अध्याय ६६
झुप्रोबासको चाडको लागि यरुसलेममा
येसु मन्दिरमा सिकाउनुहुन्छ
बप्तिस्मा गरेको केही वर्षभित्रै येसु मानिसहरूमाझ प्रख्यात हुनुभएको छ। हजारौँ यहुदीले उहाँका चमत्कारहरू देखेका छन् अनि उहाँले गर्नुभएका कामहरूको रिपोर्ट देशभरि नै फैलिएको छ। अहिले झुप्रोबासको चाडको लागि यरुसलेम आएका थुप्रैले उहाँलाई खोजिरहेका छन्।
येसुबारे मानिसहरूको धारणा फरक-फरक छ। कोही-कोही उहाँ “असल मानिस हो” भन्छन्। कोही-कोहीचाहिँ यसो भन्छन्: “अहँ, होइन। किनकि उसले भीडलाई बहकाउँछ।” (युहन्ना ७:१२) चाडको सुरु-सुरुका दिनहरूमा मानिसहरूबीच यसप्रकारको खासखुस चलिरहन्छ। तर येसुको पक्षमा खुलेआम बोल्ने साहस भने कसैसित पनि छैन किनकि मानिसहरू यहुदी धर्मगुरुहरूले कस्तो प्रतिक्रिया देखाउलान् भनेर डराउँछन्।
चाडको बीचतिर येसु मन्दिरमा आउनुहुन्छ। उहाँको सिकाउने तरिका देखेर थुप्रै मानिस छक्क पर्छन्। उहाँले रब्बीहरूको पाठशालामा पढ्नुभएको छैन। त्यसैले यहुदीहरू अचम्म मान्दै यसो भन्छन्: “यो मानिसले पाठशाला गएर पढेको छैन, तैपनि यसले धर्मशास्त्रको यत्ति धेरै ज्ञान कहाँबाट पायो?”—युहन्ना ७:१५.
येसु यसो भन्नुहुन्छ: “म जे सिकाउँछु, त्यो मेरो होइन तर मलाई पठाउनुहुनेको शिक्षा हो। यदि कोही उहाँको इच्छा पूरा गर्न चाहन्छ भने मेरो शिक्षा मेरो आफ्नै हो कि परमेश्वरको हो, त्यो उसले थाह पाउनेछ।” (युहन्ना ७:१६, १७) येसुको शिक्षा परमेश्वरको व्यवस्थामा आधारित छ। त्यसकारण उहाँले आफ्नो होइन, परमेश्वरको महिमा खोजिरहनुभएको छ भन्ने कुरा मानिसहरूले बुझ्नुपर्ने हो।
त्यसपछि येसु भन्नुहुन्छ: “के मोसाले तिमीहरूलाई व्यवस्था दिएका होइनन् र? तर तिमीहरूमध्ये कोही पनि व्यवस्था पालन गर्दैनौ। तिमीहरू किन मलाई मार्न खोज्दै छौ?” येसुलाई मार्ने प्रयास गरिँदै छ भनेर भीडमा भएका केहीलाई, अझ भन्नुपर्दा अरू सहरबाट आएका मानिसहरूलाई थाह छैन। उहाँजस्तो असल शिक्षकलाई मानिसहरू मार्न खोज्दै छन् भनेर तिनीहरू कल्पनासमेत गर्न सक्दैनन्। त्यसैले तिनीहरूलाई येसुले त्यस्तो सोच्नु गलत हो जस्तो लाग्छ। तिनीहरू भन्छन्: “तिमीमा प्रेत बास गरेको छ। कसले तिमीलाई मार्न खोजेको छ र?”—युहन्ना ७:१९, २०.
वास्तवमा डेढ वर्षअघि येसुले विश्रामदिनमा एक जना मानिसलाई निको पार्नुहुँदा यहुदी धर्मगुरुहरूले उहाँलाई मार्न खोजेका थिए। त्यसैले येसु अब अकाट्य तर्क चलाउँदै ती धर्मगुरुहरूको अव्यावहारिकता उदाङ्ग पारिदिनुहुन्छ। विश्रामदिन नै भए पनि बालक जन्मेको आठौँ दिनमा व्यवस्थाअनुसार उसको खतना गर्नुपर्ने कुरालाई जोड दिँदै उहाँ यसो भन्नुहुन्छ: “मोसाको व्यवस्था उल्लङ्घन नहोस् भनेर यदि तिमीहरू विश्रामदिनमा खतना गर्छौ भने मैले विश्रामदिनमा एक जना मानिसलाई निको पारेँ भनेर किन रिसले चूर हुन्छौ? बाहिरबाट देखिने कुराको आधारमा न्याय गर्न छोड, बरु ठीकसित न्याय गर।”—युहन्ना ७:२३, २४.
यो परिस्थिति थाह भएका यरुसलेमका बासिन्दाहरू यसो भन्छन्: “तिनीहरूले [शासकहरूले] मार्न खोजेको मानिस यही होइन र? तैपनि हेर त, मानिसहरूसामु यो बोल्दै छ अनि तिनीहरू यसलाई केही पनि भन्दैनन्। यो मानिस साँच्चै ख्रिष्ट हो भनेर शासकहरू पक्का भएछन् कि कसो?” तैपनि मानिसहरू येसु नै ख्रिष्ट हुनुहुन्छ भनेर किन विश्वास गर्दैनन्? तिनीहरू भन्छन्: “यो मानिस कहाँको हो हामीलाई थाह छ तर जब ख्रिष्ट आउनुहुन्छ, उहाँ कहाँको हो भनेर कसैले थाह पाउँदैन।”—युहन्ना ७:२५-२७.
त्यहीँ मन्दिरमै येसु यस्तो जवाफ दिनुहुन्छ: “म को हुँ अनि कहाँको हुँ, तिमीहरूलाई थाह छ। म आफूखुसी आएको होइन तर मलाई पठाउने जो हुनुहुन्छ, उहाँ साँच्चै अस्तित्वमा हुनुहुन्छ र तिमीहरू उहाँलाई चिन्दैनौ। तर म उहाँलाई चिन्छु किनकि म उहाँको प्रतिनिधि हुँ र उहाँले नै मलाई पठाउनुभएको हो।” (युहन्ना ७:२८, २९) उहाँले यस्तो स्पष्ट जवाफ दिनुभएपछि मानिसहरू उहाँलाई झ्यालखानामा हाल्न वा मार्नको लागि उहाँलाई पक्रन खोज्छन्। तर उनीहरूको प्रयास विफल हुन्छ किनकि येसुको मृत्यु हुने बेला भइसकेको छैन।
तर थुप्रैले येसुमाथि विश्वास गर्छन् र यो अचम्मको कुरा होइन। किनकि उहाँ पानीमाथि हिँड्नुभएको, उहाँले आँधीलाई शान्त पार्नुभएको, केही टुक्रा रोटी र माछाले हजारौँ मानिसलाई खुवाउनुभएको, बिरामीहरूलाई निको पार्नुभएको, लङ्गडोलाई हिँड्न सक्ने बनाइदिनुभएको, अन्धोको आँखा खोलिदिनुभएको, कुष्ठरोगीलाई निको पार्नुभएको र मरेको मानिसलाई समेत ब्युँताउनुभएको तिनीहरूले देखेका छन्। त्यसैले तिनीहरूले यसो भन्नु उपयुक्त छ: “जब ख्रिष्ट आउनुहुन्छ, के उहाँले यो मानिसले भन्दा धेरै चमत्कार गर्नुहोला र?”—युहन्ना ७:३१.
फरिसीहरूले भीडको कुरा सुनेपछि तिनीहरू र मुख्य पुजारीहरूले येसुलाई पक्रन मन्दिरका पहरेदारहरू पठाउँछन्।