या भएको खण्डमा के छुट्टिएर बस्नु उचित हुन्छ? बाइबलमा सम्बन्धविच्छेद गर्न सकिने जायज कारण अवैध यौनसम्बन्ध हो भनेर बताइएको छ तर छुट्टिएर बस्न सकिने कारणहरूबारे बताइएको छैन। पावलले यस्तो लेखे: “कुनै स्त्रीको बेग्लै आस्था भएको पति छ र ऊ आफ्नी पत्नीसित बस्न राजी छ भने उसले आफ्नो पतिलाई नत्यागोस्।” (१ कोरि. ७:१२, १३) यो सल्लाह आज हामीलाई पनि लागू हुन्छ।
१७, १८. कोही-कोही ख्रिष्टियन गम्भीर समस्याको बाबजुद किन आफ्नो जोडीसितै बसेका छन्?
१७ हुनत कुनै-कुनै अवस्थामा “बेग्लै आस्था भएको पति” “आफ्नी पत्नीसित बस्न राजी” नहुन सक्छन्। तिनले आफ्नी पत्नीलाई असाध्यै शारीरिक दुर्व्यवहार गर्न सक्छन्, यहाँसम्म कि उनलाई आफ्नो स्वास्थ्य वा ज्यानकै खतरा महसुस हुन सक्छ। तिनले आफ्नी पत्नी र आफ्नो परिवारको भौतिक आवश्यकता पूरा नगर्न सक्छन् वा पत्नीको आध्यात्मिकतालाई समेत असाध्यै खतरामा पार्न सक्छन्। यस्तो अवस्थामा केही ख्रिष्टियन पत्नीहरू आफ्नो पतिले जस्तोसुकै कुरा भने पनि तिनी वास्तवमा सँगै बस्न राजी नभएको कुरा देखिन्छ भन्ने निष्कर्षमा पुगेका छन् र पतिसित छुट्टिएर बस्ने निर्णय गरेका छन्। तर योजस्तै कठिन अवस्थामा परेका अरू ख्रिष्टियनहरूले भने नछुट्टिने निर्णय गरेका छन्; तिनीहरूले गाह्रो अवस्था सहेर आफ्नो वैवाहिक सम्बन्ध सुधार्न कोसिस गरेका छन्। किन?
१८ तिनीहरू छुट्टिएर बसे तापनि विवाहित जोडी नै हुन्। तिनीहरू अलग-अलग बसे भने अगाडि उल्लेख गरिएझैँ तिनीहरू दुवैले चुनौतीहरू सामना गर्नुपर्छ। यस्ता दम्पतीहरू सँगै बस्नुको अर्को कारण पनि प्रेषित पावलले बताएका छन्। तिनले यस्तो लेखे: “बेग्लै आस्था भएको पति आफ्नी पत्नीसितको सम्बन्धले गर्दा पवित्र ठहरिन्छ, त्यसैगरि बेग्लै आस्था भएकी पत्नी आफ्नो ख्रिष्टियन पतिसितको सम्बन्धले गर्दा पवित्र ठहरिन्छे। नत्र त तिमीहरूका छोराछोरी अशुद्ध हुने थिए तर तिनीहरू अहिले पवित्र छन्।” (१ कोरि. ७:१४) थुप्रै वफादार ख्रिष्टियन असाध्यै गाह्रो अवस्थामा पनि बेग्लै आस्था भएको आफ्नो जोडीसित बसेका छन्। पछि आफ्नो जोडी यहोवाको उपासक बनेको देख्न पाउँदा आफ्नो प्रयास खेर नगएको तिनीहरूले महसुस गरेका छन्।—१ कोरिन्थी ७:१६ पढ्नुहोस्; १ पत्रु. ३:१, २.
१९. ख्रिष्टियन मण्डलीमा हुने थुप्रैले सफल वैवाहिक जीवन बिताउन सक्नुको कारण के हो?
१९ येसुले सम्बन्धविच्छेदबारे सल्लाह दिनुभयो अनि प्रेषित पावलले छुट्टिएर बस्ने विषयमा सल्लाह दिए। परमेश्वरका सेवकहरूले वैवाहिक प्रबन्धको आदर गरेको दुवैले चाहन्थे। आज संसारभरिका ख्रिष्टियन मण्डलीहरूमा सफल वैवाहिक जीवन बिताइरहेका थुप्रै जोडी छन्। तपाईँको मण्डलीमा पनि त्यस्ता थुप्रै आनन्दित दम्पती देख्नुहुन्छ होला। ती वफादार भाइहरू आफ्ना पत्नीहरूलाई माया गर्छन् अनि वफादार पत्नीहरूले पनि आफ्ना पतिहरूलाई माया गर्छन्। यसरी थुप्रै पति-पत्नीले विवाह आदरणीय हुन सक्छ भनेर देखाइरहेका छन्। लाखौँ पति-पत्नीले परमेश्वरको वचनका यी शब्दहरू सत्य छन् भनेर प्रमाणित गरिरहेको देख्दा हामी रमाउँछौँ: “यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्छ अनि आफ्नी पत्नीसित बस्छ र ती दुई एउटै शरीर हुन्छन्।”—एफि. ५:३१, ३३.