येशू ख्रीष्टले तपाईंको जीवनमा कस्तो प्रभाव पार्नुभएको छ?
अघिल्लो लेखमा हामीले जे-जति छलफल गऱ्यौं, त्यसलाई विचार गर्ने हो भने येशूको शिक्षाले विश्वभर निकै ठूलो प्रभाव पारेको छ भन्ने कुरामा शङ्का गर्नुपर्ने कुनै ठाउँ रहँदैन, होइन र? यद्यपि यस्तो महत्त्वपूर्ण प्रश्न खडा हुन्छ, “येशूको शिक्षाले व्यक्तिगत रूपमा मलाई कस्तो प्रभाव पारेको छ?”
येशूका शिक्षाहरूमा विविध विषयहरू समेटिएका थिए। ती शिक्षाहरूमा पाइने अमूल्य पाठले तपाईंको जीवनका हरेक पक्षलाई असर गर्न सक्छ। आउनुहोस्, जीवनमा प्राथमिकताहरू तय गर्ने, परमेश्वरसित मित्रता बढाउने, अरूसित मित्रैलो सम्बन्ध राख्ने, समस्याहरू समाधान गर्ने र हिंसात्मक क्रियाकलापदेखि टाढै बस्ने विषयमा येशूले दिनुभएको शिक्षामाथि ध्यान केन्द्रित गरौं।
जीवनमा प्राथमिकताहरू तय गर्नुहोस्
आजको अत्यन्तै व्यस्त संसारले हाम्रो समय तथा शक्ति यत्ति खर्लप्पै खाइदिन्छ कि आध्यात्मिक तवरमा ध्यान दिनुपर्ने कुराहरू अक्सर ओझेलमा पर्छन्। बीस वर्ष नाघिसकेका एक जना व्यक्ति जसलाई हामी जेएरी भन्नेछौं, तिनलाई विचार गर्नुहोस्। जेएरीलाई आध्यात्मिक कुराकानी गर्न मनपर्छ र ती कुराकानीबाट सिकेको कुरा तिनलाई निकै मूल्यवान् लागे तापनि तिनी यस्तो दुखेसो पोख्छन्: “ती सिकेका कुराहरूमा एक रूपले लागिरहन मसित समय नै छैन। हप्ताको छ दिन काम गर्छु। आइतबार मात्र छुट्टी मिल्छ। अनि नगरी नहुने कुराहरू गरिसकेपछि म थाकेर लखतरान हुन्छु।” आफूलाई यस्तै अवस्थामा पाउनुभएको छ भने डाँडाको उपदेशमा येशूले दिनुभएका शिक्षाहरूबाट तपाईं लाभ उठाउन सक्नुहुन्छ।
येशूको कुरा सुन्न भेला भएका भीडलाई उहाँले यसो भन्नुभयो: “हामी के खाउँला, कि के पिऔंला भनी आफ्नो प्राणको निम्ति र आफ्नो शरीरको निम्ति के लगाउँला भनी तिमीहरू फिक्री नगर। के प्राण खानेकुरोभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन? आकाशका चरा-चुरुंगीहरूलाई हेर। तिनीहरूले नता बिउ छर्छ, न अन्न काट्छ। न भकारीहरूमा बटुल्छ, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा ज्यादा श्रेष्ठ होइनौ? . . . यसकारण के खाउँला? कि के पिऔंला? कि के पहिरौंला?’ भनेर फिक्री नगर, किनकि अन्यजातिहरूले मात्र यी सब थोक खोज्दछन्। किनभने तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई यी सबै थोकको दर्कार छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।” (मत्ती ६:२५-३३) यसबाट हामी के सिक्छौं?
यहाँ येशूले, हामीले आफ्नो र आफ्नो परिवारका सदस्यहरूको शारीरिक आवश्यकताहरू पूरा गर्ने सन्दर्भमा हेलचेक्र्याइँ गर्नुपर्छ भन्न खोजिरहनुभएको थिएन। बाइबल यसो भन्छ, “कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” (१ तिमोथी ५:८) तथापि, हामीले उचित प्राथमिकताहरू तय गर्नुका साथै आध्यात्मिक कुरालाई प्राथमिकता दियौं भने परमेश्वरले हाम्रा अन्य आवश्यकताहरू अवश्य पूरा गरिदिनुहुनेछ भनी येशूले प्रतिज्ञा गर्नुभयो। यसबाट हामी प्राथमिकताहरू तय गर्ने सन्दर्भमा पाठ सिक्न सक्छौं। यो सल्लाह पालन गर्दा हामी आनन्दित हुन्छौं किनभने “आत्मामा दरिद्र हुनेहरू” आनन्दित हुन्छन्।—मत्ती ५:३.
परमेश्वरसित मित्रता बढाउनुहोस्
आत्मामा दरिद्र हुनेहरू अर्थात् आफ्नो आध्यात्मिक आवश्यकताप्रति सजग हुनेहरूले परमेश्वरसित असल सम्बन्ध राख्नुको खाँचो बुझ्छन्। हामी कसरी कुनै व्यक्तिसित असल सम्बन्ध राख्छौं? के हामी त्यस व्यक्तिलाई राम्ररी चिन्ने कोसिस गर्दैनौं र? तिनको विचारधारा, मनोवृत्ति, क्षमता, उपलब्धि, मनपर्ने र मन नपर्ने कुराबारे थाह पाउन हामीले समय निकाल्नै पर्छ। परमेश्वरसित मित्रता विकास गर्ने सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। उहाँको विषयमा सही ज्ञान हुनु आवश्यक छ। आफ्ना चेलाहरूको बारेमा परमेश्वरलाई प्रार्थना गर्नुहुँदा येशूले यसो भन्नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।” (यूहन्ना १७:३) हो, परमेश्वरसित घनिष्ठता बढाउन हामीले उहाँलाई चिन्नुपर्छ। त्यस्तो ज्ञान हासिल गर्ने एउटै मात्र स्रोत परमेश्वरको प्रेरित वचन बाइबल हो। (२ तिमोथी ३:१६) धर्मशास्त्र अध्ययन गर्न हामीले समय छुट्याउनै पर्छ।
तथापि, ज्ञान मात्रै भएर पुग्दैन। त्यही प्रार्थनामा येशूले यसो भन्नुभयो: “तिनीहरूले [उहाँका चेलाहरूले] तपाईंको वचन पालन गरेका छन्।” (यूहन्ना १७:६) हामीले परमेश्वरको ज्ञान लिएर मात्र हुँदैन तर त्यस ज्ञानअनुसार चल्नु पनि पर्छ। परमेश्वरको मित्र हुने यो जस्तो उत्तम तरिका अर्को कुन होला र? आफ्नो साथीको सोचाइ तथा सिद्धान्त विपरीत जानाजानी काम गऱ्यौं भने के हामी हाम्रो मित्रता घनिष्ठ हुँदै गएको आशा गर्न सक्छौं र? त्यसकारण परमेश्वरको विचारधारा अनि सिद्धान्तअनुसार हाम्रो हरेक कदम डोरिएको हुनुपर्छ। अरू मानिसहरूसितको हाम्रो सम्बन्धमा उहाँका दुईवटा सिद्धान्त कसरी लागू हुन्छ, विचार गर्नुहोस्।
अरूसित असल सम्बन्ध राख्नुहोस्
मानव सम्बन्धको विषयमा मूल्यवान् पाठ सिकाउन एक चोटि येशूले एउटा छोटो कथा भन्नुभयो। उहाँले एक जना राजाबारे बताउनुभयो, जसले आफ्ना नोकरहरूसित हिसाब लिन चाहे। यद्यपि, नोकरहरूमध्ये एक जनाको निकै ठूलो ऋण थियो र त्यससँग त्यो ऋण चुकाउनलाई केही थिएन। राजाले त्यो, त्यसको स्वास्नी र छोराछोरीहरू बेचेर ऋण चुकाउनलाई आज्ञा दिए। नोकरले घोप्टो परेर यस्तो बिन्ती गऱ्यो: “ममाथि धीरज धर्नुहोस्, र म तपाईंको जम्मै तिरिदिनेछु।” राजाले टिठाएर त्यसको ऋण माफ गरिदिए। तर त्यस नोकरले निस्केर आफ्ना साथी-नोकरहरूमध्ये एक जनालाई भेट्टायो, जसले तिनीबाट सानो रकम ऋण लिएको थियो र त्यो ऋण तिरिहाल्न कर लगायो। साथी नोकरले दयाको भिख मागे तापनि पहिलो नोकरले उसलाई ऋण नचुकाउन्जेल झ्यालखानमा हालिदियो। यो कुरा सुनेर राजा रिसाए। “जस्तो मैले तँमाथि दया गरें, तैंले पनि तेरो साथीमाथि दया गर्नुपर्ने थिएन?” भनी राजाले हप्काए। अनि राजाले माफी नदिने त्यस नोकरलाई त्यसको सबै ऋण नतिरुन्जेल झ्यालखानमा हालिदिए। यस कथाको पाठ येशूले यसरी बताउनुभयो: “मेरा स्वर्गको पिताले पनि, तिमीहरू हरेकले आफ्नो भाइलाई आफ्नो हृदयले माफी दिएनौ भने, तिमीहरूलाई त्यसै गर्नुहुनेछ।”—मत्ती १८:२३-३५.
असिद्ध मानिसहरू भएको कारण हाम्रा थुप्रै गल्तीहरू छन्। परमेश्वर विरुद्ध पाप गरेर हामी जति ऋणि भएका छौं, त्यो ऋण हामी उहाँलाई कहिल्यै तिर्न सक्दैनौं। हामी त उहाँसित केवल माफी माग्न सक्छौं। अनि हामी विरुद्ध पाप गर्ने हाम्रा भाइहरूलाई क्षमा गऱ्यौं भने मात्र यहोवा परमेश्वर हाम्रा सबै कमीकमजोरीहरू क्षमा गर्न सधैं तयार हुनुहुनेछ। कस्तो सशक्त पाठ! येशूले आफ्ना अनुयायीहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हाम्रो अपराध क्षमा गर्नुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।”—मत्ती ६:१२.
समस्याको जड पत्ता लगाउनुहोस्
मानव स्वभाव कस्तो हुन्छ भन्ने कुरा येशूलाई राम्ररी थाह थियो। समस्याको जड पत्ता लगाएर त्यसको समाधान गर्नु उहाँले दिनुभएको सल्लाहको मूल आशय थियो। निम्न दुईवटा उदाहरण विचार गर्नुहोस्।
“तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘हत्या नगर, र जसले हत्या गर्छ, त्यो इन्साफको योग्य हुनेछ।’ तर म तिमीहरूलाई भन्दछु, ‘जो कोही आफ्ना भाइसित रिसाउला, त्यो इन्साफको योग्य हुनेछ।’ ” (मत्ती ५:२१, २२) हत्या गर्नुको मूल कारण केवल हिंस्रक कार्य गर्नुमा मात्र सीमित छैन भनी येशूले यहाँ देखाउनुभयो। यो त हत्याराको हृदयमा विकसित हुने मनोवृत्ति हो। मानिसहरूले क्रोध वा रिसरागलाई आफ्नो मनमा बढ्न दिएन भने पूर्वनियोजित हत्या-हिंसा केही पनि हुने छैन। यस शिक्षाअनुसार चलेका भए रगतको खोला बगाउने काम कत्ति धेरै हदसम्म रोकिने थियो!
धेरै दुःख निम्त्याउने अर्को समस्याको जडसम्म येशू कसरी पुग्नुहुन्छ विचार गर्नुहोस्। उहाँले भीडलाई यसो भन्नुभयो: “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्।’ तर म तिमीहरूलाई भन्दछु, ‘जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।’ यदि तिम्रो दाहिने आँखाले तिमीलाई बाधा पार्ने तुल्याउँछ भने, त्यसलाई निकालेर फालिदेऊ।” (मत्ती ५:२७-२९) अनैतिक आचरणमै मात्र समस्या सीमित छैन भनी येशूले सिकाउनुभयो। अनैतिक आचरणमा संलग्न हुनुअघि मनमा उत्पन्न हुने अनैतिक इच्छा समस्याको मुख्य कारण हो। कुनै व्यक्तिले अनुचित इच्छाहरू मनमा नखेलाएको खण्डमा र मनबाट ‘त्यस्तो इच्छालाई निकालेर फालेमा’ तिनी अनैतिक आचरणको सम्भाव्य समस्यामाथि विजयी हुनेछन्।
“तिम्रो तरवार फेरि त्यसकै ठाउँमा हाल”
येशूलाई धोका दिइएको र उहाँ पक्राउ पर्नुभएको रात उहाँका एक जना चेलाले उहाँलाई बचाउन आफ्नो तरवार थुते। येशूले तिनलाई यस्तो आज्ञा दिनुभयो: “तिम्रो तरवार फेरि त्यसकै ठाउँमा हाल, किनभने तरवार लिनेहरू सबै जना तरवारैबाट नष्ट हुनेछन्।” (मत्ती २६:५२) त्यसको भोलिपल्ट बिहान येशूले पन्तियस पिलातसलाई यसो भन्नुभयो: “मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो ता म यहूदीहरूका हातमा नसुम्पिनालाई मेरा चाकरहरूले लडाइँ गर्नेथिए, तर अब मेरो राज्य यहाँको होइन।” (यूहन्ना १८:३६) के यो शिक्षा अव्यावहारिक छ र?
हिंसाको सहारा नलिनू भन्ने येशूको शिक्षालाई प्रथम शताब्दीका मसीहीहरूले कसरी लिए? दी अर्ली क्रिस्चियन एटिच्युड टु वार नामक पुस्तक यसो भन्छ: “येशूका शिक्षाहरूले अरूप्रति गरिने कुनै पनि किसिमको हिंसा र हानि निषेध गर्ने भएकाले युद्धमा भाग लिनु उचित होइन भन्ने कुरा स्पष्ट थियो . . . प्रारम्भिक मसीहीहरूले येशूका एक-एक शब्द पालन गरे र उहाँको शिक्षाको आशय साँच्चै सज्जन हुनु अनि हिंस्रक क्रियाकलापदेखि टाढा बस्नु हो भनेर बुझेका थिए। तिनीहरूको धर्मको शान्तिसित निकटतम सम्बन्ध थियो; युद्धमा रक्तपात मच्चिने भएकोले तिनीहरू यसको घोर निन्दा गर्थे।” मसीही भनौदाहरू सबैले साँच्चै यो शिक्षा पालन गरेका भए इतिहासले कस्तो अर्कै मोड लिने थियो होला!
येशूका सम्पूर्ण शिक्षाहरूबाट तपाईं लाभ उठाउन सक्नुहुन्छ
हामीले छलफल गरेको येशूका शिक्षाहरू एकदमै राम्रा, सरल र सशक्त छन्। उहाँका शिक्षाहरूसित परिचित भएर अनि त्यसलाई आफ्नो जीवनमा लागू गरेर मानिसजातिले लाभ उठाउन सक्छन्।a
आजसम्मका सबैभन्दा बुद्धिमान् मानिसले भनेका बुद्धिमानी शिक्षाहरूबाट तपाईं कसरी लाभ उठाउन सक्नुहुन्छ, त्यसबारे बुझ्न तपाईंको इलाकाका यहोवाका साक्षीहरूले तपाईंलाई खुसीसाथ मदत गर्नेछन्। उनीहरूसित सम्पर्क राख्नुहोस् अथवा यसै पत्रिकाको पृष्ठ २ मा दिइएको ठेगानामा पत्राचार गर्नुहोस् भनी हामी तपाईंलाई हार्दिक आग्रह गर्दछौं।
[फुटनोट]
a येशूका सम्पूर्ण शिक्षाहरूबारे सिलसिलेवार छलफलको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष नामक पुस्तक हेर्नुहोस्।
[पृष्ठ ५-मा भएको चित्र]
“तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ”
[पृष्ठ ७-मा भएको चित्र]
येशूका शिक्षाहरूले तपाईंको जीवनमा राम्रो प्रभाव पार्न सक्छ