परमेश्वरको राज्य—के तपाईंले यसको अर्थ बुझ्नुभएको छ?
“असल जमीनमा छरिएको चाहिं त्यो हो, जसले वचन सुन्छ र बुझ्दछ।”—मत्ती १३:२३.
१. ‘स्वर्गको राज्यबारे’ केही सामान्य विश्वास के के हुन्?
के तपाईंले परमेश्वरको राज्यको अर्थ ‘बुझ्नुभएको’ छ? ‘स्वर्गको राज्यसम्बन्धी’ अवधारणाहरू शताब्दीयौंको दौडान एकदमै भिन्नभिन्न भएका छन्। चर्चका सदस्यहरूबीच सामान्य विश्वास के छ भने, परमेश्वरको राज्य भनेको मानिसले धर्म परिवर्तन गर्दा परमेश्वरले हृदयमा राखिदिनुहुने कुरा हो। अरूको सोचाइमा असल मानिसहरूले मृत्यपश्चात् परमसुखको आनन्द उठाउने स्थान हो। अझै अरू थुप्रैको दाबी के छ भने, मसीही शिक्षा तथा प्रचलनहरूलाई सामाजिक तथा सरकारी गतिविधिहरूमा कार्यान्वयन गरेर मानिसहरूले नै त्यो राज्य पृथ्वीमा ल्याउनेछन्।
२. बाइबलले परमेश्वरको राज्यलाई कसरी वर्णन गर्छ र त्यसले कुन कुरा पूरा गर्नेछ?
२ तथापि, बाइबलले स्पष्टसित देखाउँछ, परमेश्वरको राज्य यस पृथ्वीको कुनै संस्था होइन। यो नता हृदयको अवस्था न मानव समाजलाई मसीही बनाउने प्रक्रिया नै हो। परमेश्वरको राज्यको साँचो अर्थ बुझेपछि त्यसमा विश्वास राख्नेहरूको जीवनमा ठूल्ठूला परिवर्तनहरू हुन्छन् भन्नु साँचो हो। तर परमेश्वरको राज्य स्वर्गमा स्थापित ईश्वरीय राज्य हो। त्यसले परमेश्वरको इच्छा पूरा गर्नेछ, पाप र मरणको असरलाई हटाउनेछ अनि पृथ्वीमा धार्मिक अवस्था पुनःस्थापित गर्नेछ। यो राज्यले स्वर्गमा आफ्नो शक्ति जमाइसक्यो र चाँडै “त्यसले यी सबै [मानव] राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर त्यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।”—दानियल २:४४; प्रकाश ११:१५; १२:१०.
३. येशूले आफ्नो सेवकाई सुरु गर्नुहुँदा मानिसको लागि कुन बाटो खुल्यो?
३ इतिहासकार एच. जी. वेल्सले यसप्रकार लेखे: “स्वर्गको राज्यसम्बन्धी यो धर्मसिद्धान्त येशूको मुख्य शिक्षा थियो। तर यसले मसीही मतमा नगण्य भूमिका निर्वाह गर्छ। तैपनि मानव सोचाइलाई उत्तेजित तथा परिवर्तन गर्ने सबैभन्दा क्रान्तिकारी धर्मसिद्धान्तहरूमध्ये एक साबित भएको छ।” सुरुदेखि नै येशूको सेवकाईको मुख्य विषय थियो: “पश्चाताप गर। किनभने स्वर्गको राज्य नजीक आइपुगेको छ।” (मत्ती ४:१७) उहाँ अभिषिक्त राजाको हैसियतमा पृथ्वीमा हुनुहुन्थ्यो र मानवजातिको लागि सबैभन्दा ठूलो आनन्दको बाटो खुलिरहेको थियो। त्यो थियो, परमेश्वरको राज्यका आशिष्हरू उपभोग गर्ने मात्र होइन तर त्यस राज्यमा येशू सँगसँगै सहशासक तथा पूजाहारीहरू पनि हुने!—लूका २२:२८-३०; प्रकाश १:६; ५:१०.
४. प्रथम शताब्दीमा अधिकांश मानिसहरूले “राज्यको सुसमाचार[प्रति]” कस्तो प्रतिक्रिया देखाए र तिनीहरूले कस्तो न्यायदण्ड भोग्नुपऱ्यो?
४ “राज्यको” रोमाञ्चकारी “सुसमाचार” धेरैले सुने तापनि थोरैले मात्र विश्वास गरे। यसको लागि केही हदसम्म धार्मिक नेताहरू जिम्मेवार थिए किन- भने तिनीहरूले “मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द” गरेका थिए। तिनीहरूले झूटा शिक्षाहरूद्वारा “ज्ञानको साँचो” खोसे। धेरैले येशूलाई मसीह तथा परमेश्वरको राज्यको अभिषिक्त राजाको रूपमा स्वीकार्न इन्कार गरेको हुँदा येशूले तिनीहरूलाई यसो भन्नुभयो: “परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यसबाट फल फलाउँछ।”—मत्ती ४:२३; २१:४३; २३:१३; लूका ११:५२.
५. येशूका उखानहरू सुन्ने थुप्रैले त्यो बुझेका थिएनन् भनेर कसरी देखाए?
५ एक चोटि ठूलो भीडलाई सिकाउनुहुँदा येशूले आफ्नो दस्तुरअनुसार थुप्रै उखानहरू प्रस्तुत गर्नुभयो। यसो गर्नुको उद्देश्य, त्यो भीडलाई जाँच्नु र परमेश्वरको राज्यप्रति सतही चासो मात्र भएकाहरूलाई छुट्याउनु थियो। पहिलो उखान यसप्रकार छ, बीउ छर्ने व्यक्तिले चार प्रकारको जमीनमा बीउ छरे। सुरुको तीन प्रकारका जमीनहरू बोटबिरुवा हुर्काउन अनुकूल थिएन तर अन्तिम चाहिं “असल जमीन” थियो। यो छोटो उखानको अन्तमा यस्तो आग्रह गरियो: “जसको कान छ त्यसले सुनोस्।” (मत्ती १३:१-९) त्यहाँ उपस्थित धेरैजसोको कानमा त पऱ्यो तर तिनीहरूले ‘सुनेनन्।’ तिनीहरूसित कुनै उत्प्रेरणा थिएन। विभिन्न परिस्थितिमा रोपिएका बीउहरू कसरी परमेश्वरको राज्यजस्तै थियो भनेर जान्ने साँचो चासो तिनीहरूसित थिएन। तिनीहरू घर फर्केर आफ्नो दिनचर्यामा व्यस्त भए अनि येशूका उखानहरूलाई असल नैतिक कथाहरूसरह मात्र ठाने होलान्। तिनीहरूको हृदय ग्रहणशील नभएकोले कति धेरै समझशक्ति, महान् सुअवसर तथा मौका गुमाउनुपऱ्यो!
६. येशूका चेलाहरूलाई मात्र “स्वर्गको राज्यको रहस्यको ज्ञान” किन दिइएको थियो?
६ येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “तिमीहरूलाई ता स्वर्गको राज्यको रहस्यको ज्ञान दिइएको छ, तर तिनीहरूलाई दिइएको छैन।” यशैयालाई उद्धरण गर्दै उहाँले अझै भन्नुभयो: “सुन्न ता सुन्छौ, तर कुनै किसिमले बुझ्दैनौ, ‘हेर्न ता हेर्छौ, तर कुनै किसिमले देख्तैनौ। किनकि यी मानिसहरूको मन भद्दा भएको छ, औ तिनीहरूका कान सुन्नमा ढीला भएका छन्, र तिनीहरूले आफ्ना आँखा चिम्लेका छन्, नत्रता तिनीहरूले आँखाले देख्नेथिए, कानले सुन्नेथिए, हृदयले बुझ्नेथिए, मतर्फ फर्कनेथिए। र म तिनीहरूलाई निको पार्नेथिएँ।’ तर तिमीहरूका आँखा धन्यका हुन्, किनकि तिनले देख्तछन्। औ तिमीहरूका कान, किनकि तिनले सुन्छन्।”—मत्ती १३:१०-१६; मर्कूस ४:११-१३.
‘परमेश्वरको राज्यको अर्थ बुझ्ने’
७. परमेश्वरको राज्यको अर्थ ‘बुझ्नु’ किन महत्त्वपूर्ण छ?
७ येशूले समस्यालाई सोझै औंल्याउनुभयो। यो परमेश्वरको राज्यको समाचारको अर्थ ‘बुझ्नुसित’ सम्बन्धित थियो। उहाँले आफ्ना चेलाहरूलाई एकान्तमा यसो भन्नुभयो: “तिमीहरू बिउ छर्नेको उखान सुन। जब कसैले सुन्छ, र बुझ्दैन, तब दुष्ट आउँछ र त्यसको हृदयमा जे छरिएको थियो त्यो खोसेर लैजान्छ।” त्यसपछि उहाँले ती चार बेग्लाबेग्लै प्रकारको जमीनले हृदयको अवस्थालाई बुझाउँछ भनी बताउनुभयो र त्यही हृदयमा “राज्यको वचन” रोपिनेथियो।—मत्ती १३:१८-२३; लूका ८:९-१५.
८. प्रथम तीन प्रकारको जमीनमा रोपिएको “बिउले“ किन फल फलाउन सकेन?
८ उखानका सबै “बिउ” असल थिए तर जमीनको अवस्थामा त्यसको फल निर्भर हुनेथियो। व्यस्त, खचाखच बाटोजस्तै थुप्रै भौतिक क्रियाकलापहरूले जमीनरूपी हृदय कडा भएमा परमेश्वरको राज्यको समाचार सुन्ने व्यक्तिहरूलाई त्यसको लागि फुर्सदै नभएको बहाना बनाउन सजिलो हुनेछ। यसरी बेवास्ता गरिएको बीउले जरा गाड्न नपाउँदै कसैले त्यो खोस्नसक्छ। तर चट्टाने जमीनरूपी हृदयमा बीउ रोपिएको थियो भने नि? बीउ टुसाउला तर भित्रसम्म जरा गडिन गाह्रो हुनेछ जहाँबाट त्यसले पोषण तथा स्थिरता पाउँछ। विशेषगरि भीषण सतावट आइपर्दा परमेश्वरको आज्ञाकारी सेवक हुने प्रत्याशा निकै भयानक चुनौती हुनसक्छ र त्यो व्यक्तिले ठोकर खानसक्छ। अनि हृदयको जमीन काँडारूपी चिन्ता वा धनसम्पत्ति जम्मा गर्ने भौतिकवादी चाहनाले भरिभराउ थियो भने परमेश्वरको राज्यको त्यो कमलो बोट निस्सासिनेथियो। जीवनका यी तीन खास परिस्थितिहरूमा परमेश्वरको राज्यले कुनै फल फलाउनेथिएन।
९. असल जमीनमा रोपिएको बीउले किन असल फल फलाउनसक्यो?
९ तथापि, असल जमीनमा रोपिएको परमेश्वरको राज्यको बीउ नि? येशूले यस्तो जवाफ दिनुभयो: “तर असल जमीनमा छरिएको चाहिं त्यो हो, जसले वचन सुन्छ र बुझ्दछ, र साँच्चै फल फलाउँछ, र कुनैले सय, कुनैले साठी र कुनैले तीस गुणा फलाउँछ।” (मत्ती १३:२३) परमेश्वरको राज्यको अर्थ ‘बुझेपछि’ तिनीहरूले व्यक्तिगत परिस्थितिअनुरूप असल फल फलाउनेथिए।
बुझेपछि जिम्मेवारी आउँछ
१०. (क) परमेश्वरको राज्यको अर्थ ‘बुझेपछि’ आशिष् र जिम्मेवारी दुवै आउँछ भनेर येशूले कसरी देखाउनुभयो? (ख) चेला बनाउने येशूको आज्ञा के प्रथम शताब्दीका चेलाहरूलाई मात्र लागू हुन्थ्यो?
१० परमेश्वरको राज्यका विविध पक्षहरू बुझाउन छवटा थप उखानहरू बताइसक्नुभएपछि येशूले आफ्ना चेलाहरूलाई यस्तो प्रश्न गर्नुभयो: “के तिमीहरूले यी सबै कुरा बुझ्यौ?” तिनीहरूले उहाँलाई भने, “ज्यू प्रभु।” अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण स्वर्गको राज्यको लागि शिक्षा पाएको हरेक शास्त्री एक जना घरको मालिक जस्तो हो, जसले आफ्नो ढुकटीबाट नयाँ र पूराना चीजहरू बाहिर झिक्तछ।” येशूले दिनुभएको शिक्षा तथा प्रशिक्षणले चेलाहरूलाई परिपक्व मसीहीहरू बनाउनेथियो र तिनीहरूले आफ्नो ‘ढुकुटी- बाट’ प्रचुर मात्रामा आध्यात्मिक आहार दिन सक्नेथिए। यो मुख्यतया परमेश्वरको राज्यसित सम्बन्धित थियो। येशूले स्पष्ट पार्नुभयो, परमेश्वरको राज्यको अर्थ ‘बुझेपछि’ आशिष् मात्र होइन जिम्मेवारी पनि आउँछ। उहाँले यस्तो आज्ञा दिनुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ। र हेर, म सब दिन, अँ, जगत्को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।’”—मत्ती १३:५१, ५२; २८:१९, २०.
११. सन् १९१४ मा परमेश्वरको राज्यसम्बन्धी कस्ता घटनाहरू भए?
११ प्रतिज्ञा गरिएझैं येशू अहिले हाम्रो समयसम्म आफ्ना साँचो चेलाहरूको साथमा रहनुभएको छ। यी आखिरी दिनमा उहाँले क्रमिक समझ प्रदान गर्नुभएको छ र सच्चाइको थप ज्ञान प्रयोग गर्न तिनीहरूलाई जिम्मेवार पनि ठहराउनुभएको छ। (लूका १९:११-१५, २६) सन् १९१४ मा परमेश्वरको राज्यसम्बन्धी घटनाहरू चाँडचाँडो र नाटकीय ढंगले हुन थाले। यसै सालमा चिरप्रतीक्षित राज्य ‘जन्मिनुको’ साथै “जगत्को अन्त” सुरु भयो। (प्रकाश ११:१५; १२:५, १०; दानियल ७:१३, १४, २७) साँचो मसीहीहरूले वर्तमान घटनाहरूको अर्थ बुझेर इतिहासमै सबैभन्दा ठूलो प्रचार तथा शिक्षणकार्य सञ्चालन गरेका छन्। येशूले यसबारे यसरी भविष्यवाणी गर्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४.
१२. (क) आधुनिक समयमा परमेश्वरको राज्यको व्यापक साक्षीकार्यको परिणाम के भएको छ? (ख) यस शंकालु संसारमा मसीहीहरूका लागि कस्तो खतरा छ?
१२ परमेश्वरको राज्यको व्यापक साक्षीकार्य २३० भन्दा बढी मुलुकहरूमा पुगिसकेको छ। अहिले यस कार्यमा ५० लाख साँचो चेलाहरूले भाग लिइरहेका छन् र अरू पनि जम्मा गरिंदैछन्। तर हामीले चेलाहरूको संख्यालाई पृथ्वीको ५६० करोड बासिन्दाहरूसित तुलना गऱ्यौं भने एउटा कुरा स्पष्ट हुन्छ, येशूको समयमा जस्तै अधिकांश मानवजातिले त्यस राज्यको अर्थ ‘बुझेका’ छैनन्। भविष्यवाणी गरिएझैं धेरैले खिसी गरेर यसो भन्छन्: “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो?” (२ पत्रुस ३:३, ४) मसीहीहरूको हैसियतमा हामीलाई खतरा के छ भने, संसारका मानिसहरूको आत्मसन्तुष्ट, शंकालु, भौतिकवादी मनोवृत्तिले परमेश्वरको राज्यसम्बन्धी हाम्रा सुअवसरहरूलाई बिस्तारै असर गर्नसक्छ। यस संसारका मानिसहरूले घेरिएको हुँदा हामीले तिनीहरूको जस्तै मनोवृत्ति तथा व्यवहार सजिलै अपनाउनसक्छौं। त्यसकारण परमेश्वरको राज्यको अर्थ ‘बुझेर’ त्यसमा लागिरहनु साँच्चै अत्यावश्यक छ!
परमेश्वरको राज्यसित आफ्नो सम्बन्धलाई केलाउने
१३. राज्यको सुसमाचार प्रचार गर्ने आज्ञाको सन्दर्भमा हामी समझदार भएर ‘सुनिरहेका’ छौं कि छैनौं भनेर कसरी जाँच्नसक्छौं?
१३ हामी बाँचिरहेको कटनीको समयबारे येशूले यसो भन्नुभयो: “मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ, र सबै बाधा पार्ने कुराहरू र अधर्म गर्नेहरूलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछ . . . तब धर्मीहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुनेछन्। जसको कान छ, त्यसले सुनोस्।” (मत्ती १३:४१, ४३) परमेश्वरको राज्यको प्रचार गरेर चेला बनाउने आज्ञालाई के तपाईंले आज्ञाकारितापूर्वक ‘सुनिरहनुभएको’ छ? नबिर्सनुहोस्, “असल जमीनमा छरिएको” बीउले ‘वचन सुन्यो र बुझ्यो’ अनि असल फल फलायो।—मत्ती १३:२३.
१४. निर्देशन दिइँदा सल्लाहको अर्थ ‘बुझेका’ छौं भनी हामी कसरी देखाउँछौं?
१४ व्यक्तिगत अध्ययन गर्दा तथा मसीही सभाहरूमा उपस्थित हुँदा हामीले ‘समझ-शक्तिमा मन’ लगाउनुपर्छ। (हितोपदेश २:१-४) हामीलाई आचरण, वेशभूषा, संगीत र मनोरञ्जनजस्ता विषयहरूमा सल्लाह दिइँदा त्यसलाई हृदयंगम गर्नुपर्छ अनि आवश्यक काँटछाँट गर्न प्रेरित हुनुपर्छ। आफ्नो कार्यलाई सही हो भनेर साबित गर्न खोज्ने, बहाना बनाउने कहिल्यै नगर्नुहोस् र सल्लाह सधैं पालन गर्नुहोस्। हाम्रो जीवनमा परमेश्वरको राज्य वास्तविक छ भने हामी त्यसअनुरूप जीवन बिताउनेछौं र जोशका साथ अरूलाई घोषणा गर्नेछौं। येशूले यसो भन्नुभयो: “मलाई प्रभु, प्रभु, भन्ने सबै स्वर्गको राज्यमा पस्न पाउनेछैन। तर त्यो, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ।”—मत्ती ७:२१-२३.
१५. ‘पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकता खोज्नु’ किन महत्त्वपूर्ण छ?
१५ आवश्यक भोजन, वस्त्र र आवासको लागि चिन्तित हुनु, मानव झुकाउ हो तर येशूले यसो भन्नुभयो: “पहिले उहाँको राज्य र उहाँको [परमेश्वरको] धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।” (मत्ती ६:३३, ३४) परमेश्वरको राज्यलाई प्राथमिकता दिनुहोस्। आफ्ना आधारभूत आवश्यकताहरू पूरा हुँदा सन्तुष्ट भएर तपाईंको जीवन सरल बनाउनुहोस्। हाम्रो जीवनलाई अनावश्यक क्रियाकलापमा तथा चीजबीजहरू जम्मा गर्न व्यस्त बनाएर ती कुराहरू खराबै त होइनन् नि भनेर तर्क गर्नु मूर्खतापूर्ण हुनेछ। त्यो साँचो होला तर त्यसरी अनावश्यक कुराहरू जम्मा गर्दा व्यक्तिगत अध्ययनको तालिका, मसीही सभाहरूमा उपस्थिति र प्रचार कार्यमा सहभागिताजस्ता क्रियाकलापहरू के हुनेछन्? येशूले भन्नुभयो, स्वर्गको राज्य एउटा व्यापारीजस्तै हो जसले “बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो किन्यो।” (मत्ती १३:४५, ४६) परमेश्वरको राज्यबारे हाम्रो सोचाइ यस्तै हुनुपर्छ। “वर्त्तमान संसारलाई प्रेम गरेर” सेवकाईलाई त्याग्ने डेमसको होइन तर हामीले पावलको अनुकरण गर्नुपर्छ।—२ तिमोथी ४:१०, १८; मत्ती १९:२३, २४; फिलिप्पी ३:७, ८, १३, १४; १ तिमोथी ६:९, १०, १७-१९.
“अधर्मीहरू परमेश्वरको राज्यको हकदार हुँदैनन्”
१६. परमेश्वरको राज्यको अर्थ ‘बुझ्यौं’ भने गलत आचरणबाट जोगिन कसरी मदत पाउनेछौं?
१६ कोरिन्थको मण्डलीले अनैतिकतालाई अनुमति दिंदा पावलले खुलमखुला यसो भने: “अधर्मीहरू परमेश्वरको राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाह छैन? न ठगियौ। व्यभिचारीहरू, मूर्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, गाली गर्नेहरू, लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछैन।” (१ कोरिन्थी ६:९, १०) हामीले परमेश्वरको राज्यको अर्थ ‘बुझ्यौं’ भने मसीही सेवामा व्यस्त हुँदैमा यहोवाले कुनै कुनै अनैतिकतालाई अनुमति दिनुहुनेछ भनेर आफूलाई भ्रममा पार्नेछैनौं। हाम्रो माझमा अशुद्धताको उच्चारणसमेत हुनुहुँदैन। (एफिसी ५:३-५) तपाईंको जीवनमा यस संसारको दूषित सोचाइ वा प्रचलन बिस्तारै घुसेको जस्तो के तपाईं महसुस गर्नुहुन्छ? तुरुन्तै त्यसलाई तपाईंको जीवनबाट हटाइहाल्नुहोस्! त्यस्ता कुराहरूको खातिर परमेश्वरको राज्यजस्तो मूल्यवान् कुरा गुमाउनु पटक्कै सुहाउँदैन।—मर्कूस ९:४७.
१७. परमेश्वरको राज्यप्रति मूल्यांकनले कसरी नम्रतालाई बढाउँछ र त्यसले ठोकरको कारण हुनदेखि कसरी जोगाउनेछ?
१७ येशूका चेलाहरूले यसप्रकार सोधे: “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हो?” येशूले एक जना सानो बालकलाई तिनीहरूको माझमा ल्याएर यसो भन्नुभयो: “म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरू बदलिएर साना बालकहरू जस्ता भएनौ भने कुनै रीतिले स्वर्गको राज्यमा पस्नेछैनौ। यसकारण जसले यो सानो बालक जस्तै आफूलाई नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ।” (मत्ती १८:१-६) घमण्डी, अरूबाट अचाक्ली माग गर्ने, निर्दयी तथा अधर्मीहरू परमेश्वरको राज्यको हकदार हुनेछैनन्। नता परमेश्वरको राज्यको प्रजा हुन पाउनेछन्। भाइहरूप्रति तपाईंको प्रेम, नम्रता, ईश्वरीय भयको खातिर आफ्नो आचरणले अरूलाई ठोकर पुऱ्याउनदेखि जोगिन के तपाईं प्रेरित हुनुहुन्छ? वा तपाईंको मनोवृत्ति वा आचरणले अरूलाई जस्तोसुकै प्रभाव पारोस्, त्यो आफ्नो “अधिकारको” कुरा हो भनेर जिद्दी गर्नुहुन्छ?—रोमी १४:१३, १७.
१८. परमेश्वरको राज्य मार्फत उहाँको इच्छा “स्वर्गमाझैं यस पृथ्वीमा पूरा” हुँदा आज्ञाकारी मानवजातिको लागि के हुनेछ?
१८ स्वर्गमा हुनुहुने पिता, यहोवाले चाँडै हाम्रो जोशिलो प्रार्थनाको पूर्ण जवाफ दिनुहुनेछ: “तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।” चाँडै, शासनारूढ राजा, येशू ख्रीष्ट “भेड़ा” र “बाख्रा” छुट्याएर न्याय गर्न आउनुहुनेछ। त्यो तोकिएको समयमा “राजाले आफ्ना दाहिने हातपट्टिकाहरूलाई भन्नेछन्, ‘आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य जगत्को उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अधिकार गर।” बाख्राहरू “अनन्त दण्डमा, तर धार्मिकहरूचाहिं अनन्त जीवनमा जानेछन्।” (मत्ती ६:१०; २५:३१-३४, ४६) “महा संकष्ट[ले]” परमेश्वरको राज्यको अर्थ ‘बुझ्न’ इन्कार गर्नेहरूलगायत पुरानो रीतिरिवाजलाई हटाउनेछ। तर “महा संकष्टबाट” बच्ने तथा पुनरुत्थान हुने लाखौंले परमेश्वरको राज्यका आशिष्हरू र पुनःस्थापित पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउनेछन्। (प्रकाश ७:१४) परमेश्वरको राज्य, पृथ्वीको नयाँ सरकार हो र त्यसले स्वर्गबाट शासन गर्नेछ। यसले पृथ्वी तथा मानवजातिको लागि परमेश्वरको उद्देश्य पूरा गर्नेछ र त्यसबाट उहाँको अति पवित्र नाउँको पवित्रीकरण हुनेछ। के त्यस्तो सम्पत्तिको लागि मेहनत गर्नु, त्याग गर्नु वा पर्खनु सार्थक छैन र? परमेश्वरको राज्यको अर्थ ‘बुझ्नु’ भनेको हाम्रोलागि यही हुनुपर्ने हो!
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ परमेश्वरको राज्य भनेको के हो?
◻ येशूका अधिकांश श्रोताहरूले किन परमेश्वरको राज्यको अर्थ ‘बुझ्न’ सकेनन्?
◻ परमेश्वरको राज्यको अर्थ ‘बुझेपछि’ आशिष् र जिम्मेवारी दुवै कसरी आउँछ?
◻ प्रचार गर्ने सन्दर्भमा हामीले परमेश्वरको राज्यको अर्थ ‘बुझेका’ छौं भनी कुन कुराले संकेत गर्छ?
◻ हामीले सल्लाहको अर्थ ‘बुझेका’ छौं भनी आफ्नो आचरणले कसरी देखाउँछौं?
[पृष्ठ १७-मा भएको चित्र]
येशूका चेलाहरूले परमेश्वरको राज्यको अर्थ ‘बुझे’ र असल फल फलाए