येशूको प्रार्थनाबमोजिम काम गर्नुहोस्
“हे बुबा, . . . आफ्नो छोराको महिमा गर्नुहोस्, ताकि तपाईंको छोराले पनि तपाईंको महिमा गरोस्।”—यूह. १७:१.
१, २. इस्वी संवत् ३३ मा आफ्ना प्रेषितहरूसित निस्तार चाड मनाइसकेपछि येशूले के गर्नुभयो?
घटना इस्वी संवत् ३३ नीसान १४ को रातको हो। येशूले चेलाहरूसित भर्खरै मात्र निस्तार चाड मनाउनुभएको छ। यो चाड मनाउँदा उहाँहरूले यहोवा परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट छुटकारा दिनुभएको समय सम्झेको हुनुपर्छ। तर येशूका वफादार चेलाहरूले भने “चिरस्थायी छुटकारा” पाउने थिए। भोलिपल्टa येशूलाई उहाँका शत्रुहरूले मार्ने थिए। उहाँको त्रुटिरहित बलिदानले गर्दा सम्पूर्ण मानिसजातिले पाप र मृत्युको बन्धनबाट छुटकारा पाउने भए।—हिब्रू ९:१२-१४.
२ परमेश्वरले दिनुभएको यो उपहार हामीले नबिर्सोस् भनी येशूले नयाँ चाडको थालनी गर्नुभयो। त्यसपछि हरेक वर्ष मनाइने निस्तार चाड मान्नु परेन। यो चाड सुरु गर्दा येशूले रोटी लिनुभयो र भाँच्नुभयो। त्यसपछि आफ्ना ११ जना वफादार प्रेषितलाई बाँड्नुभयो। उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “यो तिमीहरूका लागि दिइने मेरो शरीरको प्रतीक हो। मेरो सम्झनामा यो गर्नेगर।” त्यसपछि उहाँले रातो दाखरस भएको कचौरा पनि तिनीहरूलाई दिनुभयो र भन्नुभयो: “यो कचौरा त्यो नयाँ करारको प्रतीक हो, जो तिमीहरूका लागि बगाइने मेरो रगतको आधारमा बाँधिनेछ।”—लूका २२:१९, २०.
३. (क) येशूको मृत्युपछि कस्तो परिवर्तन भयो? (ख) येशूको प्रार्थनाबारे छलफल गर्दा कस्ता प्रश्नहरू विचार गर्नुपर्छ?
३ परमेश्वर र इस्राएल राष्ट्रबीच बाँधिएको करार अब छिट्टै खारेज हुने थियो। यहोवा र येशूका अभिषिक्त चेलाहरूबीच नयाँ करार बाँधिने थियो। येशू आफ्ना चेलाहरू इस्राएलीहरूजस्तो भएको चाहनुहुन्न थियो। परमेश्वरको उपासना गर्ने सन्दर्भमा इस्राएलीहरूबीच एकता थिएन। यसले गर्दा परमेश्वरको नाममा कलङ्क लाग्यो। (यूह. ७:४५-४९; प्रेषि. २३:६-९) तर येशू भने परमेश्वरको नामको आदर होस् भनेर आफ्ना चेलाहरूले एकतामा रहेर काम गरेको चाहनुहुन्थ्यो। त्यसो भए, येशूले अब के गर्नुहुने थियो? येशूले आफ्नो बुबालाई अति नै सुन्दर प्रार्थना चढाउनुभयो। यो प्रार्थना पढ्न पाउनु हाम्रो लागि ठूलो सम्मान हो। (शीर्षकसँगैको चित्र हेर्नुहोस्) यो प्रार्थना यूहन्ना १७:१-२६ मा पाइन्छ। यस प्रार्थनाबारे छलफल गर्दा यी प्रश्नहरू विचार गरौं: “के परमेश्वरले येशूको प्रार्थनाको जवाफ दिनुभयो? के मैले उहाँको प्रार्थनाबमोजिम काम गरिरहेको छु?”
येशूको प्राथमिकता
४, ५. (क) येशूले प्रार्थनामा सबैभन्दा पहिले उल्लेख गर्नुभएको कुराबाट हामी के सिक्छौं? (ख) येशूले आफ्नो निम्ति गर्नुभएको बिन्ती यहोवाले सुन्नुभयो भनेर किन भन्न सक्छौं?
४ रात छिप्पिसकेको भए तापनि येशूले चेलाहरूलाई अनमोल कुराहरू सिकाउन थाल्नुभयो। त्यसपछि स्वर्गतिर हेरेर उहाँले यसो भन्दै प्रार्थना गर्नुभयो: “हे बुबा, बेला आएको छ; आफ्नो छोराको महिमा गर्नुहोस्, ताकि तपाईंको छोराले पनि तपाईंको महिमा गरोस्, किनकि तपाईंले दिनुभएका सबै मानिसहरूलाई तपाईंको छोराले अनन्त जीवन दिन सकोस् भनेर तपाईंले उसलाई तिनीहरू सबैमाथि अधिकार दिनुभएको छ।” उहाँले यसो पनि भन्नुभयो: “तपाईंले मलाई दिनुभएको काम पूरा गरेर मैले पृथ्वीमा तपाईंको महिमा गरेको छु। त्यसैले हे बुबा, संसारको उत्पत्ति हुनुअघि तपाईंसँगसँगै मैले जुन महिमा पाएको थिएँ, त्यही महिमाले अहिले तपाईंसँगै मलाई पनि महिमित पार्नुहोस्।”—यूह. १७:१-५.
५ येशूले प्रार्थनाको सुरुमै आफूलाई अत्यन्तै महत्त्वपूर्ण लाग्ने कुराहरू उल्लेख गर्नुभयो। उहाँको मुख्य चासोको विषय बुबाको महिमा होस् भन्ने थियो। नमुना प्रार्थनामा पनि येशूले सबैभन्दा पहिले यसैबारे उल्लेख गर्नुभएको थियो। (लूका ११:२) त्यसपछि उहाँले चेलाहरूको लागि प्रार्थना गर्नुभयो। तिनीहरूलाई “अनन्त जीवन दिन” सकूँ भनेर बुबासित बिन्ती गर्नुभयो। अन्तमा मात्र उहाँले यसो भन्दै आफ्नो निम्ति केही माग्नुभयो: “हे बुबा, संसारको उत्पत्ति हुनुअघि तपाईंसँगसँगै मैले जुन महिमा पाएको थिएँ, त्यही महिमाले अहिले तपाईंसँगै मलाई पनि महिमित पार्नुहोस्।” यहोवाले आफ्नो छोराको प्रार्थना सुन्नुभयो र छोराले मागेभन्दा धेरै दिनुभयो। उहाँले येशूलाई स्वर्गदूतहरूको “भन्दा उत्कृष्ट नाम” दिनुभयो।—हिब्रू १:४.
‘एक मात्र साँचो परमेश्वरको ज्ञान लिइरहनुपर्छ’
६. अनन्त जीवन पाउन प्रेषितहरूले के गर्नुपर्थ्यो? प्रेषितहरूले त्यसै गरे भनेर हामी किन भन्न सक्छौं?
६ अनन्त जीवन पाउन हामीले के गर्नै पर्छ, त्यो पनि येशूले प्रार्थनामा उल्लेख गर्नुभयो। (यूहन्ना १७:३ पढ्नुहोस्) हामीले परमेश्वरको र येशूको “ज्ञान लिइरहनुपर्छ” भनेर उहाँले बताउनुभयो। हामी कसरी यसो गर्न सक्छौं? सबैभन्दा पहिला हामीले यहोवा परमेश्वर र उहाँको छोराबारे सकेजति सिक्नुपर्छ। त्यसपछि सिकेको कुरा आफ्नो जीवनमा प्रयोग गर्नुपर्छ। प्रेषितहरूले यी दुवै गरिसकेका थिए। किनकि येशूले प्रार्थनामा यसो भन्नुभयो: “तपाईंले मलाई भन्नुभएका कुराहरू मैले तिनीहरूलाई बताइदिएको छु अनि तिनीहरूले ती ग्रहण गरेका छन्।” (यूह. १७:८) तर अनन्त जीवन पाउन तिनीहरूले परमेश्वरको वचनमा मनन गरिरहनुपर्थ्यो र सिकेको कुरा दैनिक जीवनमा प्रयोग गरिरहनुपर्थ्यो। के प्रेषितहरूले बाँचुन्जेल त्यसो गरिरहे? हो, गरिरहे भन्न सक्छौं। किनकि तिनीहरूको नाम नयाँ यरूशलेमको जगमा भएका १२ वटा ढुङ्गामा नमेटिनेगरि लेखिएका छन्।—प्रका. २१:१४.
७. परमेश्वरको “ज्ञान लिइरहनुपर्छ” भन्नुको अर्थ के हो? अनि ज्ञान लिइरहनु किन महत्त्वपूर्ण छ?
७ सधैंभरि बाँच्न चाहन्छौं भने हामीले परमेश्वरको “ज्ञान लिइरहनुपर्छ।” यसको अर्थ के हो? “ज्ञान लिइरहनुपर्छ” भनेर अनुवाद गरिएको यस वाक्यांशको लागि मूल ग्रीकमा चलाइएको शब्दलाई “निरन्तर चिन्नुपर्छ” भनेर पनि अनुवाद गर्न सकिन्छ। त्यसकारण परमेश्वरको “ज्ञान लिइरहनुपर्छ” अथवा उहाँलाई “निरन्तर चिन्नुपर्छ” भन्नुको अर्थ उहाँबारे धेरैभन्दा धेरै कुरा सिकिरहनुपर्छ भन्ने हो। उहाँका गुणहरू र उद्देश्यबारे मात्र थाह पाएर पुग्दैन। उहाँलाई अझ धेरै माया गर्नुपर्छ र उहाँसित बलियो सम्बन्ध गाँस्नुपर्छ। हामीले हाम्रा भाइबहिनीलाई पनि माया गर्नुपर्छ। बाइबल यसो भन्छ: “जसले प्रेम गर्दैन, उसले परमेश्वरलाई चिनेको हुँदैन।” (१ यूह. ४:८) परमेश्वरको ज्ञान लिइरहनुमा उहाँप्रति आज्ञाकारी हुनु पनि समावेश छ। (१ यूहन्ना २:३-५ पढ्नुहोस्) यहोवालाई चिन्नेहरू माझ हुन पाउनु ठूलो सम्मान हो। तर हामी परमेश्वरसितको आफ्नो सम्बन्ध बिगार्ने यहूदा इस्करियोत जस्तो नहुन सजग हुनुपर्छ। त्यसकारण यहोवा परमेश्वरसितको आफ्नो मित्रतालाई बलियो बनाउन मेहनत गरौं। यसो गऱ्यौं भने यहोवाले हामीलाई उपहारस्वरूप अनन्त जीवन दिनुहुनेछ।—मत्ती २४:१३.
“तपाईंकै नामको खातिर”
८, ९. येशू पृथ्वीमा छँदा उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के थियो? येशूले कुन चलनलाई घृणा गर्नुभयो?
८ यूहन्ना अध्याय १७ मा येशूको प्रार्थना पढ्दा उहाँले त्यहाँ उपस्थित प्रेषितहरूलाई मात्र होइन, हामीलाई पनि असाध्यै माया गर्नुहुन्छ भनेर थाह पाउँछौं। (यूह. १७:२०) तर येशूको लागि हाम्रो उद्धार सबैभन्दा महत्त्वपूर्ण कुरा थिएन। पृथ्वीमा बिताएको सम्पूर्ण समय आफ्नो बुबाको नाम महिमित पार्नु नै उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। उदाहरणको लागि, आफू पृथ्वीमा आउनुको कारणबारे बताउँदा येशूले यशैयाको मुठाबाट पढ्नुभयो: “यहोवाको पवित्र शक्ति ममाथि छ। किनकि गरिबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।” यो अंश पढ्दा येशूले परमेश्वरको नाम स्पष्टसित उच्चारण गर्नुभयो भनेर हामी पक्का हुन सक्छौं।—लूका ४:१६-२१.
९ येशू पृथ्वीमा आउनुभन्दा धेरै अघिदेखि नै यहूदी धर्मगुरुहरू परमेश्वरको नाम प्रयोग गर्नु हुँदैन भनेर मानिसहरूलाई सिकाउँथे। येशूले त्यस चलनलाई कति घृणा गर्नुभयो होला, कल्पना गर्नुहोस्। येशूले ती धर्मगुरुहरूलाई यसो भन्नुभयो: “म आफ्नो बुबाको नाममा आएको छु, तर तिमीहरू मलाई स्वीकार्दैनौ; यदि अरू कोही आफ्नै नाममा आयो भने तिमीहरू उसलाई स्वीकार्छौ।” (यूह. ५:४३) अनि आफ्नो मृत्युभन्दा केही दिनअघि गरेको प्रार्थनामा येशूले फेरि पनि आफ्नो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनी बताउनुभयो। उहाँले यसो भन्नुभयो: “हे बुबा, तपाईंको नाम महिमित पार्नुहोस्।” (यूह. १२:२८) अनि हामीले छलफल गरिरहेको प्रार्थनाले पनि येशूको लागि आफ्नो बुबाको नाम महिमित पार्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा थियो भनेर देखाउँछ।
१०, ११. (क) येशूले आफ्नो बुबाको नाम कसरी प्रकट गर्नुभयो? (ख) येशूका चेलाहरू यहोवाको नाम किन प्रकट गर्दै छन्?
१० येशूले यसरी प्रार्थना गर्नुभयो: “तपाईंले संसारबाट मलाई दिनुभएका मानिसहरूसामु मैले तपाईंको नाम प्रकट गरेको छु। तिनीहरू तपाईंकै थिए र तपाईंले तिनीहरू मलाई दिनुभयो अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन्। साथै, अब म यो संसार छोडेर जाँदैछु तर तिनीहरू भने यही संसारमै हुनेछन् र म तपाईंकहाँ आउँदैछु। हे पवित्र बुबा, तपाईंले मलाई दिनुभएको तपाईंकै नामको खातिर तिनीहरूको हेरचाह गर्नुहोस्, ताकि हामी एक भएजस्तै तिनीहरू पनि एक होऊन्।”—यूह. १७:६, ११.
११ येशूले चेलाहरूलाई बुबाको नाम “प्रकट” गर्दा यहोवा भन्ने नाम मात्र प्रयोग गर्नुभएन। उहाँले तिनीहरूलाई यहोवा को हुनुहुन्छ भनी बुझ्न मदत गर्नुभयो। उहाँले तिनीहरूलाई परमेश्वरका अद्भुत गुणहरू र उहाँले हामीसित गर्ने व्यवहारबारे सिकाउनुभयो। (प्रस्थ. ३४:५-७) येशू अहिले स्वर्गमा राजा हुनुहुन्छ र आफ्ना चेलाहरूलाई बुबाको नाम सारा पृथ्वीमा प्रकट गर्न मदत गर्दै हुनुहुन्छ। यो काम किन गरिंदै छ? यस दुष्ट युगको अन्त हुनुअघि नै धेरैभन्दा धेरै मानिसले यहोवाबारे सिकून् भनेर। अनि त्यो दिन आउँदा उहाँले आफ्ना वफादार सेवकहरूलाई बचाउनुहुनेछ अनि सबैले यहोवाको महान् नाम जान्नेछन्।—इज. ३६:२३.
“संसारले विश्वास गरोस्”
१२. येशूले सुरु गर्नुभएको काम सिध्याउन हामीले कुन तीनवटा कुरा गर्नुपर्छ?
१२ येशूले चेलाहरूलाई उहाँले सुरु गरेको काम सिध्याउने आदेश दिनुभयो। उहाँले यसरी प्रार्थना गर्नुभयो: “जसरी तपाईंले मलाई यस संसारमा पठाउनुभयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएँ।” तर यो काम गर्न तिनीहरूलाई मदत चाहिन्छ भनेर येशूलाई थाह थियो। चेलाहरूसित हुँदा येशूले तिनीहरूलाई आफ्ना कमजोरीहरूसित लड्न मदत गर्नुभयो। अनि चेलाहरूलाई तीनवटा महत्त्वपूर्ण क्षेत्रमा मदत दिन यहोवालाई आग्रह गर्नुभयो। पहिलो, चेलाहरू सैतानको संसारको नहोऊन् भनी प्रार्थना गर्नुभयो। दोस्रो, चेलाहरू परमेश्वरको वचनअनुसार चलून् र पवित्र होऊन् भनी प्रार्थना गर्नुभयो। तेस्रो, आफू र आफ्नो बुबा एकतामा भएझैं चेलाहरू पनि एकतामा होऊन् भनी बिन्ती गर्नुभयो। हामी प्रत्येकले आफैलाई सोध्नुपर्छ, ‘येशूले प्रार्थनामा समावेश गर्नुभएका तीनवटा कुराबमोजिम के म चलिरहेको छु?’ चेलाहरूले यी कुराहरू गरेको खण्डमा थुप्रैले तिनीहरूको सन्देश स्वीकार्नेछन् भनेर येशू विश्वस्त हुनुहुन्थ्यो।—यूहन्ना १७:१५-२१ पढ्नुहोस्।
१३. प्रथम शताब्दीमा यहोवाले येशूको प्रार्थनाको जवाफ कसरी दिनुभयो?
१३ प्रेषितको पुस्तक पढ्दा यहोवाले येशूको प्रार्थनाको जवाफ दिनुभयो भनी थाह पाउँछौं। प्रथम शताब्दीका ख्रीष्टियनहरू यहूदी र अन्यजाति, धनी र गरिब, दास र मालिक मिलेर बनेका थिए। तिनीहरूबीच विभाजन हुन सक्थ्यो तर तिनीहरू एकताको बन्धनमा बाँधिएका थिए। त्यसैले प्रेषित पावलले तिनीहरूलाई शरीरका विभिन्न अङ्गसित तुलना गरे जसको शिर येशू हुनुहुन्थ्यो। (एफि. ४:१५, १६) सैतानको विभक्त संसारमा परमेश्वरको पवित्र शक्तिको मदतले गर्दा मात्र त्यस्तो एकता सम्भव भएको थियो।—१ कोरि. ३:५-७.
१४. यहोवाले अहिले येशूको प्रार्थनाको जवाफ कसरी दिनुभएको छ?
१४ दुःखको कुरा, प्रेषितहरूको मृत्युपछि अवस्था परिवर्तन भयो। ठूलो धर्मत्याग देखा पऱ्यो जसले गर्दा विभिन्न गुट खडा भयो। (प्रेषि. २०:२९, ३०) तर सन् १९१९ मा येशूले अभिषिक्त ख्रीष्टियनहरूलाई झूटो धर्मको पन्जाबाट मुक्त गर्नुभयो र “पूर्ण एकतामा गाँस्ने बन्धन”-मा बाँध्नुभयो। (कल. ३:१४) तिनीहरूले एकतामा रहेर गरेको प्रचारकार्यको नतिजा कस्तो भएको छ? “हरेक राष्ट्र, कुल, जाति अनि भाषाका” ७० लाखभन्दा धेरै मानिसहरूले अहिले यी अभिषिक्त ख्रीष्टियनहरूसँग मिलेर यहोवाको उपासना गरिरहेका छन्। (यूह. १०:१६; प्रका. ७:९) “तपाईंले मलाई पठाउनुभएको हो र मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनेर संसारले थाह पाओस्” भनेर येशूले प्रार्थना गर्नुभएको थियो। येशूको प्रार्थनाको कत्ति सशक्त जवाफ!—यूह. १७:२३.
अविस्मरणीय समापन
१५. अभिषिक्त अनुयायीहरूका लागि येशूले कस्तो विशेष अनुरोध गर्नुभयो?
१५ नीसान १४ को साँझ येशूले आफ्ना चेलाहरूलाई राज्य दिने करार गर्नुभयो। यसरी तिनीहरूलाई “महिमा” वा सम्मान दिनुभयो। (लूका २२:२८-३०; यूह. १७:२२) त्यसैले येशूले आफ्ना अभिषिक्त अनुयायी हुने सबैका लागि यस्तो प्रार्थना गर्नुभयो: “हे बुबा, तपाईंले मलाई दिनुभएका यी मानिसहरूको सन्दर्भमा म के इच्छा गर्छु भने, म जहाँ छु, तिनीहरू पनि मसित त्यहीं होऊन्, ताकि तपाईंले मलाई दिनुभएको महिमा तिनीहरूले पनि देखून्, किनकि संसारको प्रारम्भ हुनुभन्दा अघिदेखि तपाईंले मलाई प्रेम गर्नुभयो।” (यूह. १७:२४) अभिषिक्त ख्रीष्टियनहरूले पाउने इनाममा अरू भेडाका सदस्यहरू डाह गर्दैनन्, बरु रमाउँछन्। यो पनि आज साँचो ख्रीष्टियनहरू साँच्चै एकतामा छन् भन्ने कुराको प्रमाण हो।
१६, १७. (क) आफ्नो प्रार्थनाको अन्तमा येशूले कस्तो अठोट गर्नुभयो? (ख) हामीले के गरिरहनुपर्छ?
१६ यहोवाका जनहरूबीच एकता छ र तिनीहरूले उहाँलाई साँच्चै चिनेका छन् भन्ने तथ्यलाई संसारका प्रायजसोले इन्कार गर्छन्। धार्मिक नेताहरूले झूटो शिक्षा सिकाएकोले अक्सर यस्तो हुन्छ। येशूको समयमा पनि त्यस्तै भएको थियो। त्यसैले उहाँले यी शब्दहरूद्वारा आफ्नो प्रार्थना समापन गर्नुभयो: “हे न्यायी बुबा, संसारले निश्चय पनि तपाईंलाई चिनेको छैन तर मैले तपाईंलाई चिनेको छु अनि तपाईंले मलाई पठाउनुभएको हो भनेर यिनीहरूले बुझेका छन्। साथै, मैले तिनीहरूलाई तपाईंको नाम प्रकट गरेको छु र प्रकट गर्नेछु, ताकि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूले पनि प्रेम गरून् र म तिनीहरूसित एकतामा हुन सकूँ।”—यूह. १७:२५, २६.
१७ येशूले साँच्चै आफ्नो बुबाको नाम प्रकट गर्नुभयो। अनि अहिले पनि मण्डलीको शिरको रूपमा उहाँले आफ्नो बुबाको नाम र उद्देश्य अरूलाई प्रकट गर्न हामीलाई मदत गरिरहनुभएको छ। त्यसैले येशूको निर्देशन पछ्याउँदै जोसिलो भएर प्रचार गरौं र चेला बनाऔं। (मत्ती २८:१९, २०; प्रेषि. १०:४२) एकतामा रहन कडा परिश्रम गरौं। यसो गऱ्यौं भने येशूको प्रार्थनाबमोजिम काम गरिरहेका हुनेछौं। अनि यसो गर्दा यहोवाको नामको महिमा हुनेछ र हामीले अनन्त खुसी पाउनेछौं।
a भोलिपल्ट पनि नीसान १४ नै थियो।