अध्याय ७४
अतिथिसत्कार र प्रार्थनासम्बन्धी पाठ
येसु मार्था र मरियमलाई भेट्न जानुहुन्छ
खुरन्धार प्रार्थना गर्नु महत्त्वपूर्ण छ
यरुसलेमबाट झन्डै तीन किलोमिटर पर, जैतुन डाँडाको पूर्वी भेगमा बेथानि पर्छ। (युहन्ना ११:१८) येसु त्यहाँ दुई दिदीबहिनी मार्था र मरियमको घरमा जानुहुन्छ। ती दुई दिदीबहिनी र तिनीहरूको भाइ लाजरस येसुका साथीहरू हुन् र तिनीहरू उहाँलाई आफ्नो घरमा न्यानो स्वागत गर्छन्।
मसीह आफ्नो घरमा पाहुनाको रूपमा आउनु सम्मानको कुरा हो। मार्था येसुलाई राम्ररी खुवाउन उत्सुक छिन्। त्यसैले तिनी मीठा-मीठा परिकार बनाउन व्यस्त हुन्छिन्। तर तिनकी बहिनी मरियमचाहिँ येसुको पाउनेर बसेर उहाँको कुरा सुनिरहन्छिन्। त्यसैले मार्था येसुलाई यसो भन्छिन्: “प्रभु, मेरी बहिनीले सबै काम म एक्लैलाई छोडेको के तपाईँलाई वास्ता छैन? आएर मलाई सघाउन उसलाई भनिदिनुहोस् न।”—लुका १०:४०.
तर येसु मरियमलाई सम्झाउनुको सट्टा मार्थालाई भौतिक कुराहरूको बढ्तै फिक्री नगर्न सल्लाह दिँदै यसो भन्नुहुन्छ: “ए मार्था, मार्था, तिमी धेरै कुराको चिन्ता गर्छ्यौ। हामीलाई धेरै कुरा चाहिँदैन, एक थरी मात्रै भए पनि पुग्छ। मरियमले आफ्नो निम्ति असल भाग रोजेकी छे र त्यो ऊबाट खोसिनेछैन।” (लुका १०:४१, ४२) विभिन्न परिकार बनाएर धेरै समय खर्च गर्नु आवश्यक छैन, साधारण भोजन नै पर्याप्त छ भनेर येसु बताउनुहुन्छ।
मार्थाको मनसाय राम्रै हो। तिनी राम्ररी अतिथिसत्कार गर्न चाहन्छिन्। तर खाना तयार पार्नमै व्यस्त भएकीले तिनले परमेश्वरको छोराबाटै अनमोल कुराहरू सिक्ने मौका गुमाइरहेकी छिन्! मरियमले बुद्धिमानी निर्णय गरिन् भनेर येसु जोड दिनुहुन्छ किनभने ती शिक्षाले तिनलाई जीवनभर लाभ पुऱ्याउनेछ। हामी पनि त्यस विवरणबाट पाठ सिक्न सक्छौँ।
अर्को एउटा अवसरमा येसु फरक तर उत्तिकै महत्त्वपूर्ण पाठ सिकाउनुहुन्छ। एक जना चेला उहाँलाई यसो भन्छन्: “प्रभु, युहन्नाले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाएजस्तै हामीलाई पनि सिकाउनुहोस्।” (लुका ११:१) तर येसुले झन्डै डेढ वर्षअघि डाँडाको उपदेशमा प्रार्थना गर्न सिकाइसक्नुभएको थियो। (मत्ति ६:९-१३) हुन सक्छ, यी चेला त्यतिबेला त्यहाँ थिएनन्। त्यसैले येसु मुख्य बुँदाहरू फेरि बताउनुहुन्छ। त्यसपछि खुरन्धार प्रार्थना गर्नुपर्ने कुरालाई जोड दिन उहाँ अर्को एउटा उदाहरण बताउनुहुन्छ।
“मानौँ, तिमीहरूमध्ये कसैको एक जना साथी छ र तिमी मध्यरातमा उसकहाँ गएर यसो भन्छौ: ‘ए साथी, मलाई तीन वटा रोटी पैँचो देऊ किनकि मेरो एक जना साथी यात्रा गरेर भर्खरै मकहाँ आएको छ र उसलाई खुवाउन मसित केही छैन।’ अनि उसले भित्रबाट यस्तो जवाफ दिन्छ: ‘मलाई दुःख नदेऊ। ढोका बन्द भइसकेको छ र मेरा बालबच्चा मसितै ओछ्यानमा सुतिसकेका छन्। त्यसैले म उठेर तिमीलाई केही दिन सक्दिनँ।’ म तिमीहरूलाई भन्छु, साथीको नाताले नदिए तापनि तिमीले खुरन्धार बिन्ती गरिरहेकोले उसले उठेर तिमीलाई चाहिएको कुरा दिनेछ।”—लुका ११:५-८.
उक्त उदाहरणको साथीजस्तै यहोवा हाम्रो बिन्ती सुन्न अनिच्छुक हुनुहुन्छ भनेर येसुले भन्न खोज्नुभएको होइन। बरु मदत गर्न अनिच्छुक साथी त बारम्बार आग्रह गरेमा मदत गर्न इच्छुक हुन्छन् भने स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबाले आफ्ना वफादार सेवकहरूको निष्कपट बिन्ती पक्कै सुन्नुहुन्छ भनेर उहाँ बुझाउँदै हुनुहुन्छ। येसु अझै यसो भन्नुहुन्छ: “म तिमीहरूलाई भन्छु, मागिरहो अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको निम्ति उघारिनेछ। किनकि जसले मागिरहन्छ, उसले पाउँछ; जसले खोजिरहन्छ, उसले भेट्टाउँछ अनि जसले ढकढक्याइरहन्छ, उसको निम्ति उघारिनेछ।”—लुका ११:९, १०.
आफ्नो कुरालाई अझै प्रस्ट पार्न उहाँ स्वर्गका बुबालाई मानव बुबासित तुलना गर्दै यसो भन्नुहुन्छ: “तिमीहरूमध्ये कोचाहिँ यस्तो बुबा होला, जसले आफ्नो छोराले माछा माग्दा माछाको सट्टा सर्प देला? अथवा उसले अण्डा माग्दा बिच्छी देला? त्यसकारण यदि तिमीहरू दुष्ट भईकन पनि आफ्ना छोराछोरीलाई राम्रा कुरा दिन जान्दछौ भने स्वर्गमा बस्नुहुने बुबाले उहाँसित माग्नेहरूलाई झन् कत्ति धेरै पवित्र शक्ति दिनुहुनेछ!” (लुका ११:११-१३) हाम्रो बुबा हाम्रो कुरा सुन्न र हाम्रो आवश्यकताअनुसार कदम चाल्न इच्छुक हुनुहुन्छ भनेर थाह पाउनु साँच्चै आश्वासनदायी छ!