अध्याय ८८
धनी मानिस र लाजरसको अवस्थामा आएको परिवर्तन
धनी मानिस र लाजरसको उदाहरण
भौतिक धनसम्पत्तिको उचित प्रयोगबारे येसुले चेलाहरूलाई सल्लाह दिँदै आउनुभएको छ। तर उहाँको श्रोता चेलाहरू मात्र त होइनन्। त्यहाँ फरिसीहरू पनि छन् र तिनीहरूले पनि येसुको सल्लाह मनमा राख्नुपर्ने हो। किन? किनकि तिनीहरू “पैसाको प्रेमी” हुन्। येसुको कुरा सुनेपछि तिनीहरू ‘नाक चेप्य्राउँदै उहाँको खिल्ली उडाउन थाल्छन्।’—लुका १५:२; १६:१३, १४.
तर उल्टो उहाँ तिनीहरूलाई यसो भन्नुहुन्छ: “तिमीहरू मानिसहरूसामु धर्मी भई टोपल्छौ तर तिमीहरूको हृदयमा के छ, परमेश्वरलाई थाह छ। किनकि मानिसहरू जुन कुरालाई महत्त्वपूर्ण ठान्छन्, परमेश्वरको नजरमा त्यो घिनलाग्दो हुन्छ।”—लुका १६:१५.
फरिसीहरूलाई लामो समयदेखि ‘मानिसहरूले महत्त्वपूर्ण ठानिरहेका’ छन् तर अब परिवर्तनको समय भएको छ, त्यो पनि आमूल परिवर्तनको। महत्त्वपूर्ण ठानिएका मानिसहरू जससित धन, राजनैतिक शक्ति र धार्मिक पहुँच छ, तिनीहरूलाई तल झारिनेछ। अनि सर्वसाधारण मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्यकताबारे सजग छन्, उनीहरूलाई माथि उठाइनेछ। आमूल परिवर्तन भइरहेको कुरालाई प्रस्ट पार्दै येसु यसो भन्नुहुन्छ:
“व्यवस्था र भविष्यवक्ताका वाणीहरू युहन्नाको समयसम्म घोषणा गरिए। त्यसदेखि यता परमेश्वरको राज्यको सुसमाचार घोषणा हुँदै छ र हरप्रकारका मानिसहरू त्यसभित्र पस्न भरमग्दुर प्रयास गर्दै छन्। वास्तवमा व्यवस्थाको सबैभन्दा सानो अक्षर वा त्यसको एउटा बिन्दु पूरा नभई मेटिनुभन्दा त आकाश र पृथ्वी बितेर जानु सजिलो हुन्छ।” (लुका ३:१८; १६:१६, १७) येसुका यी शब्दहरूले परिवर्तन भइरहेको कुरालाई कसरी सङ्केत गर्छ?
आफूले मोसाको व्यवस्था पालन गरिरहेको कुरामा यहुदी धर्मगुरुहरू गर्व गर्छन्। यरुसलेममा येसुले एक जना अन्धो मानिसलाई निको पार्नुहुँदा फरिसीहरूले घमन्ड गर्दै के भनेका थिए, सम्झनुहोस्: “हामी त मोसाका चेला हौँ। परमेश्वरले मोसासित कुरा गर्नुभएको थियो भनेर हामीलाई थाह छ।” (युहन्ना ९:१३, २८, २९) मोसामार्फत दिइएको व्यवस्थाको एउटा उद्देश्य भनेको नम्र मानिसहरूलाई मसीह अर्थात् येसुसम्म डोऱ्याउनु थियो। बप्तिस्मा गराउने युहन्नाले येसुलाई परमेश्वरको पाठो भने। (युहन्ना १:२९-३४) युहन्नाले सेवाको काम सुरु गरेदेखि नै नम्र यहुदीहरू, विशेषगरि गरिबहरूले “परमेश्वरको राज्य”-बारे सुन्दै आएका छन्। हो, परमेश्वरको राज्यको प्रजा भएर यसबाट लाभ उठाउन चाहने सबैको लागि एउटा “सुसमाचार” छ।
मोसाको व्यवस्था पूरा भइरहेको छ; यसले मानिसहरूलाई मसीहसम्म डोऱ्याएको छ। भन्ने हो भने, यसको अधीनमा बस्नुपर्ने समय सिद्धिनै लागेको छ। उदाहरणको लागि, व्यवस्थाले सम्बन्धविच्छेद गर्न सकिने विभिन्न आधार दिएको थियो। तर अब येसु यसो भन्नुहुन्छ: “जसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार गरेको ठहरिन्छ। अनि जसले पतिसित सम्बन्धविच्छेद भएकी स्त्रीसित विवाह गर्छ, उसले व्यभिचार गरेको ठहरिन्छ।” (लुका १६:१८) हरेक कुराको लागि नियम बनाउन खोज्ने ती फरिसीहरू उहाँको यस्तो कुरा सुनेर कत्ति चिढिए होलान्!
अहिले भइरहेको परिवर्तन कत्ति ठूलो हो भनेर जोड दिन येसु एउटा उदाहरण बताउनुहुन्छ। यस उदाहरणमा दुई जना पुरुष छन् र तिनीहरू दुवैको ओहदा वा परिस्थितिमा नाटकीय परिवर्तन हुन्छ। यस उदाहरणबारे चर्चा गर्दा यो कुरा पनि मनमा राख्नुहोस्: येसुको कुरा सुनिरहेकाहरूमध्ये मानिसहरूले महत्त्वपूर्ण ठान्ने फरिसीहरू पनि छन्, जो पैसाको प्रेमी हुन्।
येसु भन्नुहुन्छ: “एक जना धनी मानिस थियो। ऊ बैजनी रङ्गको मलमलको लुगा लगाउँथ्यो र दिनदिनै मोजमस्ती गर्थ्यो। उसको ढोकाबाहिर भने जीउभरि घावैघाउ भएको लाजरस नाम गरेको माग्नेलाई मानिसहरूले ल्याएर राखिदिन्थे। अनि ऊ त्यस धनी मानिसको टेबुलबाट झरेको टुक्राटाक्री खाएर आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। यहाँसम्म कि कुकुरहरू पनि आएर उसको घाउ चाट्थे।”—लुका १६:१९-२१.
फरिसीहरू पैसाको प्रेमी हुन्, त्यसैले “धनी मानिस” भनेर येसु कसलाई सङ्केत गर्दै हुनुहुन्छ भन्ने कुरा प्रस्टै छ। यी यहुदी धर्मगुरुहरू महँगा-महँगा पहिरनमा सजिन रुचाउँछन्। तिनीहरूसित प्रशस्त धनसम्पत्ति हुनुका साथै तिनीहरूले थुप्रै सुविधा र अवसरहरू पनि पाएका छन्। हो, तिनीहरूले पहिरेको बैजनी रङ्गको वस्त्रले तिनीहरूको उच्च ओहदालाई र तिनीहरूले पहिरेको सेतो मलमलको लुगाले तिनीहरूको आत्मधर्मी मनोभावलाई देखाउँछ।—दानिएल ५:७.
यी धनी धर्मगुरुहरू गरिब र सर्वसाधारणलाई कुन नजरले हेर्छन्? त्यस्ता मानिसहरूप्रति आफ्नो घृणा व्यक्त गर्दै ती धर्मगुरुहरू उनीहरूलाई एमहारेट्स अर्थात् धर्तीका मानिसहरू भन्ने गर्छन्, जसलाई न व्यवस्था थाह छ, न त तिनीहरू सिकाउन योग्य नै छन्। (युहन्ना ७:४९) यस कुरालाई “लाजरस नाम गरेको माग्ने”-को अवस्थाले चित्रण गर्छ, जो “त्यस धनी मानिसको टेबुलबाट झरेको टुक्राटाक्री खाएर” आफ्नो पेट भर्न चाहन्छ। जीउभरि घावैघाउ भएको लाजरसलाई जस्तै धर्मगुरुहरू सर्वसाधारणलाई पनि हेय दृष्टिले हेर्छन्, मानौँ तिनीहरू आध्यात्मिक रूपमा रोगी छन्।
केही समयदेखि यस्तै दुःखद अवस्था रहँदै आएको छ तर अब धनी मानिसजस्तो र लाजरसजस्तो दुवै खालका मानिसहरूको अवस्थामा पूरै परिवर्तन आउनेछ भनेर येसुलाई थाह छ।
धनी मानिस र लाजरसको अवस्थामा आएको परिवर्तन
येसु तिनीहरूको अवस्थामा आएको नाटकीय परिवर्तनबारे अझै वर्णन गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ: “केही समयपछि त्यो माग्ने मऱ्यो अनि स्वर्गदूतहरूले उसलाई बोकेर अब्राहामसँगै राखिदिए। त्यो धनी मानिस पनि मऱ्यो र उसलाई गाडियो। अनि चिहानमा सास्ती भोगिरहेको बेला नजर उठाएर हेर्दा उसले धेरै पर अब्राहामलाई अनि तिनीसँगै लाजरसलाई पनि देख्यो।”—लुका १६:२२, २३.
येसुको कुरा सुनिरहेकाहरूलाई अब्राहाम मरेको वर्षौँ भइसक्यो र तिनी चिहानमा छन् भनेर थाह छ। अनि धर्मशास्त्रमा अब्राहामलगायत चिहानमा भएका सबैले देख्न वा बोल्न सक्दैनन् भनेर प्रस्टै बताइएको छ। (उपदेशक ९:५, १०) त्यसोभए ती धर्मगुरुहरूले येसुको यो उदाहरणबारे कस्तो अर्थ लगाउँछन्? सर्वसाधारण मानिस र पैसाको प्रेमी धर्मगुरुहरूबारे उल्लेख गरेर उहाँ कसलाई सङ्केत गर्दै हुनुहुन्छ?
‘व्यवस्था र भविष्यवक्ताका वाणीहरू बप्तिस्मा गराउने युहन्नाको समयसम्म घोषणा गरिए। तर त्यसदेखि यता परमेश्वरको राज्यको सुसमाचार घोषणा हुँदै छ’ भनेर येसुले परिवर्तनबारे सङ्केत गर्नुभएको छ। यसरी युहन्ना र येसु ख्रिष्टको प्रचारकार्यले गर्दा लाजरस र धनी मानिस दुवै आफ्नो पहिलाको अवस्थाबाट मर्छन् र तिनीहरूले परमेश्वरसितको सम्बन्धमा नयाँ अवस्था अनुभव गर्छन्।
विशेषगरि गरिब मानिसहरू लामो समयदेखि आध्यात्मिक कुराहरूबाट वञ्चित भएका छन्। तर तिनीहरूले पहिला बप्तिस्मा गराउने युहन्नाले र पछि येसुले परमेश्वरको राज्यबारे सुनाउनुभएको सन्देश स्विकारेका छन् र त्यसबाट मदत पाएका छन्। पहिले-पहिले तिनीहरू धर्मगुरुहरूको ‘टेबुलबाट झरेको टुक्राटाक्री’ खाएर अर्थात् धर्मगुरुहरूले तिनीहरूलाई जे-जति सिकाउँछन्, त्यतिमै चित्त बुझाएर बस्नुपर्थ्यो। अहिले तिनीहरू धर्मशास्त्रका महत्त्वपूर्ण सत्यहरूद्वारा तृप्त भइरहेका छन्, विशेषगरि येसुले तिनीहरूलाई सिकाइरहनुभएका कुराहरूद्वारा। यसरी अन्ततः तिनीहरू परमेश्वरबाट अनुमोदन पाएको अवस्थामा छन्।
अर्कोतर्फ ती धनी र शक्तिशाली धर्मगुरुहरू युहन्नाले प्रचार गरेको र अहिले येसुले प्रचार गरिरहनुभएको राज्यको सन्देश स्विकार्न इन्कार गर्छन्। (मत्ति ३:१, २; ४:१७) वास्तवमा तिनीहरू त्यो सन्देशले गर्दा चिढिएका छन् वा तिनीहरूलाई अशान्ति भएको छ किनकि त्यो सन्देशले परमेश्वरले ल्याउनुहुने न्यायदण्डबारे बताउँछ। (मत्ति ३:७-१२) येसु र उहाँका चेलाहरूले जोडतोडका साथ परमेश्वरको सन्देश घोषणा नगर्नुभएको भए ती पैसाको प्रेमी धर्मगुरुहरू खुसी हुने थिए। ती धर्मगुरुहरू उदाहरणको धनी मानिसजस्तै छन्। ऊ यसो भन्छ: “हे बुबा अब्राहाम, ममाथि कृपा गर्नुहोस् र आफ्नो औँलाको टुप्पो पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पार्न लाजरसलाई मकहाँ पठाइदिनुहोस्। किनकि दनदनी बलिरहेको यो आगोमा म तड्पिरहेको छु।”—लुका १६:२४.
तर त्यसो हुनेछैन। प्रायजसो धर्मगुरुहरू परिवर्तन हुनेछैनन्। तिनीहरूले ‘मोसा र भविष्यवक्ताहरूको कुरा सुन्न’ इन्कार गरेका थिए। त्यसैले तिनीहरूले येसुलाई परमेश्वरले पठाउनुभएको मसीह र राजाको रूपमा स्विकार्न सकेनन्। (लुका १६:२९, ३१; गलाती ३:२४) ती धर्मगुरुहरू आफूलाई नम्र तुल्याउँदैनन् न त तिनीहरू ती गरिबहरूको कुरा सुन्न नै तयार हुन्छन्, जसले येसुलाई स्विकारेर परमेश्वरको अनुमोदन पाएका छन्। अर्कोतर्फ येसुका चेलाहरू धर्मगुरुहरूलाई खुसी पार्न सत्यमा कुनै सम्झौता गर्दैनन् वा त्यसलाई फितलो बनाउँदैनन्। उदाहरणको “बुबा अब्राहाम”-ले त्यो धनी मानिसलाई भनेका शब्दहरूमार्फत येसु यो कुरा प्रस्ट पार्नुहुन्छ:
“बाबु, नबिर्स, तिमीले आफ्नो जीवनभर असल-असल थोक सबै पायौ तर लाजरसले भने पीडाबाहेक केही पाएन। त्यसैले अहिले ऊ यहाँ आरामसित बसिरहेको छ तर तिमी भने तड्पिरहेका छौ। यी सब कुराबाहेक तिमीहरू र हामीबीच ठूलो खाडलको अन्तर छ। त्यसैले न तिमीहरूकहाँ जान चाहनेहरू यहाँबाट जान सक्छन् न त हामीकहाँ आउन चाहनेहरू नै त्यहाँबाट आउन सक्छन्।”—लुका १६:२५, २६.
यस्तो नाटकीय परिवर्तन हुनु कत्ति न्यायसङ्गत र उचित छ! मानौँ, घमन्डी धर्मगुरुहरूको अवस्था अनि येसुको जुवा स्विकारेर स्फूर्ति पाएका र आध्यात्मिक भोजन खान पाएका नम्र मानिसहरूको अवस्था ठ्याक्कै उल्टो भएको छ। (मत्ति ११:२८-३०) केही महिनापछि व्यवस्थाको करारको ठाउँ नयाँ करारले लिँदा यो परिवर्तन अझ प्रस्ट हुनेछ। (यर्मिया ३१:३१-३३; कलस्सी २:१४; हिब्रू ८:७-१३) इस्वी संवत् ३३ पेन्तिकोसमा परमेश्वरले पवित्र शक्ति खन्याउनुहुँदा फरिसीहरू र तिनीहरूका मानिसहरूले होइन, येसुका चेलाहरूले परमेश्वरको अनुमोदन पाएका छन् भनेर स्पष्ट हुनेछ।