अध्याय १०८
येसु उहाँलाई फसाउने प्रयासलाई विफल पारिदिनुहुन्छ
मत्ति २२:१५-४० मर्कुस १२:१३-३४ लुका २०:२०-४०
जे-जे सिजरका हुन्, सिजरलाई देओ
फेरि जीवित भएकाहरूले विवाह गर्नेछन्?
सबैभन्दा ठूला आज्ञाहरू
येसुका शत्रुहरू क्रोधित भएका छन्। उहाँले भर्खरै तिनीहरूको दुष्टता उदाङ्ग पार्ने उदाहरणहरू बताउनुभएको छ। त्यसैले फरिसीहरू उहाँलाई फसाउने षड्यन्त्र रच्छन्। तिनीहरू येसुले बोल्नुभएकै कुरामा उहाँलाई फसाएर रोमी राज्यपालको हातमा सुम्पने दाउ खोज्दै छन्। त्यसैले तिनीहरू पैसा दिएर आफ्ना केही मानिसलाई उहाँकहाँ पठाउँछन्।—लुका ६:७.
उनीहरू येसुलाई यसो भन्छन्: “गुरुज्यू, हामीलाई थाह छ, तपाईँ ठीकठीक बोल्नुहुन्छ र सिकाउनुहुन्छ अनि कसैको पक्षपात गर्नुहुन्न बरु परमेश्वरको मार्गबारे सत्य कुरा सिकाउनुहुन्छ। हामीले सिजरलाई कर तिर्नु उचित हो कि होइन?” (लुका २०:२१, २२) उनीहरू चापलुसी गर्न खोज्दै छन् भनेर येसुलाई थाह छ; वास्तवमा उनीहरू छली र धूर्त छन्। यदि उहाँले ‘कर तिर्नु उचित होइन’ भन्नुभयो भने उहाँलाई रोमको विरुद्धमा राजद्रोह गरेको आरोप लगाउन सकिनेछ। तर ‘कर तिर्नुपर्छ’ भन्नुभयो भने रोमको अधीनमा बस्न मन नपराउने मानिसहरूले यसलाई गलत तरिकाले बुझेर उहाँविरुद्ध उठ्न सक्छन्। त्यसोभए उहाँ कस्तो जवाफ दिनुहुन्छ?
येसु भन्नुहुन्छ: “ए कपटीहरू, तिमीहरू किन मेरो परीक्षा लिन्छौ? कर तिर्ने सिक्का मलाई देखाओ।” तिनीहरू उहाँकहाँ एक दिनारको सिक्का ल्याउँछन्। अनि उहाँ सोध्नुहुन्छ: “यसमा कसको चित्र र नाम छ?” तिनीहरू जवाफ दिन्छन्: “सिजरको।” त्यसपछि येसु यस्तो उत्कृष्ट निर्देशन दिनुहुन्छ: “जे-जे सिजरका हुन्, सिजरलाई र जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई देओ।”—मत्ति २२:१८-२१.
येसुको कुरा सुनेर मानिसहरू जिल्ल पर्छन्। उहाँले कौशलतापूर्वक जवाफ दिनुभएकोले तिनीहरू नाजवाफ हुन्छन् र त्यहाँबाट जान्छन्। तर दिन अझै सिद्धिएको छैन र येसुलाई फसाउने प्रयास पनि सिद्धिएको छैन। फरिसीहरूको प्रयास विफल भएपछि अर्को धार्मिक समूहका नाइकेहरू येसुकहाँ आउँछन्।
मरेकाहरू फेरि जीवित हुँदैनन् भन्ने सदुकीहरू विधवाले पतिको दाइ वा भाइसित विवाह गर्ने चलनको सन्दर्भमा प्रश्न गर्छन्। उनीहरू भन्छन्: “गुरुज्यू, ‘यदि कुनै मानिस निस्सन्तान मऱ्यो भने उसको भाइले आफ्नी भाउजूसित विवाह गरेर दाइको निम्ति सन्तान जन्माउनुपर्छ’ भनेर मोसाले भनेका छन्। हामीकहाँ सात जना दाजुभाइ थिए अनि जेठोले विवाह गऱ्यो र निस्सन्तान मऱ्यो। त्यसैले भाइचाहिँले आफ्नी भाउजूसित विवाह गऱ्यो। यही क्रम माइलो, साइँलो हुँदै सातौँ भाइसम्म चल्यो। अन्तमा त्यो स्त्री पनि मरी। त्यसोभए तिनीहरू फेरि जीवित हुँदा त्यो स्त्री ती सात जना दाजुभाइमध्ये कसकी पत्नी हुनेछे? किनकि सातै जनाले त्यसलाई पत्नी बनाइसकेका थिए।”—मत्ति २२:२४-२८.
सदुकीहरू मोसाका लेखोटहरू स्विकार्छन्। त्यसैले येसु मोसाका लेखोटहरूतर्फ उनीहरूको ध्यान खिच्दै यस्तो जवाफ दिनुहुन्छ: “तिमीहरूले गलत बुझिरहेका छौ किनकि तिमीहरूले न धर्मशास्त्रलाई न त परमेश्वरको शक्तिलाई नै बुझेका छौ। किनकि मृत्युबाट ब्युँतिएपछि न पुरुषले न स्त्रीले नै विवाह गर्नेछन् तर तिनीहरू स्वर्गदूतहरूजस्तै हुनेछन्। मरेकाहरू ब्युँतने विषयमा के तिमीहरूले झाडीसम्बन्धी मोसाको विवरण पढेका छैनौ? परमेश्वरले तिनलाई यसो भन्नुभएको थियो: ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वर हुँ।’ उहाँ मरेकाहरूको होइन तर जीवितहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरूले साँच्चै गलत बुझिरहेका छौ।” (मर्कुस १२:२४-२७; प्रस्थान ३:१-६) येसुको जवाफ सुनेर भीड छक्क पर्छ।
येसुले फरिसीहरू र सदुकीहरू दुवैलाई चुप गराउनुभएको छ। त्यसैले यी दुवै धार्मिक समूहका विरोधीहरू सँगै मिलेर उहाँको परीक्षा गर्न आउँछन्। एक जना शास्त्रीले यस्तो प्रश्न सोध्छ: “गुरुज्यू, व्यवस्थाको सबैभन्दा ठूलो आज्ञा कुन हो?”—मत्ति २२:३६.
येसु यस्तो जवाफ दिनुहुन्छ: “पहिलो यही हो, ‘हे इस्राएल सुन, यहोवा हाम्रा परमेश्वर एक मात्र यहोवा हुनुहुन्छ। त्यसैले तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्नू।’ दोस्रोचाहिँ यो हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’ यीभन्दा ठूलो आज्ञा अर्को छैन।”—मर्कुस १२:२९-३१.
येसुको जवाफ सुनेर त्यो शास्त्री यसो भन्छ: “गुरुज्यू, तपाईँले सत्य कुरा भन्नुभयो, ‘उहाँ एक मात्र परमेश्वर हुनुहुन्छ, उहाँबाहेक अरू कोही परमेश्वर छैन।’ उहाँलाई आफ्नो सारा हृदयले, सारा समझले र सारा बलले प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु सबै अग्निभेटी र बलिदानभन्दा धेरै उत्तम हो।” उसले बुद्धिमानीसाथ जवाफ दिएको सुनेर येसु उसलाई भन्नुहुन्छ: “तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ।”—मर्कुस १२:३२-३४.
येसु तीन दिनदेखि (नीसान ९, १० र ११) मन्दिरमा शिक्षा दिँदै हुनुहुन्छ। यो शास्त्री र अरू केही मानिसहरूले उहाँको शिक्षा मक्ख परेर सुन्छन् तर धर्मगुरुहरूले भने सुन्दैनन्। उनीहरूमा “उहाँसित अरू प्रश्न सोध्ने आँट” पनि छैन।