अध्याय ३
तपाईंको धर्म कुन हो, त्यसले फरक पार्ने छ
१. केही मानिसहरू धर्म वारे के विश्वास गर्दछन्?
‘सबै धर्महरू असल छन्’ भनेर धेरै मानिसहरू भन्दछन्। ‘एउटै ठाउँमा पुग्ने विभिन्न बाटोहरू मात्र हुन्।’ यो कुरो सत्य हुँदो हो ता, तपाईंको धर्म जुनसुकै भएता पनि त्यसले केही फरक पार्ने थिएन, कारण सबै धर्मनै परमेश्वरलाई ग्रहणयोग्य हुने थियो। तर के सबै धर्म ग्रहणयोग्य छन्?
२. (क) फरिसीहरूले येशूसँग कस्तो व्यवहार गरे? (ख) फरिसीहरूले आफ्नो पिता को हो भनेर दाबा गरे?
२ येशू ख्रीष्ट पृथ्वीमा हुनुहुँदा, फरिसीहरू भन्ने एउटा धार्मिक समूह थियो। तिनीहरूले उपासनाको एउटा प्रणाली बनाएका थिए र त्यसमा परमेश्वरको स्वीकृति छ भन्ने तिनीहरूको विश्वास थियो। तथापि, फरिसीहरू येशूलाई मार्ने प्रयत्न पनि गरिरहेका थिए! त्यस कारण येशूले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू आफ्ना पिताका काम गर्दछौ।” उत्तरमा तिनीहरूले भने: “हाम्रा एउटै पिता हुनुहुन्छ, अर्थात परमेश्वर।”—यूहन्ना ८:४१.
३. फरिसीहरूको पिता वारे येशूले के भन्नुभयो?
३ के परमेश्वर वास्तवमा तिनीहरूका पिता हुनुहुन्थियो? के परमेश्वरले तिनीहरूको धार्मिक रीतिलाई स्वीकार गर्नु भएको थियो? कदापि गर्नु भएको थिएन! तिनीहरू सँग धर्मशास्त्र थियो र त्यसको अनुसरण गर्दछौं भन्ने तिनीहरू सोंच्द थिए, तर पनि तिनीहरू दियावलको बहकाउमा परेका थिए। येशूले तिनीहरूलाई सो कुरा यसरी भन्नुभयो: “तिमीहरू ता आफ्ना पिता, शैतानका तर्फबाटका हौ, औ आफ्नै पिताको अभिलाषा गर्ने इच्छा गर्छौ। त्यो ता शुरूदेखिनै हत्यारा थियो, र सत्यमा ठहरेन, . . . त्यो झूट र झूटको पिता हो।”—यूहन्ना ८:४४.
४. फरिसीहरूको धर्मलाई येशूले कुन दृष्टिले हेर्नु भयो?
४ स्पष्टतया, फरिसीहरूको धर्म झुट्टा थियो। त्यसले परमेश्वरको होइन, दियावलको स्वार्थ पूरा गरिरहेको थियो। त्यस कारण, तिनीहरूको धर्मलाई येशूले राम्रो हो भन्नुको सट्टा, त्यसको निन्दा गर्नु भयो। उहाँले ती धर्मी फरिसीहरूलाई भन्नुभयो: “तिमीहरू मानिसहरूका विरूद्ध स्वर्गको राज्य बन्द गर्दछौ; किनभने तिमीहरू नता आफै पस्तछौ, न पस्नेहरूलाई पनि पस्न दिन्छौ।” (मत्ती २३:१३) तिनीहरूको झूटो उपासनाको कारण, येशूले ती फरिसीहरूलाई कपटीहरू र साँबे सर्प भन्नुभयो। तिनीहरूले खराब मार्ग अपनाएका हुनाले, तिनीहरू विनाशको मार्गमा छन् भनेर येशूले भन्नुभयो।—मत्ती २३:२५-३३.
५. सबै धर्महरू एउटै ठाउँमा पुग्ने बेग्ला-बेग्लै बाटो मात्र होइन भनेर येशूले कसरी प्रदर्शित गर्नु भयो?
५ अत: सबै धर्महरू मुक्ति पाउने एउटै ठाउँमा पुग्ने बेग्ला-बेग्लै मार्गहरू हुन् भनेर येशूले सिकाउनु भएन। उहाँको प्रसिद्ध डाँड़ाको उपदेशमा येशूले भन्नुभयो: “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुऱ्याउने ढोका फराकिलो र बाटो चौड़ा हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने त्यो ढोका साँघुरो हुन्छ, औ त्यो बाटो असजिलो हुन्छ, जसले चाहिं जीवनमा पुऱ्याउँछ, र त्यो भेट्टाउने थोरै हुन्छन्।” (मत्ती ७:१३, १४) परमेश्वरलाई उचित तरिकाले उपासना गर्न असफल भएकाले, धेरै मानिसहरू विनाशको बाटोमा छन्। केवल थोरै मात्र जीवनको बाटोमा छन्।
६. इस्राएल राष्ट्रको उपासना गर्ने रीति वाट हामीहरू के सिक्खन सक्दछौं?
६ परमेश्वरले इस्राएली राष्ट्रसँग गर्नु भएको व्यवहार तर्फ ध्यान दियौं भने, उहाँलाई स्वीकृत हुने तरीकाबाट उपासना गर्नु कतिको महत्वपूर्ण रहेछ भनेर बुझ्न सक्नेछौं। परमेश्वरले इस्राएलीहरूलाई तिनीहरूको चारैतिर बसो बास गर्ने राष्ट्रहरूको झूटो धर्मबाट अलग्ग बस्नु भनेर चेतावनी दिनुभयो। (व्यवस्था ७:२५) ती मानिसहरूले तिनका देवताहरूलाई आफ्ना केटा-केटीहरूको बलि चढाउदथिए, र समयोनि कार्य पनि सम्मिलित भएका अशुद्ध लैंगिक कार्यहरूमा, व्यस्त रहन्थिए। (लेवी १८:२०-३०) परमेश्वरले इस्राएलीहरूलाई यस्ता कार्यहरूबाट अलग्ग रहनु भनेर आज्ञा गर्नु भयो। तर जब तिनीहरूले यो आज्ञाको उल्लङ्घन गरे र अन्य देवताहरूको उपासना गर्न थाले, परमेश्वरले तिनीहरूलाई सजाय दिनु हुन्थियो। (यहोशू २४:२०; यशैया ६३:१०) अत: तिनीहरूको धर्मले वास्तवमा फरक पार्द थियो।
झूटो धर्म आज पनि?
७, ८. (क) विश्व-युद्धहरूको बेला धर्मले के स्थिति अपनाएको थियो? (ख) युद्धको समयमा धर्मले गरेका कुराहरू वारे, तपाईंको विचारमा, परमेश्वरलाई कस्तो लाग्यो होला?
७ आजका सैकड़ों धर्महरू बारे के भन्न सकिन्छ? धर्मको नाउँमा गरिने धेरै कुराहरूमा परमेश्वरको स्वीकृति छैन भनेर तपाईं शायद सहमत हुनुहोला। हालका विश्व-युद्धहरूमा, जसबाट बाँचेका लाखौं व्यक्तिहरू आज जीवित छन्, दुवै पक्षका धर्महरूले आफ्ना मानिसहरूलाई अर्को पक्षको मानिसहरूलाई हत्या गर्न प्रोत्साहित गरेका थिए। लण्डनका बिशपले भने, “जर्मनहरूलाई मार—तिनीहरूलाई अवश्य मार।” र अर्को तर्फ, कोलोनका आर्चबिशपले जर्मनहरूलाई भने: “आफ्नो देशको महिमा र सम्मानकालागि आफ्नो रगतको आखिरी थोपा रहुञ्जेल लडनुहोस् भनेर हामी परमेश्वरको नाउँमा तपाईंहरूलाई आदेश दिन्छौं।”
८ आफ्ना धार्मिक नेताहरूको स्वीकृति पाएर कैथोलिकले कैथोलिकको हत्या गरे र प्रोटेस्टेन्टहरूले पनि त्यस्तै गरे। धार्मिक नेता हैरी इमरसन फोस्डिकले यो कुरा स्वीकार गरेका छन्: “हामीहरूले गिरजाघरहरूमा समेत युद्धका झण्डा फहरायौं . . . एकातिर ता हामीहरूले आफ्नो मुखबाट शान्तिका राजकुमारको स्तुति गरेका छौं, र अर्को तिर त्यही मुखबाट युद्धको महिमा गरेका छौं।” तपाईंलाई कस्तो लाग्छ, युद्धको महिमा गर्ने र परमेश्वरकै इच्छा अनुसार एसो गरेका हौं भनेर दावा गर्ने धर्म वारे परमेश्वरले कस्तो विचार राख्नु हुन्छ होला?
९. (क) विभिन्न धर्महरूका सदस्यहरूले गरेका अपराधहरू वारे धैरै मानिसहरूले के महसूस गर्दछन्? (ख) धर्मले आफूलाई संसारको सहभागी बनाउँदा, हामीहरू के निष्कर्षमा पुग्नै पर्छ?
९ इतिहासभरि अनेक धर्महरूका सदस्यहरूले परमेश्वरको नाउँमा अपराधहरू गरेका हुनाले, आज लाखौं मानिसहरूले परमेश्वर र ख्रीष्ट बाट आफूलाई अलग्ग पारेकाछन्। क्रूसेड्स कहलिएको कैथोलिक र मुसलमानहरूको बीच, मुसलमान र हिन्दुहरूको बीच, कैथोलिक र प्रोटेस्टेन्टहरूको बीच भएका भयङ्कर धार्मिक-युद्धकालागि, तिनीहरूले परमेश्वरलाईनै दोषी ठहराएका छन्। ख्रीष्टको नाउँमा यहूदीहरूको हत्या र निर्दयी कैथोलिक धार्मिक न्यायालयहरू तर्फ तिनीहरू सङ्केत गर्दछन्। तथापि, यी भीषण अपराधहरूकालागि जिम्मेवार ती धार्मिक नेताहरूले तिनीहरूको पिता परमेश्वर हुनुहुन्छ भनेर दावा गरेता पनि, के तिनीहरू येशूले भर्त्सना गर्नु भएका ती फरिसीहरू जस्तै दियावलका सन्तान होइनन् र? शैतान यस संसारको ईश्वर भएको हुनाले, संसारका मानिसहरूले पालन गरेका धर्महरूलाई पनि उसैलै नै नियंत्रण गरेको हुनु पर्छ, होइन र?—२ कोरिन्थी ४:४; प्रकाश १२:९.
१०. धर्मको नाउँमा गरिएका कुन-कुन कुराहरूसँग तपाईं सहमत हुनुहुन्न?
१० यसमा कुनै सन्देह छैन, आज धर्मको नाउँमा गरिने यस्ता धेरै कुराहरू छन्, जसलाई तपाईं ठीक मान्नु हुँदैन। अनैतिक जीवन-शैली भएका मानिसहरू पनि गिरजाहरूका सम्माननीय सदस्य कहलाइएका बारे तपाईंले बराबर सुन्नु भएको होला। साथै, खराब जीवन बिताएता पनि, आफ्नो गिरजाहरूमा असल धार्मिक नेता मानिएकाहरू बारे पनि तपाईंलाई थाहै होला। केही धार्मिक नेताहरू समलिङगी कामुकता र विवाह बिनाको यौन-सम्बन्ध अनुचित होइन पनि भन्दछन्। तर बाइबल त्यसो भन्दैन भनेर तपाईंलाई थाहा होला। वास्तवमा, इस्राएलीहरूले यस प्रकारका कुराहरू व्यवहारमा ल्याउँदा, परमेश्वरले तिनीहरूलाई मृत्यु दण्ड दिनु भएको थियो। यस्तै कारणले गर्दा उहाँले सदोम र गमोराको पनि नाश गर्नु भयो। (यहूदा ७) चाँड़ैनै उहाँले आधुनिक कालको झूटो धर्मलाई पनि त्यसै गर्नुहुनेछ। बाइबलमा, “पृथ्वीका राजाहरू” सँग अनैतिक सम्बन्ध राख्ने यस्ता धर्महरूलाई वेश्यासँग तुलना गरिएको छ।—प्रकाश १७:१, २, १६.
परमेश्वरले स्वीकार गर्नु हुने उपासना
११. परमेश्वरलाई हाम्रो उपासना स्वीकार योग्य हुनकालागि के कुराको आवश्यकता छ?
११ सबै धर्महरूलाई परमेश्वरले स्वीकार नगर्नु भएको हुनाले, आफूले आफूलाई यो सोधनु आवश्यक छ: ‘के मैले परमेश्वरलाई स्वीकार्य हुने रीतिले उहाँलाई उपासना चढाएकोछु?’ हामीहरूले चढाइरहेका छौं कि छैनौं भनी कसरी जान्न सक्छौं? साँचो उपासना के हो भन्ने कुराको फैसला मानिसले होइन, परमेश्वरले गर्नुहुन्छ। त्यस कारण, हाम्रो उपासना परमेश्वरलाई स्वीकृत हुने हो भने, त्यो परमेश्वरको वचन, बाइबलमा दृढतापूर्वक आधारित हुनु पर्दछ। हाम्रो विचार बाइबलको त्यो लेखकको जस्तै हुनु पर्छ जसले एसो भने: “परमेश्वर सत्य र हरेक मानिस झुट्टा ठहरिओस्।”—रोमी ३:३, ४.
१२. फरिसीहरूको उपासना परमेश्वरको नजरमा स्वीकृत छैन भनेर येशूले किन भन्नु भयो?
१२ प्रथम शताब्दिका फरिसीहरूले यस प्रकारको विचार राखेनन्। तिनीहरूले परमेश्वरको वचनलाई छाड़ेर आफ्नै विश्वास र परम्परा कायम गरे र त्यसलाईनै अनुसरण गरे। परिणाम के भयो? येशूले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूले आफ्नो रीतिले गर्दा परमेश्वरको वचनलाई बेकम्मा गराएका छौ। ए कपटी हो, यशैयाले तिमीहरूका विषयमा यसो भनेर ठीक ठीक अगमवाणी बोले, ‘यस जातिले आफ्नो ओठले मेरो आदर गर्दछ, तर तिनीहरूको हृदय मबाट टाढ़ा छ। औ मानिसका आदेशहरू तिनका सिद्धान्त जस्तागरी तिनीहरू ब्यर्थमा मेरो उपासना गर्दछन्।’” (मत्ती १५:१-९; यशैया २९:१३) अत: यदि हामीहरू परमेश्वरको स्वीकृति चाहन्छौं भने, हामीले विश्वास गरेका कुराहरू बाइबलका शिक्षा अनुसार छन् भनेर निश्चित गर्नु पर्दछ।
१३. परमेश्वर बाट ग्रहणयोग्य हुन हामीहरूले के गर्नु पर्छ भनेर येशूले भन्नुभयो?
१३ भन्न चाहिं हामी ख्रीष्टमा विश्वास गर्दछौं भन्ने तर गर्ने बेलामा आफूलाई जे ठीकलाग्छ त्यही गर्नु यथेष्ट छैन। किनभने परमेश्वरको इच्छा थाह लगाउनु अतिनै जरुरी छ। येशूले आफ्नो डाँड़ाको उपदेशमा यस कुरालाई प्रदर्शित गर्नु हुँदै, एसो भन्नुभयो: “मलाई ‘प्रभु, प्रभु,’ भन्ने सबै स्वर्गको राज्यमा पस्न पाउनेछैन। तर त्यो, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ।”—मत्ती ७:२१.
१४. हामीहरूले “असल काम” गरेतापनि येशूले हामीहरूलाई “अधर्म काम” गर्ने किन भन्नु हुनेछ?
१४ आफ्नो विचारमा “असलै कार्यहरू” हामी गरिरहेका हुनसक्छौं र ती सबै ख्रीष्टैक नाउँमा गरिरहेका हौंला। तथापि हामीले परमेश्वरको इच्छा चाहिं गरेनौं भने ती सबै कामको केही महत्व हुने छैन। हाम्रो स्थिति पनि त्यही मानिसहरूको जस्तो हुनेछ जस्वारे ख्रीष्टले पछि एसो भन्नुभएको छ: “त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘हे प्रभु, हे प्रभु के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं, र तपाईंको नाउँमा सामर्थ्यका काम गरेनौं र?’ अनि म तिनीहरूलाई खुल्लमखुल्ला भन्नेछु, मैले तिमीहरूलाई कहिले चिनेकै छैनँ। ए अधर्म काम गर्ने हो, मबाट दूर होओ।” (मत्ती ७:२२, २३) हो, हामीहरू ती कार्यहरू गरिरहेका हुनसक्छौं जसलाई हामीहरू राम्रो ठान्दछौं र जुन कामहरूका लागि, अन्य मानिसहरूले हामीहरूलाई धन्यबाद मात्रै दिने होइन, हाम्रो प्रशंसा पनि गर्लान—तर परमेश्वरले उचित ठान्नुभएको काम गर्न हामी असमर्थ भयौं भने, येशूको नजरमा हामीहरू “अधर्म काम गर्ने” हुनेछौं।
१५. प्राचीन बिरियाका मानिसहरूले अपनाएको मार्ग हामीहरूले पनि अनुसरण गर्नु किन बुद्धिमत्तापूर्ण हुनेछ?
१५ धेरै धर्महरूले आज परमेश्वरको इच्छा नगरेको हुनाले, जुन धार्मिक सङ्गठन सँग हामी सम्बन्धित छौं, त्यसका शिक्षाहरू पनि परमेश्वरको वचन अनुसारै होला भनेर हामीले अनुमान लगाउनु हुँदैन। कुनै धर्मले बाइबलको प्रयोग गर्दछ भन्दैमा, त्यसका शिक्षाहरू र चलनहरू सबैनै बाइबल सम्मत छन् भन्ने कुरा प्रमाणित हुँदैन। बाइबल सम्मत छन् वा छैनन् भनेर हामीले स्वयं जाँच गर्नु आवश्यक छ। बिरियाका मानिसहरूको प्रशंसा गरिएको छ किनकि, मसीही प्रेरित पावलले तिनीहरूकहाँ प्रचार गरी सके पछि, तिनले भनेका कुराहरू सत्य हुन वा होइनन् भनेर तिनीहरूले धर्मशास्त्रमा जाँच गरेर हेरे। (प्रेरित १७:१०, ११) परमेश्वरले स्वीकार गर्नु भएको धर्म बाइबलसँग प्रत्यक कुरामा सहमत हुनुपर्दछ। बाइबलका केही भागहरूलाई स्वीकार गर्न र अरू भागहरूलाई अस्वीकार गर्न मिल्दैन।—२ तिमोथी ३:१६.
निष्कापट्यले मात्र पुग्दैन
१६. परमेश्वरबाट स्वीकृति प्राप्त गर्न चाहने व्यक्तिकालागि निष्कापट्य मात्र यथेष्ट हुनेछैन भनेर देखाउन येशूले के भन्नुभयो?
१६ तर कसैले सोध्न सक्छ: ‘यदि कुनै व्यक्ति आफ्नो विश्वासमा निष्कपट छ भने, उसको धर्म गलत भएतापनि के परमेश्वरले उसलाई स्वीकार गर्नु हुन्न?’ येशूले भन्नु भएको कुरा अनुसार, आफूले गरेका कामहरू ठीकै हो भनी विश्वास गर्ने “अधर्मीहरूलाई” पनि येशूले स्वीकार गर्नु हुनेछैन। (मत्ती ७:२२, २३) त्यसकारण, परमेश्वरको नजरमा निष्कापट्य मात्र पनि स्वीकृत हुनेछैन। एक पटक येशूले आफ्ना अनुयायीहरूलाई भन्नुभयो: “त्यो बेला आउँछ, जब तिमीहरूलाई हत्या गर्नेले परमेश्वरको सेवा गर्दैछु भनी ठान्नेछ।” (यूहन्ना १६:२) यस प्रकारको कामबाट परमेश्वरको नै सेवा गरिरहेकाछौं भनेर मसीहीहरूका हत्याराहरू निष्कपट रूपमा विश्वास गर्न सक्छन्, तर स्पष्टतया यस प्रकारको काम द्वारा परमेश्वरको सेवा हुन सक्दैन। तिनीहरूले गरेका कामलाई परमेश्वरले स्वीकार गर्नु हुनेछैन।
१७. पावल निष्कपट भएता पनि, मसीही हुनु भन्दा अघि तिनले के गरे?
१७ मसीही हुनु भन्दा पहिले, प्रेरित पावलले स्तिफनको हत्यामा सहयोग पुऱ्याएका थिए। पछि, अझ अरू मसीहीहरूको पनि हत्या गर्ने कोशिश तिनले गरेका थिए। (प्रेरित ८:१; ९: १, २) पावलले त्यसवारे व्याख्या गरेकोछ: “बितेको समयमा म यहूदी मतमा छँदाखेरी कस्तो अचाक्लीसँग मैले परमेश्वरको मण्डलीलाई खेदो गरी त्यसको संहार गरें, औ मेरा पिता-पुर्खाका प्रथामा असाध्य जोशिलो भईकन आफ्ना देशवासीहरूमा मेरा दौंतरका धेरैभन्दा म यहूदी मतमा अघि बढ़ेको थिएँ।” (गलाती १:१३, १४) हो, पावलले निष्कपटता साथ ती सबै गरेका भएता पनि, तिनले मानेको धर्म ठीक थियो भन्न मिल्दैन।
१८. (क) मसीहीहरूलाई सताउँदा पावलको के धर्म थियो? (ख) पावल र अरूहरूलाई तिनको समयमा आफ्नो धर्म परिवर्तन गर्न किन आवश्यक भयो?
१८ त्यस बेला पावल यहूदी धार्मिक पद्धतिका सदस्य थिए जसले येशू ख्रीष्टलाई अस्वीकार गरेको थियो। त्यसकारण, बदलामा परमेश्वरले त्यस पद्धतिलाई पनि तिरस्कृत गर्नु भयो। (प्रेरित २:३६, ४०;हितोपदेश १४:१२) अत: परमेश्वरको स्वीकृति प्राप्त गर्न पावललाई आफ्नो धर्म परिवर्तन गर्न आवश्यक भयो। अनि पावलले अरू ती मानिसहरूको विषयमा पनि लेखे जो निष्कपट थिए, जसमा परमेश्वरको निम्ति जोश थियो, तर तिनीहरूका धर्म परमेश्वरको उद्देश्यको सही ज्ञानमा आधारित नभएको हुनाकारण, तिनीहरू परमेश्वरको नजरमा अस्वीकृत भए।—रोमी १०:२, ३.
१९. विभिन्न प्रकारका धार्मिक सिद्धान्तहरू सबै सत्य हुन सक्दैन भनेर कसरी बुझ्न सक्छौं?
१९ विश्वमा प्रचलित विभिन्न प्रकारका धार्मिक सिद्धान्तहरू सबै सत्य हुन सक्दैन। उदाहरणकालागि, या त शरीर मरे पछि पनि जीवित रहिरहने मानिसमा एउटा आत्मा हुन्छ या हुँदैन। पृथ्वी सदानै या त स्थिर रहनेछ या त रहनेछैन। परमेश्वरले दुष्टताको नाश गर्नु हुनेछ या गर्नु हुने छैन। यी र यस्ता धेरै अन्य विश्वासहरू या त सही हुन् या त गलत हुन्। आपस्तमा मेल नखाने दुई प्रकारको सिद्धान्त दुवै सत्य हुन सक्दैनन्। दुइवटामा एउटा मात्र सत्य हुनसक्छ, दुवै सत्य हुनसक्दैन। यदि कुनै कुरा गलत छ भने, त्यसलाई निष्कपट रूपले विश्वास गरेर व्यवहारमा ल्याउदैमा त्यो सही हुनेछैन।
२०. धर्मका सम्बन्धमा, कसरी हामीहरू सही “मान-चित्र” अनुसरण गर्न सक्दछौं?
२० तपाईंले विश्वास गरेको कुरा गलत रहेछ भनेर कसैले प्रमाण प्रस्तुत गऱ्यो भने तपाईंलाई कस्तो लाग्नेछ? उदाहरणकालागि, सोंच्नुहोस्, तपाईं प्रथम पटक कुनै ठाउँ मोटरगाड़ीबाट जाँदै हुनुहुन्छ। तपाईंसँग बाटोको नक्सा पनि छ, तर त्यसलाई राम्रोसँग हेर्न समय लगाउनु भएन। कसैले तपाईंलाई जाने एउटा बाटो देखाइ दिएको छ। त्यस व्यक्तिलाई तपाईंले विश्वास गरेको हुनाले, उसले देखाएको बाटो सही होला भनेर तपाईं निष्कपट रूपले विश्वास गर्नु हुन्छ। तर तिनले देखाएको बाटो सही रहेनछ। अनि यो बाटो गलत हो भनेर तपाईंलाई कसैले देखाउला। तपाईंको आफ्नै मान-चित्र द्वारा, तपाईं गलत बाटो मा जाँदै हुनुहुन्छ भनेर कसैले देखायो भने तपाईं के गर्नु हुन्छ? के आफ्नो अहङ्कार या जिद्दीपनाले गर्दा आफू गलत बाटोमा भएको कुरा स्वीकार गर्न तपाईंलाई अफ्ठ्यारो लाग्थियो होला र? यसकारण, आफ्नो बाइबलमा जाँचेर हेर्नु हुँदा, तपाईं गलत धार्मिक बाटोमा हिंड़ि रहनु भएको थाह भयो भने, बाटो फेर्न तैयार हुनुहोस्। विनाश तिर जाने फराकिलो बाटो छाड़ि दिनु होस्; जीवन तर्फ जाने साँघुरो बाटोमा लाग्नु होस्!
परमेश्वरको इच्छा गर्न जरूरी छ
२१. (क) सच्चाइ को ज्ञानको अलावा अरू कुन कुराको आवश्यकता छ? (ख) तपाईंले गरिरहनु भएका कुनै कुनै कुरा परमेश्वरको नजरमा ग्रहणयोग्य छैन भनेर थाह पाउनु भयो भने तपाईं के गर्नु हुनेछ?
२१ बाइबलको सच्चाइलाई जान्नु महत्वपूर्ण छ। तथापि, तपाईंले सच्चाइ अनुसार परमेश्वरको उपासना गर्नु भएन भने, सच्चाइको ज्ञान व्यर्थको हुनेछ। (यूहन्ना ४:२४) सच्चाइलाई व्यवहारमा ल्याउनु, अर्थात परमेश्वरको इच्छा अनुसार गर्नु, त्यसैको नै महत्व छ। बाइबल भन्दछ, “विश्वास कामविना मरेको हुन्छ।” (याकूब २:२६) परमेश्वरलाई खुशीपार्नका लागि, तपाईंको धर्म पूर्णरूपले बाइबल सम्मत भएर मात्र पुग्दैन। तपाईंको जीवनको प्रत्यक गतिविधिमा त्यसलाई प्रयोगमा ल्याएको हुनु पर्दछ। त्यसकारण, तपाईंले जे गरिरहनु भएको छ त्यो गलत हो भनेर जानी सक्नु भए पछि, के तपाईं परिवर्तन गर्नकालागि इच्छुक हुनुहुनेछ?
२२. यदि साँचो धर्मको पालना गऱ्यौं भने, कुन-कुन आशिषहरूबाट अहिले र अनि भविष्यमा आनन्द उठाउन पाउनेछौं?
२२ परमेश्वरको इच्छा अनुसार गर्नुभयो भने, तपाईंकालागि महान आशिषहरू सुरक्षित छन्। अहिलेनै पनि त्यसबाट फायदा पाउन सक्नु हुनेछ। साँचो धर्म पालन गर्नाले तपाईं एउटा असल व्यक्ति बन्न सक्नु हुनेछ—एउटा असल पुरूष, पति वा पिता, एउटा असल स्त्री, पत्नी वा आमा, एउटा असल बालक। यसले तपाईंमा ईश्वरीय गुणहरू उत्पन्न गराउनेछ, जसले गर्दा तपाईं अरूहरू भन्दा भिन्न देखिनु हुनेछ, किनभने तपाईं जे ठीक छ, त्यहीनै गर्नु हुनेछ। तर त्यो भन्दा बढी, तपाईं परमेश्वरको नया पार्थिव प्रमोदबनमा सुख र पूर्ण स्वास्थ्यका साथ अनन्त जीवनको आशिष पाउने अवस्थामा हुनुहुनेछ। (२ पत्रुस ३:१३) यसमा कुनै शङ्कानै छैन—तपाईंको कुन धर्म हो, त्यसले फरक पार्नेछ!
[पृष्ठ २५-मा भएको चित्र]
येशूलाई मार्न प्रयत्न गर्ने धर्म-गुरूहरूले के परमेश्वरको सेवा गरिरहेका थिए?
[पृष्ठ २६, २७-मा भएको चित्र]
येशूले भन्नु भयो, विनाशमा पुऱ्याउने फराकिलो बाटोमा धेरै मानिसहरू छन्। जीवनमा पुऱ्याउने साँघुरो बाटोमा चाहिं थोरै छन्
[पृष्ठ २८, २९-मा भएको चित्र]
“तिनीहरूले परमेश्वरलाई चिनेका छन् भनी तिनीहरू भनी टोपल्छन्, तर आफ्ना कामबाट भने उहाँलाई इन्कार गर्छन्।”—तितस १:१६.
भनाइमा
गराइमा
[पृष्ठ ३०-मा भएको चित्र]
धार्मिक मतभेदले गर्दा, ख्रीष्टको चेला स्तिफनलाई ढुङ्गा हान्ने काममा पावलले भाग लिए
[पृष्ठ ३३-मा भएको चित्र]
यदि तपाईं गलत बाटोमा हुनुहुन्छ भने, सो स्वीकार गर्न के तपाईंलाई अहङ्कार र जिद्दीपनाले रोक्नेछ?