बाइबलको अर्थ खुलाउने—कसको प्रभावमा?
“अर्थ खुलाउने” शब्दको एउटा परिभाषा “व्यक्तिविशेषको विश्वास, निर्णय वा परिस्थितिको आधारमा कुनै कुरा बुझ्नु” हो। (वेब्स्टर्स नाइन्थ न्यु कोलिजियट डिक्सनर) तसर्थ, कुनै पनि कुराको अर्थ खुलाउनुमा पृष्ठभूमि, शिक्षा र लालनपालनले असर गर्छ।
बाइबलको अर्थ खुलाउने सन्दर्भमा नि? के हामीले आफ्नै “विश्वास, निर्णय वा परिस्थितिको” आधारमा बाइबल पद्यांशहरूको अर्थ खुलाउने छुट पाएका छौं? प्रायजसो बाइबल शास्त्रविद् तथा अनुवादकहरू आफैले होइन तर परमेश्वरको डोऱ्याइमा त्यसो गरेको दाबी गर्छन्।
उदाहरणको लागि, १८३६ मा जोन लिंगार्डले “क्याथोलिक” उपनाउँमा प्रकाशित गरेका सुसमाचारका चार पुस्तकहरूको नयाँ संस्करण-मा यूहन्ना १:१ को पादटिप्पणीलाई लिन सक्छौं। त्यहाँ यसो भनिएको छ: “हरेक पृष्ठभूमिका मानिसहरूले आ-आफ्ना अनौठो दृष्टिकोणहरूको पुष्टि पवित्र पुस्तकमा पाउनसक्छन्: वास्तवमा भनौं भने धर्मशास्त्रले तिनीहरूलाई जानकारी दिने होइन तर आफूले दिएको अर्थअनुसार मिलाउन धर्मशास्त्रमा प्रयोग गरिएको भाषालाई काँटछाँट गर्ने गर्छन्।”
हुन त कुरा तर्कसंगत हो तर लेखकको मनसाय के थियो? आफूले जसरी उक्त पदको अर्थ खुलाएका थिए, त्यसैको समर्थनमा तिनले टिप्पणी गरे। तिनले यसप्रकार अनुवाद गरेका थिए: “सुरुमा ‘वचन’ थियो र ‘वचन’ परमेश्वरसित थियो; र वचन ‘परमेश्वरनै’ थियो।” त्रिएकसित ठ्याक्कै मिल्ने अर्थ।
त्रिएकको सिद्धान्तको समर्थनमा यूहन्ना १:१ को अर्थ खुलाउन लेखकलाई कुन कुराले उत्प्रेरित गऱ्यो? के ‘धर्मशास्त्रले नै त्यसो गर्न’ उत्प्रेरित गरेको हो? त्यो हुन सक्दैन किनभने बाइबलमा कतै पनि त्रिएक शिक्षा उल्लेख गरिएको छैन। यस विषयमा द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “नयाँ नियममा नत त्रिएक शब्द न त्यसको सिद्धान्त नै पाइन्छ।” साथै, येल विश्वविद्यालयका प्राध्यापक इ. वशबर्न हप्किन्सले यस्तो टिप्पणी गरे: “येशू र पावललाई त्रिएक सिद्धान्तबारे कुनै ज्ञान थिएन; . . . तिनीहरूले यसबारे केही बताएका छैनन्।”
यूहन्ना १:१ वा बाइबलका अन्य पदहरूलाई त्रिएक समर्थन गर्ने पदको रूपमा अर्थ खुलाउनेहरूबारे हामी कस्तो निष्कर्षमा पुग्छौं? श्री लिंगार्डको आफ्नै तर्कअनुसार पनि “धर्मशास्त्रले तिनीहरूलाई केही बताउने होइन तर धर्मशास्त्रको भाषाअनुसार तिनीहरू आफैले अर्थ खुलाउने हो।”
खुसीको कुरा, यस सन्दर्भमा डोऱ्याइको लागि हामीसित परमेश्वरको वचन छ। प्रेरित पत्रुसले यसो भने: “पहिले यो जान, कि कुनै धर्मशास्त्रको कुनै अगमवाणी कसैले खास आफ्नै अर्थले दिएको होइन, किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट उत्तेजित भएर मानिसहरूले परमेश्वरका तर्फबाट बोल्दथिए।”—२ पत्रुस १:२०, २१.