यहोवा हाम्रो शासक हुनुहुन्छ!
“मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नु पर्छ।”—प्रेरित ५:२९.
१, २. मानिसहरूको इच्छा, ईश्वरीय इच्छाको विपरित् जाँदा, यहोवाका साक्षीहरूले प्रेरितहरूले झैं के सिद्धान्त अपनाउँछन्?
यहोवा परमेश्वरले १२ जना मानिसलाई अदालतमा खड़ा हुन लग्न दिनु भएको थियो। ई. स. ३३ सालको कुरा हो र अदालत यहूदीहरूको सभाघर थियो। येशू ख्रीष्टका चेलाहरूमाथि मुद्दा चली रहेको थियो। सुन्नुहोस्! ‘हामीले तिमीहरूलाई यस नाउँमा केही शिक्षा नदिनू भनेर कड़ा आज्ञा दिएका थियौं, औ हेर, तिमीहरूले आफ्ना शिक्षाले सारा यरूशलेम भरिसक्यौ,’ भनेर प्रधान पुजाहारीले भने। त्यसो भन्दा, पत्रुस र अरू प्रेरितहरूले यो घोषणा गर्छन्: “हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य पालन गर्नु पर्छ।” (प्रेरित ५:२७-२९) यथार्थमा, तिनीहरूले “यहोवा हाम्रा शासक हुनुहुन्छ!” भने।
२ हो, येशूका साँचो चेलाहरूको शासक यहोवानै हुनुहुन्छ। “प्रिय वैद्य लूका” ले रोममा प्राय ई. स. ६१ मा लेखेको बाइबलको प्रेरित्हरूको पुस्तकमा, यो कुरा स्पष्ट गरिएको छ। (कलस्सी ४:१४) ती प्ररितहरूले झैं, यहोवाका मानिसहरूले पनि, मानवीय इच्छाहरू परमेश्वरको इच्छासँग बाझदा आफ्नो स्वर्गीय शासकका आज्ञा नै पालन गर्छन्। तर यस बाहेक, हामी प्रेरितहरूको पुस्तकबाट के सिक्न सक्छौं? (व्यक्तिगत अध्ययन गर्नु हुँदा, ठूला-ठूला अक्षरमा उल्लेख गरिएका पदहरू पढ़नुहोस् भनी अनुरोध गर्दछौं)
येशूले साक्षीहरू नियुक्त गर्नुहुन्छ
३. येशूका चेलाहरूले “पवित्र आत्मामा बप्तिस्मा” पाउँदा, तिनीहरूको मुख्य चासो के थियो?
३ प्रेरितहरूले दृढ़ता साथ परमेश्वरको पक्ष लिन सके किनभने तिनीहरूले अध्यात्मिक बल पाएका थिए। काठमा ठूलो कष्ट भोग्नु भएर येशूको मृत्यु भएतापनि, उहाँ बिउँतनु भयो भनी तिनीहरूलाई थाह थियो। (प्रे १:१-५) येशू, ४० दिन सम्म, तिनीहरू सम्मुख मानिसको रूपमा, “जीवित् देखा” पर्नुभयो र तिनीहरूलाई परमेश्वरको राज्यसँग सम्बन्धित् सत्य कुराहरू सिकाउनु भयो। साथै उहाँले आफ्ना चेलाहरूलाई “पवित्र आत्माले” बप्तिस्मा पाउन यरूशलेममा पर्खन लाउनु भयो। तिनीहरूको सबै भन्दा मुख्य काम प्रचार गर्नु थियो जस्तो कि आज यहोवाका साक्षीहरूको छ।—लूका २४:२७, ४९; यूहन्ना २०:१९–२१:२४.
४. येशूका चेलाहरूमाथि पवित्र आत्मा आए पछि के हुनेवाला थियो?
४ पवित्र आत्मामा बप्तिस्मा न भइसकेको बेलामा, रोमी शासनलाई समाप्त गर्ने एउटा पार्थिव शासनबारे गलत् सोचाई राख्दै, प्रेरितहरूले यो प्रश्न गरे: “हे प्रभु, के तपाईंले यसै बखत् इस्राएललाई राज्य फिर्ता गराइदिनुहुनेछ?” (प्रे १:६-८) येशूले, वास्तवमा, होइन, भन्नु भयो किनभने, ‘समय वा बखत् . . . जान्नखोज्ने’ तिनीहरूको काम थिएन। ‘पवित्र आत्मा’ तिनीहरूमा आए पछि, परमेश्वरको, पार्थिव होइन, स्वर्गीय राज्यबारे साक्षी दिने शक्ति तिनीहरूले पाउने थिए। तिनीहरूले यरूशलेममा, यहूदियामा, सामरियामा र “पृथ्वीका अन्तसम्म” प्रचार गर्ने थिए। सोही आत्माको शक्ति द्वारा, यहोवाका साक्षीहरू यस प्रकारको काम यी अन्तिम दिनहरूमा विश्व-व्यापी स्तरमा गरिरहेकाछन्।
५. जसरी जानु भयो, ठीक त्यसरी नै येशू कसरी आउनु हुने थियो?
५ येशू स्वर्ग जानु हुने बेलामा, उहाँले भरखरै मात्र यो प्रचारको अभियान खटाउनु भएको थियो। आफ्ना चेलाहरू देखिन् टाढ़ा र मास्तिर जानु हुँदै येशूको स्वर्गारोहण शुरू भयो र अन्तमा उहाँले आफ्नो स्वर्गीय शासकको उपस्थितिमा प्रवेश लिनु भएर आत्मिक संसारमा काम शुरू गर्नु भयो। (प्रे १:९-११) एउटा बादलले येशूलाई आफ्ना चेलाहरूको दृष्टिबाट ओझल गरिदिए पछि, उहाँले आफ्नो मानव रूप बदलिनु भयो। दुई जना स्वर्गदूतहरू देखा परे औ येशू ‘त्यसरीनै फेरि आउनुहुनेछ’ भने। र हुनुपनि त्यस्तै भएको छ। येशूका चेलाहरूले मात्र उहाँ विदा हुनुभएको देखे र आज उहाँको अदृश्य पुन:आगमनलाई पनि यहोवाका साक्षीहरूले मात्र महसूस गर्दछन्।
यहोवाले रोज्नु हुन्छ
६. यहूदा इस्करयोतिको ठाउँ लिन अर्को मानिस कसरी छानियो?
६ प्रेरितहरू चाँड़ै यरूशलेममा फर्केर आए। (प्रे १:१२-२६) एउटा माथिल्लो कोठामा (मर्कूसकी आमाको घर होला) ती विश्वासी ११ प्रेरितहरू येशूका भाइहरू, अरू चेलाहरू र उहाँकी आमासँग प्रार्थनामा लागिरहे। (मर्कूस ६:३; याकूब १:१) तर यहूदाको ‘पदाधिकार’ कसले लिने? (भजन संग्रह १०९:८) परमेश्वरले येशूलाई विश्वासघात गर्ने यहूदाको ठाउँमा अर्को मानिस रोज्नु भएर प्रेरितहरूको सङ्ख्या १२ पुर्याउनु हुँदा, लगभग १२० जना चेलाहरू उपस्थित् थिए। येशूको पार्थिव सेवकाईको समय देखिन् चेला रहेका र येशूको पुनरुत्थानको साक्षी पनि भएका मानिसको खाँचो थियो। साथै उसले यहोवालाई आफ्नो शासक स्वीकार्न पनि पर्थ्यो। प्रार्थना पश्चात्, मत्तियास र बर्साबासको नाउँमा गोला हाले। परमेश्वरले गोला मत्तियास माथि पारिदिनुभयो।—हितोपदेश १६:३३.
७. (क) यहूदाले “अधर्मको कमाइबाट एउटा जग्गा किन्यो” कसरी भन्न सकिन्छ? (ख) यहूदाको मृत्यु कसरी भयो?
७ यहूदा इस्केरयोतीले यहोवालाई आफ्नो शासक स्वीकारेको थिएन। उसले चाँदीको ३० टुक्राका लागि परमेश्वरको पुत्रको विश्वासघात गर्यो! यहूदाले त्यो पैसा प्रधान-पुजाहारीहरूलाई फिर्ता दियो तर पत्रुसको बयान अनुसार, यो धोकेबाजले “अधर्मको कमाइबाट एउटा जग्गा किन्यो।” यो कसरी भयो होला? “रगतको जमीन” किन्ने पैसाको स्रोत र कारण यहूदा नै थियो। यो ठाउँ आज हिन्नमको उपत्यकाको दक्षिण पट्टिको समतल भूमि तिर हुनुपर्छ भनेर अनुमान लगाइएकोछ। आफ्नो स्वर्गीय शासकसँगको सम्बन्ध पूर्णतया बिग्रिसके पछि, यहूदाले आफूलाई “झुण्डाएर” मार्यो। (मत्ती २७:३-१०) उ झुण्डेको रूखको हाँगा भाँचिएको अथवा डोरी चुड़िएको हुनाले, त्यो मानिस ‘उँधोमण्टो भइ’ खसेर तल चुच्चो चट्टानहरूमाथि टक्कर खाँदा, त्यसको शरीरको ‘माझ फुट्यो औ त्यसका सबै आन्द्रा-भुँड़ीहरू निस्के।’ हामी मध्य कोही पनि एउटा झूटा भाइ हुनु नपरोस्!
पवित्र आत्माले भरिपूर्ण!
८. येशूका चेलाहरूले पवित्र-आत्मामा बप्तिस्मा कहिले पाए र यसको परिणाम के भयो?
८ पवित्र आत्मामा बप्तिस्मा हुने प्रतिज्ञा के भयो? यो येशूको स्वर्गारोहणको करीब १० दिन पश्चात्, ई. स. ३३ सालमा, पेन्तीकोसको दिनमा पुरा भयो। (प्रे २:१-४) त्यो बप्तिस्मा एउटा रोमाञ्चकारी घटना थियो! त्यो दृश्य कल्पना गरी हेर्नुहोस्। माथिल्लो तलाको कोठामा १२० जना चेलाहरू जम्मा भएको बेलामा, ‘अचानक स्वर्गबाट ठूलो बतास बहेको जस्तो हुरूरूरू शब्द आयो र त्यसले तिनीहरू बसेको घर जम्मै भरिदियो।’ त्यो बतास थिएन। बतासको जस्तो आवाज मात्र थियो। “आगोको जस्तो” जिब्रो प्रत्यक चेला र प्रेरितमाथि आएर बस्यो। “तिनीहरू सबै पवित्र आत्माले भरिए र . . . अरू भाषामा बोल्नलागे।” एउटा आत्मिक अधिकार पाउनको निम्ति तिनीहरूलाई पवित्र-आत्माले त्यो बप्तिस्मा द्वारा, अभिषेक गरे र छाप लगायो।—यूहन्ना ३:३, ५; २ कोरिन्थी १:२१, २२; १ यूहन्ना २:२०.
९. आत्माले भरिपूर्ण भएका चेलाहरूले के को विषयमा कुरा गरे?
९ यो घटनाले ‘र्स्वगमनि भएका हरेक जातिबाट’ यरूशलेममा भएका यहूदी र अन्य धर्मबाट यहूदी धर्ममा आएका मानिसहरूलाई प्रभाव पार्यो। (प्रे २:५-१३) छक्क परेर, तिनीहरूले यो प्रश्न गरे: ‘कसरी तिनीहरू हरेकले हाम्रा मातृ-भाषामा बोलेको हामी सुन्छौं?’ शायद, मेदी (यहूदियाको पूर्व), फ्रिगिया (एसिया मायनर) र रोम (यूरोप) जस्ता ठाउँहरूका ती भाषा थिए होलान्। अन्य भाषाहरूमा चेलाहरूले “परमेश्वरका महाकार्यहरूको विषयमा” बोल्दा, सुन्नेहरू मध्य धेरै जना छक्क परे तर ठट्टा गर्नेहरूले चाहिं तिनीहरू मद्यले मात्तेका छन् भने।
पत्रुसले उत्साहवर्धक साक्षी दिनु हुन्छ
१०. ई. स. ३३ को पेन्तीकोसको घटना द्वारा, कुन अगमवाणीको पूर्ति भयो र आधुनिक समयमा पनि के यसको कुनै समानान्तर स्थिति छ?
१० बिहानको नौं बजे मद्यले मात्तिने कुनै समय होइन भन्दै पत्रुसले साक्षी दिन शुरू गर्छन्। (प्रे २:१४-२१) यो ता परमेश्वरले आफ्ना मानिसहरूमाथि पवित्र आत्मा खन्याउने प्रतिज्ञाको पूर्ति थियो। हाम्रा समयलाई सङ्केत् गर्न, परमेश्वरले पत्रुसलाई “आखिरी दिनमा” र “तिनीहरूले अगमवाणी बोल्नेछन्” भन्ने शब्दहरू जोड़न प्रेरित गर्नु भयो। (योएल २:२८-३२) यहोवाले आफ्नो महान दिन आउनु अघि, स्वर्गमा अचम्भका काम र पृथ्वीमा चिन्हहरू दिनु हुनेछ र विश्वास साथ उहाँको नाउँको पुकारा गर्नेहरू मात्र बाँच्नेछन्। आज, त्यसै प्रकार अभिषिक्त जनहरूमाथि पवित्र आत्मा खन्याइएको हुनाले, तिनीहरू पनि जोड़-तोड़ र निपुणतासाथ “अगमवाणी” बोल्नसकेकाछन्।
११. येशूलाई, यहूदीहरूले के गरे र परमेश्वरले के गर्नु भयो?
११ यस पछि पत्रुसले मसीहको परिचय दिन्छन्। (प्रे २:२२-२८) येशू नै मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्न, उहाँ द्वारा परमेश्वरले शक्तिशाली कार्यहरू, चिन्हहरू र आश्चर्यजनक कामहरू गराउनु भयो। (हिब्रू २:३, ४) तर यहूदीहरूले परमेश्वरको व्यवस्था पालन नगर्ने रोमीहरू अथवा “अधर्मीहरूको हातले” उहाँलाई काठमा बाँध्न लगाए। “परमेश्वरबाट ठहरिएको सल्लाह र अगम-ज्ञान बमोजिम” अर्थात् ईश्वरीय इच्छा अनुसार नै येशू सुम्पिनु भयो। तर परमेश्वरले येशूलाई बिउँताउनु भयो र उहाँको मानव शरीर नकूहने गरी ठेगाना लगाउनु भयो।—भजन संग्रह १६:८-११.
१२. दाऊदले के अग्रिम दृष्टि पाए र मुक्ति के मा भर पर्छ?
१२ पत्रुसले दिएको साक्षीमा मसीहसँग सम्बन्धित् अगमवाणीलाई अझ महत्व दिइयो। (प्रे २:२९-३६) दाऊदले आफ्नो सबै भन्दा महान पुत्र, येशू मसीहको पुनरुत्थानबारे अग्रिम ज्ञान पाएको थियो भनी पत्रुसले भने। अब स्वर्गमा परमेश्वरको दाहिने हात जस्तो उच्च स्थानबाट, येशूले आफ्नो पिताबाट पाउनु भएको पवित्र आत्मा खन्याइ दिनु भएको थियो। (भजन संग्रह ११०:१) आगोको जस्तो चिरा, चिरा परेका जिब्राहरू चेलाहरूको शिरमाथि देखेर र तिनीहरूले बोलेका विदेसी भाषाहरू सुनेर, पत्रुसका श्रोताहरूले पवित्र-आत्माको काम प्रत्यक्ष ‘देख्न र सुन्न’ सके। साथै, येशूलाई नै प्रभु र मसीह स्वीकार्नमा मुक्ति निर्भर गर्दछ भनेर पत्रुसले देखाए।—रोमी १०:९; फिलिप्पी २:९-११.
यहोवाले बृद्धि दिनु हुन्छ
१३. (क) उचितरूपमा बप्तिस्मा लिनका लागि, यहूदीहरू र यहूदी धर्ममा लागेका अन्यजातिका मानिसहरूले के स्वीकार्नु परेको थियो? (ख) कति जनाले बप्तिस्मा लिए र यरूशलेममा यसले के प्रभाव पार्यो?
१३ पत्रुसका शब्दहरू कत्ति प्रभावशाली साबित भए! (प्रे २:३७-४२) मसीहको हत्याका लागि अनुमति दिएछौं भनेर, पत्रुसका श्रोताहरूको हृदय छेड़ियो। यसकारण उनले तिनीहरूलाई एसो गर्न प्रोत्साहन दिए: “पश्चाताप गर, र तिमीहरू हरेकले पापमोचनको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।” यहूदीहरू र यहूदी धर्ममा लागेका अन्य जातिका मानिसहरूले यहोवा परमेश्वरलाई पहिले देखिनै परमेश्वर स्वीकार्द थिए र उहाँको आत्माको आवश्यक्तालाई पनि मान्यता दिने गर्थिए। अब चाहिं तिनीहरूलाई पश्चातापको खाँचो थियो र पिता, पुत्र र पवित्र-आत्माको नाउँमा बप्तिस्मा लिनका लागि (तिनीहरूको काम अथवा पदाधिकारलाई मान्यता दिन) तिनीहरूले येशूलाई मसीह स्वीकार्नु परेको थियो। (मत्ती २८:१९, २०) विश्वासगर्ने यहूदीहरूले स्वर्गीय राज्यमा प्रवेश पाउने ज्ञान र मौकाको ढोका खोल्न, येशूले पत्रुसलाई दिनु भएको प्रथम आत्मिक साँचोको प्रयोग, पत्रुसले ती यहूदी र यहूदी धर्ममा लागेकाहरूलाई साक्षी दिएर प्रयोग गरे। (मत्ती १६:१९) त्यस एक दिन मै, ३००० जनाले बप्तिस्मा लिए! कल्पना गर्नुहोस्, यरूशलेमको त्यो सानो इलाकामा यहोवाका त्यत्ति धेरै साक्षीहरूले प्रचार गर्दा कस्तो भयो होला!
१४. विश्वासगर्नेहरूले सबै थोक “साझा” किन र कसरी राखे?
१४ टाढ़ा-टाढ़ाबाट आएकाहरू सँग धेरै दिन बस्ने खर्च न भएता पनि, तिनीहरूले आफ्नो यो नया विश्वास बारे अझ सिक्ने र अरूहरूलाई प्रचार गर्ने इच्छा व्यक्त गरे। यसकारण, आज यहोवाका साक्षीहरूले गरे झैं, येशूका प्राचीन अनुयायीहरूले पनि प्रेम-पूर्वक एक अर्काको मदद गर्दथिए। (प्रे २:४३-४७) विश्वास गर्नेहरूले केही समयका लागि आफ्ना सबैकुरा “साझा” राख्ने गरे। कसै-कसैले आफ्ना धन-सम्पत्ति र माल-मत्ता बेचे र त्यसबाट आएको रकम खाँचो परेकाहरूलाई बाँटी दिन्थिए। यस प्रकार मण्डलीको राम्रो शुरूआत भयो र यहोवाले ‘उद्धार पाउनेहरूलाई . . . दिनदिनै तिनीहरूमा बढ़ती गराउनुहुन्थ्यो।’
निको पार्ने एउटा चमत्कार र त्यसको नतिजा
१५. पत्रुस र यूहन्ना मन्दिर भित्र पस्दा के भयो र मानिसहरूले के प्रतिकृया व्यक्त गरे?
१५ यहोवाले येशूका चेलाहरूलाई “चिन्हहरू” द्वारा समर्थन दिनु भयो। (प्रे ३:१-१०) यसकारण, अपरान्ह ३:०० बजे तिर, बेलुकीको बलिदान सँग सम्बन्धित् प्रार्थनाको समयमा, मन्दिर भित्र जसै यहून्ना र पत्रुस प्रवेश गरिरहेका थिए, जन्म देखिनै लङ्गड़ो एक जना मानिस सुन्दर ढोकामा दयाको “भीख” माँगीरहेको थियो। ‘सुन र चाँदी ता मसित छैन। तर जे मसित छ, त्यही म तँलाई दिन्छु। नासरतका येशू ख्रीष्टका नाउँमा हिंड़डुल गर!’ पत्रुसले भने। तुरन्तै त्यो मानिस निको भयो! “हिड़दै र उफ्रँदै र परमेश्वरको स्तुति गर्दै” उ मन्दिर भित्र आयो र त्यहाँका मानिसहरू ‘अचम्भ र ताजूब भए।’ शायद, कसै-कसैले यी शब्दहरूको स्मरण गरे होलान्: “लङ्गड़ा मृग झैं उफ्रनेछ।”—यशैया ३५:६.
१६. प्रेरितहरूले एउटा लङ्गड़ो मानिसलाई कसरी निको पार्न सके?
१६ सुलेमानको दलान अथवा मन्दिरको पूर्व पट्टिको मण्डपमा ती आश्चर्यचकित् मानिसहरू जम्मा भए। त्यहाँ पत्रुसले साक्षी दिए। (प्रे ३:११-१८) यो लङ्गड़ो मानिसलाई निको पार्न, परमेश्वरले आफ्नो महिमीत् सेवक, येशू द्वारा प्रेरितहरूलाई शक्ति दिनु भएको छ भनेर पत्रुसले बताए। (यशैया ५२:१३-५३:१२) त्यो “पवित्र र धर्मी जनलाई” यहूदीहरूले इन्कार गरेता पनि, यहोवाले उहाँको पुनरुत्थान गराउनु भयो। मसीहको हत्या गरिरहेछौं भन्ने कुरा मानिसहरू र तिनीहरूका शासकहरूलाई थाह न भएतापनि, परमेश्वरले “उहाँका ख्रीष्टले दुःख भोग्नै पर्छ” भन्ने अगमवाणी पूरा गर्नु भयो।—दानियल ९:२६.
१७. (क) यहूदीहरूले के गर्नु परेको थियो? (ख) हाम्रा दिनमा “ख्रीष्टलाई पठाएका” समय देखि उप्रान्त के भइरहेको छ?
१७ मसीहसँग यस प्रकारको व्यवहार गरेको हुनाकारण, यहूदीहरूले अब गर्नु पर्ने कुरा पत्रुसले देखाइ दिए। (प्रे ३:१९-२६) तिनीहरूले “पश्चाताप” अथवा आफूले गरेका पापहरूका लागि पछितो प्रकट गर्दै “फर्कन” अथवा परिवर्तित भएर एउटा विपरित् मार्गको पछि लाग्न परेको थियो। तिनीहरूले येशूलाई मसीह भनेर विश्वास गर्दै, उहाँले दिनु भएको छुटकाराको बलिदान स्वीकारेमा, तिनीहरूका पापहरू क्षमा हुने थिए र तिनीहरूले यहोवाबाट आराम पाउन सक्थे। (रोमी ५:६-११) परमेश्वरले तिनीहरूका पुर्खा अब्राहामसँग, “तेरै सन्तान द्वारा पृथ्वीका सबै जातिहरू आर्शीवादी हुनेछन्,” भनेर बाँध्नु भएको यो करारका पुत्रहरू ती यहूदीहरूनै हुन् भनेर तिनीहरूलाई सम्झना गराइयो। त्यसै कारण ता परमेश्वरले उहाँका मसीही सेवकलाई सर्वप्रथम प्रायश्चित् गर्ने यहूदीहरूलाई छुटकारा दिन पठाउनु भयो। यहाँ चासोको कुरा के हो भने, स्वर्गीय राज्याधिकार सहित सन् १९१४ मा परमेश्वरले ‘ख्रीष्टलाई पठाउनु’ भए पछि, यहोवाका साक्षीहरूको माझमा सच्चाईहरू र ईश्वरीय सङ्गठन, नया जाँगर साथ पुनःस्थापना भएको छ।—उत्पत्ति १२:३; १८:१८; २२:१८.
तिनीहरू रूकेनन्!
१८. यहूदी “डकर्मीहरूले” कुन् “ढुङ्गा” इन्कार गरे, तर मुक्ति कसमा मात्र छ?
१८ पत्रुस र यूहन्नाले येशूको पुनरुत्थानको प्रचार गरे भनेर प्रधान-पुजाहारीहरू, मन्दिरका कप्तान र सदुकीहरू क्रोधित् भए र तिनीहरूलाई थुनामा राखे। (प्रे ४:१-१२) सदुकीहरूले पुनरुत्थानमा विश्वास न गरेतापनि, धेरैले विश्वास गरे। विश्वास गर्ने पुरूषहरूको मात्र संङ्ख्या ५००० पुग्यो। पत्रुस र यूहन्नालाई यरूशलेमको उच्च अदालतको सामने लगेर केर्दा, त्यो लङ्गड़ो मानिस “नासरी येशू ख्रीष्टको नाउँमा” निको भएको हो जसलाई तिनीहरूले झुण्डाएर मारेका थिए तर परमेश्वरले बिउँताउनु भयो, भनेर पत्रुसले बयान दिए। यहूदी “डकर्मीहरूले” इन्कारगरेको यो “ढुङ्गा” “कुनाको शिर-ढुङ्गा” हुन पुगेको थियो। (भजन संग्रह ११८:२२) “औ नता अरू कसैबाट मुक्ति छ” भनेर पत्रुसले भने।
१९. प्रचार बन्द गर्ने आदेश पाउँदा, प्रेरितहरूले के उत्तर दिए?
१९ यस प्रकारको कुरा बन्द गर्ने कोशिश गरियो। (प्रे ४:१३-२२) तर निको भएको त्यो मानिस त्यहाँ उपस्थित् भएको हुनाले, यो “विख्यात” चिन्हलाई अस्वीकार गर्न असम्भव थियो। तापनि, ‘अब उप्रान्त येशूको नाउँमा बोल्दै न बोल्नू, नता कुनै शिक्षा दिनू’ भनी पत्रुस र यूहन्नालाई आज्ञा दिए। तर तिनीहरूले के जवाब दिए? ‘हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्तैसक्तैनौं।’ तिनीहरूले यहोवालाई आफ्नो शासक स्वीकारे!
प्रार्थनाहरूको उत्तर पाए!
२०. चेलाहरूले के को निम्ति प्रार्थना गरे र यसको परिणाम के भयो?
२० यहोवाका साक्षीहरूले आफ्ना सभाहरूमा प्रार्थना गरे झैं, छुटकारा पाएका प्रेरितहरू गएर चेलाहरूलाई सबै कुरा बताइदिए पछि, तिनीहरूले पनि प्रार्थना गरे। (प्रे ४:२३-३१) हेरोद एन्टीपास र पन्तियस पिलातुससँग इस्राएलका मानिसहरू र रोमी अन्यजातिहरू मिलेर, मसीहको विरूद्ध जम्मा भएकाछन् भन्ने कुराको सम्झना गरियो। (भजन संग्रह २:१, २; लूका २३:१-१२) यो प्रार्थनाको उत्तरमा, यहोवाले चेलाहरूलाई पवित्र आत्माले भरिदिनु भयो र तिनीहरूले परमेश्वरको वचन निडर भएर बोले। तिनीहरूले आफ्ना शासकलाई विरोधको अन्त गरी दिनुहोस् भनेर बिन्ती गर्नुको सट्टा, विरोधको सामने निडर भएर बोल्ने शक्तिको माँग गरे।
२१. बर्णाबास को थियो र उसमा के गुणहरू थिए?
२१ विश्वास गर्नेहरूले सबै थोक साझे राखे र खाँचोमा परेका कोही पनि थिएनन्। (प्रे ४:३२-३७) यस प्रकार अनुदान दिनेहरू मध्य सायप्रसको यूसुफ नाउँ भएको एक जना लेवी थियो। प्रेरितहरूले उसको नाउँ बर्णाबास राखे। किनभने यसको अर्थ “सान्त्वनाको पुत्र” हो र शायद उ वास्तवमा, एकजना मददकारी र न्यानो हृदयभएको मानिस थियो होला। निश्चय, हामी सबै जना नै त्यस प्रकारको मानिस हुन चाहन्छौं।—प्रेरित ११:२२-२४.
झूटाहरूको पर्दाफास गरियो
२२, २३. हननिया र सफीराले के पाप गरे र तिनीहरूको अनुभवबाट हामी के सिक्न सक्छौं?
२२ तर हननिया र सफीराले यहोवालाई आफ्नो शासक मान्न छाड़छन्। (प्रे ५:१-११) तिनीहरूले एउटा खेत बेचेर त्यसबाट आएको जम्मै रकम प्रेरितहरूलाई दिएको जस्तो गर्छन् तर वास्तवमा त्यसको केही भाग तिनीहरूले आफूसँगै राख्छन्। पवित्र आत्माको ज्ञान द्वारा पत्रुसले तिनीहरूको यो कपट थाह पाउँछन् र तिनी दुवै मर्छन्। शैतानबाट परीक्षामा परेर, छक्का-पंजा गर्ने मानिसहरूका लागि यो एउटा चेताउनी हो!—हितोपदेश ३:३२; ६:१६-१९.
२३ यो घटना पश्चात, खराब नियतहुने कसैले पनि चेलाहरूसँग लाग्ने हिम्मत् गरेनन्। अरूहरू चाहिं विश्वास गर्ने भए। (प्रे ५:१२-१६) साथै, रोगीहरू र भूतात्माले सताइएकाहरूले परमेश्वरको शक्तिमा विश्वास गरे र ‘ती सबै निको भए।’
मानिसको भन्दा परमेश्वरको आज्ञा पालन गर
२४, २५. यहूदी धर्मगुरूहरूले प्रेरितहरूलाई किन सताए तर यी विश्वासी जनहरूले यहोवाका सबै सेवकहरूका लागि कुन् सिद्धान्त स्थापित् गरे?
२४ प्रधान पुजाहारी र सदूकीहरूले यो अदभुत बृद्धि रोक्नका लागि, सबै प्रेरितहरूलाई थुनामा हालि दिए। (प्रे ५:१७-२५) तर सोही रात, परमेश्वरको स्वर्गदूतले तिनीहरूलाई छुटकारा दिलाइ दिए। र एक बिहानै, तिनीहरू मन्दिरमा शिक्षा दिन थाले! यहोवाका सेवकहरूलाई सतावटले रोक्न सक्तैन।
२५ तापनि, सभाघरको सामने लगेर प्रेरितहरूमाथि दबाव हालियो। (प्रे ५:२६-४२) तिनीहरूलाई प्रचारको काम बन्द गर्ने आदेश दिंदा तिनीहरूले एसो भने: “हामीले मानिसको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नु पर्छ।” यो जवाफ, येशूका सबै चेलाहरूको सिद्धान्त भयो र यही सिद्धान्त आज यहोवाका साक्षीहरूले पनि पालना गर्छन्। व्यवस्थाको पण्डित, गमलिएलको चेताउनी सुने पछि, धर्मगुरूहरूले प्रेरितहरूलाई पिटे, प्रचारको काम बन्द गर्ने आदेश दिए र छाड़ि दिए।
२६. प्रेरितहरूको सेवकाई र आज यहोवाका साक्षीहरूको सेवकाईको तुलना कसरी गर्न सकिन्छ?
२६ येशूको नाउँको खातिर अपमान सहनु सौभाग्यको कुरा हो भनेर प्रेरितहरू रमाए। “औ दिनदिनै तिनीहरूले मन्दिरमा र घर-घरमा गएर शिक्षा दिन र येशूनै ख्रीष्ट हुन् भन्ने सुसमाचार सुनाउन बन्द गरेनन्।” हो, तिनीहरू घर-घरमा गएर प्रचार गर्ने सेवकहरू थिए। र परमेश्वरका आधुनिक साक्षीहरू पनि त्यस्तै हुन्। यिनीहरूले पनि परमेश्वरको आत्मा पाएकाछन् किनभने यिनीहरूले उहाँको आज्ञा पालन गर्छन् र “यहोवा हाम्रा शासक हुनुहुन्छ!” भन्छन्। (w90 6/1)
तपाईंको उत्तर के हुनेछ?
◻ येशूका दुवै प्राचीन र आधुनिक चेलाहरूले के जिम्मेवारी निभाउनु पर्छ?
◻ पेन्तीकोसको दिनमा के भयो?
◻ येशूले दिनु भएको प्रथम आत्मिक साँचोको प्रयोग पत्रुसले कहाँ र कसरी प्रयोग गरे?
◻ हननिया र सफीराको अनुभवबाट हामी के सिक्न सक्छौं?
◻ प्रचार बन्द गर्ने आदेश पाउँदा, प्रेरितहरूले यहोवाका सबै साक्षीहरूका लागि के सिद्धान्त स्थापित् गरे?