“जसले सुन्छ, त्यसले: ‘आउनुहोस्!’ भनोस्”
यो साल भरि, २०० भन्दा बढ़ी मुलुकहरूमा, “जसले सुन्छ, त्यसले ‘आउनुहोस्!’ भनोस्” भन्ने, १९९१ को आफ्नो वार्षिक पद अनुसार यहोवाका साक्षीहरूले परिश्रम गर्नेछन्।
“औ आत्मा र दुलही भन्नुहुन्छ, ‘आउनुहोस!’ औ जसले सुन्छ, त्यसले ‘आउनुहोस्’ भनोस्। जो तिर्खाउँछ, त्यो आओस्, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्।”—प्रकाश २२:१७.
१. कुन प्रकारको “पानीको” लागि हामीले “आउनुहोस्!” भन्ने निमन्त्रणा पाइरहेछौं?
तपाइँलाई निम्तो छ: “आउनुहोस्!” तर के को निम्ति आउनु? पानीले आफ्नो तिर्खा बुझाउन आउनहोस्। यो कुनै साधारण पानी होइन किनकि यो त्यो पानी हो जस बारे येशूले इनार निर भेट्नु भएकी सामरी स्त्रीलाई एसो भन्नु भएको थियो: “तर मैले दिने त्यो पानी जसले पिउला त्यो कहिल्यै तिर्खाउने छैन। तर जुन पानी म त्यसलाई दिनेछु, त्यो पानी त्यसमा अनन्त जीवनसम्म उम्रिरहने पानीको मूल बनिनेछ।” (यूहन्ना ४:१४) येशूले यो “पानी” कहाँबाट पाउनु भयो?
२. यो “पानीको” स्रोत के हो र कुन घटना पछि मात्र यो बग्न सक्यो?
२ यूहन्नाले एउटा दर्शनमा, यो “पानीको” मूल देख्ने सुअवसर पाए र यस विषयमा तिनले प्रकाश २२:१ मा लेखेको पाउँछौं: “तब तिनले मलाई परमेश्वर र थुमाको सिंहासनबाट निस्किरहेको त्यस शहरको सड़कको बीचमा बिल्लौरजस्तो चहकिलो जीवनको नदी देखाए।” हो, बिल्लौर जस्तो सफा पानीको मूल, जीवन दाता स्वयं यहोवानै हुनुहुन्छ र उहाँले थुमा, येशू ख्रीष्ट द्वारा यो पानी उपलव्ध गराउनु हुन्छ। (प्रकाश २१:६ सँग तुलना गर्नुहोस्) “परमेश्वर र थुमाको सिंहासनको” चर्चा गरिएको हुनाकारण, सन् १९१४ मा मसीही राज्यको स्थापना, अर्थात् प्रभुको दिन शुरू भए पछि मात्र, जीवनको यो पानी बग्न थालेको हुनु पर्छ।—प्रकाश १:१०.
३, ४. “पानीले” के को प्रतिनिधित्व गर्दछ र त्यो कसको निम्ति उपलव्ध हुने हो?
३ जीवनको यो पानी के को प्रतिक हो? प्रमोदवनमा परिणत भएको पृथ्वीमा, सिद्ध मानवीय जीवन अथवा सिद्ध अनन्त जीवन पुनःस्थापित गराउने परमेश्वरको प्रबन्धलाई नै यो पानीले चित्रित गर्दछ। जीवनको यो पानीले, येशू ख्रीष्ट द्वारा पाउने जीवनको सम्पूर्ण प्रबन्धको प्रतिनिधित्व गर्दछ। के यो प्रबन्ध द्वारा पाइने सम्पूर्ण लाभ आज उपलव्ध छ? छैन, सम्पूर्ण लाभ उपलव्ध छैन किनभने परमेश्वरले यो दुष्ट रीतिरिवाज र त्यसको अदृश्य शासक शैतानलाई पहिले हटाउनु परेकोछ। तर राज्यको सुसमाचारलाई सुनेर र त्यस्को पालना गरेर त्यस अनुसार आफ्नो जीवन व्यतित गर्दै, यो “पानी” आज जुन मात्रामा उपलव्ध छ, त्यत्तिनै हामी लिन सक्छौं।—यूहन्ना ३:१६; रोमी १२:२.
४ यसर्थ, यूहन्नालाई ‘जीवनको नदी’ देखाउनु भए पछि, तिनीकहाँ स्वर्गदूत द्वारा यो दर्शनको उद्देश्य बारे येशूले यूहन्नालाई भन्नु भयो। यस पछि, यूहन्नाले यो घोषणा सुने: “औ आत्मा र दुलही भन्नुहुन्छ, ‘आउनुहोस्!’ औ जसले सुन्छ, त्यसले ‘आउनुहोस्!’ भनोस्। जो तिर्खाउँछ, त्यो आओस्, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्।” (प्रकाश २२:१७) यसैकारण, परमेश्वरका सेवकहरूले तिर्खाएका जनहरूलाई परमेश्वरको थुमा द्वारा, पृथ्वीमा अनन्त जीवन पाउने ईश्वरीय प्रबन्धहरूबाट पिउन शुरू गर्ने निमंत्रण दिइरहेका छन्।—यूहन्ना १:२९.
जीवनका पानीहरूको आवश्यकता उठदछ
५. मानिस जातिलाई यो ईश्वरीय प्रबन्धको खाँचो किन पर्यो?
५ अफसोस्को कुरा, मानव परिवारका प्रथम आमा-बाबु जीवनको त्यो मार्गमा अडिग रहेनन् जसबाट तिनीहरूका सन्तानले एउटा पार्थिव प्रमोदवनमा सधैंकालागि सिद्ध मानव जीवनको आनन्द उठाउन सक्ने थिए। मावनजातिको अनन्त जीवनका लागि, आदमले आफ्नो सृष्टिकर्त्ताको आज्ञाकारितापूर्वक सेवा गर्ने समझदार फैसला गर्नु आवश्यक थियो। एउटा विद्रोही आत्मिक व्यक्तिको प्रभावमा परेर, हव्वाले त्यो आन्दोलन शुरू गरी जसबाट सारा मानवजाति माथि मृत्यु आयो र आदम, उसको सिद्ध पतिले पनि मृत्यु तर्फ लैजाने त्यो मार्गमा हव्वाको साथ दिन रूचायो। यसकारण, आदम, मानिस जातिका आउँदो पुस्ताहरूको प्राकृतिक जीवन दाता हुनाकारण, सम्पूर्ण मानव परिवारमा मृत्युको शुरूआत गर्ने पनि वास्तवमा उ नै भयो। तसर्थ बाइबलले एसो भन्दछ: “यसैकारण जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्।” (रोमी ५:१२) आदम र हव्वा पापमा फँसी सके पछि मात्र मानव परिवारमा अरू सदस्यहरू थपिन थालिए।—भजन संग्रह ५१:५.
६. यहोवाले यो “पानी” उपलव्ध गर्ने प्रबन्ध किन मिलाउनु भयो?
६ एउटा पार्थिव प्रमोदबनलाई सिद्ध मानिसहरूले भरिभराउ गर्ने ईश्वरीय उद्देश्यको पूर्ति के सधैंका लागि रोकिने भयो ता? बाइबलमा पाइने उत्तर अनुसार, होइन, रोकिने भएन! तथापि यहोवाले आफ्नो उद्देश्य पूरा गर्नका लागि, आदमको आपत्तिजनक असफलतालाई निष्कृय पार्ने एउटा प्रेमपूर्ण प्रबन्ध मिलाउनु भयो, र यो प्रबन्ध धर्मी र न्यायोचत् पनि छ किनभने परमेश्वर स्वयं, धार्मिकता र न्यायको पूर्ण अभिव्यक्ति हुनु हुन्छ। उहाँले आफ्नो उद्देश्य “जीवनको पानीको नदी” द्वारा पूरा गर्नु हुनेछ। यो प्रबन्ध द्वारा उहाँले जीवनको स्रोतबाट वञ्चित भएका आज्ञाकारी मानव जातिलाई सिद्ध मानव जीवन फिर्ता दिनु हुनेछ। येशू ख्रीष्टको हजार वर्षे राज्यमा यो नदी त्यसको पूर्णता साथ बग्नेछ। यसर्थ, ख्रीष्टको हजार वर्षे राज्य भित्र, पुनरुत्थान भएका मानिसहरू समेत सारा मानव परिवारले यो “जीवनको पानीको नदीबाट” पिउनै पर्छ।—इजकिएल ४७:१-१०; प्रेरित् २४:१५ सँग तुल्ना गर्नुहोस्.
७. “पानी” के को आधारमा उपलव्ध हुन्छ?
७ यहोवा आफ्नो जीवनमा आनन्द मनाउनु हुन्छ औ आफ्नो कुनै-कुनै सृष्टिलाई पनि बौद्धिक जीवनको वरदान दिनमा आनन्दित हुनु हुन्छ। यहोवाले रचनु भएको यो जीवन दिने प्रबन्धको आधार येशूको छुटकाराको बलिदान हो। (मर्कूस १०:४५; १ यूहन्ना ४:९, १०) यसमा परमेश्वरको वचन पनि समावेश छ किनकि यसलाई बाइबलले अकसर “पानी” पनि भन्ने गर्छ। (एफिसी ५:२६) प्रथम सिद्ध मानव जोड़ी, आदम र हव्वाका लागि परमेश्वरले रचनु भएको मूल प्रबन्ध गुमाएका मानिसहरूलाई, अब यहोवा परमेश्वरले “आउनुहोस्!” भन्न सक्नु हुन्छ।
दुलही वर्गकाहरूले “आउनुहोस!” भन्ने निमंत्रणा दिन्छन्
८. यो “पानी” सर्वप्रथम कहाँ र कसको लागि उपलव्ध गरियो?
८ “आउनुहोस्!” भन्ने निम्तो, यहोवाका पहिलौठो आत्मिक पुत्र अर्थात् थुमाकी लाक्षणिक दुलही हुनेहरूले सर्वप्रथम दिनेछन्। (प्रकाश १४:१, ३, ४; २१:९) ख्रीष्टकी आत्मिक दुलहीले स्वयंलाई अर्थात् दुलही वर्गमा समावेश हुन यहोवाले जम्मा गर्नु हुने १४४,००० लाई “आउनुहोस्!” भनेको होइन। यी शब्दहरू, पृथ्वीमा आर-मागेडोन पश्चात् सिद्ध जीवन प्राप्त गर्ने आशा राख्नेहरूका निम्ति हुन्। (प्रकाश १६:१४, १६) सन् १९१४ देखिन् शरू भएको यो रीतिरिवाजको अन्तिम दिनमा, “दुलहीले” परमेश्वरको पवित्र आत्मासँग मिलेर यो निम्तो दिएको हामीले सुनेका छौं।
९. यो एउटा सानो समूहको लागि मात्र होइन भनेर हामी कसरी भन्न सक्छौं?
९ रोमाञ्चकारी ढङ्गमा, “कसैले गन्न नसक्ने . . . एक ठूलो भीड़ले” परमेश्वरको राज्यको सुसमाचारको घोषणा सुन्ने छन् र शाही सरकारको पक्ष लिनेछन् भनेर बाइबलको अन्तिम पुस्तकले देखाउँदछ। (प्रकाश ७:९, १०, १६, १७) के तपाईं पनि त्यो ठूलो भीड़मा समावेश हुनुहुन्छ? हुनुहुन्छ भने, “जसले सुन्छ, त्यसले ‘आउनुहोस्!’ भनोस्।”
आत्मा र दुलही भन्नुहुन्छ “आउनुहोस्!”
१०. यो लाक्षणिक पानी कहाँ बाट आउनु पर्छ र किन?
१० तर प्रकाश २२:१७ मा लाक्षणिक दुलहाको चर्चा किन गरिएको छैन? सर्व प्रथम, याद गर्नु होला, यहाँ आत्मा कस्को निर्देशनमा काम गरिरहेको छ, बताइएको छैन। तापनि, आत्मा बारे कुरा गर्ना साथै, हाम्रो ध्यान स्वयं यहोवा परमेश्वर तर्फ आकर्षित हुन्छ। यहाँ पिता सम्मिलित हुनै पर्छ किनभने पवित्र आत्माको स्रोत उहाँ नै हुनु हुन्छ। दोस्रो, आफ्नो पितालाई पूर्णतया सहयोग पुत्रले दिनु हुन्छ किनभने उहाँ आफैले एसो भन्नु भएको छ: “पिताले जे गर्नुहुन्छ, त्यो नदेखेसम्म पुत्र आफैले केही गर्नसक्तैन, किनभने उहाँ जे गर्नुहुन्छ, पुत्रले पनि तिनै काम त्यही किसिमले गर्छ।” (यूहन्ना ५:१९) यस बाहेक, यो निमन्त्रणा स्वयं यहोवा परमेश्वरबाट आएको एउटा प्रेरित वाणी भएता पनि, मानिसहरूले येशू ख्रीष्ट द्वारा “प्रेरित वाणी” पाउन सक्छन्। (प्रकाश २२:६; २२:१७ पनि, रेफरेन्स बाइबलको पाद-टिप्पणी; यूहन्ना १:१) यसैकारण, यो निमन्त्रणा सँग दुल्हा, येशू ख्रीष्ट पनि सम्बन्धित हुनु हुन्छ भनी हामीले स्वीकार्नु उचित हुनेछ। हो, दुल्हाका पिता, यहोवा परमेश्वर र दुल्हा येशू ख्रीष्टले, पवित्र आत्मा द्वारा “आउनुहोस्!” भन्ने निमन्त्रणा दुलही सँग सँगै दिइरहेका छन् भनी हामी निश्चित हुन सक्छौं।
११, १२. (क) यो पानी पिउने निमन्त्रणा अझ धेरै मानिसहरूले पाउने छन् भनेर कसरी शुरू मै सङ्केत गरिएको थियो? (ख) सालहरू बित्दै जाँदा यो कुरा अझ कसरी स्पष्ट हुँदै गयो?
११ “जीवनको पानीका” लागि तिर्खाउने मानिसहरूलाई “आउनुहोस्!” भन्ने निमन्त्रणा कैंयौ दशक देखिन् दिइरहिएकोछ। १९१८ मा पनि, विशेषगरी पृथ्वीमा बाँचेर बस्न सक्नेहरूसँग सम्बन्धित एउटा समाचार, दुलही वर्गकाहरूले प्रचार गर्न शुरू गरेका थिए। त्यो समाचार “आजका लाखौं जीवित् मानिसहरू कहिले पनि मर्न न पर्ला” भन्ने जन् भाषण थियो। यो भाषणले, आर-मागेडोनमा बाँचेर एउटा पार्थिव प्रमोदबनमा, परमेश्वरको मसीही राज्य मनि अनन्त जीवन पाउने आशा प्रस्तुत् गऱ्यो। तर यो समाचारमा, बाँच्ने सुअवसरको मार्ग धार्मिकता हो भन्नु बाहेक, कुनै विशेष स्पष्टीकरण दिइएन।
१२ “आउनुहोस्!” भन्ने निमन्त्रणा अझ धेरै मानिसहरूकहाँ पुऱ्याउनका लागि, सन् १९२२ मा, परमेश्वरको सेवा गर्न चाहने सबैलाई यो समाचार सुनाइयो: “राजा र उहाँका राज्यको विज्ञापन गर्नुहोस्।” मत्ती २५:३१-४६ मा उल्लेखित् येशूले दिनु भएको उखानका “भेंड़ा” र “बाख्रा” आर-मागेडोन आउनु भन्दा अघि नै देखा पर्नेछन् भनेर दुलही वर्गकाहरूले बुझ्न सके। यस पछि, १९२९ मा, मार्च १५ को दी वाचटावरमा, “ग्रेसियस इन्वीटेशन” (करूणामय निमन्त्रणा) शिर्षक भएको लेख छापियो। यो लेखको मूल पद प्रकाश २२:१७ थियो र “आउनुहोस्!” भन्ने निमन्त्रणा फैलाउने दुलही वर्गको जिम्मेवारीलाई यस लेखमा महत्व दिइएको थियो।—पानाहरू ८७-९.a
अरू भेंड़ाहरूले पनि “आउनुहोस्!” भन्छन्
१३, १४. यो लाक्षणिक पानीबाट अरूहरूले पनि पिउनेछन् भनेर १९३० को दशकमा के थप स्पष्टीकरण आयो?
१३ यस बाहेक, १९३२ देखि नै, दी वाचटावरले, “अरू भेंड़ाहरूको” पनि “आउनुहोस्!” भन्ने जिम्मेवारी औंलाएर देखाएको पाउँछौं। (यूहन्ना १०:१६) अगस्त १, पाना २३२ र पैराग्राफ २९ मा एसो भनेको थियो: “आज यहोवाका साक्षीहरूमा येहूको जस्तै जोश छ र तिनीहरूले योनादाब श्रेणीकाहरूलाई (अरू भेंडाहरू) पनि आफू सँग लगेर परमेश्वरको राज्य नजीक आइ पुगेको छ भन्ने खबर अरूहरूलाई धोषणा गर्ने काममा भाग लिन दिनु उचित हुनेछ।” औ प्रकाश २२:१७ को उद्धरण गरे पछि, यो पैराग्राफमा अझ एसो पनि भनेको पाउँछौं: “अभिषिक्त जनहरूले राज्यको सुसमाचार सुनाउने काममा सबै इच्छुक व्यक्तिहरूलाई भाग लिन प्रोत्साहित गरून्। प्रभुको समाचारको घोषणा गर्नकालागि तिनीहरू अभिषिक्त हुन आवश्यक छैन। यहोवाको अपार भलाइको कारण, आर-मागेडोनमा बाँचेर पृथ्वीमा अनन्त जीवन पाउन सक्ने मानिसहरूकहाँ जीवनको पानी पुऱ्याउने मौका पाउनु यहोवाका साक्षीहरूको लागि एउटा ठूलो सान्त्वनाको कारण हो।”b
१४ यी अरू भेंड़ाहरूले पनि परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्नु पर्छ र तिनीहरूले पानीमा बप्तिस्मा लिएर देखाए पछि, दुलही वर्गकाहरू सँग मिलेर अझ अरू तिर्खाएकाहरूलाई “आउनुहोस्!” भन्दै निमन्त्रणा दिनु आवश्यक छ भनेर १९३४ देखिन् शेष अभिषिक्त जनहरूले जनाउ दिन थाले। यस प्रकार, तिर्खाएका अरू भेंड़ाहरूलाई “एकै गोठालो” येशू ख्रीष्ट मनि “एकै बगालमा” जम्मा गर्नका लागि, दुलही वर्गकाहरूबाट विशेष रूपमा निमन्त्रणा जान थाल्यो। (यूहन्ना १०:१६) तर तिनीहरूले जुन भेंड़ा खालका मानिस्हरूलाई “आउनुहोस्!” भनेर बोलाइ रहेका थिए, वास्तवमा तिनीहरू नै प्रकाश ७:९-१७ मा उल्लेखित् “ठूलो भीड़” पनि रहेछन् भन्ने सत्य कुरा, १९३५ मा आफ्नो आम सम्मेलनमा थाह पाएर शेष अभिषिक्त जनहरू उत्साहित् भए। यस जानकारीले निमन्त्रणा दिने कामलाई ठूलो प्रेरणा दियो।
१५. “आउनुहोस्!” भन्ने निमन्त्रणामा, “आत्माको” के सम्बन्ध थियो?
१५ “आउनुहोस्!” भन्नमा, परमेश्वरको आत्माले दिएको निर्देशन अनुसार दुलही वर्ग काम गरिरहेका थिए। आफ्नो लिखित वचनमा भएका अगमवाणीहरूको अर्थ खोलिदिनु भएर, अरूहरूलाई यो निमन्त्रणा दिन, उहाँले दुलही वर्गका बाँकी रहेका व्यक्तिहरूलाई सक्षम पारि दिनु भयो। तिनीहरूले दिने यो निमन्त्रणा जुन् जुन् अगमवाणीहरूमा आधारित् थियो, ती जम्मै परमेश्वरको आत्मा द्वारा प्रेरित थिए। यसकारण, वास्तवमा, ख्रीष्ट र उहाँकी दुलही द्वारा बगेको परमेश्वरको आत्माले नै भेंड़ा-खालका मानिसहरूको ठूलो भीड़लाई “आउनुहोस्!” भनेको थियो।—प्रकाश १९:१०.
१६. आज, दुवै आत्मा र दुलहीको यो निमन्त्रणा सँग के सम्बन्ध छ?
१६ आज सम्म पनि आत्मा र दुलहीको प्रतिनिधित्व गर्ने शेष अभिषिक्त जनहरूले “‘आउनुहोस्!’” भन्दै हुनु हुन्छ। शेष अभिषिक्त जनहरूले यी अरू भेंड़ाहरूलाई अझ अरू मानिसहरूलाई “आउनुहोस्!” भन्ने निमन्त्रणा दिन भन्दछन्। आज जे जति मात्रामा “जीवनको पानी” उपलव्ध छ, त्यो तिनीहरूले आफूमा मात्र सीमित राख्नु हुँदैन। तिनीहरूले “आत्मा र दुलहीबाट” आएको यो आज्ञा पालन गर्नु पर्छ अर्थात्: “जसले सुन्छ, त्यसले ‘आउनुहोस्!’ भनोस्।” जस जसले आफ्नो तिर्खा मेटदछन्, तिनीहरू सबैले यो निमन्त्रणा दिनु पर्दछ। तिनीहरूले यो निमन्त्रणा सबै जाति, राष्ट्र, भाषा अथवा वर्तमान धर्मका मानिसहरूलाई दिनु पर्छ—हर ठाउँका प्रत्यक मानिसलाई! वर्तमान समयमा जे जति मात्रामा “जीवनको पानी” उपलव्ध छ, त्यसबाट पिउन यहोवाका साक्षीहरूले सबै मानिसहरूलाई सित्तैमा मदद र निम्तो दिइरहेका छन्!
१७. आज कुन प्रकारको “पानी” उपलव्ध छ?
१७ पृथ्वी भरि, थुमा येशू ख्रीष्टले ठूलो भीड़काहरूलाई वास्तवमा “जीवनका पानीहरूको फोहोरा सम्म” अगुवा भएर लैजानु हुँदैछ। (प्रकाश ७:१७) यो कुनै दूषित् पानी होइन तर सोझै मुहानबाट आएको सफा, स्वस्थकर र चीसो पानी हो। यो लाक्षणिक पानीको अर्थ बाइबलका सत्य कुराहरू बुझ्नु मात्र होइन; त्यसको अर्थ, येशू ख्रीष्ट द्वारा परमेश्वरले गर्नु भएका ती जम्मै प्रबन्धहरू हुन् जसले आज देखिन् नै ठूलो भीड़लाई सुखी अनन्त जीवन पाउने बाटो तिर लग्न शुरू गरी सकेकोछ।
घोषणा गर्ने काममा अहिले देखिन् नै सम्मिलित हुनुहोस्
१८. हाम्रो समयमा यो निमन्त्रणा कतिको विस्तृत छ?
१८ यो ठूलो भीड़को सङ्ख्या अहिलेनै ४,०१७,२१३ भइ सक्यो। तिनीहरू मिलेर जोड़तोड़का साथ राज्यको सुसमाचार घोषणा गरी नै रहेकाछन्। राज्यको सुसमाचारको प्रचार सँग सम्बन्धित क्षेत्र सेवकाईको रीपोर्ट तिनीहरू नियमित रूपमा पठाउँने गर्छन् र आज २१२ मुलुकहरूमा तिनीहरू प्रचार गरिरहेका छन्। यो रीतिरिवाजको अन्त नआउञ्जेल र समयको ख्याल राख्नु हुने महान परमेश्वर यहोवाको धैर्य र सहनशीलता अनुसार, निमन्त्रणा दिने काम चली नै रहनेछ। यो काम समाप्त हुने समय र बाइबलका अगमवाणीहरूमा उहाँले बारम्बार भन्नु भए बमोजिम सबैको सामने उहाँ यहोवा हुनुहुन्छ भनेर आफूलाई प्रकट गर्नु हुने उचित घड़ी उहाँलाई नै थाह हुनेछ।—इजकिएल ३६:२३; ३८:२१-२३; ३९:७.
१९. यो “पानी” सित्तैमा पाइन्छ भनेर हामी किन भन्न सक्छौं?
१९ यसकारण, समय रहुञ्जेल, ठूलो भीड़का सदस्यहरूले दुलही वर्गका शेष जनहरू सँग मिलेर आनन्दपूर्वक एसो भन्न छाड़दैनन्: “आउनुहोस्! र जीवनको पानी सित्तैमा [लिनुहोस्]!” जीवन बचाउँने सुसमाचारका यी प्रचारकहरूले यस प्रकारको घोषणा सित्तैमा गरिरहेकाछन् र विश्व-भरि राज्यको समाचार प्रचार गरे वापत तिनीहरूले खर्च माँगेका छैनन्।
२०. यो “पानी” उपलव्ध भएको कारण, परिणाम के हुने हो?
२० अहिले, विश्व-भरि जीवनका पानीहरू उपलव्ध छन् र पिउन चाहने मानिसहरूले चाहेमा, तिर्खा मेट्ने गरी पिउँन सक्छन र फल-स्वरूप जीवन पनि बचाउँन सक्नेछन्। यहोवाको बहुमूल्य उद्देश्य पूरा गर्दै, मुक्ति पाएका मानिसहरूले प्रमोदबनमा परिवर्तित् हुने पृथ्वीमाथि अनन्तकालीन जीवनबाट आनन्द उठाउनेछन्। हाम्रा सृष्टिकर्त्ताले यो पृथ्वी व्यर्थमा सृजनु भएको होइन तर परमेश्वरको स्वरूपमा सृजिएका सिद्ध मानिसहरूले बसोबास गर्ने विश्व-व्यापी अदनको बगैंचा अथवा आनन्दमय प्रमोदबन होस् भनेर सृष्टि गर्नु भएको थियो।
२१. पृथ्वीका लागि परमेश्वरको उद्देश्य कसरी पूरा हुनेछ?
२१ निश्चय नै त्यस प्रकारको नया संसारमा बस्न पाउनु, वर्णन गर्नै नसकिने एउटा महान अधिकार र आनन्दको कुरा हुनेछ! त्यस पछि, उत्पत्ति १:२७, २८ मा परमेश्वरले प्रथम मानव दम्पत्तिलाई दिनु भएको जिम्मेवारी सम्पूर्णतया पूरा हुनेछ। मानव परिवार माथि आइ परेको विपत्तिलाई यहोवाले निपुणता साथ समाधान गर्नु भएकोमा हामी कृतज्ञ हुनु पर्छ किनभने अन्तत्वगत्वा, प्रमोदबन हुने गरी पृथ्वी वशमा ल्याइनेछ र यहाँ सिद्ध मानिसजातिले बसोबास गर्न पाउँनेछन्। हो, परमेश्वरले सृजनु भएका सबै कुराहरू उहाँले हेर्नु हुनेछ र जम्मै कुरा अति नै असल हुनेछ। के त्यत्ति बेला तपाईं त्यहाँ हुनु हुनेछ? हुन चाहनु हुन्छ भने, अहिले देखिन् नै जीवनको पानीको मोल गर्नु होस् र त्यसलाई सित्तैमा पिउनु होस्। “आउनुहोस्!” र अहिले देखिन् सहस्र वर्षे राज्यमा पूर्णता साथ बग्ने जीवनको पानी, तिर्खा मेट्ने गरी पिउनु होस्। र यो मीठो निमन्त्रणा सुन्ने प्रत्यकले “आउनुहोस्!” भनून्। (w90 12/15)
[फुटनोटहरु]
a यो लेखमा एसो पनि भनिएको थियो: “पहिले कहिले पनि बितेका सालहरूमा जत्ति सत्यबारे साक्षी दिने काम भएको थिएन। . . . शेष अभिषिक्त जनहरूले तिनीहरूकहाँ यो खुशीको समाचार ल्याउँदै, एसो भन्छन्: ‘जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्।’ तिनीहरू पनि अब शैतानको सामना गर्दै, प्रभुको पक्षमा खड़ा भएर आशिष पाउन सक्छन् भनेर तिनीहरूलाई बताइन्दैछ। नम्रता र धार्मिकताको खोजी गर्दै, परमेश्वरको क्रोधको दिनमा शरण पाएर आर-मागेडोनको युद्ध पार गरे पछि न मर्ने गरी, सधैं बाँच्न पाउने मानिसहरू यिनै हुन्, होइनन् र? (सपन्याह २:३) . . . शेष अभिषिक्त जनहरूले पनि यो सुन्दर निमन्त्रणा दिने काममा भाग लिंदै ‘आउनुहोस्!’ भन्छन्। धार्मिकता र सच्चाइ चाहने व्यक्तिहरूलाई यो समाचार सुनाउनु परेको छ। र यो काम गर्ने बेला अहिले नै हो।”
b अगस्त १५, १९३४ को दी वाचटावरले पनि अरू भेड़ाहरूको जिम्मेवारीलाई औंलाउँदै, पाना २४९ को पैराग्राफ ३१ मा एसो भनेको छ: “योनादाब वर्गका मानिसहरू ती हुन जसले सत्यको समाचार ‘सुन्छन्’ र जसले सुन्ने अरू मानिसहरूलाई एसो भन्छन्: “‘आउनु होस्!’ औ जसले सुन्छ, ‘त्यसले ‘आउनुहोस्!’ भनोस्। जो तिर्खाउँछ, त्यो आओस्, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्।” (प्रकाश २२:१७) योनादाब वर्गकाहरू, यहोवाका अभिषिक्त साक्षीहरू नभएतापनि, लाक्षणिक येहू वर्गकाहरू अर्थात् अभिषिक्त जनहरू सँग मिलेर राज्यको समाचार सुनाउन अघि बढ़नु पर्छ।
तपाईंको जवाफ के हो?
◻ प्रकाश २२:१७ मा कुन प्रकारको “पानीको” चर्चा गरिएको छ?
◻ यो “पानीको” स्रोत के हो?
◻ “पानीको” आवश्यकता किन पऱ्यो र कहिले देखिन् मात्र यो बग्न सक्यो?
◻ हाम्रो अध्ययनमा, “आत्माले” के लाई बोध गराउँछ र यसमा “दुलहीको” के सम्बन्ध छ?
◻ यो “पानी” कसले पिउन सक्नेछ र यसको परिणाम के हुन सक्दछ?