अध्याय ५
संसारबाट कसरी अलग रहने?
“तिमीहरू यस संसारका होइनौ।”—यूहन्ना १५:१९.
१. मानिसको रूपमा पृथ्वीमा अन्तिम रात बिताउँदा येशूले कुन कुरालाई जोड दिनुभयो?
मानिसको रूपमा यस पृथ्वीमा अन्तिम रात बिताउँदा येशूले आफ्ना चेलाहरूको भविष्यको हितप्रति गहिरो चिन्ता व्यक्त गर्नुभयो। यस विषयमा उहाँले आफ्ना बुबालाई यसरी प्रार्थनासमेत गर्नुभयो: “तिनीहरूलाई यस संसारबाट लैजानुहोस् भनेर त होइन तर त्यस दुष्टको कारण तिनीहरूको हेरचाह गरिदिनुहोस् भनेर म तपाईंलाई बिन्ती गर्छु। तिनीहरू यस संसारका होइनन्, जस्तो म पनि यस संसारको होइन।” (यूहन्ना १७:१५, १६) यसरी हार्दिक बिन्ती चढाएर येशूले चेलाहरूप्रति गहिरो प्रेम झल्काउनुभयो। साथै तिनीहरूमध्ये केहीलाई त्यसभन्दा अघि जे भन्नुभयो त्यसको महत्त्व पनि देखाउनुभयो। उहाँले यसो भन्नुभएको थियो: “तिमीहरू यस संसारका होइनौ।” (यूहन्ना १५:१९) स्पष्ट छ, आफ्ना चेलाहरू यस संसारबाट अलग रहून् भन्ने कुरालाई येशूले एकदमै महत्त्व दिनुभएको थियो!
२. येशूले बताएको “यस संसार” के हो?
२ येशूले बताएको “यस संसार”-ले परमेश्वरबाट टाढिएका, सैतानको शासनको अधीनमा बसेका अनि सैतानबाट उत्पन्न स्वार्थी र अहङ्कारी मनोभावको दास बनेका सम्पूर्ण मानिसजातिलाई बुझाउँछ। (यूहन्ना १४:३०; एफिसी २:२; १ यूहन्ना ५:१९) वास्तवमा “संसारसितको मित्रता परमेश्वरसितको शत्रुता हो।” (याकूब ४:४) तर यसै संसारमा बसे तापनि परमेश्वरको प्रेम पाउन लायक भइरहन चाहनेहरूचाहिं यसबाट कसरी अलग रहन सक्छन्? त्यसका पाँच तरिका हामी विचार गर्नेछौं: (१) परमेश्वरको राज्यप्रति वफादार रहिरहेर अनि संसारको राजनीतिमा निष्पक्ष रहिरहेर (२) संसारको मनोभावको प्रतिरोध गरिरहेर (३) पहिरन र कोरीबाटीमा भद्र भइरहेर (४) आफ्नो आँखा निर्मल राखिरहेर (५) आध्यात्मिक हातहतियार धारण गरिरहेर।
वफादार र निष्पक्ष रहिरहनुहोस्
३. (क) पृथ्वीमा छँदा येशूले राजनीतिप्रति कस्तो दृष्टिकोण राख्नुभयो? (ख) येशूका अभिषिक्त अनुयायीहरू राजदूतको हैसियतमा काम गर्छन् भनेर किन भन्न सक्छौं? (पादटिप्पणी हेर्नुहोस्।)
३ पृथ्वीमा छँदा राजनीतिमा भाग लिनुको साटो येशूले परमेश्वरको राज्यको प्रचारमा ध्यान केन्द्रित गर्नुभयो, जुन राज्यले भविष्यमा स्वर्गमा शासन गर्ने थियो। त्यो राज्यको राजा स्वयम् येशू हुनुहुने थियो। (दानियल ७:१३, १४; लूका ४:४३; १७:२०, २१) त्यसैले त उहाँले रोमी राज्यपाल पन्तियस पिलातससामु भन्न सक्नुभयो: “मेरो राज्य यस संसारको होइन।” (यूहन्ना १८:३६) ख्रीष्ट र उहाँको राज्यप्रति वफादार रहेर अनि संसारलाई त्यस राज्यको विषयमा बताएर विश्वासी अनुयायीहरू उहाँको अनुकरण गर्छन्। (मत्ती २४:१४) प्रेषित पावलले लेखे: “त्यसैले हामी ख्रीष्टको सट्टामा काम गर्ने राजदूतहरू हौं . . . ख्रीष्टको सट्टामा काम गर्नेहरूको हैसियतमा हामी यस्तो आग्रह गर्छौं: ‘परमेश्वरसित मिलाप गर।’ ” a—२ कोरिन्थी ५:२०.
४. सबै साँचो ख्रीष्टियनहरूले परमेश्वरको राज्यप्रति कसरी वफादारी देखाएका छन्? (पृष्ठ ६० मा भएको पेटी हेर्नुहोस्।)
४ राजदूतले विदेशी भूमि वा राष्ट्रको प्रतिनिधित्व गर्ने भएकोले कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनन्; तिनीहरू निष्पक्ष रहन्छन्। तर राजदूतले आफूले प्रतिनिधित्व गर्ने देशको सरकारलाई भने समर्थन गर्छन्। ख्रीष्टका अभिषिक्त अनुयायीहरूमा पनि यही कुरा लागू हुन्छ। तिनीहरूको “नागरिकता स्वर्ग”-मा छ। (फिलिप्पी ३:२०) वास्तवमा तिनीहरूको जोसिलो प्रचारकार्यले गर्दा ख्रीष्टका लाखौं “अरू भेडा”-ले ‘परमेश्वरसित मिलाप गर्ने’ मदत पाएका छन्। (यूहन्ना १०:१६; मत्ती २५:३१-४०) यी ‘अरू भेडाले’ चाहिं येशूका अभिषिक्त भाइहरूलाई समर्थन गर्ने ख्रीष्टको सन्देशवाहकको रूपमा काम गर्छन्। एकै बगालको भएर मसीही राज्यको समर्थनमा काम गर्ने हुँदा यी दुवै समूह संसारको राजनैतिक गतिविधिप्रति एकदमै निष्पक्ष रहन्छन्।—यशैया २:२-४.
५. ख्रीष्टियनहरू प्राचीन समयका परमेश्वरका जनहरूभन्दा कसरी फरक छन्? यस्तो भिन्नतालाई ख्रीष्टियनहरू कसरी देखाउँछन्?
५ ख्रीष्टप्रति वफादार रहेकोले मात्र साँचो ख्रीष्टियनहरू निष्पक्ष रहेका होइनन्। प्राचीन समयका परमेश्वरका जनहरू एउटै देशमा बस्थे, तर अहिले हामी सबै भाइबहिनीहरू संसारभरि छरिएर बसेका छौं। (मत्ती २८:१९; १ पत्रुस २:९) त्यसैले यदि हामी आफ्नो देशको राजनैतिक पार्टीलाई समर्थन गर्छौं भने राज्यसन्देशबारे निर्धक्क भई साहसपूर्वक बोल्न सक्दैनौं अनि ख्रीष्टियन एकतालाई जोखिममा पारिरहेका हुनेछौं। (१ कोरिन्थी १:१०) साथै युद्ध हुँदाखेरि हामी आफ्नै सँगी विश्वासीहरू विरुद्ध लडाइँ गरिरहेका हुनेछौं जबकि तिनीहरूलाई प्रेम गर्न हामीलाई आज्ञा दिइएको छ। (यूहन्ना १३:३४, ३५; १ यूहन्ना ३:१०-१२) त्यसकारण येशूले आफ्ना चेलाहरूलाई तरवार नचलाओ भन्नुको ठोस कारण छ। अनि उहाँले आफ्ना शत्रुलाई समेत प्रेम गर्न भन्नुभयो।—मत्ती ५:४४; २६:५२; पृष्ठ ६१ मा भएको “के म निष्पक्ष रहिरहेको छु?” शीर्षकको पेटी हेर्नुहोस्।
६. परमेश्वरप्रति समर्पित भएकोले सरकारप्रति तपाईंको दृष्टिकोण कस्तो हुनुपर्छ?
६ साँचो ख्रीष्टियनको हैसियतमा हामीले आफ्नो जीवन परमेश्वरमा समर्पण गरेका छौं; कुनै मानिसलाई, कुनै सङ्गठनलाई वा कुनै राष्ट्रलाई होइन। पहिलो कोरिन्थी ६:१९, २० यसो भन्छ: “आफ्नै शरीरमाथि तिमीहरूको अधिकार छैन, किनकि तिमीहरू दाम तिरेर किनिएका थियौ।” त्यसैले येशूका अनुयायीहरूले “सम्राट्” अर्थात् सरकारलाई आदर देखाउने, कर तिर्ने, परमेश्वरले अनुमति दिएअनुसार केही हदसम्म अधीनता देखाउने गरे तापनि “जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई” नै दिन्छन्। (मर्कूस १२:१७; रोमी १३:१-७) यसमा तिनीहरूले गर्ने उपासना, सारा प्राणले परमेश्वरलाई गर्ने प्रेम अनि उहाँप्रति वफादार भई देखाउने आज्ञाकारिता समावेश छ। आवश्यक पऱ्यो भने परमेश्वरको लागि आफ्नो ज्यानसमेत दिन तिनीहरू तयार छन्।—लूका ४:८; १०:२७; प्रेषित ५:२९; रोमी १४:८.
“संसारको मनोभाव”-को प्रतिरोध गरिरहनुहोस्
७, ८. “संसारको मनोभाव” भनेको के हो? यस्तो मनोभावले कुनै मानिसमा कसरी “काम” गर्छ?
७ ख्रीष्टियनहरू यस संसारबाट अलग रहने अर्को तरिका हो: दुष्ट मनोभावको प्रतिरोध गरेर। पावलले लेखे: “हामीले संसारको मनोभाव होइन तर परमेश्वरको पवित्र शक्ति पाएका छौं।” (१ कोरिन्थी २:१२) एफिसीहरूलाई तिनले यसो भने: “तिमीहरू कुनै बेला . . . यस संसारमा हावासरि फैलिएको मनोभावको शासकको इच्छाबमोजिम चल्थ्यौ, जुन मनोभावले अहिले अनाज्ञाकारी सन्तानहरूमा काम गरिरहेको छ।”—एफिसी २:२, ३.
८ यस संसारको “हावा” अर्थात् मनोभाव हाम्रो आँखाले देख्न नसक्ने शक्ति हो। यसले हामीलाई परमेश्वरको आज्ञा पालन नगर्न उक्साउँछ अनि “शरीरको अभिलाषा, आँखाको अभिलाषा” पूरा गर्न जोड दिन्छ। (१ यूहन्ना २:१६; १ तिमोथी ६:९, १०) संसारको मनोभावको ‘शासकले’ पापी शरीरलाई आकर्षित गर्छ, यो छली हुनुका साथै हामीलाई फसाउन लागिपर्छ र यो मनोभाव हावाजस्तै जताततै छ। यसले कुनै मानिसमा कसरी “काम” गर्छ? तिनीहरूको मनमा परमेश्वरलाई मन नपर्ने स्वभाव विस्तारै विकास गराएर। यस्ता स्वभावमा स्वार्थी, अहङ्कारी, लोभी इच्छा अनि नैतिक स्तरबाट स्वतन्त्र हुने र विद्रोह गर्ने मनोभाव पर्छन्। b भन्ने हो भने संसारको मनोभावले मानिसको हृदयमा सैतानको स्वभावलाई विस्तारै विकास गर्दै लान्छ।—यूहन्ना ८:४४; प्रेषित १३:१०; १ यूहन्ना ३:८, १०.
९. संसारको मनोभाव कुन-कुन तरिकामा हाम्रो मन-मस्तिष्कमा पस्न सक्छ?
९ के यस संसारको मनोभावले तपाईंको मन-मस्तिष्कमा जरा गाड्न सक्छ? हो, सक्छ। तर तपाईं सतर्क हुनुभएन भने मात्र। (हितोपदेश ४:२३) यस मनोभावले असर गरेको कुरा सुरुमा त अक्सर चाल पाउनै गाह्रो हुन्छ। सङ्गतमार्फत यस्तो मनोभावको असर पर्न सक्छ। राम्रै देखिने व्यक्तिसित तपाईंले सङ्गत गर्नुभएको होला तर वास्तवमा तिनी यहोवालाई प्रेम नगर्ने व्यक्ति हुन सक्छन्। (हितोपदेश १३:२०; १ कोरिन्थी १५:३३) दुष्ट मनोभाव अरू स्रोतबाट पनि आउन सक्छ: अनुचित किसिमका पत्रपत्रिका तथा पुस्तकहरू, अश्लील इन्टरनेट साइटहरू र धर्मत्यागीले खोलेका इन्टरनेट साइटहरू, अस्वस्थकर मनोरञ्जन अनि एकदमै प्रतिस्पर्धा गर्ने खालका खेलकुदहरू। वास्तवमा भन्ने हो भने शैतान र त्यसको युगको सोचाइ झल्काउने जोसुकै अनि जेसुकै माध्यमबाट दुष्ट मनोभाव आउन सक्छ।
१०. हामी संसारको मनोभावको प्रतिरोध कसरी गर्न सक्छौं?
१० हामी कसरी संसारको खतरनाक मनोभावको प्रतिरोध गर्न अनि आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइरहन सक्छौं? यहोवाले गरिदिएको प्रबन्धबाट भरपूर लाभ उठाएर अनि पवित्र शक्तिको लागि निरन्तर प्रार्थना गरेर मात्र हामी यसो गर्न सक्छौं। सैतान अनि त्यसको अधीनमा रहेको दुष्ट संसारभन्दा यहोवा कता हो कता महान् हुनुहुन्छ। (१ यूहन्ना ४:४) त्यसो भए प्रार्थनामार्फत यहोवासित नजिक भइरहनु महत्त्वपूर्ण छैन र?
पहिरन र कोरीबाटीमा भद्र भइरहनुहोस्
११. संसारको मनोभावले पहिरनको स्तरलाई कसरी असर गरेको छ?
११ कुनै मानिसको मनोभाव कस्तो छ भनेर बाहिरबाटै देख्न सकिन्छ। जस्तै: पहिरनबाट, कोरीबाटीबाट अनि सरसफाइबाट। थुप्रै मुलुकमा लुगा लगाउने स्तर एकदमै खस्केको छ। त्यसैले टिभी कार्यक्रमका एक सञ्चालकले यसोसमेत भने: ‘सबैले यस्तो लुगा लगाउन थाले कि अब वेश्याहरूलाई चिनाउने लुगा नै बाँकी रहनेछैन!’ एउटा अखबारको रिपोर्टअनुसार किशोर अवस्थामा नपुगेका केटीहरूले समेत यस्तो प्रवृत्तिको सिको गरेका छन्। मतलब तिनीहरू “धेरै जीउ देखिने र अभद्र पहिरन लगाउँछन्।” अर्को प्रवृत्ति यस्तो पनि चलेको छ: जे पायो त्यही गरी लुगा लगाउने। यस्तो प्रवृत्तिले विद्रोह गरेको अनि मर्यादा र आत्म-सम्मान नभएको कुरा देखाउँछ।
१२, १३. पहिरन अनि कोरीबाटीको सन्दर्भमा कस्तो सिद्धान्त लागू गर्नुपर्छ?
१२ यहोवाका सेवक भएको हुँदा हामी चिटिक्क परेको देखिन चाहनु स्वाभाविकै हो। यसको मतलब हामी सफा, सुकिलो, राम्रो अनि अवसर सुहाउँदो पहिरन लगाउन चाहन्छौं। हाम्रो बाहिरी रूपरङ्गले सधैं नै “शालीनता र सुझबुझ” झल्काउनुपर्छ। यसका साथै “परमेश्वरको भक्ति गर्छु भनी दाबी गर्ने” सबै पुरुष तथा स्त्रीले “असल कामहरू” गर्नुपर्छ। निश्चय नै हाम्रो मुख्य उद्देश्य अरूको ध्यान आफूतिर खिच्नु होइन तर “परमेश्वरको प्रेम पाउन लायक” भइरहनु हो। (१ तिमोथी २:९, १०; यहूदा २१) हो, हामी सबैभन्दा राम्रो सिंगार गर्न चाहन्छौं। त्यो “सिंगार मनको सिंगार” हो। “परमेश्वरको नजरमा त्यो ठूलो मोलको हुन्छ।”—१ पत्रुस ३:३, ४.
१३ यस कुरालाई पनि मनमा राख्नुहोस्: हामी जुन तरिकामा लुगाफाटा लगाउँछौं र कोरीबाटी गर्छौं त्यसले साँचो उपासनाप्रति अरूले राख्ने दृष्टिकोणलाई पनि असर गर्छ। नेपालीमा “शालीनता” भनी अनुवाद गरिएको ग्रीक शब्द नैतिक चेतनालाई बुझाउन प्रयोग गरिंदा त्यसले अरूको भावना तथा विचारलाई श्रद्धा गर्ने, आदर गर्ने र त्यसको भय राख्ने कुरालाई बुझाउँछ। त्यसकारण पहिरन र कोरीबाटीको सम्बन्धमा ‘यो त मेरो अधिकार हो, जे लगाए पनि, जे गरे पनि मेरै खुसी’ नभनेर अरूको अन्तस्करणलाई ध्यान दिनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा हामी यहोवा र उहाँका जनले आदर पाएको चाहन्छौं अनि “सबै थोक परमेश्वरकै महिमाको निम्ति” गरेर आफूलाई परमेश्वरको सेवकहरूको रूपमा स्वीकार्य बनाउँछौं।—१ कोरिन्थी ४:९; १०:३१; २ कोरिन्थी ६:३, ४; ७:१.
१४. रूपरङ्ग अनि व्यक्तिगत सरसफाइको सन्दर्भमा हामीले आफैलाई कस्ता प्रश्न सोध्नुपर्छ?
१४ प्रचारमा भाग लिंदा र ख्रीष्टियन सभाहरूमा जाँदा हाम्रो पहिरन, कोरीबाटी अनि सरसफाइलाई झनै ध्यान दिनुपर्छ। आफैलाई सोध्नुहोस्: के मेरो रूपरङ्गले अनि म फोहोरी भएकोले अरूको अनावश्यक ध्यान खिचिन्छ? के त्यसले गर्दा अरूलाई असजिलो महसुस हुन्छ? मण्डलीमा जिम्मेवारी पाउनको लागि योग्य हुनुलाई भन्दा पहिरन र कोरीबाटीबारे आफ्नो अधिकारलाई नै बढी महत्त्वपूर्ण ठान्छु कि?—भजन ६८:६; फिलिप्पी ४:५; १ पत्रुस ५:६.
१५. पहिरन, कोरीबाटी अनि सरसफाइको सन्दर्भमा बाइबलले ख्रीष्टियनहरूका लागि किन सूची दिएको छैन?
१५ पहिरन, कोरीबाटी अनि सरसफाइको सन्दर्भमा बाइबलले ख्रीष्टियनहरूका लागि सूची नै त दिएको छैन। हामीले छनौट गर्ने आफ्नो स्वतन्त्रतालाई अनि सोच्ने क्षमतालाई बेवास्ता गरेको यहोवा चाहनुहुन्न। बरु हामी परिपक्व होस् भन्ने उहाँ चाहनुहुन्छ। बाइबल सिद्धान्तले हामीलाई कसरी लाभ पुऱ्याउँछ भनेर परिपक्व व्यक्तिले बुझ्छन् अनि “आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम दिएका हुन्छन्।” (हिब्रू ५:१४) सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी प्रेममा चलेको यहोवा चाहनुहुन्छ। त्यो प्रेम परमेश्वर अनि छिमेकीप्रतिको प्रेम हो। (मर्कूस १२:३०, ३१) यी सीमाभित्र रहेर पहिरन र कोरीबाटी गर्दा सबैको छनौट फरक-फरक हुन सक्छ। यसको प्रमाणको रूपमा विभिन्न रङ्ग र विभिन्न प्रकारका लुगा लगाएर पृथ्वीको कुनै पनि ठाउँमा भेला हुने यहोवाका जनहरूको आनन्दित जमातलाई नै लिन सकिन्छ।
आँखा “निर्मल” राखिरहनुहोस्
१६. संसारको मनोभाव र येशूको शिक्षा कसरी फरक छ? हामीले आफैलाई कस्ता प्रश्न सोध्नुपर्छ?
१६ संसारको मनोभाव एकदमै छली छ र यसले लाखौंलाई आनन्द पाउनको लागि पैसा अनि भौतिक कुराको पछि लाग्न उक्साउँछ। तर येशूले भन्नुभयो: “मानिस जति नै सम्पन्न भए तापनि त्यसले उसलाई जीवन दिंदैन।” (लूका १२:१५) येशूले सन्यासी जीवन बिताउनुपर्छ भनिरहनुभएको थिएन। उहाँले त “परमेश्वरको मार्गनिर्देशनको खाँचो महसुस” गर्ने अनि आफ्नो आँखा “निर्मल” राखिरहनेहरूले मात्र जीवन र साँचो आनन्द पाउँछन् भनेर सिकाइरहनुभएको थियो। यस्ता मानिसहरू इमानदार हुन्छन् र तिनीहरूको प्रमुख ध्यान आध्यात्मिक कुरामा हुन्छ। (मत्ती ५:३; ६:२२, २३) आफैलाई सोध्नुहोस्: के म येशूले सिकाएको कुरालाई साँच्चै विश्वास गर्छु अथवा के म “झूटको बुबा”-को बहकाउमा पर्दैछु? (यूहन्ना ८:४४) मेरो बोली, लक्ष्य, प्राथमिकता अनि जीवनशैलीले कुन कुरा देखाउँछ?—लूका ६:४५; २१:३४-३६; २ यूहन्ना ६.
१७. आफ्नो आँखा निर्मल राखिरहनेहरूले के-कस्तो लाभ उठाउँछन्? बताउनुहोस्।
१७ येशूले भन्नुभयो: “मानिसले परमेश्वरको स्तरबमोजिम गर्ने असल कामैले ऊ बुद्धिमान् हो भनेर प्रमाणित गर्छ।” (मत्ती ११:१९) आफ्नो आँखा निर्मल राखिरहनेहरूले के-कस्तो लाभ उठाउँछन्, तीमध्ये केही विचार गरौं। तिनीहरूले परमेश्वरको राज्यसम्बन्धी कामबाट साँचो स्फूर्ति पाउँछन्। (मत्ती ११:२९, ३०) अनावश्यक चिन्ता हटाएर मानसिक वा भावनात्मक पीडाबाट तिनीहरू मुक्त हुन्छन्। (१ तिमोथी ६:९, १०) जीवनका आवश्यकताहरूलाई पूरा गरी त्यसैमा सन्तुष्ट भएर तिनीहरूले आफ्नो परिवार अनि ख्रीष्टियन साथीभाइलाई अझ बढी समय दिन्छन्। यी सबको परिणामस्वरूप तिनीहरूको निद्रा मीठो हुन्छ। (उपदेशक ५:१२) अरूलाई दिंदा तिनीहरू अपार आनन्द महसुस गर्छन् अनि आफूले सक्ने जुनसुकै तरिका अपनाएर तिनीहरू दिने काम गर्छन्। (प्रेषित २०:३५) साथै तिनीहरूको “आशा बढ्दै” जान्छ अनि भित्री शान्ति र सन्तुष्टि पनि तिनीहरूले पाउँछन्। (रोमी १५:१३; मत्ती ६:३१, ३२) यी आशिष्हरू साँच्चै नै अमूल्य छन्!
“सम्पूर्ण हातहतियार” लिइरहनुहोस्
१८. हाम्रो शत्रु, त्यसको तौरतरिका अनि हामीले सङ्घर्ष गर्ने तरिकालाई बाइबलले कसरी वर्णन गरेको छ?
१८ आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख्नेहरू आध्यात्मिक रूपमा सैतानबाट सुरक्षित रहन्छन्। सैतानले ख्रीष्टियनहरूको आनन्द मात्र होइन तर अनन्त जीवन पनि छिन्न चाहन्छ। (१ पत्रुस ५:८) पावलले भने: “हाम्रो यो लडन्त मानिसहरूसित होइन तर सरकारहरूसित, अख्तियारवालाहरूसित, यस अन्धकार संसारका शासकहरूसित अनि स्वर्गका दुष्ट दूतहरूका दलसित हो।” (एफिसी ६:१२) यहाँ “लडन्त” भनेर अनुवाद गरिएको ग्रीक शब्दले टाढा-टाढाबाटै आपसमा लडाइँ गर्ने कुरालाई बुझाउँदैन—जस्तो कि जमिनमुनि बसेर टाढाको व्यक्तिसित लडाइँ गर्नु। यसले त आमने-सामने हाताहात गर्ने कुरा अर्थात् कुस्तीलाई बुझाउँछ। साथै “सरकारहरू,” “अख्तियारवालाहरू,” र “संसारका शासकहरू” भन्ने शब्दहरूले अदृश्य संसारबाट गरिने आक्रमण एकदमै व्यवस्थित र योजनाबद्ध छ भन्ने कुरालाई बुझाउँछ।
१९. ख्रीष्टियनले लिइरहनुपर्ने आध्यात्मिक हातहतियारबारे बताउनुहोस्।
१९ तर मानव कमजोरी अनि सीमितताको बाबजुद पनि हामी विजयी हुन सक्छौं। कसरी? “परमेश्वरले दिनुहुने सम्पूर्ण हातहतियार” लिइरहेर। (एफिसी ६:१३) ती हातहतियारबारे एफिसी ६:१४-१८ यसो भन्छ: “त्यसैले सत्यले आफ्नो कम्मर कसेर, परमेश्वरको स्तरबमोजिमको असल कामको कवच लगाएर अनि खुट्टामा शान्तिको सुसमाचारको जुत्ता लगाएर तिमीहरू दृढ भई खडा होओ। सबैभन्दा मुख्य कुरा, विश्वासको ठूलो ढाल लेओ, जसद्वारा तिमीहरूले त्यस दुष्टका सबै अग्निबाणहरू निभाउन सक्नेछौ। साथै, मुक्तिको टोप लगाओ अनि पवित्र शक्तिको तरबार अर्थात् परमेश्वरको वचन पनि भिर। यसबाहेक, हरकिसिमका प्रार्थना अनि उत्कट बिन्ती चढाएर तिमीहरू पवित्र शक्तिद्वारा हरबखत प्रार्थना गरिरहो। यो कुरा मनमा राख्दै तिमीहरू निरन्तर जागा बस र सबै पवित्र जनहरूका निम्ति उत्कट बिन्ती चढाओ।”
२०. साँच्चैको सिपाहीहरूको भन्दा हाम्रो परिस्थिति कसरी फरक छ?
२० आध्यात्मिक हातहतियार परमेश्वरको प्रबन्ध भएको हुँदा त्यसलाई सधैं धारण गऱ्यौं भने हामी अवश्य सुरक्षित हुनेछौं। साँच्चैको सिपाहीहरूले सधैं लडाइँ लडिरहनु पर्दैन। तर ख्रीष्टियनहरूले भने परमेश्वरले सैतानको संसारलाई नष्ट नगरून्जेल अनि सबै दुष्ट दूतहरूलाई अगाध खाडलमा नफालेसम्म निरन्तर जीवन-मरणको सङ्घर्ष गरिरहनुपर्नेछ। (प्रकाश १२:१७; २०:१-३) त्यसैले आफ्ना कमजोरी अथवा गलत इच्छाहरू विरुद्ध सङ्घर्ष गर्दै हुनुहुन्छ भने हार नमान्नुहोस् किनभने हामी सबैले नै यहोवाप्रति विश्वासी रहन आफूलाई ‘कुट्नुपर्छ अनि पिट्नुपर्छ।’ (१ कोरिन्थी ९:२७) वास्तवमा लडाइँ गरिरहेका छैनौं भनेचाहिं त्यो चिन्ताको विषय हो।
२१. के गऱ्यौं भने मात्र हामी आध्यात्मिक लडाइँमा विजयी हुन सक्छौं?
२१ यो लडाइँ हामी आफ्नै बलबर्कतले जित्न सक्दैनौं। त्यसैले “पवित्र शक्तिद्वारा हरबखत प्रार्थना” गरिरहनुपर्छ भनी पावल हामीलाई याद दिलाउँछन्। त्यति मात्र होइन हामीले बाइबल अध्ययन गरेर अनि हर अवसरमा सँगी “सिपाही”-सित सरसङ्गत गरेर यहोवाको कुरा सुन्नुपर्छ किनभने यो लडाइँमा हामी एक्लो छैनौं! (फिलेमोन २; हिब्रू १०:२४, २५) यी सम्पूर्ण क्षेत्रमा विश्वासी रहनेहरू विजयी हुनेछन्। त्यति मात्र होइन चुनौती आइपर्दा तिनीहरूले बलियो भई आफ्नो विश्वासको रक्षा गर्न पनि सक्नेछन्।
आफ्नो विश्वासको रक्षा गर्न तयार हुनुहोस्
२२, २३. (क) हामी किन आफ्नो विश्वासको रक्षा गर्न हरहमेसा तयार रहनै पर्छ? (ख) हामीले आफैलाई कस्ता प्रश्न सोध्नुपर्छ? (ग) अर्को अध्यायमा के छलफल गरिनेछ?
२२ येशूले भन्नुभयो: “तिमीहरू यस संसारका होइनौ . . . त्यसैले संसारले तिमीहरूलाई घृणा गर्छ।” (यूहन्ना १५:१९) त्यसकारण ख्रीष्टियनहरू आफ्नो विश्वासको रक्षा गर्न हरहमेसा तयार रहनै पर्छ। यसो गर्दा तिनीहरूले आदर देखाउनुपर्छ र तिनीहरू नम्र हुनुपर्छ। (१ पत्रुस ३:१५) आफैलाई सोध्नुहोस्: कहिलेकाहीं यहोवाका साक्षीहरू किन लोकप्रिय विचारधाराविरुद्ध अडान लिन्छन् भनेर के मैले बुझेको छु? यस्तो कठिन अडान लिंदा बाइबल अनि विश्वासी दास वर्गको कुरा ठीक हो भनेर के म पूर्णतया विश्वस्त छु? (मत्ती २४:४५; यूहन्ना १७:१७) अनि यहोवाको नजरमा जे सही छ त्यो गर्नुपर्ने परिस्थिति आइपर्दा अरूभन्दा भिन्न देखिनको लागि के म तयार छु? त्यतिमात्र होइन भिन्न हुन पाएकोमा के म गर्व गर्छु?—भजन ३४:२; मत्ती १०:३२, ३३.
२३ तर आफूलाई संसारबाट अलग बनाइराख्ने हाम्रो चाहना अक्सर अझ चालै नपाउने तरिकामा परीक्षामा पर्न सक्छ। उदाहरणको लागि, माथि उल्लेख गरिएजस्तै दियाबलले सांसारिक मनोरञ्जनलाई चलाएर यहोवाका सेवकहरूलाई संसारप्रति आकर्षित गर्न खोज्छ। स्फूर्ति दिने अनि अन्तस्करण पनि सफा रहने स्वस्थकर मनोरञ्जन हामी कसरी छान्न सक्छौ? यसबारे अर्को अध्यायमा छलफल गरिनेछ।
a पृथ्वीका आफ्ना अभिषिक्त अनुयायीहरूको मण्डलीमाथि इस्वी संवत् ३३ पेन्तिकोसदेखि ख्रीष्टले राजाको रूपमा शासन गर्दै हुनुहुन्छ। (कलस्सी १:१३) उहाँले सन् १९१४ मा यस “संसारको राज्य”-माथि राज गर्ने अख्तियार पाउनुभयो। तसर्थ अभिषिक्त ख्रीष्टियनहरू अहिले पनि मसीही राज्यको राजदूतको रूपमा सेवा गर्छन्।—प्रकाश ११:१५.
b यहोवाका साक्षीहरूद्वारा प्रकाशित धर्मशास्त्रबाट तर्क गर्ने (अङ्ग्रेजी) किताबको पृष्ठ ३८९-३९३ हेर्नुहोस्।
c पृष्ठ २४३-२४६ मा भएको अतिरिक्त लेख हेर्नुहोस्।