यहोवाले धेरै सन्तानहरूलाई मुक्तिमा पुऱ्याउनुहुन्छ
“[ परमेश्वरले] धेरै सन्तानहरूलाई मुक्तिमा पुऱ्याउनुहुँदा तिनीहरूको मुक्तिको कर्त्तालाई शासनाहरूद्वारा सिद्ध तुल्याउनु उचित थियो।”—हिब्रू २:१०.
१. मानिसजातिका निम्ति यहोवाको उद्देश्य पूरा हुनेछ भनी हामी किन निश्चित हुनसक्छौं?
यहोवाले अनन्त जीवनको आनन्द उठाउने सिद्ध मानव परिवारको निम्ति पृथ्वीलाई सधैंको लागि घरस्वरूप सृष्टि गर्नुभएको थियो। (उपदेशक १:४; यशैया ४५:१२, १८) हो, हाम्रो पुर्खा आदमले पाप गरे र त्यसैले तिनको सन्तानमा पाप तथा मृत्यु व्याप्त भयो। तर मानिसजातिका निम्ति परमेश्वरको उद्देश्य उहाँको प्रतिज्ञाकृत सन्तान येशू ख्रीष्ट मार्फत पूरा हुनेछ। (उत्पत्ति ३:१५; २२:१८; रोमी ५:१२-२१; गलाती ३:१६) मानिसजातिप्रतिको प्रेमले गर्दा यहोवा “आफ्ना एकमात्र पुत्र” दिन उत्प्रेरित हुनुभयो जसले गर्दा “उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६) अनि प्रेमले नै येशूलाई “धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिन” प्रेरित गऱ्यो। (मत्ती २०:२८) यस “छुटकाराको मोल[ले]” आदमले गुमाएको अधिकार तथा प्रत्याशाहरू किनेर अनन्त जीवन फेरि सम्भव बनाउनेछ।—१ तिमोथी २:५, ६; यूहन्ना १७:३.
२. इस्राएलको वार्षिक प्रायश्चितको दिनमा गरिने क्रियाकलापले येशूको छुडौतीको बलिदानलाई कसरी चित्रित गर्छ?
२ येशूको छुडौतीको बलिदानको पूर्तिलाई वार्षिक प्रायश्चितको दिनमा गरिने क्रियाकलापले चित्रित गर्छ। त्यस दिन इस्राएलका प्रधानपूजाहारीले पापबलिको रूपमा साँढे चढाउनुपर्थ्यो र त्यसको रगत पहिला बासस्थानको अति पवित्रस्थानमा रहेको पवित्र सन्दूकमा र पछि मन्दिरमा छर्किनुपर्थ्यो। यो तिनी, तिनको घराना र लेवी कुलको निम्ति गरिन्थ्यो। त्यसरी नै येशू ख्रीष्टले परमेश्वर समक्ष सर्वप्रथम रगतको मूल्य आफ्ना आत्मिक “भाइहरू[को]” पाप ढाक्न प्रस्तुत गर्नुभयो। (हिब्रू २:१२; १०:१९-२२; लेवी १६:६, ११-१४) प्रायश्चितको दिनमा प्रधानपूजाहारीले पापबलिको रूपमा बोका पनि चढाउँथे र त्यसको रगत अति पवित्रस्थानमा चढाएपछि इस्राएलका गैरपूजाहारी १२ कुलको पाप प्रायश्चित सम्भव हुन्थ्यो। त्यस्तैगरि, प्रधानपूजाहारी येशू ख्रीष्टले उहाँमाथि विश्वास गर्नेहरूका निम्ति पनि आफ्नो रगत बगाउनुहुनेछ जसले गर्दा तिनीहरूको पाप पनि खारिज हुनेछ।—लेवी १६:१५.
मुक्तिमा पुऱ्याइएको
३. हिब्रू २:९, १० अनुसार परमेश्वरले विगतका १,९०० वर्षसम्म के गर्नुभयो?
३ परमेश्वरले १,९०० वर्षदेखि येशूका “भाइहरू[को]” सन्दर्भमा एउटा एकदमै उल्लेखनीय कुरा गर्दै आउनुभएको छ। यस सन्दर्भमा प्रेरित पावलले यस्तो लेखे: “परमेश्वरको अनुग्रहबाट उहाँले हरेक मानिसको निम्ति मृत्युको स्वाद चाख्नुपर्छ भनेर उहाँलाई, अर्थात् येशू ख्रीष्टलाई, जसलाई स्वर्गदूतहरूभन्दा केही कम तुल्याउनुभएको थियो, मृत्युको शासनाको कारण महिमा र आदरको शिरपेच पहिऱ्याइदिनुभएको हामी देख्तछौं। किनभने [यहोवा परमेश्वर] जसको निम्ति सब थोक छन्, र जसद्वारा सब थोक हुन्छन्, उहाँले धेरै सन्तानहरूलाई मुक्तिमा पुऱ्याउनुहुँदा तिनीहरूको मुक्तिको कर्त्तालाई शासनाहरूद्वारा सिद्ध तुल्याउनु उचित थियो।” (हिब्रू २:९, १०) येशू ख्रीष्ट मुक्तिका मुख्य कर्ता हुनुहुन्छ। उहाँले यस पृथ्वीमा छँदा भोग्नुभएका शासनाहरूद्वारा पूर्णतया आज्ञाकारी हुन सिक्नुभयो। (हिब्रू ५:७-१०) परमेश्वरका आत्मिक पुत्रको रूपमा सर्वप्रथम येशू अभिषिक्त हुनुभएको थियो।
४. परमेश्वरका आत्मिक पुत्रको रूपमा कहिले र कसरी येशू अभिषिक्त हुनुभयो?
४ यहोवाले येशूलाई आफ्ना आत्मिक पुत्रको रूपमा अभिषिक्त गर्न अर्थात् स्वर्गीय महिमामा ल्याउनको निम्ति उहाँको पवित्र आत्मा अर्थात् सक्रिय शक्ति चलाउनुभयो। बप्तिस्मा दिने यूहन्नासित एक्लै हुँदा येशूले परमेश्वरसमक्ष हाजिर हुनुभएको देखाउन पानीमा बप्तिस्मा लिनुभयो। लूकाको विवरणले यसो भन्छ: “सबै मानिसहरूले बप्तिस्मा लिएपछि येशूले पनि बप्तिस्मा लिएर प्रार्थना गरिरहनुहुँदा स्वर्ग उघ्रियो, र पवित्र आत्मा दैहिक रूपमा ढुकुरजस्तो उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट एउटा यस्तो वाणी भयो, ‘तिमी मेरा प्यारा पुत्र हौ, तिमीसित म प्रसन्न छु।’ ” (लूका ३:२१, २२) यूहन्नाले पवित्र आत्मा येशूमा आएको देखे र यहोवाले आफ्ना प्रिय पुत्रलाई खुलेआम अनुमोदन गर्नुभएको पनि सुने। त्यतिबेला पवित्र आत्माद्वारा यहोवाले ‘धेरै सन्तानहरूलाई मुक्तिमा पुऱ्याउनुहुनेमध्ये’ प्रथम येशूलाई अभिषिक्त गर्नुभयो।
५. येशूको छुडौतीबाट सर्वप्रथम लाभ उठाउनेहरू को थिए?
५ येशूको बलिदानबाट लाभान्वित हुने प्रथम व्यक्तिहरू उहाँका “भाइहरू” भए। (हिब्रू २:१२-१८) दर्शनमा प्रेरित यूहन्नाले तिनीहरूलाई स्वर्गीय सियोन डाँडामा थुमा अर्थात् पुनरुत्थान हुनुभएका प्रभु येशू ख्रीष्टसँगै महिमामा देखिसकेका थिए। यूहन्ना तिनीहरूको संख्याबारे यसप्रकार बताउँछन्: “मैले देखें, र हेर, सियोन डाँड़ामा थुमा खड़ा हुनुहुन्थ्यो, र उहाँको साथमा उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनका निधारमा लेखिएका एक लाख चवालीस हजार थिए। . . . स्त्रीहरूसँग नबिटुलिएका यिनै हुन्, तिनीहरू कुमारीजस्तै चोखा हुन्। थुमा जताजता जानुहुन्छ उहाँका पछिपछि लाग्ने यिनै हुन्। यिनीहरू परमेश्वरमा र थुमामा पहिला फलहरू हुनालाई मानिसहरूमध्येबाट किनिएका थिए।” (प्रकाश १४:१-५) अतः ‘मुक्तिमा पुऱ्याइएका धेरै सन्तानहरूको’ कुल संख्या १,४४,००१ हो अर्थात् येशू अनि उहाँका आत्मिक भाइहरू।
“परमेश्वरबाट जन्मेको”
६, ७. “परमेश्वरबाट जन्मेका” को हुन् र यसले तिनीहरूका निम्ति कस्तो अर्थ राख्छ?
६ यहोवाबाट अभिषिक्त भएकाहरू “परमेश्वरबाट जन्मेको” हुन्छन्। त्यस्ता व्यक्तिहरूलाई सम्बोधन गर्दै प्रेरित यूहन्नाले यस्तो लेखे: “जो परमेश्वरबाट जन्मेको छ त्यसले पाप गर्दैन, किनकि [यहोवाको] [“बीज,” NW] त्यसमा रहन्छ, औ त्यसले पाप गर्नैसक्तैन, किनभने त्यो परमेश्वरबाट जन्मेको हुन्छ।” (१ यूहन्ना ३:९) यो “बीज” परमेश्वरको पवित्र आत्मा हो। उहाँको सत्यसँगै काम गर्दा १,४४,००० का प्रत्येकलाई पवित्र आत्माले स्वर्गीय आशासहितको “नयाँ जन्म” दियो।—१ पत्रुस १:३-५, २३.
७ सिद्ध मानिस आदम “परमेश्वरका छोरा” भएझैं येशू पनि मानव जन्मबाट परमेश्वरको पुत्र हुनुहुन्थ्यो। (लूका १:३५; ३:३८) तथापि, येशूको बप्तिस्मापछि यहोवाले यस्तो घोषणा गर्नु उल्लेखनीय छ: “तिमी मेरो प्रिय पुत्र हौ, तिमीसँग म खुशी छु।” (मर्कूस १:११) यस घोषणाका साथै पवित्र आत्मा खन्याइँदा परमेश्वरले येशूलाई आफ्ना आत्मिक पुत्रको रूपमा अभिषिक्त गर्नुभएको स्पष्ट भयो। लाक्षणिक रूपमा भन्ने हो भने फेरि स्वर्गमा परमेश्वरका आत्मिक पुत्रको रूपमा विराजमान हुने अधिकार दिन येशूलाई “नयाँ जन्म दिनुभयो।” उहाँजस्तै, उहाँका १,४४,००० आत्मिक भाइहरू पनि “नयाँ गरी जन्मे।” (यूहन्ना ३:१-८; प्रहरीधरहरा [अंग्रेजी], नोभेम्बर १५, १९९२, पृष्ठ ३-६ हेर्नुहोस्।) अनि येशूजस्तै तिनीहरू पनि परमेश्वरद्वारा अभिषिक्त भएका छन् र सुसमाचार उद्घोषणा गर्ने आज्ञा पाएका छन्।—यशैया ६१:१, २; लूका ४:१६-२१; १ यूहन्ना २:२०.
आत्मिक पुत्रको रूपमा अभिषिक्त भएको प्रमाण
८. (क) येशू (ख) उहाँका प्रारम्भिक चेलाहरू आत्मा-अभिषिक्त भएको कस्ता प्रमाणहरू थिए?
८ येशू आत्मा-अभिषिक्त हुनुभएका प्रमाणहरू थिए। बप्तिस्मा दिने यूहन्नाले येशूमाथि पवित्र आत्मा खन्याइएको देख्नुका साथै नवनियुक्त मसीहको आत्मिक पुत्रत्वबारे परमेश्वरको घोषणा सुनेका थिए। तर येशूका चेलाहरूले तिनीहरू आत्मा-अभिषिक्त भएको कसरी थाह पाउनेथिए? आफ्नो स्वर्गारोहणको दिनमा येशूले यसो भन्नुभयो: “यूहन्नाले ता पानीले बप्तिस्मा दिए, तर अबको थोरै दिनमा तिमीहरू पवित्र आत्माले बप्तिस्मा हुनेछौ।” (प्रेरित १:५) सा.यु. ३३ पेन्तिकोसमा येशूका चेलाहरू “पवित्र आत्माले बप्तिस्मा” भए। पवित्र आत्मा खन्याइँदा “स्वर्गबाट ठूलो बतास बहेको जस्तो हरूरूरू शब्द आयो” र प्रत्येक चेलाहरूमा “आगोको जस्तो चिरा चिरा परेका जिब्राहरू” देखा परे। सबैभन्दा उल्लेखनीय पक्ष चाहिं “आत्माले तिनीहरूलाई उच्चारण गर्नदिए बमोजिम, तिनीहरू अरू भाषामा बोल्नलागे।” अतः ख्रीष्टका अनुयायीहरूलाई परमेश्वरका पुत्रको रूपमा स्वर्गीय महिमामा जाने बाटो खोलिएको प्रमाण छर्लंगै देख्न र सुन्न सकियो।—प्रेरित २:१-४, १४-२१; योएल २:२८, २९.
९. सामरीहरू, कर्निलियस तथा प्रथम शताब्दीका अरू आत्मा-अभिषिक्त भएको के प्रमाण थियो?
९ केही समयपश्चात् सुसमाचारक फिलिपले सामरियामा प्रचार गरे। सामरीहरूले तिनको सन्देश स्वीकारेर बप्तिस्मा लिए तापनि तिनीहरूलाई परमेश्वरले अभिषिक्त गर्नुभएको प्रमाण पाएका थिएनन्। प्रेरित पत्रुस र यूहन्नाले प्रार्थना गरेर ती विश्वासीहरूको हात समात्दा “तिनीहरूले पनि” कुनै न कुनै तरिकामा “पवित्र आत्मा पाए” र यो त्यहाँ उपस्थित मानिसहरूसामु प्रस्ट भयो। (प्रेरित ८:४-२५) यी विश्वासी सामरीहरू परमेश्वरको पुत्रको रूपमा आत्मा-अभिषिक्त भएको प्रमाण थियो। त्यसरी नै, सा.यु. ३६ मा कर्निलियस तथा अन्यजातिहरूले परमेश्वरको सत्य स्वीकारे। पत्रुससित गएका विश्वासी यहूदीहरू “अन्यजातिहरूमाथि पनि पवित्र आत्माको वरदान खन्याइएकोमा ती सबै छक्क परे किनकि उनीहरूले विभिन्न भाषामा बोलेर परमेश्वरको ज्यादै प्रशंसा गरिरहेका सुने।” (प्रेरित १०:४४-४८) प्रथम शताब्दीका थुप्रै मसीहीहरूले “आत्मिक वरदान” पाए, जस्तै ती वरदानहरूमध्ये एउटा विभिन्न भाषाहरूमा बोल्ने थियो। (१ कोरिन्थी १४:१२, ३२) अतः ती व्यक्तिहरूले आफू आत्मा-अभिषिक्त भएको स्पष्ट प्रमाण पाए। तर पछिका मसीहीहरूले तिनीहरू आत्मा-अभिषिक्त भएको हो या होइन, कसरी थाह पाउनसक्थे?
आत्माको गवाही
१०, ११. रोमी ८:१५-१७ को आधारमा ख्रीष्टका उत्तराधिकारीहरूबारे आत्माले गवाही दिन्छ भनी तपाईं कसरी भन्न सक्नुहुन्छ?
१० सबै १,४४,००० अभिषिक्त मसीहीहरूले आफूसित परमेश्वरको आत्मा भएको सुस्पष्ट प्रमाण पाएका छन्। यस सन्दर्भमा पावलले यसरी लेखे: “तिमीहरूले धर्म-पुत्र हुने आत्मा पायौ, जसबाट अब्बा, पिता, भनी हामी पुकार्दछौं। हामी परमेश्वरका सन्तान हौं, भनी आत्मासँग, आत्मा आफैले हाम्रा गवाही दिनुहुन्छ। औ सन्तान हौं भनेता हकवाला पनि हौं। परमेश्वरका हकवाला र ख्रीष्टसँग साझे-हकवाला। यदि उहाँसँगै दुःख भोग्छौं भनेता–उहाँसँगै महिमित पनि हुनेछौं।” (रोमी ८:१५-१७) अभिषिक्त मसीहीहरूले आफू स्वर्गमा हुनुहुने पिताका पुत्र हौं भन्ने महसुस गर्छन् र यो नै पुत्रत्वको प्रमुख आभास हो। (गलाती ४:६, ७) स्वर्गीय राज्यमा ख्रीष्टसँगै उत्तराधिकारी हुन आफू परमेश्वरद्वारा आत्मा-अभिषिक्त भइसकेका छन् भनेर तिनीहरू पूर्णतया विश्वस्त छन्। यसमा यहोवाको पवित्र आत्माले निर्णायक भूमिका खेल्छ।
११ यी अभिषिक्त जनहरूमा परमेश्वरको पवित्र आत्मा क्रियाशील रहन्छ। फलस्वरूप, स्वर्गीय आशाबारे परमेश्वरको वचनले केही बताउँदा तिनीहरू आफूमा ती कुराहरू लागू गर्न प्रेरित हुन्छन्। उदाहरणका लागि, तिनीहरूले धर्मशास्त्रमा यहोवाका आत्मिक छोराछोरीहरूबारे पढ्दा ती शब्दहरू तिनीहरूमाथि लागू हुन्छ भनी तुरुन्तै बुझिहाल्छन्। (१ यूहन्ना ३:२) तिनीहरूलाई आफूले “ख्रीष्टमा” र उहाँको मृत्युमा “बप्तिस्मा” लिएको थाह छ। (रोमी ६:३) तिनीहरूलाई आफू परमेश्वरका आत्मिक छोराहरू हुन् अनि तिनीहरू येशूजस्तै मर्नेछन् र स्वर्गीय महिमामा पुनरुत्थान हुनेछन् भन्ने बलियो विश्वास छ।
१२. अभिषिक्त मसीहीहरूमा परमेश्वरको आत्माले कस्तो भावना जगाएको छ?
१२ आत्मिक पुत्रत्वमा अभिषिक्त हुने इच्छा मनमा आफै पलाएर आएको होइन। अहिले पृथ्वीमा विद्यमान कठिनाइहरूबाट वाक्क भएर आत्मा-अभिषिक्त जनहरू स्वर्गमा जान चाहेका पनि होइनन्। (अय्यूब १४:१) बरु, सामान्यतया मानिसहरूले इच्छा नगर्ने आशा तथा इच्छा यहोवाको आत्माले यी अभिषिक्त जनहरूको मनमा जगाउँछ। यस्ता अभिषिक्त जनहरूलाई सुखमय परिवार तथा साथीहरूसँगै प्रमोदवनमा अनन्त जीवन बिताउन पाउनु अति नै रमणीय हुनेछ भनेर थाह छ। तथापि, तिनीहरूको प्रमुख इच्छा त्यस्तो जीवन बिताउनु होइन। अभिषिक्त जनहरूका स्वर्गीय इच्छा तथा आशा यति जोडदार छ कि तिनीहरू सबै पार्थिव प्रत्याशा तथा सम्बन्धहरू त्याग्न स्वेच्छापूर्वक राजी भएका छन्।—२ पत्रुस १:१३, १४.
१३. दोस्रो कोरिन्थी ५:१-५ अनुसार पावलको साँचो “इच्छा” के थियो र यसले आत्मा-अभिषिक्त हुनेहरूको सन्दर्भमा के संकेत गर्छ?
१३ यस्ता व्यक्तिहरूसित ईश्वरप्रदत्त स्वर्गीय जीवनको आशा यति बलियो हुन्छ कि तिनीहरूका भावनाहरू पावलका जस्तै छन्, जसले यस्तो लेखे: “हामीलाई थाह छ, कि हाम्रो पार्थिव डेराजस्तै घर भत्किएमा हातले नबनाएको घर स्वर्गमा हामीलाई परमेश्वरबाट अनन्त भवन मिल्नेछ। किनकि स्वर्गबाटको हाम्रो बास हामीले धारणा गर्न इच्छा गरेर साँच्चै यसमा ता हामी आफूभित्र दिक्क हुन्छौं। यदि यसो हो भनेता, धारण गरेर हामी नाङ्गो भेट्टिनेछैनौं। किनभने हामी यस बासमा हुनेहरू भारीले मिचिएका भई आफूभित्र दिक्क हुन्छौं, किनकि हामी लुगा फुकालिएका हुनालाई होइन, तर लगाएका जस्तो हुनालाई इच्छा गर्दछौं, र त्यो, जोचाहिं मरणशील छ, त्योचाहिं जीवनद्वारा निलिओस्। अब मलाई यस कुराको निम्ति तयार पारिदिने र आत्माको बैना दिने परमेश्वर हुनुहुन्छ।” (२ कोरिन्थी ५:१-५) पावलको साँचो “इच्छा” अमर आत्माको रूपमा पुनरुत्थान भएर स्वर्ग जाने थियो। मानव शरीरलाई संकेत गर्दै तिनले एकदिन भत्केर जाने कमजोर घरलाई उदाहरणको रूपमा चलाए। नश्वर शरीर लिएर यसै पृथ्वीमा बाँचिरहे तापनि यी आत्मा-अभिषिक्त मसीहीहरू “परमेश्वरबाट अनन्त भवन मिल्ने” समय अर्थात् स्वर्गीय जीवनमा अमर, अविनाशी आत्मिक शरीर पाउने उत्सुकतापूर्वक आशा गर्छन्। (१ कोरिन्थी १५:५०-५३) पावलले जस्तै तिनीहरूले इमानदारीपूर्वक यसो भन्नसक्छन्: “हामी हिम्मती भएका छौं, बरू [मानव] शरीरमा अनुपस्थित भएर प्रभुसित [स्वर्गमा] सुबिस्तासँग रहन हामी चाहन्छौं।”—२ कोरिन्थी ५:८.
विशेष करारमा बाँधिएका
१४. स्मरणार्थ उत्सव स्थापना गर्दा येशूले पहिला कुन करारको उल्लेख गर्नुभयो र यसले आत्मिक इस्राएलको सन्दर्भमा कस्तो भूमिका खेल्छ?
१४ आत्मा-अभिषिक्त मसीहीहरूलाई तिनीहरू दुइटा विशेष करारमा बाँधिएका छन् भनी यकिन छ। येशूले आफ्नो मृत्युको स्मरणार्थ उत्सव स्थापित गर्नुहुँदा अखमिरी रोटी र दाखमद्य चलाएर ती दुइमध्ये एउटा उल्लेख गर्नुहुँदै दाखमद्यबारे यसो भन्नुभयो: “यो कचौरा तिमीहरूका निम्ति बगेको मेरो रगतमा भएको नयाँ करार हो।” (लूका २२:२०; १ कोरिन्थी ११:२५) यस नयाँ करारमा साँच्चै सहभागी हुने व्यक्तिहरू को को हुन्? यहोवा परमेश्वर अनि आत्मिक इस्राएलका सदस्यहरू जसलाई यहोवाले स्वर्गीय महिमामा ल्याउने उद्देश्य राख्नुभएको छ। (यर्मिया ३१:३१-३४; गलाती ६:१५, १६; हिब्रू १२:२२-२४) येशूले बलिदानरूपी रगत बगाउनुभएपछि परिचालन हुनथालेको यस करारले यहोवाको नाउँमा राष्ट्रहरूबाट मानिसहरूलाई छानेको छ र यी आत्मा-अभिषिक्त मसीहीहरूलाई अब्राहामका “वंश[को]” भाग बनाइन्छ। (गलाती ३:२६-२९; प्रेरित १५:१४) नयाँ करारले सबै आत्मिक इस्राएलीहरूलाई स्वर्गमा अमर जीवनमा पुनरुत्थान गराएर महिमित पार्छ। “अनन्त करार” भएकोले यसका लाभहरू चिरकालीन हुनेछन्। यस करारले हजार वर्षको दौडान र त्यसपछि पनि कुनै भूमिका खेल्नेछ या छैन समयले नै देखाउनेछ।—हिब्रू १३:२०.
१५. लूका २२:२८-३० अनुरूप येशूका अभिषिक्त अनुयायीहरूलाई कुन करारमा बाँधिन थालियो र कहिले?
१५ यहोवाले ‘मुक्तिमा पुऱ्याउने’ उद्देश्य राख्नुभएका “धेरै सन्तानहरू” व्यक्तिगत रूपमा स्वर्गीय राज्यको निम्ति करारमा बाँधिइसकेका छन्। आफू र आफ्नो पाइलामा हिंड्ने अनुयायीहरूबीचको यस करारको सन्दर्भमा येशूले यसो भन्नुभयो: “तिमीहरू चाहिं मेरो परीक्षामा मसितै रहेकाहरू हौ, औ मेरा पिताले मेरो निम्ति नियुक्त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्त गर्छु, र तिमीहरूले मेरो राज्यमा मेरो टेबलमा खाने र पिउनेछौ, औ इस्राएलका बाह्रै कुलको इन्साफ गरेर सिंहासनहरूमा बस्नेछौ।” (लूका २२:२८-३०) सा.यु. ३३ पेन्तिकोसमा येशूका चेलाहरू पवित्र आत्माद्वारा अभिषिक्त हुँदा राज्य करार स्थापना भयो। यो करार ख्रीष्ट र उहाँको सहशासकहरूबीच सदैव सक्रिय रहनेछ। (प्रकाश २२:५) अतः आत्मा-अभिषिक्त मसीहीहरू नयाँ करारमा र राज्यको निम्ति करारमा बाँधिएका छन् भनी निश्चित छन्। तसर्थ, तुलनात्मक रूपमा यस पृथ्वीमा रहेका शेष अभिषिक्त जनहरूको सानो संख्याले मात्र प्रभुको साँझको भोज मनाउँदा येशूको निष्खोट मानव शरीरलाई चित्रित गर्ने रोटी तथा मृत्युद्वारा बगाउनुभएको सिद्ध रगत चित्रण गर्ने र नयाँ करारलाई मान्यता दिने दाखमद्यमा भाग लिनेछन्।—१ कोरिन्थी ११:२३-२६; प्रहरीधरहरा [अंग्रेजी], फेब्रुअरी १, १९८९, पृष्ठ १७-२० हेर्नुहोस्।
बोलावट भएका, चुनिएका र विश्वासीहरू
१६, १७. (क) मुक्तिमा पुऱ्याइन १,४४,००० सबैले के गर्नुपर्छ? (ख) “दश राजाहरू” को हुन् र तिनीहरूले ख्रीष्टका “भाइहरू[सित]” कस्तो व्यवहार गरिरहेका छन्?
१६ येशूको छुडौतीको बलिदानको पहिलो पूर्तिले १,४४,००० लाई स्वर्गीय जीवनमा बोलाउन र परमेश्वरद्वारा आत्मा-अभिषिक्त भएर चुनिन सम्भव भएको छ। निस्सन्देह, मुक्तिमा पुऱ्याइन तिनीहरूले ‘बोलावट र चुनाव निश्चय गर्नालाई बढ्ता प्रयत्न गर्नुपर्छ’ र मृत्युसम्मै विश्वासी प्रमाणित गर्नुपर्छ। (२ पत्रुस १:१०; एफिसी १:३-७; प्रकाश २:१०) सबै राजनैतिक शक्तिहरूलाई चित्रित गर्ने “दश राजाहरूले” सतावट दिए तापनि पृथ्वीमा बाँकी रहेका शेष अभिषिक्त जनहरूको सानो झुन्ड निष्ठावान् रहेको छ। एक स्वर्गदूतले यसो भने: “यिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन्, र थुमाले तिनीहरूलाई जित्नुहुनेछ। किनकि उहाँ प्रभुहरूका महाप्रभु र राजाहरूका महाराजा हुनुहुन्छ। बोलावट भएका, चुनिएका र विश्वासीहरू जो उहाँका साथमा आउँछन्, उनीहरूले पनि तिनीहरूलाई जित्नेछन्।”—प्रकाश १७:१२-१४.
१७ मानव शासकहरूले “राजाहरूका महाराजा” येशू विरुद्ध केही गर्न सक्दैनन् किनभने उहाँ स्वर्गमा हुनुहुन्छ। तर अझै यस पृथ्वीमा बाँकी रहेका उहाँका “भाइहरू” विरुद्ध तिनीहरू वैरभाव राख्छन्। (प्रकाश १२:१७) त्यो वैरभाव परमेश्वरको युद्ध आरमागेडोनमा अन्त हुनेछ जब “राजाहरूका माहाराजा” र उहाँका “भाइहरू” अर्थात् “बोलावट भएका, चुनिएका र विश्वासीहरू[को]” विजय सुनिश्चित हुन्छ। (प्रकाश १६:१४, १६) त्यतिञ्जेल आत्मा-अभिषिक्त मसीहीहरू अत्यन्तै व्यस्त हुनेछन्। यहोवाद्वारा मुक्तिमा नपुऱ्याउञ्जेल तिनीहरू अहिले के गर्दैछन्?
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ परमेश्वरले कसलाई “मुक्तिमा पुऱ्याउनु” हुन्छ?
◻ “परमेश्वरबाट जन्मेका” भन्नुको अर्थ के हो?
◻ केही मसीहीहरूको सन्दर्भमा ‘आत्माले’ कसरी ‘गवाही दिन्छ?’
◻ आत्मा-अभिषिक्त जनहरू कुन करारमा बाँधिएका छन्?
[पृष्ठ १५-मा भएको चित्र]
सा.यु. ३३ पेन्तिकोसमा स्वर्गीय महिमाको लागि बाटो खोलिएको प्रमाण दिइयो