बाइबलको दृष्टिकोण
‘संसारका होइनन्’—यसको अर्थ के हो?
मसीही भनौंदा हजारौं मानिसहरूले सा.यु. चौथो शताब्दीमा आफ्नो सरसम्पत्ति, आफन्त र जीवनशैली सबै त्यागेर इजिप्टको मरुभूमिमा एकान्त बास गर्न गए। तिनीहरू एंकोराइट्स नाउँले चिनिन थाले। यो नाउँ, युनानी शब्द एनाखोरियो-बाट लिइएको र यसको अर्थ “म हट्छु” हो। एक इतिहासकारको भनाइअनुसार तिनीहरू समकालीनहरूबाट आफूलाई टाढा राख्थे। एंकोराइट्सहरूको सोचाइअनुसार, मानव समाजबाट टाढा रहेमा ‘संसारका नहुनू’ भनेर मसीहीहरूलाई दिइएको आज्ञा पालन गरिरहेको हुनेथियो।—यूहन्ना १५:१९.
बाइबलमा मसीहीहरूलाई “दुनियाँबाट निष्कलंक” हुनू भनेर सल्लाह दिइएको छ। (याकूब १:२७) धर्मशास्त्रले यसरी स्पष्ट चेताउनी दिन्छ: “हे व्यभिचारी हो, संसारसँगको मित्रता परमेश्वरसँगको दुश्मनी हो भन्ने कुरा के तिमीहरूलाई थाह छैन? यसकारण, जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।” (याकूब ४:४) यद्यपि, के यस पदको शाब्दिक अर्थ लगाउँदै मसीहीहरू साँच्चै नै अरू मानिसबाट टाढिएर एंकोराइट्स हुनुपर्छ भनेको हो? के तिनीहरू अरू धर्म मान्नेहरूबाट टाढा रहनुपर्छ?
मसीहीहरू समाजविरोधी होइनन्
संसारका नहुनू भन्ने धारणाबारे बाइबलमा थुप्रै विवरणहरू छन् र ती विवरणहरूले परमेश्वरबाट टाढिएको मानव समाजबाट पो मसीहीहरू अलग रहनुपर्छ भनेर देखाउँछन्। (२ कोरिन्थी ६:१४-१७; एफिसी ४:१८; २ पत्रुस २:२० तुलना गर्नुहोस्।) तसर्थ, साँचो मसीहीहरू यहोवाको धार्मिक तौरतरिकासित मेल नखाने मनोवृत्ति, बोली र आचरणलाई बुद्धिमत्तापूर्वक त्याग्छन्। जस्तै, धनसम्पत्तिको पछि लाग्ने, मानसम्मान खोज्ने र अत्यधिक सुखविलासजस्ता कुराहरू। (१ यूहन्ना २:१५-१७) तिनीहरू युद्ध र राजनीतिमा तटस्थ रहेर पनि संसारदेखि अलग रहन्छन्।
येशू ख्रीष्टले आफ्ना चेलाहरू ‘संसारका’ हुनेछैनन् भन्नुभयो। तर उहाँले परमेश्वरलाई यसरी पनि प्रार्थना गर्नुभयो: “तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म बिन्ती गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्।” (यूहन्ना १७:१४-१६) स्पष्टतया, आफ्ना चेलाहरू गैरमसीहीहरूसित सम्बन्धै नराखी समाजविरोधी होस् भनेर येशूले चाहनुभएको थिएन। वास्तवमा भन्ने हो भने, अरूबाट टाढा हुँदा मसीहीहरूले “खुल्लमखुल्ला घर-घरमा” प्रचार गर्नू र सिकाउनू भनेर येशूले दिनुभएको आज्ञा पूरा गर्नसक्ने थिएनन्।—प्रेरित २०:२०; मत्ती ५:१६; १ कोरिन्थी ५:९, १०.
दुनियाँबाट निष्कलंक रहनू भन्ने सुझाउमा मसीहीहरूले आफूलाई अरूभन्दा ठूलो ठान्नुपर्ने कुनै आधार पाइँदैन। यहोवाको भय मान्नेहरू “अभिमानलाई” घृणा गर्छन्। (हितोपदेश ८:१३) गलाती ६:३ ले भन्छ, “केही न केहीका मानिसले म केही हुँ भन्ने सम्झन्छ भनेता त्यसले आफैलाई धोका दिन्छ।” आफूलाई उच्च ठान्नेहरूले आफैलाई धोका दिइरहेका हुन्छन् किनभने “सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन्।”—रोमी ३:२३.
“कसैको बदनाम नगर्नू”
येशूको समयमा पनि त्यस्ता मानिसहरू थिए जसले आफ्नो ऐकान्तिक धार्मिक समूहमा नलाग्ने सबैलाई घृणा गर्थे। फरिसीहरू पनि तिनीहरूमध्ये पर्थे। तिनीहरू मोशालाई दिइएको व्यवस्था र यहूदी परम्पराको विवरणमा पोख्त थिए। (मत्ती १५:१, २; २३:२) तिनीहरू आफूले सानोभन्दा सानो धार्मिक विधिविधानहरू पनि नछुटाई पालन गरेकोमा घमण्डले गमक्क फुल्थे। फरिसीहरू आफ्नो बौद्धिकता र धार्मिक ओहदाको कारण आफूलाई अरूभन्दा उच्च ठान्थे। तिनीहरूले यसो भन्दै आफ्नो कपटी र घृणित मनोवृत्ति उदांग पारे: “व्यवस्था नजान्ने यो भीड श्रापित छ।”—यूहन्ना ७:४९.
फरिसीहरूले अरू मानिसहरूका लागि तिरस्कारपूर्ण शब्दसमेत चलाउँथे। हिब्रू शब्द एमहारेट्स-लाई मुख्यतः समाजका सामान्य सदस्यहरू बुझाउन सकारात्मक ढंगमा चलाइन्थ्यो। तर समय बित्दै जाँदा यहूदाका अहंकारी धार्मिक नेताहरूले एमहारेट्स-लाई घृणित व्यक्ति बुझाउन प्रयोग गरे। मसीही भनौंदाहरूलगायत अरू समूहहरूले अरू धर्म मान्ने मानिसहरू बुझाउन “विधर्मी” र “पाखे” जस्ता होच्याउने शब्दहरू प्रयोग गरेका छन्।
यद्यपि, प्रथम शताब्दीका मसीहीहरूले मसीहीधर्म नमान्नेहरूप्रति कस्तो दृष्टि राख्थे? अरू धर्म मान्नेहरूसित ‘नम्रता’ र ‘आदरसाथ’ व्यवहार गर्नू भनेर येशूका चेलाहरूलाई चेताउनी दिइएको थियो। (२ तिमोथी २:२५; १ पत्रुस ३:१५) यस सन्दर्भमा प्रेरित पावलले असल उदाहरण बसाले। तिनी अहंकारी नभई मित्रैलो थिए। अरूलाई होच्याउनुको साटो तिनी विनम्र र प्रोत्साहनको स्रोत थिए। (१ कोरिन्थी ९:२२, २३) पावलले तीतसलाई लेखेको पत्रमा यस्तो सल्लाह दिन्छन्, “कसैको बदनाम नगर्नू, कल्याहा नहुनू, सबै मानिसहरूलाई नम्र चाल देखाएर विनयी हुनू।”—तीतस ३:२.
बाइबलमा प्रयोग गरिएको शब्द, “अविश्वासी”-लाई समयको दौडान गैरमसीहीहरू बुझाउन प्रयोग गरियो। तथापि, “अविश्वासी” शब्दलाई आधिकारिक ओहदा वा स्तरको रूपमा प्रयोग गरिएको प्रमाण कतै पाइँदैन। निस्सन्देह, गैरमसीहीहरूलाई तुच्छ बनाउन वा होच्याउन यो शब्द चलाइएको थिएन किनभने यसो गर्नु बाइबल सिद्धान्त विपरीत हुनेथियो। (हितोपदेश २४:९) आज यहोवाका साक्षीहरू अरू धर्म मान्नेहरूप्रति कठोर वा अहंकारी हुँदैनन्। गैरसाक्षी आफन्त वा छिमेकीहरूलाई होच्याउने शब्दहरू प्रयोग गर्नु ठीक होइन भनेर तिनीहरू मानिलिन्छन्। तिनीहरू बाइबलको यो सल्लाह स्वीकार्छन्: ‘प्रभुका सेवक . . . सबैप्रति भला हुनुपर्छ।’—२ तिमोथी २:२४.
“सबै मानिसतर्फ . . . भलाइको काम” गर
संसारसित र विशेषगरि ईश्वरीय स्तरहरूको घोर अनादर गर्नेहरूसित घनिष्ठ हुँदा आउनसक्ने खतराहरू थाह पाउनु महत्त्वपूर्ण छ। (१ कोरिन्थी १५:३३ तुलना गर्नुहोस्।) यद्यपि, बाइबलले “सबै मानिसतर्फ . . . भलाइको काम” गर भनी सल्लाह दिंदा “सबै” भन्नाले मसीही विश्वास नमान्नेहरू पनि बुझिन्छ। (गलाती ६:१०) स्पष्टतया, कतिपय परिस्थितिहरूमा प्रथम शताब्दीका मसीहीहरूले भिन्नै धर्म मान्नेहरूसित बसेर खानपिन गरे। (१ कोरिन्थी १०:२७) तसर्थ, आज मसीहीहरूले भिन्नै धर्म मान्नेहरूलाई सँगीमानव ठानेर तिनीहरूप्रति सन्तुलित दृष्टिकोण राख्छन्।—मत्ती २२:३९.
बाइबल सत्य थाह छैन भन्दैमा कुनै व्यक्ति अशिष्ट वा अनैतिक हुन्छ भन्ठान्नु सरासर गलत हुनेछ। परिस्थिति र मानिसहरू सधैं एकै हुँदैनन्। तसर्थ, प्रत्येक मसीहीले अर्को धर्म मान्नेहरूसित कुन हदसम्म हेलमेल राख्ने हो, आफैले निर्णय गर्नैपर्छ। तथापि, एंकोराइट्हरूजस्तो अरूबाट टाढिनु वा फरिसीहरूले जस्तो आफूलाई उच्च ठान्नु मसीहीको लागि अनावश्यक हुनुका साथै गैरशास्त्रीय हुनेछ।