स्वर्ग र पृथ्वीका कुराहरू गाभ्ने
“हामीलाई उहाँकै इच्छाको . . . अभिप्रायअनुसार, . . . चाहे स्वर्गका, चाहे पृथ्वीका, सबै कुरा ख्रीष्टमा गाभ्नलाई।”—एफिसी १:९, १०.
१. स्वर्ग र पृथ्वीको लागि यहोवाको “अभिप्राय” के हो?
सारा संसारमा शान्ति! यो महान् उद्देश्य “शान्तिका परमेश्वर” यहोवाको हो। (हिब्रू १३:२०) आफ्नो “अभिप्राय” ‘चाहे स्वर्गका, चाहे पृथ्वीका, सबै कुरा ख्रीष्टमा [फेरि] गाभ्नु’ हो भनी उहाँले प्रेरित पावललाई लेख्न लगाउनुभयो। (एफिसी १:९, १०) यस पदमा ‘फेरि गाभ्ने’ भनी अनुवाद गरिएको शब्दको अर्थ के हो? बाइबल विद्धान जे. बि. लाइटफुट भन्छन्: “यी शब्दहरूले ब्रह्माण्डमा सबै कुरा मिल्नेछ भन्ने अर्थ दिन्छ, जसमा नमिल्ने र असंगत तत्त्वहरू कुनै रहनेछैन र ती सबैको मिलनबिन्दु चाहिं ख्रीष्ट हुनुहुन्छ। पाप र मृत्यु, दुःख र असफलता अनि पीडा नामेट हुनेछ।”
“स्वर्गका” कुराहरू
२. गाभिनुपर्ने “स्वर्गका” कुराहरू को हुन्?
२ साँचो मसीहीहरूको उत्कृष्ट आशाबारे प्रेरित पावल एउटै वाक्यमा भन्छन्: “उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।” (२ पत्रुस ३:१३) यहाँ बताइएको ‘नयाँ स्वर्गले’ नयाँ सरकारी अख्तियार अर्थात् मसीही राज्यलाई सङ्केत गर्छ। पावलले एफिसीहरूलाई लेखेको पत्रमा व्यक्त गरेका “स्वर्गका” कुराहरू “ख्रीष्टमा” गाभिनुपर्छ। ती गाभिने “स्वर्गका” कुराहरू ख्रीष्टसित स्वर्गमा शासन गर्न छानिएका सीमित संख्याका मानिसहरू हुन्। (१ पत्रुस १:३, ४) तिनीहरू १,४४,००० अभिषिक्त मसीहीहरू हुन् जो ख्रीष्टको स्वर्गीय राज्यमा उहाँसितै साझे हकदार हुन “पृथ्वीबाट किनिएका” र ‘मानिसहरूमध्येबाट किनिएकाहरू’ हुन्।—प्रकाश ५:९, १०; १४:३, ४; २ कोरिन्थी १:२१; एफिसी १:११; ३:६.
३. पृथ्वीमा छँदा नै अभिषिक्त जनहरूलाई ‘स्वर्गीय स्थानहरूमा बसालियो’ भनी हामी कसरी भन्न सक्छौं?
३ यहोवाका आत्मिक छोराहरू हुन अभिषिक्त मसीहीहरू पवित्र आत्माद्वारा फेरि जन्मन्छन्। (यूहन्ना १:१२, १३; ३:५-७) यहोवाले तिनीहरूलाई “धर्म-पुत्र” बनाउनुभएकोले तिनीहरू येशूका भाइहरू बन्छन्। (रोमी ८:१५; एफिसी १:५) त्यसैले त पृथ्वीमा छँदा नै तिनीहरूलाई ‘ख्रीष्ट येशूमा उहाँसँगसँगै उठाइयो, र उहाँसँगसँगै स्वर्गीय स्थानहरूमा बसालियो’ भनिएको छ। (एफिसी १:३; २:६) तिनीहरूले यो उच्च आध्यात्मिक स्थान प्राप्त गर्छन् किनकि तिनीहरू “प्रतिज्ञाको पवित्र आत्माले . . .. छाप” लगाइएका हुन्। यसरी पवित्र आत्माले छाप लगाइनु नै स्वर्गमा तिनीहरूको लागि साँचेर राखिएको “परमेश्वरको निजी सम्पत्तिको उद्धारको [तिनीहरूको] अधिकारको बैना हो।” (एफिसी १:१३, १४; कलस्सी १:५) त्यसैले यहोवाले संख्या तोकिसक्नुभएका गाभिनुपर्ने ‘स्वर्गका’ कुराहरू तिनीहरू नै हुन्।
गाभ्ने कामको थालनी
४. ‘स्वर्गका’ कुराहरू गाभ्ने काम कहिले र कसरी सुरु भयो?
४ यहोवाको “प्रबन्ध” अर्थात् कामकुराको बन्दोबस्त मिलाउने क्रममा ‘स्वर्गका’ कुराहरू गाभ्ने काम “समयको पूर्णता” अर्थात् यहोवाले तोक्नुभएको समयमै सुरु हुने थियो। (एफिसी १:१०) इस्वी संवत् ३३ पेन्तिकोसमा त्यो समय आयो। त्यस दिन प्रेरितहरू र अरू चेलाहरू जहाँ पुरुष र स्त्रीहरू पनि थिए, तिनीहरूमाथि पवित्र आत्मा खन्याइयो। (प्रेरित १:१३-१५; २:१-४) यसले मसीही मण्डली र आध्यात्मिक इस्राएल अर्थात् ‘परमेश्वरका इस्राएलको’ नयाँ राष्ट्र अर्थात् नयाँ जातिको जन्म भयो र नयाँ करार पनि लागू भयो भनेर साबित गऱ्यो।—गलाती ६:१६; हिब्रू ९:१५; १२:२३, २४.
५. प्राकृतिक इस्राएलको ठाउँमा यहोवाले किन नयाँ “जाति” बनाउनुभयो?
५ प्राकृतिक इस्राएलसित बाँधिएको व्यवस्थाको करारले स्वर्गमा सधैंको लागि सेवा गर्ने “पूजाहारीहरूको एक राज्य, र एक पवित्र जाति” खडा भएन। (प्रस्थान १९:५, ६) येशूले यहूदी धर्मगुरुहरूलाई भन्नुभयो: “परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यसबाट फल फलाउँछ।” (मत्ती २१:४३) त्यो जाति अर्थात् आध्यात्मिक इस्राएल नयाँ करारमा सहभागी गराइएको अभिषिक्त मसीहीहरू मिलेर बनेको छ। तिनीहरूलाई सम्बोधन गर्दै प्रेरित पत्रुसले यस्तो लेखे: “तिमीहरू ता चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ, र अन्धकारबाट उहाँको गजबको ज्योतिमा तिमीहरूलाई बोलाउनेको सर्वश्रेष्ठता तिमीहरू देखाओ। तिमीहरू बितेका समयमा प्रजा थिएनौ, तर अहिले परमेश्वरका प्रजा भएका छौ, कृपा पाएका थिएनौ, तर अहिले पाएका छौ।” (१ पत्रुस २:९, १०) अब प्राकृतिक इस्राएल यहोवाको करारमा रहेन। (हिब्रू ८:७-१३) येशूले भविष्यवाणी गर्नुभएझैं मसीही राज्यको भाग हुने सुअवसर तिनीहरूबाट खोसियो र आध्यात्मिक इस्राएलका १,४४,००० सदस्यहरूलाई दिइयो।—प्रकाश ७:४-८.
राज्य करारमा समावेश गराउँदै
६, ७. आफ्ना आत्मा-अभिषिक्त भाइहरूसित येशूले कस्तो विशेष करार बाँध्नुभयो र त्यस करारमा बाँधिएपछि तिनीहरूले के गर्छन्?
६ आफ्नो मृत्युको स्मरणार्थ स्थापना गर्नुभएको साँझ येशूले आफ्ना विश्वासी प्रेरितहरूलाई भन्नुभयो: “तिमीहरू चाहिं मेरो परीक्षामा मसितै रहेकाहरू हौ, औ मेरा पिताले मेरो निम्ति नियुक्त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य [करार] नियुक्त गर्छु, र तिमीहरूले मेरो राज्यमा मेरो टेबलमा खाने र पिउनेछौ, औ इस्राएलका बाह्रै कुलको इन्साफ गरेर सिंहासनहरूमा बस्नेछौ।” (लूका २२:२८-३०) “मृत्युसम्मै विश्वासी” रहेका अनि ‘जितेका’ १,४४,००० आत्मा-अभिषिक्त आफ्ना भाइहरूसित बाँधिएको विशेष करारलाई येशू यहाँ संकेत गर्दै हुनुहुन्थ्यो।—प्रकाश २:१०; ३:२१.
७ सीमित संख्याको यस समूहले रगत र मासुको शरीर लिएर पृथ्वीमा सधैंभरि बाँच्ने आशा त्याग्छन्। तिनीहरूले सिंहासनमा बसेर ख्रीष्टसितै स्वर्गबाट मानिसमाथि शासन गर्नेछन्। (प्रकाश २०:४, ६) अब ती अभिषिक्तहरूलाई मात्र लागू हुने अनि ‘अरू भेडाले’ स्मरणार्थका प्रतीकहरू नखानु र नपिउनुका कारणहरू के-के हुन्, सो प्रमाणित गर्ने अन्य शास्त्रपदहरू जाँचौं।—यूहन्ना १०:१६.
८. रोटी खाएर अभिषिक्तहरूले कुन कुरा देखाउँछन्? (पृष्ठ १३ को पेटी हेर्नुहोस्।)
८ ती अभिषिक्तहरू ख्रीष्टको कष्टमा सहभागी हुन्छन् र उहाँ जस्तै मर्न तयार हुन्छन्। त्यस समूहको एक सदस्यको हैसियतमा “ख्रीष्टलाई प्राप्त गरूँ भनेर . . . उहाँको पुनरुत्थानको शक्ति, र उहाँको शासनाको सम्भागी हुन” पावलले जस्तोसुकै त्याग गर्न तयार रहेको कुरा बताए। हो, पावल येशूजस्तै “मृत्युसम्मै” आफूलाई अर्पण गर्न तयार थिए। (फिलिप्पी ३:८, १०) धेरै अभिषिक्त मसीहीहरूले आफ्नो शरीरमा “येशूको मरणावस्था” धारण गरेका छन् अर्थात् येशूले जस्तै मृत्युसम्मै शासना भोगेका छन्।—२ कोरिन्थी ४:१०.
९. स्मरणार्थको रोटीले कस्तो शरीरलाई चित्रण गर्छ?
९ प्रभुको साँझको भोज स्थापना गर्दा येशूले भन्नुभयो: “यो मेरो शरीर हो।” (मर्कूस १४:२२) केही समयपछि नै पिटिने र रगतपच्छे हुने आफ्नै शरीरलाई उहाँ सङ्केत गर्दै हुनुहुन्थ्यो। खमिर नहालिएको रोटी उहाँको शरीरको सुहाँउदो प्रतीक थियो। किन? किनकि बाइबलमा खमिरले पाप वा दुष्टतालाई सङ्केत गर्छ। (मत्ती १६:४, ११, १२; १ कोरिन्थी ५:६-८) येशू सिद्ध हुनुहुन्थ्यो र उहाँको मानव शरीर पापरहित थियो। त्यो सिद्ध शरीर उहाँले प्रायश्चितको बलिदानको रूपमा अर्पण गर्नुहुने थियो। (हिब्रू ७:२६; १ यूहन्ना २:२) स्वर्गीय जीवन होस् वा प्रमोदवनरूपी पृथ्वीमा अनन्त जीवनको आशा राख्नेहरू, सबै विश्वासी मसीहीहरूले येशूको बलिदानबाट लाभ उठाउने थिए।—यूहन्ना ६:५१.
१०. स्मरणार्थमा दाखमद्य पिउनेहरू कसरी ‘ख्रीष्टको रगतमा सहभागी’ हुन्छन्?
१० स्मरणार्थमा अभिषिक्त मसीहीहरूले पिउने दाखमद्यबारे पावलले लेखे: “आशिष्का कचौराको निम्ति हामी आशिष् माग्छौं, के त्यो ख्रीष्टको रगतमा हुने सहभागिता होइन र?” (१ कोरिन्थी १०:१६, NRV) स्मरणार्थमा दाखमद्य पिउनेहरू कसरी ‘ख्रीष्टको रगतको सहभागी’ हुन्छन्? छुडौतीको बलिदानमा निश्चय नै तिनीहरूको कुनै सहभागिता छैन किनकि तिनीहरू आफैलाई छुटकारा चाहिन्छ। ख्रीष्टको रगतले छुटकारा दिन सक्छ भनेर मानिलिएमा तिनीहरूको पाप क्षमा हुनेछ र स्वर्गीय जीवन बिताउन तिनीहरू धर्मी ठहरिनेछन्। (रोमी ५:८, ९; तीतस ३:४-७) ख्रीष्टले बगाउनुभएको रगतले गर्दा ख्रीष्टका ती १,४४,००० साझे हकदारहरू “पवित्र” छन्। अलग्गै छुट्ट्याइएका छन्। पापबाट स्वच्छ पारिएर “पवित्र जनहरू” भएका छन्। (हिब्रू १०:२९; दानियल ७:१८, २७; एफिसी २:१९) हो, आफूले बगाएको रगतद्वारा ख्रीष्टले “हरेक कुल, भाषा, मानिस र जातिलाई हाम्रा परमेश्वरको निम्ति किन्नुभयो, औ तिनीहरूलाई हाम्रा परमेश्वरको निम्ति राज्य र पूजाहारी हुने तुल्याउनुभयो, तिनीहरूले पृथ्वीमाथि राज्य गर्छन्।”—प्रकाश ५:९, १०.
११. अभिषिक्त मसीहीहरूले स्मरणार्थको दाखमद्य पिएर कुन कुरा सङ्केत गर्छ?
११ येशूले आफ्नो मृत्युको स्मरणार्थ स्थापना गर्नुहुँदा दाखमद्यको कचौरा आफ्ना विश्वासी प्रेरितहरूलाई दिनुभयो र भन्नुभयो: “तिमीहरू सबैले यसबाट पिओ। किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैको निम्ति पापको प्रायश्चितको लागि बहाइन्छ।” (मत्ती २६:२७, २८) जसरी गोरु र बोकाको रगतले परमेश्वर र इस्राएल राष्ट्रबीच बाँधिएको व्यवस्थाको करार वैध ठहरियो, त्यसरी नै येशूको रगतद्वारा यहोवाले आध्यात्मिक इस्राएलसित बाँध्नुहुने नयाँ करार वैध ठहरिने थियो। त्यो नयाँ करार इस्वी संवत् ३३ पेन्तिकोसमा वैध ठहरियो। (प्रस्थान २४:५-८; लूका २२:२०; हिब्रू ९:१४, १५) “नयाँ करारको . . . रगत[लाई]” सङ्केत गर्ने दाखमद्य पिएर ती अभिषिक्तहरूले आफू नयाँ करारमा समावेश भएको अनि यसबाट लाभ पनि उठाइरहेको कुरा देखाउँछन्।
१२. अभिषिक्त मसीहीहरू कसरी ख्रीष्टको मृत्युमा बप्तिस्मा लिन्छन्?
१२ ती अभिषिक्त मसीहीहरूलाई अर्को एउटा कुरा पनि सम्झना दिलाइन्छ। येशूले विश्वासी चेलाहरूलाई भन्नुभयो: “जुन कचौरा म पिउँछु, त्यो तिमीहरू पिउनेछौ, र जुन बप्तिस्मा मैले लिएको छु, त्यो बप्तिस्मा तिमीहरू लिनेछौ।” (मर्कूस १०:३८, ३९) मसीहीहरू “[ख्रीष्टको] मृत्युमा बप्तिस्मा” लिन्छन् भनी प्रेरित पावलले पछि बताए। (रोमी ६:३) अभिषिक्त मसीहीहरूको जीवन नै एउटा बलिदान हो। पृथ्वीमा सधैंभरि बाँच्ने आशा तिनीहरूले त्याग्ने भएकोले तिनीहरूको मृत्यु साँच्चै एउटा बलिदान हो। स्वर्गमा ख्रीष्टसित राजाको रूपमा “राज्य” गर्न विश्वासी भई मरेर आत्मिक रूपमा पुनरुत्थान हुँदा यी अभिषिक्त मसीहीहरूले ख्रीष्टको मृत्युमा बप्तिस्मा लिने काम पूरा गर्छन्।—२ तिमोथी २:१०-१२; रोमी ६:५; १ कोरिन्थी १५:४२-४४, ५०.
प्रतीकहरू खाने र पिउने
१३. पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्नेहरूले स्मणार्थका प्रतीकहरू खाँदैनन् र पिउँदैनन् तर स्मरणार्थमा उपस्थित भने हुन्छन्, किन?
१३ स्मरणार्थमा पास गरिने रोटी र दाखमद्यले यी सबै कुरा समेटेकोले पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्नेहरूले ती प्रतीकहरू खानु र पिउनु निश्चय नै गलत हो भनेर स्पष्ट हुन्छ। पृथ्वीमा बाँच्ने आशा राख्नेहरू आफू ख्रीष्टको शरीरको अभिषिक्त सदस्य होइन र येशू ख्रीष्टसितै शासन गर्न यहोवाले तोक्नुभएको नयाँ करारमा समावेश छैन भन्ने कुरामा पक्का हुन्छन्। ‘कचौराले’ नयाँ करारलाई सङ्केत गर्ने भएकोले नयाँ करारमा समावेश भएकाहरूले मात्र प्रतीक खान्छन् र पिउँछन्। परमेश्वरको राज्यमा सिद्ध शरीर पाएर सधैंभरि बाँच्ने आशा राख्नेहरूले न ख्रीष्टको मृत्युमा बप्तिस्मा लिन्छन्। न त तिनीहरूलाई स्वर्गमा उहाँसित शासन गर्न नै बोलाइन्छ। यदि तिनीहरूले प्रतीक खाएमा र पिएमा आफ्नो हक नभएको कुरामा हात राखिरहेका हुन्छन्। यसकारण प्रतीकहरू नखाए र नपिए पनि कृतज्ञ दर्शक भएर तिनीहरू स्मारणार्थमा उपस्थित हुन्छन्। आफ्नो पुत्रद्वारा यहोवाले गर्नुभएका कार्यहरू लगायत ख्रीष्टले बगाउनुभएको रगतको आधारमा दिइने क्षमाको लागि तिनीहरू मनैदेखि आभारी हुन्छन्।
१४. रोटी खाएर र दाखमद्य पिएर अभिषिक्त मसीहीहरू कसरी आध्यात्मिक तवरमा बलिया हुन्छन्?
१४ स्वर्गमा ख्रीष्टसितै शासन गर्न बोलाइएकाहरूको थोरै संख्यामा अन्तिम छाप लगाउने काम सिद्धिनै लागेको छ। स्मरणार्थको प्रतीक खाएर र पिएर पृथ्वीमा आफ्नो जीवनको अन्तिम घडीसम्म बलिदानरूपी जीवन बिताएर तिनीहरू आध्यात्मिक रूपमा बलिया हुन्छन्। अनि ख्रीष्टको शरीरका सदस्यहरूको रूपमा आफ्ना अभिषिक्त सँगी भाइबहिनीहरूसित एकता महसुस गर्छन्। प्रतीकको रूपमा रोटी खाँदा र दाखमद्य पिउँदा तिनीहरूलाई मृत्युसम्मै विश्वासी रहनुपर्ने दायित्व बोध हुन्छ।—२ पत्रुस १:१०, ११.
“पृथ्वीका” कुराहरू गाभ्ने
१५. अभिषिक्त मसीहीहरूको समर्थनमा को जुटिरहेका छन्?
१५ सन् १९३० दशकको बीचतिर देखि अभिषिक्तहरूको समर्थनमा दिनप्रति दिन बढ्दै गइरहेको “अरू भेडा” जुटिरहेका छन्। तिनीहरू ‘सानो बगालका’ सदस्य होइनन् र पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्छन्। (यूहन्ना १०:१६; लूका १२:३२; जकरिया ८:२३) सब जातिहरूलाई साक्षीको निम्ति “राज्यको सुसमाचार” प्रचार गर्ने काममा अमूल्य सहयोग पुऱ्याउँदै तिनीहरू आफूलाई ख्रीष्टका भाइहरूका वफादार सँगी साबित गर्छन्। (मत्ती २४:१४; २५:४०) यसरी प्रचार-कार्यमा लागिरहेर ख्रीष्ट राष्ट्रहरूको न्याय गर्न आउनुहुँदा आफूलाई “दाहिने हातपट्टि” रहेका उहाँका ‘भेडाहरू’ साबित गर्दै तिनीहरू निगाह-पात्र बन्नेछन्। (मत्ती २५:३३-३६, ४६) ख्रीष्टको रगतमा विश्वास गरेकाले तिनीहरू “ठूलो भीड” बन्छन् र ‘महा सङ्कष्टबाट’ बच्नेछन्।—प्रकाश ७:९-१४.
१६. ‘पृथ्वीका’ कुराहरूमा को-को हुनेछन् र तिनीहरूले कसरी ‘परमेश्वरका सन्तान’ बन्ने मौका पाउनेछन्?
१६ ती १,४४,००० माथि अन्तिम छाप लगाइसकेपछि पृथ्वीमा रहेको शैतानको दुष्ट रीतिरिवाजविरुद्ध विनाशको “बतास” छोडिनेछ। (प्रकाश ७:१-४) ख्रीष्ट र उहाँका सँगी राजा-पूजाहारीहरूको हजार वर्षीय शासनमा पुनरुत्थान भएका असंख्य अरू मानिसहरू त्यो ठूलो भीडमा सामेल हुनेछन्। (प्रकाश २०:१२, १३) तिनीहरूले सदाको लागि मसीही राजा ख्रीष्ट येशूको पार्थिव प्रजा बन्ने अवसर पाउनेछन्। हजार वर्षीय शासनको अन्तमा ‘पृथ्वीका’ यी सबैको अन्तिम परीक्षा हुनेछ। विश्वासी साबित हुनेहरू चाहिं पृथ्वीमा ‘परमेश्वरका सन्तान’ हुनेछन्।—एफिसी १:१०; रोमी ८:२१; प्रकाश २०:७, ८.
१७. यहोवाको उद्देश्य कसरी पूरा हुनेछ?
१७ यसरी आफ्नो सर्वोत्कृष्ट बुद्धिमानी “प्रबन्ध” वा कामकुराको व्यवस्था मिलाउने तरिकाद्वारा यहोवाले ‘चाहे स्वर्गका, चाहे पृथ्वीका, सबै कुरा ख्रीष्टमा गाभ्ने’ आफ्नो उद्देश्य पूरा गर्नुहुनेछ। स्वर्ग र पृथ्वीमा रहेका सबै बौद्धिक प्राणीहरूले महान् उद्देश्यकर्ता यहोवाको मायालु सार्वभौमिकतामा स्वेच्छाले आफैलाई अपर्ण गर्नेछन् र सारा संसारभरि छाउने शान्तिमा एक भई रमाउनेछन्।
१८. अभिषिक्त मसीहीहरू र तिनीहरूका सँगीहरूले स्मरणार्थमा उपस्थित भएर कसरी लाभ उठाउनेछन्?
१८ अप्रिल १२, २००६ मा अभिषिक्त जनहरूको सानो समूह र तिनीहरूका सँगीहरू अर्थात् लाखौं अरू भेडाहरू जम्मा भएर विश्वासलाई दह्रो बनाउने कस्तो ठूलो अवसर! येशूले दिनुभएको यस आज्ञाअनुरूप तिनीहरूले ख्रीष्टको मृत्युको स्मरणार्थ मनाउनेछन्: “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९) आफ्नो प्रिय पुत्र ख्रीष्ट येशूमार्फत यहोवाले लगाउनुभएको गुनलाई उपस्थित सबैले सम्झनुपर्छ।(w06 2/15)
पुनरावलोकन गर्दा
• स्वर्ग र पृथ्वीका कुराहरूको लागि यहोवाको उद्देश्य के हो?
• ‘स्वर्गका’ कुराहरू को हुन् र तिनीहरूलाई कसरी गाभिएको छ?
• ‘पृथ्वीका’ कुराहरू को हुन् र तिनीहरूको आशा कस्तो छ?
[पृष्ठ १३-मा भएको पेटी]
“ख्रीष्टको शरीर”
पावलले १ कोरिन्थी १०:१६, १७ मा ख्रीष्टका आत्मा-अभिषिक्त भाइहरूको लागि रोटीको महत्त्वबारे बताउँदा ‘शरीरलाई’ विशेष अर्थमा प्रयोग गरे। उनले भने: “त्यो रोटी जसलाई हामी भाँच्छौं, के त्यो ख्रीष्टको शरीरको सम्भागी होइन र? किनकि हामी धेरै छौं, तापनि एउटै रोटी–एउटै शरीर हौं, किनभने हामी सबै एउटै रोटीबाट खान्छौं।” अभिषिक्त मसीहीहरूले स्मरणार्थको रोटी खाएर अभिषिक्तहरूको समूहबीचको एकता देखाउँछन्, मानौं तिनीहरू शरीरका विभिन्न अङ्ग हुन् र शिर चाहिं ख्रीष्ट हुनुहुन्छ।—मत्ती २३:१०; १ कोरिन्थी १२:१२, १३, १८.
[पृष्ठ १३-मा भएका चित्रहरू]
स्मरणार्थमा अभिषिक्त मसीहीहरूले मात्र किन रोटी खान्छन् र दाखमद्य पिउँछन्?
[पृष्ठ १५-मा भएको चित्र]
यहोवाको प्रबन्धद्वारा स्वर्ग र पृथ्वीका सारा प्राणीहरू एकतामा बाँधिनेछन्