अध्याय ८१
बुबासित एक हुनुहुन्छ तर उहाँ परमेश्वर हुनुहुन्न
“म र बुबा एक हौँ”
येसु यहुदीहरूको झूटो आरोपको खण्डन गर्नुहुन्छ
येसु समर्पणको चाड (वा हनुक्का) मनाउन यरुसलेम आउनुभएको छ। यो चाड मन्दिरलाई पुनः समर्पण गरिएको सम्झनामा मनाइन्छ। एक शताब्दीभन्दा अगाडि सिरियाका राजा एन्टियोकस चौथो इपिफेन्सले परमेश्वरको मन्दिरमा भएको ठूलो वेदीमाथि झूटा देवताको निम्ति अर्को एउटा वेदी बनाएका थिए। पछि एक जना यहुदी पुजारीका छोराहरूले यरुसलेमलाई फेरि कब्जा गरे अनि यहोवाको मन्दिरलाई पुनः समर्पण गरे। त्यही समयदेखि यो चाड हरेक वर्ष किसलेव २५ मा मनाइन्छ। यो महिना नोभेम्बरको अन्ततिरदेखि डिसेम्बरको सुरुतिरसम्म पर्छ।
यो हिउँदको बेला हो। येसु मन्दिरमा भएको सुलेमान दलानमा हिँडिरहनुभएको छ। यहाँ यहुदीहरूले उहाँलाई घेरेर यसरी सोध्न थाल्छन्: “तिमी कतिन्जेल हामीलाई अन्योलमा राख्छौ? यदि तिमी ख्रिष्ट हौ भने हामीलाई प्रस्ट भनिहाल।” (युहन्ना १०:२२-२४) येसु कस्तो जवाफ दिनुहुन्छ? उहाँ भन्नुहुन्छ: “मैले तिमीहरूलाई भनिसकेँ तैपनि तिमीहरू मलाई विश्वास गर्दैनौ।” येसुले तिनीहरूलाई इनारमा भेटेको सामरियाली आइमाईलाई जस्तो आफू ख्रिष्ट हुँ भनेर सीधै बताउनुभएको छैन। (युहन्ना ४:२५, २६) तर उहाँले यसो भनेर आफ्नो परिचय खुलाउनुभएको छ: “अब्राहाम अस्तित्वमा आउनुभन्दा पहिल्यै म थिएँ।”—युहन्ना ८:५८.
मानिसहरू आफैले येसुले गर्नुभएका कामहरूलाई ख्रिष्टले गर्नुहुने कामहरूबारे गरिएका भविष्यवाणीहरूसित दाँजेर हेरेको र येसु नै ख्रिष्ट हुनुहुन्छ भन्ने निष्कर्षमा पुगेको उहाँ चाहनुहुन्छ। त्यसैले त येसु चेलाहरूलाई उहाँ मसीह हो भनेर कसैलाई नभन्नू भन्ने गर्नुहुन्थ्यो। तर अहिले भने उहाँ यी विरोधीहरूलाई प्रस्टसित यसो भन्नुहुन्छ: “मैले आफ्नो बुबाको नाममा गरिरहेका कामहरूले नै मेरो विषयमा साक्षी दिन्छन्। तर तिमीहरू विश्वास गर्दैनौ।”—युहन्ना १०:२५, २६.
तिनीहरू येसु नै ख्रिष्ट हुनुहुन्छ भनेर किन विश्वास गर्दैनन्? उहाँ भन्नुहुन्छ: “तिमीहरू विश्वास गर्दैनौ किनकि तिमीहरू मेरा भेडा होइनौ। मेरा भेडाहरूले मेरो स्वर सुन्छन् र म तिनीहरूलाई चिन्छु अनि तिनीहरू मेरो पछि लाग्छन्। म तिनीहरूलाई अनन्त जीवन दिन्छु अनि तिनीहरू कहिल्यै नष्ट हुनेछैनन् र कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजानेछैन। मेरो बुबाले मलाई जे दिनुभएको छ, त्यो अरू सबै कुराभन्दा अनमोल छ।” त्यसपछि बुबासित आफ्नो घनिष्ठ सम्बन्धबारे उहाँ यसो भन्नुहुन्छ: “म र बुबा एक हौँ।” (युहन्ना १०:२६-३०) येसु अहिले पृथ्वीमा हुनुहुन्छ र उहाँको बुबाचाहिँ स्वर्गमा हुनुहुन्छ। त्यसैले येसुले शाब्दिक अर्थमै आफू र बुबा एक हो भन्न खोज्नुभएको होइन। बरु उहाँहरू उद्देश्यमा एक हुनुहुन्छ; उहाँहरू एकतामा हुनुहुन्छ।
येसुको कुरा सुनेर ती यहुदीहरू यत्ति साह्रो रिसाउँछन् कि तिनीहरू फेरि ढुङ्गा टिपेर उहाँलाई हान्न खोज्छन्। तर येसु डराउनुहुन्न। बरु यसो भन्नुहुन्छ: “मेरो बुबाको तर्फबाट मैले तिमीहरूलाई थुप्रै असल काम गरेर देखाएँ। यीमध्ये कुनचाहिँ कामको लागि तिमीहरू मलाई ढुङ्गा हान्न खोज्दै छौ?” तिनीहरू यस्तो जवाफ दिन्छन्: “तिमीले गरेको कुनै असल कामको लागि हामीले ढुङ्गा हान्न खोजेका होइनौँ तर तिमीले ईश्वरनिन्दा गरेकोले हान्न खोजेका हौँ किनकि . . . तिमी आफू ईश्वर हुँ भनी दाबी गर्छौ।” (युहन्ना १०:३१-३३) येसुले कहिल्यै पनि आफू ईश्वर हुँ भन्नुभएन। त्यसोभए यहुदीहरू उहाँलाई किन यस्तो आरोप लगाउँछन्?
येसु आफूसित त्यस्तो शक्ति छ भनेर बताउँदै हुनुहुन्छ, जुन शक्ति यहुदीहरूको विचारमा परमेश्वरसित मात्र छ। जस्तै, येसुले “भेडा”-बारे बताउनुहुँदा “म तिनीहरूलाई अनन्त जीवन दिन्छु” भन्नुभएको थियो, जुन काम कुनै पनि मानिसले गर्न सक्दैन। (युहन्ना १०:२८) येसुले यी सबै अख्तियार बुबाबाट पाएको हुँ भनेर स्वीकार गर्नुभएको छ तर ती यहुदीहरूले यस कुरालाई बेवास्ता गरिरहेका छन्।
तिनीहरूको झूटो आरोपको खण्डन गर्दै येसु यसो भन्नुहुन्छ: “के तिमीहरूको व्यवस्थामा [भजन ८२:६ मा] यस्तो लेखिएको छैन, ‘मैले भनेँ: “तिमीहरू ईश्वरहरू हौ”’? यदि परमेश्वरले आफ्नो वचनले दोषी ठहराएकाहरूलाई त ‘ईश्वरहरू’ भन्नुभयो . . . भने मैले ‘म परमेश्वरको छोरा हुँ’ भनेँ भन्दैमा तिमीहरू कसरी मलाई ‘तिमीले ईश्वरनिन्दा गऱ्यौ’ भन्न सक्छौ, जबकि बुबाले नै मलाई पवित्र तुल्याएर संसारमा पठाउनुभएको हो?”—युहन्ना १०:३४-३६.
हो, धर्मशास्त्रले ठीकसित न्याय नगर्ने मानव न्यायकर्ताहरूलाई समेत “ईश्वरहरू” भन्छ। त्यसैले येसुले ‘म परमेश्वरको छोरा हुँ’ भन्नुभएकोमा ती यहुदीहरूले उहाँलाई कसरी दोषी ठहराउन मिल्छ र? उहाँ तिनीहरूलाई तिनीहरूको चित्त बुझ्न सक्ने यस्तो एउटा कुरा भन्नुहुन्छ: “यदि मैले आफ्नो बुबाका कामहरू गरिरहेको छैनँ भने मलाई विश्वास नगर। तर यदि गरिरहेको छु भने मलाई विश्वास नगरे तापनि मेरा कामहरूलाई विश्वास गर ताकि म बुबासित एकतामा छु र बुबा मसित एकतामा हुनुहुन्छ भनी तिमीहरूले बुझ्न र विश्वास गरिरहन सक।”—युहन्ना १०:३७, ३८.
यसपछि यहुदीहरू येसुलाई पक्रन खोज्छन् तर उहाँ तिनीहरूको हातबाट उम्कनुहुन्छ। उहाँ यरुसलेम छोडेर यर्दनपारि त्यस ठाउँमा जानुहुन्छ, जहाँबाट युहन्नाले करिब चार वर्षअघि बप्तिस्मा गराउने काम थालेका थिए। यो ठाउँ गालिल समुद्रको दक्षिणी किनाराबाट नजिकै छ जस्तो देखिन्छ।
त्यहाँ थुप्रै मानिस येसुकहाँ आएर यसो भन्छन्: “युहन्नाले एउटै चमत्कार गरेनन् तर यस मानिसको विषयमा युहन्नाले भनेको सबै कुरा सत्य रहेछ।” (युहन्ना १०:४१) यसरी थुप्रै यहुदीहरू उहाँमाथि विश्वास गर्छन्।