परमेश्वरको वचन पढ्नुहोस् र सत्यतामा उहाँको सेवा गर्नुहोस्
“हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस्, म तपाईंको सत्यतामा हिंड्नेछु।” —भजन ८६:११.
१. मुख्यतः यस पत्रिकाको पहिलो अंकले सत्यताबारे के भन्यो?
यहोवाले ज्योति र सत्यता पठाउनुहुन्छ। (भजन ४३:३) उहाँले हामीलाई उहाँको वचन बाइबल पढ्ने र सत्य सिक्ने क्षमता पनि दिनुहुन्छ। सन् १८७९ जुलाईमा प्रकाशित यस पत्रिकाको पहिलो अंकमा यसो भनिएको थियो: “सत्यता भनेको उजाड भूमिरूपी जीवनमा एउटा सानो विनीत फूलजस्तै हो। यसको वरपर लहलहाइरहेका झारपातरूपी झूटो कुराहरूले यो फूल झन्डै निस्सासिएको हुन्छ। सत्यता भेटाउन तपाईं सधैं चनाखो हुनुपर्छ। त्यसको सुन्दरता हेर्न झारपातरूपी झूट र काँढाको झाडीरूपी कट्टर कुरामा ध्यान दिनुहुँदैन। त्यो प्राप्त गर्न चाहनुहुन्छ भने आफैलाई नम्र तुल्याउनुहोस्। सत्यताको एउटै फूलमा सन्तुष्ट नहुनुहोस्। एउटै सत्य पर्याप्त भएको भए धेरै सृष्टि नै गरिने थिएन। सत्य कुरा अझ बढी जम्मा गर्नुहोस् र खोज्नुहोस्।” परमेश्वरको वचन पढ्दा र अध्ययन गर्दा हामीले सही ज्ञान प्राप्त गर्ने र उहाँको सत्यतामा हिंड्ने मदत पाउँछौं।—भजन ८६:११.
२. पुरातन यरूशलेममा एज्रा र अन्य पुरुषहरूले यहूदीहरूलाई परमेश्वरको व्यवस्था पढेर सुनाउँदा के भयो?
२ सा.यु.पू. ४५५ मा यरूशलेमको पर्खाल पुनःनिर्माण भएपछि पूजाहारी एज्रा र अन्य पुरुषहरूले यहूदीहरूसमक्ष परमेश्वरको व्यवस्था पढे। तत्पश्चात् आनन्दमय झुप्रो-बासको चाड आनन्दसाथ मनाए, पापहरू स्वीकारे र “बाचा” बाँधे। (नहेम्याह ८:१–९:३८) हामी यस्तो लेखिएको पाउँछौं: “तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तक राम्ररी पढ़ेर त्यसको अर्थ बुझाइदिए। औ जे पढ़िएको थियो त्यसबाट तिनीहरूलाई शिक्षा दिए।” (नहेम्याह ८:८) यहूदीहरूले हिब्रू भाषा राम्ररी नबुझेकोले अरामी भाषामा व्याख्या गरिएको हुनुपर्छ भनी केही शास्त्रविद्हरू भन्छन्। तर त्यस शास्त्रपदले हिब्रू भाषिक स्पष्टीकरण मात्र दिएको कुनै संकेत दिंदैन। मानिसहरूले व्यवस्थाका सिद्धान्तहरू बुझोस् र लागू गरोस् भनेर एज्रा अनि अन्य पुरुषहरूले त्यसको व्याख्या गर्थे। मसीही प्रकाशन तथा सभाहरूले पनि परमेश्वरको वचनको ‘अर्थ खुलाउन’ मदत दिन्छ। “सिकाउनसक्ने” नियुक्त प्राचीनहरूले पनि त्यसै गर्छन्।—१ तिमोथी ३:१, २; २ तिमोथी २:२४.
चिरकालीन लाभहरू
३. बाइबल पढ्दा पाइने केही लाभहरू के हुन्?
३ मसीही परिवारहरूले सँगै बसेर बाइबल पढ्दा चिरकालीन लाभहरूको अनुभव गर्लान्। तिनीहरू परमेश्वरको व्यवस्थासित परिचित हुन्छन् र धर्मसिद्धान्त, भविष्यसूचक तथा अन्य विषयहरूबारे सत्य सिक्छन्। बाइबलको केही अंश पढेपछि परिवारको शिरले यस्ता प्रश्नहरू सोध्नसक्छन्: यसले हामीलाई कस्तो असर पार्नुपर्छ? बाइबलका अन्य शिक्षाहरूसित यो कसरी सम्बन्धित छ? हामीले सुसमाचार प्रचार गर्दा यी बुँदाहरू कसरी प्रयोग गर्नसक्छौं? वाच टावर प्रकाशन अनुक्रमणिका (अंग्रेजी) वा अन्य अनुक्रमणिकाहरू प्रयोग गरेर अनुसन्धान गरेमा परिवारले बाइबल पढाइबाट अझ धेरै अन्तरदृष्टि पाउँछन्। धर्मशास्त्रमाथि अन्तरदृष्टि-का (अंग्रेजी) दुइ खण्डहरू लाभदायी ढंगमा छलफल गर्न सकिन्छ।
४. यहोशू १:८ मा लिपिबद्ध निर्देशन यहोशूले कसरी लागू गर्नुपर्थ्यो?
४ धर्मशास्त्रबाट सिकेका सिद्धान्तहरू हाम्रो जीवनको मार्गनिर्देशक हुनसक्छन्। यसबाहेक “पवित्र लेखोटहरू” पढेर अध्ययन गरेपछि हामी ‘मुक्तिको निम्ति बुद्धिमान’ हुनसक्छौं। (२ तिमोथी ३:१५) परमेश्वरको वचनलाई हाम्रो मार्गनिर्देशक हुन दियौं भने हामी उहाँको सत्यतामा हिंडिरहनेछौं र हाम्रा निष्कपट इच्छाहरू पूरा हुनेछन्। (भजन २६:३; ११९:१३०) तथापि, मोशाका उत्तराधिकारी यहोशूले जस्तै हामीले बुझ्ने कोसिस गर्नुपर्छ। तिनको मुखबाट “व्यवस्थाको . . . पुस्तक” हट्नुहुन्न थियो र तिनले त्यो दिनरात पढ्नुपर्थ्यो। (यहोशू १:८) “व्यवस्थाको . . . पुस्तक” यहोशूको मुखबाट नहटोस् भन्नुको अर्थ तिनले बाइबलका ज्ञानोद्दीपक कुराहरू अरूलाई हरबखत भन्नुपर्थ्यो। व्यवस्था दिनरात पढ्नुको अर्थ यहोशूले त्यो अध्ययन गरेर मनन गर्नुपर्थ्यो। त्यस्तैगरि प्रेरित पावलले तिमोथीलाई “लागिरह” अर्थात् तिनको आचरण, सेवकाई र शिक्षण कार्यमा मनन गर्न आग्रह गरे। मसीही प्राचीनको हैसियतमा आफ्नो जीवनलाई उदाहरणीय बनाउन र धर्मशास्त्रीय सच्चाइ सिकाउन तिमोथी विशेषगरि होशियार हुनु आवश्यक थियो।—१ तिमोथी ४:१५.
५. हामीले परमेश्वरको सत्य भेटाउन के गर्नु आवश्यक छ?
५ परमेश्वरको सत्य एक अनमोल धन हो। यो भेटाउन धर्मशास्त्र खोतल्नु र लगातार खोज्नुपर्छ। महान् शिक्षकको बच्चारूपी छात्रहरूको हैसियतमा मात्र हामीले बुद्धि र यहोवाको श्रद्धेय भयबारे समझ प्राप्त गर्नसक्छौं। (हितोपदेश १:७; यशैया ३०:२०, २१) निस्सन्देह, हामीले आफू धर्मशास्त्रअनुसार चलेका छौं भनेर प्रमाणित गर्नुपर्छ। (१ पत्रुस २:१, २) बिरियाका यहूदीहरू “थिस्सलोनिकीहरूभन्दा उत्तम थिए। किनभने यिनीहरूले हृदयमा ज्यादै तयारी भएर धर्मशास्त्र ग्रहण गरे, र [पावलले भनेका] ती कुराहरू ठीक हुन् कि होइनन् भनेर दिनहुँ धर्मशास्त्रमा खोजी गर्थे।” यसो गरेकोमा बिरियावासीहरूले हप्काइ खानुको साटो सराहना पाए।—प्रेरित १७:१०, ११.
६. धर्मशास्त्र खोजी गर्दा केही यहूदीहरूलाई कुनै फाइदा भएन भनेर येशूले किन संकेत गर्न सक्नुभयो?
६ येशूले केही यहूदीहरूलाई भन्नुभयो: “धर्मशास्त्रमा खोजी हेर, किनभने तिनमा तिमीहरूलाई अनन्त जीवन छ भनी तिमीहरू सम्झन्छौ, औ मेरो विषयमा गवाही दिने तिनै हुन्, औ तिमीहरूमा जीवन होस् भनेर तिमीहरू मकहाँ आउँदैनौ।” (यूहन्ना ५:३९, ४०) तिनीहरूले जीवनसम्म पुऱ्याउने डोऱ्याइको निम्ति सही उद्देश्य राखेर धर्मशास्त्रको खोजी गरे। निस्सन्देह, धर्मशास्त्रमा मसीहसम्बन्धी भविष्यवाणीहरूले येशू मात्रै जीवनको स्रोत हुनुहुन्छ भनेर औंल्याएको थियो। तर यहूदीहरूले येशूलाई अस्वीकार गरे। त्यसैले धर्मशास्त्रमा खोज्दा तिनीहरूलाई केही फाइदा भएन।
७. बाइबललाई अझ राम्ररी बुझ्न कुन कुरा चाहिन्छ र किन?
७ बाइबललाई राम्ररी गहिराइमा बुझ्न परमेश्वरको आत्मा वा सक्रिय शक्तिको निर्देशन चाहिन्छ। अर्थ स्पष्ट पार्न “आत्माले सबै कुरा परमेश्वरका गहिरा गहिरा कुराहरूलाई पनि खोजी गर्नुहुन्छ।” (१ कोरिन्थी २:१०) थिस्सलोनिकाका मसीहीहरूले आफूले सुनेका सबै भविष्यवाणीहरूको “जाँच” गर्नुपर्थ्यो। (१ थिस्सलोनिकी ५:२०, २१) पावलले थिस्सलोनिकाकाहरूलाई लेख्दा (सा.यु. ५० तिर) युनानी धर्मशास्त्रको मत्तीरचित सुसमाचारको पुस्तक मात्र लेखिएको थियो। अतः बिरिया र थिस्सलोनिकाकाहरूले सम्भवतः हिब्रू धर्मशास्त्रको युनानी सेप्टुआजिन्ट संस्करणलाई केलाएर “जाँच” गर्नसक्थे। तिनीहरूले धर्मशास्त्र पढ्नु र अध्ययन गर्नु आवश्यक थियो। हामीले पनि त्यस्तै गर्नुपर्छ।
सबैलाई अत्यावश्यक
८. नियुक्त प्राचीनहरू बाइबल ज्ञानमा किन श्रेष्ठ हुनुपर्छ?
८ नियुक्त प्राचीनहरू बाइबल ज्ञानमा पोख्त हुनुपर्छ। तिनीहरू “सिकाउनामा सिपालु” र ‘विश्वासयोग्य वचनमा दृढ़’ हुनुपर्छ। निरीक्षक तिमोथीले ‘सत्यको वचनलाई ठीकसँग प्रयोग’ गर्नुपर्थ्यो। (१ तिमोथी ३:२; तितस १:९; २ तिमोथी २:१५) तिमोथीका बुबा भिन्दै विश्वासका भए तापनि आमा युनिस र बज्यै लोइसले तिनलाई बाल्यकालदेखि नै पवित्र लेखोटहरूबाट सिकाएर तिनको मनमा ‘निष्कपट विश्वास’ हालि दिएका थिए। (२ तिमोथी १:५; ३:१५) विश्वासमा भएका बुबाहरूले आफ्ना सन्तानलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्नुपर्छ। विशेषगरि प्राचीनहरूका छोराछोरीहरू ‘वशमा नआउने दंगाफसादको दोष नलागेका, विश्वासी छोराछोरीहरू’ हुनुपर्छ। (एफिसी ६:४; तितस १:६) हाम्रो परिस्थिति जस्तोसुकै भए तापनि परमेश्वरको वचन पढ्ने, अध्ययन गरेर लागू गर्ने आवश्यकतालाई गम्भीरतापूर्वक लिनुपर्छ।
९. सँगी मसीहीहरूसित बाइबल किन अध्ययन गर्नुपर्छ?
९ हामीले सँगी विश्वासीहरूसित पनि बाइबल अध्ययन गर्नुपर्छ। थिस्सलोनिकीका मसीहीहरूले तिनको सल्लाह आपसमा छलफल गरेको पावल चाहन्थे। (१ थिस्सलोनिकी ४:१८) सत्यबारे हाम्रो समझलाई तिखार्ने सबैभन्दा उत्तम तरिका अरू समर्पित विद्यार्थीहरूसित धर्मशास्त्रको जाँच गर्नु हो। यो हितोपदेश साँचो छ: “फलामले फलामलाई उध्याएजस्तै एउटा मानिसको बुद्धिले अर्को मानिसको बुद्धिलाई तिखार्छ।” (हितोपदेश २७:१७) फलामको औजारलाई उध्याएन र प्रयोग गरेन भने त्यसमा खिया लाग्छ। त्यस्तैगरि हामी पनि नियमित तवरमा भेट्नुपर्छ। अनि परमेश्वरको सत्य वचन पढ्दा, अध्ययन र मनन गर्दा प्राप्त गरेको ज्ञान बाँडेर एकअर्कालाई तिखार्नुपर्छ। (हिब्रू १०:२४, २५) यसबाहेक, आध्यात्मिक ज्योतिका चमकहरूबाट हामी लाभान्वित भएका छौं भनेर पक्का गर्ने एउटा तरिका यो हो।—भजन ९७:११; हितोपदेश ४:१८.
१०. सत्यको मार्गमा हिंड्नुको अर्थ के हो?
१० हामीले धर्मशास्त्र अध्ययन गर्दा भजनरचयिताले जस्तै उपयुक्त ढंगमा परमेश्वरलाई प्रार्थना गर्नसक्छौं: “तपाईंको ज्योति र तपाईंको सत्यता पठाउनुहोस्, तिनैले मलाई डोऱ्याऊन्।” (भजन ४३:३) परमेश्वरको अनुमोदन चाहन्छौं भने हामी उहाँको सत्यतामा हिंड्नुपर्छ। (३ यूहन्ना ३, ४) यसमा उहाँको मागहरू पूरा गर्नु र उहाँप्रति विश्वासी हुनु र निष्कपटसाथ सेवा गर्नु समावेश छ। (भजन २५:४, ५; यूहन्ना ४:२३, २४) उहाँको वचनमा प्रकट पारेको र “विश्वासी र बुद्धिमान दास[का]” प्रकाशनहरू मार्फत स्पष्ट पारेअनुसार हामीले यहोवालाई सत्यतामा सेवा गर्नुपर्छ। (मत्ती २४:४५-४७) यसको अर्थ, धर्मशास्त्रको सही ज्ञान लिनु हो। त्यसोभए हामीले परमेश्वरको वचन कसरी पढ्नु र अध्ययन गर्नुपर्छ? यसको मतलब हामीले उत्पत्ति अध्याय १, पद १ देखि सुरु गरेर के क्रमशः ६६ वटै पुस्तकहरू पढ्नुपर्छ? हो, आफ्नै भाषामा सम्पूर्ण बाइबल छ भने प्रत्येक मसीहीले उत्पत्तिदेखि प्रकाशसम्म पढ्नैपर्छ। बाइबल अनि मसीही प्रकाशनहरू पढ्दा हाम्रो उद्देश्य परमेश्वरले ‘विश्वासी दास मार्फत’ ठूलो परिमाणमा उपलब्ध गराउनुभएको मसीही प्रकाशनहरूको धर्मशास्त्रीय सत्यबारे ज्ञान बढाउने हुनुपर्छ।
परमेश्वरको वचन ठूलो स्वरले पढ्नुहोस्
११, १२. सभाहरूमा ठूलो स्वरले बाइबल पढ्नु किन लाभदायी हुन्छ?
११ हामी एक्लै हुँदा मनमनै पढौंला। तथापि, पुरातन समयमा एक्लै पढ्दा ठूलो स्वरमा पढिन्थ्यो। त्यसैले सुसमाचारक फिलिपले एथियोपियाका नपुंसकले रथमा यशैयाको भविष्यवाणी पढिरहेका सुने। (प्रेरित ८: २७-३०) “पढ्नु” भनेर अनुवाद गरिएको हिब्रू शब्दले मुख्यतः “बोलाउनु” भन्ने अर्थ बुझाउँछ। अतः मनमनै पढ्न र पढेको कुरा बुझ्न नसक्ने व्यक्ति हरेक शब्द ठूलो स्वरले उच्चारण गर्न निरुत्साहित हुनु हुँदैन। मुख्य कुरा त परमेश्वरको लिखित वचनद्वारा सत्य सिक्नु हो।
१२ मसीही सभाहरूमा ठूलो स्वरले बाइबल पढ्नु लाभदायी हुन्छ। प्रेरित पावलले आफ्नो सहकर्मी तिमोथीलाई यसरी आग्रह गरे: “[जनसाधारणअघि, NW] धर्मशास्त्र पढ़ाइ, अर्ती र शिक्षामा ध्यान देऊ।” (१ तिमोथी ४:१३) पावलले कलस्सीका मसीहीहरूलाई यसो भने: “जब तिमीहरूका बीचमा यो चिट्ठी पढ़िन्छ, तब लाओडिसियामा भएका मण्डलीमा पनि यो पढ़न लगाओ, र लाओडिसियाबाटको चिट्ठी पनि तिमीहरूले पढ़।” (कलस्सी ४:१६) अनि प्रकाश १:३ ले यसो भन्छ: “जसले यो अगमवाणीका वचनहरू [ठूलो स्वरले, NW] पढ़छ, र जस जसले सुन्छन्, र त्यसमा लेखिएका कुराहरू पालन गर्छन्, तिनीहरू धन्यका हुन्, किनभने समय नजीकै छ।” तसर्थ, जनवक्ताले मण्डलीलाई बताउने कुराहरूका समर्थनको निम्ति बाइबलबाट शास्त्रपदहरू पढ्नुपर्छ।
अध्ययन गर्ने प्रासंगिक तरिका
१३. बाइबल सत्यहरू सिक्ने सबैभन्दा प्रगतिशील तरिका के हो र शास्त्रपदहरू पत्ता लाउन हामीलाई कुन कुराले मदत गर्नसक्छ?
१३ धर्मशास्त्रीय सत्यहरू सिक्ने सबैभन्दा प्रगतिशील तरिका प्रासंगिक अध्ययन हो। बाइबलका शब्दहरू प्रसंगअनुसार पुस्तक, अध्याय र शास्त्रपद वर्णानुक्रम मिलाएर कन्कर्डेन्समा सूचीबद्ध गरिएका छन् जसले गर्दा खास विषयहरू भेटाउन सजिलो छ। अनि त्यस्ता शास्त्रपदहरू एकअर्कोसित मिलाउन सकिन्छ किनभने बाइबलका लेखक विरोधाभासपूर्ण हुनुहुन्न। उहाँले बाइबल लेख्न १६ शताब्दीहरूको दौडान ४० जना व्यक्तिहरूलाई पवित्र आत्माद्वारा प्रेरित गर्नुभयो। प्रासंगिक रूपमा सत्य सिक्ने तरिका समयको अन्तरालमा प्रभावकारी साबित भएको छ।
१४. हिब्रू र मसीही युनानी धर्मशास्त्र किन सँगै अध्ययन गर्नुपर्छ?
१४ बाइबल सत्यप्रतिको हाम्रो मूल्यांकनले हामीलाई हिब्रू धर्मशास्त्र सँगसँगै मसीही युनानी धर्मशास्त्र पढ्न र अध्ययन गर्न उत्प्रेरित गर्नुपर्ने हो। यसले परमेश्वरको उद्देश्यसित युनानी धर्मशास्त्र कसरी सम्बन्धित छ त्यो देखाउनेछ र हिब्रू धर्मशास्त्रका भविष्यवाणीहरूलाई प्रकाश पार्नेछ। (रोमी १६:२५-२७; एफिसी ३:४-६; कलस्सी १:२६) यस सम्बन्धमा पवित्र धर्मशास्त्रको नयाँ विश्व अनुवाद (अंग्रेजी) एकदमै मदतकारी छ। यो तयार पार्न परमेश्वरका समर्पित सेवकहरूले मूल बाइबल पदलगायत त्यसको पृष्ठभूमि र वाक्पद्धति अभिव्यक्तिहरूबारे उपलब्ध थप ज्ञानको सदुपयोग गरेका थिए। यहोवाले “विश्वासी र बुद्धिमान दास” मार्फत प्रबन्ध गर्नुभएको बाइबल अध्ययन सहायकहरू पनि अत्यावश्यक छन्।
१५. बाइबलको विभिन्न भागबाट उद्धरण गर्नु उचित छ भनेर तपाईं कसरी प्रमाणित गर्नुहुन्छ?
१५ केहीले यसो भन्लान्, ‘तपाईंका प्रकाशनहरूमा बाइबलबाट हजारौं उद्धरणहरू लिइएको पाइन्छ तर त्यो बाइबलका विभिन्न भागबाट किन लिनुहुन्छ?’ बाइबलका ६६ वटै पुस्तकबाट उद्धरणहरू लिंदा ती प्रकाशनहरूले प्रस्तुत शिक्षाको सत्यताबारे थुप्रै प्रेरित प्रमाणहरू दिन्छन्। येशू स्वयंले निर्देशन दिन यो तरिका अपनाउनुभयो। डाँडाको उपदेशमा उहाँले हिब्रू धर्मशास्त्रबाट २१ चोटि उद्धरण गर्नुभयो। त्यस भाषणमा प्रस्थान, लेवी, गन्ती, व्यवस्था, दोस्रो राजा, भजनसंग्रह, यशैया र यर्मियाको पुस्तकबाट क्रमशः तीन, दुइ, एक, छ, एक, चार, तीन र एक चोटि उद्धरण गरिएको छ। यसो गरेर के येशूले ‘आफूलाई जे मन लाग्यो त्यही प्रमाणित गर्न खोजी रहनुभएको थियो’? थिएन किनभने ‘उहाँले शास्त्रीहरूले झैं होइन, तर अख्तियार भएकाले जस्तो गरी सिकाउनुहुन्थ्यो।’ त्यसो हुनुको कारण येशूका शिक्षाहरू परमेश्वरको लिखित वचनमा आधारित हुन्थ्यो। (मत्ती ७:२९) प्रेरित पावलले पनि त्यसै गरे।
१६. रोमी १५:७-१३ मा पावलले कस्ता धर्मशास्त्रीय उद्धरणहरू गरे?
१६ रोमी १५:७-१३ को शास्त्रपदमा पावलले हिब्रू धर्मशास्त्रको तीन बेग्लाबेग्लै खण्डबाट उद्धरण गरेका छन् अर्थात् व्यवस्था, अगमवक्ताहरू र भजन। यहूदी तथा अन्यजातिहरूले परमेश्वरको महिमा गर्नेछन् तसर्थ मसीहीहरूले सबै राष्ट्रका मानिसहरूलाई सत्कार गर्नुपर्छ भनेर तिनले देखाए। पावलले यसो भने: “परमेश्वरको महिमाको निम्ति, ख्रीष्टले हामीलाई सत्कार गर्नुभएबमोजिम, तिमीहरूले पनि एउटाले अर्कोलाई सत्कार गर। किनकि म भन्दछु, पिता-पुर्खाहरूलाई दिइएका प्रतिज्ञा पुष्टि गर्नालाई परमेश्वरको सत्यताको निम्ति ख्रीष्ट खतनाका सेवक हुनुभएको छ। औ अन्यजातिहरूले उहाँको कृपाको निम्ति परमेश्वरको महिमा गरून्। जस्तो लेखिएको छ [भजन १८:४९ मा], ‘यसैकारण म अन्यजातिहरूको बीचमा तपाईंलाई प्रशंसा गर्नेछु, औ तपाईंको नाउँको भजन गाउनेछु।’ औ फेरि उनी भन्छन् [व्यवस्था ३२:४३ मा], ‘ए अन्यजाति हो, उहाँको प्रजासित आनन्द गर।’ औ फेरि [भजन ११७:१ मा], ‘ए सबै अन्यजाति हो, प्रभुको प्रशंसा गर, औ सबै मानिसहरूले उहाँको प्रशंसा गरून्।’ र फेरि यशैया [११:१, १०] भन्छन्, ‘यस्सीको जरा लाग्नेछन्, र अन्यजातिहरूमाथि शासन गर्नालाई खड़ा हुने, उहाँमाथिनै अन्यजातिहरूले आशा राख्नेछन्।’ अब आशाका परमेश्वरले, तिमीहरूलाई पवित्र आत्माको शक्तिमा, आशाचाहिं प्रशस्त गरिदिनाको निम्ति विश्वासमा सारा रमाहट र शान्तिले तिनीहरूलाई भरिपूर गरिदिऊन्।” बाइबल सत्यहरू प्रमाणित गर्न शास्त्रपदहरू कसरी उद्धरण गर्न सकिन्छ भनेर पावलले यस प्रासंगिक तरिकाद्वारा प्रदर्शित गरे।
१७. पुरातन समयको कस्तो उदाहरणअनुरूप मसीहीहरूले सम्पूर्ण बाइबलको विभिन्न भागबाट उद्धरण गर्छन्?
१७ प्रेरित पत्रुसले आफ्नो पहिलो प्रेरित पत्रमा व्यवस्था, अगमवक्ताहरू र भजनका दश पुस्तकहरूबाट ३४ चोटि उद्धरण गरेका छन्। दोस्रो पत्रमा पत्रुसले हिब्रू धर्मशास्त्रबाट तीन चोटि उद्धरण गरेका छन्। मत्तीरचित सुसमाचारको पुस्तकमा उत्पत्तिदेखि मलाकीभित्रबाट १२२ वटा उद्धरणहरू लिइएका छन्। युनानी धर्मशास्त्रका २७ वटा पुस्तकहरूमा उत्पत्तिदेखि मलाकीभित्रबाट ३२० चोटि सीधै उद्धरण गर्नुको साथसाथै सयौं चोटि हिब्रू धर्मशास्त्रलाई संकेत गरिएको छ। येशूले बसाल्नुभएको नमुना प्रेरितहरूले पछ्याए र त्यहीअनुरूप आधुनिक समयका मसीहीहरूले पनि धर्मशास्त्रीय विषयवस्तुको प्रासंगिक अध्ययन गर्दा सम्पूर्ण बाइबलको विभिन्न भागबाट उद्धरण गर्छन्। यो विशेषगरि यस “आखिरी दिन[मा]” उचित छ किनभने हिब्रू र युनानी धर्मशास्त्रका अधिकांश भविष्यवाणीहरू पूरा भइरहेका छन्। (२ तिमोथी ३:१) ‘विश्वासी दासले’ आफ्ना प्रकाशनहरूमा बाइबलको त्यस प्रकार प्रयोग गरे तापनि परमेश्वरको वचनमा थप्ने वा घटाउने काम गर्दैनन्।—हितोपदेश ३०:५, ६; प्रकाश २२:१८, १९.
सधैं सत्यतामा हिंड्नुहोस्
१८. हामी किन ‘सत्यको मार्गमा हिंड्नुपर्छ’?
१८ हामीले बाइबलबाट कहिल्यै केही पनि हटाउनु हुँदैन किनभने परमेश्वरको वचनका सम्पूर्ण मसीही शिक्षाहरू “सत्यता” वा “सुसमाचारको सत्यता” हो। मुक्तिको निम्ति यस सत्यतालाई पछ्याउनु अर्थात् यसमा ‘चल्नु’ अत्यावश्यक छ। (गलाती २:५; २ यूहन्ना ४; १ तिमोथी २:३, ४) मसीही धर्म नै “सत्यको मार्ग” भएकोले यसका क्रियाकलापहरूलाई बढाउँदै अरूलाई मदत गर्दा हामी “सत्यको सहकर्मी” हुन्छौं।—२ पत्रुस २:२; ३ यूहन्ना ८.
१९. हामी कसरी ‘सत्यमा चलिरहन’ सक्छौं?
१९ हामी ‘सत्यमा चलिरहन’ चाहन्छौं भने बाइबल पढ्नैपर्छ र परमेश्वरले ‘विश्वासी दास’ मार्फत प्रबन्ध गर्नुभएको आध्यात्मिक मदतको उपयोग गर्नैपर्छ। (३ यूहन्ना ४) हामीले आफ्नै भलाइका साथै यहोवा परमेश्वर, येशू ख्रीष्ट र ईश्वरीय उद्देश्यहरूबारे अरूलाई सिकाउनसक्ने हुन यसो गरौं। अनि यहोवाको आत्माले हामीलाई उहाँको वचन बुझ्न मदत गरेको र सत्यतामा उहाँको सेवा गर्न सफल बनाएकोमा कृतज्ञ होऔं।
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ बाइबल पढाइबाट हुने चिरकालीन लाभहरू के हुन्?
◻ सँगी विश्वासीहरूसित बाइबल किन अध्ययन गर्नुपर्छ?
◻ बाइबलको विभिन्न भागबाट उद्धरण गर्नु किन उचित हो?
◻ ‘सत्यमा चल्नुको’ अर्थ के हो र हामीले यो कसरी गर्नसक्छौं?
[पृष्ठ १७-मा भएको चित्र]
आमाबाबुहरू हो, तपाईंका छोराछोरीलाई धर्मशास्त्र सिकाउनुहोस्
[पृष्ठ १८-मा भएको चित्र]
डाँडाको उपदेशमा येशूले हिब्रू धर्मशास्त्रको विभिन्न भागबाट उद्धरण गर्नुभयो