शिक्षा—त्यसलाई यहोवाको प्रशंसा गर्न चलाउनुहोस्
“जसले आफ्नैतर्फबाट बोल्दछ, उसले आफ्नै महिमा खोज्दछ तर जसले आफूलाई पठाउनेको महिमा खोज्दछ, त्यही सत्य हो।”—यूहन्ना ७:१८.
१. शिक्षण प्रक्रिया कहिले र कहाँ सुरु भयो?
शिक्षाको सुरुआत निकै समयअघि भयो। महान् शिक्षक तथा प्रशिक्षक, यहोवा परमेश्वरले आफ्नो ज्येष्ठ पुत्र सृष्टि गर्नेबित्तिकै शिक्षण प्रक्रियाको थालनी भयो। (यशैया ३०:२०; कलस्सी १:१५) उहाँले प्रत्यक्षतः महान् शिक्षकबाट सिक्न सक्नुहुन्थ्यो! अनगिन्ती लामो समयसम्म पिताको घनिष्ठ संगतिमा रहनुभएको त्यस पुत्रले यहोवा परमेश्वरको गुन, कार्य तथा उद्देश्यसम्बन्धी अनमोल शिक्षा प्राप्त गर्नुभयो। उहाँ नै पछि येशू ख्रीष्ट भनेर चिनिनुभयो। पछि, पृथ्वीमा मानवको रूपमा हुनुहुँदा येशूले यसो भन्न सक्नुभयो: “म आफै केही गर्दिनँ, तर जसो पिताले मलाई सिकाउनुभयो तिनै कुरा बोल्दछु।”—यूहन्ना ८:२८.
२-४. (क) यूहन्ना ७ अध्यायअनुसार सा.यु. ३२ मा येशू डेराबासको चाड मनाउन उपस्थित हुनुहुँदा परिस्थिति कस्तो थियो? (ख) येशूको शिक्षण दक्षता देखेर यहूदीहरू किन छक्क परे?
२ आफूले प्राप्त गर्नुभएको शिक्षालाई येशूले कसरी चलाउनुभयो? आफूले सिकेका कुराहरू साढे तीन वर्ष लामो पार्थिव सेवकाईको दौडान अरूसित बाँड्न उहाँ कहिल्यै थाक्नुभएन। तथापि, उहाँले यो एउटा प्रमुख उद्देश्यको लागि गर्नुभयो। त्यो के थियो? आउनुहोस्, यूहन्ना ७ अध्यायमा येशूका शब्दहरू केलाऔं। त्यहाँ उहाँले आफ्नो शिक्षाको सुरुआत र उद्देश्यबारे वर्णन गर्नुभयो।
३ सर्वप्रथम, त्यतिबेलाको पृष्ठभूमिलाई ध्यान दिनुहोस्। त्यो सा.यु. ३२ को शरद ऋतु अर्थात् येशूले बप्तिस्मा लिनुभएको झन्डै तीन वर्षपछिको घटना हो। यहूदीहरू डेराबासको चाड मनाउन यरूशलेममा भेला भएका थिए। यस चाडको सुरु सुरुतिर येशूबारे निकै चर्चा भइरहेको थियो। त्यस चाडको बीचतिर येशू मन्दिरमा देखा पर्नुभयो र सिकाउन थाल्नुभयो। (यूहन्ना ७:२, १०-१४) सदाजस्तो उहाँले आफूलाई एक महान् शिक्षक साबित गर्नुभयो।—मत्ती १३:५४; लूका ४:२२.
४ यूहन्ना ७ अध्यायको पद १५ यसो भन्छ: “यहूदीहरू यसो भन्दै अचम्म माने, ‘नपढ़ीकन पनि यिनले कसरी विद्या जान्दछन्?’” के तपाईंले तिनीहरू छक्क पर्नुको कारण बुझ्नुभयो? येशूले रब्बीहरूको पाठशालामा अध्ययन गर्नुभएको थिएन। त्यसकारण तिनीहरूको सोचाइमा उहाँ अशिक्षित हुनुहुन्थ्यो! यद्यपि, येशूले पवित्र लेखोटबाट सजिलैसित पद्यांशहरू पढ्न सक्नुहुन्थ्यो। (लूका ४:१६-२१) भनौं भने, गालिलका यस सिकर्मीले तिनीहरूलाई मोशाको व्यवस्थामा समेत शिक्षा दिए। (यूहन्ना ७:१९-२३) यो कसरी सम्भव भयो?
५, ६. (क) येशूले आफ्नो शिक्षाको स्रोतबारे कसरी वर्णन गर्नुभयो? (ख) येशूले आफ्नो शिक्षालाई कुन ढंगमा चलाउनुभयो?
५ पद १६ र १७ मा बताइएअनुसार येशूले यसप्रकार वर्णन गर्नुभयो: “मेरो शिक्षा मेरै होइन, तर मलाई पठाउनेको हो। यदि कुनै मानिसले उहाँको इच्छा पालन गर्न चाहन्छ भने, यस शिक्षाको विषयमा उसले यो जान्नेछ, कि यो परमेश्वरतर्फबाट हो, कि म आफ्नैतर्फबाट बोल्दछु।” येशूले कसबाट शिक्षा पाउनुभयो भनी तिनीहरू जान्न चाहन्थे र उहाँले तिनीहरूलाई स्पष्टसित भन्नुभयो, उहाँको शिक्षा परमेश्वरबाट हो!—यूहन्ना १२:४९; १४:१०.
६ येशूले आफ्नो शिक्षा कसरी चलाउनुभयो? यूहन्ना ७:१८ मा लिपिबद्ध गरिएअनुसार येशूले यस्तो जवाफ दिनुभयो: “जसले आफ्नैतर्फबाट बोल्दछ, उसले आफ्नै महिमा खोज्दछ, तर जसले आफूलाई पठाउनेको महिमा खोज्दछ, त्यही सत्य हो, र उसमा अधार्मिकता हुँदैन।” येशूले आफ्नो शिक्षालाई ज्ञानमा “निपुण” व्यक्ति अर्थात् यहोवाको महिमाको निम्ति चलाउनु कति उपयुक्त कुरा हो!—अय्यूब ३७:१६.
७, ८. (क) शिक्षालाई कसरी प्रयोग गर्नुपर्ने हो? (ख) सन्तुलित शिक्षाका चार आधारभूत उद्देश्यहरू के हुन्?
७ तसर्थ, हामी येशूबाट मूल्यवान् पाठ सिक्छौं। शिक्षा, आफ्नो महिमाको निम्ति होइन तर यहोवाको प्रशंसा गर्न चलाउनुपर्छ। शिक्षालाई सदुपयोग गर्ने योभन्दा सर्वोत्तम तरिका अरू छैन। त्यसोभए तपाईं यहोवाको प्रशंसा गर्न शिक्षालाई कसरी चलाउन सक्नुहुन्छ?
८ शिक्षा दिनु भनेको “औपचारिक निर्देशनद्वारा प्रशिक्षण दिनु र विशेषगरि कुनै सीप, व्यवसाय वा पेशाको सुपरिवेक्षित अभ्यास” हो। आउनुहोस्, सन्तुलित शिक्षाको चार आधारभूत उद्देश्यमा ध्यान देऔं र ती प्रत्येकलाई यहोवाको प्रशंसा गर्न कसरी चलाउन सकिन्छ हेरौं। सन्तुलित शिक्षाले हामीलाई (१) राम्ररी पढ्न, (२) स्पष्टसित लेख्न, (३) मानसिक तथा नैतिक तवरमा विकास गर्न अनि (४) दैनिक जीवन यापन गर्नका लागि आवश्यक व्यवहारिक प्रशिक्षण हासिल गर्न मदत दिनुपर्छ।
राम्ररी पढ्न सिक्ने
९. राम्ररी पढ्न जान्नु किन महत्त्वपूर्ण छ?
९ सूचीमा सर्वप्रथम राम्ररी पढ्न सिक्नुलाई राखिएको छ। राम्ररी पढ्न सक्ने हुनु किन यतिको महत्त्वपूर्ण छ? द वर्ल्ड बूक इन्साइक्लोपीडिया (विश्वकोश) यसरी वर्णन गर्छ: “पढ्नु . . . भनेको सिक्ने प्रक्रियाको सबैभन्दा आधारभूत कुरा हो र दैनिक जीवनमा चाहिने सबैभन्दा महत्त्वपूर्ण सीपहरूमध्ये एक हो। . . . पढ्नमा दक्ष व्यक्तिहरूले संवृद्ध, फलदायी समाज सृजना गर्न योगदान पुऱ्याउँछन्। त्यतिनैखेर, तिनीहरूले अनुभवी र सन्तुष्ट जीवनको आनन्द उठाउँछन्।”
१०. परमेश्वरको वचन अध्ययन गरेर हामीले कसरी अझ बढी अनुभवी तथा सन्तुष्ट जीवनको आनन्द उठाउनसक्छौं?
१० पढ्नुले साधारणतया “अनुभवी, सन्तुष्ट जीवनको” आनन्द उठाउन मदत दिन्छ भने परमेश्वरको वचन पढ्नु झन् कति धेरै लाभकारी हुन्छ! हामीलाई त्यस्तो पढाइले यहोवाका विचार तथा उद्देश्यहरूसित परिचित गराउँछ र यसलाई स्पष्टसित बुझेपछि हाम्रो जीवन अर्थपूर्ण हुन्छ। यसबाहेक, हिब्रू ४:१२ ले भनेझैं “परमेश्वरको वचन जीवित र प्रबल” हुन्छ। हामीले परमेश्वरको वचन पढेर त्यसमा मनन गर्दै जाँदा त्यसको ग्रन्थकारसित घनिष्ठ हुन्छौं र उहाँको प्रिय हुन हाम्रो जीवनमा परिवर्तन गर्न उत्प्रेरित हुन्छौं। (गलाती ५:२२, २३; एफिसी ४:२२-२४) आफूले पढेका मूल्यवान् सच्चाइहरू अरूसित बाँड्न पनि बाध्य महसुस गर्छौं। निस्सन्देह, यी सबैले महान् शिक्षक, यहोवा परमेश्वरको प्रशंसा गर्छ। हाम्रो पढ्ने क्षमतालाई चलाउने योभन्दा उत्तम तरिका अरू छैन!
११. व्यक्तिगत अध्ययनको सन्तुलित तालिकामा कुन कुरा समावेश हुनुपर्ने हो?
११ जवान होस् या वृद्ध, हामीलाई राम्ररी पढ्न सक्ने हुन प्रोत्साहन दिइएको छ किनभने पढाइ, मसीही जीवनको महत्त्वपूर्ण भाग हो। परमेश्वरको वचनलाई नियमित तवरमा पढ्नुको अलावा व्यक्तिगत अध्ययनको सन्तुलित कार्यक्रमअन्तर्गत दिनहुँ धर्मशास्त्र जाँच्ने-बाट बाइबलको पद पढ्ने, प्रहरीधरहरा र ब्यूँझनुहोस्! अध्ययन गर्ने अनि मसीही सभाहरूको लागि तयारी समावेश हुनुपर्छ। अनि मसीही सेवकाई नि? स्पष्ट छ, जन प्रचारकार्य, जिज्ञासुहरूकहाँ पुनःभेट र गृह बाइबल अध्ययनहरू सञ्चालन गर्न पढाइमा दक्ष हुनुपर्छ।
स्पष्टसित लेख्न सिक्ने
१२. (क) स्पष्टसित लेख्न सिक्नु किन महत्त्वपूर्ण छ? (ख) अहिलेसम्मको उत्कृष्ट लेखोट कुन हो?
१२ दोस्रो उद्देश्य हो, सन्तुलित शिक्षाले हामीलाई स्पष्टसित लेख्न मदत गर्नुपर्छ। लेखाइले अरूलाई हाम्रा शब्द तथा विचारहरू व्यक्त गर्ने मात्र होइन तर त्यसको सञ्चय पनि गर्छ। धेरै शताब्दीअघि ४० जना यहूदी पुरुषहरूले पात वा चर्मपत्रमा लेखे। अनि ती लेखोटहरू पछि गएर प्रेरित धर्मशास्त्र बन्न पुग्यो। (२ तिमोथी ३:१६) निस्सन्देह, यो अहिलेसम्मको उत्कृष्ट लेखोट हो! अहिले हाम्रो समयसम्म भरपर्दो अवस्थामा राख्न सम्भव तुल्याउनको लागि निस्सन्देह यहोवाले ती पवित्र शब्दहरूको प्रतिलिपि बनाउने कार्यलाई शताब्दीयौंदेखि डोऱ्याउनुभयो। यहोवाले आफ्नो वचनलाई मौखिक नभई लिखित रूपमा प्रसारण गर्नुभएकोमा के हामी कृतज्ञ छैनौं र?—तुलना गर्नुहोस् प्रस्थान ३४:२७, २८.
१३. इस्राएलीहरूले लेख्न जानेका थिए भनी कुन कुराले संकेत गर्छ?
१३ पुरातन समयमा मेसोपोटामिया र मिश्रका शास्त्रीहरूजस्ता खास वर्गले मात्र लेखपढ गर्न जानेका थिए। तर इस्राएलमा भने सबैलाई लेखपढ गर्न प्रोत्साहित गरिन्थ्यो। व्यवस्था ६:८, ९ अनुसार इस्राएलीहरूलाई आफ्नो घरको सँघारमा परमेश्वरको आज्ञा लेख्न अह्राइएको थियो। यो आज्ञा लाक्षणिक भए तापनि त्यसले तिनीहरू लेखपढ गर्न जानेका थिए भन्ने सुस्पष्ट संकेत दिन्छ। केटाकेटीहरूलाई कलिलो उमेरमै लेख्न सिकाइन्थ्यो। पुरातन हिब्रू लेखोटको सबैभन्दा पुरानो नमुनामध्ये एक, गेजेर पात्रो मानिन्छ। त्यो पात्रो स्कूल जाने केटोको स्मरणशक्ति बढाउने अभ्यास हुनुपर्छ भन्ने सोचाइ केही शास्त्रविद्हरूको छ।
१४, १५. लेख्ने दक्षता प्रयोग गर्ने सकारात्मक तथा स्वास्थ्यकर तरिकाहरू के हुन्?
१४ हामी आफ्नो लेख्ने दक्षतालाई कसरी लाभदायक अनि स्वास्थ्यकर ढंगमा चलाउनसक्छौं? निस्सन्देह, सभा, सम्मेलन तथा अधिवेशनहरूमा टिपोट लिएर। “छोटकरीमा” मात्र चिठी लेखेको भए तापनि त्यसले बिरामी व्यक्तिलाई प्रोत्साहन दिनसक्छ वा हामीप्रति दयालु वा आतिथेय भाइ या बहिनीलाई धन्यवाद व्यक्त गर्नसक्छ। (१ पत्रुस ५:१२) मण्डलीमा कसैको प्रिय जनको मृत्यु भएको छ भने छोटो पत्र वा कार्डले हाम्रो “दिलाशा” व्यक्त गर्नसक्छ। (१ थिस्सलोनिकी ५:१४) अर्बुद रोगले गर्दा आमाको मृत्यु भएकी बहिनीले यसरी वर्णन गरिन्: “एक जना साथीले राम्रो पत्र पठाउनुभयो। त्यसले मलाई निकै मदत गऱ्यो किनभने मैले त्यसलाई बारम्बार पढ्न सक्थें।”
१५ यहोवाको प्रशंसा गर्न आफ्नो लेख्ने दक्षतालाई चलाउने सर्वोत्कृष्ट तरिका, परमेश्वरको राज्यबारे पत्रद्वारा साक्षी दिनु हो। पृथक क्षेत्रमा बस्ने जिज्ञासुहरूसित कहिलेकाहीं सम्पर्क राख्नु पर्ला। बिमारीले गर्दा केही समयको लागि घर-घरको सेवकाईमा जान गाह्रो पर्ला। शायद त्यस्तो अवस्थामा मानिसलाई व्यक्तिगत तवरमा भेटेर जे भन्नुहुन्छ त्यही कुरा लिखित रूपमा पत्रद्वारा व्यक्त गर्न सक्नुहुन्छ।
१६, १७. (क) परमेश्वरको राज्यबारे साक्षी दिन चिठी लेख्नुको महत्त्वलाई कुन उदाहरणले प्रदर्शित गर्छ? (ख) के तपाईं त्यस्तै अनुभव बताउन सक्नुहुन्छ?
१६ यो उदाहरण विचार गर्नुहोस्। धेरै वर्षअघि एउटा स्थानीय अखबारमा एक जना मानिसको समवेदना प्रकाशित गरिएको थियो। एउटी बहिनीले त्यस मृतककी विधवालाई परमेश्वरको राज्यबारे साक्षी दिंदै पत्र लेखिन्। तर कुनै जवाफ आएन। त्यसपछि, २१ वर्षपश्चात् सन् १९९४ नोभेम्बरमा यस बहिनीले त्यस विधवाकी छोरीबाट एउटा पत्र पाइन्। छोरीले यसप्रकार लेखिन्:
१७ “सन् १९७३ अप्रिलमा मेरो बुबाको मृत्युपश्चात् मेरी आमालाई सान्त्वना दिन तपाईंले पत्र लेख्नुभएको थियो। त्यतिखेर म नौ वर्षकी थिएँ। मेरी आमाले बाइबल अध्ययन त गर्नुभयो तर अहिलेसम्म यहोवाको सेवक भने हुनुभएको छैन। तथापि, उहाँको अध्ययनले गर्दा मैले अन्ततः सच्चाइबारे जानकारी पाएँ। तपाईंको पत्र पाएको १५ वर्षपछि मैले सन् १९८८ मा बाइबल अध्ययन गर्न थालें। मैले मार्च ९, १९९० का दिन बप्तिस्मा लिएँ। तपाईंले धेरै वर्षअघि लेख्नुभएको त्यस पत्रको लागि म कृतज्ञ छु र तपाईंले रोप्नुभएको बीउ यहोवाको मदतद्वारा टुसायो भनेर थाह दिन पाएकोमा म असाध्यै खुशी छु। आमाले मलाई त्यो पत्र राख्न दिनुभयो र म तपाईंलाई चिन्न चाहन्छु। आशा छ, यो पत्र तपाईंले पाउनुहुनेछ।” छोरीले आफ्नो ठेगाना र टेलिफोन नम्बर समावेश गरेर पठाएकी पत्र यो बहिनीले अवश्य पाइन्, जसले वर्षौंअघि पत्र लेखेकी थिइन्। यस बहिनीले टेलिफोन गर्दा त्यो जवान स्त्री कति छक्क परिन् होली! यस बहिनीले परमेश्वरको राज्यको आशा अरूसित बाँड्न अझै पनि पत्र लेख्छिन्।
मानसिक, नैतिक तथा आध्यात्मिक तवरमा विकास गर्ने
१८. बाइबलकालीन आमाबाबुले आफ्ना छोराछोरीलाई मानसिक तथा नैतिक शिक्षा कसरी दिन्थे?
१८ तेस्रो उद्देश्य हो, सन्तुलित शिक्षाले हामीलाई मानसिक र नैतिक विकास गर्न मदत दिनुपर्छ। बाइबलकालीन छोराछोरीहरूलाई मानसिक तथा नैतिक शिक्षा दिनु आमाबाबुको प्रमुख कर्तव्य ठानिन्थ्यो। छोराछोरीहरूलाई लेखपढ गर्न मात्र होइन तर सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरको व्यवस्थामा शिक्षित गराइन्थ्यो र यसमा जीवनका सम्पूर्ण क्रियाकलापहरू समावेश हुन्थे। तसर्थ, त्यस शिक्षामा धार्मिक दायित्व, विवाहसम्बन्धी सिद्धान्त, पारिवारिक सम्बन्ध, यौनिक नैतिकताका साथै आफ्ना सँगी मानवहरूप्रति पूरा गर्नुपर्ने दायित्वसम्बन्धी विषयहरूमा निर्देशन समावेश थियो। त्यस्तो शिक्षाले तिनीहरूलाई मानसिक तथा नैतिक तवरमा मात्र नभई आध्यात्मिक तवरमा विकास गर्नसमेत मदत दियो।—व्यवस्था ६:४-९, २०, २१; ११:१८-२१.
१९. जीवन यापन गर्न र आध्यात्मिक विकासको लागि सर्वोत्तम नैतिक मूल्यहरू देखाउने शिक्षा हामी कहाँ पाउनसक्छौं?
१९ आज नि? राम्रो सासांरिक शिक्षा महत्त्वपूर्ण छ। यसले हामीलाई मानसिक विकास गर्न मदत दिन्छ। तर जीवन यापन गर्न सर्वोत्तम नैतिक मूल्य तथा मान्यताहरू अनि आध्यात्मिक विकासको लागि चाहिने शिक्षा हामी कहाँ प्राप्त गर्नसक्छौं? हामी मसीही मण्डलीभित्र ईश्वरतान्त्रिक शिक्षा पाउनसक्छौं जुन पृथ्वीमा अन्य कतै उपलब्ध छैन। बाइबल तथा बाइबल आधारित प्रकाशनहरूको व्यक्तिगत अध्ययनको साथै मण्डलीका सभा, सम्मेलन तथा अधिवेशनद्वारा अनमोल ईश्वरीय शिक्षा अटुट रूपमा निश्शुल्क प्राप्त गर्नसक्छौं! यसले हामीलाई के सिकाउँछ?
२०. ईश्वरीय शिक्षाले हामीलाई के सिकाउँछ र त्यसको परिणाम के हुन्छ?
२० हामीले बाइबल अध्ययन गर्न थाल्दा ‘शुरूका शिक्षाहरू’ अर्थात् आधारभूत धर्मशास्त्रीय शिक्षाहरू सिक्छौं। (हिब्रू ६:१) हामीले अध्ययन गर्दै जाँदा “खँदिलो खानेकुरा” अर्थात् गहिरा सच्चाइहरू सिक्छौं। (हिब्रू ५:१४) त्यति मात्रै नभएर परमेश्वरको इच्छाअनुसार जीवन बिताउन सिकाउने ईश्वरीय सिद्धान्तहरू सिक्छौं। उदाहरणको लागि, ‘शरीरलाई अशुद्ध पार्ने’ बानी तथा प्रचलनहरूबाट अलग बस्न सिक्छौं। साथै अख्तियारवाला तथा अरूको जीउधनप्रति आदर देखाउन सिक्छौं। (२ कोरिन्थी ७:१; तितस ३:१, २; हिब्रू १३:४) यसबाहेक, आफ्नो काममा इमानदार तथा इलमी हुनुपर्ने र यौनिक नैतिकतासम्बन्धी बाइबलका आज्ञाहरूअनुसार जीवन यापन गर्नुपर्ने महत्त्वलाई बुझ्न थाल्छौं। (१ कोरिन्थी ६:९, १०; एफिसी ४:२८) यी सिद्धान्तहरूअनुरूप आफ्नो जीवन यापन गर्दै जाँदा हाम्रो आध्यात्मिकता अझ बढ्छ र परमेश्वरसित हाम्रो सम्बन्ध अझ गहिरो हुन्छ। साथै, जहाँसुकै भए तापनि हाम्रो धार्मिक आचरणले हामीलाई असल नागरिकहरू बनाउँछ। अनि यसले ईश्वरीय शिक्षाको स्रोत, यहोवा परमेश्वरको प्रशंसा गर्न अरूलाई प्रेरित गर्नसक्छ।—१ पत्रुस २:१२.
दैनिक जीवनको लागि व्यवहारिक प्रशिक्षण
२१. बाइबलकालीन छोराछोरीले कस्तो व्यवहारिक प्रशिक्षण पाउँथे?
२१ सन्तुलित शिक्षाको चौथो लक्ष्य, दैनिक जीवनको लागि चाहिने व्यवहारिक प्रशिक्षण प्रदान गर्नु हो। बाइबलकालीन आमाबाबुले दिने शिक्षामा व्यवहारिक प्रशिक्षण समावेश थियो। केटीहरूलाई घरायसी सीपहरू सिकाइन्थ्यो। हितोपदेशको अन्तिम अध्यायले देखाएअनुसार ती सीपहरू थुप्रै र विविध हुनुपर्छ। यसकारण केटीहरू धागो कात्न, बुन्न, पकाउन, सामान्य घरायसी कारोबार सँभाल्न, व्यापार गर्न, घडेरीको लेनदेन गर्न पोख्त हुन्थे। केटाहरूलाई प्रायजसो आफ्नो बुबाको सांसारिक व्यवसाय सिकाइन्थ्यो। त्यो कृषि वा कुनै व्यापार वा कालिगढी हुन्थ्यो। येशूले आफ्नो धर्मपिता, यूसुफबाट सिकर्मी काम सिक्नुभयो। यसैकारण उहाँलाई “सिकर्मीका छोरा” मात्र होइन “सिकर्मी” भनेर पनि बोलाइन्थ्यो।—मत्ती १३:५४; मर्कूस ६:३.
२२, २३. (क) शिक्षाले केटाकेटीलाई कुन कुराको निम्ति तयारी पार्नुपर्छ? (ख) आवश्यक देखिएमा थप शिक्षा हासिल गर्दा हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ?
२२ आज पनि, सुसन्तुलित शिक्षामा कुनै दिन परिवारको आवश्यकताहरू हेरचाह गर्न सक्षम हुने तयारी समावेश छ। पहिलो तिमोथी ५:८ मा प्रेरित पावलका शब्दहरूले संकेत गरेझैं आफ्नो परिवारका आवश्यकताहरू पूरा गर्नु पवित्र दायित्व हो। तिनले यसप्रकार लेखे: “कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” त्यसो भए शिक्षाले छोराछोरीलाई भावी जिम्मेवारीहरूको लागि तयार गर्नुका साथै आफ्नो समुदायका जेहनदार सदस्यहरू बन्न सुसज्जित पार्नेछ।
२३ हामीले सांसारिक शिक्षा कतिको हासिल गर्नुपर्छ? यो देश देशमा फरक फरक हुनसक्छ। तर कानुनले तोकेको न्युनतम शिक्षा रोजगारको लागि पर्याप्त भएन भने थप शिक्षा वा प्रशिक्षण लिने छोराछोरीको निर्णयलाई आमाबाबुले डोऱ्याउनुपर्छ। त्यस्तो थप शिक्षाको सम्भाव्य लाभ तथा नकारात्मक पक्षहरू केलाउन मदत दिनुपर्छ। त्यसोभए आवश्यक देखिएमा थप शिक्षा हासिल गर्नुको मनोवृत्ति के हुनुपर्छ? निस्सन्देह, धन-सम्पत्ति, आत्ममहिमा वा प्रशंसा हुनुहुँदैन। (हितोपदेश १५:२५; १ तिमोथी ६:१७) येशूको उदाहरणबाट सिकेको पाठलाई नभुल्नुहोस्—शिक्षालाई यहोवाको प्रशंसा गर्न चलाउनुपर्छ। हामीले थप शिक्षा हासिल गर्नुको मनसाय मसीही सेवकाईद्वारा यहोवाको यथाशक्य सेवा गर्न सकोस् भनेर आफूलाई आर्थिक टेवा पुऱ्याउने हुनुपर्छ।—कलस्सी ३:२३, २४.
२४. येशूबाट सिकेको कुन पाठ हामीले कहिल्यै बिर्सनु हुँदैन?
२४ त्यसकारण आउनुहोस्, हामीहरू सन्तुलित सांसारिक शिक्षा हासिल गर्ने प्रयासमा लगनशील होऔं। त्यसबाहेक, यहोवाको संगठनभित्र प्रदान गरिने अटुट ईश्वरीय शिक्षण कार्यक्रमको पूर्ण सदुपयोग गरौं। यस पृथ्वीको सर्वोत्तम शिक्षित पुरुष, येशू ख्रीष्टबाट सिकेका मूल्यवान् पाठलाई कहिल्यै नबिर्सौं। शिक्षा, आफ्नो महिमाको लागि होइन तर सबैभन्दा महान् शिक्षक, यहोवा परमेश्वरको प्रशंसा गर्न चलाउनुपर्छ!
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ येशूले आफ्नो शिक्षा कसरी चलाउनुभयो?
◻ राम्ररी पढ्न जान्नु किन महत्त्वपूर्ण छ?
◻ यहोवाको प्रशंसा गर्न लेख्ने दक्षतालाई हामी कसरी प्रयोग गर्नसक्छौं?
◻ ईश्वरीय शिक्षाले हामीलाई नैतिक तथा आध्यात्मिक विकास गर्न कसरी मदत गर्छ?
◻ सन्तुलित शिक्षामा कस्तो व्यवहारिक प्रशिक्षण समावेश हुनुपर्छ?
[पृष्ठ १३मा भएको पेटी]
शिक्षकहरूका लागि व्यवहारिक मदत
सन् १९९५/९६ मा “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशनको दौडान वाच टावर सोसाइटीले जेहोभाज् विट्नेसेज एण्ड एजुकेशन (यहोवाका साक्षीहरू र शिक्षा) शीर्षक भएको नयाँ पुस्तिका विमोचन गऱ्यो। यस ३२ पृष्ठ भएको रंगीन पुस्तिका विशेषगरि शिक्षकहरूको लागि प्रकाशित गरिएको हो। यो अहिलेसम्म ५८ भाषाहरूमा अनुवाद भइसकेको छ।
शिक्षकहरूका लागि पुस्तिका किन? यहोवाका साक्षीहरूका छोराछोरीहरूको विश्वास अझ राम्ररी बुझ्ने मदत दिन। यस पुस्तिकामा कुन कुन कुरा समावेश गरिएको छ? यसले थप शिक्षा, जन्मोत्सव, क्रिसमस र झण्डा सलामीजस्ता विषयहरूमा हाम्रो दृष्टिकोणलाई स्पष्ट तथा रचनात्मक ढंगमा वर्णन गर्छ। हाम्रा छोराछोरीहरूले स्कूलको पढाइबाट सर्वोत्तम लाभ उठाओस् भन्ने चाहन्छौं भनेर पनि यस पुस्तिकाले बताउँछ। साथै हाम्रा छोराछोरीहरूको शिक्षामा सक्रिय चासो लिएर शिक्षकहरूलाई सहयोग पुऱ्याउन चाहन्छौं भनेर त्यसले तिनीहरूलाई आश्वासन दिन्छ।
यस शिक्षा पुस्तिका कसरी प्रयोग गर्न सकिन्छ? यो विशेषगरि शिक्षकहरूको निम्ति तयार पारिएकोले यसलाई शिक्षक, प्राध्यापक तथा स्कूलका अन्य अधिकृतहरूलाई देऔं। हाम्रो दृष्टिकोण तथा विश्वास बुझ्न र हामी अरूभन्दा भिन्न हुनसक्छौं भनेर कहिलेकाहीं दाबी गर्नुको कारण बुझ्न यो नयाँ पुस्तिकाले त्यस्ता सबै शिक्षकहरूलाई मदत गरोस्। आफ्ना छोराछोरीहरूका शिक्षकहरूसित व्यक्तिगत छलफलको लागि यो पुस्तिका चलाउन आमाबाबुलाई प्रोत्साहित गरिएको छ।
[पृष्ठ १०-मा भएको चित्र]
पुरातन इस्राएलमा शिक्षाको ठूलो मोल गरिन्थ्यो