प्राचीनहरू परमेश्वरका बगालसित कोमलताकासाथ व्यवहार गर्नुहोस्!
“जसरी धाई-आमाले आफ्ना बालकहरूलाई पोषण गर्दछे, त्यसरी तिमीहरूका बीचमा हामी नम्र भएर बस्यौं।”—१ थिस्सलोनिकी २:७.
१. यहोवाका प्रत्यक वफादार साक्षीले आफूलाई किन सुरक्षित ठान्न सक्तछ?
यहोवा महान गोठाला हुनुहुन्छ। उहाँले आफ्ना भेड़ा समान दासहरूका निम्ति सबै कुराको प्रबन्ध मिलाइ दिनु हुन्छ र आफ्नै पवित्र नाउँका खातिर तिनीहरूलाई “धार्मिकताको मार्गमा” हिंड़ाउनु हुन्छ। यसकारण, उहाँको इच्छा बमोजिम गर्नेहरूले कुनै खराब कुराको डर मान्नु पर्दैन र आफ्ना अनुकम्पामय परमेश्वरबाट सान्त्वनाको आशा गर्न सक्तछन्। वास्तवमा, यहोवाका प्रत्येक वफादार साक्षी परमेश्वरको मयालु रेखदेखमा सुरक्षित हुने ठोस कारण छ।—भजनसंग्रह २३:१-४.
२. परमेश्वरको महिमाको प्रतिबिम्ब हुन भएकोले, येशूले के कस्ता गुणहरू प्रदर्शन गर्नुहुन्छ?
२ येशू ख्रीष्ट “उहाँको (परमेश्वरको) महिमाको उज्ज्वल र परमेश्वरकै तत्त्वको प्रतिबिम्बनै हुनुहुन्छ।” (हिब्रू १:१-४) अतः असल गोठाला, येशूले पनि प्रेम र अनुकम्पा दर्शाउनुहुन्छ। (यूहन्ना १०:१४, १५) उदाहरणकालागि, एक पटक, “उहाँले एउटा ठूलो भीड़ देख्नुभयो, र तिनीहरूमाथि टिठाउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुराको शिक्षा दिन लाग्नुभयो।”—मर्कूस ६:३४.
३. (क) यहोवा परमेश्वर र येशू ख्रीष्टले झैं, मसीही उप-गोठालाहरूले पनि कुन कुन गुणहरू प्रदर्शन गर्नु पर्दछ? (ख) पावलले अध्यक्षहरूलाई के सल्लाह र चेताउनी दिए?
३ सबै मसीहीहरूले ‘परमेश्वरको देखा-सिकी गर्नु पर्दछ र प्रेममा चलनु पर्दछ जस्तो कि ख्रीष्टले पनि तिनीहरूलाई प्रेम गर्नुभयो।’ (एफिसी ५:१, २) अतः तिनीहरू मायालु र अनुकम्पापूर्ण हुनुपर्दछ। यी गुणहरू विशेषगरी परमेश्वरका बगालका उप-गोठालाहरूमा हुनु पर्दछ। प्रेरित पावलले भनेका छन्: “तपाईं आफै र पवित्र आत्माले परमेश्वरका मण्डलीमा चराउनलाई तपाईंहरूलाई धर्माधिकारी तुल्याउनु भएको र बगालसमेत, उहाँले आफ्नै [आफ्नो पुत्रको, न्यु.व.] रगतले किन्नुभएकोले होशियार हुनुहोस्। किनभने मलाई थाह छ, कि म गए पछि बगाललाई स्वाहापार्ने डरलाग्दा ब्वाँसाहरू पस्नेछन्। औ तपाईंहरू आफैमध्ये पनि कुनै कुनै, मानिसहरू बराल्ने कुरा बोलेर चेलाहरूलाई आफ्ना पछि पछि लैजानलाई खड़ा हुनुहुनेछन्।”—प्रेरित २०:२८-३०.
४. (क) समयमा, प्रेरित २०:२९, ३० मा पावलले दिएको चेताउनी अनुरूप, के भयो? (ख) अब कुन प्रश्नहरू विचारणीय छन्?
४ समयको दौड़ानमा, धर्मत्यागी “डरलाग्दा ब्वाँसाहरू” देखा परे र तिनीहरूले बगालसँग “कोमलताकासाथ” व्यवहार गरेनन्। तर यहोवाका साक्षीहरूका बीचका प्राचीनहरूले त्यस प्रकारको तानाशाही गर्दैनन् भनी हामी धेरै नै खुशी छौं! तापनि, आत्मा द्वारा नियुक्त भएका यी अध्यक्षहरूबाट सङ्गी विश्वासीहरूले कुन प्रकारको व्यवहार पाउने आशा गर्न सक्नेछन्? र यी नियुक्त व्यक्तिहरूले यहोवाका भेड़ाहरूका निम्ति कसरी कोमलता दर्शाउन सक्तछन्?
बगालमाथि अधिकार जमाएर होइन
५. (क) सांसारिक नेताहरूले आफ्ना प्रजाहरूसँग अकसर कुन प्रकारको व्यवहार गर्दछन्? (ख) येशूका चेलाहरू बीच कुनै प्रकारको तानाशाही चल्न सक्तैन भनी उहाँले कसरी दर्शाउनु भयो?
५ मसीही प्राचीनहरूबाट हामीहरूले अनुकम्पापूर्ण व्यवहारको आशा गर्नु उचित हो। तिनीहरू सांसारिक शासकहरू जस्ता होइनन् जसले अक्सर आफ्ना प्रजाहरूमाथि अधिकार जमाउने गर्छन्। उदाहरणकालागि, फ्रांकिश राजा चार्लमेन वारे (जसले सा. यु. ७६८-८१४ सम्म शासन गरे) यसो भनिएको छ: “तिनले स्याक्सनहरूलाई, मृत्युको डर देखाएर बप्तिस्मा लिन बाध्य गरे, लेन्टलाई [४० दिनसम्म पश्चाताप र व्रत बस्ने क्याथोलिकहरूको धार्मिक चलन] भङ्ग गर्नेहरूलाई कड़ा से कड़ा सजाय दिए, र मानिसहरूलाई सम्झाइ बुझाइकन विश्वास दिलाउनुको सट्टा, बलको प्रयोग गरे।” (विलियम जोन्स द्वारा लिखित, द हिस्ट्री आफ द क्रिश्चियन चर्च) येशूका अनुयायीहरूका बीच यस प्रकारको तानाशाही गर्न पटक्कै पाइन्दैन किनकि उहाँले भन्नुभयो: “तिमीहरूलाई थाहनै छ, कि अन्य जातिका शासकहरूले तिनीहरूमाथि प्रभुत्व गर्दछन्, र तिनीहरूका ठूला ठूलाहरूले तिनीहरूमाथि अख्तियार चलाउँछन्। तिमीहरूमा चाहिं ता यस्तो हुनेछैन, तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनेछ। जो तिमीहरूमा पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको चाकर हुनेछ जस्तो कि, मानिसको पुत्र पनि सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनलाई आयो।”—मत्ती २०:२५-२८, एन अमेरिकन ट्रान्सलेशन पनि हेर्नुहोस्.
६. (क) प्राचीनहरूमा, कुन आधारभूत कुराहरू स्पष्टसँग देखिनु पर्दछ? (ख) मण्डलीले प्राचीनहरूबाट के आशा गर्न मनासिब हो र यी पुरूषहरूले आफ्नो बारे के दृष्टिकोण राख्नु पर्दछ?
६ एउटा मसीही व्यक्ति ‘अध्यक्षको काम गर्न खोज्छन् भने, तिनले असलै कामको इच्छा गर्छन्।’ (१ तिमोथी ३:१) यसलाई र भरखरै उल्लेखित येशूले भन्नुभएका कुरालाई विचार गर्दा, यी आधारभूत कारणहरू स्पष्ट हुन्छन्: (१) मसीही प्राचीनहरूले अरूहरूमाथि कदापि अधिकार जमाउनु हुँदैन (२) येशूका अनुयायीहरूका माझमा जिम्मावारी उठाउनेहरू तिनीहरूका मालिक होइन, सेवक हुनु पर्छ; (३) अध्यक्ष हुन चाहनेहरूले यो जिम्मेवारीलाई एउटा “उच्च ओहदा” न सम्झेर, यसलाई “एउटा असल काम” ठान्नु पर्दछ। (हितोपदेश २५:२७; १ कोरिन्थी १:३१) “प्राचीन” शब्दले कुनै पनि मानिसलाई यहोवाका अन्य अरू उपासकहरू भन्दा उच्च उचाल्दैन। बरू, सबै प्राचीनहरू पवित्र सेवामा अगुवाइ लिने, आत्मिक रूपमा परिपक्व, अनुभवी, र नम्र मानिसहरू हुनु पर्छ भनी मण्डलीले आशा गर्नु उचित हो। वास्तवमा, प्राचीनहरूले पनि आफूलाई यहोवा परमेश्वर, येशू ख्रीष्ट, र सङ्गी मसीहीहरूका नम्र दास ठान्नु पर्छ।—रोमी १२:११; गलाती ५:१३; कलस्सी ३:२४.
७. (क) अरूहरूसँग व्यवहार गर्दा प्राचीनहरूले २ कोरिन्थी १:२४ को प्रयोग कसरी गर्न सक्तछन्? (ख) संचालक समितिबाट आएको निर्देशनबारे प्राचीनहरूले के गर्नु पर्दछ?
७ नम्र दास भएर अरूहरूको सेवा गर्दा, एक जना प्राचीनले स्वभाविकतः अरूहरूमाथि “अधिकार जमाउने” कोशिश गर्ने छैन। हाम्रा अध्यक्षहरूले पनि पावलकै जस्तो प्रवृत्ति देखाएको हेर्न पाउनु कति राम्रो कुरा हो! तिनले कोरिन्थका मसीहीहरूलाई भने: ‘तिमीहरूका विश्वासमा हाम्रो प्रभुत्व भएको होइन, तर तिमीहरूका आनन्दका सहयोगी हौं।’ (२ कोरिन्थी १:२४) यसैले, प्रेमपूर्ण रेखदेखगर्नेहरूले आफ्ना सङ्गी विश्वासीहरूलाई अनावश्यक मानव नियमहरूको बोझ बोकाउँदैनन्। बरू, यहोवाका साक्षीहरूको माझमा हुने अध्यक्षहरूले शास्त्रीय सिद्धान्तहरू पालन गर्दछन् र अरूहरूको मद्दत हुने, कृपापूर्ण सेवा प्रदान गर्दछन्। साथै, यहोवाका साक्षीहरूको संचालक समितिबाट पाएका निर्देशनलाई तुरून्तै प्रयोगमा ल्याउँदै, तिनीहरूले परमेश्वरका बगालको गहिरो आदर गर्दछन्।—प्रेरित, १५ अध्याय.
८. सङ्गी विश्वासीहरू प्रति पावलको के मनोवृत्ति थियो, र त्यसले २० वीं शताब्दीका प्राचीनहरूमाथि के असर पार्नु पर्ने हो?
८ पावलमा परमेश्वरको बगाल प्रति कोमल भाव भएको हुनाकारण, तिनले थिस्सलोनिकीका मसीहीहरूलाई यसो भन्नसके: “जसरी धाई-आमाले आफ्ना बालकहरूलाई पोषण गर्दछे, त्यसरी तिमीहरूका बीचमा हामी नम्र भएर बस्यौं। त्यसरीनै तिमीहरूको स्नेहपूर्वक चाह गरेर, परमेश्वरको सुसमाचार मात्र होइन तर हाम्रो प्राण समेत तिमीहरूलाई दिन हामी बढ़तै खुशी थियौं, किनभने तिमीहरू हामीमा प्रिय भएका थियौ।” (१ थिस्सलोनिकी २:७, ८) आफ्नो भन्दा बालकहरूको हितलाई प्राथमिकता दिने र तिनीहरूका निम्ति आफ्नो मनमा सदा कोमल भाव राख्ने, धाई आमाले माया गरे झैं, पावलले पनि गरे। यसबाट, २० वीं शताब्दीका प्राचीनहरूले पनि परमेश्वरका बगालसँग कोमलताका साथ व्यवहार गर्न कति प्रेरित हुनु पर्ने हो!
आराम र निश्चिन्तताका श्रोतहरू
९. यशैया ३२:१, २ मा वर्त्तमान यहोवाका जनहरूको परिस्थितिवारे के भविष्यवाणी गरिएको थियो?
९ येशू ख्रीष्टले राज्य गर्नु हुने यस दिनलाई सङ्केत गर्दै, अगमवक्ता यशैयाले अग्रिमवाणी गरेका थिए कि राजाले “न्यायोचित राज्य गर्नेछन्” र “भारदारहरूले उचित शासन गर्नेछन्।” त्यसकारण, वर्तमान ईश्वरतन्त्रीय सङ्गठनका प्राचीनहरूले त्यो स्थापित स्वर्गीय राज्यका कार्यव्यवस्थाका रेखदेख गरिरहेकाछन्—अर्थात् भारदारहरू जस्तै गरी सेवा गरिरहेछन्! यिनै जिम्मावार मानिसहरूका निम्ति यशैयाको अगमवाणीका यी बाँकी शब्दहरू प्रयोग हुँदछन्: “प्रत्येक मानिस बतासबाट लुक्ने ठाउँ, र आँधी-बेह्रीबाट आड़ लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला, र बिरानो भूमिमा ठूलो चट्टानको छायाजस्तै हुनेछ।”—यशैया ३२:१, २.
१०. यहोवाका साक्षीहरूमध्येका प्रत्येक प्राचीन के को श्रोत हुनुपर्दछ?
१० मसीही जगतका अत्याचार गर्ने धर्म-गुरुहरू जस्ता नभएर, यहोवाका साक्षीहरू बीचका प्राचीनहरू निश्चिन्तता र आरामका श्रोतहरू हुन्। सामूहिक रूपमा, यी पाका मानिसहरूले यहोवाका जनहरूका बीच शान्ति, स्थैर्य, र सुरक्षा कायम राख्छन्। व्यक्तिगत रूपमा पनि, परमेश्वरका बगालसँग कोमलताका साथ व्यवहार गरेर, प्रत्येक प्राचीनले यस सुन्दर स्थितिमा योगदान गर्नसक्तछन्।
न्याय र धार्मिकतासित
११. (क) प्रथम-शताब्दीका मसीहीहरू बीचको कुन आम स्थिति यहोवाका साक्षीहरूका धेरै जसो वर्तमान मण्डलीहरूमा पनि पाइन्छ? (ख) मण्डली प्रति अध्यक्षहरूको के जिम्मावारी छ, र किन?
११ प्रथम शताब्दीका मसीही मण्डलीहरूमा केही समस्याहरू उठेता पनि, साधारणतया तिनीहरू बीच शान्ति, एकता, र हर्ष पाइन्थ्यो। (१ कोरिन्थी १:१०-१२; ३:५-९; एफिसी १:२; याकूब २:१-९; ३:२-१२; ४:११, १२; १ यूहन्ना १:३, ४) परमेश्वरको आशिष, ख्रीष्टको नेतृत्व, र नियुक्त भएका अध्यक्षहरूका विश्वासीलो सेवाको कारण, आज पनि यहोवाका साक्षीहरूको धेरै जसो मण्डलीहरूमा एउटा राम्रो आत्मिक वातावरण पाइन्छ। मण्डलीमा शान्ति, एकता, र आनन्द कायम राख्न, यी मानिसहरूले दैवी मद्दतको खोजी गर्दछन् र परमेश्वरका सङ्गठनलाई नैतिक र आत्मिक रूपमा शुद्ध राख्ने हर प्रयास गर्दछन्। (यशैया ५२:११) एउटा अशुद्ध सङ्गठन कदापि शान्त र आनन्दित हुन सक्तैन र त्यहाँ परमेश्वरको स्वीकृति र आशिष निश्चयनै हुने छैन। उहाँको “दृष्टि यति शुद्ध छ कि दुष्ट कुरा हेर्नसक्नुहुन्न,” गलत कामकुरालाई सहन सक्नुहुन्न। (हबकूक १:१३) यसकारण, अरू कुराहरूका साथ-साथै, प्राचीनहरूले धर्मी र शास्त्रीय ढङ्गमा न्याय गर्न आवश्यक छ। तर यसो गर्ने बेलामा, ध्यान दिनु पर्ने केही कुराहरू के हुन्?
१२. बाइबलका नियमहरू र सिद्धान्तहरू भङ्ग नभएको खण्डमा, प्राचीनहरूले व्यक्तिगत मामलाहरूबारे सोधपूछ गर्न आवश्यक नपरेता पनि, गलाती ६:१ को आधारमा के गर्नु उचित चाहिं हो?
१२ एउटा चाहिं, व्यक्तिगत मतभेद भएको खण्डमा, सम्बन्धित व्यक्तिहरूले आपसमानै कुरा मिलाउन सम्भव होला। (मत्ती १८:१५-१७) प्राचीनहरू ‘हाम्रो विश्वासका’ प्रभुहरू होइनन्। यसकारण, तिनीहरूले, बाइबलका नियमहरू अथवा सिद्धान्तहरूको घोर उल्लङ्घन नभएको शुद्ध व्यक्तिगत मामलामा खोजतलास गर्नु आवश्यक छैन। तर, कुनै मानिस “अपराधमा पक्राउ पऱ्यो भने,” आत्मिक योग्यता हुनेहरूले “नम्रताको आत्माले यस्ताको सुधार गर्नु पर्दछ।”—गलाती ६:१.
१३. सुनेको भरमा होइन, तर गलत कामको प्रमाणको आधारमा मात्र प्राचीनहरूले कार्बाई गर्नु पर्दछ भनी शास्त्रले कसरी देखाउँदछ?
१३ प्राचीनहरू सदा निष्पक्ष भएर, “न्यायकै लागि” सेवा गर्नु पर्दछ। अतः कसैले भनेको वा सुनेको भरमा होइन, तर गलत कामकुरा गरिएको प्रमाणको आधारमा मात्र तिनीहरूले कार्बाई गर्नु पर्छ। पावलले सल्लाह दिएकाछन्: “दुई वा तीन साक्षीको मुखबाटको गवाही बाहेक धर्म-गुरुको विरुद्धमा लाएको दोष ग्रहण नगर।” (१ तिमोथी ५:१९) यहोवाको सिद्धान्त अनुसार, प्राचीन इस्राएलमा, मृत्यु दण्ड सजाय हुने पापको आरोप लगाइएको व्यक्तिलाई, एउटा गवाह होइन, तर ‘दुई वा तीन गवाहको साक्षीमा’ मात्र मार्न पाइन्थ्यो। साथै, दोषीले, उसलाई दोष लगाउनेहरूको सामना गर्ने मौका पाउँथ्यो, र यथेष्ट प्रमाण निस्केको खण्डमा, ‘गवाहहरूले सबैभन्दा पहिले त्यसमाथि हात उठाउन’ पर्दथ्यो।—व्यवस्था १७:६, ७.
१४. (क) डियोत्रिफसले गलत ढङ्गले के गर्ने प्रयास गऱ्यो? (ख) न्यायिक मामलाहरू चलाउदा प्राचीनहरूबाट परमेश्वर के आशा गर्नुहुन्छ?
१४ न्याय सम्बन्धी मामलाहरूका लागि एउटा ठोस शास्त्रीय आधार हुनुपर्दछ। मण्डलीका अध्यक्षहरू प्रथम शताब्दीका घमण्डी डियोत्रिफस जस्ता छैनन् भनेर हामी कति खुशी छौं! यात्रा गर्दै हिड़ेका भाइहरूको आतिथ्य र स्वागत गर्न चाहने भाइहरूलाई उसले “मण्डलीबाट निकालिदिने” गलत प्रयास गर्यो। प्रेरित यूहन्नाले यस कामका साथै अन्य अरू कुकर्महरूलाई हल्का ठानेनन् र यो चेतावनी दिए: “म आएँ भने, त्यसका कामहरूको म सम्झना गराउनेछु।” (३ यूहन्ना ९, १०) त्यसकारण, वर्त्तमान न्यायिक समितिले कसैलाई बहिष्कार गर्ने कार्बाई गर्दा, त्यो फैसला बाइबलमा आधारित छ भनी तिनीहरू विश्वस्त हुनुपर्दछ।a जरूरपनि, मसीही प्राचीनहरूले अरूहरूसित न्यायोचित व्यवहार गरेको परमेश्वर चाहनुहुन्छ। वास्तवमा, यहोवाका पार्थिव सङ्गठन संचालन गर्ने व्यक्तिहरू “योग्य, परमेश्वरको भय मान्ने, इमान्दार मानिसहरू” हुनुपर्दछ।—प्रस्थान १८:२१.
१५. न्यायिक सुनवाइ भएको बेलामा, प्रार्थनाले के भूमिका निभाउनु पर्दछ?
१५ प्रत्येक न्यायिक समितिले हृदय भित्रबाट प्रार्थना गर्दै, यहोवाको मद्दत माग्नु पर्दछ। घोर पापको आरोप लगाइएको भाइ वा बहिनीसँग बसेर कुरा शुरू गर्ने बेलामा प्रार्थना गर्नु पर्दछ। भनौं भने, छलफलको दौडानमा, परमेश्वरको मद्दतको विशेष आवश्यकता महसुस गरिएमा, प्रार्थना गर्नु उचित हुनेछ।—याकूब ५:१३-१८.
१६. कुन तरिकाले प्राचीनहरूले न्यायिक सुनवाइ संचालन गर्नुपर्दछ, र किन?
१६ प्राचीनहरूलाई थाह छ, कि गलत कामको दोष लागेको सङ्गी विश्वासी पनि परमेश्वरको बगालको एउटा “भेड़ा” हो र उससँग कोमलताका साथ व्यवहार गर्न उचित हो। (इजकिएल ३४:७-१४ सङ्ग तुलना गर्नुहोस्) साँच्चैका भेड़ाहरूलाई पनि कोमलताका साथ हेरविचार गर्नु पर्दछ किनकि तिनीहरू कातर स्वभावका जन्तुहरू हुन् र आफ्ना रक्षाकालागि तिनीहरू गोठालामा भर पर्दछन्। अतः स्थानीय मण्डलीका लाक्षणिक भेड़ाहरूवारे के भन्नसक्छौं? तिनीहरू पनि निश्चय नै महान गोठाला, यहोवा परमेश्वर, र असल गोठाला, येशू ख्रीष्टको रेख-देखमा सुरक्षा महसुस गर्दछन्। तर बगालका उप-गोठालाहरूले पनि यहोवाका भेड़ा खालका सेवकहरूको आन्तरिक शान्ति र सुरक्षामा योगदान पुर्याउने गरी काम गर्नु पर्दछ। तपाईं एक जना मसीही उप-गोठाला हुनुहुन्छ भने, के तपाईंका भाइ-बहिनीहरू तपाईंको रेख-देखमा सुरक्षा र शान्ति अनुभव गर्दछन्? हो, प्राचीनहरूले बाइबलका नियमहरू र सिद्धान्तहरूलाई दृढ़ताका साथ कायम राख्नु पर्दछ। तर भेड़ाहरूसित मायालु ढङ्गले व्यवहार गर्नु र न्यायिक सुनवाइहरू शान्त, नियमित, कृपालु, र विवेकपूर्ण ढङ्गमा संचालन गर्नु पनि एउटा शास्त्रीय आवश्यकता हो।
१७. विशेषगरी न्यायिक सुनवाइ भइरहेको बेलामा, कुन शास्त्रीय बुँदाहरूलाई प्राचीनहरूले मनमा राख्नुपर्दछ?
१७ असिद्ध भएका हुनाले, हामी सबै जना आफ्नो बोली-वचनमा “चुक्तछौं।” (याकूब ३:२) हामी प्रत्येकलाई परमेश्वरको दया र “पापलाई क्षमा गर्नसक्ने” ख्रीष्टको बलिदानको आवश्यकता छ। (१ यूहन्ना १:८–२:२; भजनसंग्रह १३०:३) अतः एक जना मसीही उप-गोठालाले आफ्नो वारे नम्र धारणा राख्नु उचित हो। उसले येशूका यी शब्दहरूलाई पनि याद राख्नु पर्दछ: “जसो मानिसहरूले तिमीहरूसित गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरू पनि तिनीहरूसित त्यसै गर।” (लूका ६:३१) यो सल्लाह खासगरी न्यायिक सुनवाइ भएको बेलामा प्रयोग गर्नु पर्ने हो। आध्यात्मिक योग्यता भएका पुरूषहरूले ‘नम्रताको आत्माले आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्दै” गल्ती गर्ने मसीहीको सुधार गर्ने प्रयास गर्नु पर्दछ।—गलाती ६:१; १ कोरिन्थी १०:१२.
१८. (क) न्यायिक सुनवाइ भइरहेको बेलामा प्राचीनहरूले कड़ा व्यवहार गरेमा त्यसको परिणाम के हुनसक्तछ? (ख) मर्कूस ९:४२ लाई ध्यानमा राख्दै, कुन कुरा गर्नु हुँदैन भनी प्राचीनहरू र अरू मसीहीहरू सतर्क हुनुपर्दछ?
१८ प्राचीनहरूले न्यायिक सुनवाइको समयमा मानिसहरूसँग कठोर व्यवहार गरेमा, ती मानिसहरूका लागि हानिकारक हुन सक्तछ। यसबाट कुनै प्रकारको भावनात्मक अथवा शारीरिक नोक्सानी न भएता पनि, गम्भीर आध्यात्मिक चोट पर्न सक्तछ, र अध्यक्षहरूको योग्यतामाथि नै शङ्का उत्पन्न हुनसक्तछ। (याकूब २:१३ सङ्ग तुलना गर्नुहोस्) त्यसकारण, न्यायिक सुनवाइको समयमा र अन्य अरू सबै बेलामा, प्राचीनहरू कृपालु हुनु पर्दछ र अरूहरूलाई वाधा नदिन, सचेत रहनु पर्दछ। तर यस मामलामा, हर मसीही नै सतर्क हुनु पर्दछ, किनकि येशूले भन्नु भयो: “जसले ममाथि विश्वास गर्ने सानाहरूमध्ये एउटालाई बाधा देला त्यसको निम्ति ता बरू एउटा ठूलो जाँतोको ढुङ्गा त्यसको घाँटीमा झुण्डाएर समुद्रमा फालिदिनु त्यसको निम्ति बढ़िया हुँदो हो।” (मर्कूस ९:४२) जाँतोको माथिल्लो ढुङ्गा यति भारी हुँन्थ्यो कि त्यसलाई पल्टाउन, साधारणतया जनावरको ताकत आवश्यक हुन्थियो। र कसैको घाँटीमा यतिको भारी कुरा बाँधेर समुद्रमा फालिदिंदा त्यो मानिस कदापि पनि बाँच्न सक्नेथिएन। यसकारण, निश्चय पनि, कसैलाई वाधा न दिने हो भने, एक जना प्राचीन होशियार हुनु पर्दछ किनकि त्यसबाट आफू र वाधा परेको व्यक्ति दुवैको अनन्त आत्मिक नोक्सानी हुनेछ।—फिलिप्पी १:९-११.
कोमल भाव देखाइ राख्नुहोस्
१९. सङ्गी प्राचीनहरूलाई पत्रुसले के सल्लाह दिए, र त्यस सल्लाह प्रति उचित प्रतिक्रिया देखाउनाले तिनीहरूको भविष्यमाथि के असर पर्ने छ?
१९ सङ्गी अध्यक्षहरूले बगालको कसरी रेख-देख गर्नु पर्दछ भनेर देखाउँन, प्रेरित पत्रुसले यस प्रकार लेखे: “तिमीहरूका जिम्मामा रहेको परमेश्वरको बगालको गोठालो होओ। करले होइन, तर परमेश्वरको इच्छा बमोजिम, खुशीसाथ। पैसाको लोभले होइन, तर तयारी मनले, तिमीहरूका जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको उदाहरण होओ औ जब मूल गोठाला प्रकट हुनुहुन्छ, तब तिमीहरूले कहिल्यै नओइलाउने महिमाको मुकुट पाउनेछौ।” (१ पत्रुस ५:२-४) यस सल्लाहलाई प्रयोगमा ल्याउँदै, परमेश्वरको बगाल प्रति कोमल भाव देखाएर मात्र, अभिषिक्त प्राचीनहरूले अमर आत्मिक जीवको रूपमा तिनीहरूका स्वर्गीय इनाम पाउन सक्नेछन् र पार्थिव आशा भएका प्राचीनहरूले चाहिं त्यो आउने प्रमोदवनमा अनन्त जीवनको इनाम पाउन सक्ने छन्।
२०. (क) आफ्ना सङ्गी विश्वासीहरूसँग उप-गोठालाहरूले कुन प्रकारको व्यवहार गर्नुपर्दछ? (ख) प्राचीनहरूले देखाएको उदाहरणीय सेवा र कोमल भाववारे तपाईंलाई कस्तो लाग्दछ?
२० यहोवा परमेश्वर र येशू ख्रीष्ट दुवै मायालु र अनुकम्पापूर्ण गोठालाहरू हुनुहुन्छ। अतः मसीही उप-गोठालाहरूले एका तिर मसीही सिद्धान्तहरू कायम राख्दै, अर्को तिर भेड़ा खालका आफ्ना सङ्गी विश्वासीहरूसँग प्रेम र अनुकम्पा दर्शाउँदै व्यवहार गर्न जरूरी छ। निश्चय नै, आफ्ना जिम्मावारीको संरक्षण गर्दै, परमेश्वरको बगालसँग कोमलतासित व्यवहार गर्ने यी निस्वार्थ प्राचीनहरूको अनुकरणीय सेवाको गहिरो मूल्याङ्कन यहोवाका सबै वफादार साक्षीहरूले गर्दछन्। यस प्रकारको मूल्याङ्कन र उचित श्रद्धा, हाम्रो माझमा अगुवाइ गर्नेहरू प्रति आज्ञाकारी भएर देखाउन सकिन्छ। (w89 9/15)
[फुटनोट]
a कुनै व्यक्तिलाई बहिष्कार गर्ने निर्णय गलत हो भनी लागेको खण्डमा, उसले पुनरावेदन गर्न सक्तछ।
तपाईंको सोंचाइ के छ?
◻ येशू ख्रीष्टले आफ्ना अनुयायीहरूका बीच कुनै प्रकारको तानाशाही चल्नु हुँदैन भनी, कसरी देखाउनु भयो?
◻ संचालक समितिबाट निर्देशन पाउना साथै, प्राचीनहरूले के गर्नु पर्दछ?
◻ यशैया ३२:१, २ अनुसार, प्राचीनहरू कुन कुराको श्रोत हुनु पर्दछ?
◻ प्राचीनहरूले सुनेका कुराहरूको आधारमा कुनै निर्णय लिनु हुँदैन भनी शास्त्रले कसरी देखाउँछ?
◻ मसीही उप-गोठालाहरूले बगालसँग कसरी व्यवहार गर्नु पर्दछ?
[पृष्ठ २०-मा भएको चित्र]
न्यायिक समितिले एक जना सङ्गी विश्वासीसित भेट गर्दा, हृदय खोलेर प्रार्थना गर्नु अतिनै महत्वपूर्ण हो