अध्याय ७७
येसु धनसम्पत्तिबारे सल्लाह दिनुहुन्छ
धनी मानिसको उदाहरण
येसु कागहरू र मैदानका फूलहरूबारे कुरा गर्नुहुन्छ
“सानो बगाल” परमेश्वरको राज्यको भाग हुनेछन्
येसु फरिसीको घरमा खाना खाइरहनुभएको बेला बाहिर हजारौँको सङ्ख्यामा मानिसहरू जम्मा हुन्छन्। गालिलमा पनि मानिसहरू त्यसरी नै जम्मा भएका थिए। (मर्कुस १:३३; २:२; ३:९) यहाँ यहुदियामा पनि थुप्रै मानिस उहाँलाई हेर्न र उहाँको कुरा सुन्न उत्सुक छन्। यसरी उनीहरू त्यहाँ खान बसेका फरिसीहरूले भन्दा बिलकुलै फरक मनोवृत्ति देखाउँछन्।
येसु सबैभन्दा सुरुमा जे भन्नुहुन्छ, त्यसले उहाँका चेलाहरूको लागि विशेष अर्थ राख्छ। उहाँ भन्नुहुन्छ: “फरिसीहरूको खमिर अर्थात् कपटदेखि होसियार रहो।” येसुले पहिला पनि यो चेतावनी दिइसक्नुभएको छ तर भर्खरै खाना खाने बेला उहाँले जे देख्नुभयो, त्यसबाट यो चेतावनी अत्यन्तै जरुरी छ भनेर प्रस्ट भएको छ। (लुका १२:१; मर्कुस ८:१५) फरिसीहरूले आफू धर्मपरायण भएको आडमा आफ्नो दुष्टता ढाकछोप गर्न जति नै प्रयास गरे तापनि तिनीहरूको त्यस्तो आडम्बरको पर्दाफास गर्नु आवश्यक छ। येसु यसो भन्नुहुन्छ: “होसियारीपूर्वक ढाकछोप गरिएको यस्तो कुनै कुरा छैन, जुन उदाङ्ग हुँदैन अनि यस्तो कुनै गोप्य कुरा छैन, जुन थाह हुँदैन।”—लुका १२:२.
त्यहाँ भेला भएका धेरैजसो मानिस यहुदियाकै बासिन्दाहरू हुनुपर्छ, जसले उहाँले गालिलमा दिनुभएको शिक्षा सुनेका छैनन्। त्यसैले उहाँ पहिल्यै बताइसकेको मुख्य कुराहरू फेरि दोहोऱ्याउनुहुन्छ। उहाँको कुरा सुनिरहेका सबैलाई येसु यस्तो आग्रह गर्नुहुन्छ: “त्यस्ताहरूसित नडराओ, जसले तिमीहरूको शरीर मार्न सक्छन् तर त्योभन्दा बढ्ता अरू केही गर्न सक्दैनन्।” (लुका १२:४) पहिलाजस्तै यतिबेला पनि उहाँ आफ्ना अनुयायीहरूले परमेश्वरले ख्याल राख्नुहुन्छ भनेर भरोसा राख्नुपर्ने कुरामा जोड दिनुहुन्छ। तिनीहरूले मानिसको छोरालाई चिन्नु र परमेश्वरले तिनीहरूलाई मदत गर्न सक्नुहुन्छ भनेर बुझ्नु पनि आवश्यक छ।—मत्ति १०:१९, २०, २६-३३; १२:३१, ३२.
त्यसपछि एक जना मानिसले येसुलाई आफ्नो मुख्य चिन्ताको विषयबारे यसो भन्छ: “मेरो दाइलाई हाम्रो पुर्ख्यौली सम्पत्तिको अंशबण्डा गर्न भनिदिनुहोस्।” (लुका १२:१३) व्यवस्थाअनुसार पहिलो सन्तानले पुर्ख्यौली सम्पत्तिको दुई भाग पाउनुपर्ने भएकोले यस विषयमा कुनै विवाद नहुनुपर्ने हो। (व्यवस्था २१:१७) तर यो मानिस आफ्नो हकभन्दा धेरै पाउन चाहन्छ जस्तो देखिन्छ। येसु यस मामिलामा कसैको पक्ष लिनुहुन्न। बरु उहाँ भन्नुहुन्छ: “ए मित्र, तिमीहरू दुई जनाबीच न्याय गरिदिन वा अंशबण्डा गरिदिन कसले मलाई नियुक्त गऱ्यो?”—लुका १२:१४.
त्यसपछि उहाँ सबैलाई यस्तो सल्लाह दिनुहुन्छ: “तिमीहरूका आँखा खुला राख र हरप्रकारको लोभबाट आफूलाई जोगाओ किनभने मानिस जति नै सम्पन्न भए तापनि त्यसले उसलाई जीवन दिँदैन।” (लुका १२:१५) मानिससित जति नै सम्पत्ति भए पनि एक न एक दिन त उसले ती सबै छोडेर जानुपर्छ। यो कुरा बुझाउन येसु एउटा उल्लेखनीय उदाहरण बताउनुहुन्छ, जुन उदाहरणले परमेश्वरको नजरमा राम्रो नाम कमाउनुपर्ने आवश्यकता बुझ्न पनि मदत गर्छ:
“एक जना धनी मानिसको जमिनले राम्रो उब्जनी दियो। त्यसैले उसले मनमनै भन्न थाल्यो: ‘यत्रो उब्जनी राख्ने ठाउँ मसित छैन, अब के गर्ने होला?’ उसले भन्यो: ‘म यसो गर्छु: मेरो भण्डार भत्काउँछु अनि अझ ठूलो भण्डार बनाउँछु र मेरा सबै अनाज र सरसम्पत्ति त्यहीँ राख्छु। अनि आफूलाई भन्नेछु: “तँसित वर्षौँलाई पुग्ने सरसम्पत्ति छ। त्यसैले आरामसित बसेर खा, पि अनि मोज गर्।”’ तर परमेश्वरले उसलाई भन्नुभयो: ‘ए बेसमझ, यही रात तिनीहरूलाई तेरो ज्यान चाहिएको छ। तैँले जम्मा गरेका कुराहरू अब कसको होला?’ जुन मानिसले आफ्नो लागि धनसम्पत्ति थुपार्छ तर परमेश्वरको नजरमा चाहिँ धनी हुँदैन, त्यसको हालत यस्तै हुनेछ।”—लुका १२:१६-२१.
येसुका चेलाहरू र उहाँको कुरा सुनिरहेका अरू मानिसहरू पनि धनसम्पत्ति जम्मा गर्ने पासोमा फस्न सक्छन्। अथवा जीवनमा आइपर्ने समस्याहरूले गर्दा यहोवाको सेवा गर्नदेखि अलमलिन सक्छन्। त्यसैले करिब डेढ वर्षअघि डाँडाको उपदेशमा दिएको यो उत्तम सल्लाह उहाँ फेरि दोहोऱ्याउनुहुन्छ:
“के खाऔँला भनी आफ्नो जीवनको विषयमा वा के लगाऔँला भनी आफ्नो शरीरको विषयमा चिन्ता गर्न छोडिहाल। . . . कागहरूलाई हेर, तिनीहरू न बिउ छर्छन् न कटनी गर्छन् न त धनसार वा भण्डारमै जम्मा गर्छन् तैपनि परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू चराहरूभन्दा बहुमूल्य छैनौ? . . . फूलहरू कसरी बढ्छन् विचार गर, तिनीहरू न परिश्रम गर्छन् न त धागो कात्छन्। तर म तिमीहरूलाई भन्छु, सारा वैभवले सुसज्जित सुलेमानसमेत यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्। . . . त्यसैले ‘हामी के खाऔँला?’ वा ‘के पिऔँला?’ वा ‘के लगाऔँला?’ भनेर अचाक्ली चिन्ता गर्न छोडिहाल। . . . यी कुराहरू तिमीहरूलाई चाहिन्छ भनेर तिमीहरूका बुबालाई थाह छ। . . . उहाँको राज्यलाई पहिलो स्थान दिइरहो अनि यी कुराहरू तिमीहरूलाई दिइनेछ।”—लुका १२:२२-३१; मत्ति ६:२५-३३.
कसले परमेश्वरको राज्यलाई पहिलो स्थान दिनेछन्? तुलनात्मक रूपमा थोरै मानिसहरूले अर्थात् वफादार मानिसहरूको “सानो बगाल”-ले त्यसो गर्नेछन् भनी येसु बताउनुहुन्छ। तिनीहरूको सङ्ख्या १ लाख ४४ हजार हुनेछ भनेर पछि प्रकट गरिने थियो। तिनीहरूको लागि कस्तो आशा छ? तिनीहरूलाई येसु यस्तो आश्वासन दिनुहुन्छ: “तिमीहरूका बुबाले तिमीहरूलाई राज्य दिन मन्जुर गरिसक्नुभएको छ।” तिनीहरू पृथ्वीमा धनसम्पत्ति थुपार्न तल्लीन हुने थिएनन्, जुन धनसम्पत्तिलाई चोरहरूले चोर्न सक्छन्। बरु तिनीहरूले ‘कहिल्यै नसिद्धिने धनसम्पत्ति स्वर्गमा थुपार्ने’ कुरामा ध्यान दिने थिए, जहाँ तिनीहरूले ख्रिष्टसितै शासन गर्नेछन्।—लुका १२:३२-३४.