अध्याय १२४
ख्रिष्टलाई धोका दिइन्छ र पक्राउ गरिन्छ
मत्ति २६:४७-५६ मर्कुस १४:४३-५२ लुका २२:४७-५३ युहन्ना १८:२-१२
यहुदा येसुलाई बगैँचामा धोका दिन्छन्
पत्रुस एक जना मानिसको कान च्वाट्टै काटिदिन्छन्
येसुलाई पक्राउ गरिन्छ
मध्यरात भइसकेको छ। पुजारीहरू येसुलाई धोका दिएबापत यहुदालाई ३० टुक्रा चाँदी दिन सहमत भएका छन्। त्यसैले यहुदा मुख्य पुजारीहरू र फरिसीहरूको ठूलो जमात लिएर येसुलाई खोज्न निस्कन्छन्। तिनीहरूसँग हातहतियारले सुसज्जित रोमी सैनिकहरूको एउटा दल र त्यस दलको सेनापति पनि छन्।
निस्तार चाडको भोजपछि जब येसुले यहुदालाई त्यहाँबाट पठाइदिनुहुन्छ, तब तिनी सीधै मुख्य पुजारीहरूकहाँ गएका हुन सक्छन्। (युहन्ना १३:२७) तिनीहरूले आफ्ना पहरेदारहरू र सैनिकहरूको एउटा दल जम्मा गरे। यहुदाले सुरुमा उनीहरूलाई येसुले आफ्ना प्रेषितहरूसित निस्तार चाड मनाउनुभएको कोठामा लगेको हुनुपर्छ। तर अहिले त्यो जमातले किद्रोन बेँसी पार गरिसकेको छ र उनीहरू गेत्समनीको बगैँचातर्फ जाँदै छन्। उनीहरूले हातहतियारको साथै राँको र बत्ती बोकेका छन् र उनीहरू येसुलाई जसरी भए पनि भेट्टाउन चाहन्छन्।
यहुदा त्यस जमातलाई जैतुन डाँडातिर लैजाँदै छन्। तिनलाई यतिबेला येसु कहाँ हुनुहुन्छ भनेर राम्रोसँग थाह छ। बेथानीबाट यरुसलेम आउजाउ गर्दा येसु र उहाँका प्रेषितहरू आराम गर्न धेरै पटक गेत्समनीको बगैँचामा रोकिनुभएको थियो। तर अहिले रातको समय हो र सायद येसु बगैँचामा जैतुनका रूखहरूमुनि हुनुहुन्छ। त्यसोभए येसुलाई पहिला कहिल्यै नदेखेका सिपाहीहरूले उहाँलाई कसरी चिन्न सक्नेछन्? उनीहरूलाई मदत गर्न यहुदाले एउटा सङ्केत दिनेछन्। तिनी भन्छन्: “म जसलाई चुम्बन गर्छु, उहाँ नै तिमीहरूले खोजेको मानिस हुनुहुन्छ; तिमीहरूले उहाँलाई पक्रनू र होसियारीसाथ लैजानू।”—मर्कुस १४:४४.
त्यस जमातलाई लिएर बगैँचामा पुगेपछि यहुदा येसुलाई प्रेषितहरूसँग बसिरहनुभएको देख्छन्। त्यसपछि तिनी सीधै येसुकहाँ गएर “प्रणाम, रब्बी!” भन्छन् र उहाँलाई चुम्बन गर्छन्। येसु तिनलाई यसो भन्नुहुन्छ: “मित्र, तिमी कुन उद्देश्य लिएर यहाँ आयौ?” (मत्ति २६:४९, ५०) आफ्नो प्रश्नको जवाफ आफै दिँदै येसु यसो भन्नुहुन्छ: “यहुदा, के तिमी मानिसको छोरालाई चुम्बन गरेर उसलाई धोका दिँदै छौ?” (लुका २२:४८) अब येसुलाई त्यस धोकेबाजको कुनै मतलब छैन!
राँको र बत्तीको उज्यालोमा अघि सर्दै येसु यस्तो प्रश्न सोध्नुहुन्छ: “तिमीहरू कसलाई खोज्दै छौ?” त्यस जमातबाट “नासरी येसुलाई” भन्ने जवाफ आउँछ। तब येसु साहसी हुँदै यसो भन्नुहुन्छ: “त्यो मै हुँ।” (युहन्ना १८:४, ५) ती मानिसहरू अकमक्क पर्छन् र भुईँमा लड्छन्।
रातको मौकामा त्यहाँबाट भाग्नुको सट्टा येसु तिनीहरूले कसलाई खोज्दै छन् भनेर फेरि सोध्नुहुन्छ। तिनीहरूले फेरि पनि “नासरी येसुलाई” भनेर जवाफ दिँदा उहाँ शान्तपूर्वक यसो भन्नुहुन्छ: “त्यो मै हुँ भनेर मैले भनिहालेँ नि। यदि तिमीहरूले मलाई नै खोजिरहेका हौ भने यिनीहरूलाई चाहिँ जान देओ।” यस्तो कठिन घडीमा समेत येसु आफूले चेलाहरूमध्ये एक जना पनि गुमाउनेछैनँ भनेर पहिला पनि भनेको कुरा सम्झनुहुन्छ। (युहन्ना ६:३९; १७:१२) येसुले आफ्ना वफादार प्रेषितहरूको रक्षा गरिरहनुभएको छ र उहाँले “विनाशको छोरा” यहुदाबाहेक अरू कोही पनि गुमाउनुभएको छैन। (युहन्ना १८:७-९) त्यसैले उहाँ आफ्ना वफादार अनुयायीहरूलाई जान दिन आग्रह गर्नुहुन्छ।
ती सिपाहीहरू भुईँबाट उठेर येसु भएतिर आउँदा प्रेषितहरूले अब के हुन लागेको हो भनेर थाह पाउँछन्। “प्रभु, के हामी तरबारले हानौँ?” भनेर तिनीहरू सोध्छन्। (लुका २२:४९) येसुले जवाफ दिनुअघि नै पत्रुस आफूहरूसित भएको दुइटा तरबारमध्ये एउटा थुत्छन्। तिनी प्रधानपुजारीको दास माल्कसलाई आक्रमण गर्छन् र उनको दायाँ कान च्वाट्टै काटिदिन्छन्।
येसु माल्कसको कान छोएर निको पारिदिनुहुन्छ। त्यसपछि उहाँ पत्रुसलाई यस्तो आज्ञा दिँदै एउटा महत्त्वपूर्ण पाठ सिकाउनुहुन्छ: “तिम्रो तरबार म्यानमै राख किनकि तरबार उठाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्।” येसु पक्राउ पर्न तयार हुनुहुन्छ। आफू पक्राउ नपरेमा “धर्मशास्त्रमा यस्तै हुनेछ भनेर बताइएको कुरा कसरी पूरा हुन्छ र?” भनी उहाँ भन्नुहुन्छ। (मत्ति २६:५२, ५४) उहाँ यसो पनि भन्नुहुन्छ: “बुबाले मलाई दिनुभएको कचौराबाट के मैले पिउनुपर्दैन र?” (युहन्ना १८:११) आफू मर्नु परे पनि बुबाले आफ्नो लागि राख्नुभएको इच्छासित येसु सहमत हुनुहुन्छ।
येसु त्यस जमातलाई सोध्नुहुन्छ: “के तिमीहरू डाँकुलाई जस्तैगरि तरबार र लाठोहरू लिएर मलाई पक्रन आयौ? म दिनदिनै मन्दिरमा बसेर सिकाउँथेँ तैपनि तिमीहरूले मलाई हिरासतमा लिएनौ। तर भविष्यवक्ताहरूले लेखेका कुरा पूरा होऊन् भनेर यी सब भएका हुन्।”—मत्ति २६:५५, ५६.
त्यसपछि सैनिकहरूको दल, सेनापति र यहुदीहरूका पहरेदारहरूले येसुलाई पक्रेर बाँध्छन्। तर “एक जना जवान मानिस,” जो चेला मर्कुस हुन सक्छ, ऊ त्यस भीडसँगै येसुको पछि लाग्छ। (मर्कुस १४:५१) त्यस जवान मानिसलाई भीडले चिन्छ र उसलाई पक्रन खोज्छ। तर ऊ आफूले ओढेको मलमलको कपडा छोडेर भाग्छ।