अध्याय ४०
क्षमासम्बन्धी पाठ
एउटी पापी स्त्री येसुको खुट्टामा तेल खन्याउँछे
क्षमासम्बन्धी उदाहरण
मानिसहरूको हृदयको अवस्थाअनुसार तिनीहरू येसुले भन्नुहुने र गर्नुहुने कुराहरूप्रति फरकफरक प्रतिक्रिया देखाउँछन्। यो कुरा गालिलको एउटा घरमा स्पष्ट हुन्छ। सिमोन नाम गरेका एक जना फरिसीले येसुलाई खाना खान बोलाएका छन्। सायद उहाँलाई बोलाउनुपछाडिको तिनको मनसाय उहाँले गर्नुहुने अचम्मका कामहरू अझ नजिकबाट हेर्नु हो। यस अवसरमा अरूलाई प्रचार गर्न सकिन्छ भनेर येसु त्यो निम्तो स्विकार्नुहुन्छ। अरू बेला पनि उहाँले कर उठाउनेहरू र अन्य पापीहरूसँगै खाने निम्तो स्विकार्नुभएको छ।
तर साधारणतया पाहुनाहरूलाई गरिने सत्कार येसुले पाउनुहुन्न। प्यालेस्टाइनका बाटोहरू धुलाम्मे हुन्छन्। चप्पल लगाएर त्यस्तो बाटो हिँड्दा खुट्टा पोल्छ र फोहोर पनि हुन्छ। त्यसैले पाहुनालाई सत्कार गर्दा तिनको खुट्टा चिसो पानीले धोइदिने चलन छ। तर येसुलाई त्यस्तो केही गरिँदैन। प्रचलित चलनअनुसार उहाँको स्वागत गर्न चुम्बन पनि गरिँदैन। साथै आतिथ्य देखाउँदै पाहुनाको टाउकोमा अलिकति तेल खन्याउने चलन पनि छ। तर येसुलाई यस्तो पनि गरिँदैन। त्यसैले उहाँलाई स्वागत गरियो भन्न मिल्छ र?
पाहुनाहरू टेबुलअगाडि बसेपछि खाना खान सुरु हुन्छ। पाहुनाहरू खाना खाइरहेको बेला निम्तो नपाएकी एउटी स्त्री चुपचाप त्यस कोठामा पस्छे। ऊ “पापीनी भनेर सहरभरि चिनिएकी” छे। (लुका ७:३७) हुनत सबै त्रुटिपूर्ण मानिस पापी हुन् तर यस स्त्रीले अनैतिक जीवन बिताइरहेकी छे जस्तो देखिन्छ। सायद ऊ वेश्या हो। “भारले दबिएका सबै मानिस हो, मकहाँ आओ” भन्नेलगायत येसुका अन्य शिक्षाहरू उसले सुनेकी हुनुपर्छ। (मत्ति ११:२८, २९) येसुले भन्नुभएको कुरा र गर्नुभएको कामद्वारा प्रभावित भएर उसले येसुलाई खोजेकी हुनुपर्छ।
ऊ येसुको पाउनजिकै आएर घुँडा टेकेर बस्छे। उसको आँखाबाट झरेको आँसुले उहाँको पाउ भिज्छ र त्यो उसले आफ्नो कपालले पुछ्छे। अनि उहाँको पाउमा चुम्बन गर्छे र आफूसँग ल्याएको सुगन्धित तेल उहाँको पाउमा खन्याउँछे। सिमोनलाई यो चित्त बुझ्दैन र तिनी मनमनै यसो भन्छन्: “यदि यी मानिस साँच्चै भविष्यवक्ता हुँदा हुन् त यिनलाई छुने यो स्त्री को हो र कस्तो खालकी हो भनेर यिनलाई थाह हुने थियो किनकि यो त पापीनी हो।”—लुका ७:३९.
सिमोन के सोच्दै छन् भनी येसु बुझ्नुहुन्छ र तिनलाई यसो भन्नुहुन्छ: “सिमोन, म तिमीलाई केही भन्न चाहन्छु।” तिनले भने: “गुरुज्यू, भन्नुहोस्!” येसु भन्नुहुन्छ: “कुनै एक जना साहुका दुई ऋणी थिए; एक जनालाई ५०० दिनार र अर्कोलाई ५० दिनार ऋण लागेको थियो। ऋण चुक्ता गर्न तिनीहरूसित केही नहुँदा तिनले ती दुवैलाई खुला मनले माफी दिए। अब भन त, ती दुईमध्ये कुनचाहिँले त्यो साहुलाई बढी प्रेम गर्नेछ?” सायद उहाँको कुरामा चासै नभएको जस्तोगरि सिमोन यस्तो जवाफ दिन्छन्: “मेरो विचारमा जसलाई तिनले बढ्ता माफी दिए, उसैले।”—लुका ७:४०-४३.
येसु तिनीसित सहमत हुनुहुन्छ। त्यसपछि यस स्त्रीतिर फर्कँदै उहाँ सिमोनलाई यसो भन्नुहुन्छ: “के तिमी यस स्त्रीलाई देख्दै छौ? म तिम्रो घरभित्र पसेँ तर तिमीले मेरो खुट्टा धुनलाई पानी दिएनौ। तर यस स्त्रीले भने आफ्नो आँसुले मेरो खुट्टा भिजाएर आफ्नो कपालले पुछी। तिमीले मलाई चुम्बन गरेनौ तर यस स्त्रीले भने म भित्र पसेदेखि नै मेरो खुट्टामा चुम्बन गर्न छोडेकी छैन। तिमीले मेरो टाउकोमा तेल घसेनौ तर यस स्त्रीले मेरो खुट्टामा सुगन्धित तेल घसी।” यस स्त्रीले आफूले बिताइरहेको अनैतिक जीवनको लागि हृदयदेखि नै पश्चात्ताप गरेको येसु देख्नुहुन्छ। त्यसैले अन्तमा उहाँ यसो भन्नुहुन्छ: “उसका पापहरू धेरै भए तापनि ती क्षमा भएका छन् किनकि उसले धेरै प्रेम गरी। तर जसलाई थोरै क्षमा दिइन्छ, उसले थोरै नै प्रेम गर्छ।”—लुका ७:४४-४७.
येसुले अनैतिक जीवनशैलीको समर्थन गर्नुभएको होइन। बरु आफूले गरेको गम्भीर पापको लागि पश्चात्ताप गर्दै उद्धारको लागि येसुतर्फ फर्कनेहरूप्रति उहाँ दया देखाउँदै हुनुहुन्छ। अनि येसुले यस स्त्रीलाई “तिम्रा पापहरू क्षमा भएका छन्। . . . तिम्रो विश्वासले तिमीलाई बचाएको छ; ढुक्क भएर जाऊ” भन्नुहुँदा उसको मन कत्ति हल्का भयो होला!—लुका ७:४८, ५०.