परमेश्वरको वचनलाई प्रेम गर्दा हुने लाभहरू
“[ बुद्धिलाई] प्रेम गर् र त्यसले तेरो रक्षा गर्नेछ। . . . त्यसलाई अंगालो हाल्दा त्यसले तँलाई सम्मानमा पुऱ्याउनेछ।”—हितोपदेश ४:६, ८.
१. परमेश्वरको वचनलाई साँचो प्रेम गर्नुमा के समावेश छ?
मसीहीहरूको निम्ति बाइबल पढ्नु अत्यावश्यक कुरा हो। तथापि, पढ्दैमा मात्र परमेश्वरको वचनप्रति प्रेम प्रदर्शित हुँदैन। कोही कोहीले बाइबल पढ्नचाहिं पढ्ने तर बाइबलमा नगर भनिएका कामकुराहरू गर्छन् भने नि? स्पष्टतः उसले भजन ११९ का लेखकले जस्तो परमेश्वरको वचनलाई प्रेम गरेको हुँदैन। परमेश्वरको वचनप्रतिको प्रेमले गर्दा तिनले यसका आवश्यकताहरूअनुरूप आफ्नो जीवन बिताए।—भजन ११९:९७, १०१, १०५.
२. परमेश्वरको वचनमा आधारित बुद्धिबाट कस्तो लाभ उठाउन सकिन्छ?
२ परमेश्वरको वचनअनुरूप जीवन बिताउँदा आफ्नो सोचाइ तथा जीवनशैलीलाई निरन्तर छाँटकाँट गरिरहनुपर्ने हुन्छ। त्यस्तो पद्धतिले ईश्वरीय बुद्धि प्रदर्शित गर्छ। यसको अर्थ, बाइबल अध्ययनद्वारा प्राप्त गरेको ज्ञान तथा समझ व्यवहारमा उतार्नु हो। “[बुद्धिलाई] प्रेम गर् र त्यसले तेरो रक्षा गर्नेछ। त्यसलाई कदर गर् र त्यसले तँलाई आदर दिनेछ, त्यसलाई अंगालो हाल्दा त्यसले तँलाई सम्मानमा पुऱ्याउनेछ। त्यसले तेरो शिरमा शोभाको मुकुट पहिराइदिनेछ, र तँलाई महिमाको शिरपेच दिनेछ।” (हितोपदेश ४:६, ८, ९) परमेश्वरको वचनप्रति प्रेम खेती गर्न र त्यसअनुसार हिंड्न कस्तो उत्तम प्रोत्साहन! आफू सुरक्षित, उच्च र महिमित भएको मन नपराउने को होला र?
अनन्त हानिबाट रक्षा
३. आज मसीहीहरूलाई पहिलेभन्दा अझ किन सुरक्षित हुनुपरेको छ र कसबाट?
३ परमेश्वरको वचन अध्ययन गरेर लागू गर्दा प्राप्त गरेको बुद्धिले कसरी रक्षा गर्छ? एउटा कुरा त, शैतान अर्थात् दियाबलबाट सुरक्षित हुन्छ। येशूले आफ्ना अनुयायीहरूलाई त्यस दुष्ट अर्थात् शैतानबाट बच्न प्रार्थना गर्न सिकाउनुभयो। (मत्ती ६:१३) आज हामीले पनि आफ्नो प्रार्थनामा उक्त आग्रह समावेश गर्नु साँच्चै जरुरी छ। शैतान तथा त्यसका प्रेतहरू १९१४ पछि स्वर्गबाट तल फ्याँकिए र “आफ्नो अल्प समय थाह पाएर शैतान” रिसले चूर भएको छ। (प्रकाश १२:९, १०, १२) यस अन्तको पनि अन्तिम समयमा त्यो रिसले आगो भइरहेको हुनुपर्छ किनभने त्यसले “परमेश्वरको आज्ञा पालन गर्ने, र येशूको साक्षी” दिनेहरू विरुद्धको लडाइँ जित्नसकेको छैन।—प्रकाश १२:१७.
४. शैतानी दबाब तथा पासोहरूबाट मसीहीहरूले कसरी सुरक्षा पाउनसक्छन्?
४ शैतान अझै रिसले चूर हुँदै मसीही सेवकहरूलाई समस्या खडा गर्न र हिंस्रक सतावट दिन वा तिनीहरूको गतिविधिमा अवरोध खडा गर्न लागिनैरहेको छ। त्यसले राज्य उद्घोषकहरूलाई राज्य प्रचारकार्यमा लाग्नुको साटो सांसारिक प्रतिष्ठा कमाउन, मोजमज्जा गर्न, धनसम्पत्ति थुपार्न र सुखविलासको लोभमा पार्न चाहन्छ। शैतानको दबाब वा त्यसका पासोहरूको वशमा नपर्न परमेश्वरका विश्वासी सेवकहरूलाई केले जोगाउँछ? निस्सन्देह, प्रार्थना, यहोवासितको घनिष्ठ सम्बन्ध र उहाँका प्रतिज्ञाहरूमा पूर्ण भरोसा हुनु अत्यावश्यक छन्। तर यी सबै परमेश्वरको वचनको ज्ञान र यसका सम्झौताहरू पालन गर्ने संकल्पसित सम्बन्धित छन्। यी सम्झौताहरू हामीले बाइबल तथा बाइबल अध्ययन सहायकहरू पढ्दा, मसीही सभाहरू धाउँदा, सँगी विश्वासीहरूले दिने धर्मशास्त्रीय सल्लाह पालन गर्दा वा कहिले त परमेश्वरको आत्माद्वारा हाम्रो दिमागमा आउने बाइबल सिद्धान्तहरूमाथि प्रार्थनापूर्वक मनन गर्दा मात्र पनि पाउँछौं।—यशैया ३०:२१; यूहन्ना १४:२६; १ यूहन्ना २:१५-१७.
५. परमेश्वरको वचनमा आधारित बुद्धिले कुन तरिकामा हामीलाई रक्षा गर्नसक्छ?
५ परमेश्वरको वचनलाई प्रेम गर्नेहरूले अन्य तरिकाबाट पनि सुरक्षा पाउँछन्। उदाहरणका लागि, तिनीहरू लागू पदार्थको दुर्व्यसन, धूम्रपान र यौन अनैतिकताको कारण भोग्नुपर्ने भावनात्मक पीडा तथा रोगहरूबाट बच्छन्। (१ कोरिन्थी ५:११; २ कोरिन्थी ७:१) निन्दाचर्चा गरेर वा छुच्चो बोली बोलेर मानिसहरूबीचको सम्बन्धलाई तीतो बनाउँदैनन्। (एफिसी ४:३१) तिनीहरू यस संसारको बुद्धिको भ्रममा पार्ने दर्शन पनि पछ्याउँदैनन्। (१ कोरिन्थी ३:१९) परमेश्वरको वचनलाई प्रेम गर्ने हुँदा, परमेश्वरसितको सम्बन्ध तोड्ने र अनन्त जीवनको आशाबाट टाढा गर्नेजस्ता कुराहरूबाट तिनीहरू सुरक्षित हुन्छन्। तिनीहरू आफ्ना छिमेकीहरूलाई बाइबलमा भएका अद्भुत प्रतिज्ञाहरूमा विश्वास राख्न मदत दिन व्यस्त छन् र यसरी तिनीहरूले ‘आफूलाई र सुन्नेलाई समेत उद्धार गर्नसक्ने छन्।’—१ तिमोथी ४:१६.
६. अप्ठ्यारो अवस्थामा पनि परमेश्वरको वचनमा आधारित बुद्धिले कसरी सुरक्षा प्रदान गर्नसक्छ?
६ हो, परमेश्वरको वचनलाई प्रेम गर्नेहरू लगायत सबै “समय र अवसर[को]” वशमा पर्छन्। (उपदेशक ९:११) हामीमध्ये कोही कोहीले प्राकृतिक प्रकोप, ठूलठूलो रोग, दुर्घटना वा अकाल मृत्युको अनुभव गर्नुपर्छ। तैपनि हामी सुरक्षित छौं। परमेश्वरको वचनलाई साँचो प्रेम गर्ने व्यक्तिलाई कुनै पनि विपत्तिले अनन्त हानि गर्न सक्दैन। तसर्थ हामी भविष्यबारे अचाक्ली चिन्तित हुनु आवश्यक छैन। हामीले उपयुक्त सावधानी अपनाएका छौं भने अनिश्चित जीवनको अनावश्यक चिन्ता लिनुको साटो यहोवामा भर पर्नु नै बेस हुनेछ। (मत्ती ६:३३, ३४; फिलिप्पी ४:६, ७) ढुक्क भएर पुनरुत्थानको र परमेश्वरले ‘सब कुरा नयाँ तुल्याउनु’ हुने उत्तम आशा मनमा राख्नुहोस्।—प्रकाश २१:५; यूहन्ना ११:२५.
आफूलाई “असल जमीन” साबित गर्नुहोस्
७. आफ्नो कुरा सुन्न आएको भीडलाई येशूले कस्तो उखान बताउनुभयो?
७ परमेश्वरको वचनप्रति सही दृष्टिकोण राख्नुपर्ने महत्त्वलाई येशूले एउटा उखानद्वारा प्रकाश पार्नुभयो। येशूले प्यालेस्टाइनमा सुसमाचार सुनाउनुहुँदा उहाँको कुरा सुन्न भीड जम्मा भए। (लूका ८:१, ४) तथापि, सबैले परमेश्वरको वचनलाई साँचो प्रेम गर्दैनथे। निस्सन्देह, कतिपय मानिसहरू चमत्कारहरू हेर्न वा उहाँको अनुपम शिक्षण शैली राम्रो लागेकोले पनि उहाँको कुरा सुन्न आए। यसकारण, येशूले भीडलाई एउटा यस्तो उखान बताउनुभयो: “एउटा बिउ छर्ने बिउ छर्नालाई निस्क्यो, औ छर्दाहुँदि केही बाटोको किनारमा परे, र ती कुल्चिए, औ आकाशका चराचुरुङ्गीहरूले ती खाइहाले। औ अरू चटानमाथि परे, र ती उम्रनेबित्तिकै सुके, किनभने तिनमा ओस थिएन। औ अरूहरू चाहिं काँढ़ाका झाँगका बीचमा परे, र तिनका साथमा काँढ़ाहरू पनि बढेर आए, र तिनलाई निसासिदिए। औ अरूहरू चाहिं असल जमीनमा परे, र उम्रेर सय गुणा फल फलाए।”—लूका ८:५-८.
८. येशूको उखानको बीउ के हो?
८ मानिसको हृदयको अवस्थाअनुसार सुसमाचारप्रति विभिन्न प्रतिक्रिया देखाइनेछ भनी येशूको उखानले देखायो। बीउ भनेको “परमेश्वरको वचन” हो। (लूका ८:११) वा सोही उखानको अर्को विवरणले भनेझैं बीउ “राज्यको वचन” हो। (मत्ती १३:१९) येशूले यी दुईमध्ये कुनै पनि अभिव्यक्ति चलाउनु उपयुक्त थियो किनभने स्वर्गमा स्थापित राज्यमा राजाको हैसियतमा येशू ख्रीष्ट मार्फत यहोवाले आफ्नो सार्वभौमिकता महिमित तुल्याउनुका साथै आफ्नो नाउँ पवित्र गर्नुहुनेछ भन्नु नै परमेश्वरको वचनको मुख्य विषय हो। (मत्ती ६:९, १०) तसर्थ, बीउ भनेको परमेश्वरको वचन बाइबलमा भएको सुसमाचारको सन्देश हो। यहोवाका साक्षीहरूले पनि बीउ छर्ने महान् व्यक्ति येशू ख्रीष्टको अनुसरण गर्दै राज्य सन्देशको बीउ छर्ने काम गर्छन्। तिनीहरूले कस्तो प्रतिक्रिया पाइरहेका छन्?
९. निम्न बीउहरूले के बुझाउँछ (क) बाटोको किनारमा परेका? (ख) चटानमा परेका? (ग) काँढाका बीचमा परेका?
९ येशूले केही बीउ बाटोको किनारमा पर्छन् र कुल्चीमिल्ची हुन्छन् भन्नुभयो। यसले आफ्नै कामकाजमा एकदमै व्यस्त भएर राज्य सन्देशले हृदयमा जरा गाड्न दिन नै फुर्सत नभएका मानिसहरूलाई संकेत गर्छ। तिनीहरूले “विश्वास गरेर तिनीहरूको उद्धार हुन्छ भनेर शैतानले आएर तिनीहरूका हृदयबाट वचन हरेर लैजान्छ” अर्थात् तिनीहरूले परमेश्वरको वचनप्रति प्रेम विकास गर्नै पाएका हुँदैनन्। (लूका ८:१२) कुनै कुनै बीउचाहिं चटानमाथि पर्छ। यसले बाइबल सन्देश मन पराएका तर त्यसको प्रभाव आफ्नो हृदयसम्म नपुगेका मानिसहरूलाई बुझाउँछ। जरा नगडेको हुँदा तिनीहरू सतावट आउँदा वा बाइबल सल्लाह लागू गर्न गाह्रो लाग्दा “हटिहाल्छन्।” वचन त सुन्ने तर “जीवनका चिन्ता, धन, सुख चैनमा परेर” निसासिनेहरू पनि छन्। (लूका ८:१४) अन्ततः काँढाको बीचमा परेको बोटजस्तै “तिनमा फल पाक्न पाउँदैनन्।”—लूका ८:१४.
१०, ११. (क) असल जमीनले कुन कुरालाई बुझाउँछ? (ख) हाम्रो हृदयमा परमेश्वरको वचन “जोगाई” राख्न के गर्नुपर्छ?
१० अन्तमा, असल जमीनमा पर्ने बीउ पनि छ। यसले “असल र भला हृदय” भएका, सन्देश सुन्ने मानिसहरूलाई बुझाउँछ। स्वाभाविकतः हामी प्रत्येकलाई आफू यसै वर्गमा पर्छौं जस्तो लाग्नसक्छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरको दृष्टिकोण हो। (हितोपदेश १७:३; १ कोरिन्थी ४:४, ५) “असल र भला हृदय” छ भनेर आफ्नो कार्यद्वारा प्रमाणित गर्नुपर्छ र यो हामीले मृत्युसम्मै वा परमेश्वरले यस दुष्ट रीतिरिवाजको अन्त नगरुञ्जेल गरिरहनुपर्छ भनी उहाँको वचनले बताउँछ। हामीले राज्य सन्देशप्रति सुरुमा सकारात्मक प्रतिक्रिया देखाएका थियौं भने त्यो राम्रो कुरा हो। तथापि, असल र भला हृदय भएकाहरूले परमेश्वरको वचन स्वीकार्छन्, “जोगाई राख्छन् र धीरजसित फल फलाउँछन्।”—लूका ८:१५.
११ हाम्रो हृदयमा परमेश्वरको वचन जोगाई राख्ने एउटै मात्र भरपर्दो तरिका, व्यक्तिगत तवरमा तथा आफ्ना सँगी विश्वासीहरूको साथमा पढेर तथा अध्ययन गरेर हो। यसमा येशूका साँचो अनुयायीहरूको आध्यात्मिकताको हेरचाह गर्न नियुक्त माध्यममार्फत प्रबन्ध गरिएको आध्यात्मिक भोजनको पूरापूर फाइदा उठाउनु पनि समावेश छ। (मत्ती २४:४५-४७) यसरी आफ्नो हृदयमा परमेश्वरको वचन जोगाई राख्ने व्यक्तिहरू ‘धीरजसित फल फलाउन’ प्रेमद्वारा उत्प्रेरित हुन्छन्।
१२. हामी धीरजी भएर फलाउनुपर्ने फल के हो?
१२ असल जमीनले कस्तो फल फलाउँछ? प्रकृतिको नियमअनुसार पनि फल फलाउने बोटका बीउहरू पछि अझ बढी फल फलाउने जमीनमा रोप्न सकिन्छ। त्यस्तै गरी, असल र भला हृदय भएका मानिसहरूमा वचनको बीउ बढ्न थाल्छ र यसले गर्दा तिनीहरूले आध्यात्मिक तवरमा प्रगति गर्छन्। फलस्वरूप अरूको हृदयमा पनि त्यो बीउ रोप्नसक्छन्। (मत्ती २८:१९, २०) अनि तिनीहरू धीरजी भएर बीउ छर्ने काम गर्छन्। येशूले बीउ छर्दा धीरज देखाउनुपर्ने महत्त्वबारे यसो भन्नुभयो: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ। औ राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१३, १४.
“हरेक असल काममा फलिफाप हुँदै”
१३. पावलले फलको सम्बन्ध परमेश्वरको वचनको ज्ञानसित गाँस्दै कस्तो प्रार्थना गरे?
१३ प्रेरित पावलले पनि फल फलाउनुपर्ने महत्त्वबारे बताए र तिनले फल फलाउनेको सम्बन्ध परमेश्वरको वचनसित गाँसे। तिनले आफ्ना सँगी विश्वासीहरूको निम्ति यसरी प्रार्थना गरे: “सारा आत्मिक बुद्धि र समझमा [परमेश्वरको] इच्छाको ज्ञानले तिमीहरू पूर्ण होओ . . . हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न र हरेक असल काममा फलिफाप हुँदै परमेश्वरको ज्ञानमा बढ़दै [जाओ]।”—कलस्सी १:९, १०; फिलिप्पी १:९-११.
१४-१६. पावलको प्रार्थनाअनुरूप परमेश्वरको वचनलाई प्रेम गर्नेहरूले कस्तो फल फलाउँछन्?
१४ अतः पावल बाइबलको ज्ञान हासिल गर्नु मात्र पर्याप्त छैन भनी देखाउँछन्। बरु, परमेश्वरको वचनप्रतिको प्रेमले हामीलाई ‘प्रभुको योग्य चालमा चलेर’ लगातार रूपमा ‘हरेक असल काममा फलिफाप हुन’ उत्प्रेरित गर्छ। कस्तो असल काम? यस आखिरी दिनमा मसीहीहरूले राज्यको सुसमाचार प्रचार गर्ने विशिष्ट कार्यभार पाएका छन्। (मर्कूस १३:१०) यसबाहेक, परमेश्वरको वचनलाई प्रेम गर्नेहरूले यस कार्यलाई नियमित तवरमा सक्दो आर्थिक सहयोग पनि गर्छन्। यस्तो सुअवसर पाएकोमा रमाउँछन् किनभने “खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ” भनी तिनीहरूलाई थाह छ। (२ कोरिन्थी ९:७) तिनीहरूको चन्दा एक सयभन्दा बढी बेथेल घरहरू सञ्चालन गर्न प्रयोग गरिन्छ। त्यहाँबाट राज्य प्रचार गतिविधिहरू सञ्चालन हुन्छन् र बाइबल तथा बाइबल साहित्यहरू छाप्न पनि खर्च गरिन्छ। साथै तिनीहरूको चन्दा ठूलठूला मसीही अधिवेशनहरूको खर्च बेहोर्न र परिभ्रमण निरीक्षक, मिसनरी तथा अन्य पूर्ण-समय सुसमाचारकहरूको निम्ति प्रयोग गरिन्छ।
१५ निर्माण कार्य तथा साँचो उपासनाका केन्द्रहरूको हेरचाह गर्नु पनि असल काममै पर्छन्। परमेश्वरको वचनप्रतिको प्रेमले गर्दा उहाँका उपासकहरूले सम्मेलन भवन तथा राज्यभवनहरू सधैं राम्रो अवस्थामा सफा अनि चिटिक्क होस् भनेर हेरविचार गर्छन्। (नहेम्याह १०:३९ तुलना गर्नुहोस्।) यी भवनहरूमा परमेश्वरको नाउँ हुने भएकोले भवनको भित्र बाहिर सफा तथा आकर्षक हुनु अत्यावश्यक छ र त्यस्ता भवनहरूमा उपासना गर्नेहरूको आचरण पनि निन्दनीय हुनु हुँदैन। (२ कोरिन्थी ६:३) कोही कोही मसीहीहरू भने योभन्दा बढी गर्नसक्छन्। गरिब भएकोले वा उचित सीप नभएकोले आवश्यकता बढी भएका ठाउँहरूमा उपासनाको केन्द्र निर्माणकार्यमा श्रमदान गर्न तिनीहरूलाई परमेश्वरको वचनप्रतिको प्रेमले लामो यात्रा गरेर टाढ-टाढा जान पनि उत्प्रेरित गर्छ।—२ कोरिन्थी ८:१४.
१६ ‘हरेक असल काममा फलिफाप हुनुमा’ पारिवारिक जिम्मेवारी बहन गर्नु र आफ्ना सँगी विश्वासीहरूको मायालु चासो राख्नु पनि समावेश छ। परमेश्वरको वचनप्रतिको प्रेमले “खास गरेर विश्वासका घरानातर्फ” र “आफ्नै परिवारप्रति आफ्नो धार्मिक कर्तव्य पालन” गर्न उत्प्रेरित गर्छ। (गलाती ६:१०; १ तिमोथी ५:४, ८, नयाँ संशोधित संस्करण) यस सन्दर्भमा बिरामीलाई भेट्न जानु र शोक सन्तप्तहरूलाई सान्त्वना दिनु पनि असल काम हो। अनि स्वास्थोपचारको मामिलामा गम्भीर परिस्थिति भोगिरहेकाहरूलाई मदत गर्दा पनि मण्डलीका प्राचीन तथा अस्पताल सम्पर्क समितिहरूले असल काम गरिरहेका हुन्छन्! (प्रेरित १५:२९) अनि बेलाबेलामा प्राकृतिक प्रकोप तथा मानिसको कुबुद्धिले गर्दा थुप्रै विपत्तिहरू हुने गर्छन्। परमेश्वरको आत्माको मदतद्वारा यहोवाका साक्षीहरूले प्राकृतिक प्रकोप तथा दुर्घटनाको बेला आफ्ना सँगी विश्वासी तथा अरूहरूलाई मदत गर्न तुरुन्तै जुटिहाल्छन्, फलस्वरूप तिनीहरूले संसारका थुप्रै भागमा राम्रो नाउँ कमाएका छन्। यी सबै परमेश्वरको वचनलाई प्रेम गर्नेहरूले प्रकट गरेका असल फल हुन्।
गौरवमय भविष्यका लाभहरू
१७, १८. (क) राज्यको बीउ छरेर कुन काम हुँदैछ? (ख) परमेश्वरको वचनलाई प्रेम गर्नेहरूले चाँडै पृथ्वीमै हलचल मच्चाउने कस्ता घटनाहरू देख्नेछन्?
१७ राज्यको बीउले मानिसजातिको निम्ति महान् लाभहरू अझै पनि फलाइरहेको छ। हालका वर्षहरूमा वर्षेनी ३,००,००० भन्दा बढी मानिसहरूले बाइबल सन्देशलाई हृदयमा गड्न दिएर यहोवालाई जीवन समर्पण गरेको कुरा पानीको बप्तिस्माद्वारा प्रकट गरेका छन्। तिनीहरूले कस्तो गौरवमय भविष्यको आशा गर्नसक्छन्!
१८ परमेश्वरको वचनलाई प्रेम गर्नेहरूलाई यहोवा परमेश्वरले आफ्नो नाउँ महिमित पार्न चाँडै कदम चाल्नुहुनेछ भनी थाह छ। झूटा धर्मको विश्व साम्राज्य “महान् बेबिलोनको” विनाश हुनेछ। (प्रकाश १८:२, ८) अनि परमेश्वरको वचनअनुरूप बस्न इन्कार गर्नेहरूलाई राजा येशू ख्रीष्टले नाश गर्नुहुनेछ। (भजन २:९-११; दानियल २:४४) त्यसपछि परमेश्वरको राज्यले अपराध, युद्ध तथा अन्य विपत्तिहरूबाट सधैंको निम्ति उद्धार गर्नुहुनेछ। अनि पीडा, बिमारी र मृत्युको कारण भोग्ने कष्टबाट मानिसहरूलाई सान्त्वना पनि दिनुपर्ने छैन।—प्रकाश २१:३, ४.
१९, २०. परमेश्वरको वचनलाई साँचो प्रेम गर्नेहरूले कस्तो गौरवमय भविष्यको आशा गर्नसक्छन्?
१९ त्यसपछि परमेश्वरको वचनलाई प्रेम गर्नेहरूले कस्तो गौरवमय असल काम गर्नेछन्! आरमागेडोनबाट बच्नेहरूले यस पृथ्वीलाई प्रमोदवनमा परिणत गर्ने आनन्ददायी काम थाल्ने छन्। अहिले चिहानमा रहेका थुप्रै मानिसहरू परमेश्वरको सम्झनामा छन् र पुनरुत्थानपछि तिनीहरूको लागि तयार गर्ने काममा भाग लिने रोमाञ्चकारी सुअवसर तिनीहरूले पाउनेछन्। (यूहन्ना ५:२८, २९) त्यतिबेला सार्वभौम परमेश्वर यहोवाले आफ्नो महिमित पुत्र येशू ख्रीष्टमार्फत पृथ्वीका बासिन्दाहरूलाई सही निर्देशन दिनुहुनेछ। नयाँ संसारमा बाँच्नको निम्ति यहोवाको निर्देशनका ‘पुस्तकहरू खोलिने छन्।’—प्रकाश २०:१२.
२० यहोवाको तोकिएको समयमा सबै विश्वासी अभिषिक्त मसीहीहरूले “ख्रीष्टसँग साझे-हकवाला” हुने स्वर्गीय इनाम पाउनेछन्। (रोमी ८:१७) ख्रीष्टको हजार वर्षीय राज्यको दौडान, परमेश्वरको वचनलाई प्रेम गर्ने संसारभरिका मानिसहरूको मन अनि शरीर दुवै सिद्ध हुनेछ। अन्तिम परीक्षाको बेला आफूलाई विश्वासी प्रमाणित गरेपछि तिनीहरूले अनन्त जीवनको इनाम पाउनेछन् र “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा” आनन्द उठाउनेछन्। (रोमी ८:२१; प्रकाश २०:१-३, ७-१०) त्यो एकदम रमाइलो समय हुनेछ! साँच्चै, चाहे हाम्रो आशा स्वर्गमा जाने होस् या पृथ्वीमा यहोवाले उहाँको वचनप्रति प्रेम र ईश्वरीय बुद्धिअनुरूप जीवन बिताउने कटिबद्धताले हामीलाई रक्षा गर्नेछ र “त्यसलाई अंगालो हालेकोले” भविष्यमा “हामीलाई सम्मानमा पुऱ्याउनेछ।”—हितोपदेश ४:६, ८.
के तपाईं बुझाउन सक्नुहुन्छ?
◻ परमेश्वरको वचनप्रतिको प्रेमले हामीलाई कसरी रक्षा गर्नेछ?
◻ येशूको उखानको बीउ के हो र यो कसरी छरिन्छ?
◻ हामीले आफूलाई कसरी “असल जमीन” प्रमाणित गर्नसक्छौं?
◻ परमेश्वरको वचनलाई प्रेम गर्नेहरूले कस्तो भविष्यको आशा गर्नसक्छन्?
[पृष्ठ १६-मा भएको चित्र]
येशूको उखानको बीउले परमेश्वरको वचनमा भएको सुसमाचारको सन्देशलाई चित्रण गर्छ
[स्रोत]
Garo Nalbandian
[पृष्ठ १७-मा भएको चित्र]
यहोवाका साक्षीहरू बीउ छर्ने महान् व्यक्तिको अनुसरण गर्छन्
[पृष्ठ १८-मा भएका चित्रहरू]
आरमागेडोनबाट बचेकाहरूले पृथ्वीका फलहरूको आनन्द उठाउनेछन्