मानवजातिलाई परमेश्वरको ज्ञान चाहिन्छ
“तैंले परमप्रभुको भय बुझ्नेछस्, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्।” —हितोपदेश २:५.
१. मानव हृदयलाई ईश्वरीय प्रविधिको उत्कृष्ट नमुना किन भन्न सकिन्छ?
अहिले पृथ्वीमा लगभग ५,६०,००,००,००० मानव मुटु धड्किरहेका छन्। हरेक दिन तपाईंको मुटु १,००,००० चोटि धड्कन्छ र १,००,००० किलोमिटर लामो रक्त सञ्चार प्रणालीमा ७,६०० लिटर रगत बग्छ। अन्य कुनै मांसपेशीले ईश्वरीय प्रविधिको यस उत्कृष्ट नमुनाले जस्तो काम गर्न सक्दैन।
२. प्रतीकात्मक हृदयलाई तपाईं कसरी वर्णन गर्नुहुन्छ?
२ अहिले पृथ्वीमा ५,६०,००,००,००० वटा प्रतीकात्मक हृदयले पनि काम गरिरहेका छन्। प्रतीकात्मक हृदयमा हाम्रा भावना, उत्प्रेरणा तथा इच्छाहरू हुन्छन्। यो हाम्रो विचार, समझ र इच्छाशक्तिको केन्द्र हो। प्रतीकात्मक हृदय घमण्डी वा नम्र, निन्याउरो वा हँसिलो, अँध्यारो वा उज्यालो हुनसक्छ।—नहेम्याह २:२; हितोपदेश १६:५; मत्ती ११:२९; प्रेरित १४:१७; २ कोरिन्थी ४:६; एफिसी १:१६-१८.
३, ४. मानिसहरूको हृदयसम्म सुसमाचार कसरी पुऱ्याइएको छ?
३ यहोवा परमेश्वरले मानव हृदय पढ्न सक्नुहुन्छ। हितोपदेश १७:३ यसो भन्छ: “चाँदी पगाल्ने भाँडो हुन्छ र सुन खार्न पात्र हुन्छ, तर मानिसको मन जाँच गर्ने परमप्रभुनै हुनुहुन्छ।” यहोवाले आफ्ना साक्षीहरूलाई प्रत्येक हृदय पढ्न र न्याय घोषणा गर्न मात्र होइन तर मानव हृदयसम्म सुसमाचार पुऱ्याउन प्रयोग गरिरहनुभएको छ। यो प्रेरित पावलका निम्न शब्दअनुरूप छन्: “परमप्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ। तब जसलाई तिनीहरूले विश्वास गरेकै छैनन् उहाँलाई कसरी पुकार्ने? जसलाई तिनीहरूले सुनेकै छैनन् उहाँलाई कसरी विश्वास गर्ने? औ प्रचार गर्नेविना तिनीहरूले कसरी सुन्नसक्लान्? औ नपठाईकन कसरी तिनीहरूले प्रचार गर्लान्? जस्तो लेखिएको छ, ‘असल कुराका शुभ समाचार ल्याउनेहरूका खुट्टा कति राम्रा!’”—रोमी १०:१३-१५.
४ पृथ्वीको चारै कुनामा “असल कुराको शुभ समाचार” घोषणा गर्न र ग्रहणशील हृदयहरू भेटाउन आफ्ना साक्षीहरू पठाउन पाउँदा यहोवा असाध्यै खुशी हुनुहुन्छ। अहिले हामी ५०,००,००० भन्दा बढी छौं। विश्व जनसंख्याको तुलनामा १,२०० मानिसका लागि १ साक्षी। अरबौं मानिसहरूसम्म सुसमाचार पुऱ्याउनु सजिलो कुरा होइन। तर परमेश्वरले येशू ख्रीष्टद्वारा यो कार्यलाई डोऱ्याइरहनुभएको छ र इमानदार हृदय भएका मानिसहरूलाई जम्मा गरिरहनुभएको छ। तसर्थ, यशैया ६०:२२ मा लिपिबद्ध भविष्यवाणी सत्य साबित भइरहेको छ: “थोरै चाहिं हजार हुनेछ, र तुच्छ चाहिं एउटा सामर्थी जाति हुनेछ। म, परमप्रभुले त्यसको समयमा त्यो चाँड़ै पूरा गर्नेछु।”
५. ज्ञान के हो र सांसारिक बुद्धिबारे के भन्न सकिन्छ?
५ त्यो समय अहिले हो र एउटा कुरा स्पष्ट छ—पृथ्वीका अरबौं मानिसहरूलाई ज्ञान चाहिन्छ। वस्तुतः, ज्ञान भनेको अनुभव, अवलोकन वा अध्ययनद्वारा तथ्यहरूबारे अवगत हुनु हो। संसारले निकै ज्ञान हासिल गरेको छ। यातायात, स्वास्थ्य सेवा र सञ्चारको क्षेत्रमा निकै प्रगति भएको छ। तर के मानवजातिलाई वास्तवमा चाहिएको सांसारिक ज्ञान हो? कदापि होइन! युद्ध, दमन, रोगव्याधि र मृत्युले मानवजातिलाई पीडित तुल्याइरहेको छ। संसारको ज्ञान बालुवाको महल बनाउनु जत्तिकै अविश्वसनीय साबित भएको छ।
६. रगतको विषयमा परमेश्वरको ज्ञानलाई सांसारिक बुद्धिसित कसरी तुलना गर्न सकिन्छ?
६ उदाहरणका लागि, दुइ शताब्दीअघि कथित निवारणको रूपमा उपचार गर्दा रगत यत्तिकै बग्न दिनु सामान्य मानिन्थ्यो। संयुक्त राज्यका प्रथम राष्ट्रपति मर्नै लाग्दा तिनको निकै चोटि रक्तस्राव गराइयो। एक चोटि तिनले यसो भने: “मलाई शान्तसित मर्न देऊ, अब म धेरै सहन सक्दिनँ।” तिनले ठिकै भने किनभने त्यही दिन अर्थात् डिसेम्बर १४, १७९९ मा तिनको मृत्यु भयो। आजकल रक्तस्राव हुन दिनुभन्दा मानव शरीरमा रक्तक्षेपण गर्न जोड दिइन्छ। दुवै प्रक्रियाहरूले मृत्युदायी समस्याहरू उत्पन्न गरेका छन्। तथापि, परमेश्वरको वचनले सधैं यसो भनेको छ: “रगत[बाट] . . . अलग रहनुहोस्।” (प्रेरित १५:२९) परमेश्वरको ज्ञान सधैं साँचो, भरपर्दो र नविनतम हुन्छ।
७. बच्चा हुर्काउने सन्दर्भमा धर्मशास्त्रीय सही ज्ञानलाई सांसारिक बुद्धिसित कसरी तुलना गर्न सकिन्छ?
७ अविश्वसनीय सांसारिक बुद्धिको अर्को उदाहरण विचार गर्नुहोस्। बच्चा हुर्काउँदा उसलाई मनपरी गर्न दिनुपर्छ भन्ने धारणालाई मनोवैज्ञानिकहरूले वर्षौंसम्म समर्थन गरे। तर पछि एक समर्थकले त्यसो गर्नु गलत थियो भनी स्वीकारे। आफूलाई मनपरी गर्ने स्वभाव “आजका जवान मानिसहरूका समस्याहरूसित अप्रत्यक्ष ढंगमा भए पनि जिम्मेवार” छ भनेर जर्मन फिलोलजिकल एसोसिएशनले एक चोटि भने। बतासले हल्लाएझैं सांसारिक ज्ञान स्थिर हुँदैन तर धर्मशास्त्रीय सही ज्ञान अटल साबित भएको छ। बाइबलले बच्चा हुर्काउने सन्दर्भमा सन्तुलित सल्लाह दिन्छ। हितोपदेश २९:१७ यसो भन्छ: “आफ्नो छोरालाई सुधार, र त्यसले तँलाई सुख दिन्छ, र तँलाई सब किसिमको आनन्द मिल्छ।” त्यस्तो अनुशासन प्रेमपूर्वक दिनुपर्छ किनभने पावलले यसप्रकार लेखे: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेता[उ]नीमा पालन-पोषण गर।”—एफिसी ६:४.
“परमेश्वरको ज्ञान”
८, ९. मानवजातिलाई साँच्चै चाहिने ज्ञानबारे हितोपदेश २:१-६ ले जे भन्छ, त्यो तपाईं कसरी वर्णन गर्नुहुन्छ?
८ पावल शिक्षित व्यक्ति भए तापनि तिनले यसो भने: “तिमीहरूमध्ये कसैले यस संसारमा आफैलाई बुद्धिमान सम्झन्छ भने त्यो मूर्ख बनोस् र त्यो बुद्धिमान हुनेछ। किनभने संसारको ज्ञान परमेश्वरको अगि मूर्खता हो।” (१ कोरिन्थी ३:१८, १९) मानवजातिलाई साँच्चै चाहिने ज्ञान परमेश्वरले मात्र प्रदान गर्न सक्नुहुन्छ। यस सन्दर्भमा हितोपदेश २:१-६ यसो भन्छ: “हे मेरो छोरो, यदि तैंले मेरा वचन हृदयमा लिइस्, र मेरा आज्ञा तेरो मनमा राखिस् भने बुद्धिमा तेरो ध्यान र तेरो मन समझ-शक्तिमा लगाइस् भने, तैंले विवेक माग्छस् भने समझ-शक्तिलाई पुकार्। यदि तैंले त्यसलाई चाँदीझैं खोजिस् र गाड़ धनझैं त्यो खनिस् भने, तैंले परमप्रभुको भय बुझ्नेछस्, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्। किनभने बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ, र ज्ञान र समझ-शक्ति उहाँबाटनै आउँछन्।”
९ असल हृदयले उत्प्रेरित भएकाहरू ईश्वरप्रदत्त ज्ञानको उचित प्रयोग गरेर बुद्धिमा ध्यान लगाउँछन्। आफूले सिकिरहेका तथ्यहरूलाई होशियारीपूर्वक जाँचेर समझ-शक्तिमा मन लगाउँछन्। वस्तुतः तिनीहरूले समझ अथवा त्यो विषयसित सम्बन्धित पक्षहरू बुझ्ने दक्षता माग्छन्। असल हृदय भएकाहरूले चाँदी भेटाउन वा गाड धन खनेझैं बुद्धि खोज्छन्। ग्रहणशील हृदय भएकाहरूले कस्तो महान् धन भेटाउँछन्? तिनीहरूले “परमेश्वरको ज्ञान” भेटाउँछन्। त्यो के हो? सरल भाषामा भन्ने हो भने, परमेश्वरको वचन, बाइबलमा पाइने ज्ञान।
१०. राम्रो आध्यात्मिक स्वास्थ्यको आनन्द उठाउन हामीले के गर्नुपर्छ?
१० परमेश्वरको ज्ञान सही, स्थिर र जीवनदायी हुन्छ। यसले आध्यात्मिक तवरमा स्वस्थ बनाउँछ। पावलले तिमोथीलाई यसप्रकार आग्रह गरे: “ख्रीष्ट येशूमा भएको विश्वास र प्रेममा तिमीले मबाट जे सुनेका छौ, ती पक्का कुराहरूको नमूना पक्रीराख।” (२ तिमोथी १:१३) भाषामा शब्दको संरचना हुन्छ। त्यस्तैगरि, धर्मशास्त्रीय सच्चाइको “शुद्ध भाषा[मा]” “पक्का कुराहरूको नमूना” हुन्छ र त्यो मुख्यतया बाइबलको विषयमा आधारित हुन्छ। त्यो हो, परमेश्वरको राज्य मार्फत यहोवाको सार्वभौमिकतालाई उच्च पार्नु। (सपन्याह ३:९) हामीले यी पक्का कुराहरूको नमुनालाई मन अनि हृदयमा राख्नु खाँचो छ। प्रतीकात्मक हृदय रोगबाट बचेर आध्यात्मिक तवरमा स्वस्थ रहने हो भने हामीले बाइबललाई जीवनमा प्रयोग गर्नुपर्छ र “विश्वासी र बुद्धिमान दास” मार्फत परमेश्वरले प्रबन्ध गर्नुभएको आध्यात्मिक आहारको पूर्णतया सदुपयोग गर्नुपर्छ। (मत्ती २४:४५-४७; तितस २:२) राम्रो आध्यात्मिक स्वास्थ्यको लागि परमेश्वरको ज्ञान चाहिन्छ भनेर हामीले कहिल्यै नभुलौं।
११. मानवजातिलाई परमेश्वरको ज्ञान आवश्यक पर्नुका केही कारणहरू के हुन्?
११ पृथ्वीका अरबौं मानिसलाई परमेश्वरको ज्ञान आवश्यक पर्नुका अन्य कारणहरू विचार गर्नुहोस्। पृथ्वी र मानिस कसरी बनिए भनेर के तिनीहरू सबैलाई थाह छ? अहँ, थाह छैन। के सारा मानवजातिले साँचो परमेश्वर र उहाँको पुत्रलाई चिनेका छन्? शैतानले ईश्वरीय सार्वभौमिकता र मानव निष्ठासम्बन्धी उठाएका विवादहरू के सबैलाई थाह छ? अहँ, थाह छैन। के साधारणतया मानिसहरूलाई हामी बुढाबुढी हुनु र मर्नुको कारण थाह छ? त्यो पनि थाह छैन। अहिले परमेश्वरको राज्यले शासन गरिरहेको छ र हामी आखिरी दिनमा बाँचिरहेका छौं भनेर के मानिसहरूले बुझेका छन्? के तिनीहरूलाई दुष्ट आत्मिक सेनाहरूबारे थाह छ? सुखी पारिवारिक जीवन बिताउने सन्दर्भमा के सबै मानवसित भरपर्दो ज्ञान छ? अनि सृष्टिकर्ताले आज्ञाकारी मानवजातिको लागि प्रमोदवनमा आनन्दमय जीवन दिने उद्देश्य राख्नुभएको छ भनेर के अधिकांश मानिसलाई थाह छ? यी प्रश्नहरूको जवाफ पनि नकारात्मक छ। उसोभए स्पष्ट छ, मानवजातिलाई परमेश्वरको ज्ञान चाहिन्छ।
१२. हामीले परमेश्वरलाई “आत्मा र सत्यतामा” कसरी उपासना गर्नसक्छौं?
१२ येशूले आफ्नो पार्थिव जीवनको अन्तिम रात प्रार्थना गर्नुहुँदा जे भन्नुभयो, त्यसको लागि पनि मानवजातिलाई परमेश्वरको ज्ञान चाहिन्छ। उहाँले यसो भन्नुभएको सुन्दा उहाँका प्रेरितहरूको हृदयमा गहिरो छाप परेको हुनुपर्छ: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।” (यूहन्ना १७:३) त्यस्तो ज्ञानलाई व्यवहारमा उतारेर मात्र स्वीकार्य ढंगमा परमेश्वरको उपासना गर्न सकिन्छ। येशूले यसो भन्नुभयो, “परमेश्वर आत्मा हुनुहुन्छ, औ उहाँलाई पुज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्दछ।” (यूहन्ना ४:२४) हाम्रो हृदय विश्वास र प्रेमले उत्प्रेरित भयो भने हामी “आत्मा[ले]” परमेश्वरको उपासना गर्छौं। हामी उहाँलाई “सत्यतामा” कसरी उपासना गर्छौं? उहाँको वचन अध्ययन गरेर अनि उहाँले प्रकट गर्नुभएको सच्चाइ अर्थात् “परमेश्वरको ज्ञान[अनुरूप]” उपासना गरेर।
१३. प्रेरित १६:२५-३४ मा कुन घटना लिपिबद्ध छ र हामी त्यसबाट के सिक्नसक्छौं?
१३ प्रत्येक वर्ष हजारौंले यहोवाको उपासना गर्न थाल्छन्। यद्यपि, के जिज्ञासुहरूसित लामो समयसम्म बाइबल अध्ययन गरिरहनुपर्छ वा इमानदार हृदय भएका व्यक्तिहरू बप्तिस्माको लागि चाँडै तयार हुनु सम्भव छ? प्रेरित १६:२५-३४ मा उल्लेख गरिएझैं झ्यालखानाका हाकिम र तिनको परिवारलाई के भयो, विचार गर्नुहोस्। पावल र सिलास फिलिप्पीमा थुनिएका थिए तर मध्यरात ठूलो भुइँचालो जाँदा झ्यालखानाका ढोकाहरू उघ्रिए। कैदीहरू भागे होलान् र अब कठोर सजाय पाउनेछन् भन्ने सोचेका हाकिमले आत्महत्या गर्नै लाग्दा कैदीहरू सबै त्यहीं छन् भनी पावलले बताए। पावल र सिलासले “तिनलाई र तिनको घरमा भएका जत्ति सबैलाई प्रभुको वचन सुनाए।” तिनी र तिनको परिवार अन्यजातिहरू भएकोले तिनीहरूसित पवित्र धर्मशास्त्रबारे केही ज्ञान थिएन। यद्यपि, त्यही रात तिनीहरू विश्वासी भए। त्यति मात्रै होइन, “उनी र उनको परिवारले उत्तिखेरै बप्तिस्मा लिए।” ती असामान्य परिस्थितिहरू थिए तर नयाँ व्यक्तिहरूलाई आधारभूत सच्चाइ सिकाइन्थ्यो र तिनीहरूले मण्डलीका सभाहरूमा अरू कुराहरू सिक्थे। आज पनि त्यस्तै कुरा सम्भव हुनुपर्ने हो।
कटनी ठूलो छ!
१४. छोटो समयमा अझ धेरै बाइबल अध्ययनहरू प्रभावकारी ढंगमा सञ्चालन गर्नु किन खाँचो छ?
१४ यहोवाका साक्षीहरूले थोरै समयभित्र अझ बढी संख्यामा प्रभावकारी बाइबल अध्ययनहरू सञ्चालन गर्न सके बेस हुनेथियो। यसो गर्नु एकदमै खाँचो परेको छ। उदाहरणका लागि, पूर्वी युरोपका मुलुकहरूमा मानिसहरूले बाइबल अध्ययन गर्न पालो पर्खनुपर्छ। अन्य ठाउँहरूमा पनि अवस्था त्यस्तै छ। डोमिनिकन रिपब्लिकको एउटा शहरमा पाँच साक्षीहरूसित यति धेरैले बाइबल अध्ययन गर्न चाहन्थे, तिनीहरूले सबैसित अध्ययन सञ्चालन गर्नैसकेनन्। तिनीहरूले के गरे? तिनीहरूले जिज्ञासुहरूलाई राज्य भवनका सभाहरूमा उपस्थित भएर बाइबल अध्ययनको लागि नाउँ लेखाउन प्रोत्साहित गरे। संसारभरि थुप्रै ठाउँहरूमा अवस्था त्यस्तै छ।
१५, १६. परमेश्वरको ज्ञान चाँडचाँडो फैलाउन कुन कुराको प्रबन्ध गरिएको छ र यसका केही तथ्यहरू के हुन्?
१५ परमेश्वरका जनहरूको लागि बृहत् इलाका अर्थात् कटनीको लागि ठूलो क्षेत्र खुलिरहेको छ। “फसलका प्रभु,” यहोवाले बढी कामदारहरू पठाइरहनुभएको भए तापनि अझ थुप्रै काम बाँकी छ। (मत्ती ९:३७, ३८) तसर्थ, ‘विश्वासी दासले’ परमेश्वरको ज्ञान चाँडचाँडो फैलाउन समष्टिगत तवरमा विशिष्ट जानकारी प्रस्तुत गर्ने एउटा सहायक प्रदान गरेको छ। त्यसले बाइबल विद्यार्थीहरूलाई हरेक अध्याय अध्ययन गर्दै जाँदा आध्यात्मिक प्रगति गर्न मदत दिनेछ। यो गृह बाइबल अध्ययनमा अलि चाँडचाँडो अर्थात् केही महिनाभित्र सिध्याउन प्रयोग गर्न सकिने नयाँ प्रकाशन हो। अनि यो हाम्रो ब्रिफकेस, ह्याण्डब्याग वा खल्तीमै बोक्न सकिन्छ! यहोवाका साक्षीहरूको “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशनमा भेला भएका लाखौं व्यक्तिहरू ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ भन्ने १९२ पृष्ठ भएको नयाँ पुस्तक पाउँदा हर्षित भए।
१६ विभिन्न मुलुकका लेखकहरूले विषयवस्तु तयार पारे र यसलाई अन्ततः ज्ञान पुस्तकको रूपमा सतर्कतासाथ राखियो। तसर्थ, यो अन्तरराष्ट्रिय तवरमा सबैलाई मन पर्नुपर्ने हो। तर के यो पुस्तक संसारभरिका मानिसहरूको भाषामा विमोचन हुन धेरै समय लाग्ला? लाग्नेछैन किनभने ठूला पुस्तकहरूभन्दा १९२ पृष्ठ भएको पुस्तक चाँडो अनुवाद गर्न सकिन्छ। अक्टोबर १९९५ सम्म परिचालक निकायको लेखन समितिले यस पुस्तकलाई अंग्रेजी भाषाबाट १३० भन्दा बढी भाषाहरूमा अनुवाद गर्ने स्वीकृति दिइसकेको थियो।
१७. ज्ञान पुस्तक प्रयोग गर्न कुन कुराहरूले सजिलो बनाउनुपर्ने हो?
१७ ज्ञान पुस्तकको हरेक अध्यायका सुस्पष्ट बुँदा- हरूले विद्यार्थीलाई तुलनात्मक हिसाबमा चाँडचाँडो आध्यात्मिक प्रगति गर्न मदत दिनुपर्ने हो। यो पुस्तकले धर्मशास्त्रीय सच्चाइलाई उत्थानवर्धक ढंगमा प्रस्तुत गर्छ। यसले झूटा धर्मसिद्धान्तहरू सविवरण प्रस्तुत गर्दैन। यो पुस्तकको सुस्पष्ट भाषा तथा तार्किक स्पष्टीकरणले बाइबल अध्ययनहरू सञ्चालन गर्नुका साथै परमेश्वरको हृदयस्पर्शी ज्ञान बुझ्न मानिसहरूलाई मदत गर्नुपर्ने हो। यसमा बाइबलका शास्त्रपदहरू उद्धरण तथा उल्लेख गरिएका छन् र यसलाई विद्यार्थीहरूले अध्ययनको लागि तयारी गर्दा हेर्नसक्छन्। समयले भ्याएमा अध्ययनको दौडान यी पदहरू पढ्न सकिन्छ। तर मुख्य बुँदाहरू नै अस्पष्ट हुने ढंगमा थप विषयवस्तुहरू समावेश गर्नु बुद्धिमानी हुनेछैन। बरु, बाइबल अध्ययन सञ्चालकहरूले पुस्तकको हरेक अध्यायले प्रमाणित गर्न खोजेको कुरा बुझ्ने र विद्यार्थीलाई बुझाउने प्रयास गर्नुपर्छ। यसको अर्थ, शिक्षकले लगनशील भएर अध्ययन गर्नुपर्छ। यसो गर्दा तिनको मनमा मुख्य बुँदाहरू स्पष्ट हुन्छ।
१८. ज्ञान पुस्तकको प्रयोगसम्बन्धी कस्ता सुझावहरू दिइएका छन्?
१८ ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तकले चेला बनाउने कार्यलाई कसरी तीव्र पार्नेछ? यस १९२ पृष्ठ भएको पुस्तक तुलनात्मक हिसाबले छोटो समयमा अध्ययन गर्न सकिन्छ। “अनन्त जीवनका लागि नियुक्त भएकाहरू जत्तिले” यो अध्ययन गरेर यथेष्ट कुराहरू सिक्न सक्नुपर्ने हो ताकि तिनीहरूले समर्पण गरेर बप्तिस्मा लिन सकोस्। (प्रेरित १३:४८) अतः हामीले सेवकाईमा ज्ञान पुस्तकको पूर्ण सदुपयोग गरौं। बाइबल विद्यार्थीले अर्को पुस्तकबाट निकै अध्ययन गरिसकेका छन् भने त्यही पुस्तक सिध्याउनु बुद्धिमानी हुनेछ। अन्यथा ज्ञान पुस्तकबाट बाइबल अध्ययनहरू सञ्चालन गर्ने सुझाव दिइएको छ। यो नयाँ पुस्तक पढ्न सिद्धिएपछि त्यही विद्यार्थीसित अर्को पुस्तकबाट अध्ययन सञ्चालन गर्ने सुझाव दिइएको छैन। सच्चाइलाई स्वीकारेका व्यक्तिहरूले यहोवाका साक्षीहरूको सभामा उपस्थित हुनुका साथै बाइबललगायत अन्य विभिन्न मसीही प्रकाशनहरू आफैले पढेर ज्ञान पूरा गर्नसक्छन्।—२ यूहन्ना १.
१९. ज्ञान पुस्तकबाट बाइबल अध्ययनहरू सञ्चालन गर्नुअघि अर्गनाइज्ड टु अकम्प्लिश आवर मिनिस्ट्री-को (हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित) पृष्ठ १७५ देखि २१८ पुनरावलोकन गर्नु किन मदतकारी हुनेछ?
१९ यहोवाका साक्षीहरूको हैसियतमा बप्तिस्मा लिन चाहने बप्तिस्मा अप्राप्त प्रकाशकहरूसित प्राचीनहरूले पुनरावलोकन गर्ने सबै प्रश्नहरूको जवाफ दिन सकोस् भन्ने हेतुले यो ज्ञान पुस्तक लेखिएको थियो। यसर्थ, यस नयाँ प्रकाशनबाट बाइबल विद्यार्थीहरूसित अध्ययन थाल्नुअघि तपाईंले केही समय बिताएर अर्गनाइज्ड टु अकम्प्लिश आवर मिनिस्ट्री (हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित) (नेपालीमा उपलब्ध छैन) पुस्तकको पृष्ठ १७५ देखि २१८ का प्रश्नहरू पुनरावलोकन गर्ने सुझाव दिइएको छ।a यसप्रकार ज्ञान पुस्तकबाट बाइबल अध्ययन सञ्चालन गर्दा उठ्ने प्रश्नहरूको जवाफलाई जोड दिन मदत मिल्नेछ।
२०. ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तकलाई तपाईंले के गर्ने विचार गर्नुभएको छ?
२० संसारभरिका मानिसहरूले यो सुसमाचार सुन्नुपर्ने हो। हो, मानवजातिलाई परमेश्वरको ज्ञान चाहिन्छ र यहोवाले आफ्ना साक्षीहरू मार्फत यो ज्ञान दिनुहुन्छ। अब हामीसित हाम्रो स्वर्गमा हुनुहुने मायालु पिताले विश्वासी र बुद्धिमान दास मार्फत प्रबन्ध गर्नुभएको नयाँ पुस्तक छ। के तपाईंले सच्चाइ सिकाउन र यहोवाको पवित्र नाउँको आदर गर्न त्यो पुस्तक प्रयोग गर्नुहुनेछ? अनन्त जीवनतर्फ डोऱ्याउने ज्ञान धेरैलाई बाँड्नुहुँदा यहोवाले अवश्य नै तपाईंका हर प्रयासमा आशिष् दिनुहुनेछ।
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ तपाईं प्रतीकात्मक हृदयलाई कसरी वर्णन गर्नुहुन्छ?
◻ परमेश्वरको ज्ञान के हो?
◻ मानवजातिलाई परमेश्वरको ज्ञान किन चाहिन्छ?
◻ कुन नयाँ पुस्तक उपलब्ध छ र त्यसलाई तपाईंले कसरी प्रयोग गर्ने विचार गर्नुभएको छ?
[पृष्ठ १०-मा भएको चित्र]
पृथ्वीका अरबौं मानिसहरूलाई परमेश्वरको ज्ञान आवश्यक पर्नुका थुप्रै कारणहरू छन्