अध्याय ३५
प्रख्यात डाँडाको उपदेश
डाँडाको उपदेश
येसु आफ्ना १२ जना चेलालाई प्रेषितको रूपमा छान्न पूरै रात प्रार्थना गरेर बिताउनुहुन्छ। त्यसैले येसु पक्कै थकित हुनुहुन्छ होला। अहिले दिउँसो भइसकेको छ। तैपनि मानिसहरूलाई मदत गर्ने बल र इच्छा येसुमा अझै घटेको छैन। उहाँ गालिलको एउटा डाँडामा मानिसहरूलाई शिक्षा दिनुहुन्छ, जुन डाँडा सायद उहाँले सेवा गरिरहनुभएको मुख्य ठाउँ कफर्नहुमबाट नजिकै पर्छ।
टाढा-टाढाबाट भीडका भीड मानिसहरू उहाँकहाँ आएका छन्। तिनीहरूमध्ये कोही-कोही दक्षिणमा पर्ने यरुसलेमबाट र यहुदियाको विभिन्न ठाउँबाट आएका छन्। कोही-कोहीचाहिँ उत्तर-पश्चिममा पर्ने तटवर्ती सहरहरू टायर र सिदोनबाट आएका छन्। तिनीहरू येसुलाई खोज्दै आउनुको कारण के हो? “उहाँको वचन सुन्न अनि निको हुन।” हुन पनि येसु त्यसै गर्नुहुन्छ; उहाँ ‘तिनीहरू सबैलाई निको पार्नुहुन्छ।’ सोच्नुहोस् त! सबै बिरामी निको भएका छन्। येसु ‘प्रेतले सताएकाहरूलाई’ अर्थात् सैतानका दुष्ट स्वर्गदूतहरूले सताइरहेका मानिसहरूलाई पनि निको पार्नुहुन्छ।—लुका ६:१७-१९.
त्यसपछि येसु डाँडामा एउटा समतल ठाउँ फेला पार्नुहुन्छ र भीड त्यहीँ जम्मा हुन्छ। उहाँका चेलाहरू, विशेषगरि १२ प्रेषित सम्भवतः उहाँको नजिकै छन्। शक्तिशाली कामहरू गर्न सक्नुहुने शिक्षकबाट सुन्न सबै जना उत्सुक छन्। उहाँ आफ्ना श्रोताहरू सबैलाई लाभ हुने एउटा उपदेश दिनुहुन्छ। त्यसबेलादेखि अहिलेसम्म अनगिन्ती मानिसले त्यस उपदेशबाट लाभ उठाएका छन्। हामी पनि लाभ उठाउन सक्छौँ किनकि यस उपदेशमा येसुले गहिरो आध्यात्मिक कुराहरूलाई सरल तर स्पष्ट रूपमा बताउनुभएको छ। येसु मानिसहरूले सुनिरहेका र देखिरहेका कुराहरूलाई उदाहरणको रूपमा चलाउनुहुन्छ। यसले गर्दा परमेश्वरले देखाउनुभएको बाटोमा हिँड्न चाहने सबैले उहाँले सिकाउन खोज्नुभएको कुरा स्पष्ट रूपमा बुझ्न सक्छन्। येसुले भन्नुभएका कस्ता गहन कुराहरूले यस उपदेशलाई बहुमूल्य बनाएको छ?
साँच्चै आनन्दित को हुन्?
सबै मानिस आनन्दित हुन चाहन्छन्। यो कुरा बुझेकोले येसुले सुरुमा कस्ता मानिसहरू साँच्चै आनन्दित हुन् भनेर बताउनुहुन्छ। यसले पक्कै पनि उहाँका श्रोताहरूको ध्यान खिच्छ। तर येसुले भन्नुभएको केही कुराले तिनीहरूलाई अचम्ममा पारेको हुनुपर्छ।
येसु भन्नुहुन्छ: “आनन्दित हुन् ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्यकताबारे सचेत हुन्छन् किनकि स्वर्गको राज्य तिनीहरूकै हो। आनन्दित हुन् ती मानिसहरू, जसले शोक गर्छन् किनकि तिनीहरूलाई सान्त्वना दिइनेछ। . . . आनन्दित हुन् ती मानिसहरू, जो धार्मिकताका लागि भोकाउँछन् र तिर्खाउँछन् किनकि तिनीहरू तृप्त हुनेछन्। . . . आनन्दित हुन् ती मानिसहरू, जो न्यायोचित काम गरेकोले खेदोमा परेका छन् किनकि स्वर्गको राज्य तिनीहरूकै हो। आनन्दित हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको बदनाम गर्छन्, खेदो गर्छन् . . . तब रमाओ र खुसीयाली मनाओ।”—मत्ति ५:३-१२.
येसु “आनन्दित” भनेर के भन्न खोज्दै हुनुहुन्छ? उहाँले रमाइलो समय बिताउँदा हुने हँसीमजाक वा खुसीलाई सङ्केत गरिरहनुभएको होइन। बरु साँचो आनन्द भित्रैदेखि आउँछ। यसमा साँचो सन्तुष्टि र सफलताको भाव मुछिएको हुन्छ।
आफ्नो आध्यात्मिक आवश्यकताबारे सचेत हुनेहरू, आफ्नो पापपूर्ण अवस्था देखेर दुःखित हुनेहरू अनि परमेश्वरलाई चिनेर उहाँको सेवा गर्नेहरू साँच्चै आनन्दित हुन् भनेर येसु बताउनुहुन्छ। परमेश्वरको इच्छा गरेकोमा घृणा वा खेदो भोग्नुपर्दा समेत उनीहरू आनन्दित हुन्छन् किनकि उनीहरूले परमेश्वरलाई खुसी बनाइरहेका छन् र उहाँले अनन्त जीवनको इनाम दिनुहुनेछ भनेर उनीहरूलाई थाह छ।
सम्पन्न हुँदा र सुखसुविधाका कुराहरू हासिल गर्दा मात्र आनन्दित हुन सकिन्छ भनेर थुप्रै मानिस सोच्छन्। तर येसु बिलकुलै फरक कुरा बताउनुहुन्छ। उहाँ आफ्ना श्रोताहरूलाई सोच्न बाध्य पार्ने यस्तो कुरा भन्नुहुन्छ: “धिक्कार तिमी धनीहरूलाई किनकि तिमीहरूले जति सुखसुविधा पाउनुपर्ने हो, त्यो तिमीहरूले पाइसकेका छौ। धिक्कार तिमीहरूलाई, जो अहिले तृप्त छौ किनकि तिमीहरू भोकाउनेछौ। धिक्कार तिमीहरूलाई, जो अहिले हाँसिरहेका छौ किनकि तिमीहरू शोक गर्नेछौ अनि रुनेछौ। धिक्कार तिमीहरूलाई जब सबै मानिसले तिमीहरूको तारिफ गर्छन् किनकि तिनीहरूका पुर्खाहरूले झूटा भविष्यवक्ताहरूलाई त्यसै गर्थे।”—लुका ६:२४-२६.
धनसम्पत्ति भएकाहरू, खुसीले हाँस्नेहरू र अरूबाट तारिफ खोज्नेहरूलाई येसु किन धिक्कार भन्नुहुन्छ? किनकि यस्ता कुराहरूलाई महत्त्व दिनेहरूले परमेश्वरको सेवालाई हेलचेक्र्याइँ गर्न सक्छन्, जसले गर्दा तिनीहरू साँच्चै आनन्दित हुन सक्दैनन्। तर येसुले गरिब वा भोको हुँदैमा आनन्दित भइन्छ भन्न खोज्नुभएको पनि होइन। अक्सर गरिबहरूले येसुको शिक्षाप्रति राम्रो प्रतिक्रिया देखाउँछन् र साँचो आनन्द पाउँछन्।
त्यसपछि येसु आफ्ना चेलाहरूलाई सङ्केत गर्दै यसो भन्नुहुन्छ: “तिमीहरू पृथ्वीका नुन हौ।” (मत्ति ५:१३) उहाँले चेलाहरू साँच्चैका नुन हुन् भन्न खोज्नुभएको होइन। नुनले खानेकुरालाई बिग्रनदेखि जोगाउँछ। परमेश्वरको मन्दिरको वेदीनजिकै नुनको थुप्रो राखिन्छ र भेटीहरू चढाउँदा नुन पनि हाल्ने गरिन्छ। नुनले भ्रष्ट नभएको वा नकुहिएको कुरालाई पनि जनाउँछ। (लेवी २:१३; इजकिएल ४३:२३, २४) येसुका चेलाहरूले मानिसहरूलाई आध्यात्मिक र नैतिक रूपमा भ्रष्ट हुन वा कुहिनदेखि जोगाउने भएकोले तिनीहरू “पृथ्वीका नुन” हुन्। हो, तिनीहरूले सुनाउने सन्देश स्विकार्ने सबैको जीवन जोगिन्छ।
येसु चेलाहरूलाई यसो पनि भन्नुहुन्छ: “तिमीहरू संसारका ज्योति हौ।” कसैले पनि दियो बालेर त्यसलाई टोकरीले छोप्दैन बरु पानसमा राख्छ र त्यसले सबैलाई उज्यालो दिन्छ। त्यसैले येसु यस्तो आग्रह गर्नुहुन्छ: “मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस् र तिमीहरूको सुकर्म देखेर तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्।”—मत्ति ५:१४-१६.
येसुका अनुयायीहरूले पालन गर्नुपर्ने उच्च स्तर
यहुदी धर्मगुरुहरू येसुलाई परमेश्वरको व्यवस्थाको विरोधीको रूपमा हेर्छन् र तिनीहरूले हालै उहाँलाई मार्ने षड्यन्त्र रचेका थिए। त्यसैले येसु खुल्लमखुल्ला यसो भन्नुहुन्छ: “मोसाको व्यवस्था वा भविष्यवक्ताहरूको शिक्षालाई रद्द गर्न म आएँ भनी नठान। रद्द गर्न होइन तर पूरा गर्न म आएँ।”—मत्ति ५:१७.
हो, येसु परमेश्वरको व्यवस्थालाई असाध्यै मोल गर्नुहुन्छ र अरूलाई पनि त्यसै गर्न आग्रह गर्नुहुन्छ। उहाँ यसो भन्नुहुन्छ: “यसकारण जसले सानाभन्दा साना आज्ञाहरूमध्ये कुनै एउटा उल्लङ्घन गर्छ र मानिसहरूलाई त्यसै गर्न सिकाउँछ, त्यो स्वर्गको राज्यमा पस्न लायकको हुनेछैन।” उहाँ अझ भन्नुहुन्छ: “तर जसले ती पालन गर्छ र सिकाउँछ, त्यो नै स्वर्गको राज्यमा पस्न लायकको हुनेछ।”—मत्ति ५:१९.
येसु मानिसलाई परमेश्वरको व्यवस्था तोड्ने हदसम्म पुऱ्याउने मनोवृत्तिको समेत आलोचना गर्नुहुन्छ। “तिमीहरूले हत्या नगर्नू” भन्ने व्यवस्था उल्लेख गर्नुभएपछि येसु यसो भन्नुहुन्छ: “जो आफ्नो भाइसित क्रोधित भइरहन्छ, ऊ अदालतसामु जबाफदेही हुनेछ।” (मत्ति ५:२१, २२) कसैसित क्रोधित भइरहनु उचित होइन किनकि त्यसले हत्या गर्नसमेत सुऱ्याउन सक्छ। त्यसैले अरूसित शान्ति कायम गर्न कुन हदसम्म कदम चाल्नुपर्छ भन्नेबारे उहाँ भन्नुहुन्छ: “तिमीले वेदीमा आफ्नो भेटी चढाउन ल्याउँदा तिम्रो विरुद्धमा तिम्रो भाइसित केही गुनासो छ भन्ने तिमीलाई झल्याँस्स याद आयो भने आफ्नो भेटी त्यहीँ वेदीअगाडि छोड र गएर पहिले आफ्नो भाइसित मिलाप गर अनि फर्केर आएपछि आफ्नो भेटी चढाऊ।”—मत्ति ५:२३, २४.
व्यवस्थाको अर्को एउटा आज्ञा व्यभिचारसम्बन्धी हो। येसु भन्नुहुन्छ: “तिमीहरूले यसो भनिएको सुनेका छौ: ‘तिमीहरूले व्यभिचार नगर्नू।’ तर म तिमीहरूलाई भन्छु, जसले कुनै स्त्रीलाई हेरिरहन्छ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित व्यभिचार गरिसकेको हुन्छ।” (मत्ति ५:२७, २८) यहाँ येसुले मनमा एकछिन आउने अनैतिक विचारबारे होइन बरु कसैलाई ‘हेरिरहँदा’ त्यसको नतिजा कत्ति गम्भीर हुन सक्छ भन्नेबारे जोड दिनुभएको हो। कसैलाई हेरिरहँदा मनमा अनैतिक इच्छा जाग्न सक्छ। अनि मौका पाउँदा ऊ व्यभिचार गर्ने हदसम्म पुग्न सक्छ। यस्तो हदसम्म नपुग्न के गर्नुपर्छ? यसको लागि ठूलै कदम चाल्नुपर्ने हुन्छ। येसु भन्नुहुन्छ: “यदि तिम्रो दाहिने आँखाले तिमीलाई ठेस पुऱ्याउँछ भने त्यसलाई निकालेर फालिदेऊ। . . . यदि तिम्रो दाहिने हातले तिमीलाई ठेस पुऱ्याउँछ भने त्यसलाई काटेर फालिदेऊ।”—मत्ति ५:२९, ३०.
कोही-कोही आफ्नो जीवन बचाउन रोग लागेको हात वा खुट्टा काट्न समेत तयार भएका छन्। त्यसैले अनैतिक विचार र त्यसले निम्त्याउने नतिजाबाट जोगिन जुनसुकै कुरा, यहाँसम्म कि हाम्रो आँखा वा हातजस्ता बहुमूल्य कुराहरूसमेत ‘फाल्न’ तयार हुनुपर्छ भनी येसु बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ: “तिम्रो सिङ्गै शरीर गेहेन्नामा पर्नुभन्दा एउटा अङ्ग गुमाउनु नै तिम्रो लागि बेस हुन्छ।” गेहेन्ना भनेको यरुसलेमबाहिर फोहोरमैला जलाउने ठाउँ हो र यस पदमा यसले अनन्त विनाशलाई बुझाउँछ।
हामीलाई चोट पुऱ्याउने र हानि गर्ने मानिसहरूसित कस्तो व्यवहार गर्नुपर्छ भन्ने विषयमा पनि येसु सल्लाह दिनुहुन्छ। उहाँ भन्नुहुन्छ: “दुष्टको प्रतिकार नगर तर जसले तिम्रो दाहिने गाला चड्काउँछ, उसलाई अर्को गाला पनि थापिदेओ।” (मत्ति ५:३९) यसको अर्थ कसैले हामीलाई वा हाम्रो परिवारलाई आक्रमण गऱ्यो भने बचाउमा केही पनि गर्नु हुँदैन भन्ने होइन। येसु गाला चड्काउने कुरा उल्लेख गर्नुहुन्छ, जुन कसैलाई ठूलो चोट पुऱ्याउन वा ज्यान लिन गरिँदैन। बरु कसैको गाला चड्काउनु भनेको उसको बेइज्जत गर्नु हो। यदि कसैले साँच्चै हाम्रो गालामा चड्कन हानेर वा अपशब्द बोलेर हामीसित झगडा गर्न वा विवाद गर्न खोज्छ भने हामीले जस्तालाई तस्तै गर्नु हुँदैन भनी येसु भन्न खोज्दै हुनुहुन्छ।
यो सल्लाह आफ्नो छिमेकीलाई प्रेम गर्नू भनी परमेश्वरको व्यवस्थामा दिइएको आज्ञाअनुरूप छ। त्यसैले येसु आफ्ना श्रोताहरूलाई यस्तो सल्लाह दिनुहुन्छ: “आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो।” उहाँ यस्तो सशक्त कारण पनि दिनुहुन्छ: “यसरी तिमीहरू स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाका छोराहरू बन्न सक्नेछौ किनकि उहाँले दुष्ट र सज्जन दुवैमाथि घाम लगाइदिनुहुन्छ अनि धर्मी र अधर्मी दुवैमाथि पानी बर्साउनुहुन्छ।”—मत्ति ५:४४, ४५.
येसु आफ्नो उपदेशको यो भाग यसरी टुङ्ग्याउनुहुन्छ: “जस्तो स्वर्गमा बस्नुहुने तिमीहरूका बुबा सर्वगुणी हुनुहुन्छ, त्यस्तै तिमीहरू पनि सर्वगुणी होओ।” (मत्ति ५:४८) उहाँले मानिसहरू कुनै गल्ती नगर्ने सर्वगुणी हुन सक्छन् भन्न खोज्नुभएको होइन। तर परमेश्वरको अनुकरण गर्दै हामी आफ्ना शत्रुहरूलाई समेत प्रेम गर्न सक्छौँ। यही कुरालाई येसुले यसरी पनि भन्नुभएको छ: “जस्तो तिमीहरूका बुबा कृपालु हुनुहुन्छ, तिमीहरू पनि कृपालु भइरहो।”—लुका ६:३६.
प्रार्थना गर्नुहोस् र परमेश्वरमा भरोसा राख्नुहोस्
उपदेश दिने क्रममा येसु आफ्ना श्रोताहरूलाई यस्तो आग्रह गर्नुहुन्छ: “मानिसहरूले देखून् भनेर उनीहरूको अगाडि धर्मकर्म गर्नदेखि होसियार होओ।” परमेश्वरको भक्ति गरेको ढोँग गर्नेहरूको आलोचना गर्दै येसु थप यसो भन्नुहुन्छ: “तिमीले दानपुण्य गर्दा कपटीहरूले जस्तो झ्याली नपिट्नू।” (मत्ति ६:१, २) कसैले थाह नपाउने गरी दानपुण्य गर्नु राम्रो हो।
त्यसपछि येसु भन्नुहुन्छ: “जब तिमीहरू प्रार्थना गर्छौ, तब कपटीहरूले जस्तो नगर्नू किनभने तिनीहरू सभाघरमा अनि चौबाटोमा उभिएर मानिसहरूले देख्नेगरि प्रार्थना गर्न रुचाउँछन्।” बरु उहाँ यसो भन्नुहुन्छ: “प्रार्थना गर्ने बेला तिमीचाहिँ आफ्नो भित्री कोठामा जाऊ अनि ढोका बन्द गरेर तिम्रो अदृश्य बुबालाई प्रार्थना गर।” (मत्ति ६:५, ६) येसुले यहाँ सार्वजनिक रूपमा गरिने सबै प्रार्थनाको विरोध गरिरहनुभएको होइन किनकि उहाँ आफैले पनि यस्तो किसिमको प्रार्थना गर्नुभएको छ। बरु उहाँ अरूलाई मक्ख पार्न र उनीहरूबाट प्रशंसा बटुल्न गरिने प्रार्थनाको आलोचना गर्दै हुनुहुन्छ।
उहाँ भीडलाई यस्तो सल्लाह दिनुहुन्छ: “प्रार्थना गर्दा अन्यजातिका मानिसहरूले जस्तो एउटै कुरा दोहोऱ्याई नराख।” (मत्ति ६:७) येसुले कुनै विषयमा बारम्बार प्रार्थना गर्नु गलत हो भन्न खोज्नुभएको होइन। बरु कण्ठ पारेर एउटै कुरा बारम्बार ‘दोहोऱ्याउनु’ चाहिँ गलत हो। त्यसपछि उहाँ नमुना प्रार्थना गर्नुहुन्छ, जसमा सात वटा बिन्ती समावेश छ। पहिलो तीन वटा बिन्तीमा परमेश्वरको शासन गर्ने अधिकार र उहाँको उद्देश्य समावेश छ। यी तीन वटा बिन्ती हुन्: तपाईँको नाम पवित्र पारियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा पूरा होस्। यी कुराहरूको लागि बिन्ती गरेपछि मात्र हामी दिनहुँको भोजन दिनुहोस्, हाम्रा पापहरूको क्षमा गर्नुहोस्, हामीलाई प्रलोभनमा पर्न नदिनुहोस् अनि त्यस दुष्टबाट छुटाउनुहोस् भन्नेजस्ता व्यक्तिगत विषयमा बिन्ती गर्न सक्छौँ।
हामीले आफ्नो धनसम्पत्तिलाई कत्तिको महत्त्वपूर्ण ठान्नुपर्छ? येसु भीडलाई यस्तो आग्रह गर्नुहुन्छ: “आफ्नो निम्ति पृथ्वीमा धनसम्पत्ति थुपार्न छोडिहाल, जहाँ त्यसलाई किरा र खियाले खान्छ अनि चोरहरूले फोरेर लैजान्छन्।” कस्तो व्यावहारिक सल्लाह! भौतिक धनसम्पत्ति सधैँभरि रहँदैन र हामी धनी हुँदैमा यहोवाले हामीलाई अनुग्रह देखाउनुहुन्न। यसपछि येसु यसो भन्नुहुन्छ: “आफ्नो निम्ति स्वर्गमा धनसम्पत्ति थुपार।” परमेश्वरको सेवालाई प्राथमिकता दिएर हामी यसो गर्न सक्छौँ। यहोवाको नजरमा हामीले कमाएको असल नाम वा अनन्त जीवनको इनाम हामीबाट कसैले पनि खोस्न सक्दैन। येसुका यी शब्दहरू कत्ति सत्य छन्: “जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन पनि हुन्छ।”—मत्ति ६:१९-२१.
यही कुरालाई जोड दिँदै येसु यस्तो उदाहरण दिनुहुन्छ: “शरीरको बत्ती आँखा हो। त्यसैले यदि तिम्रो आँखा एउटै कुरामा केन्द्रित छ भने तिम्रो पूरै शरीर उज्यालो हुनेछ। तर यदि तिम्रो आँखा ईर्ष्यालु छ भने तिम्रो पूरै शरीर अँध्यारो हुनेछ।” (मत्ति ६:२२, २३) हाम्रो प्रतीकात्मक आँखाले राम्ररी काम गरिरहेको छ भने त्यो हाम्रो लागि बत्तीसरह हुन्छ। तर त्यसको लागि हाम्रो आँखा एउटै कुरामा केन्द्रित हुनुपर्छ, नत्र त जीवनप्रति गलत धारणा राख्न पुग्छौँ। परमेश्वरको सेवा गर्नुको साटो भौतिक कुराहरूमा ध्यान केन्द्रित गऱ्यौँ भने हाम्रो “पूरै शरीर अँध्यारो हुनेछ।” मतलब हामी बेइमानी गर्नतर्फ खिचिन सक्छौँ।
त्यसपछि येसु एउटा सशक्त उदाहरण दिनुहुन्छ: “कोही पनि दुई मालिकको दास बन्न सक्दैन किनकि उसले एक जनालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ अथवा ऊ एक जनासित टाँसिनेछ र अर्कोलाई तुच्छ ठान्नेछ। तिमीहरू परमेश्वर र धनसम्पत्ति दुवैको दास बन्न सक्दैनौ।”—मत्ति ६:२४.
येसुको कुरा सुनिरहेका केही मानिसलाई आफ्नो भौतिक आवश्यकतालाई कुन दृष्टिकोणले हेर्नुपर्छ जस्तो लागेको हुनुपर्छ। त्यसैले परमेश्वरको सेवालाई पहिलो स्थानमा राखेमा चिन्ता गर्नु पर्दैन भनेर उहाँ तिनीहरूलाई भन्नुहुन्छ। उहाँ तिनीहरूलाई यस्तो आश्वासन दिनुहुन्छ: “आकाशका चराचुरुङ्गीलाई नियालेर हेर किनभने तिनीहरू न बिउ छर्छन् न कटनी गर्छन् न त भण्डारमै जम्मा गर्छन् तैपनि स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले तिनीहरूलाई खुवाउनुहुन्छ।”—मत्ति ६:२६.
त्यहाँ मैदानमा भएका लिली फूलहरू नि? “सारा वैभवले सुसज्जित सुलेमानसमेत यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्” भनी येसु बताउनुहुन्छ। यसबाट के स्पष्ट हुन्छ? “यदि परमेश्वरले आज देखिने अनि भोलि चुल्होमा फ्याँकिने मैदानका बोटबिरुवालाई त यसरी पहिराउनुहुन्छ भने . . . के उहाँले [हामीलाई] झनै पहिराउनुहुन्न?” (मत्ति ६:२९, ३०) उहाँ यस्तो आग्रह गर्नुहुन्छ: “‘हामी के खाऔँला?’ वा ‘के पिऔँला?’ वा ‘के लगाऔँला?’ भनेर कहिल्यै चिन्ता नगर। . . . यी सब कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा बस्नुहुने तिमीहरूका बुबालाई थाह छ। यसकारण उहाँको राज्यलाई र उहाँको धार्मिक स्तरलाई पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।”—मत्ति ६:३१-३३.
जीवन पाउन के गर्नुपर्छ?
प्रेषितहरू र इमानदार हृदय भएका अरू मानिसहरू परमेश्वरलाई खुसी तुल्याउने तरिकामा जीवन बिताउन चाहन्छन् तर त्यसो गर्न सजिलो छैन। जस्तै, थुप्रै फरिसी अरूप्रति आलोचनात्मक छन् र अरूको कठोर न्याय गर्छन्। त्यसैले येसु आफ्ना श्रोताहरूलाई यस्तो आग्रह गर्नुहुन्छ: “अरूको न्याय गर्न छोडिहाल ताकि तिमीहरूको पनि न्याय नगरियोस्। किनकि तिमीहरू जसरी अरूको न्याय गर्छौ, त्यसरी नै तिमीहरूको पनि न्याय गरिनेछ।”—मत्ति ७:१, २.
अरूको बढ्तै आलोचना गर्ने ती फरिसीहरूको पछि लाग्नु खतरनाक छ। यसबारे येसु यस्तो उदाहरण सुनाउनुहुन्छ: “अन्धाले अन्धालाई डोऱ्याउन सक्छ र? त्यसो गऱ्यो भने दुवै जना खाल्टोमा खस्दैनन् र?” त्यसोभए येसुका श्रोताहरूले अरूलाई कुन दृष्टिकोणले हेर्नुपर्छ? तिनीहरू अरूप्रति आलोचनात्मक हुनु हुँदैन किनकि त्यसो गर्नु गम्भीर गल्ती हो। उहाँ तिनीहरूलाई सोध्नुहुन्छ: “यदि तिमी आफ्नै आँखामा भएको मुढा देख्दैनौ भने तिमी कसरी आफ्नो भाइलाई ‘ए भाइ, मलाई तिम्रो आँखाको छेस्को निकाल्न देऊ’ भन्न सक्छौ? ए कपटी! पहिले आफ्नै आँखाको मुढा निकाल अनि तिमीले आफ्नो भाइको आँखाबाट छेस्को कसरी निकाल्ने भनेर छर्लङ्गै देख्नेछौ।”—लुका ६:३९-४२.
तर यसको मतलब चेलाहरूले अरूको न्याय नै गर्नु हुँदैन भन्नेचाहिँ होइन। येसु यस्तो आग्रह गर्नुहुन्छ: “पवित्र थोक कुकुरहरूलाई नदेओ अनि आफ्ना मोती सुँगुरहरूको अगाडि नफाल।” (मत्ति ७:६) परमेश्वरको वचनमा पाइने सत्यहरू मोतीजस्तै अनमोल छन्। त्यसैले यदि कसैले जनावरको जस्तै व्यवहार देखाउँदै यी अनमोल सत्यहरूको मोल गर्दैन भने चेलाहरूले उनीहरूलाई छोडेर चासो भएका व्यक्तिहरू खोज्नुपर्छ।
येसु फेरि प्रार्थनाकै विषयमा कुरा गर्न थाल्नुहुन्छ। प्रार्थनामा लागिरहनुको महत्त्वबारे उहाँ यसो भन्नुहुन्छ: “मागिरहो अनि तिमीहरूलाई दिइनेछ।” परमेश्वर हाम्रो प्रार्थनाको जवाफ दिन सधैँ तयार हुनुहुन्छ भन्ने कुरामा जोड दिँदै येसु यस्तो प्रश्न गर्नुहुन्छ: “तिमीहरूमध्ये कोचाहिँ यस्तो होला, जसले आफ्नो छोराले रोटी माग्दा उसलाई ढुङ्गा देला? . . . त्यसकारण यदि तिमीहरू दुष्ट भईकन पनि आफ्ना छोराछोरीलाई राम्रा कुरा दिन जान्दछौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले उहाँसित माग्नेहरूलाई झन् कत्ति धेरै असल थोक दिनुहुनेछ!”—मत्ति ७:७-११.
त्यसपछि येसु एउटा यस्तो कुरा बताउनुहुन्छ, जुन आचरणसम्बन्धी प्रसिद्ध नियम नै बनेको छ: “त्यसकारण मानिसहरूले तिमीहरूलाई जे-जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” अरूसित व्यवहार गर्ने सन्दर्भमा के हामीले यो आग्रह लागू गर्नु पर्दैन र? तर त्यसो गर्न सजिलो छैन भन्ने कुरा येसुले दिनुभएको यो निर्देशनबाट स्पष्ट हुन्छ: “साँघुरो ढोकाबाट भित्र पस किनकि विनाशतर्फ लैजाने ढोका फराकिलो र बाटो चौडा हुन्छ अनि यसमा हिँड्नेहरू धेरै हुन्छन्। तर जीवनतर्फ लैजाने ढोका साँघुरो र बाटो अप्ठेरो हुन्छ अनि यो भेट्टाउने थोरै हुन्छन्।”—मत्ति ७:१२-१४.
चेलाहरूलाई जीवनतर्फ लैजाने बाटोबाट तर्काउन खोज्नेहरू पनि छन्। त्यसैले येसु यस्तो चेतावनी दिनुहुन्छ: “भेडाको भेषमा तिमीहरूकहाँ आउने झूटा भविष्यवक्ताहरूदेखि होसियार रहो किनकि वास्तवमा तिनीहरू भोका ब्वाँसाहरू हुन्।” (मत्ति ७:१५) असल र खराब रूख त्यसको फलबाटै चिन्न सकिन्छ भन्ने कुरा पनि येसु बताउनुहुन्छ। मानिसहरूको सन्दर्भमा पनि कुरा त्यस्तै हो। त्यसैले झूटा भविष्यवक्ताहरूलाई तिनीहरूको शिक्षा र कामबाटै चिन्न सक्छौँ। हो, कुनै व्यक्ति उसले भन्ने कुराको आधारमा मात्र नभई उसको कामको आधारमा येसुको चेला बन्न सक्छ भनी उहाँ व्याख्या गर्नुहुन्छ। कसैले येसु आफ्नो प्रभु हो भनी दाबी गर्छ तर ऊ परमेश्वरको इच्छाअनुसार चाहिँ चल्दैन भने नि? येसु भन्नुहुन्छ: “म तिनीहरूलाई प्रस्टै यसो भन्नेछु: ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ! ए कुकर्मी हो, मबाट पर हटिहाल!’”—मत्ति ७:२३.
येसु आफ्नो उपदेश टुङ्ग्याउँदै यसो भन्नुहुन्छ: “मेरा यी कुरा सुन्ने र पालन गर्ने सबै जना चट्टानमाथि आफ्नो घर बनाउने बुद्धिमान् मानिसजस्तै हुन्। घनघोर पानी पऱ्यो, बाढी आयो, बतास चल्यो र घरलाई बेसरी हान्यो तैपनि त्यो ढलेन किनकि त्यो घर चट्टानमाथि बसालिएको थियो।” (मत्ति ७:२४, २५) त्यो घर किन ढलेन? किनकि त्यस मानिसले “गहिरो खाल्टो खनेर चट्टानमाथि जग बसाल्यो।” (लुका ६:४८) त्यसैले हामीले येसुको कुरा सुन्नु मात्र पर्याप्त छैन; ‘पालन गर्न’ कडा मेहनत पनि गर्नुपर्छ।
“यी कुरा सुन्ने तर पालन नगर्ने” मानिस नि? तिनी “बालुवामाथि आफ्नो घर बनाउने मूर्ख मानिसजस्तै हुन्।” (मत्ति ७:२६) पानी, बाढी र बतासले गर्दा त्यस्तो घर सजिलै ढल्न सक्छ।
येसुले यो उपदेश दिनुहुँदा उहाँको सिकाउने तरिका देखेर भीड छक्क पर्छ। किनकि उहाँ धर्मगुरुहरूले जस्तो नभई परमेश्वरबाट अख्तियार पाएको व्यक्तिले जस्तोगरि सिकाउनुहुन्छ। उहाँको शिक्षा सुन्ने थुप्रै मानिस पक्कै उहाँको चेला बनेको हुनुपर्छ।