अहिले र सधैंभरि ज्ञान लिइरहने
जर्मन चिकित्सक उल्रिक स्ट्रन्सले फरएभर यङ (सदा जवान) नामक थुप्रै शृङ्खला भएको एउटा पुस्तक लेखे। व्यायाम, पौष्टिक आहार तथा स्वास्थ्यकर जीवन शैलीले स्वास्थ्यलाई राम्रो बनाउन सक्छ र सम्भवतः लामो समयसम्म बाँच्न सकिन्छ भनी तिनले यी शृङ्खलाहरूमा तर्क गरे। यद्यपि, यो सल्लाह पालन गरेमा आफ्ना पाठकहरू साँच्चै सधैंभरि बाँच्न सक्छन् भनेर चाहिं तिनी ठोकुवा गर्दैनन्।
तथापि, अनन्त जीवनको प्रतिज्ञा गर्ने एउटा ज्ञान छ। अर्कोतर्फ, सधैंभरि बाँच्नुभएको भए तपाईंले उपयोगी ज्ञान सधैंभरि लिइरहन सक्नुहुने थियो। प्रार्थनामा येशूले परमेश्वरलाई यसो भन्नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून् [“ज्ञान लिऊन्,” NW ]।” (यूहन्ना १७:३) आउनुहोस्, सबैभन्दा पहिला हामी “अनन्त जीवन” भन्ने अभिव्यक्तिको व्याख्या गरौं अनि त्यसपछि यो विशेष किसिमको ज्ञानमा के-के समावेश छन् र तपाईं कसरी यस्तो ज्ञान हासिल गर्न सक्नुहुन्छ, केलाएर हेरौं।
बाइबलअनुसार सृष्टिकर्ताले अब चाँडै पृथ्वीलाई साँच्चैको प्रमोदवनमा परिणत गर्नुहुनेछ र त्यहाँ लामो समयसम्म जीवन बिताउन सकिनेछ। त्यस्तो प्रमोदवन ल्याउन नूहको दिनको जलप्रलयजस्तै निर्णायक कदम चाल्नु आवश्यक पर्नेछ। मत्ती अध्याय २४, पद ३७ देखि ३९ मा येशूले हाम्रो समयलाई “नूहको दिन[ सित]” तुलना गर्नुभएको पाउँछौं र नूहको दिनका मानिसहरूले आफू बाँचिरहेको जटिल अवस्थाबारे “थाहै पाएनथे” अर्थात् वास्तै गरेनथे। नूहले प्रचार गरेको सन्देशलाई पनि तिनीहरूले वास्ता गरेनन्। तब ‘नूह जहाजमा पस्ने दिन आयो’ र यो ज्ञान तिरस्कार गर्ने जति सबै जना जलप्रलयमा नाश भए। जहाजमा भएका नूह तथा तिनीसँग भएकाहरू मात्रै बाँचे।
हाम्रो समयमा पनि त्यस्तै “दिन” आउँदैछ भनी येशूले सङ्केत गर्नुभयो। यस घटनासित सम्बन्धित ज्ञानलाई ध्यान दिनेहरू बाँच्ने मात्र होइनन् तर उनीहरूले सधैंभरि बाँच्ने प्रत्याशा पनि पाउनेछन्। साथै, परमेश्वरको सम्झनामा भएका मरिसकेका व्यक्तिहरूलाई फेरि कहिल्यै मर्नु नपर्ने जीवनको प्रत्याशासहित पुनर्जीवित पारिनेछ। (यूहन्ना ५:२८, २९) यी दुई कुरालाई येशूले कसरी व्यक्त गर्नुभयो ध्यान दिनुहोस्। मरिसकेका व्यक्तिहरूको पुनरुत्थानबारे मार्थासित कुरा गर्दा उहाँले यसो भन्नुभयो: “मलाई विश्वास गर्ने मऱ्यो भने पनि बाँच्नेछ। औ बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिल्यै पनि मर्नेछैन।” सम्पूर्ण प्रमाणले देखाएअनुसार यो “दिन” एकदमै नजिक छ, जसको मतलब हो तपाईं ‘कहिल्यै पनि मर्नुहुनेछैन।’—यूहन्ना ११:२५-२७.
त्यसपछि येशूले मार्थालाई सोध्नुभयो: “के तिमी यो विश्वास गछ्र्यौ?” तिनले जवाफ दिइन्, “हो प्रभु।” येशूले यही प्रश्न आज तपाईंलाई सोध्नुभएको भए तपाईं कस्तो जवाफ दिनुहुने थियो? कहिल्यै नमर्ने सम्भावनामा विश्वास गर्न तपाईंलाई गाह्रो लाग्थ्यो होला। तर तपाईंलाई त्यस्तो लागे पनि यसमा विश्वास गर्न भने तपाईंलाई अवश्यै मन लाग्ने थियो होला। ‘कहिल्यै पनि मर्नुभएन’ भने तपाईं कत्ति धेरै कुरा सिक्न सक्नुहुन्छ, विचार गर्नुहोस् त! अहिल्यै सिकेर अनि गरेर आनन्द उठाउन चाहेको तर त्यसको लागि कहिल्यै समय नमिलेको कुराबाट आनन्द उठाइरहेको कल्पना गर्नुहोस्। अनि मृत्युको कारण गुमाउनुपरेको आफ्ना प्रियजनहरूसित पुनर्मिलन हुने विषयमा पनि सोच्नुहोस्! यस्तो कुरा सम्भव तुल्याउने ज्ञान कुन ज्ञान हो र तपाईं कसरी यो ज्ञान प्राप्त गर्न सक्नुहुन्छ?
हामीसित जीवनदायी ज्ञान हासिल गर्ने क्षमता छ
के हामीसित परमेश्वर तथा ख्रीष्टको ज्ञान लिने क्षमता नै छैन? त्यसो होइन। हुन त हो, सृष्टिकर्ताका कामहरूसित सम्बन्धित ज्ञान हासिल गरेर साध्य छैन। यद्यपि, येशूले “ज्ञान” र “अनन्त जीवन[को]” सम्बन्धबारे बताउनुहुँदा उहाँले खगोलविद्या अथवा अन्य कुनै विज्ञानबारे बताइरहनुभएको थिएन। हितोपदेश अध्याय २, पद १ देखि ५ ले बाइबलमा पाइने “वचन” र “आज्ञा” “परमेश्वरको ज्ञान[को]” लागि अत्यावश्यक छन् भनी सङ्केत गर्छ। अनि येशूको विषयमा चाहिं यूहन्ना २०:३०, ३१ ले ‘जीवन पाउनको लागि’ बाइबलमा लेखिएका कुराहरू पर्याप्त छन् भनी बताउँछ।
तसर्थ, अनन्त जीवन कसरी प्राप्त गर्ने भन्ने कुरा तपाईंलाई बताउन बाइबलमा पाइने यहोवा र येशू ख्रीष्टको ज्ञान पर्याप्त छन्। बाइबल एउटा अनुपम पुस्तक हो। सृष्टिकर्ताले मानिसलाई बाइबल लेख्न यसरी प्रेरित गर्नुभयो कि धेरै लेखपढ गर्न नपाएका मानिसहरूले समेत अनन्त जीवन प्राप्त गर्न पर्याप्त मात्रामा यो ज्ञान लिन सक्छन्। त्यस्तै गरी, चाँडै सिक्ने र समय तथा स्रोतसाधन भएकाहरूले प्रेरित धर्मशास्त्रबाट केही न केही नयाँ कुरा सधैं सिक्न सक्नेछन्। तपाईंले यो लेख पढ्न सक्नु भनेकै पनि तपाईंसित सिक्ने क्षमता छ भन्ने कुराको प्रमाण हो तर तपाईंले यस क्षमतालाई कसरी प्रयोग गर्नुपर्छ?
यस ज्ञानबारे थाह भइसकेका व्यक्तिको डोऱ्याइमा व्यक्तिगत बाइबल अध्ययन गर्नु नै यो ज्ञान हासिल गर्ने सबैभन्दा प्रभावकारी तरिका हो भन्ने कुरा विश्वका धेरै मानिसहरूको अनुभवले देखाएको छ। नूहले आफ्नो समयका मानिसहरूलाई ज्ञान बाँड्ने प्रयत्न गरेझैं तपाईंसित बाइबल छलफल गर्न यहोवाका साक्षीहरू पनि तपाईंको घर आउन इच्छुक छन्। उनीहरूले परमेश्वर हामीबाट के चाहनुहुन्छ? भन्ने पुस्तिका अथवा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछa भन्ने उपयुक्त शीर्षक भएको पुस्तक चलाउन सक्छन्। पार्थिव प्रमोदवनमा विश्वासी जनहरू ‘कहिल्यै मर्नेछैनन्’ भन्ने धारणामा विश्वास गर्न तपाईंलाई गाह्रो लागे तापनि यस्ता बाइबल छलफलहरूद्वारा तपाईं यस प्रतिज्ञामा भरोसा गर्न सिक्न सक्नुहुन्छ। त्यसैले, यदि तपाईं सधैंभरि बाँच्न चाहनुहुन्छ अथवा सधैंभरि बाँच्ने कुरामा विश्वास गर्नु व्यावहारिक छ कि छैन होला भनी बुझ्न चाहनुहुन्छ भने तपाईंले के गर्नुपर्छ? बाइबल अध्ययन गर्ने यो मौका स्वीकार्नुहोस्।
यस्तो बाइबल अध्ययन गर्न कति समय लाग्नेछ? सयौं भाषामा उपलब्ध भर्खरै चर्चा गरिएको ३२ पृष्ठे पुस्तिकामा १६ वटा छोटा-छोटा पाठ छन्। अथवा हप्ताको एक घण्टा समय निकाल्न सक्नुहुन्छ भने ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ भन्ने पुस्तक चलाएर बाइबलका महत्त्वपूर्ण विषयहरू अध्ययन गर्न केही महिना मात्रै लाग्नेछ। यी प्रकाशनहरूले धेरैलाई प्रचुर ज्ञान हासिल गर्न र परमेश्वरप्रतिको प्रेमलाई अझ गहिरो बनाउन मदत गरेका छन्। सृष्टिकर्तालाई साँच्चै प्रेम गर्नेहरूलाई उहाँले अनन्त जीवनको इनाम दिनुहुनेछ।
जीवनदायी ज्ञान हामीले हासिल गर्न नसक्ने कुरा होइन र यस्तो ज्ञान सजिलै पाउन पनि सकिन्छ। आंशिक रूपमै भए पनि बाइबल २,००० भन्दा बढी भाषामा अनुवाद भएको छ। तपाईंको ज्ञान अझ बढाउन २३५ मुलुकमा छरिएर रहेका यहोवाका साक्षीहरू तपाईंलाई व्यक्तिगत रूपमा मदत गर्न र बाइबल आधारित प्रकाशनहरू उपलब्ध गराउन इच्छुक छन्।
व्यक्तिगत अध्ययन
परमेश्वरसितको तपाईंको सम्बन्ध तपाईं र सृष्टिकर्ताबीचको निजी मामिला हो। यस सम्बन्धलाई कायम राख्न तथा सुदृढ पार्न सक्ने तपाईं नै हुनुहुन्छ र उहाँले मात्रै तपाईंलाई अनन्त जीवन दिन सक्नुहुन्छ। त्यसकारण, तपाईंले व्यक्तिगत रूपमा उहाँको लिखित वचन अध्ययन गरिरहनु आवश्यक छ। तपाईंकै घरमा नियमित रूपमा कोही आइदिए तपाईंलाई अध्ययनको लागि समय निकाल्न सजिलो हुन्छ होला।
बाइबल तथा बाइबल अध्ययन सहायकहरूमा “परमेश्वरको ज्ञान” पाइने भएकोले त्यसको राम्रो हेरविचार गर्नु एकदमै जरुरी छ। (हितोपदेश २:५) यस प्रकार तपाईंसित ती वर्षौंसम्म पनि सुरक्षित रहनेछन्। यदि तपाईं विकासोन्मुख देशमा बसोबास गर्नुहुन्छ भने स्कूलमा तपाईंले धेरै पाठ्यपुस्तक नचलाउनुभएको हुन सक्छ र विशेष गरी सुनेको र हेरेको भरमै मात्र सिक्नुभएको हुन सक्छ। उदाहरणका लागि, बेनिनमा ५० भन्दा बढी भाषा बोलिन्छन्। त्यहाँका मानिसहरूको लागि चार वा पाँचवटा भाषा मजाले फरर बोल्नु कुनै गाह्रो कुरा होइन र उनीहरूले यी भाषाका एउटै पनि पाठ्यपुस्तक पढेका छैनन्। सुनेको, हेरेको अनि ध्यान दिएको भरमा सिक्ने तपाईंको क्षमता एउटा वरदान हो। तरैपनि अध्ययन गर्दा पुस्तकहरूले धेरै मदत पुऱ्याएको तपाईंले अनुभव गर्नुहुनेछ।
तपाईंको घर साँघुरो छ भने पनि आफ्नो बाइबल तथा बाइबल आधारित प्रकाशनहरूलाई सुरक्षित ठाउँमा राख्ने कोसिस गर्नुहोस्। सजिलै झिक्न सकिने र नबिग्रने ठाउँमा ती राख्नुहोस्।
पारिवारिक अध्ययन
तपाईं आमा वा बुबा हुनुहुन्छ भने आफूले हासिल गरिरहेको ज्ञान आफ्ना छोराछोरीलाई पनि सिकाउन तपाईं इच्छुक हुनुपर्छ। विकासोन्मुख देशहरूमा आमाबुबाले आफ्ना छोराछोरीलाई अक्सर जीवन धान्न आवश्यक सीपहरू सिकाउने गर्छन्। यस्ता सीपहरूमा खाना पकाउनु, दाउरा बटुल्नु, पानी ल्याउनु, खेतीपाती गर्नु, माछा मार्नु र बजारमा किनबेच गर्नु समावेश छन्। यो साँच्चै जीवनमा काम लाग्ने शिक्षा हो। तथापि, यस्तो शिक्षामा आमाबाबुले अनन्त जीवनतर्फ डोऱ्याउने ज्ञानचाहिं समावेश गर्दैनन्।
तपाईंको अवस्था जस्तोसुकै भए पनि कामले गर्दा भ्याउँदै-भ्याउँदैन जस्तो तपाईंलाई लाग्न सक्छ। सृष्टिकर्ताले तपाईंको यो अवस्था पनि बुझ्नुहुन्छ। छोराछोरीलाई उहाँका मार्गहरू कसरी सिकाउने भन्ने सन्दर्भमा यहोवाले धेरै अघि के भन्नुभयो, ध्यान दिनुहोस्। “ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड्दा, ढल्केर बस्ता र उठ्दा तिनको चर्चा गर।” (व्यवस्था ६:७) यस्तो विचारको आधारमा तल दिइएझैं तपाईंले आफ्नै किसिमको शैक्षिक कार्यक्रम बनाउनुभए कसो होला?
१. “घरमा बस्ता”: कसैले तपाईंसित गरेझैं घरमा आफ्ना छोराछोरीसित नियमति रूपमा, हुनसक्छ हप्तैपिच्छे बाइबल छलफल गर्ने प्रयास गर्नुहोस्। यहोवाका साक्षीहरूसित सबै उमेरका बच्चाहरूलाई सिकाउन उपयुक्त बाइबल आधारित प्रकाशनहरू छन्।
२. “बाटोमा हिंड्दा”: आफ्ना छोराछोरीलाई जीवनका आवश्यकताहरूबारे सिकाउनुभएझैं अथवा अनौपचारिक ढङ्गमा उनीहरूलाई निर्देशन दिनुभएझैं कुरै-कुरामा आफ्ना छोराछोरीलाई यहोवाबारे बताउनुहोस्।
३. “ढल्केर बस्ता”: हरेक साँझ आफ्ना छोराछोरीसँग प्रार्थना गर्नुहोस्।
४. “उठदा”: थुप्रै परिवारले हरेक बिहान एउटा बाइबल पद छलफल गर्दा परिणाम इनामदायी भएको पाएका छन्। यसको लागि यहोवाका साक्षीहरूले दिनहुँ धर्मशास्त्र जाँच्नेb पुस्तिका प्रयोग गर्छन्।
विकासोन्मुख देशका थुप्रै आमाबाबुले आफ्नो एउटा छोरा वा छोरीलाई राम्रो शिक्षादीक्षा दिन निकै प्रयास गर्छन्। त्यसो गर्दा आमाबाबु बूढाबूढी भएको बेला उसले आमाबाबुको हेरविचार गर्न सक्नेछन्। तथापि, बाइबल अध्ययन गर्नुभयो र आफ्ना सबै छोराछोरीलाई पनि त्यसै गर्न मदत गर्नुभयो भने, तपाईं तथा तपाईंका सम्पूर्ण परिवारले सधैंभरि बाँच्न सम्भव तुल्याउने ज्ञान हासिल गर्नुहुनेछ।
के सबै कुरा थाह पाउने दिन पनि कहिल्यै आउला र? अहँ, आउनेछैन। हाम्रो पृथ्वी विशाल अन्तरिक्षमा निरन्तर घुमिरहेजस्तै हामी पनि निरन्तर ज्ञान लिइरहनेछौं। त्यसैकारण त उपदेशक ३:११ (NRV) यसो भन्छ: “उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन्।” ज्ञान लिनु भनेको खुसीको कुरा हो र ज्ञान लिने यो काम कहिल्यै सिद्धिनेछैन।
[फुटनोटहरू]
a दुवै यहोवाका साक्षीहरूले प्रकाशित गरेका हुन्।
b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
‘अनन्त जीवन यही हो, कि तिनीहरूले . . . ज्ञान लिऊन्’
[पृष्ठ ७-मा भएका चित्रहरू]
आफ्नो परिवारलाई अहिले र सधैंभरि ज्ञान लिइरहन मदत गर्नुहोस्