अध्याय ९६
येसु जवान धनी मानिसलाई जवाफ दिनुहुन्छ
मत्ति १९:१६-३० मर्कुस १०:१७-३१ लुका १८:१८-३०
धनी मानिस अनन्त जीवनबारे सोध्छ
येसु अझै पनि पेरिया हुँदै यरुसलेमतर्फ जाँदै हुनुहुन्छ। उहाँ हिँडिरहनुभएको बेला एक जना धनी मानिस दौडेर आउँछ र उहाँसामु घुँडा टेक्छ। यो मानिस “सभाघरको एक जना मुख्य व्यक्ति” हो। सायद ऊ सभाघरको पदाधिकारी वा यहुदी न्यायपरिषद्को सदस्य हो। ऊ यस्तो प्रश्न गर्छ: “हे असल गुरु, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ?”—लुका ८:४१; १८:१८; २४:२०.
येसु उसलाई यस्तो जवाफ दिनुहुन्छ: “तिमी किन मलाई असल भन्छौ? असल त परमेश्वरबाहेक अरू कोही छैन।” सायद यो जवान मानिसले येसुलाई “असल” भनेर यो शब्दलाई रब्बीहरूले जस्तै एउटा औपचारिक पदवीको रूपमा चलाइरहेको छ। येसु असल शिक्षक हुनुभए तापनि “असल” भन्ने पदवी परमेश्वरको लागि मात्र उपयुक्त छ भनेर उहाँ प्रस्ट पार्नुहुन्छ।
येसु उसलाई यस्तो सल्लाह दिनुहुन्छ: “यदि तिमी जीवन पाउन चाहन्छौ भने आज्ञाहरू पालन गर्न नछोड।” (लुका १८:१९) उसले उहाँलाई “कुन-कुन” भनेर सोध्छ। त्यसपछि येसु हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झूटो साक्षी नदिनू अनि आफ्नो बुबा र आमाको आदर गर्नू भनेर दस आज्ञामध्ये पाँच वटा आज्ञा उल्लेख गर्नुहुन्छ। उहाँ अर्को एउटा महत्त्वपूर्ण आज्ञा पनि बताउनुहुन्छ: “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”—मत्ति १९:१७-१९.
त्यो मानिस यसो भन्छ: “यी सब त मैले पालन गर्दै आएको छु; त्यसोभए ममा अझै के कमी छ?” (मत्ति १९:२०) अनन्त जीवनको लागि योग्य हुन आफूले ठूलै काम गर्नुपर्छ जस्तो उसलाई लाग्छ। उसको यस्तो उत्कट बिन्ती सुनेर ऊप्रति येसुको ‘मनमा माया पलाउँछ।’ (मर्कुस १०:२१) तर उसको अगाडि ठूलो अवरोध छ।
त्यस मानिसमा धनसम्पत्तिप्रति मोह छ। त्यसैले येसु यसो भन्नुहुन्छ: “तिमीमा एउटा कुरा अपुग छ। जाऊ, आफूसित भएको चिजबिज बेचेर गरिबहरूलाई बाँडिदेऊ र तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ अनि आएर मेरो पछि लाग।” हो, ऊ आफ्नो पैसा गरिबहरूलाई बाँडेर येसुको चेला बन्न सक्थ्यो। तर दुःखी हुँदै ऊ आफ्नो बाटो लाग्छ। यो देखेर येसु दयाले भरिनुहुन्छ। “धेरै धनसम्पत्ति”-प्रतिको मोहले गर्दा ऊ साँचो धनसम्पत्ति पाउनदेखि वञ्चित हुन्छ। (मर्कुस १०:२१, २२) येसु भन्नुहुन्छ: “पैसावालहरूलाई परमेश्वरको राज्यमा पस्न साँच्चै कठिन हुनेछ!”—लुका १८:२४.
येसुको यो कुरा र यसपछि उहाँले भन्नुभएको कुरा सुनेर चेलाहरू छक्क पर्छन्। उहाँ यसो भन्नुहुन्छ: “वास्तवमा धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नभन्दा त उँटलाई सियोको नाथ्रीबाट छिर्न नै सजिलो हुन्छ।” यो कुरा सुनेर चेलाहरू सोध्छन्: “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?” के उद्धार पाउन साँच्चै गाह्रो छ? के यो मानिसहरूको लागि असम्भव कुरा हो? उहाँ सीधै तिनीहरूलाई हेर्दै यसो भन्नुहुन्छ: “मानिसहरूका लागि असम्भव कुरा परमेश्वरको लागि सम्भव छ।”—लुका १८:२५-२७.
आफूहरूले त्यस धनी मानिसले भन्दा फरक छनौट गरेको कुरा बताउँदै पत्रुस यसो भन्छन्: “हेर्नुहोस्! हामी सबै कुरा छोडेर तपाईँको पछि लागेका छौँ। त्यसोभए हामीले के पाउनेछौँ त?” तिनीहरूको सही छनौटको कारण तिनीहरूले पाउने इनामबारे येसु यसो भन्नुहुन्छ: “सबै कुरा नयाँ बनाइँदा जब मानिसको छोरा आफ्नो गौरवशाली सिंहासनमा बस्नेछ, तब तिमीहरू जो मेरो पछि लागेका छौ, तिमीहरू १२ सिंहासनमा बसेर इस्राएलका १२ कुलको इन्साफ गर्नेछौ।”—मत्ति १९:२७, २८.
स्पष्ट छ, भविष्यमा पृथ्वीको अवस्था अदनको बगैँचाजस्तै हुने अर्थात् सबै कुरा नयाँ बनाइने समयबारे येसु कुरा गर्दै हुनुहुन्छ। पत्रुस र अरू चेलाहरूले नयाँ पृथ्वीमाथि येसुसँगै शासन गर्ने सुअवसर पाउनेछन्; तिनीहरूले गर्ने कुनै पनि त्याग यो इनामको बराबरीमा आउन सक्दैन।
तर चेलाहरूले सबै इनाम भविष्यमा मात्र पाउने त होइन। तिनीहरूले कुनै-कुनै इनाम अहिल्यै पाउँछन्। येसु भन्नुहुन्छ: “परमेश्वरको राज्यको खातिर जसले घर वा पत्नी वा दाजुभाइ वा आमाबुबा वा छोराछोरी छोड्छ, उसले अहिल्यै यी कुरा धेरै गुणा पाउनुका साथै आउने युगमा अनन्त जीवन पाउनेछ।”—लुका १८:२९, ३०.
हो, चेलाहरू जहाँ गए पनि तिनीहरूले सङ्गी उपासकहरूसित आत्मीय सम्बन्धको आनन्द उठाउन सक्छन्। यो सम्बन्ध आफ्नै परिवारसितको सम्बन्धभन्दा पनि अनमोल छ। दुःखको कुरा, उक्त जवान धनी मानिसले यो इनाम मात्र होइन तर परमेश्वरको स्वर्गीय राज्यमा पाउने जीवन पनि गुमाउनेछ जस्तो देखिन्छ।
येसु अझै भन्नुहुन्छ: “तर धेरै जना जो पहिला छन्, ती पछिल्ला हुनेछन् र जो पछिल्ला छन्, ती पहिला हुनेछन्।” (मत्ति १९:३०) यसको अर्थ के हो?
त्यो जवान धनी मानिस यहुदी अगुवाहरूमध्ये एक भएकोले ऊ “पहिला”-हरूमध्ये हो। परमेश्वरका आज्ञाहरू पालन गर्ने व्यक्ति भएकोले ऊबाट धेरै कुरा आस गर्न सकिन्छ। तर उसले जीवनमा अरू सबै कुरालाई भन्दा धनसम्पत्तिलाई प्रथम स्थानमा राखेको छ। त्यसको विपरीत त्यहाँका सर्वसाधारण मानिसले भने येसुले सत्य सिकाइरहनुभएको छ र जीवनको बाटो देखाइरहनुभएको छ भनेर बुझेका छन्। एक अर्थमा तिनीहरू “पछिल्ला”-हरू थिए तर अब भने तिनीहरू “पहिला” हुन लागेका छन्। तिनीहरूले स्वर्गमा येसुसँगै सिंहासनमा बसेर पृथ्वीमाथि शासन गर्ने समयको प्रतीक्षा गर्न सक्छन्।