न्याय आसनसामु तपाईंको अवस्था कस्तो हुनेछ?
“तर जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ।”—मत्ती २५:३१.
१-३. न्यायको विषयमा हामी आशावादी हुने कस्तो कारण छ?
‘दोषी वा निर्दोष?’ केही मुद्दाहरूको प्रतिवेदन सुनेपछि धेरैको मनमा शंका उपशंकाहरू हुन्छन्। न्यायाधीशहरूले इमानदार हुने प्रयास गर्लान् तर के प्रायजसो निर्णय न्यायोचित हुन्छ र? के तपाईंले न्यायिक प्रक्रियाहरूमा अन्याय तथा असमानताबारे सुन्नुभएको छैन र? हामीले लूका १८:१-८ मा येशूको उदाहरणमा देखेअनुसार त्यस्तो अन्याय कुनै नौलो कुरा होइन।
२ मानव न्यायसम्बन्धी तपाईंको अनुभव जस्तोसुकै भए तापनि येशूको निष्कर्षमा ध्यान दिनुहोस्: “के परमेश्वरले आफ्ना चुनिएकाहरूका बदला लिनु हुन्न र? जसले उहाँलाई रातोदिन पुकार्दछ, . . . म तिमीहरूलाई भन्दछु, ‘उहाँले चाँड़ैनै तिनीहरूका बदला लिनुहुनेछ। त्यसो भए तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास पाउनेछ’?’”
३ हो, आफ्ना सेवकहरूले अन्ततः न्याय पाओस् भनेर यहोवाले प्रबन्ध गर्नुहुनेछ। विशेषगरि अहिले येशू पनि संलग्न हुनुहुन्छ किनभने हामी वर्तमान दुष्ट रीतिरिवाजको “आखिरी दिनमा” बाँचिरहेका छौं। यहोवाले चाँडै आफ्नो शक्तिशाली पुत्रद्वारा पृथ्वीबाट दुष्टतालाई पूर्णतया हटाउनुहुनेछ। (२ तिमोथी ३:१; २ थिस्सलोनिकी १:७, ८; प्रकाश १९:११-१६) येशूले बताउनुभएका अन्तिम उखानहरूमध्ये एउटाबाट हामीले येशूको भूमिकामा अन्तरदृष्टि प्राप्त गर्नसक्छौं। यसलाई भेडा र बाख्राको उखान भनिन्छ।
४. हामीले भेडा र बाख्राको उखानको समयावधिबारे के बुझेका थियौं तर अब यस उखानमा किन ध्यान केन्द्रित गर्नेछौं? (हितोपदेश ४:१८)
४ येशू सन् १९१४ मा राजा हुनुभएदेखि न्याय गरिरहनुभएको छ अर्थात् भेडाखाले मानिसहरूलाई अनन्त जीवन र बाख्राखाले मानिसहरूलाई अनन्त विनाशको लागि न्याय गरिरहनुभएको छ भनेर हामीले बुझ्दै आएका थियौं। तर त्यस उखानलाई पुनःर्विचार गरेर हेर्दा त्यसको समयावधि र अर्थ हामीले जसरी बुझ्दै आएका थियौं त्यसमा छाँटकाँट गर्नुपर्ने देखिन्छ। यस शुद्धीकरणले हाम्रो प्रचारकार्य तथा मानिसहरूको प्रतिक्रियाको महत्त्वलाई अझ सुदृढ बनाउँछ। यो उखानको अझ गहिरो अर्थको आधारलाई बुझ्न राजा तथा न्यायकर्ताको हैसियतमा यहोवा र येशूको भूमिकाबारे बाइबलले के बताउँछ, हेरौं।
सर्वोच्च न्यायकर्ताको हैसियतमा यहोवा
५, ६. यहोवालाई राजा र न्यायकर्ता दुवै मान्नु किन उपयुक्त छ?
५ यहोवा, ब्रम्हाण्डमा सर्वशक्तिमान हुनुहुन्छ। उहाँको सुरुआत र अन्त नभएकोले उहाँ ‘अनन्तका राजा’ हुनुहुन्छ। (१ तिमोथी १:१७; भजन ९०:२, ४; प्रकाश १५:३) उहाँसित विधान वा नियमकानुन बनाउने र त्यो लागू गराउने अख्तियार छ। तर उहाँको अख्तियारमा न्यायकर्ताको भूमिका समावेश छ। यशैया ३३:२२ ले यसो भन्छ: “परमप्रभु हाम्रा न्यायकर्त्ता हुनहुन्छ। परमप्रभु हाम्रा शासक हुनुहुन्छ। परमप्रभु हाम्रा राजा हुनुहुन्छ, उहाँलेनै हामीलाई बचाउनुहुनेछ।”
६ हर प्रकारका मामिला तथा विवादको न्यायकर्ता यहोवा नै हुनुहुन्छ भनेर परमेश्वरका सेवकहरूले निकैअघिदेखि स्वीकारेका छन्। उदाहरणको लागि, “सारा पृथ्वीका न्यायकर्त्ता[ले]” सदोम र गमोराको दुष्टतासम्बन्धी प्रमाणहरूलाई केलाउनुभएपछि उहाँले त्यहाँका बासिन्दाहरूलाई विनाशको योग्य ठहराउनुको साथै धार्मिक न्याय गर्नुभयो। (उत्पत्ति १८:२०-३३; अय्यूब ३४:१०-१२) यहोवा सधैं न्याय गर्न सक्नुहुने धार्मिक न्यायकर्ता हुनुहुन्छ भनेर यसले हामीलाई निस्सन्देह आश्वासन दिनुपर्ने हो!
७. इस्राएलसित व्यवहार गर्दा यहोवाले कसरी न्यायकर्ताको हैसियतमा कार्य गर्नुभयो?
७ पुरातन इस्राएलमा यहोवाले कहिलेकाहीं प्रत्यक्ष न्याय गर्नुभयो। तपाईं त्यतिखेर जीवित हुनुहुँदो हो त एक सिद्ध न्यायकर्ताले न्याय गरिरहनुभएको थाह पाउँदा के तपाईं ढुक्क हुनुहुने थिएन र? (लेवी २४:१०-१६; गन्ती १५:३२-३६; २७:१-११) परमेश्वरले न्याय गर्नको लागि पूर्णतया राम्रो स्तर साबित हुने “विधिविधानहरू” पनि दिनुभयो। (लेवी २५:१८, १९; नहेम्याह ९:१३; भजन १९:९, १०; ११९:७, ७५, १६४; १४७:१९, २०) उहाँ “सबका न्यायकर्त्ता” हुनुभएकोले हामी सबै प्रभावित छौं।—हिब्रू १२:२३.
८. दानियलले कस्तो सान्दर्भिक दर्शन देखे?
८ यस विषयमा हामीसित “प्रत्यक्षदर्शी[को]” प्रमाण छ। अगमवक्ता दानियललाई हिंस्रक जनावहरूको दर्शन दिइयो जसले सरकार वा साम्राज्यहरूलाई चित्रण गर्थ्यो। (दानियल ७:१-८, १७) तिनले अझै यसो भने: “सिंहासनहरू बसालिए, औ एक जना अति वृद्ध व्यक्ति त्यसमा बस्नुभयो। उहाँको पोशाक हिउँजस्तै सेतो थियो।” (दानियल ७:९) ध्यान दिनुहोस्, दानियलले सिंहासनहरू र ‘एक जना अति वृद्ध व्यक्ति [यहोवा] त्यसमा बस्नुभएको’ देखे। आफैलाई सोध्नुहोस्, ‘के यहाँ दानियलले परमेश्वर राजा हुनुभएको देखिरहेका थिए?’
९. सिंहासनमा ‘बस्नु’ भनेको के हो? उदाहरणहरू दिनुहोस्।
९ वास्तवमा, कोही सिंहासनमा “बस्नुभयो” भनी पढ्दा हामीले त्यस व्यक्ति राजा हुनुभयो भनी सोच्न सक्छौं किनभने बाइबलले कहिलेकाहीं त्यस्तै भाषा प्रयोग गर्छ। उदाहरणको लागि, “[जिम्री] राजा भएर राजगद्दी आरोहण गर्ने बित्तिकै तिनले . . . ” (१ राजा १६:११; २ राजा १०:३०; १५:१२; यर्मिया ३३:१७) मसीहसित सम्बन्धित एउटा भविष्यवाणीले यसो भन्यो: “आफ्नो सिंहासनमा विराजमान भएर राज्य गर्नेछ।” यसर्थ, ‘सिंहासनमा बस्नु’ भनेको राजा हुनु पनि हुनसक्छ। (जकरिया ६:१२, १३) यहोवा, सिंहासनमा बस्नुहुने राजा भनेर पनि वर्णन गरिएको छ। (१ राजा २२:१९; यशैया ६:१; प्रकाश ४:१-३) उहाँ “युगयुगका महाराजा” हुनहुन्छ। यद्यपि, उहाँले सार्वभौमिकताको नयाँ पक्ष घोषणा गर्नुहुँदा सिंहासनमा पुनः बस्नुभएझैं उहाँ राजा हुनुभयो भन्न सकिन्छ।—१ इतिहास १६:१, ३१; यशैया ५२:७; प्रकाश ११:१५-१७; १५:३; १९:१, २, ६.
१०. इस्राएली राजाहरूको प्रमुख भूमिका के थियो? व्याख्या गर्नुहोस।
१० तर यहाँ एउटा महत्त्वपूर्ण बुँदा छ: पुरातन राजाहरूको प्रमुख कार्य, न्यायिक मामिलाहरू सुन्नु र न्याय गर्नु थियो। (हितोपदेश २९:१४) दुइटी स्त्रीले एकै जना बच्चामाथि हक दाबी गर्दा सुलेमानको बुद्धिमान न्यायलाई सम्झनुहोस्। (१ राजा ३:१६-२८; २ इतिहास ९:८) तिनका सरकारी भवनहरूमध्ये एउटा “न्याय गर्दा बस्ने सिंहासन भएको” भवन थियो र त्यसलाई “न्यायको ठूलो कोठा” पनि भनिन्थ्यो। (१ राजा ७:७) यरूशलेमलाई “इन्साफको सिंहासन” भएको ठाउँ भनी वर्णन गरिन्थ्यो। (भजन १२२:५) स्पष्ट छ, ‘सिंहासनमा बस्नु’ भनेको न्यायिक अख्तियार प्रयोग गर्नु पनि हुनसक्छ।—प्रस्थान १८:१३; हितोपदेश २०:८.
११, १२. (क) दानियल अध्याय ७ मा उल्लेख गरिएअनुसार यहोवा विराजमान हुनुको अर्थ के थियो? (ख) यहोवा न्यायकर्ताको हैसियतमा बस्नुहुन्छ भनी अरू शास्त्रपदहरूले कसरी पुष्टि गर्छ?
११ अब हामी दानियलले देखेको ‘अति वृद्ध व्यक्ति बस्नुभएको’ दृश्यमा ध्यान केन्द्रित गरौं। दानियल ७:१० ले यसप्रकार थप विवरण दिन्छ: “न्यायको निम्ति दरबार बस्यो, औ पुस्तकहरू खोलिए।” हो, संसारमाथि प्रभुता र मानिसको पुत्र शासन गर्न योग्य छ कि छैन भनी न्याय गर्न अति वृद्ध व्यक्ति बसेका थिए। (दानियल ७:१३, १४) त्यसपछि हामी यस्तो लेखिएको पाउँछौं: सर्वोच्चका “पवित्र जनहरूका पक्षमा निर्णय दिइयो” र तिनीहरू मानिसको पुत्रसित शासन गर्न योग्य ठहरिएकाहरू हुन्। (दानियल ७:२२) अन्ततः “न्यायको दरबार बस्नेछ” र अन्तिम विश्व शक्तिमाथि प्रतिकूल न्याय गर्नेछ।—दानियल ७:२६a
१२ अतः, दानियलले परमेश्वर ‘सिंहासनमा विराजमान’ हुनुभएको देख्नुको अर्थ उहाँ न्याय गर्न आउनु हो। यसअघि दाऊदले यसरी गाएका थिए: “तपाईंले [यहोवा] मेरा न्याय र मामिला कायम गरिदिनुभएको छ, धर्मपूर्वक इन्साफ गरेर तपाईं सिंहासनमा विराजमान हुनुहुन्छ।” (भजन ९:४, ७) अनि योएलले यस प्रकार लेखे: “अन्यजातिहरू सुरिऊन् र यहोशापातको बेंसीमा आऊन्, किनकि त्यहींनै म [यहोवा] चारैतिरका जातिहरूको इन्साफ गर्नलाई बस्नेछु।” (योएल ३:१२; यशैया १६:५ तुलना गर्नुहोस्।) येशू र पावल दुवैले एउटै प्रकारको न्यायिक परिस्थिति सामना गरे किनभने तिनीहरूको न्याय मानिसले सुनाउने थियो।b—यूहन्ना १९:१२-१६; प्रेरित २३:३; २५:६.
येशूको स्थान
१३, १४. (क) येशू राजा हुनुहुनेछ भनी परमेश्वरका जनहरूसित कस्तो आश्वासन थियो? (ख) येशू सिंहासनमा कहिले बस्नुभयो र उहाँले कुन अर्थमा सा.यु. ३३ देखि शासन गर्न थाल्नुभयो?
१३ यहोवा राजा र न्यायकर्ता दुवै हुनुहुन्छ। येशू नि? उहाँको जन्मबारे घोषणा गर्ने स्वर्गदूतले यसो भने: “परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। . . . र उहाँको राज्यको अन्त हुनेछैन।” (लूका १:३२, ३३) दाऊदको राजत्वको स्थायी उत्तराधिकारी येशू हुनुहुने थियो। (२ शमूएल ७:१२-१६) उहाँले स्वर्गबाट शासन गर्नुहुने थियो किनभने दाऊदले यसरी भने: “परमप्रभुले मेरा प्रभुलाई [येशू] भन्नुभयो, तिमी मेरो दाहिने हाततर्फ बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउन्नँ। परमप्रभुले सियोनबाट तिम्रा पराक्रमको राजदण्ड पठाउनुहुनेछ, तिम्रा शत्रुहरूका बीचमा तिमीले राज्य गर।”—भजन ११०:१-४.
१४ त्यो कहिले हुनेथियो? मानवको रूपमा हुनुहुँदा येशूले राजाको हैसियतमा शासन गर्नुभएन। (यूहन्ना १८:३३-३७) उहाँ सा.यु. ३३ मा मर्नुभयो, बिउँताइनुभयो र स्वर्गारोहण हुनुभयो। हिब्रू १०:१२ ले यसो भन्छ: “ख्रीष्टले ता पापको निम्ति सदाको लागि एउटै बलिदान चढ़ाएर उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नुभयो।” येशूसित कस्तो अख्तियार थियो? “[परमेश्वरले] आफ्नो दाहिने बाहुलीतर्फ सबै शासन, र अख्तियार, र शक्ति, र प्रभुत्व, र . . . अति श्रेय स्वर्गीय स्थानहरूमा बसाल्दा . . . र उहाँलाई सबै कुराको शिर हुनालाई मण्डलीलाई दिनुभयो।” (एफिसी १:२०-२२) त्यतिबेला येशूसित मसीहीहरूमाथि राजकीय अख्तियार भएकोले पावलले यसप्रकार लेख्न सके, यहोवाले “हामीलाई अन्धकारको शक्तिदेखि छुटाउनु र आफ्नो प्रेमी पुत्रको राज्यभित्र परिवर्त्तन गराउनुभयो।”—कलस्सी १:१३; ३:१.
१५, १६. (क) सा.यु. ३३ मा येशू परमेश्वरको राज्यको राजा हुनुभएन भनेर हामी किन भन्न सक्छौं? (ख) येशूले परमेश्वरको राज्यमा कहिलेदेखि शासन गर्न थाल्नुभयो?
१५ तथापि, त्यतिबेला येशूले राष्ट्रहरूमाथि राजा र न्यायकर्ताको हैसियतमा काम गर्न थाल्नुभएन। उहाँ परमेश्वरको छेऊमा बसालिनुभयो र परमेश्वरको राज्यको राजाको हैसियतमा काम गर्ने समय पर्खनुभयो। पावलले उहाँबारे यसरी लेखे: “स्वर्गदूतहरूमा कुन चाहिंलाई उहाँले कुनै बेला भन्नुभएको छ? ‘तिमी मेरो दाहिने हातितर बस, जहिलेसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउको पाउदान तुल्याउन्नँ।”—हिब्रू १:१३.
१६ येशू सन् १९१४ मा अदृश्य स्वर्गमा परमेश्वरको राज्यको शासक हुनुहुँदा उहाँले पर्खेर बस्नुपर्ने समयावधि अन्त भयो भन्ने यथेष्ट प्रमाणहरू यहोवाका साक्षीहरूले प्रकाशित गरेका छन्। प्रकाश ११:१५, १८ ले यसो भन्छ: “पृथ्वीको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ, उहाँले सदा सर्वदा राज्य गर्नुहुनेछ।” “औ जाति जातिहरू क्रोधित भए, . . . र तपाईंको क्रोध आएको छ।” हो, प्रथम विश्वयुद्ध ताका राष्ट्रहरू एकअर्काप्रति क्रोधित भए। (लूका २१:२४) अहिले परमेश्वरको राज्यमा येशूले शासन गरिरहनुभएको छ र संसारको अन्त नजीकै छ भनेर सन् १९१४ देखि हामीले देखिरहेको युद्ध, भुइँचालो, रोग, अनिकाल तथा त्यस्तै अन्य घटनाहरूले प्रमाणित गर्छ।—मत्ती २४:३-१४.
१७. हामीले अहिलेसम्म कुन मुख्य बुँदाहरू बुझ्यौं?
१७ संक्षिप्त पुनरावृत्ति यसप्रकार छ: राजाको हैसियतमा परमेश्वर सिंहासनमा विराजमान हुनुभयो भन्न सकिन्छ। तर अर्को अर्थमा, उहाँ न्याय गर्न सिंहासनमा बस्न सक्नुहुन्छ। सा.यु. ३३ मा येशू परमेश्वरको दाहिने बाहुलीमा बस्नुभयो र अहिले त्यस राज्यको राजा हुनुहुन्छ। तर अहिले शासनारूढ राजा, येशू के न्यायकर्ता पनि हुनुहुन्छ? अनि विशेषगरि अहिले यो हाम्रो लागि किन चासोको विषय हो?
१८. येशू न्यायकर्ता पनि हुनुहुनेछ भन्ने के प्रमाण छ?
१८ न्यायकर्ताहरू नियुक्त गर्न अधिकारयुक्त यहोवाले आफ्नो स्तरअनुरूप येशूलाई न्यायकर्ता नियुक्त गर्नुभयो। मानिसहरू आध्यात्मिक तवरमा जीवित रहने विषयमा बताउनुहुँदा येशूले यसप्रकार व्यक्त गर्नुभयो: “पिताले कसैको इन्साफ गर्नुहुन्नँ, तर सबै इन्साफ गर्ने काम पुत्रलाई दिनुभएको छ।” (यूहन्ना ५:२२) यद्यपि, येशूको न्यायिक भूमिका त्यस प्रकारको न्याय गर्ने मात्रै होइन किनभने उहाँ जीवित तथा मृतकको न्यायकर्ता हुनुहुन्छ। (प्रेरित १०:४२; २ तिमोथी ४:१) पावलले एक चोटि यस्तो घोषणा गरे: “[परमेश्वरले] एक दिन ठहराउनुभएको छ, जुन दिनमा उहाँ आफूले नियुक्त गर्नुभएको मानिसद्वारा [येशू] धर्मपूर्वक संसारको इन्साफ गर्नुहुनेछ, जसको बारेमा उहाँलाई मरेकोबाट बिउँताएर सबै मानिसहरूलाई उहाँले विश्वास दिलाउनुभएको छ।”—प्रेरित १७:३१; भजन ७२:२-७.
१९. येशू न्यायकर्ताको हैसियतमा बस्नुहुन्छ भन्नु किन सही हो?
१९ न्यायकर्ताको विशिष्ट भूमिका निर्वाह गर्न येशू महिमित सिंहासनमा बस्नुहुन्छ भन्ने निष्कर्षमा पुग्नु के तर्कसंगत हो? हो। येशूले प्रेरितहरूलाई यसो भन्नुभयो: “नयाँ सृष्टिमा जब मानिसको पुत्र आफ्ना महिमाको सिंहासनमा बस्नेछ, तब तिमीहरू पनि इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्दै बाह्रै सिंहासनमा बस्नेछौ।” (मत्ती १९:२८) येशू अहिले त्यस राज्यको राजा हुनु भए तापनि उहाँको थप क्रियाकलाप मत्ती १९:२८ मा उल्लेख गरिएको छ। त्यहाँ भनिएअनुसार उहाँले सहस्र राज्यमा न्याय गर्न सिंहासनमा बस्नुहुनेछ। त्यतिखेर उहाँले धर्मी तथा अधर्मी सम्पूर्ण मानवजातिको न्याय गर्नुहुनेछ। (प्रेरित २४:१५) हाम्रो समय र जीवनसित सम्बन्धित येशूको उखानमा ध्यान केन्द्रित गर्दा यो कुरालाई मनमा राख्नु मदतकारी हुन्छ।
उखानले के भन्छ?
२०, २१. हाम्रो समयसित सम्बन्धित कुन प्रश्न येशूका प्रेरितहरूले सोधे?
२० येशू मर्नुभन्दा केही समयअघि उहाँका प्रेरितहरूले सोधे: “हामीलाई भन्नुहोस्, यो कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र जगत्को अन्तको चिन्ह के हुनेछ?” (मत्ती २४:३) ‘अन्त आउनुअघि’ हुने उल्लेखनीय घटनाहरूबारे येशूले भविष्यवाणी गर्नुभयो। त्यस अन्तको अलिक समयअघि राष्ट्रहरूले “मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासित आउँदैगरेको देख्नेछन्।”—मत्ती २४:१४, २९, ३०.
२१ तर, मानिसको पुत्र महिमासित आउँदा ती राष्ट्रहरूका मानिसहरूको अवस्था कस्तो हुनेछ? आउनुहोस्, भेडा र बाख्राहरूको उखानबाट यसलाई बुझौं। त्यस उखानको सुरुका शब्दहरू यसप्रकार छन्: “जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। औ उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्।”—मत्ती २५:३१, ३२.
२२, २३. भेडा र बाख्राको उखानको पूर्ति सन् १९१४ देखि सुरु भएन भनी कुन बुँदाहरूले औंल्याउँछ?
२२ हामीले पहिलेदेखि बुझ्दै आएअनुसार के यस उखानले सन् १९१४ मा येशूले राजकीय शक्ति लिएर बस्नुभएको समयलाई बुझाउन खोजेको हो? वास्तवमा, मत्ती २५:३४ ले उहाँलाई राजा भनी अवश्य भनेको छ। अतः, सन् १९१४ मा येशू राजा हुनुभएदेखि यस उखान लागू हुन्छ भन्नु तर्कसंगत देखिन्छ। तर उहाँले तत्पश्चात् तुरुन्तै कस्तो न्याय गर्नुभयो? उहाँले “सबै देश[को]” न्याय गर्नुभएन। बरु, उहाँले “परमेश्वरकै परिवार” भनौंदाहरूतर्फ ध्यान केन्द्रित गर्नुभयो। (१ पत्रुस ४:१७) मलाकी ३:१-३ अनुरूप यहोवाको सन्देशवाहकको हैसियतमा येशूले पृथ्वीका शेष अभिषिक्त मसीहीहरूको न्यायिक निरीक्षण गर्नुभयो। यो मसीहजगतमाथि न्यायदण्डको समय पनि थियो, जसले आफूलाई “परमेश्वरकै परिवार” भन्ने झूटो दाबी गरेका थिए।c (प्रकाश १७:१, २; १८:४-८) यद्यपि, त्यतिबेला अर्थात् सन् १९१४ देखि येशूले सबै देशका मानिसहरूलाई भेडा र बाख्रा भनी न्याय गर्न थाल्नुभयो भन्ने कुनै संकेत पाइँदैन।
२३ त्यस उखानमा येशूको क्रियाकलापलाई केलायौं भने उहाँले अन्ततः सबै देशलाई न्याय गरिरहनुभएको देख्छौं। गत दशकहरूमा मरेका सबै मानिसहरूको अनन्त मृत्यु वा अनन्त जीवनको लागि न्याय गरिएझैं अर्थ लाग्ने त्यो न्याय निकै वर्षसम्म चालू भइरहनेछ भनी त्यस उखानले देखाउँदैन। हालैका दशकहरूमा मरेका अधिकांश व्यक्तिहरू सार्वजनिक चिहानमा छन् जस्तो देखिन्छ। (प्रकाश ६:८; २०:१३) तर, त्यस उखानले “सबै देशका” मानिसहरूलाई येशूले न्याय गर्नुहुने समयको चित्रण गर्छ जुन बेला तिनीहरू जीवित र उहाँको न्यायदण्ड पर्खिरहेका हुनेछन्।
२४. भेडा र बाख्राको उखान कहिले पूरा हुनेछ?
२४ अर्को शब्दमा भन्ने हो भने, त्यस उखानले भविष्यमा मानिसको पुत्र महिमासित आउने समयलाई इंगित गर्छ। त्यतिबेला जीवित मानिसहरूको न्याय गर्न उहाँ सिंहासनमा बस्नुहुनेछ। तिनीहरू वास्तवमा जस्ता छन् त्यसैको आधारमा उहाँले न्याय गर्नुहुनेछ। त्यतिखेर “धर्मी र दुष्टबीचको भिन्नता” स्पष्ट भइसकेको हुनेछ। (मलाकी ३:१८) सीमित समयभित्र न्याय घोषणा गरेर न्याय गरिनेछ। त्यसपछि व्यक्तिविशेषबारे प्रमाणित भइसकेका तथ्यहरूको आधारमा येशूले सही निर्णयहरू गर्नुहुनेछ।—२ कोरिन्थी ५:१० पनि हेर्नुहोस्।
२५. मत्ती २५:३१ मा मानिसको पुत्र महिमित सिंहासनमा बसिरहेको देख्नुको आशय के हो?
२५ त्यसोभए, यसको अर्थ, मत्ती २५:३१ मा उल्लेख गरेअनुसार येशू ‘महिमाको सिंहासनमा बस्नु’ भनेको भविष्यमा हुने घटना हो। त्यतिबेला यस शक्तिशाली राजाले सबै देशहरूमाथि न्यायको घोषणा तथा त्यसलाई कार्यान्वयन गर्न सिंहासनमा बस्नुहुनेछ। हो, मत्ती २५:३१-३३, ४६ मा येशूले गर्नुहुने न्यायको दृश्यलाई दानियल अध्याय ७ को दृश्यसित दाँज्न सकिन्छ। त्यस दृश्यमा शासनारूढ राजा अर्थात् अति वृद्धि व्यक्ति सिंहासनमा बस्नुभएर न्यायकर्ताको भूमिका निर्वाह गर्न थाल्नुभयो।
२६. यो उखानको कुन नयाँ स्पष्टिकरण प्रष्ट भयो?
२६ भेडा र बाख्राको उखानको यो अर्थले भेडा र बाख्राको न्याय भविष्यमा हुनेछ भनेर संकेत गर्छ। मत्ती २४:२९, ३० मा उल्लिखित “संकष्ट[को]” सुरुआत र मानिसको पुत्र ‘महिमासित आएपछि’ यो न्याय हुनेछ। (मर्कूस १३:२४-२६ तुलना गर्नुहोस्।) त्यसपछि, सम्पूर्ण दुष्ट रीतिरिवाज अन्तको संघारमा पुगेपछि येशूले सबैलाई भेला गर्नुभएर न्याय गर्नुहुनेछ।—यूहन्ना ५:३०; २ थिस्सलोनिकी १:७-१०.
२७. येशूको अन्तिम उखानबारे कुन कुरा जान्न हामी उत्सुक हुनुपर्ने हो?
२७ यसले येशूको उखानको समयावधिलाई स्पष्ट पार्छ। त्यसमा भेडा र बाख्राको न्याय कहिले हुनेछ भनेर देखाइएको छ। तर अहिले जोशका साथ राज्यको सुसमाचार प्रचार गरिरहेकाहरूलाई यसले कसरी असर गर्छ? (मत्ती २४:१४) के यसले हाम्रो कार्यलाई कम महत्त्वपूर्ण बनाउँछ वा हामीमाथि अझ गहन जिम्मेवारी ल्याउँछ? हामी कसरी प्रभावित छौं, यसपछिको लेखमा हेरौं।
[फुटनोटहरू]
a दानियल ७:१०, २६ मा “दरबार” अनुवाद गरिएको शब्द एज्रा ७:२६ र दानियल ४:३७; ७:२२ मा पनि पाइन्छ।
b मसीहीहरूले एकअर्कालाई अदालतमा लग्ने सन्दर्भमा पावलले यसप्रकार प्रश्न गरे: “के मण्डलीमा केही भाव नभएकाहरूलाई इन्साफ गर्न नियुक्त गर्छौ [अक्षरसः भन्ने हो भने, “के तिमीहरूले तिनीहरूलाई स्थान दिइरहेका छौ”]?”—१ कोरिन्थी ६:४.
c वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी-द्वारा प्रकाशित प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तकको पृष्ठ ५६, ७३, २३५-४५, २६० हेर्नुहोस्।
के तपाईंलाई सम्झना छ?
◻ यहोवा राजा र न्यायकर्ता दुवै कसरी हुनुहुन्छ?
◻ ‘सिंहासनमा बस्नुको’ कुन दुइटा अर्थ हुनसक्छ?
◻ मत्ती २५:३१ को समयावधिबारे हामीले पहिले के भन्दै आएका थियौं तर संशोधित दृष्टिकोणको कस्तो आधार छ?
◻ मत्ती २५:३१ ले औंल्याएअनुसार मानिसको पुत्र सिंहासनमा कहिले बस्नुहुन्छ?