बेला र समय यहोवाको हातमा छ
“पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको बेला वा समय जान्ने तिमीहरूको काम होइन।”—प्रेरित १:७, नयाँ संशोधित संस्करण।
१. प्रेरितहरूले सोधेका सामयिक प्रश्नहरूको जवाफ येशूले कसरी दिनुभयो?
मसीहीजगत् तथा पृथ्वीभरि “गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने” मानिसहरूले यो दुष्ट रीतिरिवाजको अन्त कहिले हुनेछ र त्यसको ठाउँमा परमेश्वरको धार्मिक संसार कहिले आउनेछ भनेर सोध्नु स्वाभाविकै हो। (इजकिएल ९:४; २ पत्रुस ३:१३) येशूको मृत्यु हुनुभन्दा केही समयअघि र पुनरुत्थान भइसक्नु भएपछि चेलाहरूले उहाँलाई यस्तै सामयिक प्रश्नहरू सोधे। (मत्ती २४:३; प्रेरित १:६) तथापि, जवाफ दिनुहुँदा येशूले हिसाब गरेर मिति तोक्ने माध्यम भने तिनीहरूलाई दिनुभएन। एक पटक चाहिं उहाँले तिनीहरूलाई संयुक्त चिह्न दिनुभयो र अर्को पटक ‘पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको बेला वा समय जान्ने काम तिनीहरूको होइन’ भन्नुभयो।—प्रेरित १:७, नयाँ संशोधित संस्करण।
२. पिताले तोक्नुभएको अन्तको दिनमा हुने घटनाहरूको समय येशूलाई सधैं थाह हुँदैन भनी कसरी भन्न सकिन्छ?
२ यहोवाको एक मात्र पुत्र हुनुभए तापनि येशूलाई पिताले कुन समयमा के गर्नुहुन्छ सधैं थाह हुँदैन। अन्तिम दिनबारे भविष्यवाणी गर्नुहुँदा येशूले नम्रतासाथ स्वीकार्नुभयो: “त्यस दिन र घड़ीको विषयमा कसैले जान्दैन, नता स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र।” (मत्ती २४:३६) यो दुष्ट रीतिरिवाज नाश हुने निश्चित समय पिता आफैले प्रकट नगर्नुहुञ्जेल येशू धीरजी भई पर्खन राजी हुनुहुन्थ्यो।a
३. येशूले परमेश्वरको उद्देश्यसम्बन्धी सोधिएका प्रश्नहरूको जवाफ दिनुभएको तरिकाबाट हामी के सिक्नसक्छौं?
३ येशूले परमेश्वरको उद्देश्य पूरा हुँदा हुने घटनाहरूको सम्बन्धमा सोधिएका प्रश्नहरूको जवाफ जुन तरिकाबाट दिनुभयो, त्यसबाट दुइटा निष्कर्ष निकाल्न सकिन्छ। पहिलो, यहोवाको समय तालिका छ र दोस्रो, त्यो समय तालिका उहाँले मात्र तोक्नुहुन्छ। त्यसैकारण, उहाँका सेवकहरूले उहाँको बेला वा समयबारे पहिल्यै समय तोकेर जानकारी दिइएको आशा गर्न सक्दैनन्।
यहोवाको बेला र समय
४. प्रेरित १:७ मा “बेला” र “समय” भनेर अनुवाद गरिएका युनानी शब्दहरूको अर्थ के हुन्?
४ “बेला” र “समय” को अर्थ के हो? प्रेरित १:७ मा लिपिबद्ध येशूका शब्दहरूमा समयका दुई पक्षहरू समावेश छन्। “बेला” भनी अनुवाद गरिएको युनानी शब्दको अर्थ “समयको हद,” (लामो वा छोटो) हो। केही खास घटनाहरूद्वारा किटान गरिएको वा तोकिएको समय, कुनै खास ऋतु वा अवधि अर्थ बुझाउने अनुवादित शब्द “समय” हो। यी दुई मूल शब्दहरूको सम्बन्धमा डब्लू. इ. भाइन भन्छन्: “प्रेरित १:७ मा बेलाले (क्रोनोस) लामो समयको अवधि र समयले (काइरोस) केही खास घटनाहरूद्वारा अलग देखिने युगहरूलाई ‘पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको छ।’ ”
५. भ्रष्ट संसार नाश गर्ने आफ्नो उद्देश्यबारे परमेश्वरले नूहलाई कहिले जानकारी दिनुभयो र नूहले कुन दुइटा काम पूरा गरे?
५ जलप्रलयअघि मानव तथा मानव रूप धर्ने विद्रोही स्वर्गदूतहरूले भ्रष्ट पारेको संसारको समय परमेश्वरले १२० वर्ष तोक्नुभयो। (उत्पत्ति ६:१-३) त्यतिखेर धर्मी नूह ४८० वर्षका थिए। (उत्पत्ति ७:६) त्यतिञ्जेल तिनको छोराछोरी जन्मिसकेका थिएनन् र यसको २० वर्षसम्म तिनले छोराछोरी जन्माएका थिएनन्। (उत्पत्ति ५:३२) धेरै वर्षपछि, नूहका छोराहरू जवान भइसकेर बिहे गरिसकेपछि मात्र परमेश्वरले यस पृथ्वीबाट दुष्टतालाई हटाउने आफ्नो उद्देश्य नूहलाई बताउनुभयो। (उत्पत्ति ६:९-१३, १८) नूहलाई जहाज बनाउने र प्रचार गर्ने दुइटा जिम्मेवारी सुम्पिए तापनि यहोवाले आफ्नो समय तालिका प्रकट गर्नुभएन।—उत्पत्ति ६:१४; २ पत्रुस २:५.
६. (क) समय यहोवाकै हातमा छोडिदिएको कुरा नूहले कसरी देखाए? (ख) हामी कसरी नूहको उदाहरण पछ्याउनसक्छौं?
६ दशकौं, हुनसक्छ, आधा शताब्दीसम्म “नूहले त्यसै गरे—परमेश्वरले तिनीलाई आज्ञा गरेबमोजिम तिनले सबै गरे।” निश्चित मिति थाहै नभए तापनि “विश्वासैबाट” नूहले त्यसै गरे। (उत्पत्ति ६:२२; हिब्रू ११:७) यहोवाले नूहलाई जलप्रलय कहिले हुने हो, एक हप्ताअघि मात्र बताउनुभयो। (उत्पत्ति ७:१-५) यहोवामाथिको पूर्ण भरोसा र विश्वासले नूहलाई समय परमेश्वरकै हातमा छोडिदिन सक्षम बनायो। जलप्रलयको बेला यहोवाले रक्षा गर्नुभएर जहाजबाट स्वच्छ पृथ्वीमा उत्रन पाउँदा नूह साह्रै कृतज्ञ भएका हुनुपर्छ! हामीले पनि यस्तै छुटकारा पाउने हुँदा परमेश्वरमा त्यस्तै भरोसा राख्नुपर्ने हो, होइन र?
७, ८. (क) जातिहरू तथा विश्वशक्तिहरू कसरी अस्तित्वमा आए? (ख) यहोवाले कुन कुन तरिकामा ‘मानिसहरूका निम्ति ठहराउनुभएको समय र बासका सीमानाहरू निश्चय गर्नुभयो’?
७ जलप्रलयपछि नूहका अधिकांश सन्ततिले यहोवाको साँचो उपासना त्यागे। एकै ठाउँमा डेरा जमाउने विचारले तिनीहरूले शहर र झूटो उपासनाको निम्ति एउटा धरहरा बनाउन थाले। अब चाहिं हस्तक्षेप गर्ने बेला भो भनेर यहोवाले निर्णय गर्नुभयो। उहाँले तिनीहरूको भाषा खलबल्याइ दिनुभयो र “त्यहींबाट [बाबेलबाट] तिनीहरूलाई जम्मै पृथ्वीभरि तितर-बितर पारिदिनुभयो।” (उत्पत्ति ११:४, ८, ९) पछि ती भिन्नाभिन्नै भाषाहरू जाति जातिमा परिणत भए। अनि तीमध्ये कुनै कुनैले अन्यजातिहरूलाई आफ्नो वशमा पारेर प्रान्तीय शक्ति र विश्वशक्तिसमेत बने।—उत्पत्ति १०:३२.
८ आफ्नो उद्देश्य पूरा गर्नका लागि कहिलेकाहीं परमेश्वरले देशहरूको सिमाना तोक्नुका साथै कुन राष्ट्रले कुन बेला स्थानीय इलाकामा वा विश्वशक्तिको रूपमा प्रभुत्व जमाउनेछ, त्यो निधो गर्नुहुन्थ्यो। (उत्पत्ति १५:१३, १४, १८-२१; प्रस्थान २३:३१; व्यवस्था २:१७-२२; दानियल ८:५-७, २०, २१) एथेन्सका युनानी बुद्धिजीवीहरूसित कुरा गर्दा प्रेरित पावलले यहोवाको बेला र समयको यही पक्षलाई संकेत गर्दैथिए: “जुन परमेश्वरले संसार र त्यसमा भएका यावत् थोक बनाउनुभयो, . . . मानिसहरूका निम्ति ठहराएको समय र बासका सीमानाहरू निश्चय गरेर पृथ्वीको सतहमाथि बास गर्नालाई उहाँले एउटै मानिसबाट हरेक जातिलाई बनाउनुभयो।”—प्रेरित १७:२४, २६.
९. राजाहरूको सन्दर्भमा यहोवाले कसरी ‘समय र ऋतुहरू परिवर्तन’ गर्नुभयो?
९ यसको अर्थ यहोवा सम्पूर्ण राष्ट्रहरूको हारजित र राजनैतिक उथलपुथलको लागि जिम्मेवार हुनुहुन्न। यद्यपि, उहाँले चाहनुभएमा आफ्नो उद्देश्य पूरा गर्न हस्तक्षेप गर्नुहुन्छ। यसकारण, बेबिलोनी विश्वशक्ति पतन भएर त्यसको ठाउँमा मादी र फारसीहरूले शासन गरेको प्रत्यक्ष देख्ने सुअवसर पाउनै लागेका दानियल अगमवक्ताले यहोवाबारे यसो भने: “उहाँलेनै समय र ऋतुहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँलेनै राजाहरूलाई हटाउनु र बसाल्नुहुन्छ। उहाँले ज्ञानीहरूलाई ज्ञान दिनुहुन्छ, र समझदारहरूलाई बुद्धि दिनुहुन्छ।”—दानियल २:२१; यशैया ४४:२४–४५:७.
“समय नजीक आएको थियो”
१०, ११. (क) अब्राहामका सन्ततिलाई बन्धनबाट छुटाउने समय यहोवाले कतिअघि नै तोकिसक्नुभएको थियो? (ख) छुटकारा पाउने निश्चित समय इस्राएलीहरूलाई थाह थिएन भनी केले संकेत गर्छ?
१० यहोवाले मिश्री विश्वशक्तिका राजालाई बेइज्जत गर्ने र अब्राहामका सन्तानलाई दासत्वबाट छुटकारा दिने समय चार शताब्दीअघि नै तोकिदिनुभएको थियो। आफ्नो उद्देश्य अब्राहामलाई प्रकट गर्नुहुँदै परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभयो: “यो निश्चय जानिराख् कि तेरा सन्तानहरू त्यस देशमा प्रवासी भएर बस्नेछन्, जुन देश तिनीहरूको होइन, र त्यस देशका मानिसहरूका कमारा-कमारी हुनेछन्, औ चार सय वर्षसम्म तिनीहरू थिचोमिचोमा पर्नेछन्। तर तिनीहरू जुन जातिको दास बन्नेछन् उनीहरूका पनि म इन्साफ गर्नेछु, र पछिबाट तिनीहरू धेरै धन-सम्पत्ति लिएर निस्किआउनेछन्।” (उत्पत्ति १५:१३, १४) सभाघरमा सारांशमा इस्राएलको इतिहास बताउँदा स्टिफनसले यही ४०० वर्षको समयावधिलाई संकेत गर्दै यसो भने: “जसै परमेश्वरले अब्राहामलाई करार गरेको समय नजीक आएको थियो, तब ती मानिसहरू मिश्रमा धमाधम संख्यामा बढ़दै गए, जहिलेसम्म मिश्र देशमा यूसुफलाई नचिन्ने अर्को राजा खड़ा भएन।”—प्रेरित ७:६, १७, १८.
११ यो नयाँ फिरऊनले इस्राएलीहरूलाई दास बनाएर तुच्छ तुल्याए। मोशाले उत्पत्तिको पुस्तक लेखिसकेका थिएनन् तैपनि यहोवाले अब्राहामसित गर्नुभएको प्रतिज्ञा मौखिक वा लिखित रूपमा हस्तान्तरण गरिएको हुनसक्छ। तथापि, यसको बावजूद आफूले पाएको जानकारीले इस्राएलीहरूलाई त्यो थिचोमिचोबाट छुटकारा पाउने मिति तोक्न दिएको जस्तो देखिंदैन। तिनीहरूलाई छुटाउने समय परमेश्वरलाई थाह थियो तर स्पष्टतः दुःख पाइरहेका इस्राएलीहरूलाई यो कुरा थाह दिइएन। हामी पढ्छौं: “धेरै दिन बितेपछि मिश्रका राजा मरे। औ इस्राएली जातिले दासत्वको कारण सुस्केरा हालेर पुकारा गर्नलागे। दासत्वको बन्धनमा तिनीहरूले गरेको पुकारा परमेश्वरकहाँ पुग्यो। परमेश्वरले तिनीहरूको सुस्केरा सुन्नुभयो, र अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो। अनि परमेश्वरले इस्राएलीहरूमाथि नजर गर्नुभयो, र उहाँले तिनीहरूको अवस्था थाह पाउनुभयो।”—प्रस्थान २:२३-२५.
१२. मोशाले परमेश्वरको बेलाअघि नै काम गरे भनी स्टिफनसले कसरी देखाए?
१२ स्टिफनसको सारांशबाट पनि छुटकारा पाउने निर्दिष्ट समय इस्राएलीहरूलाई थाह थिएन भन्ने निष्कर्ष निकाल्न सकिन्छ। मोशाको सम्बन्धमा तिनले भने: “तर जब तिनी चालीस वर्षका भए, तब आफ्ना बन्धु इस्राएलीहरूलाई भेट गर्न इच्छा तिनको हृदयमा उठ्यो। जब तिनीहरूमध्ये एक जनामाथि अन्याय भइरहेको देखे तब तिनले त्यसलाई रक्षा गरे, र त्यस अन्याय गर्ने मिश्रीलाई मारी त्यसमाथि भएको अत्याचारको बदला लिए। औ परमेश्वरले मेरो हातबाट तिनीहरूको उद्धार गर्नुहुन्छ, भन्ने मेरा भाइ-बन्धुले बुझ्लान् भन्ने तिनले विचार गरेका थिए, तर तिनीहरूले सो बुझेनन्।” (प्रेरित ७:२३-२५) परमेश्वरले तोक्नुभएको समयभन्दा ४० वर्षअघि नै मोशाले इस्राएलीहरूलाई छुटाउने कोसिस गरे। ‘परमेश्वरले इस्राएलीहरूलाई उनी मार्फत उद्धार गराउन’ मोशाले अर्को ४० वर्ष कुर्नुपऱ्यो भनेर स्टिफनसले देखाए।—प्रेरित ७:३०-३६.
१३. मिश्रबाट छुटकारा पाउनुअघि इस्राएलीहरूको अवस्था हाम्रो अवस्थासित कसरी मिल्दोजुल्दो छ?
१३ “करार गरेको समय नजीक आएको” र त्यो निश्चित वर्ष परमेश्वरले निर्धारण गर्नुभएको थियो। तैपनि मोशालगायत सम्पूर्ण इस्राएलीहरूले विश्वास गर्नुपर्थ्यो। तिनीहरूले पहिल्यै कुनै हिसाब नगरी यहोवाको निश्चित समय पर्खनुपर्थ्यो। यस वर्तमान रीतिरिवाजबाट छुटकारा पाउने समय नजिकिंदै छ भनेर हामी पनि विश्वस्त छौं। हामीलाई थाह छ, हामी “आखिरी दिनमा” बाँचिरहेका छौं। (२ तिमोथी ३:१-५) अतः के हामी विश्वास प्रकट गर्न र यहोवाको महान् दिन आउने निश्चित समयलाई पर्खन इच्छुक हुनुपर्ने होइन र? (२ पत्रुस ३:११-१३) त्यसो गऱ्यौं भने मोशा र अन्य इस्राएलीहरूजस्तै हामीले पनि यहोवाको प्रशंसामा छुटकाराको महिमित गीत राम्ररी गाउन सक्नेछौं कि?—प्रस्थान १५:१-१९.
‘जब समय आयो’
१४, १५. परमेश्वरले आफ्नो पुत्र यस पृथ्वीमा आउनुहुने समय तोक्नुभएको थियो भनेर कसरी भन्नसक्छौं र अगमवक्ता तथा स्वर्गदूतहरूले समेत के पर्खिबसे?
१४ यहोवाले आफ्नो एकमात्र पुत्रलाई पृथ्वीमा मसीहको रूपमा पठाउने समय निर्धारण गर्नुभएको थियो। पावलले लेखे: “तर जब तोकिएको समय आयो, परमेश्वरले आफ्नो पुत्रलाई स्त्रीबाट, व्यवस्थाका अधीनमा जन्म[नुभयो]।” (गलाती ४:४) यो परमेश्वरको वंश अर्थात् ‘मानिसहरू आज्ञाकारी बन्ने शिलो’ पठाउनेबारे गर्नुभएको प्रतिज्ञाको पूर्ति थियो।—उत्पत्ति ३:१५; ४९:१०.
१५ परमेश्वरका अगमवक्ताहरूलगायत स्वर्गदूतहरूसमेत पृथ्वीमा मसीह देखापर्ने र पापी मानिसजातिलाई छुटकारा दिन सकिने “समय” पर्खिबसेका थिए। पत्रुसले भने, “त्यही मुक्तिको विषयमा जो तिमीहरूमाथि आउनुपर्ने त्यस अनुग्रहको अगमवाणी बोल्ने अगमवक्ताहरूले खोजेका र प्रयत्नसाथ तलास गरेका थिए। यो तलास गरेर कुन समय, अर्थात् कस्तो किसिमको समयमा, तिनीहरूमा भएका ख्रीष्टको आत्माले, ख्रीष्टका शासना र तीपछि आउने महिमाहरूको साक्षी दिंदा पहिलेनै तिनीहरूलाई देखाउनुभएको थियो। . . . यी कुराहरू . . . स्वर्गदूतहरूले हेर्न अति इच्छा गर्दछन्।”—१ पत्रुस १:१-५, १०-१२.
१६, १७. (क) कुन भविष्यवाणीको माध्यमद्वारा यहोवाले प्रथम शताब्दीका यहूदीहरूलाई मसीहको प्रतीक्षा गर्न मदत गर्नुभयो? (ख) दानियलको भविष्यवाणीले यहूदीहरूले प्रत्याशा गरेको मसीह आउने समयलाई कसरी असर गऱ्यो?
१६ अटल विश्वास भएका अगमवक्ता दानियल मार्फत यहोवाले “सत्तरी हप्ता[सित]” सम्बन्धित भविष्यवाणी गर्नुभयो। यो भविष्यवाणीले प्रथम शताब्दीका यहूदीहरूलाई प्रतिज्ञा गरिएको मसीह देखापर्ने समय नजिकिंदैछ भनेर थाह पाउन मदत गर्ने थियो। उक्त भविष्यवाणीको एउटा अंशले यसो भन्छ: “यरूशलेमको पुनर्प्राप्ति र पुनर्निमाण हुनेछ भन्ने वचन निस्केको समयदेखि एक अभिषेक जन, एक राजकुमार देखा परेको, समयसम्म सात हप्ता बित्नेछन्। त्यसपछि ब्यासट्ठी हप्तासम्म रहनेछन्।” (दानियल ९:२४, २५) उल्लिखित “हप्ता” वर्षहरूका हप्ता हुन् भनेर यहूदी, क्याथोलिक र प्रोटेस्टेन्ट शास्त्रविद्हरू सबै मानिलिन्छन्। सा.यु.पू. ४५५ मा फारसी राजा आर्ट-जारसेजले नहेम्याहलाई यरूशलेम “पुनर्निर्माण गर्न” आदेश दिंदा दानियल ९:२५ मा बताइएका ६९ “हप्ता” (४८३ वर्ष) सुरु भयो। (नहेम्याह २:१-८) र त्यो ४८३ वर्षपछि अर्थात् सा.यु. २९ मा सिद्धियो। त्यतिखेर येशूले बप्तिस्मा लिनुभएर पवित्र आत्माद्वारा अभिषेक हुनुभएपछि उहाँ मसीह अथवा ख्रीष्ट हुनुभयो।—मत्ती ३:१३-१७.
१७ प्रथम शताब्दीका मसीहीहरूलाई ४८३ वर्ष ठ्याक्कै कहिले सुरु भयो त्यो थाह थियो, थिएन किटेर भन्न सकिन्न। तर बप्तिस्मा दिने यूहन्नाले सेवकाई सुरु गर्दा “मानिसहरू आशा गरिरहेकै थिए, र सबै जना आफ्ना मनमा यूहन्नाको विषयमा, कतै यिनीनै ख्रीष्ट हुन् कि भनी विचार गरिरहेका थिए।” (लूका ३:१५) केही बाइबल शास्त्रज्ञहरू यो प्रत्याशा दानियलको भविष्यवाणीसित सम्बन्धित छ भन्छन्। यस पदमाथि टिप्पणी गर्दै म्याथ्यु हेन्रीले यसरी लेखे: “यूहन्नाको सेवकाई र बप्तिस्माको आधारमा मानिसहरूले कसरी मसीहबारे र मसीह छिट्टै आइपुग्नु हुनेछ, . . . दानियलको सत्तरीऔं हप्ताहरू अब बित्दैछन् भनेर अनुमान लगाए . . . यहाँ हामीलाई बताइयो।” भिग्युरु, बक्वेस र ब्रसकद्वारा लिखित फ्रान्सेली मन्युएल बिब्लिक-मा यसो भनियो: “दानियलले तोकेको सत्तरी हप्ता सिद्धिनै लागेको छ भनेर मानिसहरूलाई थाह थियो; त्यसैले परमेश्वरको राज्य नजिकै छ भनेर बप्तिस्मा दिने यूहन्नाले घोषणा गर्दा कोही पनि छक्क परेनन्।” यहूदी शास्त्रज्ञ अब्बा हिलेल सिल्भरले “प्रसिद्ध कालक्रम”-अनुसार “मसीह प्रथम शताब्दीको लगभग सा.यु. २५ देखि ५० सम्ममा देखा पर्ने आशा गरिएको थियो” भनेर लेखे।
घटनाहरूमा—समय हिसाब गर्नुमा होइन
१८. दानियलको अगमवाणीले यहूदीहरूलाई मसीह आउनुहुने समय बुझ्न मदत गरे तापनि येशू नै मसीह हुनुहुन्छ भन्ने सशक्त प्रमाण के थियो?
१८ कालक्रमले यहूदीहरूलाई मसीह देखापर्ने समय अनुमान लगाउन मदत गरेजस्तो देखिए तापनि कालक्रमले तिनीहरूमध्ये थुप्रैलाई येशू नै मसीह हुनुहुन्छ भनेर विश्वस्त गराउन सकेन भनेर त्यसपछिका घटनाहरूले देखाउँछन्। आफ्नो मृत्यु हुन वर्षदिन पनि बाँकी नरहँदा येशूले चेलाहरूलाई सोध्नुभयो: “म को हुँ भनेर मानिसहरू भन्छन्?” तिनीहरूले जवाफ दिए, “यूहन्ना बप्तिस्मा दिने, तर अरूहरूले एलिया, औ अरूहरूले पहिलेका कोही अगमवक्ताहरूमध्ये एक उठेको छ।” (लूका ९:१८, १९) आफू नै मसीह हुँ भनेर प्रमाणित गर्न येशूले दानियलको भविष्यवाणी उद्धृत गर्नुभएको कुनै रेकर्ड हामीसित छैन। तर एकपटक उहाँले यसो भन्नुभयो: “मसित यूहन्नाको भन्दा ठूलो गवाही छ, किनकि जुन कामहरू मैले पूरा गर्नालाई पिताले मलाई दिनुभएको छ, ती काम जे म गर्दछु, ती आफैले मेरो विषयमा, पिताले मलाई पठाउनुभएको हो भन्ने गवाही दिन्छन्।” (यूहन्ना ५:३६) कुनै प्रकटित कालक्रमले भन्दा पनि येशूको प्रचारकार्य, चमत्कार अनि मृत्यु हुने बेला भएका घटनाहरू (चमत्कारी ढंगमा अँध्यारो भएको, मन्दिरको पर्दा दुई फ्याक भएर धर्रर च्यातिएको र भुइँचालो गएको आदि) सबैले उहाँ परमेश्वरले पठाउनुभएको मसीह हुनुहुन्थ्यो भन्ने प्रमाण दिन्छ।—मत्ती २७:४५, ५१, ५४; यूहन्ना ७:३१; प्रेरित २:२२.
१९. (क) यरूशलेमको अन्त नजिकै छ भनेर मसीहीहरूले कसरी थाह पाउने थिए? (ख) यरूशलेमबाट भाग्ने प्रारम्भिक मसीहीहरूसित अझै धेरै विश्वास हुनु किन आवश्यक थियो?
१९ त्यसैगरि, येशूको मृत्युपछि प्रारम्भिक मसीहीहरूलाई यहूदी रीतिरिवाजको अन्त हुने समय हिसाब गरेर पत्ता लगाउने आधार दिइएन। हो, दानियलको लाक्षणिक हप्तासम्बन्धी भविष्यवाणीले त्यस रीतिरिवाजको नाशबारे उल्लेख गरेको थियो। (दानियल ९:२६ख, २७ख) तर यो “सत्तरी हप्ता” सिद्धिएपछि सुरु हुनेथियो (सा.यु.पू. ४५५-सा.यु. ३६)। अर्को शब्दमा भन्ने हो भने, सा.यु. ३६ मा अन्यजातिकाहरू पनि येशूका अनुयायी बन्न थालेपछि दानियल अध्याय ९ ले मसीहीहरूलाई त्यसपछिको कालक्रमसम्बन्धी कुनै पनि जानकारी दिएन। तिनीहरूलाई यहूदी रीतिरिवाजको अन्त छिटै हुँदैछ भनेर कालक्रमले होइन घटनाहरूले बुझाउने थिए। येशूले भविष्यवाणी गर्नुभएका ती घटनाहरू सा.यु. ६६ मा रोमी सेनाले यरूशलेममाथि हमला गरेर फेरि पछि हटेदेखिन् चरमोत्कर्षमा पुग्नथाले। फलतः यरूशलेम र यहूदियाका विश्वासी, सतर्क मसीहीहरूले ‘डाँडाहरूतिर भाग्ने’ मौका पाए। (लूका २१:२०-२२) कालक्रमको कुनै संकेतपाटी नभएकोले यी प्रारम्भिक मसीहीहरूलाई यरूशलेमको विनाश ठीक यही बेला हुन्छ भनेर थाह थिएन। आफ्नो घर-खेत अनि कारोबार छोडेर हिंड्न र सा.यु. ७० मा रोमी सेना फर्केर यहूदी रीतिरिवाज पूर्णतया नाश नगरुञ्जेल चार/चार वर्षसम्म यरूशलेमबाहिर बस्न तिनीहरूसित पक्कै पनि प्रशस्त विश्वास हुनुपर्थ्यो!—लूका १९:४१-४४.
२०. (क) नूह, मोशा र यहूदियाका प्रथम शताब्दीमा मसीहीहरूको उदाहरणबाट हामी कसरी लाभ उठाउनसक्छौं? (ख) यसपछिको लेखमा के छलफल गर्नेछौं?
२० नूह, मोशा तथा यहूदियाका प्रथम शताब्दीका मसीहीहरूले गरेजस्तै आज हामीले पनि विश्वस्त भई बेला र समय यहोवाको हातमा सुम्पनसक्छौं। हामी आखिरी दिनमा बाँचिरहेका छौं र हाम्रो छुटकारा नजिकै छ भन्ने हाम्रो दृढ विश्वास कालक्रमको हिसाबमा मात्र नभई बाइबलमा भविष्यवाणी गरिएको वास्तविक घटनाहरू पूर्ति हुनुमा पनि आधारित छ। यसबाहेक, हामी ख्रीष्टको उपस्थितिको दौडान बाँचिरहेका भए तापनि विश्वास गरिरहनुपर्ने र सतर्क भइरहनुपर्ने आवश्यकताबाट मुक्त भइसकेका छैनौं। धर्मशास्त्रमा भविष्यवाणी गरिएका रोमाञ्चकारी घटनाहरू उत्सुकतासाथ पर्खंदै हामीले जीवन बिताउनैपर्छ। अर्को लेखको विषय पनि यही हुनेछ।
[फुटनोट]
a प्रहरीधरहरा, अगस्त १, १९९६, पृष्ठ ३०-१ हेर्नुहोस्।
पुनरावलोकन गर्दा
◻ यहोवाको बेला र समयसम्बन्धमा येशूले आफ्ना चेलाहरूलाई के भन्नुभयो?
◻ जलप्रलय कहिले हुनेछ भनेर नूहलाई कत्ति अघि थाह थियो?
◻ मोशा र इस्राएलीहरूलाई मिश्रबाट ठ्याक्कै यति बेला छुटकारा पाउनेछौं भनेर थाह थिएन भनी केले संकेत गर्छ?
◻ यहोवाको बेला र समयसित सम्बन्धित बाइबलका उदाहरणहरूबाट हामी कसरी लाभान्वित हुनसक्छौं?
[पृष्ठ ११-मा भएको चित्र]
विश्वासको कारण नूहले समय यहोवाको हातमा सुम्पन सके