राज्यको सुसमाचार भनेको के हो?
गत वर्ष विश्वभरि २३५ राष्ट्रहरूमा ६०,३५,५६४ जना जवान तथा वृद्ध सबैले यसबारे बताउँदै १,१७,१२,७०,४२५ घण्टा बिताए। मौखिक रूपमा भन्नुको अलावा तिनीहरूले यसबारे विज्ञापन गर्न र व्याख्या गर्न ७० करोडभन्दा बढी मुद्रित साहित्यहरू सर्वसाधारणलाई वितरण गरे। तिनीहरूले यसबारे प्रचार गर्न हजारौं श्रव्य तथा भिडियो क्यासेटहरू पनि बाँडे। “यो” केको बारेमा हो?
“यो” परमेश्वरको राज्यको सुसमाचारबारे हो। साँच्चै, आजजस्तो मानव इतिहासमा पहिला कहिल्यै यति व्यापक रूपमा “यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षी” दिइएको थिएन।–मत्ती २४:१४.
यस विश्वव्यापी प्रचार र शैक्षिक कार्यमा भाग लिने व्यक्तिहरू सबै स्वय्मसेवक हुन्। सांसारिक दृष्टिकोणबाट हेर्दा तिनीहरू यस कामको निम्ति अयोग्य देखिएका हुनसक्छन्। त्यसोभए, के कारणले गर्दा तिनीहरू साहसिलो हुनुका साथै सफल पनि भइरहेका छन् त? यसको मुख्य कारण राज्य सुसमाचारको शक्ति नै हो किनभने यो मानिसजातिले पाउने आशिष्हरूबारे समाचार हो। यी आशिष्हरू सबै मानिसजातिको चाहना हो। जस्तै, आनन्द, आर्थिक कठिनाइबाट स्वतन्त्रता, राम्रो सरकार, शान्ति अनि सुरक्षा र मानिसलाई पत्याउन पनि गाह्रो लाग्ने—अनन्त जीवन आदि! जीवनको अर्थ र उद्देश्य खोजी गर्ने मानिसहरूको निम्ति यो साँच्चै नै सुसमाचार हो। हो, यदि तपाईंले राज्य सुसमाचारको उद्घोषणा सुन्नुभयो र त्यसप्रति सकारात्मक प्रतिक्रिया देखाउनुभयो भने यी सबैका साथै अन्य थुप्रै आशिष् तपाईं प्राप्त गर्न सक्नुहुन्छ।
राज्य भनेको के हो?
तर सुसमाचारको रूपमा घोषणा गरिरहेको यो राज्य भनेको के हो? यो त्यही राज्य हो जसबारे करोडौंलाई यी परिचित शब्दहरूमा प्रार्थना गर्न सिकाइएको छ: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्। तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।”—मत्ती ६:९, १०.
हिब्रू अगमवक्ता दानियलले आजभन्दा २५ शताब्दीअघि बताएको राज्य पनि यही हो। तिनले यस्तो लेखेका थिए: “स्वर्गका परमेश्वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।”—दानियल २:४४.
अतः यो सुसमाचार परमेश्वरको राज्य वा सरकारबारे हो। यस राज्यले सबै दुष्टता निर्मूल पार्नेछ अनि पृथ्वीमा शान्तिपूर्ण शासन गर्नेछ। त्यसप्रकार, सृष्टिकर्ताले मानिसजाति अनि पृथ्वीको निम्ति सोच्नुभएको सुरुको उद्देश्य वास्तविकतामा परिणत हुनेछ।—उत्पत्ति १:२८.
“स्वर्गको राज्य नजीक आएको छ”
झन्डै २,००० वर्षअघि पहिलो चोटि राज्यको सुसमाचार सार्वजनिक रूपमा एक समर्पित व्यक्तिले घोषणा गरेका थिए। तिनको रूपरंग र आचारणले धेरैको ध्यान खिचेको थियो। त्यस मानिस यहूदी पूजाहारी जकरिया र तिनकी पत्नी इलीशिबाको छोरा बप्तिस्मा दिने यूहन्ना थिए। यूहन्नाको पूर्वचित्रण गर्ने अगमवक्ता एलियाले जस्तै यूहन्नाले पनि उँटको रौंको लुगा र कम्मरमा छालाको पटुका लगा उँथे। तर तिनीतर्फ धेरै आकर्षित हुनुको मुख्य कारण तिनको सन्देश थियो। तिनले यस्तो उद्घोषणा गरे: “पश्चाताप गर, किनभने स्वर्गको राज्य नजीक आएको छ।”—मत्ती ३:१-६.
यूहन्नाका श्रोताहरू साँचो परमेश्वर यहोवाका उपासकहरू हुँ भनी दाबी गर्ने यहूदीहरू थिए। तिनीहरूको राष्ट्रले झन्डै १,५०० वर्षअघि मोशामार्फत व्यवस्थाको करार प्राप्त गरेका थिए। यरूशलेममा अझै भव्य मन्दिर थियो र त्यहाँ व्यवस्थाअनुसार बलिहरू चढाइन्थ्यो। परमेश्वरको नजरमा तिनीहरूको उपासना सही थियो भन्ने कुरामा यहूदीहरूलाई शंकै थिएन।
तथापि, यूहन्नाको कुरा सुनेपछि केही मानिसहरूले आफ्नो धर्म आफूले सोचेजस्तो नभएको पाए। युनानी परम्परा र दर्शनहरूले यहूदी धार्मिक शिक्षाहरूमा प्रभाव पार्न थालेको थियो। मोशामार्फत प्राप्त गरेको व्यवस्था अब दूषित हुनुका साथै मानिसका विश्वास तथा परम्पराले गर्दा बेकम्मा समेत भइसकेको थियो। (मत्ती १५:६) निष्ठुर र कठोर हृदय भएका धर्मगुरुहरूको गलत अगुवाइको कारण अधिकांशले परमेश्वरलाई स्वीकार्य हुने ढंगमा उपासना गरिरहेका थिएनन्। (याकूब १:२७) परमेश्वर र व्यवस्थाको करार विरुद्ध गरेको पापको लागि तिनीहरूले पश्चात्ताप गर्नुपरेको थियो।
त्यतिबेला थुप्रै यहूदीहरू प्रतिज्ञा गरिएको मसीह वा ख्रीष्ट देखा पर्नेछन् भनी प्रतीक्षा गरिरहेका थिए र कसै कसैले चाहिं यूहन्नालाई “कतै यिनीनै ख्रीष्ट हुन् कि” भन्ठानेका थिए। तथापि, यूहन्नाले आफू ख्रीष्ट हुँ भनी स्वीकार गरेनन्। बरु, तिनले अरू कसैप्रति ध्यान आकर्षित गर्दै यसो भने: “[तिनको] जुत्ताको फिता खोल्ने लायकको म छैनँ।” (लूका ३:१५, १६) आफ्ना चेलाहरूलाई येशूको परिचय दिंदै यूहन्नाले यस्तो घोषणा गरे: “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा!”—यूहन्ना १:२९.
यो निस्सन्देह सुसमाचार थियो। किनकि साँच्चै भन्ने हो भने, यूहन्नाले सबै मानिसजातिलाई जीवन र आनन्दको मार्ग देखाउनुहुने अर्थात् ‘संसारको पाप उठाइलैजानु हुने’ येशूतर्फ औंल्याइरहेका थिए। सबै मानिसजाति आदम र हव्वाको सन्तान भएकाले पाप र मृत्युको दासत्वमा परेका छन्। रोमी ५:१९ यसो भन्छ: “जसरी एउटै मानिस [आदमको] अनाज्ञाकारिताले धेरै जना पापी ठहरिए, त्यसैगरी एकै जना [येशूको] आज्ञाकारिताद्वारा धेरै जना धार्मिक ठहरिनेछन्।” थुमाको बलिले जस्तै येशूले ‘पाप उठाइलैजानुहुने’ थियो र मानिसहरूले भोगिरहेको दुःखमय अवस्थालाई उल्टाइ दिनुहुने थियो। बाइबल भन्छ: “पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।”—रोमी ६:२३.
सिद्ध मानिस अर्थात् यस पृथ्वीमा आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान् पुरुष येशूले सुसमाचारको प्रचार गर्न थाल्नुभयो। मर्कूस १:१४, १५ को बाइबल विवरण यसो भन्छ: “अब यूहन्ना पक्राउ भएपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो, र भन्नुभयो, ‘समय पूरा भएको छ, औ परमेश्वरको राज्य नजीक आइपुगेको छ। पश्चाताप गर, र सुसमाचारमा विश्वास गर।’ ”
येशूको सन्देश सुनेर सुसमाचारमा विश्वास गर्नेहरूले प्रचुर मात्रामा आशिष् पाए। यसबारे यूहन्ना १:१२ मा यसो भनिएको छ: “जत्तिले उहाँलाई ग्रहण गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने हक दिनुभयो, अर्थात उहाँको नाउँमाथि विश्वास गर्नेहरूलाई।” परमेश्वरको सन्तान वा छोराहरू भएकोले तिनीहरूले अनन्त जीवनको इनाम पाउने थिए।—१ यूहन्ना २:२५.
तर राज्यले दिने आशिष्हरू पाउने सुअवसर प्रथम शताब्दीका मानिसहरूमा मात्र सीमित थिएन। सुरुमा उल्लेख गरेझैं परमेश्वरको राज्यको सुसमाचार आज पनि पृथ्वीभरि उद्घोषणा र सिकाउने काम भइरहेको छ। त्यसैले, राज्यका आशिष्हरू अझै पनि उपलब्ध छन्। ती आशिष्हरू पाउन तपाईंले के गर्नुपर्छ? यसपछिको लेखले यसबारे तपाईंलाई बताउनेछ।