परमेश्वर र सिजर
“यसकारण जे सिजरका हुन् सिजरलाई, र जे परमेश्वरका हुन् परमेश्वरलाई देओ।”—लूका २०:२५.
१. (क) परमेश्वरको उच्च स्थान के हो? (ख) परमेश्वरलाई दिनुपर्ने कुन कुरा हामी कहिल्यै सिजरलाई दिन सक्दैनौं?
परमेश्वरले आफ्ना सेवकहरूबाट चाहनुहुने कुरा सरकारले मसीहीहरूबाट चाहने कुराभन्दा धेरै गुना महत्त्वपूर्ण छ। ख्रीष्टले उपरोक्त निर्देशन दिनुहुँदा निस्सन्देह यही कुरा मनमा लिनुभएको थियो। भजनरचयिताले यहोवालाई चढाएको प्रार्थनाको सत्यता अरूले भन्दा येशूले धेरै राम्ररी बुझ्नुभएको थियो: “तपाईंको राज्य अमर छ, र तपाईंको प्रभुत्व [सार्वभौमिकता]a सबै पुस्तासम्म रहिरहनेछ।” (भजन १४५:१३) दियाबलले येशूलाई पृथ्वीको सबै अख्तियार दिनेछु भन्दा उहाँले यसरी जवाफ दिनुभयो: “तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँकै मात्र सेवा गर्नू भन्ने लेखिएको छ।” (लूका ४:५-८) “सिजर[लाई]” कहिल्यै उपासना चढाउन सकिंदैन, चाहे त्यो सिजर सम्राट, कुनै अन्य मानव शासक वा सांसारिक राज्य नै किन नहोस्।
२. (क) संसारमा शैतानको स्थान के छ? (ख) कसको अनुमति पाएर शैतानले आफ्नो स्थान ओगट्छ?
२ संसारका राज्यहरू शैतानका हुन् भन्ने कुरामा येशूले अस्वीकार गर्नुभएन। पछि, उहाँले शैतानलाई “यस संसारको शासक” भन्नुभयो। (यूहन्ना १२:३१; १६:११) सा.यु. प्रथम शताब्दीको अन्ततिर प्रेरित यूहन्नाले यसरी लेखे: “हामी जान्दछौं, कि हामी परमेश्वरका हौं, र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्ना ५:१९) यसको अर्थ पृथ्वीबाट परमेश्वरले आफ्नो सार्वभौमिकता हटाउनुभएको छ भनेको होइन। शैतानले येशूलाई राजनैतिक राज्यहरूमाथि शासन गर्ने अधिकार दिन्छु भन्दा के भनेको थियो, सम्झनुहोस् त: “म यो सारा अख्तियार . . . तपाईंलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएको छ।” (लूका ४:६) शैतानले संसारका राज्यहरूमाथि अख्तियार चलाउने अनुमति परमेश्वरबाट नै पाएको हो।
३. (क) यहोवासमक्ष राष्ट्रका सरकारहरूको कस्तो स्थान छ? (ख) यस संसारका सरकारहरूको अधीनता स्वीकार्नुको अर्थ यस संसारको देव शैतानको अधीनमा बस्नु होइन भनेर हामी कसरी भन्नसक्छौं?
३ त्यस्तैप्रकार, राज्यले अख्तियार चलाउने अनुमति सार्वभौम शासक परमेश्वरबाट नै पाएको हुन्छ। (यूहन्ना १९:११) तसर्थ, ‘वर्तमान अख्तियारवालाहरू परमेश्वरबाट खटिएका हुन्छन्’ भन्न सकिन्छ। निश्चय पनि परमेश्वरको अख्तियारभन्दा राज्यको अख्तियार एकदमै कम छ। तथापि, तिनीहरू “परमेश्वरका सेवक,” “परमेश्वरका [जन, NW] सेवकहरू” हुन्। किनभने तिनीहरूले आवश्यक सेवाहरूको प्रबन्ध गर्छन्, नियम-कानुन लागू गर्छन् तथा दोषीहरूलाई सजाय दिन्छन्। (रोमी १३:१, ४, ६, NW) तसर्थ, मसीहीहरूले बुझ्नुपर्ने कुरा के हो भने, यो संसार वा रीतिरिवाजको अदृश्य शासक शैतान भए तापनि राज्यप्रति सापेक्षिक अधीनता स्वीकार्दैमा तिनीहरू शैतानको अधीनमा हुँदैनन्। तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्दैछन्। यो वर्ष सन् १९९६ मा पनि राजनैतिक राज्य “परमेश्वरको धार्मिक विधान [प्रबन्ध, NW]” अर्थात् अस्थायी प्रबन्धको भाग हो। त्यसलाई परमेश्वरले रहने अनुमति दिनुहुन्छ, अतः यसलाई यहोवाका पार्थिव सेवकहरूले मान्यता दिनुपर्छ।—रोमी १३:२.
यहोवाका पुरातन सेवकहरू र सांसारिक राज्य
४. यहोवाले किन यूसुफलाई मिश्री सरकारको प्रतिष्ठित व्यक्ति हुन दिनुभयो?
४ मसीहीपूर्व समयमा यहोवाले आफ्ना केही सेवकहरूलाई प्रतिष्ठित सरकारी ओहदाहरूमा रहन अनुमति दिनुभयो। उदाहरणका लागि, सा.यु.पू. १८ औं शताब्दीमा यूसुफ मिश्रको प्रधानमन्त्री बने। तिनी त्यहाँको शासक फिरऊनभन्दा एक दर्जा मात्र तल थिए। (उत्पत्ति ४१:३९-४३) आफ्ना उद्देश्यहरू पूरा गर्न ‘अब्राहामको सन्तान’ अर्थात् सन्ततिहरूलाई यूसुफले जोगाउन सकोस् भनेर यहोवाले यसो गर्नुभएको हो भन्ने कुरा पछिका घटनाहरूले प्रमाणित गऱ्यो। स्मरण रहोस्, यूसुफलाई मिश्रमा दासको रूपमा बेचेको थियो। र तिनको समयमा परमेश्वरका सेवकहरूसित मोशाको व्यवस्था र “ख्रीष्टको व्यवस्था” दुवै थिएन।—उत्पत्ति १५:५-७; ५०:१९-२१; गलाती ६:२.
५. निर्वासित यहूदीहरूलाई बाबेलको “भलो चिताऊ” भनेर किन आज्ञा दिएको थियो?
५ बाबेलको कैदमा परेका यहूदीहरूलाई त्यहाँको शासकहरूको अधीनता स्वीकार्नू र त्यस शहरको शान्तिको लागि प्रार्थना गर्नू भनी बताउन शताब्दीयौंपछि विश्वासी अगमवक्ता यर्मिया यहोवाद्वारा प्रेरित भए। तिनले आफ्नो पत्रमा यसरी लेखे: “कैदमा पठाइदिएका सबै जो कैदमा छन्, तिनीहरूलाई सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, . . . ‘मैले तिमीहरूलाई कैदमा पठाएको शहरको भलो चिताऊ, र त्यसको निम्ति परमप्रभुसित प्रार्थना गर।’” (यर्मिया २९:४, ७) यहोवाको उपासना स्वतन्त्रसित गर्न पाओस् भन्ने हेतुले उहाँका जनहरूले हर समय आफू र आफू बसिरहेको देशको लागि ‘शान्ति खोज्छन्।’—१ पत्रुस ३:११, NW.
६. दानियल र तिनका तीन मित्रहरूलाई उच्च सरकारी ओहदाहरू दिइएको भए तापनि कुन तरिकामा तिनीहरूले यहोवाको नियमको सम्झौता गर्न अस्वीकार गरे?
६ बाबेलमा निर्वासित छँदा दानियललगायत अरू तीन विश्वासी यहूदीहरूले त्यस राज्यबाट प्रशिक्षण लिए र बाबेलको उच्च ओहदाको निजामती सेवामा लागे। (दानियल १:३-७; २:४८, ४९) तथापि, प्रशिक्षणको दौडान खानेकुरासम्बन्धी तिनीहरूले दृढ अडान लिए। किनभने ती खाएमा यहोवा परमेश्वरले मोशाद्वारा दिनुभएको व्यवस्था भंग हुनसक्थ्यो। त्यसो गरेकोमा तिनीहरूले आशिष् पाए। (दानियल १:८-१७) राजा नबूकदनेसरले राष्ट्रिय मूर्ति बनाइसकेपछि त्यस समारोहमा आफ्ना सँगी राज्य प्रशासकहरूसित जान दानियल र तिनका तीन हिब्रू मित्रहरूलाई बाध्य गराइएको हुनसक्छ। तैपनि, तिनीहरूले राष्ट्रिय “मूर्तिलाई दण्डवत्” गर्न इन्कार गरे। यस्तो निष्ठा देखाएकोमा यहोवाले फेरि तिनीहरूलाई इनाम दिनुभयो। (दानियल ३:१-६, १३-२८) त्यस्तैगरि आज यहोवाका साक्षीहरूले आफू बस्ने देशको झन्डालाई आदर गर्छन् तर त्यसको उपासना गर्दैनन्।—प्रस्थान २०:४, ५; १ यूहन्ना ५:२१.
७. (क) बाबेलमा उच्च सरकारी ओहदा पाएको भए तापनि दानियलले कुन उत्कृष्ट अडान लिए? (ख) मसीही समयमा कस्ता परिवर्तनहरू भए?
७ नवविश्वशक्ति बाबेलको पतनपछि नयाँ मादी-फारसी शासनको दौडान बाबेलमा दानियलले उच्च सरकारी ओहदा पाए। (दानियल ५:३०, ३१; ६:१-३) तर उच्च ओहदा पाए तापनि तिनले आफ्नो निष्ठाको सम्झौता गरेनन्। यहोवालाई छाडेर राजा दारालाई उपासना गर्नुपर्ने विधान बनाइँदा तिनले त्यो पालन गर्न इन्कार गरे। यसो गर्दा तिनलाई सिंहको खोरमा फ्याँकियो। तर यहोवाले तिनलाई त्यहाँबाट निकाल्नुभयो। (दानियल ६:४-२४) निस्सन्देह, यी सबै घटना मसीहीपूर्व समयको थियो। मसीही मण्डली स्थापना भएपछि परमेश्वरका सेवकहरू “ख्रीष्टको व्यवस्थाको अधीनमा” परे। यहूदी प्रणालीमा अनुमति पाएका थुप्रै कुराहरूप्रति भिन्न दृष्टिकोण राख्नुपर्थ्यो। अनि त्यो यहोवाले आफ्ना मानिसहरूसित गरिरहनुभएको तरिकामा आधारित हुनेथियो।—१ कोरिन्थी ९:२१; मत्ती ५:३१, ३२; १९:३-९.
सांसारिक राज्यप्रति येशूको मनोवृत्ति
८. येशूले राजनीतिमा भाग नलिने अडान लिनुभएको थियो भनेर कुन घटनाले देखाउँछ?
८ पृथ्वीमा हुनुहुँदा येशूले आफ्ना अनुयायीहरूका लागि उच्च स्तरहरू बसाल्नुभयो। अनि उहाँले राजनैतिक वा सैनिक गतिविधिहरूमा मुछिन इन्कार गर्नुभयो। येशूले चमत्कारपूर्वक हजारौं मानिसहरूलाई केही रोटी र दुइटा स-साना माछाद्वारा अघाऊञ्जेल खुवाउनुभएपछि यहूदीहरूले उहाँलाई बलजफती राजनैतिक राजा बनाउन खोजे। तर येशू त्यहाँबाट उम्केर डाँडातिर लाग्नुभयो। (यूहन्ना ६:५-१५) यस घटनाबारे नयाँ नियमबारे नयाँ अन्तरराष्ट्रिय टिप्पणी (अंग्रेजी) बताउँछ: “त्यति बेला यहूदीहरूबीच तीव्र राष्ट्रवादी लालसाहरू थिए। निस्सन्देह, चमत्कार देख्नेहरूमध्ये धेरैले येशूलाई रोमीहरू विरुद्ध नेतृत्व गर्न योग्य ईश्वरप्रदत्त नेता ठाने। तसर्थ, तिनीहरूले उहाँलाई राजा बनाउने अठोट गरे।” सोही पुस्तक अझ यसो भन्छ, येशूले राजनैतिक नेता बन्ने त्यो प्रस्तावलाई “ठोस इन्कार गर्नुभयो।” रोमी शासन विरुद्ध यहूदीहरूले गरेको कुनै विद्रोहको पनि येशूले समर्थन गर्नुभएन। वास्तवमा, आफ्नो मृत्युपछि त्यस विद्रोहको कस्तो परिणाम हुनेछ भनेर उहाँले भविष्यवाणी गर्नुभयो। यरूशलेमका बासिन्दाहरूमाथि असह्य दुःख र त्यस शहरको विनाश हुनेछ भनेर उहाँले बताउनुभएको थियो।—लूका २१:२०-२४.
९. (क) संसार र आफ्नो राज्यबीचको सम्बन्धबारे येशूले कस्तो वर्णन गर्नुभयो? (ख) संसारका सरकारहरूसित गर्नुपर्ने व्यवहारबारे येशूले आफ्ना अनुयायीहरूलाई कस्तो निर्देशन दिनुभयो?
९ आफ्नो मृत्युको केही दिनअघि येशूले यहूदियामा रोमी सम्राटको विशेष प्रतिनिधिलाई भन्नुभयो: “मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो ता म यहूदीहरूका हातमा नसुम्पिनालाई मेरा चाकरहरूले लड़ाइँ गर्नेथिए, तर अब मेरो राज्य यहाँको होइन।” (यूहन्ना १८:३६) ख्रीष्टको राज्यले राजनैतिक सरकारहरूका शासनलाई अन्त नगरेसम्म ख्रीष्टका चेलाहरूले उहाँको अनुकरण गर्छन्। ती नियुक्त अख्तियारवालाहरूको आज्ञा पालन गर्दा तिनीहरू राजनैतिक क्रियाकलापहरूमा हात हाल्दैनन्। (दानियल २:४४; मत्ती ४:८-१०) येशूले आफ्ना चेलाहरूका लागि यस्तो निर्देशन दिनुभयो: “जे जे सिजरका हुन् सिजरलाई, र जे जे परमेश्वरका हुन् परमेश्वरलाई देओ।” (मत्ती २२:२१) यसअघि डाँडाको उपदेशमा येशूले यसो भन्नुभएको थियो: “यदि कसैले तिमीलाई आधा कोशसम्म जबरदस्त लैजान्छ भने, उसित एक कोशसम्मै जाऊ।” (मत्ती ५:४१) यस उपदेशको प्रसंगमा येशूले वैध मागप्रति स्वेच्छापूर्वक अधीनता स्वीकार्ने सिद्धान्तको दृष्टान्त दिनुहुँदैथियो। र त्यो अधीनता देखाउनुपर्ने क्षेत्र, परमेश्वरको नियमसित मेल खाने मानव सम्बन्ध वा सरकारी आवश्यकताहरू दुवै हुनसक्छ।—लूका ६:२७-३१; यूहन्ना १७:१४, १५.
मसीहीहरू र सिजर
१०. एक जना इतिहासकारअनुसार प्रारम्भिक मसीहीहरूले सिजरप्रति कस्तो कर्तव्यनिष्ठ अडान लिए?
१० यी संक्षिप्त निर्देशनहरू मसीहीहरू र राज्यबीच सम्बन्ध कायम राख्नका लागि थिए। इतिहासकार इ. डब्ल्यु. बार्न्जले आफ्नो पुस्तक मसीही धर्मको उत्थान-मा (अंग्रेजी) लेखे: “येशूले यो निर्देशन दिनुभएपछिका शताब्दीहरूमा सांसारिक राज्यप्रति आफ्नो कर्तव्यबारे मसीहीलाई शंका लाग्दा तिनले येशूको अख्तियारपूर्ण शिक्षाको सहायता लिन्थे। तिर्नुपर्ने कर असाध्यै धेरै भए तापनि तिनले तिर्नेथिए। पश्चिमी राज्यको पतनअघि करहरू तिर्नै नसकिने गरी थोपरिएका हुन्थे। तर त्यस्तो कठिनाइको बावजूद मसीहीले कर तिर्नेथिए। तिनले राज्यप्रतिका सम्पूर्ण दायित्वहरू पूरा गर्नेथिए। केवल परमेश्वरलाई दिनुपर्ने कुरा सिजरलाई दिने माग गरेमा चाहिं सो पूरा गर्नेथिएनन्।”
११. सांसारिक शासकहरूसित कस्तो व्यवहार गर्नू भनेर पावलले सल्लाह दिए?
११ येशूको मृत्यु भएको झन्डै २० वर्षपछि यो सिद्धान्तसित मिल्दोजुल्दो कुरा प्रेरित पावलले रोमका मसीहीहरूलाई लेखे: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्।” (रोमी १३:१) त्यसको लगभग दश वर्षपछि अर्थात् आफ्नो दोस्रो कैद तथा रोममा मृत्युदण्ड पाउनुअघि पावलले तितसलाई यसरी लेखे: “शासकहरू र अख्तियारवालाहरूका अधीनमा बसी उनीहरूका आज्ञा पालन गर्नू र हरेक असल काममा तत्पर रहनू। कसैको बदनाम नगर्नू, कल्याहा नहुनू, सबै मानिसलाई नम्र चाल देखाएर विनयी हुनू भनी तिनीहरूलाई [क्रेटका मसीहीहरू] सम्झाइदेऊ।”—तितस ३:१, २.
“उच्च अख्तियारवालाहरूबारे” प्रगतिशील समझ
१२. (क) सरकारी अख्तियारवालाहरूप्रति सापेक्षिक हुन मसीहीहरूको सही अडानबारे चार्ल्स टेज रसलको दृष्टिकोण कस्तो थियो? (ख) सैनिक सेवामा भर्ती हुने सम्बन्धमा प्रथम विश्वयुद्धको दौडान अभिषिक्त मसीहीहरूले कस्ता विभिन्न दृष्टिकोणहरू अपनाए?
१२ सन् १८८६ को प्रारम्भतिर आफ्नो पुस्तक युगानुयुगको योजना-मा (अंग्रेजी) चार्ल्स टेज रसलले लेखे: “येशू र प्रेरितहरूले कुनै पनि ढंगमा सांसारिक शासकहरूको हस्तक्षेप गरेनन्। . . . तिनीहरूले चर्चलाई नियमहरू पालन गर्न, अख्तियारवालाहरूको ओहदाको खातिर तिनीहरूको आदर गर्न . . . कर तिर्न सिकाए। अनि परमेश्वरको नियम उल्लंघन नभइञ्जेल (प्रेरित ४:१९; ५:२९) मान्यताप्राप्त विधानको विरोध नगर्न भनी सिकाए। (रोमी १३:१-७; मत्ती २२:२१) येशू, उहाँका प्रेरितहरू तथा प्रारम्भिक चर्च यस संसारबाट अलग र यसका सरकारहरूका भाग नभए तापनि नियमपालक थिए।” प्रेरित पावलले उल्लेख गरेका “उच्च शक्तिवालाहरू” वा “उच्च अख्तियारवालाहरू[लाई]” उक्त पुस्तकले मानव सरकारका अख्तियारवालाहरू भनेर ठीकसित चिनायो। (रोमी १३:१, किङ जेम्स भर्सन) सन् १९०४ मा नयाँ सृष्टि (अंग्रेजी) पुस्तकले मसीहीहरू “आन्दोलनकारी, झगडालु तथा निन्दक होइनन् तर असाध्यै नियमपालक मानिसहरूमध्ये हुनुपर्छ” भनेर बतायो। तर केहीले त्यसको अर्थ सरकारी शक्तिको पूर्णतया अधीनमा बस्नु हो भन्ने ठाने र प्रथम विश्वयुद्धको दौडान सैनिक सेवासमेत स्वीकारे। तथापि, अरूले यसलाई येशूको यो भनाइको विरुद्ध ठाने: “तरवार लिनेहरू सबै जना तरवारैले नष्ट हुनेछन्।” (मत्ती २६:५२) स्पष्टतया, उच्च अख्तियारवालाहरूको अधीनताबारे मसीहीहरूलाई स्पष्ट समझको आवश्यकता थियो।
१३. उच्च अख्तियारवालाहरूको चिनारीको सम्बन्धमा सन् १९२९ मा कस्तो समझ प्रस्तुत गरियो र यो कसरी लाभदायी साबित भयो?
१३ सन् १९२९ मा विभिन्न सरकारहरूले परमेश्वरको नियमअनुरूप काम गर्न बन्देज लगाउँदा वा परमेश्वरको नियम विपरीत कुराहरू मात्र गर्दा यहोवा परमेश्वर र येशू ख्रीष्ट नै उच्च अख्तियार- वालाहरू हुनुपर्छ भनेर ठानियो।b दोस्रो विश्वयुद्धको दौडान अनि त्यसअघिको निर्णायक समयमा यहोवाका सेवकहरूले यस्तो धारणा लिएका थिए। साथै हातहतियारको होडबाजीद्वारा शक्ति सन्तुलन कायम गर्न खोजिएको शीतयुद्धको दौडान पनि सोही धारणा रहेको थियो। पहिलाको कुरालाई नियाल्दा यहोवा र उहाँको ख्रीष्टको सर्वश्रेष्ठताको महिमा गर्ने यस्तो दृष्टिकोणबाट परमेश्वरका मानिसहरूले त्यस कठिन समयमा तटस्थ रहन मदत पाए भन्न सकिन्छ।
सापेक्षिक अधीनता
१४. रोमी १३:१, २ र सम्बन्धित शास्त्रपदहरूबारे सन् १९६२ मा कसरी अरू ज्योति चम्क्यो?
१४ सन् १९६१ मा पवित्र धर्मशास्त्रको नयाँ विश्व अनुवाद (अंग्रेजी) पूरा भयो। यो तयार पार्न धर्मशास्त्र लेख्न चलाइएको भाषाको गहिरो अध्ययनको खाँचो पऱ्यो। रोमी अध्याय १३ लगायत तितस ३:१, २ र १ पत्रुस २:१३, १७ जस्ता पद्यांशहरूमा सही अनुवाद गरिएका शब्दहरूले “उच्च अख्तियारवालाहरू” शब्दको अर्थ सर्वोच्च अख्तियारवाला यहोवा र उहाँको पुत्र येशू नभई मानव सरकारी अख्तियारवालाहरू हुन् भनेर देखाउँछ। सन् १९६२ को अन्ततिर प्रहरीधरहरा-मा (अंग्रेजी) छापिएका लेखहरूले रोमी अध्याय १३ को सही व्याख्या गरेको थियो। अनि यसले भाइ सी. टी. रसलको समयको दृष्टिकोणभन्दा स्पष्ट दृष्टिकोण पेश गऱ्यो। अख्तियारवालाहरूप्रति मसीहीहरूको अधीनता पूर्ण हुनसक्दैन भनेर यी लेखहरूले औंल्याए। परमेश्वरका सेवकहरूले देखाउने अधीनता सापेक्षिक हुन्छ अर्थात् परमेश्वरको नियम उल्लंघन नहोऊञ्जेल तिनीहरू अधीनमा बस्छन्। प्रहरीधरहरा-का थप लेखहरूले यो महत्त्वपूर्ण बुँदामाथि जोड दियो।c
१५, १६. (क) रोमी अध्याय १३ को नयाँ समझले कुन उत्तम सन्तुलित दृष्टिकोण प्राप्त भयो? (ख) कुन प्रश्नहरूको जवाफ पाउनु बाँकी छ?
१५ रोमी अध्याय १३ लाई सही ढंगमा बुझाउने यस कुञ्जीले यहोवाका जनहरूलाई महत्त्वपूर्ण धर्मशास्त्रीय सिद्धान्तहरूप्रतिको अटल अडान र राजनैतिक शासकहरूलाई दिनुपर्ने कुराबीच सन्तुलन कायम गर्न मदत गरेको छ। (भजन ९७:११; यर्मिया ३:१५) यसले तिनीहरूलाई यहोवासितको सम्बन्ध र राज्यसितको व्यवहारप्रति सही दृष्टिकोण दिएको छ। सिजरको कुरा सिजरलाई दिंदा परमेश्वरलाई दिनुपर्ने कुराको हेलचक्य्राइँ नगर्न यसले तिनीहरूलाई सुनिश्चित हुन मदत दिएको छ।
१६ तर सिजरका कुराहरू वास्तवमा के हुन्? सांसारिक राज्यले मसीहीमाथि कस्ता वैध दाबीहरू गर्नसक्छ? यी प्रश्नहरू अर्को लेखमा छलफल गरिनेछ।
[फुटनोटहरू]
a भजन १०३:२२, NW पादटिप्पणी हेर्नुहोस्।
b प्रहरीधरहरा, (अंग्रेजी) जून १ र १५, १९२९.
c प्रहरीधरहरा, नोभेम्बर १ र १५, डिसेम्बर १, १९६२ (अंग्रेजी); जून १, १९९१; मे १, १९९३; जुलाई १, १९९४ हेर्नुहोस्।
चाखलाग्दो कुरा, रोमी अध्याय १३ बारे टिप्पणी गर्दै प्राध्यापक एफ. एफ. ब्रूस लेख्छन्: “प्रेरित लेखोटहरूको सामान्य प्रसंगबाट स्पष्ट भएझैं तत्कालीक प्रसंगबाट के स्पष्ट हुन्छ भने, जे उद्देश्यको लागि सांसारिक राज्यलाई ईश्वरीय तवरमा स्थापित गरिएको छ, त्यसैको सीमा रेखाभित्र मात्र त्यसले आज्ञा पालन गर्न जोड दिनसक्छ। मुख्यतः परमेश्वरलाई मात्र चढाइने भक्ति सांसारिक राज्यले माग गर्दा त्यो आज्ञालाई प्रतिरोध गर्न सकिने मात्र होइन तर प्रतिरोध गर्नैपर्छ।”
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
◻ उच्च अख्तियारवालाहरूको अधीनता स्वीकार्नु किन शैतानको अधीनमा हुनु होइन?
◻ आफ्नो समयको राजनीतिप्रति येशूको मनोवृत्ति कस्तो थियो?
◻ सिजरसित व्यवहार गर्ने सम्बन्धमा येशूले आफ्ना अनुयायीहरूलाई कस्तो सल्लाह दिनुभयो?
◻ राष्ट्रका शासकहरूसित कसरी व्यवहार गर्नू भनेर पावलले मसीहीहरूलाई सल्लाह दिए?
◻ उच्च अख्तियारवालाहरूको चिनारीको समझ कसरी वर्षौंको दौडान विकास भयो?
[पृष्ठ १०-मा भएको चित्र]
शैतानले राजनैतिक शक्ति दिन्छु भनेर राखेको प्रस्तावलाई येशूले अस्वीकार गर्नुभयो
[पृष्ठ १३-मा भएको चित्र]
रसलले साँचो मसीहीहरू “वर्तमान समयको सबैभन्दा नियमपालक मानिसहरूमध्ये हुनुपर्छ” भनेर लेखे