बाइबलको दृष्टिकोण
के मसीही एकताको अर्थ हरेक कुरामा एकरूपता हो?
मसीही मण्डलीमा एकता अत्यावश्यक छ। सैद्धान्तिक विश्वासमा अमेल भयो भने डरलाग्दो झगडा, विभाजन र शत्रुता समेत उत्पन्न हुनसक्छ। (प्रेरित २३:६-१०) “परमेश्वर गोलमालका परमेश्वर होइन, तर शान्तिका परमेश्वर हुनुहुन्छ” भनी बाइबलले बताउँछ। (१ कोरिन्थी १४:३३) तसर्थ, मसीहीहरूलाई एउटै कुरा बोल्न र एकै मन तथा एकै विचारमा सिद्ध हुन सुझाउ दिइएको छ।—१ कोरिन्थी १:१०.
के यी शब्दहरू र अन्य यस्तै बाइबल विवरणहरूले मसीहीहरूबीच हरेक पक्षमा कडिकडाउका साथ एकरूपता ल्याउन प्रोत्साहन दिएका हुन्? (यूहन्ना १७:२०-२३; गलाती ३:२८) बाइबलमा वर्णन गरिएको साँचो मसीहीधर्मले सबै जनाको व्यक्तित्व पनि एकै प्रकारको हुनुपर्छ भनेको हो त? के सबै मसीहीहरू एउटै प्रकारको अरट्ठो ढाँचामा बद्लेको हुनुपर्छ?
परमेश्वरले हामीलाई व्यक्तिगत रूपमा आकर्षित गर्नुभएको छ
बाइबल आमजनतामाथि मनमानी ढंगमा नियन्त्रण गर्ने अर्को एउटा साधन मात्र हो भनी केही मानिसहरू विश्वास गर्छन्। हो, केही गूटहरूले त्यस तरिकामा बाइबलको दुरुपयोग गरेका छन्। तथापि, येशूले धर्मशास्त्र र यसको ईश्वरीय लेखकबारे एकदमै भिन्न विचार राख्नुहुन्थ्यो। परमेश्वरले आफ्नो प्रत्येक सृष्टिबारे गहिरो चासो लिनुहुन्छ भनी उहाँले भन्नुभयो।
यूहन्ना ६:४४ मा येशूले भन्नुभयो: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्तैन।” यहाँ चलाइएको क्रियापदले परमेश्वरले मानिसहरूलाई तिनीहरूको इच्छा विरुद्ध आफूतिर जबरजस्ती खिच्नुहुन्न भन्ने बुझाउँछ। बरु, परमेश्वरले मानिसहरूको हृदय छुनुहुन्छ र दयालु ढंगमा मानिसहरूलाई आफूतिर खिच्नुहुन्छ। एक बाइबलविद्ले भनेझैं ‘परमेश्वरबाटको प्रभावले मानिसलाई विश्वास गर्न प्रवृत्त’ बनाउँछ। सृष्टिकर्ताले मानव परिवारलाई कुनै व्यक्तिगत चिनारी नभएको जनसमुदायको रूपमा लिनुहुन्न। उहाँले व्यक्तिविशेषलाई जाँच्नुहुन्छ र असल हृदय भएकाहरूलाई आफूतिर मायालु ढंगमा खिच्नुहुन्छ।—भजन ११:५; हितोपदेश २१:२; प्रेरित १३:४८.
व्यक्तिविशेषका आवश्यकताहरू बुझ्दै प्रेरित पावल कसरी परिस्थितिअनुसार मिलेर बस्नसक्थे, सम्झनुहोस्। राष्ट्रियता वा पृष्ठभूमिअनुसार मानिसहरूका आ-आफ्नै विचारधाराहरू हुन्छन् भनी पावलले स्वीकारे। त्यहीअनुसार तिनले आफ्नो परिचय प्रस्तुत गरे। तिनले लेखे: “यहूदीहरूलाई हात पारूँ भनेर, म यहूदीहरूका बीचमा यहूदीजस्तै भएँ, . . . कमजोरीहरूलाई हात पारूँ भनेर कमजोरीहरूका निम्ति म कमजोरीनै भएँ। कुनै किसिमले कसै कसैलाई बचाइहालूँ भनेर सबैका निम्ति म सबै कुरा भएँ।”—१ कोरिन्थी ९:२०-२२.
स्पष्टतः पावलले मानिसहरूलाई एकैनासको भन्ठानेनन् वा सबैसित एउटै तरिकामा व्यवहार गरेनन्। तिनले मानिसहरूलाई यस्तो प्रोत्साहन दिए: “हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्नालाई तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्।” (कलस्सी ४:६) हो, पावल अनि अन्य मसीहीहरूले मानिसहरूलाई मदत गर्नको निम्ति तिनीहरू प्रत्येकको मौलिकता स्वीकार्नुका साथै आदर गर्नुपर्थ्यो।
परमेश्वरको सुरुको उद्देश्य
कोही व्यक्ति मसीही मण्डलीको भाग भइसकेपछि पनि तिनलाई व्यक्तिविशेषको हैसियतमा आदर गरिरहनै पर्छ। परमेश्वरका जनहरू संगठनमा आएपछि तिनीहरूले पूर्णतया आफ्नो पहिचान गुमाउँदैनन् र अधिकारवालाहरूको रुचिअनुसार जीवन बिताउने गर्दैनन्। बरु, थरीथरीका व्यक्तित्वहरूमा तिनीहरू रमाउँछन् र तिनीहरूको क्षमता, बानी अनि सोचाइ बेग्लाबेग्लै हुन्छन्। प्रत्येक मानिसको व्यक्तित्वलाई झमेला वा बाधाको रूपमा लिइँदैन। यो परमेश्वरको सुरुको उद्देश्यको एउटा पक्ष हो।
तसर्थ, धर्मीहरूका निम्ति प्रतिज्ञा गरिएको नयाँ संसारमा सिद्ध मानिसहरूको माझमा विविधता हुनेछ। (२ पत्रुस ३:१३) बाइबल विश्वकोश धर्मशास्त्रमाथि अन्तरदृष्टि-माa (अंग्रेजी) “सिद्धता” भन्ने शीर्षक अन्तर्गत निम्न टिप्पणी उपयुक्त छ: “तथापि, मानिसहरूले प्रायः अड्कल लाएझैं सिद्धताको अर्थ विविधता नहुनु होइन। यहोवाको ‘सिद्ध कामको’ उपजहरूमध्ये एउटा (उत्प[त्ति] १:२०-२४; व्य[वस्था] ३२:४) पशुजगत् पनि हो र यसमा पनि विशाल विविधता छ।”
अन्तरदृष्टि-ले अझ यसो भन्छ: “त्यस्तैगरि यस पृथ्वीको सिद्धताको अर्थ विविधता, परिवर्तन वा भिन्नता नै नहुनु होइन। पृथ्वीमा सरल र जटिल, सादा र सजिसजाउ, तीतो र गुलियो, खस्रो र चिल्लो, चउर र वन, पहाड र उपत्यका सबै थोक छन्। पृथ्वीले वसन्त ऋतुको स्वच्छ हावा, गर्मीको न्यानो साथै नीलो आकाश, शरद ऋतुका रंगीचंगी रंगहरू र हिउँदमा बर्सेको हिउँ इत्यादि सृष्टिका सबै पक्षलाई अँगाल्छ। (उत्प[त्ति] ८:२२) अतः सबै सिद्ध मानिसहरूमा एउटै प्रकारको व्यक्तित्व, सीप र क्षमता हुनेछैन।”
अरूको निम्ति फिक्री
तथापि, आफू वरपरका मानिसहरूको वास्ता नराखी आफ्नो मात्र भलाइ खोज्ने मनोवृत्तिलाई साँचो मसीहीधर्मले प्रोत्साहन दिंदैन। प्रेरित पावलले आफ्नो जीवनको हरेक पक्षलाई होसियारीपूर्वक केलाए र अरूको निम्ति ठोक्करको कारण नहुन सतर्क भए। कोरिन्थका मण्डलीलाई लेखेको पत्रमा तिनले यसो भने: “हाम्रो सेवामा कलंक नलागोस् भनेर हामी कुनै कुरामा केही बाधा दिन्नौं।” (२ कोरिन्थी ६:३) कहिलेकाहीं व्यक्तिगत इच्छाहरूलाई बिर्सेर अरूका आवश्यकताहरूलाई आफ्ना रुचिहरूभन्दा बढी महत्त्व दिनुपर्छ। उदाहरणका लागि, पावलले रोमका मसीहीहरूलाई यसो लेखे: “असल ता हुन्छ, मासु नखानु, मद्य नपिउनु, केही नगर्नु, जसबाट तिम्रो भाइलाई बाधा पर्छ।”—रोमी १४:२१.
त्यस्तैगरि आज, ठिक्क मात्रामा मात्र रक्सी पिउन नसक्ने व्यक्तिको अगाडि कसैले रक्सी नै नपिउने निर्णय गर्लान्। (१ कोरिन्थी १०:२३, २४) अर्को मानिसको रुचिको कदर करकापमा परेर गरिएको होइन तर दया र प्रेमको कारण यसो गरेको हो। “ख्रीष्टले पनि आफैलाई खुश तुल्याउनुभएन।” येशूको पनि बेग्लै चिनारी थियो तर उहाँले अरूका भावनाहरूलाई ठेस पुऱ्याउँदै आफ्नो रुचिअनुसार मात्र गर्न खोज्नुभएन।—रोमी १५:३.
अझै पनि, साँचो मसीहीधर्मको सबैभन्दा स्फूर्तिदायक पक्षहरूमध्ये एउटा, बाइबल निर्देशनहरूको सीमाभित्र रहेर यसले व्यक्तिविशेषका स्वतन्त्रता तथा अभिरुचिहरूको कदर गर्छ। परमेश्वरले हामीलाई भिन्न र अनुपम हुन बनाउनुभएको हो भनी बाइबलले सिकाउँछ। पहिलो कोरिन्थी २:११ मा हामी यस्तो पढ्छौं: “आफैमा भएको आत्माले बाहेक मानिसहरूमध्ये कसले मानिसका कुराहरू जान्दछ र?” हामी अरू मानिसहरूलाई यथाशक्य बुझ्ने प्रयास गर्छौं। यस पदले हाम्रो व्यक्तित्वको केही भाग हामी आफै र सृष्टिकर्ताले बाहेक अरूले बुझ्न सक्दैनन् भन्ने संकेत गर्छ। हामीसित “हृदयको . . . गुप्त मानिस” छ र त्यो आफूले चाहेअनुसार मात्र प्रकट गर्छौं।—१ पत्रुस ३:४.
एकता र विविधता—एक संवेदनशील सन्तुलन
प्रेरित पावलले मसीही सन्तुलनको असल नमुना बसाले। ख्रीष्टको चेला भएको नाताले तिनीसित अख्तियार त थियो तर तिनले आफ्ना विचारधाराहरूद्वारा अरूलाई प्रभाव पार्न खोजेनन्।
उदाहरणका लागि, यस असिद्ध संसारमा अविवाहित रहनुका फाइदाहरूबारे पावलको एकदमै जोरदार विचारधारा थियो। निम्न कुरा लेख्दा तिनी आफै पनि अविवाहित थिए: “[विवाह गर्ने] यस्ताहरूलाई शरीरमा कष्ट हुनेछ” र “मेरो विचारमा, [विधवा] त्यसै बस्छे भने झन् सुखी हुन्छ।” तिनका यी शब्दहरू परमेश्वरको प्रेरित वचनको भाग भएको तथ्यले नै देखाउँछ कि तिनको विचारमा केही गल्ती थिएन। यद्यपि, तिनले यसो पनि भने: “तिमीले विवाह गऱ्यौ भने पनि पाप गरेका हुँदैनौ।”—१ कोरिन्थी ७:२८, ४०.
स्पष्टतया, प्रायजसो प्रेरितहरू विवाहित पुरुषहरू थिए र यो कुरा पावलका यी शब्दहरूद्वारा प्रस्ट हुन्छ: “के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासलाई जस्तै हामीलाई पनि ख्रीष्टियान पत्नी लिएर हिंड़नालाई अधिकार छैन र?” (१ कोरिन्थी ९:५) यस विषयमा पावलको भन्दा बेग्लै विचार राखे तापनि तिनले त्यसको कदर गर्नेथिए भनी मसीहीहरूलाई थाह थियो।
परमेश्वरका उपासकहरूले सधैं आफ्नो अनुपम व्यक्तित्वअनुसार आफ्नो विश्वासबारे बताउने मौका पाएका छन्। वास्तवमा भन्ने हो भने परमेश्वरले बाइबल लेखकहरूलाई आ-आफ्नै शैलीअनुसार लेख्नसमेत अनुमोदन दिनुभयो। उदाहरणका लागि, नम्र नहेम्याहले सम्पूर्ण विवरण प्रथमपुरुषमा लेखे। (नहेम्याह ५:६, १९) अर्कोतर्फ, विनीत भएको कारण प्रेरित यूहन्नाले सुसमाचारको पुस्तकमा कहिल्यै पनि आफ्नो नाउँ उल्लेख गरेनन् र विरलै मात्र आफूलाई संकेत गरे। परमेश्वरलाई दुइटै शैली स्वीकार्य थियो र ती बाइबलमा जोगाएर राख्नुभयो।
त्यस्तैगरि, सम्पूर्ण धर्मशास्त्रमा सन्तुलन र व्यवहारिकताका थुप्रै उदाहरणहरू पाउँछौं। स्पष्टतः मसीही एकता भन्नुको अर्थ सबै कुरामा एकरूपता होइन। निस्सन्देह, आध्यात्मिक गुनहरूको कमी भएमा फरक पृष्ठभूमि र विचारहरूका कारण विभाजन पनि हुनसक्छ। (रोमी १६:१७, १८) तर हामी सबैले ‘सिद्धताको गाँठो प्रेम धारण गर्दा’ अरूको अनुपम व्यक्तित्व स्वीकार्न र त्यसमा रमाउन सिक्नेछौं।—कलस्सी ३:१४.
“यसकारण परमेश्वरको महिमाको निम्ति, ख्रीष्टले हामीलाई सत्कार गर्नुभएबमोजिम, तिमीहरूले पनि एउटाले अर्कोलाई सत्कार गर,” भनी बाइबलले बताउँछ। (रोमी १५:७) परमेश्वरको आत्माको मदतद्वारा मसीहीहरूले मण्डलीमा अनुपम व्यक्तित्वहरूका आनन्द उठाउँदै एकताको संवेदनशील सन्तुलनलाई पनि कायम गर्नसक्छन्।
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
[पृष्ठ १४-मा भएको ठूलो अक्षरको क्याप्सन]
सृष्टिकर्ताले मानव परिवारलाई कुनै व्यक्तिगत चिनारी नै नभएको जनसमुदायको रूपमा लिनुहुन्न
[पृष्ठ १५-मा भएको ठूलो अक्षरको क्याप्सन]
हाम्रो व्यक्तित्वको केही भाग हामी आफै र सृष्टिकर्ताले बाहेक अरूले बुझ्न सक्दैनन्