येशूको जीवन र सेवकाई
तिनीहरू उहाँलाई गिरफ्तार गर्न असफल हुन्छन्
डेराबासको चाड़ चलिरहेको बेलामा, येशूलाई गिरफ्तार गर्न धर्म-गुरुहरूले प्रहरी अधिकृतहरू पठाउँछन्। उहाँ लुक्ने प्रयास गर्नु हुन्न। बरू, आफ्नो आम शिक्षालाई, यसो भन्दै जारी राख्नुहुन्छ: “अझ केही समयसम्म म तिमीहरूसँग छु, अनि म, मलाई पठाउनेकहाँ गइहाल्छु। तिमीहरूले मलाई खोज्नेछौ, तर भेट्टाउने छैनौ, औ जहाँ म हुन्छु, तिमीहरू आउनसक्तैनौ।”
यहूदीहरूले बुझदैनन्, र तिनीहरू आपसमा सोध-पुछ गर्छन्: “यिनी कहाँ जान आँटेका छन्, र हामी यिनलाई भेट्टाउनेछैनौं? के यिनी युनानीहरूका बीचमा तितर-बितर भएकाहरूमा जान र युनानीहरूलाई सिकाउन आँटेकाछन् र? यिनले भनेको यो कस्तो वचन हो? ‘तिमीहरू मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ, औ जहाँ म हुन्छु, तिमीहरू आउनसक्तैनौ?’” वास्तवमा, येशू आफ्नो आउने मृत्युको र पुनरुत्थान द्वारा पाउनु हुने स्वर्गीय जीवन बारे कुरा गर्नु हुँदैछ, जहाँ उहाँका शत्रुहरू पुग्न सक्तैनन्।
चाड़को सातवाँ र आखिरी दिन आइपुग्छ। चाड़को दिनको प्रत्येक बिहान, एउटा पूजाहारीले सिलोआमको तलाउबाट पानी ल्याएर खन्याउछन् र त्यो बगेर बेदीको तलसम्म पुग्दछ। शायद यो दैनिक समारोहबारे मानिसहरूलाई याद दिलाउने उद्देश्यले, येशू यसो भन्दै कराउनुहुन्छ: “कोही तिर्खाउँछ भने, त्यो मकहाँ आओस् र पिओस्। जसले मलाई विश्वास गर्दछ, धर्मशास्त्रले भने अनुसार, त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्।”
यथार्थमा, पवित्र आत्मा खन्याइ सके पछि हुने महान परिणामबारे येशू यहाँ कुरा गर्नु हुँदैछ। आउने वर्ष, पेन्तीकोसको दिनमा, पवित्र आत्मा खनाउने यो घटना पूरा हुन्छ। त्यहाँ, १२० जना चेलाहरूले मानिसहरूको सेवा गर्न शुरू गर्दा, जिउँदो पानीका खोलाहरू बग्न थाल्छन्। तर, त्यस भन्दा अघि, पवित्र आत्मा छैन भन्नुको अर्थ येशूका कुनै पनि चेलाहरूले पवित्र आत्मा द्वारा अभिषिक्त भएर स्वर्गीय जीवनका लागि निम्तो पाएका छैनन् भन्नु हो।
येशूका शिक्षा सुनेर, कसै-कसैले: “साँच्चिनै यिनी अगमवक्ता रहेछन्,” भन्दै सम्भवतः तिनीहरू मोशा भन्दा महान त्यो अगमवक्ताको चर्चा गर्छन् जसको आगमनबारे प्रतिज्ञा गरिएको थियो। अरूहरू चाहिं, “यिनी ख्रीष्ट हुन्,” भन्छन्। तर यसको विरोध गर्दै अझ अरूहरू भन्छन्: “के ख्रीष्ट गालीलबाट आउँछन् र? के धर्मशास्त्रमा भनेको छैन? ‘ख्रीष्ट दाऊदका सन्तानबाट, र बेतलेहम गाउँबाट आउँछन्, जहाँ दाऊद थिए?’
त्यसकारण, भीड़मा फाटो आउँछ। कसै-कसैले येशूलाई गिरफ्तार गराउन चाहन्छन्, तर उहाँमाथि कसैले पनि हात चाहिं हाल्दैनन्। प्रहरी अधिकृतहरू, येशू बिना फर्कन्दा, मुख्य पूजाहारीहरू र फरिसीहरूले तिनीहरूलाई सोध्छन्: “तिमीहरूले त्यसलाई किन ल्याएनौ?”
अधिकृतहरूले जवाफ दिन्छन्: “यस मानिसले जस्तो ता कुनै मानिसले कहिले बोलेन।”
रीसले चुर भएर, ती धर्मगुरुहरू निन्दा, झूट र अपशब्दको प्रयोग जस्तो तुच्छ कुरा गर्न थाल्छन्। उपहास गर्दै तिनीहरू भन्छन्: “के तिमीहरू पनि भ्रममा पऱ्यौ? के शासकहरू अथवा फरिसीहरू मध्ये कसैले त्यसलाई विश्वास गऱ्यो? तर व्यवस्था नजान्ने यो भीड़ श्रापित छ।”
यसैमा, एक जना फरिसी र यहूदीहरूका शासक, (अर्थात् महासभाका एउटा सदस्य) निकोदेमसले येशूको पक्षमा बोल्ने हिम्मत गर्दछन्। तपाईंलाई सम्झना होला, अढाई वर्ष अघि, निकोदेमस येशूकहाँ राती आएर आफ्नो विश्वास जाहेर गरेका थिए। अब निकोदेमस भन्छन्: “के हाम्रा व्यवस्थाले पहिले मानिसबाटनै नसुनी, र त्यसले के गर्दछ सो नजानीकन, मानिसको इन्साफ गर्छ र?”
आफू मध्येकै एक जनाले येशूको पक्षमा बोलेको देखेर फरिसीहरू झन क्रोधित हुन्छन्। तिनीहरूले व्यङ्गका साथ भन्दछन्: “के तिमी पनि गालीलका हौ? खोजेर हेर, गालीलबाट ता अगमवक्ता निस्कँदैन।”
एउटा अगमवक्ता गालीलबाट निस्कने छ भनी धर्मशास्त्रले प्रत्यक्ष रूपमा नभनेता पनि, यस इलाकामा “एउटा ठूलो ज्योति” देखापर्नेछ भनेर, ख्रीष्ट यहाँबाट आउनु हुने कुराको सङ्केत गरिएको छ। यस बाहेक, येशू बेतलेहममा जन्मनु भएको थियो, र उहाँ दाऊदको सन्तान हुनुहुन्थ्यो। फरिसीहरूलाई यस कुराको जानकारी हुँदा हुँदै पनि, शायद तिनीहरूले येशूको विषयमा मानिसहरू बीच गलत धारणा फैलाएको हुन सक्छ। यूहन्ना ७:३२-५२; यशैया ९:१, २; मत्ती ४:१३-१७.
◆ चाड़को दिनको प्रत्येक विहान के हुन्छ, र येशूले त्यस तर्फ कसरी ध्यान आकर्षित गर्न खोज्नु भएको हुन सक्छ?
◆ अधिकृतहरूले येशूलाई किन गिरफ्तार गर्न सक्तैनन् र यसमा धर्मगुरुहरुले के प्रतिक्रिया व्यक्त गर्छन्?
◆ निकोदेमस को हुन्, येशू प्रति तिनको कस्तो दृष्टिकोण छ, र तिनीसँग तिनका सङ्गी-फरिसीहरूले कुन प्रकारको व्यवहार गर्छन्?
◆ ख्रीष्ट गालीलबाट आउनु हुनेछ भन्ने कुराको के प्रमाण छ? (w04/15/88)