तपाईंका निम्ति महाजाल र माछाले के अर्थ राख्तछ?
“तिमीहरूलाई ता स्वर्गको राज्यको रहस्यको ज्ञान दिइएको छ।”—मत्ती १३:११.
१, २. येशूका उखानहरूमा हामीले किन चासो लिनु पर्ने हो?
कुनै रहस्य पता लाउन वा पहेलीको अर्थ खोल्न के तपाईंलाई रमाइलो लाग्छ? यसो गर्दा परमेश्वरको उद्देश्यमा तपाईंले आफ्नो भूमिका अझ स्पष्टसित बुझ्ने मद्दत पाउन सक्नु हुन्छ भने नि? खुशीको कुरा के हो भने, येशूले दिनु भएको एउटा उखानद्वारा तपाईंले त्यस प्रकारको विशेष अन्तर्दृष्टि पाउन सक्नु हुन्छ। त्यो उखान सुन्ने धेरैजना असमञ्जसमा परे र त्यस बेलादेखि आजसम्म अझ अरू अनगिन्ती मानिसहरू त्यो उखानको अर्थ न बुझेर हैरान भएका छन्। तर तपाईंले चाहिं त्यसलाई बुझ्न सक्नु हुन्छ।
२ उखानहरूको प्रयोग बारे येशूले मत्ती १३ अध्यायमा भन्नु भएका कुरालाई ध्यान दिनुहोस्। उहाँका चेलाहरूले सोधे: “तपाईं तिनीहरूसित किन उखानमा बोल्नुहुन्छ?” (मत्ती १३:१०) हो, धेरै मानिसहरूले बुझ्न नसक्ने किसिमका उखानहरू येशूले किन प्रयोग गर्नु हुन्थ्यो? यसको जवाफ उहाँले ११ देखि १३ पद्यहरूमा दिनु भएको छ: “तिमीहरूलाई ता स्वर्गको राज्यको रहस्यको ज्ञान दिइएको छ, तर तिनीहरूलाई दिइएको छैन। . . . यसैकारण म तिनीहरूसित उखानहरूमा बोल्दछु, किनभने हेरेर पनि तिनीहरू देख्तैनन्, सुनेर पनि तिनीहरू सुन्दैनन्, नता तिनीहरू बुझ्दछन्।”
३. येशूका उखानहरूलाई बुझेर हामी कसरी लाभान्वित हुनेछौं?
३ यसपछि येशूले यशैया ६:९, १० प्रयोग गर्नुभयो, जसमा आध्यात्मिक दृष्टिले बहिरा र अन्धा मानिसहरूको वर्णन गरिएको थियो। तर हामी चाहिं त्यस किसिमका मानिसहरू हुनु पर्दैन। उहाँका उखानहरू बुझेर त्यस बमोजिम काम गर्यौं भने हामी आज—र अनन्तकालीन भविष्यसम्म—आनन्दित हुन सक्ने छौं। येशूले हामीलाई यो न्यानो भावनापूर्ण आश्वासन दिनुहुन्छ: “तिमीहरूका आँखा धन्य हुन्, किनकि तिनले देख्तछन्। औ तिमीहरूका कान, किनकि तिनले सुन्छन्।” (मत्ती १३:१६) हुनः त यो आश्वासन येशूका सबै उखानहरूमा प्रयोग हुन सक्तछ तर अहिले चाहिं हामी मत्ती १३:४७-५० मा उल्लेखित महाजालको छोटो उखानमाथि विशेष ध्यान दिऊँ।
गहिरो अर्थ भएको एउटा उखान
४. मत्ती १३:४७-५० मा उल्लेखित उखानद्वारा येशूले के भन्नु भयो?
४ “स्वर्गको राज्य समुद्रमा हालेको एउटा महाजाल जस्तो हो, जसले किसिम किसिमका माछाहरू जम्मा गरेर ल्यायो। जो भरिएपछि तिनीहरूले किनारमा तानी निकाले, र बसेर असल जत्ति भाँड़ाहरूमा जम्मा गरे, र खराब जत्तिलाई बाहिर फाले। जगत्को अन्तमा यस्तै हुनेछ, स्वर्गदूतहरूले आएर दुष्टहरूलाई धर्मीहरूको बीचबाट छुट्याउनेछन्। र तिनीहरूलाई आगोको धूनिमा फालिदिनेछन्, जहाँ रूवाबासी र दाह्रा किटाइ हुनेछ।”
५. महाजालको उखानको अर्थबारे कुन प्रकारका प्रश्नहरू उठ्दछन्?
५ मानिसहरूले माछा मार्न जाल हानेको तपाईंले शायद देख्नु भएकै होला। कमसेकम सिनेमा वा टेलिभिजनमा त जरुर पनि देख्नु भएको होला। यसकारण येशूको उखानबारे मनमा कल्पना गर्नु तपाईंलाई अप्ठ्यारो हुने छैन। तर त्यसको विवरण र अर्थबारे के भन्न सकिन्छ? उदाहरणका लागि, येशूको भनाइअनुसार यो उखान “स्वर्गको राज्य” बारे हो। तर निश्चय पनि उहाँले “किसिम किसिमका” मानिसहरू अथवा असल र खराब वा दुष्ट सबै नै परमेश्वरको राज्यमा हुनेछन् भन्नु भएको हुनु सक्तैन। साथै, माछा पक्रने काम कसले गर्दछ? माछाहरू पक्रने र छुट्ट्याउने काम येशूको पालोमा भएको थियो कि, हाम्रो समयमा अथवा “जगतको अन्तमा” हुने हो? यो उखानमा के तपाईं आफूले निभाउनु पर्ने भूमिका पनि देख्नु हुन्छ? रूवाबासी गर्ने र दाह्रा किटनेहरू मध्ये नहुनका निम्ति तपाईंले के गर्न सक्नु हुन्छ?
६. (क) महाजालको उखान बुझ्ने गहिरो चासो हामीमा किन हुनु पर्दछ? (ख) त्यसलाई बुझ्ने एउटा कुञ्जी के हो?
६ यी प्रश्नहरू द्वारा प्रष्ट हुँदछ कि यो कुनै साधारण उखान होइन। तथापि, यी शब्दहरू नबिर्सिनु होस्: “तिमीहरूका आँखा धन्यका हुन्, किनकि तिनले देख्तछन्। औ तिमीहरूका कान, किनकि तिनले सुन्छन्।” हाम्रा कानहरू नसुन्ने प्रकारका नहोस् र हाम्रा आँखाहरूले यसको महत्त्वलाई बुझ्न सकोस् भनेर अब हामी यसको अर्थ खोतलेर हेरौं। यथार्थमा, यसको अर्थ खोल्ने मुख्य कुञ्जी हामीसित छँदै छ। गालीलका जलारीहरूलाई आफ्नो पेशा छाडेर “मानिसहरूको जलारी” हुने एउटा आध्यात्मिक काम गर्न येशूले आमन्त्रित गर्नुभएको कुरा अघिल्लो लेखमा दिइएको थियो। (मर्कूस १:१७) उहाँले तिनीहरूलाई भन्नुभयो: “अब उपरान्त तिमी मानिस पक्रने हुनेछौ।”—लूका ५:१०.
७. माछाबारे कुरा गर्नु हुँदा, येशूले कुन कुराको उदाहरण दिनु हुँदै थियो?
७ त्यसअनुसार, यस उखानको माछाको अर्थ मानवहरू हुन्। यसकारण, ४९ पद्यमा उल्लेखित् दुष्टहरूलाई धर्मीहरूबाट छुट्ट्याउने कुराले दुष्ट र धर्मी जलजन्तुहरू होइन तर धर्मी र दुष्ट मानिसहरूलाई जनाउँदछ। त्यसै प्रकार, ५० पद्य पढ्दा हामीले रूवाबासी गर्ने वा दाह्रा किट्ने जल-जन्तुहरूबारे सोच्नु भएन। होइन। यो उखान मानवहरूलाई जम्मा गर्ने र पछि तिनीहरूलाई छुट्ट्याउने विषयमा हो। यो छुट्ट्याउने काम एउटा गम्भीर विषय हो भनी हामी त्यसको परिणामबाटै बुझ्न सक्तछौं।
८. (क) खराब माछाको परिणामबारे हामी के सिक्न सक्तछौं? (ख) खराब माछाको सम्बन्धमा भनिएको कुराबाट राज्यबारे हामी के निष्कर्षमा पुग्न सक्तछौं?
८ अयोग्य माछा, अर्थात् दुष्ट मानवहरू आगोको धूनिमा फालिनेछन्। त्यही ठाउँमा तिनीहरूको रूवाबासी र दाह्रा किटाइ हुनेछ। अन्यथा येशूले यस प्रकारको रूवाबासी र दाह्रा किटाई राज्यबाहिर हुने सङ्केत दिनु भएको थियो। (मत्ती ८:१२; १३:४१, ४२) मत्ती ५:२२ र १८:९ मा उहाँले अनन्त विनाशलाई बोध गर्न “अनन्त आगोको” [गेहेन्ना न्यु० व०] चर्चा पनि गर्नु भयो। यसैकारण त यो उखानको अर्थ बुझेर त्यसबमोजिम काम गर्न अति नै महत्त्वपूर्ण छ। हामीहरू सबैलाई थाहै छ कि परमेश्वरको राज्यमा नता दुष्टहरू छन् न कहिले हुनेछन्। अतः येशूले “परमेश्वरको राज्य एउटा महाजाल जस्तो हो” भन्नुको अर्थ जरुर पनि परमेश्वरको राज्यसित सम्बन्धित कुनै एउटा यस्तो कुरा छ जो महाजाल झैं हर प्रकारका माछाहरू बटुल्न तल झारिन्छ।
९. महाजालको उखानमा स्वर्गदूतहरूको भूमिका के हो?
९ महाजाल खसालेर माछाहरू जम्मा गरी सकेपछि माछाहरू छुट्ट्याउने काम सुरु हुनेछ। त्यसमा कसकसले भाग लिनेछन् भन्ने विषयमा येशूले के भन्नु भयो? मत्ती १३:४९ अनुसार माछा छुट्ट्याउने जलारीहरू चाहिं स्वर्गदूतहरू हुन्। अतः स्वर्गका राज्यका निम्ति मानिसहरू—केही असल र योग्य र केही अयोग्य—छुट्ट्याउने कुनै एउटा पार्थिव माध्यममाथि स्वर्गदूतहरूको निरिक्षणबारे येशूले कुरा गर्नु हुँदै थियो।
माछा पक्रने काम—कहिले?
१०. माछा पक्रने काम धेरै समयसम्म चल्ने रहेछ भनेर हामी कसरी निश्चित हुन सक्तछौं?
१० यो उखान कहिलेदेखि लागू हुने हो, सो पता लाउन हामीलाई प्रसंगले मदत दिन्छ। यो उखान भन्नअघि, असल बिउ छर्ने विषयमा येशूले एउटा अर्को उखान दिनु भएको थियो। यस उखानमा खेत सामै सामाले भरिन्छ। यहाँ खेतको अर्थ संसार हो। उहाँले मत्ती १३:३८ मा व्याख्या गर्नुभयो कि लाक्षणिक रूपमा असल बिउ “राज्यका सन्तान हुन्; र सामा दुष्टका सन्तान।” यी दुवै शदियौंसम्म, अर्थात् जगत्को अन्तमा हुने फसलको समयसम्म, सङ्गसङ्गै बढे। अनि सामालाई बटुलेर जलाइ दियो। यसलाई महाजालको उखानसित दाँजेर हेर्दा, हामी देख्तछौं कि जालमा प्राणीहरूलाई जम्मा गर्ने काम लामो समयसम्म कायम रहने रहेछ।—मत्ती १३:३६-४३.
११. प्रथम शताब्दीमा माछा पक्रने एउटा अन्तर्राष्ट्रिय अभियान कसरी सुरु भयो?
११ येशूका उखानअनुसार, माछाहरू छानी छानी जम्मा गरिने छैनन्, अर्थात् महाजालभित्र असल र खराब दुवै किसिमका माछाहरू पर्नेछन्। प्रेरितहरू जीवित रहेका बेलामा परमेश्वरका मसीही सङ्गठनको प्रयोग गर्दै स्वर्गदूतहरूले पक्रेका “माछाहरू” अभिषिक्त मसीहीहरू भए। सायद तपाईं भन्नु होला सा० यु० ३३ को पेन्तिकोसभन्दा अघि, येशूले हान्नु भएको जालले करीब १२० जना चेलाहरूलाई पक्रन सके। (प्रेरित १:१५) तर अभिषिक्त मसीहीहरूको मण्डली स्थापित भइसकेपछि महाजालद्वारा माछा पक्रने काम सुरु भयो, र असल खालका हजारौं माछाहरू समातिए। सा० यु० ३६ देखिन्, जसै अन्यजातिहरू मसीही धर्मप्रति आकर्षित हुँदै ख्रीष्टका अभिषिक्त मण्डलीका सदस्यहरू हुन थाले, माछा पक्रने काम अन्तर्राष्ट्रिय पानीहरूमा समेत विस्तृत रूपले फैलियो।—प्रेरित १०:१, २, २३-४८.
१२. प्रेरितहरूको मृत्युपछि के हुनथाल्यो?
१२ प्रेरितहरूको मृत्यु पछिका शताब्दीहरूमा पनि ईश्वरीय सत्यतालाई खोज्ने र त्यसमा स्थिर रहने प्रयत्न केही मसीहीहरूले गरी नै रहे। यीमध्ये कमसे कम केहीमाथि परमेश्वरको अनुमोदन थियो, र उहाँले तिनीहरूलाई पवित्र आत्माद्वारा अभिषिक्त गर्नुभयो।। तापनि, प्रेरितहरूको मृत्युका साथसाथै रोकथाम गर्ने एउटा प्रभाव हटेर गएको हुनाले, धर्म-त्यागको विकाश विस्तृत रूपमा हुन थाल्यो। (२ थिस्सलोनिकी २:७, ८) आफू परमेश्वरको मण्डली हुने अयोग्यतापूर्वक दाबी गर्ने एउटा सङ्गठन बढेर आयो। येशूसित शासन गर्न परमेश्वरको आत्माद्वारा अभिषिक्त भएको पवित्र राष्ट्र हुने झुट्टा दाबी यसले गऱ्यो।
१३. महाजालको प्रयोगमा मसीही जगतको पनि एउटा भूमिका थियो भनी किन भन्न सकिन्छ?
१३ त्यो महाजालको उखानमा आफूलाई मसीही कहलाउँने ती अविश्वासी जनहरूको पनि के कुनै भूमिका थियो होला? भूमिका थियो भनी जवाफ दिने कारण छ। लाक्षणिक महाजालमा मसीही जगत पनि समावेश थियो। यो साँचो हो कि क्याथोलिक गिर्जाले धेरै समयसम्म आम जनताबाट बाइबल खोसेर राख्ने प्रयास गर्यो। तापनि, शदियौंदेखिन् मसीही जगतका सदस्यहरूले नै परमेश्वरको वचन अनुवाद गर्ने, नकल गर्ने, र वितरण गर्ने काममा एउटा प्रमुख भूमिका निभाउँदै आएका छन्। अनकन्टार मुलुकहरूका भाषाहरूमा बाइबलको अनुवाद गर्न मसीही जगतले पछि बाइबल सोसाइटीहरू गठन गरे वा तिनीहरूलाई टेवा दिए। तिनीहरूले चिकित्सक मिशनेरीहरू र शिक्षकहरू ठाउँ-ठाउँमा पठाए र यिनीहरूले चाहिं भोजन र अन्य भौतिक लाभहरूको कारण मसीहीधर्म अपन्याउने मानिसहरू जम्मा गरे। यस प्रकार, अयोग्य किसिमका अथवा परमेश्वरको अनुमोदन प्राप्त नगर्ने माछाहरू ठूलो सङ्खयामा जम्मा भयो। तरै पनि, यस प्रक्रियाद्वारा लाखौं गैर-मसीहीहरूले बाइबल र भ्रष्टै सही तर मसीही धर्मको एउटा रूपसित परिचित हुने मौका पाए।
१४. असल माछा पक्रनका लागि जाल हान्ने काममा मसीही जगतका गिर्जाहरूले के मद्दत पुर्याए?
१४ यी सबै कुरा भइ रहेको बेलामा, तितरबितर भएर बसेका विश्वासी जनहरू चाहिं परमेश्वरका वचनअनुसार हिंड्ने यथासम्भव प्रयास गरिरहेका थिए। पृथ्वीमा परमेश्वरको अभिषिक्त मण्डली यिनीहरू नै थिए। र निःसन्देह तिनीहरूले पनि माछा, अर्थात् मानिसहरू पक्रिरहेकै थिए। यी मानिसहरूलाई परमेश्वरले असल ठान्नु हुँदै आफ्नो आत्माद्वारा अभिषेक गर्नुहुने थियो। (रोमी ८:१४-१७) यी असल मसीहीहरूले प्रलोभनमा परेर मसीही भएकाहरूलाई अथवा मसीही जगतका बाइबल सोसाइटीहरूले अनुवाद गरेका पवित्रशास्त्रद्वारा बाइबलबारे सीमित ज्ञान पाएकाहरूलाई बाइबलमा पाइने सत्य कुराहरू बताउन सके। हो, मसीही जगतले जम्मा गरेका धेरैजसो माछाहरू परमेश्वरको दृष्टिकोणमा खराब भए तापनि, माछाहरू जम्मा गर्ने काम चालू थियो।
१५. उखानको महाजालले प्रत्यक्षतः कुन कुरालाई प्रतिनिधित्व गर्दछ?
१५ अतः महाजाल, परमेश्वरको मण्डली हुने दाबी गर्दै माछाहरू बटुल्ने एउटा पार्थिव उपकरणको प्रतीक हो। यसमा मसीही जगत र अभिषिक्त मसीहीहरूको मण्डली दुवै समावेश छन्। अभिषिक्त मसीहीहरूले चाहिं मत्ती १३:४९ मा भनिएअनुसार स्वर्गदूतहरूको अदृश्य देख-रेख अन्तर्गत असल माछाहरू जम्मा पार्ने काम गर्दै आएको छ।
हाम्रो समय एउटा विशेष प्रकारको समय हो
१६, १७. महाजालसम्बन्धी येशूको उखानको पूर्तिमा हाम्रो वर्तमान समय किन त्यति महत्त्वपूर्ण छ?
१६ अब हामी समयको विषयलाई ध्यान दिऊँ। शदियौं देखिन् महाजालमा असल र साथै खराब अथवा दुष्ट किसिमका माछाहरू जम्मा भइ रह्यो। त्यसपछि माछाहरू छुट्ट्याउने एउटा निर्णायक काममा स्वर्गदूतहरूले भाग लिने समय आयो। कहिले? ४९ पद्यमा स्पष्टसित लेखिएको छ कि यो “जगत्को अन्तको” समयमा हुने हो। यो कुरा येशूले भन्नु भएको भेडा र बाख्राको उखानसँग मेल खान्छ: “जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। औ उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्, र जसरी गोठालाले भेड़ालाई बाख्राबाट छुट्याउँछ, उसरीनै उसले तिनीहरू एकलाई अर्कोबाट छुट्याउनेछ।”—मत्ती २५:३१, ३२.
१७ अतः, मत्ती १३:४७-५० अनुसार, १९१४ मा “जगत्को अन्त” सुरु भएदेखिन् स्वर्गदूतहरूको देख-रेख अन्तर्गत एउटा निर्णायक छुट्याउने काम चलिरहेको छ। यो कुरा खासगरी १९१९ पछि अझ स्पष्ट भयो, जब शेष अभिषिक्त जनहरू अल्पकालीन आध्यात्मिक बन्धन वा कैदबाट मुक्त भएर माछा पक्रने काम गर्नका लागि एउटा अझ उपयोगी माध्यम हुन गए।
१८. असल माछाहरू भाँडाहरूमा कसरी जम्मा गरिएका छन्?
१८ छुट्ट्याइएका असल माछाहरूलाई के हुने थियो? ४८ पद्य भन्दछ कि छुट्ट्याउने काम गर्ने स्वर्गदूत-जलारीहरूले “असल जत्ति भाँड़ाहरूमा जम्मा गरे, र खराब जत्तिलाई बाहिर फाले।” भाँडाहरू सुरक्षात्मक बटुकोहरू हुन् जसमा असल माछाहरू राखिन्छन्। के यो हाम्रो समयमा भएको छ? जरुर। असल लाक्षणिक माछाहरूलाई जिउँदै पक्रन साथै, तिनीहरूलाई साँचो मसीहीहरूका मण्डलीहरूमा जम्मा गरिन्छन्। यी भाँडाहरूजस्ता मण्डलीहरूले ती माछाहरूको संरक्षण गर्न र तिनीहरूलाई ईश्वरीय सेवाका निम्ति बचाई राख्न मदत पुर्याएका छन्, होइन र? तर कसै कसैले यस प्रकार सोच्न सक्तछन्, ‘यो त सबै ठीकै हो। तर मेरो वर्तमान जीवन र मेरो भविष्यसँग यो उखान कसरी सम्बन्धित छ?
१९, २०. (क) यो उखानको मर्म बुझ्न आज किन अत्यावश्यक छ? (ख) १९१९ देखि माछा पक्रने कुन महत्त्वपूर्ण काम गरिएको छ?
१९ यहाँ उल्लेखित उखानको पूर्ति प्रेरितहरूको समय र १९१४ का बीच मात्र सीमित छैन। त्यस समयभित्र महाजालको माध्यमद्वारा झूटा र साँचा दुवै प्रकारका मसीही धर्मावलम्बीहरूलाई जम्मा गऱ्यो। हो, यसले खराब र असल, दुवै प्रकारका माछाहरू जम्मा गर्यो। यस बाहेक, स्वर्गदूतहरू द्वारा गरिने यो छुट्ट्याउने काम १९१९ तिर अन्त भएन। पटक्कै भएन। महाजालको यो उखानको कुनै कुनै भाग हाम्रो समयसम्मै लागू हुन्छ। यसमा हामी विथोलित छौं। हाम्रो भविष्य विथोलित छ। “तिमीहरूका आँखा धन्य हुन्, किनकि तिनले देख्तछन्। औ तिमीहरूका कान, किनकि तिनले सुन्छन्” भन्ने शब्दहरू हाम्रो आफ्नो विषयमा पनि भनिएको हामी चाहन्छौं भने, यस उखानमा हामी कसरी र किन बिथोलित छौं, सो बुझ्न अति आवश्यक छ।—मत्ती १३:१६.
२० तपाईंलाई सायद थाहै होला कि १९१९ पछि, शेष अभिषिक्त जनहरू स्वर्गदूतहरूलाई सहयोग पुर्याउँदै प्रचार कार्यमा व्यस्त भए। तर माछाहरूलाई समुद्रको किनारमा तानेर ल्याउँदै तिनीहरू मध्येबाट असल र खराब छुट्ट्याउनका निम्ति स्वर्गदूतहरूले लाक्षणिक महाजालको प्रयोग गर्न छाडेनन्। त्यस समयदेखिन् यताको तथ्याङ्कले देखाउँछ कि लाक्षणिक जालले १,४४,००० जनहरू मध्येका आखिरी सदस्यहरू बटुलुञ्जेलसम्म, परमेश्वरको आत्माद्वारा अभिषेक हुने असल माछाहरू पक्रने काम जारी नै रह्यो। (प्रकाश ७:१-४) तर पवित्र आत्माद्वारा अभिषेक हुने किसिमका असल माछाहरू जम्मा गर्ने काम १९३० को दशकको माझमा प्रायः समाप्त भयो। त्यसपछि के शेष अभिषिक्त जनको मण्डलीले जाल एकातिर फालेर, केही काम नगरीकन, आफ्नो स्वर्गीय इनामका लागि पर्खेर बस्नु मात्र थियो र? कदापि पनि होइन!
माछा पक्रने काममा तपाईंको सहभागिता
२१. माछा पक्रने अरू कुन काम पनि हाम्रो समयमा भएको छ? (लूका २३:४३)
२१ येशूले भन्नु भएको महाजालको उखानमा स्वर्गको राज्यमा स्थान वा इनाम पाउने असल माछाहरूलाई विशेष ध्यान दिइएको थियो। तर त्यस उखान बाहेक, विश्वव्यापी स्तरमा लाक्षणिक जलारीहरूले जाल हान्ने एउटा अर्को काम पनि चालू छ जसबारे योभन्दा अघिको लेखमा चर्चा गरिएको थियो। यो जाल हान्ने काम येशूको उखानमा उल्लेखित असल अभिषिक्त माछाहरू पक्रनका लागि होइन। बरु, यो ती लाक्षणिक माछाहरू जिउँदै पक्रनका लागि हो जसलाई एउटा पार्थिव प्रमोदवनमा जीवन पाउने अद्भुत आशा दिइन्छ।—प्रकाश ७:९, १०; मत्ती २५:३१-४६.
२२. के आनन्दमय प्रतिफल हामीले अनुभव गर्न सक्तछौं तर यसको विपरीत के पनि हुन सक्छ?
२२ तपाईंले पनि यही आशा राख्नु भएको छ भने, माछा पक्रने एउटा जीवनदायी काम यहोवाले अहिलेसम्म कायम रहन दिनु भएकोमा तपाईं हर्षित हुन सक्नुहुन्छ। किनकि यसद्वारा तपाईंका लागि एउटा अद्भुत कुरा सम्भव भएको छ। सम्भव? हो, यस शब्दको प्रयोग बिल्कुलै उपयुक्त छ, किनकि माछा पक्रने वर्तमान प्रयासलाई निर्देशन दिनु हुने व्यक्तिप्रति हामी कतिको विश्वासिलो रहने छौं, परिणाम त्यसैमा भर गर्दछ। (सपन्याह २:३) याद गर्नु होला, महाजालले माथि तानेर ल्याएका सबै माछाहरूले अनुकूल-प्रतिफल अनुभव गर्ने छैनन्। येशूको भनाइअनुसार, खराब वा दुष्टहरूलाई धर्मीहरूबाट छुट्ट्याइनेछन्। केका निम्ति? मत्ती १३:५० मा यी खराब वा दुष्ट माछाहरूले भोग्ने गम्भीर परिणामको येशूले व्याख्या गर्नुभयो। तिनीहरू आगोको धूनिमा फालिनेछन् जसको अर्थ अनन्त विनाश हो।—प्रकाश २१:८.
२३. के कारणले गर्दा आज माछा पक्रने यो काम यति महत्त्वपूर्ण भएको छ?
२३ असल अभिषिक्त माछाहरू, साथै पृथ्वीमा सदाका निम्ति बस्ने लाक्षणिक माछाहरूका लागि एउटा उज्ज्वल भविष्य छ। त्यसै कारण त संसारभरि मानिसहरू पक्रनका लागि जाल हान्ने अभियानलाई स्वर्गदूतहरू सफल पार्न इच्छुक छन्। र लाक्षणिक माछाहरू पनि कति धेरै मात्रामा पक्रिन सकिएको छ! यो त्यतिकै चमत्कारपूर्ण छ जतिको चमत्कारपूर्ण त्यो घटना थियो जब येशूले उहाँका प्रेरितहरूलाई जाल हान्न अह्राउनहुँदा तिनीहरूले साँच्चैका माछाहरू समात्न सकेका थिए।
२४. आत्मिक माछा पक्रने कामबारे हामी के गर्न इच्छुक हुनु पर्दछ?
२४ के तपाईंले पनि यो आत्मिक माछा पक्रने जीवनदायी काममा यथासम्भव भाग लिनु हुँदै छ? अहिलेसम्म यस काममा हाम्रो व्यक्तिगत योगदान जति नै ठूलो भए तापनि, विश्वव्यापी स्तरमा अघि बढदो यो जाल हान्ने र जीवनबचाउने महान काम सम्पन्न भएको देखेर हामी सबैले नै लाभ उठाउन सक्तछौं। यसले हामीलाई आउने दिनहरूमा पनि माछा पक्रनका लागि अझ बढी उत्साहका साथ जालहरू खसाल्न प्रोत्साहित पार्नु पर्ने हो!—मत्ती १३:२३; १ थिस्सलोनिकी ४:१ सङ्ग तुलना गर्नुहोस्। (w92 6/15)
के यी बुँदाहरू तपाईंले सम्झन सक्नु हुन्छ?
◻ येशूले दिनु भएको महाजालको उखानमा दुई किसिमका माछाहरूले केलाई प्रतिनिधित्व गर्दछन्?
◻ महाजालको संचालनमा मसीही जगतका गिर्जाहरू कसरी विथोलित भए?
◻ हाम्रो समयमा गरिरहेको माछा पक्रने काम किन यत्तिको महत्त्वपूर्ण छ?
◻ महाजालको उखानले हामी प्रत्येकलाई कुन प्रकारको आत्मविश्लेषण गर्ने प्रेरणा दिनु पर्ने हो?
[पृष्ठ २०-मा भएको चित्र]
शदियौंदेखिन् गालीलको समुद्रमा माछा पक्रने काम चलिरहेको छ