अगुवाइ गर्नेहरू प्रति आज्ञाकारी हुनुहोस्
“तिमीहरूमाथि शासन गर्नेहरूका आज्ञाकारी होओ, र तिनीहरूका अधीनमा बस, किनकि लेखा दिनुपर्ने जस्तैगरी, तिमीहरूका प्राणको तिनीहरूले हेरचाह गर्छन्।”
१. मसीही अध्यक्षहरूको कामबाट हामी कसरी लाभ उठाउँछौं?
यस “अन्तको समयमा” यहोवाले आफ्ना सङ्गठनका निम्ति अध्यक्षहरूको व्यवस्था गर्नु भएको छ। (दानियल १२:४) तिनीहरूले भेड़ाखालका व्यक्तिहरूको हेरविचार गर्नमा अगुवाइ लिन्छन्, र तिनीहरूको रेखदेख आरामदायक छ। (यशैया ३२:१, २) साथै, परमेश्वरका बगालसँग कोमलतासाथ व्यवहार गर्ने प्राचीनहरूको मायालु रेखदेखको कारण, शैतान र त्यसका दुष्ट रीतिरिवाजबाट बचाव पनि हुन्छ।—प्रेरित २०:२८-३०; १ पत्रुस ५:८; १ यूहन्ना ५:१९.
२. कसै कसैले प्रेरित पावललाई कुन दृष्टिकोणले हेर्दथिए, तर प्राचीनहरू प्रति कुन प्रकारको दृष्टिकोण राख्नु उचित हो?
२ तर प्राचीनहरूलाई तपाईं कुन दृष्टिकोणले हेर्नु हुन्छ? के तपाईं आफ्नो हृदयमा यसो भन्नुहुन्छ: ‘मलाई कुनै समस्या परेमा, यस मण्डलीका कुनै पनि प्राचीनकहाँ म जान्न, किनकि तिनीहरू कसैमाथि मलाई भरोसा छैन?’ तपाईं यस प्रकार सोंच्नु हुन्छ भने, तपाईंले तिनीहरूका असिद्धताहरूमाथि चाहिंदो भन्दा बढ़ी ध्यान दिनु भएको हो, होइन र? पुरातन कोरिन्थमा, प्रेरित पावल वारे कसै कसैले यसो भन्दथिए: “त्यसका चिठ्ठीहरू गहकिला र प्रभावशाली हुन्छन्, तर सामनेमा शरीरको निर्धो र बोलीचाहिं केही कामको छैन।” तापनि, परमेश्वरले पावललाई एउटा सेवकाईको जिम्मा दिनुभयो र तिनलाई “अन्यजातिहरूको प्रेरित” को रूपमा प्रयोग गर्नुभयो। (२ कोरिन्थी १०:१०; रोमी ११:१३; १ तिमोथी १:१२) त्यसकारण, तपाईंको विचार पनि त्यही बहिनीको जस्तो होस् भन्ने आशा राख्दछौं, जसले एसो भनिन्: “संसारको सबै भन्दा उच्च श्रेणीका प्राचीनहरूको समूह यहाँ हामीसँग छ। आवश्यकता परेको बेलामा, तिनीहरू मद्दत दिन हाजिर थिए।”
तिनीहरूको आज्ञा किन मान्ने?
३. हामीले देखाएको प्रवृत्तिलाई प्रभुले समर्थन गर्नु भएको चाहन्छौं भने, मसीही उप-गोठालाहरू प्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्दछ?
३ महान गोठाला, यहोवा परमेश्वरले नै मसीही उप-गोठालाहरूको प्रबन्ध मिलाउनु भएको हुनाले, तिनीहरू प्रति हामीले कस्तो दृष्टिकोण राखेको उहाँ चाहनु हुन्छ होला? निश्चय पनि, यहोवाका साक्षीहरूको संचालक समितिको रेखदेखमा काम गर्ने, मायालु अध्यक्षहरू द्वारा आएको बाइबलमा आधारित निर्देशनहरू हामीले पालन गरेको नै परमेश्वर चाहनुहुन्छ। यसो गऱ्यौं भने, ‘प्रभु हाम्रो आत्मासँग रहनु हुनेछ,’ र हामीले शान्ति अनुभव गर्नेछौं र हाम्रो आध्यत्मिक बृद्धि हुनेछ।—२ तिमोथी ४:२२; प्रेरित ९:३१; १५:२३-३२ सँग तुलना गर्नु होस्.
४. हिब्रू १३:१७ लाई हामीले व्यक्तिगत रूपमा कसरी प्रयोग गर्न सक्तछौं?
४ पावलले आग्रह गर्दै भने: “तिमीहरूलाई परमेश्वरको वचन सुनाउने र तिमीहरूका अगुवाहरूलाई सम्झ र तिमीहरूका जीवनको नतीजालाई विचार गरेर तिनीहरूको विश्वासको देखा-सिकी गर।” (हिब्रू १३:७) प्राचीन मसीहीहरू बीच, विशेष अगुवाइ प्रेरितहरूले नै लिने गर्दथिए। आज, यहोवाका साक्षीहरूको संचालक समितिका सदस्यहरू, अरू अभिषिक्त अध्यक्षहरू, र “ठूलो भीड़का” मानिसहरूले हामीहरू बीच अगुवाई लिने गर्दछन्। (प्रकाश ७:९) हामीहरूले तिनीहरूको बोली, आवाज, हाव-भाव, वा अरू अन्य मानवीय आनी-बानीको अनुकरण गर्नु न परेता पनि, तिनीहरूको विश्वासलाई अनुकरण गर्दै, हामीले आफ्नो आचरणलाई असल बनाउन सक्नु पर्दछ।
५. आज पृथ्वीमा, मसीही मण्डलीको हेरचाह गर्ने मुख्य जिम्मावारी कसलाई दिइएको छ, र तिनीहरू के पाउने योग्यका छन्?
५ पृथ्वीमा आज, हाम्रा आध्यात्मिक आवश्यकताहरूको हेरचाह गर्ने मुख्य जिम्मावारी “विश्वासी र बुद्धिमान दासलाई” सुम्पिएको छ। तिनलाई प्रतिनिधित्व गर्ने संचालक समितिले अगुवाइ लिने गर्दछ र विश्वव्यापी राज्य प्रचारको कामको संयोजन गर्दछ। (मत्ती २४:१४, ४५-४७) आत्मा द्वारा अभिषिक्त ती प्राचीनहरूलाई आत्मिक राज्यपालहरू भन्न सकिन्छ, किनकि हिब्रू १३:७ को यसरी पनि अनुवाद गर्न सकिन्छ: “तपाईंलाई शासन गर्नेहरू प्रति विचारशील हुनुहोस्।” (किंगडम इन्टरलिनिएर) ६३,००० भन्दा बढ़ी मण्डलीहरू र ४,०१७,००० भन्दा बढ़ी राज्य-प्रचारकहरू भएका हुनाले, १२ जना प्राचीनहरू द्वारा गठित् सञ्चालक समितिलाई ‘प्रभुमा प्रशस्त काम’ छ। (१ कोरिन्थी १५:५८) तिनीहरूको ईश्वर प्रदत्त जिम्मावारीको कारण, तिनीहरू हाम्रा पूर्ण सहयोगका योग्य छन्, जसरी प्रथम शताब्दीका संचालक समितिले प्राचीन मसीहीहरूबाट सहयोग पाउँदथिए।—प्रेरित १५:१, २.
६. यहोवाका जनहरूका निम्ति प्राचीनहरूले गर्नु पर्ने केही कामहरू के हुन्?
६ मण्डलीका आध्यात्मिक आवश्यकताहरूको हेरविचार गर्नका निम्ति अध्यक्षहरू आत्माद्वारा नियुक्त भएका हुन्। (प्रेरित २०:२८) स्थानीय मण्डलीको क्षेत्र भित्र, राज्यको सन्देश प्रचार गराउने काममा तिनीहरूले ध्यान दिन्छन्। शास्त्रीय आधारमा योग्य गनिएका यी पुरूषहरूले मायालु ढङ्गबाट आत्मिक निर्देशन पनि दिन्छन्। तिनीहरूले आफ्ना आत्मिक भाइ-बहिनीहरूलाई आग्रहपूर्वक सम्झाउछन्, सान्त्वना दिन्छन् र साक्षी दिन्छन् ताकि तिनीहरूको चालचलन परमेश्वरको योग्य होस्। (१ थिस्सलोनिकी २:७, ८, ११, १२) कसैले थाहै नपाइ गलत कदम चालेको छ भने पनि, यिनीहरूले “नम्रताको आत्माले” त्यस व्यक्तिलाई सुधार्ने प्रयास गर्दछन्।—गलाती ६:१.
७. हिब्रू १३:१७ मा पावलले के सल्लाह दिएकाछन्?
७ यस्ता मायालु अध्यक्षहरूलाई सहयोग दिन हामी भित्र हृदय देखिनै प्रेरित हुँदछौं। यो उचित पनि हो किनभने पावलले यस प्रकार लेखेका छन्: “तिमीहरूमाथि शासन गर्नेहरूका आज्ञाकारी होओ, र तिनीहरूका अधीनमा बस, किनकि लेखा दिनुपर्ने जस्तैगरी, तिमीहरूका प्राणको तिनीहरूले हेरचाह गर्छन्, यो तिनीहरूले आनन्दसाथ गरून्। दुःख मानेर होइन, किनकि त्यसबाट तिमीहरूलाई लाभदायक हुँदैन।” (हिब्रू १३:१७) यस सल्लाहलाई हामीले कुन ढङ्गमा बुझ्नु पर्दछ?
८, ९. (क) हिब्रू १३:१७ अनुसार, हाम्रो अगुवाइ गर्नेहरू प्रति हामी आज्ञाकारी किन हुनुपर्दछ? (ख) हाम्रो आज्ञाकारिता र अधीनताले के राम्रो असर पार्नसक्तछ?
८ हामीमाथि आत्मिक रूपमा शासन गर्नेहरूको आज्ञा मान्नु भनी पावलले आग्रह गर्दछन्। हामीहरू यी उप-गोठालाहरूको अधीनमा बस्नु पर्दछ र तिनीहरूको सामुन्ने अटेर गर्नु भएन। किन? किनभने ‘तिनीहरूले हाम्रो प्राणको’ अथवा परमेश्वरलाई समर्पण गरिएको हाम्रो जीवनको तिनीहरूले हेरचाह गर्छन्। र तिनीहरूले हाम्रो ‘हेरचाह’ कसरी गरिरहेकाछन्? यहाँ प्रयोग गरिएको युनानी क्रियात्मक शब्द, एग्रुप्नीयोको शाब्दिक अर्थ “न सुतेर, जागो बस्नु” हो। यसबाट हामीलाई त्यस एकलो गोठालोको सम्झना हुँदछ, जसले रात्रिको खतराबाट आफ्नो बगाललाई बचाउन, राति न सुतिकन काट्छ। प्राचीनहरूले पनि कहिलेकाहीँ परमेश्वरका बगालको चिन्ताको कारण, अथवा सङ्गी विश्वासीहरूलाई आत्मिक सहायता दिन परेको बेलामा, कैयौं रात न सुतिकन, प्रार्थनामा बिताउँने गर्छन्। तिनीहरूको विश्वासी सेवाको हामीले कति मूल्याङ्कन गर्नुपर्ने हो! निश्चय पनि हामी यहूदाको समयका “अधर्मी मानिसहरू” जस्ता हुन चाँहदैनौं जसले ‘प्रभुत्वलाई तुच्छ’ ठान्दथिए र ‘उच्च पदाधिकारीहरू’ अथवा ईश्वर-प्रदत्त महिमा भएका अभिषिक्त प्राचीनहरूको ‘निन्दा’ गर्थिए।—यहूदा ३, ४, ८.
९ मसीही अध्यक्षहरूको अधीनमा बसेर हामी आज्ञाकारी भएनौं भने, यहोवा अप्रसन्न हुनुहुनेछ। यो कुरा ती प्राचीनहरूका लागिपनि एउटा बोझ सरह हुनेछ र हाम्रो आध्यात्मिकतामा यसले हानि पुर्याउने छ। हामी असहयोगी भयौं भने, प्राचीनहरूले आफ्नो जिम्मावारी दुःख मान्दै र निरूत्साहित भएर पूरा गर्लान् जसले गर्दा हाम्रा मसीही काम-कुरामा आनन्दनै खतम भएर जान सक्छ। तर हाम्रो आज्ञाकारिता र अधीनताले हामीमा ईश्वरीय आचरणलाई बढ़ावा दिन्छ र हाम्रो विश्वासलाई बलियो पार्छ। ‘हामीले देखाएको आत्मासँग प्रभु रहनुहुनेछ’ र सहयोग, शान्ति र एकताको वातावरणमा आनन्द फैलिन्छ।—२ तिमोथी ४:२२; भजनसंग्रह १३३:१.
१०. १ तिमोथी ५:१७ अनुसार, राम्रोसँग अध्यक्षको काम पूरा गर्नेहरू दोहोरो आदरका योग्य किन छन्?
१० मण्डलीका प्राचीनहरू प्रति आज्ञाकारिता र अधीनता व्यक्त गर्नुको अर्थ हामी चाकरीवाज हुनु होइन। यसो गर्नु शास्त्र विपरीत हुनेछ किनकि प्रथम शताब्दीका कमाराहरूलाई आ-आफ्ना मालिकको आज्ञा मान्दा “आँखाका अगाड़ि मानिसहरूलाई खुशी तुल्याउने जस्तैगरी होइन, तर प्रभुको डर मानेर शुद्ध हृदयसाथ” आज्ञाकारी हुन भनिएको थियो। (कलस्सी ३:२२; एफिसी ६:५, ६) ‘असल शासन गर्ने र वचनको प्रचार र शिक्षामा परिश्रम गर्ने’ अध्यक्षहरू प्रतिष्ठाका पात्र हुन् किनकि मुख्यतः तिनीहरूको शिक्षा परमेश्वरको वचनमा आधारित छ। पावलले लेखे झैं: “असल शासन गर्ने धर्म-गुरुहरू दोहोरो आदरका योग्य गनिन्छन्। विशेषगरी जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्दछन्। किनभने धर्मशास्त्र भन्दछ, ‘दाँइ गर्ने गोरुको मुखमा महला नलगाउनू’; औ ‘खेताला ज्यालाको योग्य हुन्छ।’”—१ तिमोथी ५:१७, १८.
११. एउटा प्राचीनले “दोहोरो आदर” कसरी पाउन सक्तछन्, तर तिनी कुन कुराबाट जोगिनु आवश्यक छ?
११ अरूहरूको आध्यात्मिक हितको रेखदेख गर्नेहरूलाई भौतिक सहायता दिनु उचित हो भनी पावलका यी शब्दहरूबाट बोध हुँदछ। तथापि, यसको अर्थ प्राचीनहरूले तलब पाउनु पर्ने होइन र एक जना प्राचीनले अरूहरूबाट दोहरो आदर जबरजस्ती खोसेर लिने कुरा पनि होइन। यो ता मण्डलीका सदस्यहरूबाट स्वेच्छासाथ आउनु पर्ने कुरा हो, तर तिनले भौतिक धन वा अधिकार प्राप्त गर्नका लागि आफ्नो जिम्मावारी कदापि प्रयोग गर्नु भएन। तिनले आफ्नै महिमा खोज्नु भएन अथवा भौतिक सुविधाका निम्ति अलिक हुने-खानेहरूसित मात्र बढ़ी सङ्गत गर्दै, अरूहरूको हेलचक्राइँ गर्नु हुँदैन। (हितोपदेश २५:२७; २९:२३; यहूदा १६) बरू, एक जना अध्यक्षले परमेश्वरको बगालको गोठालोको काम ‘करले होइन, पैसाको लोभले होइन, तर तयारी मनले’ गर्नुपर्दछ।—१ पत्रुस ५:२.
१२. के कुरा मनमा राख्यौं भने हाम्रो अगुवाइ गर्नेहरूको आज्ञा मान्नमा हामीलाई मद्दत मिल्न सक्तछ?
१२ परमेश्वर आफैलेनै प्राचीनहरूको व्यवस्था मिलाउनु भएको हो भन्ने कुरा याद राख्यौं भने, अगुवाइ गर्नेहरूको आज्ञा मान्न र आदर गर्न हामीलाई मद्दत मिल्नेछ। (एफिसी ४:७-१३) यी व्यक्तिहरू आत्माद्वारा नियुक्त भएका हुनाकारण र यहोवाका साक्षीहरूको जीवनमा परमेश्वरको सङ्गठनले महत्त्वपूर्ण भूमिका निभाउने भएको हुनाले, हामी निश्चय नै ईश्वरतन्त्रीय व्यवस्था प्रति आफ्नो कृतज्ञता र आदर प्रदर्शित गर्न चाहन्छौं। अझ, हामी मध्ये अगुवाइ लिनेहरू प्रति आज्ञाकारिता र अधीनताको राम्रो उदाहरण कायम गऱ्यौं भने, हामीले नया व्यक्तिहरूलाई पनि यसै प्रकारको मनोभावना बढ़ाउने मद्दत दिनसक्नेछौं।
तिनीहरूको सेवाको मूल्याङ्कन किन गर्ने?
१३. (क) संसारमा र परमेश्वरको सङ्गठनमा, नेतृत्वबारे कुन वेग्ला-वेग्लै दृष्टिकोण पाउँछौं? (ख) हामीमध्ये अगुवाइ लिने मानिसहरूमाथि भरोसा गर्न, हामीसँग के ठोस कारणहरू छन्? (ग) मेहनती प्राचीनहरूका असिद्धतालाई बढ़ाइ-चढ़ाइ हेर्नुको सट्टा, हामीले के गर्न उचित हुनेछ?
१३ नेतृत्वलाई अस्वीकार गर्ने मनोवृत्ति संसारमा चलेको छ। एउटा प्राध्यापकले भने अनुसार: “शिक्षाको बढ़दो स्तरले गर्दा दक्ष व्यक्तिहरूको सङ्खया पनि बढ़ेको छ। र विद्यार्थीहरू यति छिद्रान्वेषी भएका छन् कि तिनीहरूको नेतृत्व गर्न प्रायः असमभ्व हुन गएको छ।” तर परमेश्वरको सङ्गठनमा स्वतंत्र ढङ्गले सोंच्ने प्रवृत्ति प्रचलनमा छैन, र हामीमध्ये अगुवाई लिने मानिसहरूमाथि विश्वस्त हुने ठोस कारणहरू हामीसँग छन्। उदाहरणकालागि, शास्त्रीय योग्यता भएकाहरू मात्र प्राचीन नियुक्त हुन्छन्। (१ तिमोथी ३:१-७) कृपालु, मायालु र मद्दतगार हुनुका साथै यहोवाका धार्मिक सिद्धान्तहरूलाई दृढ़तापूर्वक कायम राख्ने प्रशिक्षण तिनीहरूले पाएका छन्। प्राचीनहरू ‘विश्वासयोग्य वचनमा दृढ़ रहेर पक्का सिद्धान्तले अर्ती दिंदै’ शास्त्रीय सत्यतालाई समाति रहन्छन्। (तितस १:५-९) हामीहरूले तिनीहरूका असिद्धताहरूलाई बढाइ-चढाइ हेर्नु हुँदैन किनभने हामी सबै नै असिद्ध छौं। (१ राजा ८:४६; रोमी ५:१२) तिनीहरूको सीमित क्षमता देखेर विचलित हुँदै, तिनीहरूको सल्लाहलाई हल्का ठान्नुको सट्टा, प्राचीनहरूले दिएका बाइबलमा आधारित निर्देशनलाई परमेश्वरबाट आएको हो भनी ठानेर त्यसको मूल्याङ्कन गर्दै स्वीकार गरौं।
१४. १ तिमोथी १:१२ अनुसार, आफूलाई सुम्पिएको सेवकाईलाई एक जना प्राचीनले कुन दृष्टिले हेर्नु पर्दछ?
१४ पावल मूल्याङ्कन गर्ने किसिमका व्यक्ति थिए र तिनले एसो भने: “म उहाँमा, अर्थात् मलाई सामर्थी तुल्याउनु हुने, येशू ख्रीष्ट हाम्रा प्रभुमा धन्यवाद चढ़ाउँछु, किनकि उहाँले मलाई आफ्नो सेवामा नियुक्त गरेर विश्वासी ठान्नुभयो।” (१ तिमोथी १:१२) त्यस सेवकाई, वा सेवामा, प्रचार कार्य र सङ्गी विश्वासीहरूका लागि गरिने सेवा समावेश थियो। गोठालाको हैसियतमा सेवा गर्न पवित्र आत्माद्वारा नियुक्त भएको भएता पनि, एक जना प्राचीनले आफूलाई अरूहरू भन्दा उच्च ठान्नु हुँदैन, किनकि तिनी पनि परमेश्वरका बगालका भेड़ा जस्ता व्यक्तिहरू मध्यका एक जना हुन्। (१ पत्रुस ५:४) बरू, मण्डलीका प्रमुख, येशू ख्रीष्टले तिनलाई बगालका सदस्यहरूको सेवा गर्ने योग्य ठान्नु भएकोमा र परमेश्वरले ज्ञान, बुद्धि, र समझशक्ति प्रदान गरेर त्यस योग्य बनाइदिनु भएकोमा तिनी कृतज्ञ हुनु पर्दछ। (२ कोरिन्थी ३:५) ईश्वर-प्रदत्त यो अधिकार पाएकोमा एक जना प्राचीनकालागि कृतज्ञ हुने कारण छ भने, यस सेवकाई वा सेवाको मूल्याङ्कन मण्डलीका अरू सदस्यहरूले पनि गर्नुपर्दछ।
१५. १ थिस्सलोनिकी ५:१२, १३ मा पावलले दिएको सल्लाहको सार तत्व के हो?
१५ यस अन्तको समयमा, परमेश्वरले गठन गर्नु भएको सङ्गठनका निम्ति यहोवाका साक्षीहरू अनुगृहीत छन्, र यसै कारण हामी प्राचीनहरूको आदर गर्न प्रेरित हुन्छौं। हाम्रा हितकालागि तिनीहरूले मिलाएका प्रबन्धहरूसँग हामीहरूले आनन्दसाथ सहयोग गर्नु पर्दछ। पावलले भनेकाछन्: “हे भाइ हो, हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछौं, कि तिमीहरूमा परिश्रम गर्नेहरू, प्रभुमा अगुवा हुनेहरू र तिमीहरूलाई चेताउनी दिनेहरूको आदर गर। औ तिमीहरूका कामका खातिर तिनीहरूलाई प्रेमसाथ अति उच्च आदर गर।” (१ थिस्सलोनिकी ५:१२, १३) यस सल्लाहलाई प्रयोग गर्दा आनन्द र यहोवाको आशिष आउँदछ।
सल्लाह प्रयोगमा ल्याउन तत्पर हुनु होस्
१६, १७. विवाहको सम्बन्धमा प्राचीनहरूले के सल्लाह दिन सक्तछन् र त्यसको पालन गर्दा, परिणाम के हुनसक्तछ?
१६ पावलले तितसलाई ‘अधिकारसित बोल्न, अर्ती दिन, र हप्काउन’ भनी आग्रह गरे। (तितस २:१५) यसै गरी, आज परमेश्वरका प्रतिनिधिहरूले हाम्रो ध्यान बाइबलका सिद्धान्तहरू र नियमहरू तर्फ आकर्षित गराउँछन्। यहोवाका सङ्गठन र नियुक्त भएका प्राचीनहरू द्वारा आउने सल्लाहलाई प्रयोग गर्नु भनी बारम्बार दिइने चेताउनी मान्ने ठोस कारणहरू छन्।
१७ उदाहरणकालागि: “प्रभुमा मात्र” विवाह गर्नु भन्ने बाइबलको सल्लाहलाई अनुसरण गर्नु भनी प्राचीनहरूले एक जना मसीहलाई आग्रह गर्लान्। (१ कोरिन्थी ७:३९; व्यवस्था ७:३, ४) बप्तिस्मा नलिएको व्यक्तिलाई विवाह गर्नाले गम्भीर समस्याहरू उत्पन्न हुनसक्तछन् भनी तिनीहरूले भन्लान्। जसरी सुलेमान राजाले पनि विदेशी स्त्रीहरूसँग विवाह गरेर भूल गरे किनभने ती स्त्रीहरूले तिनको हृदय यहोवाबाट टाढ़ा, र ती झुट्टा देवताहरू तिर लगे। (१ राजा ११:१-६) एज्राले यहूदीहरूलाई आफ्नी विदेशी पत्नीहरूलाई छाड़न लगाए, र नहेम्याहको विचारमा पनि, अविश्वासीहरूलाई विवाह गर्नेहरूले ‘घोर अपराध गर्दै, हाम्रा परमेश्वरसितको विश्वास” तोड़दछन् भनी प्राचीनहरूले हामीहरूलाई सम्झाउलान्। (नेहम्याह १३:२३-२७; एज्रा १०:१०-१४; द वाचटावर, मार्च १५, १९८२, पाना ३१; नवम्बर १५, १९८६, पानाहरू २६-३० हेर्नु होस्) मायालु प्राचीनहरू द्वारा आएका यस प्रकारका शास्त्रीय सल्लाहहरू प्रयोग गर्नाले आशिष र यहोवालाई खुशीपार्न सकेको सन्तोष अनुभव गर्न सकिन्छ।
१८. १ कोरिन्थी ५:९-१३ मा पावलले लेखेका कुराहरूलाई ध्यानमा राख्दै, आफ्नो परिवारका एक जना सदस्य बहिष्कृत भएमा हामीले के कस्तो प्रतिक्रिया देखाउनु उचित हुनेछ?
१८ प्राचीनहरूले गरेका न्यायिक निर्णयहरूलाई आदर गर्नु पनि उचित हो। पावलले कोरिन्थका मसीहीहरूलाई “त्यसको सङ्गत नगर्नु जो भाइ कहलिएर व्यभिचारी, अथवा लोभी वा मूर्तिपूजक, वा गाली गर्ने, कि मतवाला, अथवा लुटाहा हुन्छ, त्यस्तो मानिससित ता खाँदै पनि नखाओ” भने। तिनीहरूले ‘आफ्नो बीचबाट दुष्ट मानिसलाई हटाउनु’ परेको थियो। (१ कोरिन्थी ५:९-१३) तर तपाईंका आफ्नै कुनै नातेदार बहिष्कृत भएमा के गर्नु हुनेछ? पारिवारिक आवश्यकताहरूको कारण, त्यो बहिष्कृत सदस्यसँग सीमित मात्रामा बोल-चाल गर्नु खाँचो पर्न सक्तछ तर तिनीसँग हर प्रकारको आध्यात्मिक सङ्गति गर्न चाहिं छाड़नु पर्दछ। (द वाचटावर अप्रिल १५, १९८८, पानाहरू २६-३१ मा हेर्नुहोस्) निश्चय पनि, परमेश्वर र उहाँका सङ्गठन प्रति भएको भक्तिको कारण, प्राचीनहरूले गरेका न्यायिक निर्णयहरूको हामीले आदर गर्नु पर्ने हो।
१९. हामी गलत आत्मिक बाटोमा गइरहेका छौं भनी प्राचीनहरूले देखाएमा, हामीले के गर्न उचित हुनेछ?
१९ जीवनको साँघुरो बाटोमा सधैं रहि रहन सजिलो छैन। तर यसका लागि, हामीले परमेश्वरको वचन र उहाँको सङ्गठनमा गोठाला हुने जिम्मावारी सुम्पिएका व्यक्तिहरू द्वारा आएका निर्देशनलाई अनुसरण गर्नु पर्दछ। (मत्ती ७:१३, १४) हामीहरू मोटरगाड़ीमा एक शहरबाट अर्को शहरतर्फ गइरहेको बेलामा गलत ठाउँमा मोड़ लियौं भने, ठीक बाटोतर्फ लाग्ने प्रयास गर्नु आवश्यक पर्नेछ। अन्यथा हामी आफ्नो गन्तव्य स्थानमा कहिले पुग्ने छेनौं। त्यसै गरी, शायद, एक जना अविश्वासीसँग प्रेम गरेर, हामी पनि आध्यात्मिक दृष्टिले गलत बाटो तिर गइरहेका छौं भनी प्राचीनहरूले देखाए भने, तिनीहरूले दिएका शास्त्रमा आधारित सल्लाहलाई हामीले तुरून्तै प्रयोगमा ल्याउनु पर्दछ। हामीहरू वास्तवमा “यहोवामाथि भरोसा” गर्दछौं भन्ने प्रमाण दिने यो एउटा तरिका हुनेछ।—हितोपदेश ३:५, ६.
साना कुराहरूमा पनि आदर गर्नुहोस्
२०. साना कुराहरूमा पनि प्राचीनहरूले दिएको निर्देशन प्रति आदर देखाउन, आफूलाई कुन प्रश्नहरू सोध्यौं भने मद्दत पाउन सक्नेछौं?
२० साना कुराहरूमा पनि प्राचीनहरूबाट आएको निर्देशन प्रति हामीले आदर देखाउनु आवश्यक छ। अतः हामी आफूलाई सोध्न सक्तछौं: ‘प्राचीनहरूले बिरामी परेकाहरूलाई हेर्न जान अथवा नया व्यक्तिलाई क्षेत्र सेवकाईमा प्रशिक्षण दिन अह्राउँदा, के म सहयोग गर्दछु? सभाहरूमा पाएका जिम्मावारीहरू, के म सहर्ष स्वीकार गरेर, तिनीहरूको राम्रोसँग तयारी गर्दछु? सम्मेलनहरूमा बस्ने ठाउँ बचाउने विषयमा, पहिरन सम्बन्धमा र त्यस्ता कतिपय अन्य कुराहरूवारे प्राचीनहरूले दिएका निर्देशनलाई के म ग्रहण गर्दछु? तिनीहरूले हामीलाई राज्य सभागृहको सफाइको काममा मद्दत गर्नु, क्षेत्र सेवकाईको रिपोर्ट समयमै दिनु, समयमा सभाहरूमा आउनु भन्दा, के म सहयोग गर्दछु?’
२१. प्राचीनहरू प्रति आदर देखाउँदा येशूका कुन शब्दहरूको सम्झना हुन्छ?
२१ मण्डलीका अध्यक्षहरूले हाम्रो सहयोगको मूल्याङ्कन गर्दछन्, र यसबाट धेरै फायदा हुन्छ। यथार्थमा, साना कुराहरूमा पनि हामी आदरपूर्ण र सहयोगात्मक हुँदा येशूका यी शब्दहरूको सम्झना हुन्छ: “जो थोरै कुरामा विश्वासी हुन्छ, त्यो धेरैमा पनि विश्वासी हुन्छ।” (लूका १६:१०) निश्चय पनि, हामी विश्वासी कहलिन चाहन्छौं।
मायालु रेखदेख प्रति उचित प्रतिक्रिया देखाइ रहनुहोस्
२२. विश्वासी दास र मण्डलीका प्राचीनहरूको मायालु रेखदेखबाट हुने केही लाभहरू के हुन्?
२२ विश्वासी दास र मण्डलीका प्राचीनहरूको मायालु रेखदेखको प्रतिफलबाट, यहोवाका पार्थिव सङ्गठनमाथि उहाँको प्रशस्त आशिष छ भन्ने कुरा प्रमाणित हुँदछ। अझै, प्राचीनहरूले निपुणतासाथ निर्देशन दिने गर्दा, तिनीहरू प्रत्यकको योग्यताहरू संमिश्रित हुँदछ र यसले हामीहरू बीच एकता बढ़ाउदछ। साथै, यसबाट राज्यको हितलाई अगाड़ि बढ़ाउनमा एउटा व्यवस्थित र सफल प्रयत्न गर्न सकिन्छ। वास्तवमा, हाम्रो अगुवाइ गर्नेहरूले गरेको रेखदेख प्रति उपयुक्त प्रतिक्रिया देखायौं भने, हाम्रो प्रचार कार्य र चेला बनाउने काममा परमेश्वरले आशिष दिनुहुन्छ। (मत्ती २८:१९, २०) प्राचीनहरूसित सहयोग गर्दा, हामी नया व्यवस्थामा अनन्त जीवनकालागि तयारी गरिरहेका पनि हुनेछौं।
२३. १ यूहन्ना ५:३ अनुसार, हामी के गर्न प्रेरित हुनु पर्ने हो?
२३ हामी यहोवालाई प्रेम गर्दछौं, त्यसकारण उहाँको आज्ञा मान्नु एउटा अप्रिय कर्त्तव्य होइन। प्रेरित यूहन्नाले लेखेकाछन्: “किनभने हामीले उहाँको आज्ञा पालन गर्नुनै परमेश्वर प्रति प्रेम हो, र उहाँका आज्ञाहरू कड़ा छैनन्।” (१ यूहन्ना ५:३) वफादार मसीहीहरू यहोवाका आज्ञाहरूलाई सहर्ष पालन गर्दछन् र उहाँले मण्डलीको रेखदेख गर्ने जिम्मावारी दिनु भएकाहरूसँग सहयोग गर्न तिनीहरू तत्पर छन्। परमेश्वरको सङ्गठनमा हुन पाएकोमा र “मानिसहरूमा वरदान” भएकाहरू हाम्रा बीच भएकोमा हामी कति कृतज्ञ छौं! (एफिसी ४:८) परमेश्वरले नै आफ्ना जनहरूको नेतृत्व गर्नु हुँदैछ भन्ने कुरामा पूर्णतया विश्वस्त भएर, अब, यहोवाका साक्षीहरूका बीचमा अगुवाइ गर्न पाउने सौभाग्य पाएकाहरू प्रति हामीहरू सदा आज्ञाकारी होऔं। (w89 9/15)
तपाईंका टिप्पणीहरू के छन्?
◻ हामीमध्ये अगुवाइ लिनेहरू प्रति आज्ञाकारी किन हुनु?
◻ मेहनती प्राचीनहरूले गरेको सेवा प्रति हाम्रो दृष्टिकोण के हुनुपर्दछ?
◻ प्राचीनहरूले दिएको सल्लाह तुरून्तै प्रयोगमा ल्याउन हामी किन तयार हुनु पर्दछ?
◻ मायालु रेखदेख प्रति उपयुक्त प्रतिक्रिया देखाउनाको परिणाम के हुन्छ?
[पृष्ठ २५-मा भएको चित्र]
सुसमाचारको प्रचार र सङ्गी-विश्वासीहरूको सेवा गर्नमा पावल आनन्दित हुन्थ्ये। प्राचीन हुनु भएर, ईश्वर-प्रदत्त अधिकार पाएकोमा के तपाईं कृतज्ञ हुनुहुन्छ?
[पृष्ठ २६-मा भएको ठूलो अक्षरको क्याप्सन]
सभाहरूका लागि पाउनु भएका जिम्मावारी स्वीकार गरेर, राज्य सभागृहलाई सफा राख्नमा मद्दत दिएर, आफ्नो क्षेत्र सेवकाईको रिपोर्ट समयमै बुझाएर र अन्य अरू तरिकाहरूले के तपाईं प्राचीनहरूसँग सहयोग गर्नुहुन्छ?