शकेम—उपत्यकाको शहर
एबाल डाँडा र गीरिज्जीम डाँडाको काखमा रहेको शकेमलाई परमेश्वरले आफ्ना जनहरूको निम्ति छान्नुभयो। लगभग चार हजार वर्षअघि त्यहीं नै यहोवाले अब्राहामसित यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “म तेरा सन्तानलाई यो देश दिनेछु।”—उत्पत्ति १२:६, ७.
यही प्रतिज्ञाअनुरूप अब्राहामका नाति याकूबले शकेममा पाल टाँगे र एउटा वेदी खडा गरे जसलाई तिनले “इस्राएलका परमेश्वर” भन्ने नाउँ दिए। आफ्नो परिवार र वस्तुभाउका लागि पानीको प्रबन्ध गर्न सम्भवतः याकूबले त्यस इलाकामा एउटा इनार खनेको हुनुपर्छ। र यही इनार शताब्दीयौंपछि “याकूबको इनार” भनेर चिनिन थाल्यो।—उत्पत्ति ३३:१८-२०; यूहन्ना ४:५, ६, १२.
तथापि, याकूबको परिवारका सबैले साँचो उपासनाप्रति जोस देखाएनन्। तिनकी छोरी दीनाले शकेमका कनानी केटीहरूलाई साथी बनाइन्। कलकलाउँदी दीना पालमा सुरक्षितसाथ रहनसक्थिन् तर तिनी नजीकैको शहरमा केटीहरू भेट्न जान्थिन्।
आफ्नो शहरमा बारम्बार एउटी कन्ये केटी एक्लै आइरहेकी देख्दा त्यस शहरका लक्का जवानहरूले के सोचे होलान्? त्यस ठाउँका रजौटाको छोराले “तिनलाई देखे, र लगेर तिनीसित संभोग गरेर तिनको अपमान गरे।” अनैतिक कनानीहरूसित संगत गरेर दीनाले आफूमाथि किन विपत्ति ल्याइन्? दौंतरीहरू खोज्न पो तिनी त्यहाँ गएकी थिइन् कि? के तिनी पनि आफ्ना केही दाजुहरूजस्तै हठी र स्वतन्त्र हुन खोज्ने पो थिइन् कि? उत्पत्तिको विवरण पढ्नुहोस् र आफ्नी छोरी दीना, शकेममा बारम्बार गइरहँदा भएको दुःखद परिणामको कारण याकूब तथा लेआले भोग्नुपरेको मानसिक क्लेश र लाजमर्दो परिस्थिति बुझ्ने प्रयत्न गर्नुहोस्।—उत्पत्ति ३४:१-३१; ४९:५-७; प्रहरीधरहरा (अंग्रेजी) जून १५, १९८५, पृष्ठ ३१ पनि हेर्नुहोस्।
यसको लगभग ३०० वर्षपछि ईश्वरीय निर्देशनलाई अवहेलना गरेको परिणाम पुनः प्रकट भयो। शकेममा यहोशूले इस्राएलको इतिहासमा एउटा अविस्मरणीय सभा बोलाए। उपत्यकाको रमझम कल्पना गर्नुहोस्। इस्राएलको छ कुलका लाखौं पुरुष, स्त्री तथा बालबच्चाहरू गीरिज्जीम डाँडाअघि उभिएका छन्। उपत्यकापारि इस्राएलको अर्को छ कुलका त्यति नै मानिसहरू एबाल डाँडाअघि उभिएका छन्।a अनि त्यहाँ तल चाहिं करारको सन्दुक छेवैमा छ र ती इस्राएलीहरूको दुइ समूहबीच पूजाहारीहरू तथा यहोशू उभिएका छन्। वाह! कस्तो दृश्य!—यहोशू ८:३०-३३.
त्यस विशाल भीडसमक्ष उभिएका ती बडेमाका डाँडाहरूमध्ये एउटा सुन्दर थियो भने अर्को चाहिं त्यसको ठीक विपरीत निर्जन। गीरिज्जीम डाँडा हरियो र उर्वरा देखिन्छ भने एबाल डाँडा बञ्जर तथा उजाड। यहोशूले कहिले कुरा थाल्लान् भनेर बडो उत्साही हुँदै इस्राएलीहरूले खासखुस गरिरहेको के तपाईंले सुन्नुभयो? यो ठाउँ ज्यादै सुहाउँदो छ। तिनीहरूले बोलेका एक एक शब्द यहाँ एकदमै प्रष्ट सुनिन्छ।
यहोशू ‘मोशालाई दिइएको व्यवस्थाको पुस्तक’ पढ्छन्। उक्त व्यवस्था पढ्न यहोशूलाई चारदेखि छ घण्टा लाग्छ र तिनले पढ्दै गर्दा त्यहाँ उपस्थित व्यक्तिहरू पनि त्यस पढाइमा भाग लिन्छन्। (यहोशू ८:३४, ३५) स्पष्ट छ, गीरिज्जीमअघि उभिएका इस्राएलीहरू हरेक आशिष्पछि आमिन! भन्छन् र अर्कोतिर एबालअघि उभिएकाहरू हरेक सरापपछि भन्छन्, आमिन! शायद एबाल डाँडाको उजाड अवस्थाले ती मानिसहरूलाई अनाज्ञाकारी हुँदाको परिणाम कस्तो हुन्छ, सम्झना गराउँछ।
यहोशू चेताउनी दिन्छन्, “आफ्ना आमा-बाबुलाई अपमान गर्ने श्रापित होस्।” लाखौं एकै स्वरमा जवाफ दिन्छन्: “आमिन!” चारैतिर गडगडिएको यो आवाज शान्त भएपछि यहोशू फेरि यसो भन्छन्: “आफ्नो छिमेकीको साँध-सीमाना हटाउने श्रापित होस्।” फेरि एक पटक ती छ कुललगायत अन्य प्रवासीहरू ठूलो स्वरमा भन्छन्: “आमिन!” (व्यवस्था २७:१६, १७) ती डाँडाबीचको त्यस सभामा तपाईं पनि उपस्थित हुनुभएको भए के तपाईं त्यो दृश्य कहिल्यै भुल्नुहुनेथियो र? आज्ञाकारिताको महत्त्वले तपाईंको मनमा अमेट छाप पार्ने थिएन र?
यसको २० वर्षपछि अर्थात् यहोशूको मृत्यु हुनुभन्दा केही दिनअघि तिनले फेरि इस्राएलीजातिलाई तिनीहरूले गरेको संकल्पमा अडिग रहन शकेममा भेला गराए। हरेकले आफ्नोनिम्ति छनौट गर्नुपर्ने कुरा तिनले फेरि सम्झाए। तिनले भने, “तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज। . . . तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।” (यहोशू २४:१, १५) स्पष्टतया, विश्वासलाई दह्रो पार्ने शकेममा गरिएका यी महासभाहरूले अमेट छाप पाऱ्यो। यहोशूको मृत्यु भएको निकै वर्षपछि पनि इस्राएलीहरूले तिनको विश्वासी उदाहरण अनुकरण गरे।—यहोशू २४:३१.
लगभग १५ शताब्दीपछि येशू गीरिज्जीम डाँडाको छायाँमा आराम गरिरहनुभएको बेला घतलाग्दो वार्तालाप भएको थियो। लामो यात्राले गर्दा लखतरान हुनुभएको येशू याकूबको इनारको डीलमा बसिरहनुभएको थियो। त्यतिखेरै एउटी सामरी स्त्री पानी भर्न आइन्। यहूदीहरूले सामरीहरूसित पानी माग्नु त परै जाओस् बोल्दा पनि बोल्दैनन् थिए तर येशूले त्यस स्त्रीसित पानी माग्नुहुँदा तिनी एकदम छक्क परिन्। (यूहन्ना ४:५-९) त्यसपछि येशूले भन्नुभएको अर्को कुराले त झनै छक्क परिन्।
“यो पानी पिउने प्रत्येक फेरि तिर्खाउनेछ, तर मैले दिने त्यो पानी जसले पिउला त्यो कहिल्यै तिर्खाउनेछैन। तर जुन पानी म त्यसलाई दिनेछु, त्यो पानी त्यसमा, अनन्त जीवनसम्म उम्रिरहने पानीको मूल बनिनेछ।” (यूहन्ना ४:१३, १४) त्यो गहिरो इनारबाट पानी उबाउनु सजिलो काम थिएन। त्यसैकारण त्यस प्रतिज्ञाप्रति तिनको कौतूहलता कत्ति जाग्यो होला, कल्पना गर्नुहोस्। यरूशलेम र गीरिज्जीम डाँडाको ऐतिहासिक महत्त्व भए तापनि परमेश्वरलाई पुकार्न ती धार्मिकस्थलहरू महत्त्वपूर्ण छैनन् भनेर येशूले अझै व्याख्या गर्नुभयो। थलो होइन, मनोवृत्ति तथा आचरण महत्त्वपूर्ण थियो। उहाँले भन्नुभयो, “साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्। किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ।” (यूहन्ना ४:२३) कत्ति सान्त्वनादायी शब्दहरू! यहोवाको सेवा गर्न मानिसहरूलाई आग्रह गरियो र त्यो पनि त्यही उपत्यकामा।
आज नाबलस शहर पुरातन समयको शकेमको भग्नावशेष नजीकै पर्छ। गीरिज्जीम डाँडा र एबाल डाँडा बितेका घटनाहरूको मौन साक्षीसरह अझै पनि त्यस उपत्यकालाई हेरिरहेका छन्। यी डाँडाहरूको फेदमा रहेको याकूबको इनार अझै पनि त्यहीं छ। त्यहाँ भएका घटनाहरूलाई विचार गर्दा हामी साँचो उपासनालाई उकास्नुपर्ने आवश्यकता सम्झन्छौं। यहोशू र येशू दुवैबाट हामीले पाएको शिक्षा पनि यही हो।—यशैया २:२, ३ तुलना गर्नुहोस्।
[फुटनोट]
a गीरिज्जीम डाँडाअघिल्तिर उभिएका छ कुल शिमोन, लेवी, यहूदा, इस्साकार, युसूफ र बिन्यामीनका हुन्। त्यसैगरि एबाल डाँडाअघिल्तिर उभिएका छ कुल रूबेन, गाद, आशेर, जबूलून, दान र नप्तालीका हुन्।—व्यवस्था २७:१२, १३.
[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]
Pictorial Archive (Near Eastern History) Est.