साँचो धनको खोजी गर्नुहोस्
“बेइमान धनले आफ्नो निम्ति मित्रहरू बनाओ।”—लूका १६:९.
१, २. यो संसार रहुन्जेल किन गरिबीको अन्त हुनेछैन?
आज संसारको आर्थिक अवस्था डामाडोल छ। युवाहरूलाई रोजगार पाउन धौधौ छ। मानिसहरू सम्पन्न मुलुकहरूमा जान आफ्नो ज्यानसमेत दाउमा लगाउँछन्। तर त्यस्ता मुलुकहरू पनि गरिबीदेखि अछुतो छैनन्। धनी मानिसहरू झन्झन् धनी हुँदै छन् अनि गरिबहरू झन्झन् गरिब। हालैका तथ्याङ्कहरूअनुसार विश्व जनसङ्ख्याको ९९ प्रतिशत मानिससित जति धन छ, त्यति धन एक प्रतिशत सम्पन्न मानिससित छ। तिनीहरूसित कति धनसम्पत्ति छ भनेर यकिनका साथ भन्न मुस्किल छ। जेहोस्, कसैसित पुस्तौंलाई पुग्ने धनसम्पत्ति छ भने अरबौं मानिस अझै पनि गरिबीको रेखामुनि छन्। यसबारे येशूले यस्तो कुरा बताउनुभयो: “गरिबहरू त तिमीहरूसित सधैंभरि हुन्छन्।” (मर्कू. १४:७) संसारमा किन यतिबिघ्न असमानता व्याप्त छ?
२ परमेश्वरको राज्य नआउन्जेल संसारको अर्थतन्त्र सुध्रनेछैन भन्ने कुरा येशूलाई राम्ररी थाह थियो। सैतानको संसारमा राजनीति, धर्मका साथै प्रकाश १८:३ मा बताइएको “व्यापारीहरू” अर्थात् व्यापार जगत् पनि समावेश छ। परमेश्वरका जनहरू राजनीति अनि झूटो धर्मबाट पूर्णतया अलग रहन्छन्। तर संसारको व्यापार जगत्बाट भने पूर्णतया अलग रहन गाह्रो छ।
३. हामी कस्ता प्रश्न छलफल गर्नेछौं?
३ हामी ख्रीष्टियनहरूले व्यापार जगत्प्रतिको आफ्नो दृष्टिकोण केलाउनु आवश्यक छ। हामीले आफैलाई यस्ता प्रश्न सोध्नुपर्छ: ‘यहोवाप्रति वफादार छु भनेर देखाउन म आफ्नो भौतिक धनसम्पत्ति कसरी प्रयोग गर्न सक्छु? यस संसारको व्यापार जगत्मा कम भाग लिन म के गर्न सक्छु? यस्तो चुनौतीपूर्ण अवस्थामा पनि परमेश्वरका जनहरू उहाँमा भरोसा गर्छन् भनेर देखाउने कस्ता उदाहरण छन्?’
बेइमान भण्डारेको दृष्टान्त
४, ५. (क) दृष्टान्तको भण्डारेले कस्तो अवस्थाको सामना गर्नुपऱ्यो? (ख) येशूले चेलाहरूलाई कस्तो सल्लाह दिनुभयो?
४ लूका १६:१-९ पढ्नुहोस्। येशूले बताउनुभएको बेइमान भण्डारेको दृष्टान्त सोच्न लगाउने खालको छ। त्यस दृष्टान्तमा भण्डारेमाथि सम्पत्ति हिनामिनाको आरोप लाग्छ अनि मालिकले उसलाई कामबाट निकाल्ने निर्णय गर्छन्।a तर त्यस भण्डारेले “चतुऱ्याइँ” देखाउँछ। आफू कामबाट निकालिएपछि पनि आफूलाई मदत गर्न सक्ने मानिसहरूलाई उसले ‘मित्र बनाउँछ।’ जीविका चलाउन त्यसरी नै बेइमान हुनुपर्छ भनेर येशूले चेलाहरूलाई सिकाइरहनुभएको थिएन। किनभने यस्तो काम त “यस युगका मानिसहरू” गर्छन् भनेर येशूले बताउनुभयो। बरु चेलाहरूलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउन उहाँले यो दृष्टान्त बताउनुभएको थियो।
५ त्यस भण्डारेले गाह्रो अवस्थाको सामना गर्नुपरेझैं चेलाहरूले पनि यस अन्यायी संसारमा जीविका चलाउन निकै सङ्घर्ष गर्नुपर्नेछ भनेर येशूलाई थाह थियो। त्यसैले उहाँले तिनीहरूलाई यस्तो सल्लाह दिनुभयो: “बेइमान धनले आफ्नो निम्ति मित्रहरू बनाओ, किनभने त्यस्तो धन सिद्धिएपछि तिनीहरूले [यहोवा र येशू] सायद अनन्त निवासमा तिमीहरूलाई आश्रय दिनेछन्।” हामी येशूको यो सल्लाहबाट कस्तो पाठ सिक्न सक्छौं?
६. व्यापार जगत् यहोवाको सुरुको उद्देश्यको भाग थिएन भन्ने कुरा कसरी थाह पाउन सक्छौं?
६ येशूले धनलाई “बेइमान” भन्नुको कारणबारे केही बताउनुभएको छैन। तर व्यापार जगत् यहोवाको सुरुको उद्देश्यको भाग थिएन भनेर बाइबलले स्पष्ट पारेको छ। अदनको बगैंचामा यहोवाले आदम र हव्वाको हर आवश्यकता पूरा गरिदिनुभएको थियो। (उत्प. २:१५, १६) प्रथम शताब्दीमा अभिषिक्त जनहरूमाथि पवित्र शक्तिले काम गर्न थालेपछि “कसैले पनि आफूसित भएको कुरा आफ्नै ठान्दैनथ्यो, बरु सबै कुरा तिनीहरूको साझा हुन्थ्यो।” (प्रेषि. ४:३२) मानिसहरूले पृथ्वीका असल कुराहरू उपभोग गर्ने समयबारे यशैयाले भविष्यवाणी गरे। (यशै. २५:६-९; ६५:२१, २२) तर त्यो समय नआउन्जेल येशूका चेलाहरूले ‘चतुर हुँदै’ यस संसारको “बेइमान धन” प्रयोग गरेर जीविका चलाउनुपर्नेछ र यहोवालाई खुसी बनाउन कोसिस गर्नुपर्नेछ।
बेइमान धनको बुद्धिमानी प्रयोग
७. लूका १६:१०-१३ मा कस्तो सल्लाह पाउँछौं?
७ लूका १६:१०-१३ पढ्नुहोस्। येशूको दृष्टान्तको भण्डारेले आफ्नै फाइदाको लागि मित्रहरू बनायो। तर येशूले चेलाहरूलाई त्यस्तो स्वार्थी मनसाय नराखी यहोवा र येशूलाई मित्र बनाउन सल्लाह दिनुभयो। दृष्टान्तपछिका पदहरूमा “बेइमान धन”-लाई यहोवाप्रतिको वफादारीसित जोडिएको छ। आफ्नो धनसम्पत्ति बुद्धिमानीपूर्वक प्रयोग गर्दा “आफूलाई विश्वासिलो साबित” गर्न सक्छौं भनेर येशूले जोड दिंदै हुनुहुन्थ्यो। हामी कसरी आफ्नो धनसम्पत्ति बुद्धिमानीपूर्वक प्रयोग गर्न सक्छौं?
८, ९. धनसम्पत्ति प्रयोग गरेर आफूलाई विश्वासिलो साबित गरेका केही भाइबहिनीको अनुभव बताउनुहोस्।
८ धनसम्पत्ति प्रयोग गरेर आफूलाई विश्वासिलो साबित गर्ने एउटा तरिका विश्वव्यापी प्रचारकार्यको लागि अनुदान दिएर हो। (मत्ती २४:१४) भारतकी एक जना सानी बहिनीसित एउटा खुत्रुके थियो। तिनी त्यसमा अलि-अलि गर्दै पैसा जम्मा गर्थिन्। कहिलेकाहीं त खेलौना किन्ने पैसा पनि खुत्रुकेमा हाल्ने गर्थिन्। खुत्रुके भरेपछि तिनी त्यो पैसा प्रचारकार्यको लागि अनुदान दिन्थिन्। नरिवल फार्म भएका भारतका एक भाइले मल्यालम भाषाको अनुवाद कार्यालयलाई एक पटक थुप्रै नरिवल अनुदानको रूपमा दिए। ‘भाइहरूले आखिर नरिवल किन्नु परिहाल्छ, त्यसैले पैसा दिनुभन्दा नरिवल दिनु नै बेस हुन्छ’ भन्ने सोचेर उनले त्यसो गरेका थिए। अनुदान दिने कस्तो राम्रो तरिका! त्यसैगरि ग्रीसका भाइबहिनी नियमित रूपमा बेथेल परिवारको लागि जैतुनको तेल, चीज अनि अरू खानेकुरा अनुदान दिने गर्छन्।
९ एक जना भाइले श्रीलंकामा भएको आफ्नो घर सभा-सम्मेलन गर्न अनि पूर्ण-समय सेवकहरू बस्नको लागि प्रयोग गर्न दिए। अहिले तिनी अर्कै देशमा बस्छन्। तिनको यस्तो सहयोगले गर्दा आर्थिक रूपमा कमजोर प्रकाशकहरूलाई ठूलो मदत पुगेको छ। प्रचारकार्यमा प्रतिबन्ध लागेका देशहरूमा भाइहरूले आफ्नो घर राज्यभवनको रूपमा प्रयोग गर्न दिएका छन्। यसले गर्दा सीमित आर्थिक स्रोत भएका अग्रगामी अनि प्रकाशकहरूलाई सभा सञ्चालन गर्न सजिलो भएको छ।
१०. उदार भएर अरूलाई मदत गर्दा कस्ता आशिष् पाउँछौं?
१० आध्यात्मिक धनको तुलनामा भौतिक धन साना छन्। माथिका अनुभवहरूले परमेश्वरका जनहरू ‘सानो कुरामा पनि विश्वासिला छन्’ भनेर देखाउँछ। (लूका १६:१०) तिनीहरू आफ्नो धनसम्पत्ति अरूको फाइदाको लागि प्रयोग गर्छन्। यसरी त्याग गर्दा यहोवाका यी मित्रहरू कस्तो महसुस गर्छन्? उदार हुँदा “साँचो धन” पाइन्छ भनेर तिनीहरूले बुझेका छन्। (लूका १६:११) राज्य गतिविधिको लागि नियमित रूपमा अनुदान दिने एक बहिनी आफूले पाएको आशिष्बारे यसो भन्छिन्: “वर्षौंको दौडान उदार भएर अरूलाई भौतिक रूपमा सहयोग गर्दा आफूमा छुट्टै परिवर्तन आएको महसुस गरेकी छु। उदार भएर जति अरूलाई भौतिक रूपमा मदत गर्छु, त्यति नै अरूसित गर्ने व्यवहारमा पनि उदार भएको महसुस गर्छु। म पहिलेभन्दा अझ धेरै क्षमाशील अनि धीरजी भएकी छु। निराश हुँदा अनि सल्लाह स्विकार्नुपर्दा अझ सकारात्मक हुन सकेकी छु।” उदार हुँदा यहोवाबाट आशिष् पाइन्छ भन्ने कुरा धेरैले अनुभव गरेका छन्।—भज. ११२:५; हितो. २२:९.
११. (क) उदार भएर दिंदा कसरी “चतुऱ्याइँ” देखाइरहेका हुन्छौं? (ख) यहोवाका जनहरूमाझ आर्थिक समानता होस् भनेर कस्तो प्रबन्ध गरिएको छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)
११ राज्यसम्बन्धी कामकुरालाई अघि बढाउन आफ्नो धनसम्पत्ति प्रयोग गर्दा अर्को तरिकामा पनि “चतुऱ्याइँ” देखाइरहेका हुन्छौं। हामीमध्ये धेरैजसो पूर्ण-समय सेवामा लाग्न वा आवश्यकता धेरै भएको ठाउँमा गएर सेवा गर्न सक्दैनौं होला। तर अनुदान दिएर अरू भाइबहिनीको प्रचारकार्यमा टेवा पुऱ्याउन सक्छौं। यस्तो उदार मनोभावले हामीलाई आनन्दित बनाउँछ। (हितो. १९:१७) हाम्रो अनुदानले गर्दा आर्थिक रूपमा विपन्न तर आध्यात्मिक रूपमा प्रगति भइरहेका इलाकाहरूमा साहित्यहरू पुऱ्याउन सम्भव भएको छ अनि त्यहाँको प्रचारकार्यमा पनि टेवा पुगेको छ। मडागास्कर, रूवाण्डा अनि कंगोजस्ता देशका भाइबहिनीलाई आर्थिक रूपमा धेरै गाह्रो छ। तिनीहरूले बाइबल किन्ने कि परिवारको लागि खानेकुरा किन्ने भनेर रोज्नुपर्ने हुन्थ्यो। वर्षौंसम्म तिनीहरूको अवस्था यस्तै थियो। कहिलेकाहीं त बाइबल किन्नको लागि हप्ताभरि वा महिनाभरिको कमाइ खर्च गर्नुपर्थ्यो। थुप्रै भाइबहिनीको अनुदानले गर्दा अनि ‘कसैको प्रशस्तताबाट अरू भाइबहिनीको खाँचो टरोस्’ भनेर यहोवाको सङ्गठनले गरेको प्रबन्धले गर्दा ती ठाउँका भाइबहिनीले थुप्रै लाभ उठाउन सकेका छन्। अहिले तिनीहरूको आफ्नै भाषामा बाइबल अनुवाद भएको छ। अनि परिवारका प्रत्येक सदस्यका साथै इच्छुक बाइबल विद्यार्थीहरूले निश्शुल्क रूपमा बाइबल पाउन सकेका छन्। (२ कोरिन्थी ८:१३-१५ पढ्नुहोस्) त्यसैले अनुदान दिने अनि अनुदानबाट मदत पाउने सबै जना यहोवाको मित्र हुन सकेका छन्।
व्यापार जगत्मा कम भाग लिनुहोस्
१२. अब्राहामले यहोवामाथि भरोसा गरेको कसरी देखाए?
१२ यहोवाको मित्र बन्ने अर्को तरिका संसारको व्यापार जगत्मा कम भाग लिएर र “साँचो” धन खोज्न सक्दो गरेर हो। प्राचीन समयका वफादार अब्राहामले पनि त्यसै गरे। यहोवाको मित्र बन्न तिनले ऊर सहरको सुखसुविधा त्यागे अनि पालमा जीवन बिताए। (हिब्रू ११:८-१०) तिनले भौतिक धनसम्पत्तिमा होइन, साँचो धनका स्रोत यहोवामाथि भरोसा राखे। भौतिक कुराको पछि लागेका भए तिनले यहोवामाथि भरोसा गरिरहेका हुने थिएनन्। (उत्प. १४:२२, २३) येशूले मानिसहरूलाई त्यस्तै विश्वास देखाउन प्रोत्साहन दिनुभयो। एक चोटि उहाँले एक जना जवान धनी मानिसलाई यसो भन्नुभयो: “तिमी पूर्ण हुन चाहन्छौ भने जाऊ र आफ्नो जायजेथा बेचेर गरिबहरूलाई बाँडिदेऊ। तब तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ अनि आएर मेरो पछि लाग।” (मत्ती १९:२१) त्यस मानिससित अब्राहामको जस्तो विश्वास थिएन। तर अरू थुप्रैले भने यहोवामाथि पूरा भरोसा गरेको देखाएका छन्।
१३. (क) पावलले तिमोथीलाई कस्तो सल्लाह दिए? (ख) हामी कसरी तिनको सल्लाह लागू गर्न सक्छौं?
१३ तिमोथी यहोवाका वफादार सेवक थिए। पावलले तिमोथीलाई “ख्रीष्ट येशूको सुयोग्य सिपाही” भनेर सम्बोधन गरेपछि यसो भने: “सैन्य सेवामा लाग्ने कुनै पनि मानिसले व्यापारमा हात हाल्दैन, किनकि ऊ आफूलाई सैन्य सेवामा भर्ती गराउने व्यक्तिको अनुमोदन पाउन चाहन्छ।” (२ तिमो. २:३, ४) दस लाखभन्दा धेरै पूर्ण-समय सेवकका साथै येशूका वफादार चेलाहरू पावलको सल्लाह लागू गर्न सक्दो कोसिस गर्छन्। तिनीहरू यो सिद्धान्त मनमा राख्दै विज्ञापन जगत्ले देखाउने प्रलोभनको प्रतिरोध गर्छन्: “ऋण लिनेचाहिं ऋण दिनेको नोकर हुन्छ।” (हितो. २२:७, NRV) नोकरले जस्तै हामीले आफ्नो सबै समय र शक्ति व्यापार जगत्मा खर्च गरेको सैतान चाहन्छ। कुनै-कुनै निर्णयले हामीलाई वर्षौंसम्म ऋणमा डुबाउन सक्छ। घर तथा आवास कर्जा, सवारी कर्जा, पढाइको लागि लिइने ऋण अनि भव्य विवाह समारोहले हामीलाई थप आर्थिक भार बोकाउन सक्छ। आफ्नो जीवन सरल बनायौं, ऋण लिएनौं र फजुल खर्च कम गऱ्यौं भने “चतुऱ्याइँ” देखाइरहेका हुन्छौं। यसो गर्दा हामी व्यापार जगत्को होइन, यहोवाको दास भइरहेका हुन्छौं।—१ तिमो. ६:१०.
१४. हामीले कस्तो अठोट गर्नुपर्छ? अनुभवहरू बताउनुहोस्।
१४ जीवन सरल बनाउन हामीले प्राथमिकता निर्धारण गर्नुपर्छ। एक जना भाइको अनुभव विचार गर्नुहोस्। तिनको व्यवसाय एकदमै फस्टाइरहेको थियो। तर तिनी र तिनकी पत्नी फेरि पूर्ण-समय सेवा सुरु गर्न चाहन्थे। त्यसैले तिनीहरूले आफ्नो व्यापार-व्यवसाय, डुङ्गा अनि अरू सरसामान बेचे। त्यसपछि वारविकमा रहेको मुख्यालयको निर्माणकार्यमा मदत गर्न गए। आफ्नी छोरी अनि ज्वाइँसँगै बेथेल सेवा गर्न पाउनु तिनीहरूको लागि आशिष्को कुरा थियो। ती भाइको आमाबुबा पनि वारविक निर्माण परियोजनामा काम गर्दै थिए। केही हप्तासम्म आमाबुबासँगै सेवा गर्न पाउँदा तिनीहरू निकै खुसी भए। अमेरिकाको कोलोराडोका एक अग्रगामी बहिनीले एउटा बैङ्कमा पार्ट-टाइम जागिर पाइन्। त्यहाँको स्टाफ तिनको कामदेखि एकदमै खुसी भए। तिनलाई पूर्ण-समय जागिर खाने र अहिलेको भन्दा तीन गुणा धेरै तलब दिने प्रस्ताव राखियो। तर प्रचारकार्यलाई बाधा दिने भएकोले तिनले त्यो प्रस्ताव स्विकारिनन्। यहोवाको सेवालाई पहिलो स्थान दिन त्याग गर्ने भाइबहिनीमध्ये यी त केही उदाहरण मात्र हुन्। राज्यसम्बन्धी कामकुरालाई पहिलो स्थान दिने अठोट गर्दा हामी भौतिक धनसम्पत्तिलाई भन्दा परमेश्वरसितको मित्रता र आध्यात्मिक धनलाई ठूलो मोलको ठान्छौं भनेर देखाइरहेका हुन्छौं।
भौतिक धनसम्पत्ति सिद्धिंदा
१५. कस्तो धनले अपार आनन्द दिन्छ?
१५ कसैसित भौतिक धनसम्पत्ति छ भन्दैमा तिनीसित परमेश्वरको अनुमोदन छ भनिहाल्न मिल्दैन। “असल काममा धनी” हुनेहरूलाई यहोवा आशिष् दिनुहुन्छ। (१ तिमोथी ६:१७-१९ पढ्नुहोस्) उदाहरणको लागि, आवश्यकता धेरै भएको ठाउँमा सरेकी लुशियाb बहिनीको अनुभव विचार गर्नुहोस्। तिनी सन् १९९३ मा इटालीबाट अल्बेनियामा सरेकी थिइन्। त्यतिबेला तिनीसित कुनै काम थिएन तर आफ्नो सबै आवश्यकता यहोवाले पूरा गरिदिनुहुन्छ भनेर तिनी विश्वस्त थिइन्। तिनी अल्बेनियन भाषा फरर्र बोल्न सक्ने भइन्। तिनले ६० जनाभन्दा धेरैलाई बप्तिस्मासम्म पुऱ्याइन्। हुन त हामी सबैको इलाका यस्तो फलदायी छैन होला तर मानिसहरूलाई जीवनको बाटो भेट्टाउन र त्यसमा हिंडिरहन मदत गर्न जे-जति गर्छौं, त्यसको हामी सधैंभरि मोल गर्नेछौं।—मत्ती ६:२०.
१६. (क) आजको व्यापार जगत् के हुनेछ? (ख) भविष्यमा हुने कुरा थाह पाउँदा भौतिक धनसम्पत्तिप्रतिको हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ?
१६ लूका १६:९ मा येशूले “त्यस्तो [बेइमान] धन सिद्धिएपछि” भन्ने वाक्यांश प्रयोग गर्नुभयो, ‘यदि त्यस्तो धन सिद्धिएमा’ भन्ने वाक्यांश प्रयोग गर्नुभएन। निकट भविष्यमा हुने कुरालाई विचार गर्दा यस अन्तको दिनमा बैङ्कहरू टाट पल्टिनु अनि अर्थतन्त्र डामाडोल हुनु सामान्य कुरा हो। भविष्यमा सैतानको संसार अर्थात् राजनीति, धर्म र व्यापार जगत् सबै नाश हुनेछन्। भविष्यवक्ता इजकिएल र सपन्याहले सुन र चाँदी, जुन सदियौंदेखि व्यापार जगत्को अभिन्न भाग हुँदै आएको छ, ती कुनै मोलका हुनेछैनन् भनेर भविष्यवाणी गरे। (इज. ७:१९; सप. १:१८) मानौं, हामीले आफ्नो जीवन बेइमान धन थुपार्न बितायौं। तर साँचो धनलाई चाहिं बेवास्ता गरिरहेको रहेछु भनेर जीवनको अन्तिम घडीमा पुगेपछि महसुस गऱ्यौं। त्यतिबेला हामीलाई कस्तो लाग्ला? हाम्रो हालत त्यो मान्छेको जस्तो हुन्छ होला, जसले सारा जीवन पैसा कमाउनमै बितायो तर अन्तमा सबै पैसा नक्कली रहेछ भनेर थाह पायो। (हितो. १८:११) हो, भौतिक धनसम्पत्ति एक दिन सिद्धिनेछ। त्यसैले त्यस्तो धन प्रयोग गरेर यहोवा र येशूलाई मित्र बनाउने मौका नगुमाउनुहोस्। यहोवाको राज्यसम्बन्धी कामकुरालाई अघि बढाउन जे-जति गर्छौं, त्यसले हामीलाई आध्यात्मिक रूपमा धनी बनाउँछ।
१७, १८. परमेश्वरका मित्रहरूले कस्ता आशिष् पाउनेछन्?
१७ परमेश्वरको राज्य आएपछि हामीले कोठा-भाडा तिर्नुपर्नेछैन न त घर बनाउन ऋण नै लिनुपर्नेछ। कसैले पैसा तिरेर खानेकुरा किन्नुपर्नेछैन न त खानेकुराको कहिल्यै अभाव हुनेछ। डाक्टर अनि औषधीको कुनै आवश्यकता पर्नेछैन। यहोवाका मित्रहरूले पृथ्वीमा भएका असल-असल थोकहरूको पुरापुर उपभोग गर्नेछन् र आनन्दित हुनेछन्। सुन, चाँदी अनि रत्नहरू लगानी गर्न वा थुपारेर राख्नको लागि होइन बरु श्रृङ्गार अनि सजावटको लागि प्रयोग गरिनेछन्। सुन्दर घर बनाउन गुणस्तरीय काठ, पत्थर र धातुहरू सित्तैंमा उपलब्ध हुनेछन्। साथीहरूले हामीलाई स्वेच्छाले मदत गर्नेछन्, पैसाको लोभले होइन। अनि पृथ्वीमा भएका असल थोकहरू हामी एकअर्कासित बाँडचुँड गर्नेछौं।
१८ यी त यहोवा र येशूलाई मित्र बनाउनेहरूले पाउने आशिष्हरूको एउटा झलक मात्र हो। येशूका यी शब्द सुन्दा यहोवाका उपासकहरूको खुसीको सीमा रहनेछैन: “आओ, मेरो बुबाको आशिष् पाएकाहरू हो, संसारको प्रारम्भदेखि तिमीहरूका लागि तयार पारिएको राज्य अधिकार गर।”—मत्ती २५:३४.
a त्यस भण्डारेमाथि लागेको आरोप सही थियो कि गलत भनेर येशूले केही बताउनुभएन। लूका १६:१ मा “खबर” भनेर अनुवाद गरिएको ग्रीक शब्दले त्यस भण्डारेको निन्दा भएको कुरालाई पनि बुझाउँछ। तर येशूले यहाँ भण्डारे कामबाट निकालिनुको कारणमा होइन, उसले देखाएको प्रतिक्रियामा जोड दिंदै हुनुहुन्थ्यो।
b लुशिया मुसानेटको जीवनी जुलाई ८, २००३, ब्यूँझनुहोस्!-को पृष्ठ २०-२४ मा पाउन सक्नुहुन्छ।