अध्याय ११७
प्रभुको साँझको भोज
मत्ति २६:२१-२९ मर्कुस १४:१८-२५ लुका २२:१९-२३ युहन्ना १३:१८-३०
धोका दिने व्यक्ति यहुदा हुन् भनेर चिनाइन्छ
येसु स्मरणार्थको भोज स्थापना गर्नुहुन्छ
यही साँझ केही समयअगाडि मात्र येसुले आफ्ना प्रेषितहरूको खुट्टा धोइदिएर नम्रतासम्बन्धी पाठ सिकाउनुभएको छ। सायद निस्तार चाडको भोज खाइसकेपछि येसु दाउदका यी भविष्यसूचक शब्दहरू उद्धरण गर्नुहुन्छ: “मैले भरोसा गरेको मेरो घनिष्ठ साथी, जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्न खुट्टा उचालेको छ।” त्यसपछि उहाँ यसो भन्नुहुन्छ: “तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”—भजन ४१:९; युहन्ना १३:१८, २१.
प्रेषितहरू एकअर्कालाई पल्याकपुलुक हेर्दै यस्तो प्रश्न सोध्छन्: “प्रभु, के त्यो म हुँ?” यहुदा इस्करियोतसमेत त्यसै गर्छन्। पत्रुस येसुको छेवैमा बसिरहेका युहन्नालाई त्यो व्यक्ति को हो भनेर सोध्न इसारा गर्छन्। त्यसैले युहन्ना येसुको छातीमा अडेस लाग्दै सोध्छन्: “प्रभु, कसले?”—मत्ति २६:२२; युहन्ना १३:२५.
येसु भन्नुहुन्छ: “रोटीको टुक्रा चोपेर म जसलाई दिन्छु, उसैले।” त्यसपछि उहाँ टेबुलमा भएको भाँडोमा रोटीको टुक्रा चोप्नुहुन्छ र यहुदालाई यसो भन्दै दिनुहुन्छ: “मानिसको छोरा त आफ्नो विषयमा लेखिएअनुसारै जाँदै छ तर मानिसको छोरालाई धोका दिनेलाई भने धिक्कार छ! त्यो मानिस त जन्मँदै नजन्मेको भए त्यसको लागि बेस हुनेथियो।” (युहन्ना १३:२६; मत्ति २६:२४) त्यसपछि सैतान यहुदाभित्र पस्छ। भ्रष्ट भइसकेका यहुदा अब आफूलाई दियाबलको इच्छा पूरा गर्न सुम्पन्छन्। यसरी तिनी “विनाशको छोरा” बन्छन्।—युहन्ना ६:६४, ७०; १२:४; १७:१२.
येसु यहुदालाई भन्नुहुन्छ: “तिमी जे गर्दै छौ, झट्टै सिध्याइहाल।” अरू प्रेषितहरूलाई चाहिँ यहुदासित पैसाको कन्तुर भएकोले येसुले तिनलाई “‘चाडको लागि हामीलाई चाहिने कुरा किन’ भन्नुभएको होला वा गरिबहरूलाई केही दिन अह्राउनुभएको होला” जस्तो लाग्छ। (युहन्ना १३:२७-३०) तर यहुदा भने येसुलाई धोका दिन त्यहाँबाट निस्कन्छन्।
निस्तार चाडको भोज खाएकै साँझ येसु एउटा बिलकुलै नयाँ किसिमको भोज स्थापना गर्नुहुन्छ। उहाँ रोटी लिनुहुन्छ, धन्यवादको प्रार्थना चढाउनुहुन्छ, रोटी भाँच्नुहुन्छ अनि खानको लागि आफ्ना प्रेषितहरूलाई दिनुहुन्छ। उहाँ भन्नुहुन्छ: “यो तिमीहरूका लागि दिइने मेरो शरीरको प्रतीक हो। मेरो सम्झनामा यो गर्ने गर।” (लुका २२:१९) त्यो रोटी पास गरिन्छ र प्रेषितहरू त्यसबाट खान्छन्।
अब येसु एक कचौरा दाखमद्य लिनुहुन्छ, धन्यवादको प्रार्थना चढाउनुहुन्छ अनि प्रेषितहरूलाई पास गर्नुहुन्छ। सबै प्रेषितले त्यस कचौराबाट पिउँछन्, जसबारे उहाँ यसो भन्नुहुन्छ: “यो कचौरा त्यो नयाँ करारको प्रतीक हो, जो तिमीहरूका लागि बगाइने मेरो रगतको आधारमा बाँधिनेछ।”—लुका २२:२०.
यसरी येसु आफ्ना अनुयायीहरूले हरेक वर्ष नीसान १४ मा उहाँको मृत्युको सम्झनास्वरूप मनाउनुपर्ने उत्सव स्थापना गर्नुहुन्छ। यसले वफादार मानिसहरूलाई पाप र मृत्युको पन्जाबाट फुत्किन येसु र उहाँको बुबाले मिलाउनुभएको प्रबन्धको सम्झना गराउनेछ। निस्तार चाडले यहुदीहरूको लागि जुन अर्थ राख्थ्यो, यसले त्योभन्दा पनि ठूलो अर्थ राख्छ। विश्वास गर्ने मानिसजातिलाई यसले साँचो स्वतन्त्रता दिन्छ।
उहाँको रगत “पापहरूको क्षमा होस् भनेर थुप्रैका लागि बगाइनेछ” भनेर येसु भन्नुहुन्छ। उहाँका वफादार प्रेषितहरू र अरू थुप्रै वफादार चेलाहरूले यस्तो क्षमा पाउँछन्। तिनीहरू उहाँको बुबाको राज्यमा उहाँसितै हुनेछन्।—मत्ति २६:२८, २९.