धार्मिकता मौखिक परम्पराहरू द्वारा होइन
“तिमीहरूका धर्म-कर्म शास्त्री र फरिसीहरूकाभन्दा बेसी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा पस्नेछैनौ।” —मत्ती ५:२०.
१, २. येशूले डाँड़ाको उपदेश दिनु भन्दा ठीक केही समय अघि के भएको थियो?
येशूले एउटा पहाड़मा रात बिताउनु भएको थियो। माथि तारामय आकाश फैलिएको थियो। झाड़ीहरूमा रातका साना जनावरहरू यताउति खस्य्राकखुस्रुक गरिरहेका थिए। पूर्व तर्फ गालीलको समुद्रको पानीले हल्कासित किनारलाई छ्यापीरहेको थियो। तर येशूको ध्यान चाहिं आफ्नो चारैतिरको त्यो शान्त र सुन्दर वातावरणमा थिएन होला। रात उहाँले आफ्ना पिता, यहोवालाई प्रार्थना गरेर बिताउनु भएको थियो। उहाँलाई उहाँका पिताको निर्देशनको आवश्यकता थियो। आउने दिन एउटा निर्णायक दिन थियो।
२ पूर्वमा आकाश उज्यालो भयो। चराहरू विस्तारै च्याँ-च्याँ गर्दै उड्न थाले। जङ्गली फूलहरू हावामा मन्द चालले हल्लिन थाले। क्षितिजमाथि जसै सूर्यको पहिलो किरण देखियो, येशूले आफ्ना चेलाहरूलाई आफूनिर बोलाउनु भयो र तिनीहरूमध्येबाट १२ जनालाई आफ्नो प्रेरित हुन छान्नु भयो। अनि, तिनीहरू सबैलाई लिएर, उहाँ पहाड़बाट तलतिर झर्न थाल्नुभयो। गालील, टायर, सिदोन र यरूशलेमबाट आएका भीड़ त्यहाँ जम्मा हुन थालेको देख्न सकिन्थ्यो। आफ्ना-आफ्ना बिमारीहरूबाट निको हुन तिनीहरू त्यहाँ आएका थिए। धेरैले जसै येशूलाई छुँद थिए, यहोवाबाट आएको शक्ति उहाँबाट बाहिर निस्कन्थ्यो र तिनीहरू निको हुन्थिए। तिनीहरू उहाँका वचन सुन्न पनि आएका थिए जसबाट तिनीहरूका पीड़ित आत्मामा आरामदायी मलहम लगाएको जस्तै हुन्थ्यो।—मत्ती ४:२५; लूका ६:१२-१९.
३. येशूले बोल्न शुरू गर्दा चेलाहरू र भीड़ किन प्रतीक्षामा थिए?
३ औपचारिक रूपमा शिक्षा दिने बेलामा, गुरुहरू बस्ने चलन थियो र ३१ सा. यु. को यस बसन्त ऋतुको बिहान येशू पनि त्यसै गर्दै पहाड़को छेउमा अलिक उँचा ठाउँमा बस्नु भयो। सो देखे पछि, उहाँका चेलाहरू र भीड़ले, कुनै विशेष कुरा हुने वाला छ भनी अन्दाज लगाए। तिनीहरू प्रतीक्षा गर्दै, उहाँका वरिपरि जम्मा भए। जब उहाँ बोल्न थाल्नुभयो, तिनीहरू उहाँका वचनको प्रतीक्षामा थिए; केही बेर पश्चात् उहाँले बोल्न समाप्त गर्नु भए पछि, सुनेका कुराहरूबाट तिनीहरू आश्चर्यचकित भए। यसरी आश्चर्यचकित किन भए, अब हामी हेरौं।—मत्ती ७:२८.
दुई प्रकारका धार्मिकता
४. (क) कुन दुई प्रकारका धार्मिकता विवादका विषय थिए? (ख) मौखिक परम्पराहरूको उद्देश्य के थियो, र के त्यो उद्देश्य प्राप्त भयो?
४ मत्ती ५:१–७:२९ र लूका ६:१७-४९ दुवैमा उल्लेखित येशूका डाँड़ाको उपदेशमा, दुई वर्गहरू अर्थात् शास्त्रीहरू र फरिसीहरू, र तिनीहरूले थिचो-मिचो गरेका साधारण मानिसहरू बीचको भेद स्पष्टसँग येशूले औंलाउनु भयो। उहाँले दुई प्रकारका धार्मिकताबारे कुरा गर्नु भयो; फरिसीहरूको देखावटी धार्मिकता र परमेश्वरको सत्य धार्मिकता। (मत्ती ५:६, २०) फरिसीहरूको आत्म-श्रेष्ठताको जरो, मौखिक परम्पराहरूमा गाडिएको थियो। मोशा द्वारा दिइएको व्यवस्थालाई हेलेनिज्म (युनानी संस्कृति) को प्रभावबाट बचाउनका लागि, सा. यु. पू. दोस्रो शताब्दीमा “व्यवस्थाको चारैतिर एउटा घेरा” जस्तै होस् भनेर यी परम्पराहरू शुरू गरिएका थिए। त्यसलाई व्यवस्थाको एउटा अङ्ग नै मानिन थालियो। वास्तवमा, शास्त्रीहरूले लिखित व्यवस्थालाई भन्दा मौखिक परम्पराहरूलाई बढ़ी महत्व दिए। मिश्नाहमा भनिएको छ: “लिखित व्यवस्था भन्दा शास्त्रीहरूका शब्दहरू (तिनीहरूका मौखिक परम्पराहरू) अधिक कड़ाइका साथ पालन गर्नु पर्छ।” यस प्रकार, तिनीहरूको परम्परा, व्यवस्थाको रक्षार्थ अर्थात् “व्यवस्थाको चारैतिर एउटा घेरा” नभएर त्यसले व्यवस्थालाई नै कमजोर पारि दियो, र यस विषयमा येशूले भन्नुभयो: “तिमीहरू आफ्ना रिवाज मान्नलाई कति सजिलोसँग परमेश्वरको आज्ञालाई टारिदिन्छौ।”—मर्कूस ७:५-९; मत्ती १५:१-९.
५. (क) येशूलाई सुन्न आउने साधारण मानिसहरूको के अवस्था थियो, र शास्त्री र फरिसीहरूले तिनीहरूलाई कुन दृष्टिले हेर्दथिए? (ख) काम गर्ने साधारण मानिसहरूका काँधमा ती मौखिक परम्पराहरू किन बोझ हुनगयो?
५ येशूलाई सुन्न जम्मा हुने साधारण मानिसहरू आत्मिक रूपले विपन्न थिए। तिनीहरू “गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” (मत्ती ९:३६) अहङ्कारी र शेखीबाज शास्त्रीहरू र फरिसीहरूले तिनीहरूलाई हेला गर्दथिए, तिनीहरूलाई एमहारेट्स (भूमि-पुत्र) भन्द थिए, र तिनीहरूले मौखिक परम्पराहरूको पालन नगरेको हुनाकारण, तिनीहरूलाई मूर्ख, पुनरुत्थान पाउन अयोग्यका पापी ठान्दथिए। येशूका समयमा, ती परम्पराहरू यति विस्तीर्ण र यतिका कानुनी झमेलाहरू—समय खाने कर्म-काण्डहरूले यति लादिएको थियो कि काम गर्ने कुनै पनि व्यक्तिले तिनीहरूको पालन गर्न सम्भव थिएन। यसैकारण, ती परम्पराहरू “मानिसहरूको काँधमा” “बोक्न नसक्ने भारी” हुन् भन्नु हुँदै, येशूले तिनीहरूको खुले आम बदख्वाइँ गर्नु भएकोमा आश्चर्य मान्नु पर्ने कारण छैन।—मत्ती २३:४; यूहन्ना ७:४५-४९.
६. येशूले आफ्नो भाषणको शुरूमै गर्नु भएका उद्धघोषणहरू किन अचम्म लाग्ने प्रकारका थिए र ती अनुसार, चेलाहरू र शास्त्री र फरिसीहरूले आफूमा कुन कुन परिवर्तन ल्याउन आवश्यक थियो?
६ अतः येशू पहाड़को छेउमा बस्नु भए पछि, उहाँका नजिक सुन्न आउनेहरूमा उहाँका चेलाहरू र आत्मिक रूपमा भोकाएकाहरू थिए। उहाँका शुरूका घोषणाहरू सुनेर नै तिनीहरूलाई अचम्म लाग्यो होला। ‘धन्य दीन हुनेहरू, धन्य भोकाउनेहरू, धन्य रूनेहरू, धन्य घृणित हुनेहरू।’ तर दीन, भोका, रूने, र घृणित व्यक्तिहरू कसरी धन्य हुन सक्तछन्? र धनीहरू, तृप्त भएकाहरू, हाँस्नेहरू, तारिफ पाउनेहरूका लागि हाय! (लूका ६:२०-२६) केही शब्दहरूमानै, येशूले चली आएका सबै नै मान्यताहरूलाई र स्वीकृत मानवीय स्तरहरूलाई उल्टाइ दिनु भयो। स्थितिहरूको यो एउटा नाटकीय परिवर्तन थियो जो येशूले अगाड़ि भन्नु भएका शब्द- हरूसँग मिल्दछ: “हरेक जसले आफूलाई उचाल्दछ, त्यो होचिनेछ, तर जसले आफूलाई होच्याउँछ, त्यो उचालिनेछ।”—लूका १८:९-१४.
७. येशूलाई सुनिरहेका आत्मिक रूपमा भोकाएका भीड़माथि येशूका शुरूका शब्दहरूको के असर पऱ्यो होला?
७ आत्म-संतुष्ट शास्त्रीहरू र फरिसीहरू जस्ता नभएर, यस बिहान येशू कहाँ आउनेहरूलाई आफ्नो दयनीय आत्मिक अवस्थाको चेतना थियो। “धन्य आत्मामा दरिद्र हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।” उहाँका ती प्रथम शब्दहरूबाट नै यी मानिसहरू आशान्वित भए होलान्। र तिनीहरूको उत्साह कति बढ्यो होला जब उहाँले यी शब्दहरू थप्नुभयो: “धन्य धार्मिकताका निम्ति भोकाउनेहरू र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्”! (मत्ती ५:३, ६; यूहन्ना ६:३५; प्रकाश ७:१६, १७) हो, धार्मिकताले तृप्त हुनेछन् तर फरिसी मार्काको धार्मिकताले होइन।
“मानिसहरूका सामू धर्मी” ठहरेर मात्र पुग्दैन
८. शास्त्री र फरिसीहरूको भन्दा तिनीहरूको धार्मिकता कसरी बढ़ी हुन सक्तछ भनी कसै कसैले किन आश्चर्य गर्लान्, तरपनि ती धर्मगुरूहरूको भन्दा तिनीहरूको धार्मिकता किन बढ़ी नै हुनु परेको थियो?
८ येशूले भन्नुभयो: “तिमीहरूका धर्म-कर्म शास्त्री र फरिसीहरू भन्दा बेसी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा पस्नेछैनौ।” (मत्ती ५:१७-२०; मर्कूस २:२३-२८; ३:१-६; ७:१-१३ हेर्नुहोस्) केहीले सोंचे होलान्: ‘फरिसीहरूका भन्दा बेसी धर्म-कर्म? तिनीहरू उपवास बस्दछन् र प्रार्थना गर्दछन् र दशांश र दान दिन्छन् र व्यवस्थाको अध्ययनमा आफ्ना जीवन बिताउँछन्। तिनीहरूको भन्दा हाम्रो धर्म-कर्म कसरी बेसीहुनसक्तछ?’ तर त्यो बेसी हुनै परेको थियो। फरिसीहरू मानिसहरूका नजरमा प्रतिष्ठित होलान्, तर परमेश्वरका नजरमा होइन। एउटा अर्को अवसरमा येशूले ती फरिसीहरूलाई भन्नुभयो: “तिमीहरू तिनै हौ, जसले आफूलाई मानिसहरूका सामू धर्मी ठहराउँछन्। तर परमेश्वरले तिनीहरूका हृदय जान्नुहुन्छ, किनकि मानिसहरूमा उच्च मानिएको त परमेश्वरको सामने घिनलाग्दो ठहरिन्छ।”—लूका १६:१५.
९-११. (क) शास्त्रीहरू र फरिसीहरूको विचारमा, परमेश्वरको सामुन्ने धर्मी ठहरिने एउटा उपाय के थियो? (ख) कुन दोस्रो तरिकाबाट धार्मिकता प्राप्त गर्ने तिनीहरूले आशा राखेका थिए? (ग) तिनीहरू भर पर्ने तेस्रो तरिका के थियो, र प्रेरित पावलले भनेका कुन कुराले गर्दा त्यो उपाय असफल हुन गयो?
९ गुरुहरूले धार्मिकता प्राप्त गर्न, आफ्नै नियमहरू बनाएका थिए। एउटा नियम अनुसार, अब्राहामको सन्तान भएर जन्मेको हुनु पर्दथियो: “हाम्रा पिता अब्राहामका चेलाहरूले यो संसारको आनन्द उपभोग गर्नेछन् र आउने संसारको उत्तराधिकार प्राप्त गर्नेछन्।” (मिश्नाह) सम्भवतः यसै परम्परालाई खण्डन गर्न, बप्तिस्मा दिने यूहन्नाले उनका नजिक आउने फरिसीहरूलाई यसरी चेताउनी दिए: “पश्चाताप लायकको फल फलाओ। औ ‘अब्राहाम नै हाम्रा पिता हुनुहुन्छ’ भन्ने आपसमा विचार नगर। [त्यति नै यथेष्ट भए जस्तो।]”—मत्ती ३:७-९; यूहन्ना ८:३३, ३९ पनि हेर्नुहोस्.
१० दान दिनु तिनीहरूको विचारमा, धार्मिकता प्राप्त गर्ने दोस्रो तरिका थियो। सा. यु. पू. दोस्रो शताब्दीको दौड़ानमा, भक्त यहूदीहरूले लेखेका दुईवटा आपोक्रिफल पुस्तकहरूमा परम्परागत दृष्टिकोणलाई प्रतिबिम्बित गरिएको छ। एउटा वयान तोबित नाउँको पुस्तकमा पाइन्छ: “दान दिनाले व्यक्ति मृत्युबाट बाँच्न सक्तछ र हर प्रकारको पापको प्रायश्चित हुन्छ।” (१२:९, द न्यु अमेरिकन बाइबल) सिराकको पुस्तकले (एकलीज्यासटिकस्) स्वीकार्दछ: “पानीले अग्निको ज्वालालाई शान्त पार्दछ र दानले पापको प्रायश्चित गर्दछ।”—३:२९, NAB.
११ धार्मिकताको खोजी गर्ने तिनीहरूको तेस्रो तरिका व्यवस्थाको काम द्वारा थियो। तिनीहरूका मौखिक परम्पराहरूको शिक्षानुसार, मानिसको कर्म धेरै जसो राम्रो भएमा, उ बाँच्न सक्तछ। “कामहरू धेर असल छन् वा खराब छन्, त्यस आधारमा” न्याय हुनेछ। (मिश्नाह) इन्साफको समयमा, आफू निर्दोष साबित हुनका लागि, तिनीहरू “पापको वजन तुल्नात्मक ढङ्गमा कम गर्ने उद्देश्य राखेर असल काम गर्नुमा” चासो लिने गर्द थिए। परमेश्वरले तिनीहरूका क्षुद्र कामहरूको हिसाब राख्दै न्याय गर्नु हुने झैं, कुनै व्यक्तिले गरेको असल कार्यको सङ्ख्या, तिनले गरेको खराब काम भन्दा एक अङ्कले मात्र बढ़ी भयो भने पनि, तिनीहरूको विचारमा त्यो व्यक्ति बाँच्ने छ। (मत्ती २३:२३, २४) एउटा सही दृष्टिकोण प्रस्तुत गर्दै, पावलले लेखे: “व्यवस्थाको कर्मले कोही प्राणी उहाँको (परमेश्वरको) सामने धर्मी ठहरिनेछैन।” (रोमी ३:२०) निश्चयनै, मसीही धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढ़ी हुनै पर्दछ!
“तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो”
१२. (क) हिब्रू शास्त्रबाट उद्धृत गर्ने सँधैको तरिका भन्दा भिन्न कुन तरिका येशूले आफ्नो डाँड़ाको उपदेश दिनु हुँदा प्रयोग गर्नु भयो, र किन? (ख) छैठौं पटक प्रयोग गर्नु भएको “यसो भनिएको थियो” भन्ने अभिव्यक्तिबाट हामी के सिक्न सक्तछौं?
१२ येशूले केही समय अघि, हिब्रू शास्त्रबाट उद्धृत गर्नु हुँदा, “यस्तो लेखिएको छ” भन्नु भयो। (मत्ती ४:४, ७, १०) तर आफ्नो ड़ाँड़ाको उपदेशमा उहाँले छ पटक, केही वाक्यांशहरू प्रस्तुत गर्नु भयो जो सुन्दा त हिब्रू शास्त्रबाट लिएका जस्तै लाग्छ तर ती प्रस्तुत गर्नु हुँदा, उहाँले “यसो भनिएको थियो” भन्नु भयो। (मत्ती ५:२१, २७, ३१, ३३, ३८, ४३) किन? किनभने फरिसीहरूका परम्पराहरूमा आधारित्, परमेश्वरका आज्ञाहरूको विपरीत अर्थ लगाइएका शास्त्रपदहरूलाई येशू सङ्केत् गर्दै हुनु हुनुहुन्थियो। (व्यवस्था ४:२; मत्ती १५:३) यो कुरालाई यस श्रृंखलामा येशूको छैठों र आखिरी उल्लेखमा स्पष्ट पारिएको छ: “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’” तर मोशाको कुनै पनि नियममा, “तिम्रो शत्रुलाई घृणा गर,” भनिएको थिएन। यो ता शास्त्री र फरिसीहरूले भनेका थिए। आफ्ना छिमेकीलाई प्रेम गर्नुको अर्थ—आफ्ना यहूदी छिमेकीलाई मात्र प्रेम गर्नु हो, अरूहरूलाई होइन भनी तिनीहरूले अर्थ लगाएका थिए।
१३. अन्तत्वगत्वा, हत्या समेत गराउन लाउन सक्ने क्रियाकलाप शुरू पनि नगर्नू भनी येशूले कसरी चेताउनी दिनु हुन्छ?
१३ अब छ वटा बयानहरूका श्रृंखला मध्येको पहिलोमाथि विचार गरौं। येशूले घोषणा गर्नुभयो: “तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘हत्या नगर, र जसले हत्या गर्छ, त्यो इन्साफको योग्य हुनेछ।’ तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्ना भाइसित रिसाउला, त्यो इन्साफको योग्य हुनेछ।” (मत्ती ५:२१, २२) मनमा रीस राख्नाले दुर्वचन बोल्न सकिन्छ, भाइलाई दोषी तुल्याउने फैसला दिन सकिन्छ र अन्ततोगत्वा, भाइको हत्या समेत गर्न सकिन्छ। मनमा रीस राखिरहनु खतरनाक हुनसक्तछ: “आफ्नो भाइसँग दुश्मनी गर्ने हरेक हत्यारा हो।”—१ यूहन्ना ३:१५.
१४. व्यभिचार तर्फ लैजाने बाटो तर्फ हिड्ने इच्छा समेत नगर्नु भनी येशूले कसरी सल्लाह दिनुहुन्छ?
१४ यस पछि येशूले भन्नुभयो: “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर।’ तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।” (मत्ती ५:२७, २८) तपाईं व्यभिचार गर्न चाहनु हुन्न भने, त्यसबारे मनमा विचार समेत आउन नदिनु होस्, र त्यो बाटोतर्फ लाग्दै नलाग्नुहोस्। यस प्रकारका विचारहरूको स्रोत मानिसको हृदय हो, यसकारण आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्। (हितोपदेश ४:२३; मत्ती १५:१८, १९) याकूब १:१४, १५ मा यो चेताउनी दिएको छ: “हरेक मानिस आफ्नै तृष्णाबाट खिंचिई लोभिएर परीक्षामा पर्दछ। तब तृष्णा गर्भवती भएर पापलाई जन्माउँछ, र पाप पूरा बढ़ेपछि मृत्यु उत्पन्न गराउँछ।” मानिसहरू कहिलेकाहीं भन्दछन्: ‘सिद्धयाउन नसक्ने कुरा कहिले शुरू नगर्नू।’ तर हामी यस मामलामा भन्छौं: ‘आफूले रोक्न नसक्ने कुरा कहिले शुरू नगर्नू।’ बन्दूकधारी मानिसहरूबाट मृत्युको धम्की सामना गर्नु पर्दा पनि वफादार रहेका केही व्यक्तिहरू यौनिक अनैतिकताको छली प्रलोभनमा फँसेर पछि विश्वासबाट खसेका छन्।
१५. पारपाचुके सम्बन्धी कुरामा यहूदीहरूका मौखिक परम्पराहरूसित येशूको विचार कसरी भिन्न छ?
१५ अब येशूका तेस्रो बयान तर्फ आउँछौं। उहाँले भन्नुभयो: “औ यसो पनि भनिएको छ, कि ‘जसले आफ्नी पत्नीलाई त्याग गर्ला, त्यसले उसलाई त्यागपत्र लेखी देओस्।’ तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारण बाहेक त्याग गर्ला, (अर्थात्, यौनिक अनैतिकता बाहेक अन्य कुराको आधारमा त्याग गरेको) उसलाई त्यसले व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरेकोसित विवाह गर्ला, त्यसले व्यभिचार गर्नेछ।” (मत्ती ५:३१, ३२) केही यहूदीहरू आफ्नी पत्नीहरूसित बड़ो दुर्व्यवहार गर्दथिए र मामूली कारणमा पनि पत्नीलाई त्यागथिए। (मलाकी २:१३-१६; मत्ती १९:३-९) “खाना नमीठो पकाएमा” वा “हेर्नमा त्यो भन्दा राम्री अर्की भेट्टाएमा” मानिसलाई आफ्नी पत्नी त्याग्ने अनुमति मौखिक परम्पराहरूले दिन्थ्यो।—मिश्नाह.
१६. यहूदीहरूको कुन चाहिं प्रथाले गर्दा कसमहरू अर्थहीन भए र यस विषयमा येशूले कुन दृष्टिकोण अपनाउनु भयो?
१६ सोही भावमा येशूले पछि यसो भन्नु भयो: “फेरि तिमीहरूले सुनेका छौ, कि प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘तँ आफैले झूटो कसम नखा’ . . . तर म तिमीहरूलाई भन्दछु, कसम खाँदै नखाओ।” त्यस समयमा, यहूदीहरू साना-साना कुराहरूमा पनि झूटा कसम खाने गरेर कसमको दुरूपयोग गरिरहेका थिए। तर येशूले भन्नुभयो: “कसम खाँदै नखाओ . . . तिमीहरूको वचन चाहिं, हो भने हो, होइन भने होइन होस्।” उहाँका नियम साधारण थियो: हर समय सत्यवादी होओ, आफ्नो वचनको ग्यारन्टीकालागि कसम खानु नपरोस्। महत्वपूर्ण कुराहरूकालागि कसमको जगेरा गरेर राख्नुहोस्।—मत्ती ५:३३-३७; २३:१६-२२ सङ्ग तुलना गर्नुहोस्.
१७. “आँखाको बदला आँखा र दाँतको बदला दाँत” भन्दा उत्तम कुन उपाय येशूले सिकाउनु भयो?
१७ त्यसपछि येशूले भन्नुभयो: “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा र दाँतको बदला दाँत।’ तर म तिमीहरूलाई भन्दछु, दुष्टको मुकाबिला नगर। जसले तिम्रो दाहिने गाला चट्काउला त्यसलाई अर्कोतिरको पनि फर्काइदेओ।” (मत्ती ५:३८-४२) येशूले यहाँ कुनै चोट-पटक लाग्ने कुटाइलाई सङ्केत गरी रहनु भएको छैन तर अपमान गर्ने उद्देश्यले थप्पड़ दिने सम्बन्धमा कुरा गर्नु हुँदैछ। कसैले तपाईंको अपमान गऱ्यो भन्दैमा, तपाईंले पनि उसको अपमान गरेर आफूलाई तुच्छ नपार्नुहोस्। खराबको बदला खराब गर्नबाट इन्कार गर्नुहोस्। बरू बदलामा भलाइ गर्नुहोस्, जसबाट “खराबीलाई भलाइले जित्दै जानुहोस्।”—रोमी १२:१७-२१.
१८. (क) आफ्नो छिमेकीलाई प्रेम गर्न अह्राउने व्यवस्थालाई यहूदीहरूले कसरी परिवर्तन गरे, तर येशूले त्यसको प्रतिकार कसरी गर्नुभयो? (ख) “छिमेकीको” अर्थलाई सीमित पार्न चाहने एक जना वकिललाई येशूको के जवाफ थियो?
१८ यहूदीहरूका गुरुहरूका परम्पराले गर्दा मोशाको व्यवस्था कमजोर हुन गएको कुरा, येशूले आफ्ना छैठौं र अन्तिम उदाहरणमा स्पष्ट रूपले देखाउनु भयो। “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’ तर म तिमीहरूलाई भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर, औ तिमीहरूलाई खेदो गर्नेहरुका निम्ति प्रार्थना गर।” (मत्ती ५:४३, ४४) मोशाका लिखित व्यवस्थाले प्रेमको कुनै सीमा तोकेको छैन: “आफ्ना छिमेकीसँग आफैलाई झैं प्रेम गर।” (लेवी १९:१८) तर फरिसीहरूले यस आज्ञालाई स्वीकार गर्न हिचकिचाए र यसको पालन गर्नु नपरोस् भनेर, परम्परा मान्नेहरू मात्र “छिमेकी” हुन् भन्ने अर्थ लगाए। त्यसै कारण, कुनै एउटा वकिललाई ‘आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु’ भन्ने आज्ञा बारे येशूले याद दिलाउनु हुँदा, त्यस मानिसले कुरा छल्दै भन्यो: “मेरो छिमेकी चाहिं को हो ता?” येशूले असल सामरीको उदाहरण द्वारा त्यसलाई यो जवाफ दिनुभयो—जसलाई तपाईंको मद्दतको आवश्यकता छ, उसैको निम्ति तपाईं एक जना छिमेकी बन्नु होस्।—लूका १०:२५-३७.
१९. दुष्ट प्रति यहोवाले लिनु भएको कुन कदमको हामीले पनि अनुसरण गर्नु पर्छ भनी येशूले जोड़ दिनु भयो?
१९ ‘परमेश्वरले दुष्टलाई प्रेम देखाउनु’ भएको छ भनेर येशूले आफ्नो उपदेशलाई जारी राख्दै, घोषणा गर्नु भयो। परमेश्वरले तिनीहरूमाथि पनि घाम लगाइदिनु भएको छ र वृष्टि दिनु हुन्छ। तपाईंसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्नुभयो भने, के ठूलो कुरा भयो र। दुष्टहरूले पनि त्यसो गर्छन्। त्यसमा इनाम पाउने कुनै कारण छैन। आफूलाई परमेश्वरका पुत्रहरू प्रमाणित गर्नुहोस्। उहाँको नकल गर्नुहोस्। आफूलाई सबैको छिमेकी बनाउनु होस् र आफ्नो छिमेकीलाई प्रेम गर्नुहोस्। यस प्रकार “आफू सिद्ध हुनुहोस्, जसरी तपाईंका स्वर्गका पिता सिद्ध हुनुहुन्छ।”’ (मत्ती ५:४५-४८) जीवनमा प्राप्त गर्न सक्नु पर्ने कस्तो चुनौतीपूर्ण स्तर! र यसको तुलनामा, शास्त्री र फरिसीहरूको धार्मिकता कति अभावपूर्ण देखिन्छ!
२०. मोशाको व्यवस्थालाई एकातिर पन्छाउनुको सट्टा, येशूले त्यसको असरलाई अझ गहिरो र विस्तृत पार्नु हुँदै, त्यसलाई अझ उच्च स्थानमा कसरी राख्नु भयो?
२० अतः येशूले व्यवस्थाका केही अंशहरूलाई सङ्केत गर्नु हुँदै, “तर, म तिमीहरूलाई भन्दछु,” भनेर थप्नु हुँदा, उहाँले मोशाको व्यवस्थालाई एकातिर पन्छाउनु भएर त्यसको ठाउँमा अर्कै कुरा राख्न खोज्नु भएको होइन। बरू, त्यस व्यवस्थाको मर्मलाई अझ गहिरो र विस्तृत पार्नु हुँदै थियो। भ्रातृत्व सम्बन्धी उच्च स्तरको नियम अनुसार, रीस राखिरहनु हत्या सरह हो। पवित्रता सम्बन्धी उच्च स्तरको व्यवस्था अनुसार, कुनै स्त्रीलाई खराब इच्छा राखेर बराबर हेर्नु व्यभिचार हो। विवाह सम्बन्धी उच्च व्यवस्था अनुसार, सानो निहुँ पारेर स्त्रीलाई त्याग्नु हुँदैन किनकि यसले गर्दा व्यभिचारपूर्ण पुनर्विवाह गर्न सकिन्छ। सत्य सम्बन्धी उच्च स्तरको व्यवस्थाले, बारबार कसम खाने कुरालाई अनावश्यक ठान्दछ। नम्रता सम्बन्धी उच्च व्यवस्थाले, बदला लिने कुरालाई पर सार्दछ। प्रेम सम्बन्धी उच्च व्यवस्थाले त्यस प्रकारको ईश्वरीय प्रेमको आवश्यकतालाई बोध गराउँदछ जसको केही सीमा नै छैन।
२१. येशूले दिनु भएको नसिहत द्वारा यहूदी गुरुहरूको आत्म-श्रेष्ठताबारे कुन कुरा उदांग गरियो र भीड़ले अरू के कुराहरू सिक्ने छन्?
२१ कहिले पनि नसुनिएका यस प्रकारका नसियतहरू, ती सुन्नेहरूका कानमा पहिलो पटक पर्दा, तिनीहरू माथि कस्तो प्रगाढ असर पऱ्यो होला! यहूदी गुरुहरूका परम्पराहरूको दास भएर प्राप्त त्यो कपटपूर्ण आत्म-श्रेष्टत्वलाई ती शब्दहरूले कति बेकम्मा साबित पारिदियो! तर जसै येशूले आफ्नो डाँड़ाको उपदेश जारी नै राख्नु भयो, परमेश्वरको धार्मिकताका निम्ति भोकाएका र तिर्खाएका भीड़ले त्यस प्रकारको धार्मिकता खासगरी कसरी सिक्ने हो भन्ने विषय हामी अग्रिम अङ्कमा देख्नेछौं। (w90 10/1)
पुनरावलोकन गर्ने प्रश्नहरू
◻ यहूदीहरूले आफ्ना मौखिक परम्पराहरू किन खड़ा गरे?
◻ शास्त्री र फरिसीहरू र साधारण मानिसहरू बीचको सम्बन्धमा येशूले के नाटकीय परिवर्तन ल्याउनु भयो?
◻ फरिसीहरू र शास्त्रीहरूले परमेश्वरको सामुन्ने कसरी धर्मी ठहरिने आशा गरेका थिए?
◻ व्यभिचार र करनीबाट अलग्ग रहने तरिका येशूले के देखाउनु भयो?
◻ मोशाको व्यवस्थाको मर्म दर्शाउँनु हुँदै, येशूले अझ के उच्च आदर्श स्थापित गर्नुभयो?