ज्योतिका चमकहरू —ठूला र साना भाग दुइ
“तपाईंकै ज्योतिमा हामी ज्योति पाउनेछौं।”—भजन ३६:९.
१. प्रकाशको पुस्तकका प्रतीकात्मक संकेतहरू बुझ्न कस्तो प्रारम्भिक प्रयास गरिएको थियो?
बाइबलको पुस्तक, प्रकाशले सुरुदेखि नै मसीहीहरूलाई आश्चर्यचकित पारेको छ। सत्यको ज्योति कसरी झन् झन् चहकिलो हुँदै जान्छ भनेर यसले राम्रो उदाहरण प्रस्तुत गर्छ। प्रकाशको अर्थ बुझाउन सन् १९१७ मा यहोवाका जनहरूले द फिनिश्ड मिस्ट्रि (टुंगिएको रहस्य) प्रकाशित गरे। यसले निर्भयतापूर्वक मसीहीजगतका धार्मिक तथा राजनैतिक नेताहरूको पर्दाफास गऱ्यो तर यसको प्रायजसो वर्णन विभिन्न स्रोतहरूबाट लिइएको थियो। तापनि, यहोवाले प्रयोग गरिरहनुभएको दृश्य माध्यमप्रति बाइबल स्टुडेन्टस्को निष्ठालाई द फिनिश्ड मिस्ट्रि-ले (टुंगिएको रहस्य) जाँच गऱ्यो।
२. “राष्ट्रको जन्म” शीर्षक लेखले प्रकाशको पुस्तकमाथि कस्तो प्रकाश पाऱ्यो?
२ मार्च १, १९२५ को द वाच टावर-ले “राष्ट्रको जन्म” नामक लेख मार्फत प्रकाशको पुस्तकमाथि ज्वलन्त प्रकाश पाऱ्यो। प्रकाश अध्याय १२ ले गैरमसीही रोम र रोमन क्याथोलिक चर्चबीचको युद्धलाई संकेत गर्छ अनि छोराले पोपतन्त्रको प्रतिनिधित्व गर्छ भन्ने सोचाइ राखिएको थियो। तर प्रकाश ११:१५-१८ को सम्बन्ध अध्याय १२ को अर्थसित छ र त्यसले परमेश्वरको राज्यको जन्मलाई संकेत गर्छ भनी त्यस लेखले देखायो।
३. प्रकाशको पुस्तकमाथि कुन प्रकाशनहरूले थप ज्योति प्रदान गऱ्यो?
३ यी सबैपश्चात् प्रकाशको पुस्तक अझ राम्ररी बुझ्न सन् १९३० मा दुइ खण्ड भएको लाइट (ज्योति) प्रकाशित गरियो। अझ बढी संशोधनहरू सन् १९६३ मा “बेबिलोन द ग्रेट ह्याज फलन!” (“महान् बेबिलोनको पतन भएको छ!”), गड्स किंगडम रूल्स्! (परमेश्वरको राज्यले शासन गर्छ!) र सन् १९६९ मा “देन इज फिनिश्ड द मिस्ट्रि अफ गड” (तब परमेश्वरको रहस्य टुंगिन्छ) पुस्तकहरूमा प्रकाशित भए। यद्यपि, प्रकाशको भविष्यसूचक पुस्तकबारे सिक्नुपर्ने कुरा अझै बाँकी थियो। हो, सन् १९८८ मा प्रकाश—यसको चरमोत्कर्ष निकट! प्रकाशन मार्फत अझ चहकिलो ज्योति चम्कियो। सन् १९१४ मा सुरु भएको “प्रभुको दिनमा” प्रकाशको भविष्यवाणी लागू हुने भएकोले यो प्रगतिशील ज्योति चम्किएको भन्न सकिन्छ। (प्रकाश १:१०) अतः त्यो दिन बित्दै जाँदा प्रकाशको पुस्तक झनै स्पष्ट हुनेथियो।
“उच्च अख्तियारवालाहरू[बारे]” स्पष्टीकरण
४, ५. (क) बाइबल स्टुडेन्टस्ले रोमी १३:१ कसरी बुझे? (ख) “उच्च अख्तियारवालाहरू[को]” सन्दर्भमा कुन शास्त्रीय अडान पछि स्पष्ट देखियो?
४ सन् १९६२ मा रोमी १३:१ बारे एउटा चम्किलो ज्योति देखा पऱ्यो। त्यहाँ यसो भनिएको छ: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्।” त्यहाँ उल्लिखित “उच्च अख्तियारवालाहरू[ले]” सांसारिक अख्तियारवालाहरूलाई संकेत गरेको हुनुपर्छ भनी प्रारम्भिक बाइबल स्टुडेन्टस्ले बुझे। कुनै मसीहीलाई युद्धमा पठाइयो भने सैन्य पोशाक लगाउन, बन्दुक बोक्न र युद्धभूमिमा जान तिनी बाध्य हुनेछन् भनी तिनीहरूले यो शास्त्रपदबाट बुझेका थिए। एक मसीहीले संगी मानवलाई मार्न नहुने भएकोले बन्दुक चलाउनै पर्ने अवस्था आइपरेमा हावामा गोली हाने हुन्छ भन्ठानियो।a
५ येशूले मत्ती २२:२१ मा भन्नुभएका शब्दहरू छलफल गर्दै नोभेम्बर १५ र डिसेम्बर १, १९६२ का द वाचटावर-ले प्रष्ट पाऱ्यो। उक्त पदमा यसो भनिएको छ: “जे जे सिजरका हुन् सिजरलाई, र जे जे परमेश्वरका हुन् परमेश्वरलाई देओ।” प्रेरित ५:२९ मा प्रेरितहरूले भनेका यी शब्दहरू सान्दर्भिक थिए: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ।” मसीहीहरू “उच्च अख्तियारवालाहरू” अर्थात् सिजरको अधीनमा बस्नुपर्छ। जबसम्म त्यो परमेश्वरको व्यवस्थाको विरुद्धमा हुँदैन, तबसम्म तिनीहरूले यो आज्ञा पालन गर्छन्। सिजरप्रतिको अधीनता पूर्णतया नभई सापेक्षिक थियो। परमेश्वरको आवश्यकता विपरीत नहुने कुराहरू मात्र मसीहीहरूले सिजरलाई तिर्छन्। यो विषय राम्ररी बुझ्न पाउनु कति सन्तोषजनक थियो!
संगठनात्मक कामकुराहरूमा ज्योतिका चमकहरू
६. (क) मसीहीजगतमा व्याप्त पादरीवर्गको संरचनाबाट अलग हुन कुन सिद्धान्त अपनाइयो? (ख) मण्डलीको निरीक्षण गर्ने व्यक्तिहरू छान्ने सिलसिलामा अन्ततः कुन सही ढंग प्रकट भयो?
६ मण्डलीमा प्राचीनहरू र डिकनहरूको हैसियतमा कसले सेवा गर्ने भन्ने प्रश्न उठेको थियो। मसीहीजगतमा व्याप्त पादरीहरूको शासकीय दलको संरचनाबाट उम्किन प्रत्येक मण्डलीका सदस्यहरूले भोट दिएर प्रजातान्त्रिक ढंगमा तिनीहरूलाई छान्नुपर्छ भन्ने निष्कर्ष निकालियो। तर सेप्टेम्बर १ र अक्टोबर १५, १९३२ को द वाचटावर-मा प्रदान गरिएको थप ज्योतिले प्राचीनहरूको निर्वाचनसम्बन्धी शास्त्रमा कुनै आधार नभएको प्रष्ट पाऱ्यो। अतः यिनीहरूलाई सेवा समितिले प्रतिस्थापन गऱ्यो र सोसाइटीबाट सेवा निर्देशक छानियो।
७. ज्योतिका चमकहरूको फलस्वरूप मण्डलीका सेवकहरू नियुक्त गर्ने प्रक्रियामा कस्ता सुधारहरू भए?
७ मण्डलीका सेवकहरू निर्वाचित होइनन् तर नियुक्त अर्थात् ईश्वरतान्त्रिक ढंगमा नियुक्त गरिनुपर्छ भनी देखाउन जून १ र जून १५, १९३८ को द वाचटावर-मा ज्योतिका चमकहरू थिए। प्रत्येक मण्डलीलाई एकै जना मण्डली सेवकले मात्र डोऱ्याउन नहुने कुरा सन् १९७१ मा ज्योतिको अर्को चमकले देखायो। बरु, प्रत्येक मण्डलीमा यहोवाका साक्षीहरूको परिचालक निकायले खटाएका प्राचीनहरू अथवा निरीक्षकहरूको निकाय हुनुपर्छ। अतः ४० वर्षभन्दा बढी समयसम्म थप ज्योतिद्वारा के स्पष्ट भयो भने, प्राचीनहरूका साथै अहिले सहायक सेवक भनिने डिकनहरू “विश्वासी र बुद्धिमान दास[को]” परिचालक निकायद्वारा नियुक्त हुनुपर्छ। (मत्ती २४:४५-४७) यी प्रेरितहरूको समयअनुरूप भएका थिए। प्रथम शताब्दीको परिचालक निकायले तिमोथी र तितसजस्ता मानिसहरूलाई निरीक्षकको रूपमा नियुक्त गरेको थियो। (१ तिमोथी ३:१-७; ५:२२; तितस १:५-९) यी सबै यशैया ६०:१७ को उल्लेखनीय पूर्तिअनुरूप छन्: “काँसाको सट्टा सुन र फलामको सट्टा चाँदी म ल्याउनेछु, र काठको सट्टा पीतल र ढुंगाको सट्टामा फलाम। म तेरा हाकिमहरूलाई मेल-मिलाप गराउने, र तेरा शासकहरूलाई न्यायपूर्वक काम गर्ने तुल्याउनेछु।”
८. (क) ज्योतिका चमकहरूको फलस्वरूप सोसाइटीको सञ्चालन प्रक्रियामा कस्ता सुधारहरू भए? (ख) परिचालक निकायका समितिहरू के के हुन् र तिनीहरूको क्रियाकलाप वा निरीक्षणको क्षेत्र कुन हो?
८ वाच टावर सोसाइटीको कार्य सञ्चालन सम्बन्धमा पनि सुधार गर्नुपरेको थियो। वर्षौंसम्म यहोवाका साक्षीहरूको परिचालक निकाय र वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सल्भेनियाको संचालक समिति एकअर्काको पर्यायवाची शब्द भएको थियो र प्रायजसो कामकुराहरू अध्यक्षको नियन्त्रणमा हुन्थ्यो। सन् १९७७ यरबूक अफ जेहोभाज् विट्नेसेज् पृष्ठ २५८-९ मा (यहोवाका साक्षीहरूको वार्षिक पुस्तक) देखाइएझैं सन् १९७६ मा परिचालक निकायले छवटा समिति मार्फत कार्य सञ्चालन गर्न थाल्यो। अनि प्रत्येक समितिलाई विश्वव्यापी कार्यको कुनै न कुनै पक्षको जिम्मेवारी सुम्पियो। कर्मचारी समितिले विश्वभरिका बेथेल परिवारका आवश्यकताहरूलगायत कर्मचारीहरूका कामकुराहरूमा विचार पुऱ्याउँछ। प्रकाशन समितिले सम्पत्ति र मुद्रणजस्ता सम्पूर्ण सांसारिक तथा कानुनी कुराहरू रेखदेख गर्छ। सेवा समितिले साक्षी कार्यमा ध्यान दिन्छ र परिभ्रमण निरीक्षक, अग्रगामी र मण्डलीका प्रकाशकहरूको सुपरिवेक्षण गर्छ। शिक्षण समितिले मण्डलीका सभाहरू, विशेष सम्मेलन दिन, क्षेत्रीय सम्मेलन, जिल्ला तथा अन्तरराष्ट्रिय अधिवेशनहरूका साथै परमेश्वरका जनहरूलाई आध्यात्मिक शिक्षा दिने विभिन्न पाठशालाहरूको जिम्मेवारी वहन गर्छ। लेखन समितिले हरेक प्रकारका प्रकाशनहरू तयार गर्ने र अनुवाद कार्यको निम्ति लेखिएका सबै विषयवस्तु शास्त्रअनुरूप भए नभएको यकिन गर्न सुपरिवेक्षण गर्छ। अध्यक्षको समितिले आकस्मिक सेवा र अन्य जरुरी कामकुराको हेरचाह गर्छ।b साथै, वाच टावर सोसाइटीका शाखा कार्यालयहरूलाई एक जना निरीक्षकले नभई एउटा समितिले डोऱ्याउने काम सन् १९७० को दशकदेखि सुरु हुन थाल्यो।
मसीही आचरणसित सम्बन्धित ज्योति
९. संसारका सरकारहरूसित मसीहीहरूको सम्बन्धमा ज्योतिका चमकहरूले कसरी असर गऱ्यो?
९ मसीही आचरणसम्बन्धी ज्योतिका धेरै चमकहरू प्रकट भएका छन्। उदाहरणको लागि, तटस्थताको कुरालाई ध्यान दिनुहोस्। नोभेम्बर १, १९३९ को द वाचटावर-मा “तटस्थता” नामक लेखअन्तर्गत यस विषयमा विशेषगरि चम्किलो ज्योति प्रकट भयो। दोस्रो विश्व-युद्ध सुरु हुने बित्तिकै त्यो प्रकाशित हुनु कति सामयिक थियो! त्यस लेखले तटस्थतालाई परिभाषित गऱ्यो र मसीहीहरू राजनैतिक मामिला वा राष्ट्रहरू बीचको विवादमा मुछिनु हुँदैन भनी देखायो। (मीका ४:३, ५; यूहन्ना १७:१४, १६) राष्ट्रहरूले तिनीहरूलाई घृणा गर्नुको यो एउटा कारण हो। (मत्ती २४:९) पुरातन इस्राएल युद्धहरूमा संलग्न भए तापनि मत्ती २६:५२ मा येशूले स्पष्ट पार्नुभएझैं मसीहीहरूले अनुसरण गर्ने यो कुनै बहाना होइन। यसबाहेक, पुरातन इस्राएलजस्तो आज कुनै पनि राष्ट्रमा परमेश्वरको ईश्वरतान्त्रिक शासन छैन।
१०. रगतसम्बन्धी दृष्टिकोणमा ज्योतिका चमकहरूले कुन कुरा प्रकट गऱ्यो?
१० रगतको पवित्रतासम्बन्धी पनि ज्योति चम्कियो। प्रेरित १५:२८, २९ मा रगतको निषेधाज्ञा यहूदी मसीहीहरूमाथि मात्र लागू हुन्छ भनी बाइबल स्टुडेन्ट्सले सोचेका थिए। तथापि, प्रेरितहरूको समयमा विश्वासी भएका अरू जातिका मानिसहरूमा पनि यो आज्ञा लागू भयो भनी प्रेरित २१:२५ ले देखाउँछ। अतः जुलाई १, १९४५ को द वाचटावर-मा देखाइएझैं रगतको पवित्रतासम्बन्धी आज्ञा सबै मसीहीहरूमा लागू हुन्छ। त्यसको अर्थ, जनावरहरूको रगत भएको ससेजजस्ता खानेकुरा खान इन्कार गर्नु मात्र होइन तर रक्तक्षेपणद्वारा मानव रगतबाट पनि अलग बस्नु हो।
११. सुर्तीको प्रयोगसम्बन्धी मसीही दृष्टिकोणबारे कुन कुरा देखियो?
११ थप ज्योतिको फलस्वरूप सुरु सुरुमा केवल अप्रिय मानिने बानीहरू पछि गम्भीरतापूर्वक लिइन थालियो। यसको एउटा उदाहरण सुर्तीको प्रयोगसम्बन्धी थियो। अगस्त १, १८९५ को जायन्स् वाच टावर-मा भाइ रसलले १ कोरिन्थी १०:३१ र २ कोरिन्थी ७:१ मा ध्यान केन्द्रित गर्दै यसो लेखे: “कुनै पनि तरिकाद्वारा मसीहीहरूले सुर्ती सेवन गर्दा त्यसले परमेश्वरको महिमा हुने र मसीहीहरूको निम्ति लाभकारी हुने म कुनै कारण देख्दिनँ।” सुर्ती सेवन गर्ने व्यक्ति यहोवाको साक्षी हुन सक्दैन भनी सन् १९७३ देखि स्पष्ट बुझिएको छ। जुवा खेलाउने ठाउँमा काम गर्ने व्यक्ति मण्डलीमा पनि रहिरहन सक्दैन भनेर सन् १९७६ मा स्पष्ट गरियो।
अन्य शुद्धीकरणहरू
१२. (क) पत्रुसलाई सुम्पिएको राज्यका साँचोहरूको संख्याबारे ज्योतिको चमकले कुन कुरा प्रकट गऱ्यो? (ख) पत्रुसले प्रत्येक साँचो चलाउँदा परिस्थितिहरू कस्ता थिए?
१२ येशूले पत्रुसलाई दिनुभएको प्रतीकात्मक साँचोहरूको सम्बन्धमा पनि थप ज्योति प्रकट भएको छ। राज्यको हकदार हुन पत्रुसले दुइवटा साँचो खोले भनी बाइबल स्टुडेन्टस्ले विश्वास गर्थे—एउटा सा.यु. ३३ पेन्तिकोसमा यहूदीहरूको निम्ति र अर्को पत्रुसले कर्नीलियसलाई प्रचार गर्दा सा.यु. ३६ मा अन्यजातिहरूका निम्ति। (प्रेरित २:१४-४१; १०:३४-४८) समयमा तेस्रो समूह अर्थात् सामरीहरू समावेश भएको प्रष्ट भयो। तिनीहरूका लागि राज्यका सुअवसरहरू खोल्न पत्रुसले दोस्रो साँचो चलाए। (प्रेरित ८:१४-१७) अतः पत्रुसले कर्नीलियसलाई प्रचार गर्दा तेस्रो साँचो चलाए।—द वाचटावर, अक्टोबर १, १९७९, पृष्ठ १६-२२, २६.
१३. यूहन्ना अध्याय १० मा उल्लिखित बगालबारे ज्योतिका चमकहरूले कुन कुरा प्रकट गऱ्यो?
१३ अर्को ज्योतिको किरणअनुसार येशूले दुइवटा नभई तीनवटा बगाललाई संकेत गर्नुभएको कुरा देखियो। (यूहन्ना, अध्याय १०) ती थिए (१) ढोकेको रूपमा बप्तिस्मा दिने यूहन्ना भएको यहूदी बगाल, (२) अभिषिक्त राज्य हकदारहरूको बगाल, र (३) पार्थिव आशा भएका “अरू भेड़ा[को]” बगाल।—यूहन्ना १०:२, ३, १५, १६; द वाचटावर, फेब्रुअरी १५, १९८४, पृष्ठ १०-२०.
१४. विशेष उत्सवको प्रतिरूपको सुरुआतबारे थप ज्योतिले कुन कुरा स्पष्ट पाऱ्यो?
१४ विशेष उत्सवको प्रतिरूपसम्बन्धी ज्ञानमा पनि थप स्पष्टीकरण प्राप्त भयो। व्यवस्थाअनुसार हरेक ५० औं वर्ष महान् विशेष उत्सव मनाइन्थ्यो। त्यतिबेला सबै कुराहरू तिनीहरूको वास्तविक मालिकहरूलाई हस्तान्तरण गरिन्थ्यो। (लेवी २५:१०) यो ख्रीष्टको हजार वर्षीय शासनको पूर्वसंकेत थियो भनी धेरै अघिदेखि बुझ्दै आएका थिए। तथापि, सा.यु. ३३ पेन्तिकोसमा पवित्र आत्मा पाउनेहरूलाई मोशाको व्यवस्थाको करारबाट मुक्त गर्दा वास्तवमा त्यो विशेष उत्सवको प्रतिरूप सुरु भयो भनेर हालै बुझिएको छ।—द वाचटावर, जनवरी १, १९८७, पृष्ठ १८-२८.
पदावलीहरूको प्रयोगमा थप ज्योति
१५. “योजना” शब्दको प्रयोगमा कस्तो ज्योति प्रदान गरियो?
१५ “तिनले अभिरूचिको निम्ति मीठा मीठा शब्दहरू छाने, तर जे तिनले लेखे ती बिल्कुलै सत्य थिए।” (उपदेशक १२:१०) यी शब्दहरू हामीले छलफल गरिरहेको विषयमा पनि लागू गर्न सकिन्छ किनभने सिद्धान्त र आचरणजस्ता महत्त्वपूर्ण विषयहरूमा मात्र नभई मसीही पदावली अनि त्यसको सही अर्थमा पनि ज्योति प्रकट भएको छ। उदाहरणको लागि, बाइबल स्टुडेन्टस्का प्रिय प्रकाशनहरूमध्ये स्टडीज इन द स्क्रिप्चर्स (शास्त्रको अध्ययन) खण्ड १ थियो, जसको शीर्षक, द डिभाइन प्लान अफ दि एजेस् (युगानुयुगको ईश्वरीय योजना) थियो। तथापि, मानवहरूले मात्र योजनाहरू बनाउने कुरा परमेश्वरको वचनले बताउँछ भनी समयमा बुझियो। (हितोपदेश १९:२१) यहोवाले योजना बनाउनुहुन्छ भनी शास्त्रले कहिल्यै बताउँदैन। उहाँलाई योजना बनाउनुपर्ने खाँचो छैन। उहाँले जे उद्देश्य गर्नुहुन्छ त्यो अवश्य पूरा हुनेछ किनभने उहाँ असीमित बुद्धि र शक्तिको श्रोत हुनुहुन्छ। त्यसबारे एफिसी १:१०, ११ मा यस्तो लेखिएको पाउँछौं: “समयको पूर्णताको प्रबन्धको निम्ति [आफ्नो इच्छाअनुसार उहाँले सबै कुरा गर्नुहुन्छ, न्युव]।” अतः यहोवालाई संकेत गर्दा “उद्देश्य” शब्द बढी उपयुक्त भएको बिस्तारै बुझ्न थालियो।
१६. लूका २:१४ को सही अर्थबारे क्रमानुसार कुन कुरा स्पष्ट भयो?
१६ त्यसपछि लूका २:१४ लाई अझ राम्ररी बुझ्नुपर्ने थियो। किंग जेम्स् भर्सन-अनुसार त्यो पदमा यसो भनिएको छ: “अति उच्च परमेश्वरलाई महिमा र पृथ्वीका मानिसहरूलाई शान्ति, शुभेच्छा।” परमेश्वरले दुष्टहरूप्रति शुभेच्छा व्यक्त नगर्नु हुने भएकोले यसले सही विचार व्यक्त नगरेको देखियो। तसर्थ, परमेश्वरप्रति शुभेच्छा व्यक्त गर्ने मानिसहरूतर्फ यो शान्ति व्यक्त गरिएको हो भन्ने दृष्टिकोण साक्षीहरूले राख्न थाले। अतः बाइबल जिज्ञासुहरूलाई शुभेच्छुकहरू भनेर संकेत गर्न थालियो। तर पछि मानिसहरूले नभई परमेश्वरले शुभेच्छा व्यक्त गर्नुपर्ने रहेछ भनेर बुझियो। यसकारण न्यु वर्ल्ड ट्रान्सलेशन-मा (नयाँ विश्व अनुवाद) लूका २:१४ को पादटिप्पणीमा “[परमेश्वरद्वारा] अनुमोदित मानिस” भनिएको छ। समर्पणको वाचाअनुसार जीवन बिताइरहेका सबै मसीहीहरूसित परमेश्वरको शुभेच्छा हुन्छ।
१७, १८. यहोवाले कुन कुरा उच्च पार्नुहुनेछ र कुन कुरा पवित्र गर्नुहुनेछ?
१७ त्यस्तैगरि, निकै समयसम्म साक्षीहरूले यहोवाको नाउँ उच्च गर्नेबारे कुरा गर्थे। तर के शैतानले यहोवाको नाउँमाथि प्रश्न खडा गरेको थियो र? यस सन्दर्भमा के शैतानका कार्यकर्ताहरूले यहोवाको नाउँको औचित्यमाथि प्रश्न खडा गरेको थियो र? अहँ, पटक्कै गरेको थिएन। चुनौती गरिएको र उच्च पार्नुपर्ने यहोवाको नाउँ थिएन। त्यसकारण वाच टावर सोसाइटीका हालका प्रकाशनहरूमा यहोवाको नाउँ उच्च गर्न भनिएको छैन। ती प्रकाशनहरूमा यहोवाको सार्वभौमिकता उच्च पार्ने र उहाँको नाउँ पवित्र गर्ने विषयमा बताइएको छ। यो कुरा येशूले हामीलाई प्रार्थना गर्न सिकाउनु भएअनुसार छ: “तपाईंको नाउँ पवित्र गरिओस्।” (मत्ती ६:९) इस्राएलीहरूले यहोवाको नाउँलाई चुनौती दिएको नभई अपवित्र तुल्याएको हुँदा आफ्नो नाउँ पवित्र पार्नेछु भनी यहोवाले बारम्बार भन्नुभयो।—इजकिएल २०:९, १४, २२; ३६:२३.
१८ चाखलाग्दो कुरा, सन् १९७१ मा “द नेशन्स् श्याल नो द्याट आइ एम जेहोभा”—हाऊ? (“म यहोवा हुँ भनेर सारा राष्ट्रहरूले जान्नेछन्”—कसरी?) पुस्तकले यो भिन्नता स्पष्ट पाऱ्यो: “यहोवाको विश्वव्यापी सार्वभौमिकता उच्च पार्न र यहोवाको नाउँ महिमा गर्न . . . येशू ख्रीष्टले यत्न गर्नुहुन्छ।” (पृष्ठ ३६४-५) सन् १९७३ मा गड्स किंगडम अफ अ थाउजन्ड यर्स ह्याज अप्रोच्ड (परमेश्वरको हजार वर्षीय राज्य नजीकै आएको छ) पुस्तकले यसो भन्यो: “आउँदै गरेको ‘महा संकष्ट’ यहोवाको विश्वव्यापी सार्वभौमिकता उच्च पार्ने र आफ्नो महिमित नाउँ पवित्र पार्ने उहाँको समय हो।” (पृष्ठ ४०९) त्यसपछि, सन् १९७५ मा म्यान्स साल्भेशन आउट अफ वर्ल्ड डिस्ट्रेस अयाट ह्याण्ड! (संसारको दुःखबाट मानिसको छुटकारा नजीकै छ!) पुस्तकले यसो भन्यो: “यहोवाको विश्वव्यापी सार्वभौमिकता उच्च पार्ने र उहाँको पवित्र नाउँ पवित्र गर्ने काम अर्थात् संसारको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण घटना त्यतिबेला पूरा भइसकेको हुनेछ।”—पृष्ठ २८१.
१९, २०. आध्यात्मिक ज्योतिका चमकहरूप्रति हामी कसरी मूल्यांकन देखाउनसक्छौं?
१९ यस आध्यात्मिक ज्योतिको न्यानोपना पाएकोमा यहोवाका जनहरू कति धेरै आशिषित छन्! त्यसको एकदमै विपरीत, एक पादरीको निम्न वाक्यांशले मसीहीजगतका नेताहरूको आध्यात्मिक अन्धकारलाई प्रष्ट देखाउँछ: “पाप किन छ? दुःख किन छ? दियाबल किन छ? स्वर्गमा गएपछि म यी प्रश्नहरू प्रभुलाई सोध्न चाहन्छु।” तर ती प्रश्नहरूका जवाफ यहोवाका साक्षीहरूले तिनलाई यसरी बताउनसक्छन्: किनभने त्यो यहोवाको सार्वभौमिकताको औचित्यको विवाद र दियाबलको विरोधको बावजूद मानव प्राणीहरूले परमेश्वरप्रति निष्ठा कायम गर्नसक्छन् कि सक्दैनन् भन्ने प्रश्न हो।
२० वर्षौंको दौडान यहोवाका समर्पित जनहरूको बाटोलाई ज्योतिका ठूला साना चमकहरूले उज्यालो पारेको छ। यो भजन ९७:११ र हितोपदेश ४:१८ जस्ता शास्त्रपदहरूको पूर्तिअनुरूप भएको छ। तर हामीले एउटा कुरा कहिल्यै नबिर्सौं, ज्योतिमा हिंड्नु भनेको थप ज्योतिको मूल्यांकन गर्नु र त्यसअनुरूप जीवन बिताउनु हो। हामीले देख्यौं, यस थप ज्योतिमा हाम्रो आचरण र प्रचार गर्ने दायित्व दुवै समावेश छ।
[फुटनोटहरू]
a यस दृष्टिकोणको विपरीत यहाँ भनिएको “उच्च अख्तियारवालाहरू” यहोवा परमेश्वर र येशू ख्रीष्ट हुनुहुन्छ भनेर जून १ र जून १५, १९२९ को द वाच टावर-मा खुलस्त पारिएको थियो। सन् १९६२ मा सच्याइएको अडान विशेषगरि यही थियो।
b एज्राको समयको नेथिनिमवर्गले जस्तै परिचालक निकायलाई सघाउन “अरु भेड़ा[का]” भाइहरू छानिएको कुरा अप्रिल १५, १९९२ को द वाचटावर-ले घोषणा गऱ्यो।—यूहन्ना १०:१६; एज्रा २:५८.
के तपाईंले सम्झनुभएको छ?
◻ “उच्च अख्तियारवालाहरू[को]” सन्दर्भमा कस्तो ज्योति प्रकट भएको छ?
◻ ज्योतिका चमकहरूले गर्दा कस्ता संगठनात्मक सुधारहरू भएका छन्?
◻ मसीही आचरणमाथि थप ज्योतिले कसरी असर गरेको छ?
◻ केही शास्त्रपदहरूको अर्थ बुझ्न आध्यात्मिक ज्योतिले कस्तो शुद्धीकरण प्रदान गरेको छ?
[पृष्ठ २५-मा भएको चित्रको स्रोत]
Keys on page 24: Drawing based on photo taken in Cooper-Hewitt, National Design Museum, Smithsonian Institution