वचन पालन गर्ने होओ, सुन्ने मात्र होइन
“मलाई ‘प्रभु, प्रभु’, भन्ने सबै स्वर्गको राज्यमा पस्न पाउनेछैन, तर त्यो, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ।” —मत्ती ७:२१.
१ .येशूका अनुयायीहरूले के गरिरहनु पर्नेछ?
मागी रहनुहोस्, खोजी गरी रहनुहोस्, घचघच्याइ रहनुहोस्। प्रार्थनामा, अध्ययनमा, र डाँड़ाको उपदेशमा उल्लेखित येशूका कथनहरूमा अटूटसँग लागिरहनुहोस्। येशूले आफ्ना अनुयायीहरूलाई तिनीहरू पृथ्वीका नून हुन् भन्नुहुन्छ। जसरी नूनले बिग्रन सक्ने खाद्य सामग्रीहरू बचाएर राख्न सक्तछ, त्यसरी नै तिनीहरूको सन्देशद्वारा मानिसहरूको बचाव हुन सक्तछ र यो सन्देशलाई तिनीहरूले कहिल्यै पनि अलिनु बनाएर, बेस्वादको र बचाउ शक्ति विहीन हुन दिनु भएन। तिनीहरू जगतका ज्योति हुन् र तिनीहरूले येशू ख्रीष्ट र यहोवा परमेश्वरबाट आएका ज्योतिलाई आफ्ना वचनले मात्र होइन तर आफ्ना कामले प्रतिबिम्बित गर्दछन्। तिनीहरूका असल कामहरू तिनीहरूका ज्ञानदायक वचनहरू सरह नै चम्किन्छन्—र थोरै गर्ने र धेरै बोल्ने दुवै धार्मिक र राजनैतिक नेताहरूको फरिसी-कापट्यले भरिएको संसारमा, येशूका अनुयायीहरूका असल कार्यहरू आफ्ना ज्ञानदायक बोली सरह जोड़सित चम्कन्छन्।—मत्ती ५:१३-१६.
२. याकूबले के नसिहत दिन्छन्, तर गलतीले कुनै कुनै व्यक्तिहरू कसरी ढुक्क भएर बस्छन्?
२ याकूबले नसिहत दिएका छन्: “वचन पालन गर्ने होओ। आफैलाई धोका दिएर सुन्ने मात्र होइन।” (याकूब १:२२) ‘एक पटक बाँचे पछि सँधैको निम्ति बाँचिन्छ’ भन्ने सिद्धान्त अपनाएर, धेरै व्यक्ति एउटा काल्पनिक स्वर्गीय इनाम पाउने आशामा ढुक्क बसेका छन् र यस प्रकार, आफैले आफैलाई धोका दिएका छन्। यो एउटा झूटो सिद्धान्त र फोस्रो आशा हो। येशूले भन्नुभयो: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।” (मत्ती २४:१३) अनन्त जीवन पाउनकालागि, आफूलाई “मृत्युसम्मै विश्वासी” साबित गर्नु पर्दछ।—प्रकाश २:१०; हिब्रू ६:४-६; १०:२६, २७.
३. यसपछि निसाफबारे डाँड़ाको उपदेशमा येशूले के निर्देशन दिनुहुन्छ?
३ येशूले डाँडाको उपदेशलाई जसै जारी राख्नुभयो, मसीहीहरूले अनुसरण गर्ने प्रयास गर्नु पर्ने अझ बढ़ी कथनहरू जम्मा हुँदैगए। एउटा कथन यो हो जो सजिलो देखिन्छ, तर छाड्नु पर्ने सबैभन्दा गाह्रो प्रवृत्तिको यसले निन्दा गर्दछ: “अर्काको निसाफ नगर, र तिमीहरूको निसाफ नगरिओस्। किनभने जुन निसाफले तिमीहरू निसाफ गर्दछौ, उसैगरी तिमीहरूको पनि निसाफ गरिनेछ, र जुन नापले तिमीहरू नाप्दछौ, त्यसैले तिमीहरूलाई नापी दिनेछ। किन तिमी आफ्नो भाइको आँखामा भएको कसिङ्गर देख्तछौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढ़ा चाहिं थाह पाउँदैनौ? अथवा हेर, जब तिम्रो आफ्नै आँखामा मूढ़ा छ भने, कसरी तिमी तिम्रो भाइलाई भन्नसक्छौ, ‘पर्ख, मलाई तिम्रो आँखाबाट कसिङ्गर निकाल्नदेऊ।’ ए कपटी, पहिले आफ्नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट कसिङ्गर निकाल्नालाई छर्लङ्गै देख्नसक्नेछौ।”—मत्ती ७:१-५.
४. लूकाको बयानले अझ के बढ़ी निर्देशन दिन्छ, र त्यसको प्रयोग गर्नाले के परिणाम हुन्छ?
४ लूकाले वर्णन गरेका डाँड़ाको उपदेश अनुसार, अरूहरूमा खोट खोज्दै नहिंड़नु भनी येशूले आफ्ना स्रोताहरूलाई भन्नु भयो। बरू, तिनीहरूले “क्षमा” गरी रहून् अर्थात् आफ्नो सङ्गीसाथीको दोषहरूलाई माफ गरी रहून् भन्नु भयो। यसले गर्दा अरूहरूले पनि त्यस्तै प्रतिक्रिया देखाउनेछन् भनी येशूले एसो भन्नुभयो: “देओ, र तिमीहरूलाई दिइनेछ, पूरा नाप खाँदी खाँदी, बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पोल्टामा दिनेछन्। किनकि जुन नापले तिमीहरू नाप्दछौ, त्यसरी तिमीहरूका निम्ति पनि नापिनेछ।”—लूका ६:३७, ३८.
५. आफूमा भन्दा अरूमा दोष देख्नु किन धरै नै सजिलो हुन्छ?
५ सा. यु. प्रथम शताब्दीको अवधिमा, मौखिक परम्पराको कारण, आम तौरमा फरिसीहरूले अरूहरूको कड़ा आलोचना गर्ने गर्द थिए। येशूका श्रोताहरूमध्ये कसै कसैमा त्यसो गर्ने बानी थियो भने तिनीहरूले सो गर्न रोक्नु परेको थियो। आफ्नो आँखाको मूढ़ो देख्नु भन्दा अरूहरूको आँखाको कसिङ्गर देख्न सजिलो हुन्छ—र यसबाट आफ्नो अहम्लाई ढाडस मिल्दछ! यस विषयमा एक जनाले यसो भने: “अरूको आलोचना गर्न मलाई मन पर्छ किनकि त्यसो गर्दा मलाई बड़ो आनन्द आउँछ!” अरूहरूको आलोचना गर्दा गर्दा आफू चाहिं गुणवान हुने भावना उत्पन्न हुनसक्छ, जसलेगर्दा आफूले लुकाउन चाहेका गफलतहरू तुलनामा कम भएको जस्तो देखिनेछ। तर कसैलाई सुधारको आवश्यकता छ भने, त्यसलाई नम्र भावले दिने गर्नु पर्दछ। सुधार दिने व्यक्ति सँधै नै आफ्ना कमीहरूबारे सचेत रहनु पर्दछ।—गलाती ६:१.
इन्साफ गर्नु अघि, बुझ्ने प्रयास गर्नुहोस्
६. निसाफ गर्न आवश्यकै परेमा, हामीले सो कुन आधारमा गर्नु पर्दछ, र धेरैनै खोट कोट्याउने मानिस नहुनका लागि के कुराको मद्दत लिन हामीले खोज्नु पर्दछ?
६ येशू संसारको इन्साफ गर्न आउनु भएको होइन तर त्यसलाई बचाउन आउनु भएको हो। जे इन्साफ उहाँले गर्नुभयो, त्यो उहाँको आफ्नो विचार होइन तर उहाँलाई बोल्न भनी दिइएको परमेश्वरको वचनमा आधारित थियो। (यूहन्ना १२:४७-५०) हामीहरूले गरेको इन्साफ पनि यहोवाको वचन अनुरूप हुनु पर्दछ। अरूहरूको खोट देखाउने मानवीय प्रवृत्तिलाई हामीले किचिमिची पार्नु पर्छ। यसो गर्दा, यहोवाका मद्दतकालागि हामीहरूले निरन्तर प्रार्थना गरी रहनु पर्दछ: “माग, तिमीहरूलाई दिइनेछ, खोज, तिमीहरूले भेट्टाउने छौ, घचघच्याऊ, तिमीहरूका निम्ति उघारिनेछ। किनकि जसले माग्दछ, त्यसले पाउँछ, जसले खोज्दछ, त्यसले भेट्टाउँछ। जसले घचघच्याउँछ, त्यसको निम्ति उघारिनेछ।” (मत्ती ७:७, ८) येशू आफैले भन्नुभयो: “म आफै केही गर्नसक्तिनँ, जस्तो म सुन्छु, म इन्साफ गर्छु औ मेरो इन्साफ ठीक छ, किनकि म आफ्नो इच्छा होइन, तर मलाई पठाउनेको इच्छा खोज्दछु।”—यूहन्ना ५:३०.
७. सुनौलो नियम प्रयोग गर्न मद्दत पाउनकालागि हामीले कुन बानीको विकाश गर्नु पर्दछ?
७ हामीले मानिसहरूको इन्साफ गर्ने बानी होइन तर अरूहरूको ठाउँमा आफूलाई राखेर तिनीहरूलाई बुझ्ने प्रयास गर्नु पर्दछ—यसो गर्न सजिलो त छैन तर सुनौलो नियम अनुसार चल्ने हो भने, यो आवश्यक छ। त्यस नियम बारे येशूले अगाड़ि घोषणा गर्नुभयो: “यसकारण मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षा हुन्।” (मत्ती ७:१२) अतः येशूका अनुयायीहरू सचेत हुनु पर्दछ र अरूहरूका मानसिक, भावनात्मक, र आध्यात्मिक स्थितिको विवेचना गर्न सक्नु पर्दछ। तिनीहरूले अरूहरूका आवश्यकताहरूलाई ठम्याउन र बुझ्न सक्नु पर्दछ र तिनीहरूलाई मद्दत दिने कुरामा व्यक्तिगत चासो लिनु पर्दछ। (फिलिप्पी २:२-४) वर्षा पछि पावलले लेखे: “किनभने समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, यसैमा कि ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर्।’”—गलाती ५:१४.
८. येशूले कुन दुईवटा बाटोबारे छलफल गर्नु भयो, र धेरैजसो मानिसहरूले किन त्यसमध्ये एउटा बाटो छान्दछन्?
८ येशूले अगाड़ि भन्नुभयो: “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुऱ्याउने ढोका फराकिलो र बाटो चौड़ा हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने त्यो ढोका साँघुरो हुन्छ, औ त्यो बाटो असजिलो हुन्छ, जसले चाहिं जीवनमा पुऱ्याउँछ, र त्यो भेट्टाउने थोरै हुन्छन्।” (मत्ती ७:१३, १४) ती दिनहरूमा धेरैले विनाशको बाटो रोजे र आज पनि धेरैले त्यसै गर्दैछन्। फराकिलो बाटोमा हिड्ने मानिसहरूले जे मनमा आयो सोही सोंच्न र जे मनमा आयो सोही गर्न पाउँछन्: न कुनै नियमहरू हुन्छन्, न कुनै दायित्वहरू। त्यहाँ आरामको जीवनशैली हुन्छ। सबै थोक आरामका साथ गर्न पाइन्छ। तिनीहरूका निम्ति “साँघुरो ढोकाबाट भित्र पस्नलाई” गर्नु पर्ने प्रयत्नको कुनै खाँचो छैन!—लूका १३:२४.
९. साँघुरो बाटोमा हिंड्न के कुराको आवश्यकता पर्दछ, र त्यस बाटोमा हिंड्नेहरूलाई येशूले के चेताउनी दिनु भएको छ?
९ तर साँघुरो ढोकाबाट मात्र अनन्त जीवन तर्फ लैजाने बाटोमा प्रवेश गर्न सकिन्छ। यस बाटोमा हिंड़दा, आत्म-संयमको आवश्यकता पर्दछ। यहाँ तपाईंको नियतको छानबिन गर्ने र तपाईंको समर्पणको उत्साहलाई जाँच गर्ने किसिमको अनुशासन समावेश हुन सक्तछ। सतावट आइ पर्दा, बाटो अझ अप्ठ्यारो हुन्छ र धैर्यको आवश्यकता पर्दछ। यस बाटोमा हिंड्नेहरूलाई येशूले चेताउनी दिनुहुन्छ: “झूटा अगमवक्ताहरूदेखि होशियार रह, जो तिमीहरूकहाँ भेड़ाका भेषमा आउँछन्, तर भित्रपट्टि चाहिं लुटाहा ब्वाँसाहरू जस्ता हुन्छन्।” (मत्ती ७:१५) यो विवरणसँग फरिसीहरूको काम पूरै मिल्दथियो। (मत्ती २३:२७, २८) मानिसहरूका परम्पराहरूको अनुसरण गर्दै पनि, तिनीहरू “मोशाको आसनमा बसेर” परमेश्वर तर्फबाट बोल्ने दाबी गर्दथिए।—मत्ती २३:२.
फरिसीहरूले कसरी “स्वर्गको राज्य बन्द गर्दछन्”
१०. कुन निर्दिष्ट ढङ्गबाट शास्त्री र फरिसीहरूले “मानिसहरूका विरुद्ध स्वर्गको राज्य बन्द” गरे?
१० यस बाहेक, यहूदी धर्म-गुरुले साँघुरो ढोकाबाट पस्न चाहनेहरूकालागि बाटो बन्द गर्न खोजे। “धिक्कार, तिमीहरूलाई, शास्त्री र फरिसीहरू हो, कपटीहरू! किनकि तिमीहरू मानिसहरूका विरुद्ध स्वर्गको राज्य बन्द गर्दछौ। किनभने तिमीहरू नता आफै पस्तछौ, न पस्नेहरूलाई पस्न दिन्छौ।” (मत्ती २३:१३) फरिसीहरूको काम गर्ने तरिका, येशूले आफ्नो चेताउनीमा भन्नु भए जस्तै थियो। तिनीहरूले “मानिसको पुत्रको निम्ति, [उहाँका चेलाहरूलाई] निकालिदिनेछन्।” (लूका ६:२२) जन्मजात अन्धो मानिसलाई ख्रीष्टले निको पारिदिनु भए पछि, उसले येशूलाई मसीह भनी विश्वास गऱ्यो भनेर तिनीहरूले त्यस मानिसलाई सभाघरबाट निस्कासन गरी दिए। सभाघरबाट निस्कासित होइएला भन्ने डरले उसका आमा-बाबुले कुनै पनि प्रश्नको उत्तर दिएनन्। सोही कारणले गर्दा, येशू नै मसीह हुनुहुन्छ भनी विश्वास गर्ने अरूहरूले पनि सो कुरा खुला रूपले स्वीकार गर्न हिचकिचाए।—यूहन्ना ९:२२, ३४; १२:४२; १६:२.
११. मसीही जगतका पादरीहरूले कुन प्रकारको फल फलाउँदछन्?
११ येशूले भन्नुभयो: “तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। हरेक असल रूखले बढ़िया फल फलाउँछ, तर बिग्रेको रूखले खराब फल फलाउँछ।” (मत्ती ७:१६-२०) आज पनि सोही नियम लागूहुन्छ। मसीही जगतका धेरै जसो पादरीहरू एक थोक भन्छन् र अर्कै थोक गर्छन्। बाइबल सिकाउने दाबा गरेता पनि, त्रिएक र नरक-कुण्ड जस्ता ईश्वर निन्दक शिक्षाहरूको समर्थन गर्दछन्। कोही चाहिं छुटकारा दिने बलिदानमा विश्वास गर्न इन्कार गर्दछन्, सृष्टिको ठाउँमा विकाशवाद सिकाउँदछन् र कर्ण-प्रिय, आधुनिक र लोकप्रिय मानसिक विचारधाराहरू प्रचार गर्दछन्। फरिसीहरू जस्तै, आजका धेरैजसो पादरीहरू धनका लोभी छन्। आफ्ना बगालबाट लाखौं डालर धुत्दछन्। (लूका १६:१४) तिनीहरू सबै नै कराउँछन्, “प्रभु, प्रभु” तर तिनीहरूलाई येशूको प्रत्युत्तर यस्तो हुन्छ: “मैले तिमीहरूलाई कहिले चिनेकै छैनँ! ए अधर्म काम गर्ने हो, मबाट दूर होओ।”—मत्ती ७:२१-२३.
१२. साँघुरो बाटोमा केही समय अघि हिंड़ि सकेका कुनै कुनै व्यक्तिहरूले सो बाटोबाट हिंड़न किन छाड़ेका छन् र त्यसको परिणाम के हुनगयो?
१२ कुनै समयमा साँघुरो बाटोमा हिंड्ने गरेका कसै कसैले, आज, त्यस बाटोबाट हिंड्न छाड़ि दिएका छन्। यहोवालाई प्रेम गर्दछौं भनी तिनीहरू भन्दछन्, तर प्रचार गर्नु भन्ने उहाँका आज्ञालाई मान्दैनन्। येशूलाई प्रेम गर्दछौं भनी तिनीहरू भन्दछन्, तर उहाँका भेड़ालाई खुवाउँदैनन्। (मत्ती २४:१४; २८:१९, २०; यूहन्ना २१:१५-१७; १ यूहन्ना ५:३) येशूका पद-चिन्हमा हिंड्नेहरूसित तिनीहरू जोतिनु चाँहदैनन्। तिनीहरूलाई साँघुरो बाटो धेरै नै साँघुरो लाग्यो। तिनीहरू, सदाचारको मार्गबाट हायलकायल भएका छन्, त्यसकारण तिनीहरू “हामीबाट निस्केर गए, तर तिनीहरू हामी मध्येका थिएनन्, किनकि यदि ती हामी मध्येका हुँदा हुन् ता तिनीहरू हामीसँगै रहने थिए।” (१ यूहन्ना २:१९) तिनीहरू अँध्यारोमै फर्किए, र “त्यो अँध्यारो कस्तो घोर अँध्यारो छ!” (मत्ती ६:२३) तिनीहरूले यूहन्नाको भनाइको उपेक्षा गरे: “हे मेरा साना केटा-केटी हो, वचन र मुखले मात्र हामी प्रेम नगरौं, तर कामले साँचो प्रेम गरौं।—१ यूहन्ना ३:१८.
१३, १४. येशूले उहाँका कथनहरूलाई हाम्रो जीवनमा प्रयोग गर्नेबारे के उदाहरण दिनुभयो, र पलिस्तिनमा हुनेहरूका निम्ति त्यो किन बिल्कुलै उपयुक्त थियो?
१३ एउटा नाटकीय उदाहरणका साथ येशूले आफ्नो डाँड़ाको उपदेश समाप्त गर्नुभयो: “जसले मेरा यी वचनहरू सुन्छ र गर्छ, म एउटा बुद्धिमान मानिससित त्यसको तुलना गर्छु, जसले आफ्नो घर चटानमाथि बनायो। अनि पानी परेर भल आयो, हुरी चल्यो, र त्यस घरमाथि बजारियो, र पनि त्यो ढलेन। किनकि त्यो चटानमाथि बसालिएको थियो।”—मत्ती ७:२४, २५.
१४ पलिस्तिनमा, मुसलधार पानी पर्दा, त्यहाँको सुखा बेसीमा भारी बाढ़ी आउन सक्थियो। त्यस ठाउँमा घरहरू ढलपल नभइ रहने हो भने, तिनीहरूको जग बलियो ढुङ्गामा बसाल्नु पर्दथियो। लूकाको वर्णन अनुसार, त्यस मानिसले “गहिरो गरी खनेर चटानमाथि जग बसाल्यो।” (लूका ६:४८) यसो गर्नु कठिन काम थियो, तर आँधी आउँदा यसबाट फायदा भयो। अतः आफ्ना मसीही गुणहरू येशूका शिक्षाहरूमा आधारित छन् भने, आपत-विपदको बाढ़ी अचानक आइ पर्दा, लाभदायक हुनेछ।
१५. येशूका कथनहरूलाई पालन गर्नुको सट्टा मानिसहरूका परम्पराहरूलाई अनुसरण गर्नेहरूकालागि के परिणाम हुनेछ?
१५ अर्को घर चाहिं बालुवामाथि बनाइएको थियो: “जसले मेरा यी कुरा सुनेर पनि त्यस अनुसार गर्दैन, त्यसको तुलना एउटा मूर्ख मानिससित गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो। पानी परेर भल आयो, हुरी चल्यो, र त्यस घरमाथि ठक्कर लाग्यो, र त्यो ढल्यो, अनि त्यसको पतन ठूलो भयो।” अतः येशूलाई “प्रभु, प्रभु” मात्र भन्ने तर येशूका कथन अनुसार नचल्नेहरूको गति पनि त्यस्तै हुनेछ।—मत्ती ७:२६, २७.
“तिनीहरूका शास्त्रीहरू झैं होइन”
१६. डाँड़ाको उपदेश सुन्नेहरूमाथि के प्रभाव परेको थियो?
१६ डाँड़ाको उपदेशले मानिसहरूमाथि कस्तो प्रभाव पार्यो? “येशूले यी कुराहरू गरिसक्नु भएपछि भीड़ उहाँका शिक्षाले छक्क परे। किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले झैं होइन, तर अख्तियार भएकाले जस्तो गरी सिकाउनुहुन्थ्यो। (मत्ती ७:२८, २९) तिनीहरूले पहिले कहिल्यै महसुस नगरेको अख्तियार साथ उहाँ बोल्नु हुँदा, तिनीहरू भित्री हृदय देखिन् उहाँसँग प्रभावित भए।
१७. आफ्नो शिक्षाको औचित्य स्थापित गर्नकालागि शास्त्रीहरूले के गर्नु पर्ने थियो, र मरी सकेका धार्मिक दार्शनिकहरूको शिक्षाबाट उद्धृत गर्दा, के हुन्छ भन्ने दाबी गर्दथिए?
१७ कुनैपनि शास्त्री आफ्नै अख्तियारको आधारमा कहिले कुरा गर्दैन थिए र यसलाई यो ऐतिहासिक रेकर्डले देखाउँदछ: “शास्त्रीहरूले आफ्ना धर्म-शिक्षाहरू, परम्पराहरू र ती परम्पराहरू बनाउने आफ्ना पिताहरूबाट लिएका हुन्थिए: र रब्बीहरूको परम्परा अथवा . . . बुद्धिमान मानिसहरूका भनाइ वा त्यस्तै कुनै परम्परागत् वाणीलाई उल्लेख नगरीकन, शास्त्रीको कुनै पनि उपदेश आधिकारिक वा महत्त्वको हुँदैन थियो। महान कहलिएका हिलेलले पनि एउटा विशेष कुरा बारे राम्रोसँग शिक्षा दिए तर यस विषयमा परम्परा यसो भन्दछ: ‘त्यसकुरा बारे तिनले दिनभरि छलफल गरेता पनि . . . तिनले अन्तमा, शेमाया र अबतालियोनबाट [हिलेल भन्दा अघिका प्रतिष्ठित् वक्ताहरू] मैले सो कुरा सुनेको हुँ भनेर नभनुञ्जेल, कसैले पनि तिनको कुरा स्वीकार्न चाहेनन्।’” (ए कम्मेन्टरी अन दी न्यु टेस्टामेन्ट फ्रम दी टाल्मुड एन्ड हिब्राइका, बाइ जन लाइट्फुट) फरिसीहरूले धेरै अघि मरी सकेका सन्तहरूको विषयमा यसो पनि भन्ने गर्दथिए: “तिनीहरूको नाउँमा कसैले कुनै शिक्षा दिएमा, ती मरी सकेका धर्मीजनहरूले पनि चिहानबाट ती शिक्षाहरू गुनगुनाउने गर्छन्।”—टोराह—फ्रम स्क्रोल टु सिम्बल इन फरमेटिव जुडाइज्म.
१८. (क) येशूका शिक्षा र शास्त्रीहरूका शिक्षामा के भिन्नता थिए? (ख) येशूका शिक्षा कुन तरिकाहरूमा असामान्य थिए?
१८ शास्त्रीहरूले मरी सकेका मानिसहरूले भनेका कुराहरू उद्धृत गर्दै आफूले बोलेका कुराहरूलाई बल दिन खोज्द थिए। येशू चाहिं जीवित परमेश्वरबाट पाएको अधिकारको बलमा बोल्नु हुन्थियो। (यूहन्ना १२:४९, ५०; १४:१०) यहूदी धर्म-गुरुहरू बन्द ट्याङ्कीबाट बासी पानी झिक्तथिए। येशूले चाहिं भित्री प्यास तृप्त गर्ने ताजा पानीका मूलहरूबाट पानी निकाल्नु हुन्थियो। उहाँ रातभरि घोरिनु हुन्थियो र प्रार्थना गर्नु हुन्थियो, अनि उहाँले बोल्न थाल्नु हुँदा, सुन्नेहरूले पहिले कहिले महसुस नगरेका हृदयको गहराइसम्म ती कुराहरूले छुने गर्थियो। तिनीहरूले प्रष्टैसँग अनुभव गर्न सक्ने शक्तिका साथ उहाँ बोल्नु हुन्थियो, र त्यो अख्तियारलाई चुनौती दिन, शास्त्री र फरिसीहरू पनि अन्तत्वगत्वा डराए। (मत्ती २२:४६; मर्कूस १२:३४; लूका २०:४०) अरू कुनै मानिसले यस प्रकार बोलेको थिएन! उपदेशको अन्तमा, भीड़ चकित भए!
१९. यहोवाका साक्षीहरूले आज शिक्षा दिंदा प्रयोग गर्ने केही तरिकाहरू येशूले डाँड़ाको उपदेशमा प्रयोग गर्नु भएको जस्तै कसरी छ?
१९ आज के भन्न सकिन्छ? घर-घर जाने प्रचारकहरूको हैसियतमा, यहोवाका साक्षीहरूले पनि सोही तरिका प्रयोग गर्दछन्। एउटा घरवालाले तपाईंलाई भन्दछ: “मेरो गिर्जाले पृथ्वी जलेर भस्म हुनेछ भन्छ।” तपाईं भन्नुहुनेछ: “तपाईंको आफ्नै किंग जेम्स बाइबलको उपदेशक १:४ मा यसरी पढ़न सकिन्छ: ‘पृथ्वी सदा रहिरहनेछ।’” यो देखेर त्यो व्यक्ति छक्क पर्दछ। “मेरो बाइबलमा त्यो रहेछ भनी मलाई थाहै थिएन!” अर्कोले भन्छ: “पापीहरू नरक-कुण्डमा जल्ने छन् भनी मैले सँधै नै सुन्दै आएको छु।” “तर तपाईंकै बाइबलको रोमी ६:२३ मा भन्दछ: ‘पापको ज्याला मृत्यु हो।’” अथवा त्रिएकको सम्बन्धमा: “मेरा प्रचारक भन्दछन् कि येशू र उहाँका पिता बराबर हुनुहुन्छ।” “तर यूहन्ना १४:२८ मा तपाईंको बाइबलले येशूले यसो भन्नु भएको उद्धृत् गर्दछ: “पिता म भन्दा महान हुनुहुन्छ।’” अर्को व्यक्तिले तपाईंलाई भन्दछ: “परमेश्वरको राज्य त आफू भित्रै छ भनेको मैले सुनेको छु।” तपाईंको प्रत्युत्तर: “दानियल २:४४ मा तपाईंको बाइबलले भन्दछ: ‘ती राजाहरूका समयमा स्वर्गका परमेश्वरले एउटा राज्य खड़ा गर्नु हुनेछ, जो कहिले नाश हुनेछैन . . . त्यसले यी सबै राज्यहरूलाई चकनाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।’ अब यो घटना तपाईंको हृदय भित्र कसरी हुन सक्तछ?”
२०. (क) मसीही जगतका पादरीहरू र यहोवाका साक्षीहरूले दिने शिक्षाका तरिकाहरूमा के भिन्नता छ? (ख) अब अहिले के गर्ने समय हो?
२० परमेश्वरबाट पाएको अख्तियारसाथ येशू बोल्नु हुन्थियो। यहोवाका साक्षीहरू परमेश्वरका वचनको अख्तियारसाथ बोल्दछन्। मसीही जगतका पादरीहरू बेबिलोन र मिस्र देखिन् चलि आएका सिद्धान्त द्वारा दूषित भएका धार्मिक परम्पराहरूबारे बोल्दछन्। शुद्ध हृदय भएका व्यक्तिहरूले जब तिनीहरूले विश्वास गरेका कुराहरू बाइबल द्वारा खण्डित भएको देख्तछन्, तिनीहरू छक्क परेर उद्गार गर्दछन्: ‘मेरै बाइबलमा त्यो रहेछ भनी मैले कहिले थाहै पाएको थिइन!’ तर त्यो छ। आफ्नो आध्यात्मिक आवश्यकता बारे चेतनशील हुने मानिसहरूले चटानमाथि स्थायी जग बसाल्ने हो भने, येशूले डाँड़ाको उपदेशमा भन्नु भएका कुराहरूमा ध्यान दिने समय यही नै हो। (w90 10/1)
पुनरावलोकन गर्ने प्रश्नहरू
◻ अरूको निसाफ गरिरहनु भन्दा बरू, हामीले के गर्ने प्रयास गर्नु पर्दछ, र किन?
◻ धेरैले आज किन फराकिलो बाटो छान्दछन्?
◻ शास्त्रीहरूको भन्दा येशूको शिक्षा दिने ढङ्ग बेग्लै प्रकारको किन थियो?
◻ डाँड़ाको उपदेश सुन्नेहरूमाथि कस्तो प्रभाव परेको थियो?