पुनरुत्थानमाथि तपाईं कत्तिको विश्वास गर्नुहुन्छ?
“पुनरुत्थान र जीवन मै हुँ, मलाई विश्वास गर्ने मऱ्यो भने पनि बाँच्नेछ।”—यूहन्ना ११:२५.
१, २. यहोवाका उपासकहरूले पुनरुत्थानको आशामाथि भरोसा गर्नु किन आवश्यक छ?
पुनरुत्थानमाथि तपाईं कत्तिको आशा राख्नुहुन्छ? के त्यसले मृत्युको भय हटाएको छ वा प्रियजनको मृत्यु हुँदा सान्त्वना दिएको छ? (मत्ती १०:२८; १ थिस्सलोनिकी ४:१३) के तपाईं पनि परमेश्वरका ती प्राचीन सेवकहरू जस्तै हुनुहुन्छ जसले पुनरुत्थानको विश्वासको बल पाएर कोर्रा, गिल्ला, यातना अनि कैद सहे?—हिब्रू ११:३५-३८.
२ हो, यहोवाका निष्कपट उपासकले पुनरुत्थानमाथि शंका नगर्नुपर्ने हो र उसको जीवनशैलीलाई समेत त्यसले असर गर्नुपर्ने हो। हुन पनि, परमेश्वरले तोक्नुभएको समयमा समुद्र, मृत्यु र हेडिसले आफूमा भएका मुर्दाहरूलाई फर्काइदिनेछन् र यसरी फर्किनेहरूले प्रमोदवनरूपी पृथ्वीमा सधैंभरि बाँच्न पाउनेछन् भन्ने प्रत्याशा साँच्चै अद्भुत छ।—प्रकाश २०:१३; २१:४, ५.
भावी जीवनको आशंका
३, ४. मृत्युपछिको जीवनबारे थुप्रै मानिसहरूको अझै के विश्वास छ?
३ मृत्युपछि पनि मान्छे बाँचिरहन्छ भनेर मसीहीजगत्ले सिकाउन थालेको धेरै भइसक्यो। यु.एस. क्याथोलिक भन्ने पत्रिकाको एउटा लेखमा यस्तो लेखिएको थियो: “युगौंदेखि मसीहीहरूले शान्ति, सन्तुष्टि अनि खुसीले भरिएको अर्को जुनीको कल्पना गरेर नैराश्य तथा कष्ट बिर्सन खोज्दै आएका छन्।” मसीही भनौंदा थुप्रै मुलुकका मानिसहरू हाल धर्मलाई वास्ता नगर्ने वा शंकालु दृष्टिले हेर्ने खालका भइसकेका भए तापनि मृत्युपछि बाँचिरहने केही चीज हुनैपर्छ भनेर विश्वास गर्नेहरू थुप्रै छन्। यद्यपि, तिनीहरूले कतिपय कुराहरू यस्तै हो भनेर किटान गर्न भने सकेका छैनन्।
४ टाइम पत्रिकामा प्रकाशित लेखले यस्तो टिप्पणी गरेको थियो: “[मृत्युपछि पनि जीवन चलिरहन्छ भनेर] मानिसहरूले विश्वास गर्न छाडेका होइनन्: यति हो, मृत्युपछिको जीवनबारे तिनीहरूको जे-जस्तो धारणा थियो, त्यो अब अस्पष्ट हुन थालेको छ र आफ्ना पास्टरहरूले त्यसबारे कमै उल्लेख गरेका सुन्छन्।” अचेल धार्मिक सेवकहरू किन पहिलेजस्तो मृत्युपछिको जीवनबारे त्यति कुरा गर्दैनन्? धार्मिक विद्वान् जेफ्रि बर्टन रसल यस्तो जवाफ दिन्छन्: “मेरो विचारमा [पादरीहरू] आमजनताले शंका वा अविश्वास प्रकट गरेका विषय छुन चाहँदैनन्।”
५. अचेल थुप्रै मानिसहरू नरकको सिद्धान्तलाई कुन दृष्टिले हेर्छन्?
५ प्रायजसो चर्चहरूमा मृत्युपछिको जीवनको चर्चा हुँदा या त स्वर्ग कि अग्निमय नर्ककै कुरा हुन्छ। अनि स्वर्गबारे चर्चा गर्न नचाहने पादरीहरू नर्कबारे कुरा गर्न झनै हिचकिचाउँछन्। यस्तै विषयलाई लिएर एउटा समाचारपत्रले भनेको थियो: “नरकमा अनन्त सास्ती दिइन्छ भनेर विश्वास गर्ने चर्चहरूसमेत अचेल त्यसबारे त्यति कुरा गर्दैनन्।” हुन पनि, धेरैजसो आधुनिक धर्मविज्ञानीहरू पहिले पहिले मध्य युगताक मानिसहरूलाई सिकाइएजस्तो नरक भन्ने ठाउँ साँच्चै छ भनेर विश्वास गर्दैनन्। बरु तिनीहरू नरकको “समानुभूतिशील” परिभाषा दिन रुचाउँछन्। उदाहरणका लागि, थुप्रै आधुनिकीहरू पापीहरू साँच्चै नरकमा पोलिन होइन बरु “परमेश्वरबाट अलग्गिनु पर्दा” दुःख भोग्छन् भन्छन्।
६. अप्रिय घटनाको शिकार हुनुपर्दा धेरैजसो मानिसहरू आफ्नो विश्वास पक्का रहेनछ भनेर कसरी थाह पाउँछन्?
६ आधुनिक विचारधारा राख्ने मानिसहरूलाई नचिढ्याउन चर्चका सिद्धान्तहरूलाई यसरी हल्का पार्दा कोही कोही अलोकप्रिय हुनदेखि जोगिइएला तर चर्च जाने करोडौं निष्कपट जनता केमा विश्वास गर्ने भनेर अन्योलमा पर्छन्। मृत्युको सामना गर्नुपर्दा यस्ता मानिसहरूको विश्वास पक्का हुँदैन। तिनीहरूको मनोवृत्ति पनि त्यस स्त्रीको जस्तै हुन्छ जसले आफ्ना परिवारका तीन-चार सदस्यलाई दुर्घटनाका कारण गुमाउनु पऱ्यो। यस्तो अवस्थामा धर्मले कत्तिको सान्त्वना दियो त भनेर सोध्दा त्यस स्त्रीले हिचकिचाउँदै भनिन्, “खै, के सान्त्वना दियो भन्ने।” तिनले, होइन सान्त्वना दिएको छ भनेकी भए पनि यदि तिनको विश्वासको कुनै आधारै छैन भने त्यसले कतिञ्जेल पो तिनलाई फाइदा गर्ला र? यसरी सोच्नु अत्यावश्यक छ। किनभने चर्चले मृत्युपछि जस्तो जीवन हुन्छ भनेर सिकाइरहेको छ, बाइबलभन्दा धेरै फरक छ।
मृत्युपछि जीवनबारे मसीहीजगत्को धारणा
७. (क) अधिकांश चर्चहरूको कुन एउटै विश्वास छ? (ख) एक धर्मविज्ञानीले अमर आत्माको सिद्धान्तलाई कसरी वर्णन गरे?
७ मसीहीजगत्का विभिन्न पन्थहरूको आ-आफ्नै सिद्धान्तहरू भए तापनि तिनीहरू सबै शरीर मरे पनि आत्मा कहिल्यै मर्दैन भनेर विश्वास गर्छन्। थुप्रै मानिसहरू शरीर मरेपछि आत्मा स्वर्ग जान्छ भन्छन् भने कोही कोही चाहिं आफ्नो आत्मा अग्निमय नरकमा जाला वा बैतर्नीमा गएर अड्केला भनेर डराउँछन्। तर जे होस्, आत्मा अमर हुन्छ भन्ने धारणामानै तिनीहरूले भावी जीवनबारे जे-जस्तो विश्वास गरेका हुन्छन् त्यो आधारित हुन्छ। धर्मविज्ञानी अस्कर कुलम्यानले अमरत्व अनि पुनरुत्थान भन्ने (अंग्रेजी) किताबमा प्रकाशित निबन्धमा यसैबारे यो टिप्पणी गरेका थिए। तिनले लेखे: “मरेपछि मानिसलाई के हुन्छ भनेर नयाँ नियमबाट के सिक्नुभयो भनेर जुनसुकै मसीहीलाई सोध्नुहोस्, कमैले ‘अमर आत्माको’ कुरा नगरी अरू नै जवाफ देला।” तथापि, कुलम्यानले यसो पनि भने: “थुप्रै मानिसहरूको यो धारणा मसीही धर्मले अपनाएको सबैभन्दा ठूलो गलत धारणा हो।” आफूले त्यसो भन्दा मानिसहरू आक्रोशित भएको पनि कुलम्यानले उल्लेख गरे। तथापि, तिनले जे भने, सही भने।
८. यहोवाले प्रथम नर र नारीलाई कुन चाहिं आशा दिनुभयो?
८ मानिसहरू मरेपछि स्वर्ग जाऊन् भनेर यहोवा परमेश्वरले सृष्टि गर्नुभएको थिएन। अझ भनौं, भने मानिसहरू मरून् भन्ने उहाँको उद्देश्य नै थिएन। आदम र हव्वालाई सिद्ध सृष्टि गरिएको थियो र तिनीहरू सामु धर्मी सन्तानहरूले पृथ्वी ढाक्ने मौका थियो। (उत्पत्ति १:२८; व्यवस्था ३२:४) परमेश्वरको आज्ञा उल्लंघन गरेको खण्डमा मात्र मर्नेछन् भनेर हाम्रा प्रथम आमाबाबुलाई भनिएको थियो। (उत्पत्ति २:१७) स्वर्गमा हुनुहुने आफ्नो पिताको कुरा मानेका भए तिनीहरू सधैंभरिका लागि बाँचिरहेका हुन्थे।
९. (क) के मानिससित अमर आत्मा छ? (ख) मरेपछि के हुन्छ?
९ दुःखको कुरा, आदम र हव्वा आज्ञाकारी भइरहन सकेनन्। (उत्पत्ति ३:६, ७) परमेश्वरको आज्ञा उल्लंघन गरेपछि त्यसको दुःखलाग्दो नतिजा प्रेरित पावलले भनेझैं भयो: “एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्।” (रोमी ५:१२) पृथ्वीमा सधैंभरि बाँचिरहनुको साटो आदम र हव्वा मरे। अनि त्यसपछि? के तिनीहरूको शरीरभित्र अग्निमय नरकमा लगेर पापको दण्ड दिन सकिने त्यस्तो कुनै अमर आत्मा थियो? आदम र हव्वाको मृत्यु हुँदा तिनीहरू पूर्णतया निर्जीव भए। आखिर त्यही नै भयो जुन कुरा यहोवाले आदमलाई भन्नुभएको थियो: “माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्। किनकि माटैबाट तँ निकालिएको थिइस। तँ माटै होस् र माटैमा फर्किजानेछस्।”—उत्पत्ति ३:१९.
१०, ११. बाइबलले आत्माबारे दिने शिक्षालाई लिएर डन फ्लेमिंगको (हिन्दी) बाइबल शब्दकोशले कुन कुरा मानिलिन्छ र त्यो बाइबलको शिक्षासित कत्तिको मेल खान्छ?
१० डन फ्लेमिंगको हिन्दी बाइबल शब्दकोश वस्तुतः यससित सहमत छ। आत्माको छलफल गर्दै सो शब्दकोश यसो भन्छ: “आत्मा शरीरदेखि अलग्गै रहनसक्ने कुरा हो भनेर पुराना नियमका लेखकहरूले कहिल्यै भनेनन्। तिनीहरूका लागि आत्माको (नेफेश) अर्थ जीवन थियो। पशु तथा मनुष्य दुवै ‘नेफेश’ अर्थात् जीवधारी हुन्। पुराना अंग्रेजी संस्करणहरूले ‘मानिस जीवित (आत्मा) प्राणी भयो’ (उत्पत्ति २:७) भनी अनुवाद गरेर मानिसहरूलाई निकै अन्योलमा पारेका छन्। अन्य अनुवादहरूमा पनि सुरु सुरुका पदहरूमा गरिएजस्तै जीवित प्राणी भनेर नै अनुवाद गरिएको छ। (उत्पत्ति १:२१,२४) जीवधारी नै नेफेश हो (वा साइक: प्रकाश ८:९)।” उक्त किताब के पनि भन्छ भने: “ मानिस निर्जीव देह र देहरहित प्राण मिलेर बनेको छ भन्ठान्नु हुँदैन बरु सिंगो एकाइ सम्झनुपर्छ। यो नेफेश-लाई ‘व्यक्ति’ भनेर पनि अनुवाद गर्न सकिन्छ।” यस्तो स्पष्टीकरण चित्तबुझ्दो छ। तथापि, यदि त्यसो हो भने चर्च धाउने प्रायःलाई यो कुरा किन बताइएन त?
११ मानिससित मरेपछि पनि बाँचिरहने अनि दुःख भोग्नसक्ने त्यस्तो कुनै चीज छैन भनेर बाइबलले स्पष्टै बताएको छ। चर्च धाउने ती थुप्रै भक्तालुहरूलाई यो सरल सत्य वचन सिकाएको भए बिचराहरू चिन्ता र डरदेखि कति मुक्त हुन्थे होलान्। यो सत्य वचन मसीहीजगत्ले सिकाउने कुराभन्दा बेग्लै भए तापनि बुद्धिमान, मानिस सुलेमानले प्रेरित भई बोलेका निम्न शब्दहरूसित भने पूर्णयता मेल खान्छ: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्, तर मरेकाहरूले ता केही पनि जान्दैनन्। तिनीहरूका निम्ति [यो जीवनमा] केही प्रतिफल हुँदैन। तिनीहरू बिलकुलै बिर्सिजानेछन्। तेरो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले गर्, किनभने मृत्युमा, जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्ति, न बुद्धिनै हुन्छ।”—उपदेशक ९:५, १०.
१२. मसीहीजगत्ले अमर आत्माको शिक्षा कहाँबाट लिएको थियो?
१२ उसोभए मसीहीजगत्का धर्मगुरुहरू बाइबलसित पटक्कै मेल नखाने कुरा किन सिकाउँछन् त? न्यु क्याथोलिक इनसाइक्लोपीडिया-अनुसार पहिले पहिले चर्चका पादरीहरूले बाइबलको आधारमा होइन तर “कवि, दार्शनिक, प्रचलित युनानी दर्शनको आधारमा आत्मा अमर हुन्छ भनेर सिकाए। . . . पछि, पण्डितहरूले प्लेटो वा अरस्तुको सिद्धान्तहरूलाई आधार मानेर अमर आत्माको शिक्षा दिन थाले।” अन्ततः, आत्मा अमर हुन्छ भन्ने विश्वासलगायत “प्लेटोवादी र नवप्लेटोवादी दर्शन”-लाई “मसीही धर्ममा” घुसाएर प्रमुख सिद्धान्तहरूमध्ये एक बनाइयो भनेर उक्त इनसाइक्लोपीडिया प्रकाश पार्छ।
१३, १४. गैरमसीही युनानी दर्शनहरूको मदत लिएर आध्यात्मिक अज्ञानताबाट मुक्त हुन खोज्न किन तार्किक कुरा होइन?
१३ मृत्युपछि जीवनको आशा जस्तो आधारभूत कुरा सिक्न पनि के यी मसीही भनौंदाहरूले गैरमसीही युनानी दार्शनिकहरूकै सहारा लिनुपर्थ्यो त? अवश्य पर्दैनथ्यो। पावलले युनानको कोरिन्थ शहरका मसीहीहरूलाई पत्र लेख्दा भनेका थिए: “संसारको ज्ञान परमेश्वरको अगि मूर्खता हो। किनकि लेखिएको छ, ‘उहाँले बुद्धिमानहरूलाई तिनीहरूका धूर्त्याइँमा पक्रनुहुन्छ।’ औ फेरि, ‘प्रभुले बुद्धिमानहरूका तर्कहरू व्यर्थका हुन् भनी जान्नुहुन्छ।’ ” (१ कोरिन्थी ३:१९, २०) पुरातन युनानीहरू मूर्तिपूजक थिए। अतः तिनीहरू कसरी सत्यको स्रोत हुनसक्थे र? पावलले कोरिन्थीहरूलाई यो प्रश्न गरे: “मूर्तिहरूसित परमेश्वरको मन्दिरको के सम्बन्ध? किनभने हामीहरू जीवित परमेश्वरका मन्दिर हौं, जसरी परमेश्वरले भन्नुभएको छ, ‘म तिनीहरूमा बास गर्नेछु, र तिनीहरूका बीचमा हिंड़डुल गर्नेछु, म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्।’ ”—२ कोरिन्थी ६:१६.
१४ परमेश्वरले सबैभन्दा पहिले इस्राएल राष्ट्रद्वारा आफ्ना पवित्र सत्य वाणीहरू प्रकट गर्नुभयो। (रोमी ३:१, २) सा.यु. ३३ पछि चाहिं प्रथम शताब्दीको अभिषिक्त मसीही मण्डली मार्फत प्रकट भए। यी प्रथम शताब्दीका मसीहीहरूको सन्दर्भमा पावलले यसो भने: “तर परमेश्वरले हाम्रा निम्ति आत्माद्वारा ती [परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति प्रबन्ध गरिएका कुराहरू] प्रकट गर्नुभएको छ। किनभने आत्माले सबै कुरा परमेश्वरका गहीरा गहीरा कुराहरूलाई पनि खोजी गर्नुहुन्छ।” (१ कोरिन्थी २:१०; प्रकाश १:१, २ पनि हेर्नुहोस्।) मसीहीजगत्ले सिकाउने अमर आत्माको सिद्धान्त युनानी दर्शनबाट लिइएको हो। परमेश्वरले इस्राएल वा प्रथम शताब्दीका अभिषिक्त मसीही मार्फत प्रकट गर्नुभएको सत्य वाणीसित त्यसको कुनै सरोकार छैन।
मरेका मानिसहरूका लागि असली आशा
१५. येशूअनुसार मरेका मानिसहरूको लागि असली आशा के हो?
१५ अमर आत्मा भन्ने त्यस्तो कुनै चीज छैन भने, मरेका मानिसहरूका लागि आशा के त? निस्सन्देह, त्यो पुनरुत्थान हो। बाइबलले सिकाउने मुख्य सिद्धान्त अनि परमेश्वरले प्रदान गर्नुभएको अद्भुत आशा पनि त्यही हो। येशूले आफ्नो मित्र मार्थालाई “पुनरुत्थान र जीवन मै हुँ, मलाई विश्वास गर्ने मऱ्यो भने पनि बाँच्नेछ” भन्नुहुँदा पुनरुत्थानको आशा दिइरहनुभएको थियो। (यूहन्ना ११:२५) येशूमाथि विश्वास गर्नु भनेको पुनरुत्थानमा विश्वास गर्नु हो, अमर आत्मामा होइन।
१६. पुनरुत्थानमा विश्वास गर्नु किन तार्किक छ?
१६ उक्त घटनाअघि पनि येशूले केही यहूदीहरूसित यसो भन्दै पुनरुत्थानको आशाबारे कुरा गर्नुभएको थियो: “यसमा अचम्म नमान, किनभने बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्। औ . . . निस्किआउनेछन्।” (यूहन्ना ५:२८, २९) येशूले यहाँ वर्णन गरिरहनुभएको आशा आत्मा अमर हुन्छ र देह मरेपछि सीधै स्वर्ग जान्छ भन्ने विश्वाससित पटक्कै मेल खाँदैन। येशूले सयौं, हजारौं वर्षअघि मरिसकेका मानिसहरू चिहानबाट ‘निस्केर आउने’ भावी समयबारे कुरा गर्दै हुनुहुन्थ्यो। हो मरिसकेका मानिसहरू फेरि जीवित हुनेबारे। के यो असम्भव छ? ‘मुर्दाहरूलाई बिउँताउनुहुने, र हुँदै नभएका कुराहरूलाई भएझैं गरी बोलाउनुहुने’ परमेश्वरको निम्ति त छैन। (रोमी ४:१७) मरेका मानिसहरू फेरि जीवित हुनेछन् र? भनेर शंकालुहरूले खिसी गर्लान् तर त्यस्तो विश्वास “परमेश्वर प्रेम हो” र “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ” भन्ने वचनसित पूर्णतया मेल खान्छ।—१ यूहन्ना ४:१६; हिब्रू ११:६.
१७. पुनरुत्थानद्वारा परमेश्वरले कुन कुन कुरा पूरा गर्नुहुनेछ?
१७ हुन पनि पुनरुत्थान नहुँदो हो त परमेश्वरले “मृत्युसम्मै विश्वासी” हुने मानिसहरूलाई कसरी पो इनाम दिनसक्नुहुन्थ्यो र? (प्रकाश २:१०) पुनरुत्थान हुने भएकोले नै प्रेरित यूहन्नाले लेखेका यी कुराहरू पनि परमेश्वरले पूरा गर्नसक्नुहुन्छ: “शैतानका कामहरू नष्ट पार्नालाईनै परमेश्वरका पुत्र प्रकट हुनुभएको हो।” (१ यूहन्ना ३:८) अदनको बगैंचामा शैतानले हाम्रा प्रथम मातापितालाई पाप र मृत्युतर्फ डोऱ्याएर मानवजातिको हत्या गरेको थियो। (उत्पत्ति ३:१-६; यूहन्ना ८:४४) आदम जानाजानी अनाज्ञाकारी भएकोले हामी सबै जन्मेदेखि पापको दासत्वमा पऱ्यौं। येशूले आफ्नो सिद्ध जीवन छुटकाराको मोल स्वरूप चढाउनुभएर मानवजातिलाई जन्मसिद्ध पापको दासत्वबाट मुक्त गर्नुभयो र यसरी पापबाट मुक्त गर्नुभएर येशूले शैतानका कामहरू नष्ट गर्न थाल्नुभयो। (रोमी ५:१८) आदमको पापले गर्दा मर्नेहरूको पुनरुत्थान हुनथालेपछि दियाबलको कामहरू अझ नष्ट हुनेछन्।
देह र अमर आत्मा
१८. पावलले येशूको पुनरुत्थान भइसक्यो भन्दा केही युनानी दार्शनिकहरूले कस्तो प्रतिक्रिया देखाए र किन?
१८ एथेन्समा छँदा प्रेरित पावलले ठूलो भीडलाई सुसमाचार प्रचार गरेका थिए, जसमा केही ग्रीक दार्शनिकहरू पनि थिए। पावलले साँचो परमेश्वर एउटै हुनुहुन्छ भन्दा र सबैलाई पश्चात्ताप गर्न आग्रह गर्दा तिनीहरूले ध्यान दिएर सुने। अनि त्यसपछि? “[परमेश्वरले] एक दिन ठहराउनुभएको छ, जुन दिनमा उहाँ आफूले नियुक्त गर्नुभएको मानिसद्वारा धर्मपूर्वक संसारको इन्साफ गर्नुहुनेछ, जसको बारेमा उहाँलाई मरेकोबाट बिउँताएर सबै मानिसहरूलाई उहाँले विश्वास दिलाउनुभएको छ” भनेर पावलले आफ्नो भाषण टुंग्याउनेबित्तिकै मानिसहरूबीच निकै हल्लाखल्ला मच्चियो। “जब तिनीहरूले पुनरुत्थानको कुरो सुने, तब कसै कसैले गिल्ला गरे।” (प्रेरित १७:२२-३२) यस घटनाको सन्दर्भमा धर्मविज्ञानी अस्कर कुलम्यान यसो भन्छन्: “अमर आत्मामा विश्वास गर्ने युनानीहरूलाई पुनरुत्थानसम्बन्धी मसीही शिक्षा स्वीकार्न अरूहरूलाई भन्दा गाह्रो परेको हुनसक्छ। . . . किनकि सुकरात अनि प्लेटोजस्ता महान् दार्शनिकका शिक्षाहरू कुनै पनि हालतमा नयाँ नियमको शिक्षासित मिलान गर्न सकिंदैनथ्यो।”
१९. मसीहीजगत्का धर्मविज्ञानीहरूले पुनरुत्थानको शिक्षा र अमर आत्माको सिद्धान्तलाई कसरी गाभ्न खोजे?
१९ तथापि, यी सबका बावजूद प्रेरितहरूको मृत्युपश्चात् ठूलो धर्मत्याग सुरु हुँदा धर्मविज्ञानीहरूले पुनरुत्थानसम्बन्धी मसीही शिक्षा र अमर आत्मासम्बन्धी प्लेटोको विश्वासलाई गाभ्न ठूलो प्रयत्न गरे। समयको दौडान केही धर्मविज्ञानीहरूले नयाँ आकर्षक युक्ति निकाले: मरेपछि आत्माले देह त्याग गर्छ (वा कसै कसैले भनेझैं “मुक्त” हुन्छ)। त्यसपछि आर. जे. कुकको पुनरुत्थान सिद्धान्तका रूपरेखा-अनुसार (अंग्रेजी) न्यायको दिनमा “प्रत्येक देह फेरि आ-आफ्नो आत्मासित र आत्मा आ-आफ्नो देहसित मिल्छ।” अनि तिनीहरूको विचारमा भविष्यमा यसरी अमर आत्मा फेरि आफ्नै देहमा फर्किनु नै पुनरुत्थान हो।
२०, २१. कसले पहिलेदेखि नै पुनरुत्थानबारे एउटै कुरा सिकाइरहेका छन् र के फाइदा भएको छ?
२० नाउँ चलेका ठूलठूला चर्चहरू उक्त सिद्धान्तलाई अझै आफ्नो धर्मको आधिकारिक सिद्धान्त मान्छन्। धर्मविज्ञानीहरूलाई सायद त्यस्तो सिद्धान्त ठीक लाग्दो हो। तर चर्च जाने थुप्रै मानिसहरूलाई त्यो सिद्धान्तबारे रत्तीभर थाह छैन। तिनीहरू अझै पनि मरेपछि आफू सीधै स्वर्ग जानेछु भनेर विश्वास गर्छन्। त्यसैकारण, मे ५, १९९५ अंकको कमनविल पत्रिकामा लेखक जोन गार्भीले यस्तो आरोप लगाए: “धेरैजसो मसीहीहरूको विश्वास [मृत्युपछिको जीवनबारे] साँचो मसीही धर्मसँगभन्दा पनि नवप्लेटोवादसित मेल खान्छ र बाइबलमा त्यस्तो विश्वासको कुनै आधार पाइँदैन।” निस्सन्देह, बाइबललाई प्लेटोवादसित साटफेर गरेर मसीहीजगत्का पादरीहरूले बाइबलले प्रदान गर्ने पुनरुत्थानको आशाको ज्योति निभाएका छन्, आफ्नो बगाललाई अन्धकारमा राखेका छन्।
२१ तथापि, यहोवाका साक्षीहरू गैर-मसीही दर्शनहरू मान्दैनन् बरु बाइबलले पुनरुत्थानबारे सिकाउने शिक्षा पालन गर्छन्। तिनीहरू पुनरुत्थानको शिक्षामा आध्यात्मिक ज्ञान, सन्तुष्टि अनि सान्त्वना पाउँछन्। अब यसपछिका लेखहरूमा पार्थिव आशा हुने र पुनरुत्थानद्वारा स्वर्गीय जीवन हासिल गर्ने प्रत्याशा हुनेहरू दुवैका लागि बाइबलले पुनरुत्थानबारे जे-जस्तो सिकाउँछ, त्यसको के-कस्तो बलियो आधार छ र कत्तिको तार्किक छ, सो हामी देख्नेछौं। यी लेखहरूका लागि तयार हुनका लागि हामी तपाईंहरूलाई पहिलो कोरिन्थीको अध्याय १५ राम्ररी पढ्ने सुझाउ दिन चाहन्छौं।
के तपाईंले सम्झनुभएको छ?
◻ पुनरुत्थानमाथि पक्का विश्वास गर्नु किन आवश्यक छ?
◻ यहोवाले आदम र हव्वालाई कुन चाहिं आशा दिनुभएको थियो?
◻ युनानी दर्शनहरूको मदत लिएर सत्य पत्ता लगाउन खोज्नु किन अतार्किक कुरा हो?
◻ पुनरुत्थानको आशा किन व्यवहारिक छ?
[पृष्ठ १०-मा भएका चित्र]
हाम्रा प्रथम आमाबाबुले पाप गरेपछि पृथ्वीमा अनन्त जीवन बिताउने आशा गुम्यो
[पृष्ठ १२-मा भएका चित्र]
चर्चका विद्वानहरू अमर आत्मासम्बन्धी प्लेटोको विश्वासबाट प्रभावित भए
[पृष्ठ १२-मा भएको चित्रको स्रोत]
Musei Capitolini, Roma